- नवसाहित्य

नवसाहित्य डटकम
गन्तव्यमा पुग्न हतारिएको थिएँ, ठेस लाग्यो । रन्थनिएँ । दाहिने गोडाको बुढी औँलोमा नमिठो चोट लागेछ । नङ उप्किएछ, रगत बग्न थाल्यो । मज्जैले रिसाएँ ढुङ्गोसित । स्वतन्त्र हुने अभिलाषा लिएर जमिनमुनिबाट चियाउँदै गरेको ढुङ्गोलाई हर उपाय लगाएर उप्काएँ र गुल्टाइदिएँ भीरबाट । ठाउँकुठाउँ ठोक्किँदै खाँचमा पुगेर विश्राम लियो त्यसले । दुखाइ कम नभए पनि केही राहत महसुस गरेँ । आफैँसित मौन संवाद गर्दै बाटो लागेँ ।
घर पुगेँ । हातगोडा धोएँ, पल्टिएँ बिछौनामा । औँलो टन्किरहेकै छ टनकटनक । मभित्र उठेको आवेग नियन्त्रण नहुँदा जबर्जस्ती उप्काएर गुल्टाइदिँदा विविध आवाज दिँदै खोचमा विश्राम लिन पुगेको ढुङ्गो सम्झेँ । मनले हठात् प्रश्न गर्र्यो, धत् यसरी रिसाउनुहुन्छ ? निर्जीव वस्तुसित रिसाएर के पाइस् हँ ?
लजाएँ आफैँसित ।
हठात् बैठक कोठाबाट पूजाकोठातिर नजर पुगेछ । केही वर्षअघि तीर्थ जाँदा आमाले ल्याउनुभएको ढुङ्गो पूजाकोठामा विराजमान छ । जसलाई ईश्वर सम्झेर आमा दैनिक जल चढाउनुहुन्छ, पूजा गर्नुहुन्छ । मैले थाहा पाएदेखि तामाको थालीमा विराजमान तीन थान काला ढुङ्गालाई पूजा गरिरहेकै छु, पुकारी रहेकै छु, शालिग्रामको नामले । आँखा खुलेझैँ लाग्छ । आफू हिँड्न नजान्ने दोषचाहिँ ढुङ्गोलाई दिने ¤ लज्जानुभव हुन्छ । मनमनै आफैँलाई प्रश्न गर्छु, मूर्ख, किन रिसाइस् हँ यति मूल्यवान् वस्तुसित ?
घोत्लिन्छु, ढुङ्गाकृतिहरू रैमट्ट आउँछन् मस्तिष्कभरि । जीवनमा नभई नहुने, सभ्यता, संस्कृति र इतिहाससँग बर्सौदेखि अन्योन्याश्रित सम्बन्ध स्थापित प्राकृतिक संरचना पो हो त यो । हेर्दा साधारण, स्थिर र निर्जीव वस्तु तर मानवका लागि बहुमल्य सम्पत्ति पो हो त यो । ममा जीवनका विविध आयामहरूसँग जोडिएको ढुङ्गाको इतिहास, प्रयोग र महŒवका बारेमा कुतूहलले डेरा जमाउँछ । ढुङ्गो नटुसाए पनि मनमा ढुङ्गोप्रतिको आकर्षणको बिज अङ्कुराउन थाल्छ ।
शिवलिङ्ग र शालिग्राम रूपधारी ढुङ्गाले साउती मार्दै भनेजस्तो लाग्छ, “म पृथ्वीको निर्माणसँगै उत्पन्न भएको पदार्थ हुँ । खनिजयुक्त संरचना हुँ । मैले पृथ्वीको सतहलाई मजबुत बनाएर राखेको छु । ज्वालामुखी विस्फोट, चट्टानहरूका तुक्रा र विविध खनिजको मिलनपछि म जन्मेको हुँ । चाहे ग्रेनाइट भन चाहे स्यान्डस्टोन, चाहे लाइमस्टोन नामले पुकार, चाहे स्लेट ती सबै सबै म नै हुँ । तिम्रो महलमा बिछ्याइएको मार्बल नामक जिनिस पनि म नै हुँ ।”
अहो, कति धेरै रूप रूपअनुसारका विशेषता मानव सभ्यतासँग गासिएको फरकफरक कालखण्डमा भिन्न–भिन्न उपयोग भिन्न भिन्न योगदान म ढुङ्गोप्रति नतमस्तक हुन्छु ।
सम्झन्छु, जाबो ढुङ्गोको यत्रो महिमागान किन? लाग्छ, मानव सभ्यताको प्रारम्भिक चरणदेखि पाइलापाइलामा उपयोग हुँदै आएको यसको महत्त्व साँच्चै असामान्य छ । आदिम युगमा मानिसले यसैलाई हतियार बनाए, औजार बनाए । घर बनाउने सामग्री यही बन्यो । ढुङ्गाको प्रयोगले नै युग ढुङ्गेयुग कहलिन पुग्यो । ढुङ्गाबाट बनाइएका हतियारले मानिसलाई शिकार गर्न मात्र सहज बनाएन, खेतीपाती सुरुवात गर्न र जङ्गली जनावरहरूबाट जोगाउन मद्दत गरेको कहाँ भुल्न पाइन्छ र ?
ढुङ्गाको नाता सांस्कृतिक, धार्मिक, र ऐतिहासिक सम्पदासँग छ । नेपाली वास्तुकलाको अनुपम सौन्दर्य र प्राचीन सभ्यता यसकै जगमा खिल्खिलाएको छ । मन्दिरमा पुजिएको र घरको जगमा दबिएको ढुङ्गाको भाषा पटकपटक सुन्ने यत्न गरेको छु । तिनले भनेझैँ लाग्छ, “प्राचीन सभ्यताहरूमा मैले सांस्कृतिक र धार्मिक महत्त्व राखेँ । स्वयम्भूनाथ, पशुपतिनाथ मन्दिर परिसर र तीर्थालुका लागि बनाइएको घाट, पाटन, भक्तपुर र काठमाडौँ दरबार स्क्वायर कहाँ छैन र म चाँगुनारायण, मनकामना मन्दिर एवं विभिन्न स्थानमा राखिएको शिलालेख, रानीपोखरीको बिचमा रहेको मन्दिरसँगै वरपरका संरचना, सिद्ध गुफा, गोरखनाथ गुफा र यसको प्रवेशद्वार लगायतका स्थानमा मेरा रूप तपाइँहरूले नियाल्नु भएकै होला । नेपालको ताजमहल मानिने पाल्पाको रानीमहल कलाको उत्कृष्ट नमुना थिएँ, हुँ र रहिरहनेछु । मिश्र्रको पिरामिड, भारतको अजन्ता–एलोरा गुफा र मेसोपोटामियाका मन्दिरहरू सबै मैबाट निर्मित छन् । के तिमी गुप्तेश्वर, महेन्द्र गुफा र चमेरे गफा पुगेका छौ ? माथिका कयौँ संरचनाहरूले ममा कलात्मक र वास्तुशिल्पको महत्त्वलाई प्रमाणित गर्दैनन् र ? ती संरचनाले तिम्रा भावना, श्रद्धा, र कलाको प्रदर्शन गरिरहैकै छन् नि, होइन र ?”
सम्झन्छु, बारी र खेतका कान्ला पानीसँगै बग्दा टाढाटाढाबाट ढुङ्गा सङ्कलन गरी बाले ठड्याउनु भएको पर्खालहरू साना हातले आफ्नो बर्कतले भ्याएसम्मका ढुङ्गा बटुलेर मैले बालाई सहयोग गरेका दिनहरू घर, सडक र पुल, निर्माणमा ढुङ्गासँग ज्यामीले पसिना सिञ्चन गरेको यिनै आँखाहरूले देखेका छन् । पुलकित हुँदै आफैँसितै बात मार्छु, मजबुती र दीर्घकालीन गुणले मानवलाई सुरक्षित र दिगो संरचना निर्माण गर्न सघाउने तिम्रो महिमागान गाएर थाकेको दिन तिमीलाई नै सिरानी हालेर निदाउने छु म, फेरि कहिल्यै नब्युँझने गरी ।
अँ, साँच्ची झन्डै भुलेको यिनले खेतीपातीका लागि सिंचाइ प्रणालीमा मदत गरेको कुरा । त्यस्तै, मान्छेले मूर्तिकला र सजावटमा आफ्नो सिर्जनशीलताको अद्भुत नमूना प्रस्तुत गर्दा यसले सहेका छिनाहम्मर र घनको प्रहारको पीडा कहाँ वर्णन गर्न सकिन्छ र ?
मन्दिर र देवालयमा पुग्दा म घन्टौँ यिनी कला कुँदिएका प्रस्तरसँग बात मार्ने गर्छु । तिनीहरूको आवाज सुन्ने प्रयत्न गरिरहेको हुन्छु । प्रस्तरहरू भन्छन्, -सनातन धर्ममा आस्था राख्नेहरू शिवलिङ्ग बनाएर पुज्छन् । कालीगण्डकीको बगरबाट उठाएर मन्दिरमा सजाउँछन् र शालिग्रामको नाममा पुजिन्छु । बौद्ध धर्मका स्तूप र गुम्बाहरू निर्माणमा म नै प्रयोग हुन्छु । मस्जिद निर्माणमा प्रयोग म नै भएको छु । इसाईधर्मालम्बीहरू ममा ईश्वरको रूप जिसस देख्छन् । म कहाँ छैन, ध्यानमग्न भएर मनन गर त -म यत्रतत्र सर्वत्र छु, रहिरहनेछु युगयुगसम्म
उत्तरतर्फ अग्लिएको हिमशृङ्खलाहरूले भनिरहेझैँ लाग्छ, “म ढुङ्गाको आयाम हुँ, सौन्दर्य हुँ । सांस्कृतिक र धार्मिक पहिचान हुँ अनि पहाडी बस्तीमा असरल्ल छरिएर रहेका घरहरू पर्यटक लोभ्याउने आकर्षण हुँ । स्थानीय जीवनशैली हुँ ।”
गोपाल योञ्जनको ‘बनेको छ पहराले यो छाती मेरो’ गीत गुन्गुनाउँदै नदी र झर्ना खसिरहेका दृश्यमा लीन हुँदै गर्दा चट्टानले मलाई भनिरहेझैँ लाग्छ, म स्थिरता, मजबुती र धैर्य हुँ । मलाई हेर र जीवनका कठिनाइहरूलाई पार गर्ने साहस र आत्मबल बढाऊ । हरिभक्तले किन लेखे कुन्नि -मन त ढुङ्गाकै भए हुन्थ्यो अटल, अडिग र दृढ व्यक्तित्वलाई प्रशंसा गर्दै केही मान्छे भन्छन् ढुङ्गामा गाडेको खाँबो, हेय दृष्टि राख्नेहरू भन्छन्, के दुःख बिसाउनु ढुङ्गाजस्तो मुटु भएको जाबो म उखान र तुक्काहरूमा कतै मानवीय दृढता त कतै दयाहीनहरूको पर्याय बनेको छु भने कविताहरूमा कहिलेकाहीँ कठोरता र भावनाहीनताको प्रतीक भएको छु ।
वातावरणीय सन्तुलन कायम गर्न ढुङ्गाले खेलेको भूमिकालाई नकार्न सकिन्न । मैले यही ढुङ्गा कहिले जुत्ता पुछ्ने साधन बन्नुपर्दा विरक्तिएको अनुभूत गरेको छु कहिले धूप, दीप र नैवेद्य ग्रहण गर्न तम्तयार देवदेवीको प्रतिरूप देखेको छु । कहिले उकाली ओरालीहरूमा चौतारीमा थकान मार्ने बिसौनी बनेर बटुवा पर्खिरहेको भेटेको छु । कहिले पहाड र चट्टान बनेर बाढी र भूक्षय नियन्त्रण गर्न रक्षाकवच बनिदिएको देखेको छु । अधिक उत्खनन् र प्रयोगले समस्याको कारक बनेको देखेको छु । खानीहरूबाट निकालिँदा कमजोर जमिनले मानिसलाई चुनौतीको पहाड थपिदिएको देखेको छु ।
ठेस लाग्दा रुने मान्छे म, दुस्मन सम्झेर भीरबाट गुल्टाएर खुसी हुने मान्छे म एकाएक मलाई ढुङ्गा गुरु लाग्न थाल्छ । यसको स्थिरताबाट कठिन परिस्थितिमा पनि अडिग रहन प्रेरणा मिल्छ मलाई । समयसँगै कठोर बन्न र सहनशील बन्न प्रेरित गरिरहन्छ मलाई । हाम्रो जीवन र सभ्यताको आधार प्रकृतिबाट प्राप्त यो अनमोल उपहार संरक्षण र सम्मान गर्ने रहरको सगरमाथा एकाएक अग्लिएको छ ।
Shyamkumarbaniya@gmail.com