- नवसाहित्य
नवसाहित्य डटकम
संवाददाता
चितवन, ५ चैत ।
नेपाली गजलको प्रवर्द्धन गर्ने तथा सर्जकहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘गजल मञ्च चितवन’ ले आयोजना गर्दै आएको ‘गजलसँग’ कार्यक्रमको १०औँ शृङ्खला यही चैत ९ गते शनिबार हुने भएको छ । कार्यक्रम दिउँसो १ बजे, भरतपुर महानगरपालिका – ९ शरदपुरस्थित होटल काव्या इनमा आयोजना गरिनेछ ।
गजल मञ्च चितवनले नेपाली गजलको उन्नयन, संरक्षण र प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आएको छ । गजलकारहरूलाई सिर्जना वाचनका लागि उचित मञ्च उपलब्ध गराउँदै आएको यस संस्थाले विभिन्न कार्यक्रमहरूको आयोजना गरी गजलप्रेमी तथा नवोदित सर्जकहरूलाई लेखनमा थप प्रेरणा दिँदै आएको छ । यसै शृङ्खलालाई निरन्तरता दिँदै आयोजना गरिएको १०औँ शृङ्खलामा विभिन्न स्थानका ४ जना गजलकारहरूको विशेष प्रस्तुति रहनेछ ।
शृङ्खलामा प्राञ्जल (गुल्मी), सागर तिमिल्सिना (हेटौंडा), प्रकाश किरण (जाजरकोट) र सरला जोशी (चितवन)
ले गजल प्रस्तुत गर्नेछन् ।
`उहाँहरूले आफ्ना सशक्त र भावनात्मक गजल वाचन गर्नुहुनेछ, जसले स्रोतालाई नेपाली गजलको सौन्दर्यमा डुबाउने विश्वास हामीले लिएका छौँ ।´ गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले भने – `यी ४ जना सर्जकहरू आ-आफ्ना क्षेत्रका चर्चित गजलकारहरू हुनुहुन्छ, जसले नेपाली गजलमा छुट्टै पहिचान बनाइसक्नु भएको छ ।
गजल मञ्च चितवनले हरेक शृङ्खलामा भिन्न-भिन्न गजलकारहरूलाई प्रस्तुत गर्दै नेपाली गजल साधनालाई मजबुत बनाउँदै आएको छ । गजल सिर्जना, प्रस्तुति र श्रवण संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा गजल लेखनका विविध पक्षहरूबारे चर्चा हुने र स्रष्टाहरूबीच आपसी अनुभव आदानप्रदान गर्ने अवसर पनि रहनेछ ।
यस पटकको शृङ्खलामा स्थानीय गजलकारहरूसँगै बाहिरी जिल्लाबाट आएका गजलकारहरूको सहभागिता रहने भएकाले कार्यक्रम थप आकर्षक हुने आयोजकको अपेक्षा छ । आयोजकका अनुसार, नेपाली गजललाई साहित्यिक चेतनाको मूल प्रवाहमा ल्याउने कार्यमा यस्ता शृङ्खलाहरू महत्त्वपूर्ण रहन्छन् ।
चितवन र वरपरका गजलप्रेमी, साहित्य अनुरागी तथा सर्जकहरूलाई कार्यक्रममा सहभागी भई गजल सुन्न र अनुभूत गर्न आयोजक टिमले अनुरोध गरेको छ । गजलमा रुचि राख्ने नयाँ पुस्ताका लागि यस्ता कार्यक्रमहरू एउटा प्रेरणाको स्रोत बन्न सक्छन् ।
कार्यक्रम निःशुल्क रूपमा आयोजना गरिँदै छ, जसले गजलप्रेमीहरूलाई आफ्ना प्रिय सर्जकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर दिनेछ । गजलकारहरूका उत्कृष्ट सिर्जना श्रवण गर्दै उनीहरूसँग साहित्यिक छलफल गर्ने मौका गजल अनुरागीहरूले पाउनेछन् ।
गजल मञ्च चितवनले भविष्यमा गजल कार्यशाला, गजल प्रतियोगिता, तथा राष्ट्रिय स्तरका गजल सम्मेलनहरू आयोजना गर्ने योजना समेत अघि सारेको छ । नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवर्द्धन गर्ने दीर्घकालीन उद्देश्यसहित काम गरिरहेको गजल मञ्च चितवनले आगामी शृङ्खलाहरूलाई अझ व्यवस्थित बनाउँदै लैजाने योजना बनाएको छ ।
गजल मञ्च चितवनद्वारा आयोजित गजल सँगको १०औँ शृङ्खला नेपाली गजल साधक तथा प्रेमीहरूका लागि एक महत्वपूर्ण अवसर बन्नेछ । यस कार्यक्रममा विभिन्न स्थानका गजल सर्जकहरूबीच अनुभव आदान-प्रदान हुनेछ भने गजल श्रवण गर्नेहरूको लागि एक अविस्मरणीय बन्नेछ ।
साहित्यप्रेमीहरूलाई कार्यक्रम स्थलमा उपस्थित भई नेपाली गजलको भाव, सम्वेदना र सौन्दर्यमा रमाउन आयोजकले विशेष आह्वान गरेको छ ।
#गजल





