- नवसाहित्य

संप्रस पौडेल
कवि/गजलकार/मुक्तककार/नियात्राकार
१३ वैशाख २०८२ । नवसाहित्य अनलाइन । जनता अनि राष्ट्रको गीत गाए परिवेशबाट माथि उठ्न अनि परिवर्तनतर्फ अग्रसर हुन आग्रह गर्ने जनगायक जीवन शर्मा हेटौँडामा सम्मानित हुँदै हुनुहुन्छ। शर्मालाई श्यामप्रसाद शर्मा प्रतिष्ठान मकवानपुरले सम्मान गर्न लागेको हो ।
श्याम प्रसाद स्मृति सम्मान-२०८२ समर्पण गरिने कार्यक्रममा शर्माका एकल गायन प्रस्तुति रहने संस्थाका सचिव सुवास खनालले बताउनु भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्य रहने सो कार्यक्रम हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको प्रवर्द्वन तथा मकवानपुर जिल्लाको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम, मकवानपुरको आयोजनामा हुने ४ नम्बर वडाका अध्ययक्ष नवीन सिग्देलले जानकारी गराउनु भयो ।
सिमली छायाँमा बसी, झरनाको चिसो पानी, रातो लालटिन, सागर भेट्न जाँदैछ नदी, सुकेर जाँदैन रोकेर रोकिँदैन, जस्ता चर्चित गीतहरूमा स्वर दिनु भएका शर्माका गीतहरू यसअघि प्रलेस मकवानपुरले समेत हेटौँडामा एक कार्यक्रमबिच प्रस्तुत गराएको थियो । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालको संस्थापक शर्माको स्मृतिमा स्थापित श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान, का अध्यक्ष सूर्यचन्द्र न्यौपाने हुनुहन्छ ।
दर्शनशास्त्र र राजनीतिशास्त्रमा स्नातक गर्नु भएका शर्माले अङ्ग्रेजी र मानवशास्त्रमा स्नात्तकोत्तर पूरा गर्नु भएको छ भने जनताका गीत गाउँदै हिँड्ने उहाँलाई सर्वहारा गायकको परिचय समेत प्राप्त छ । उहाँका १ हजारभन्दा बढी गीत रेकर्ड छन् भने झण्डै ३ दशक रक्तिम समूहमा आबद्ध भइ जनतामाझ चेतना बाँड्ने अभियानमा गीतसङ्गीतलाई माध्यम बनाइ हिँड्ने उहाँले हालसालै रक्तिम समूह त्याग गर्नुभएको छ ।
पूर्व शिक्षक शर्मा इन्जिनियरिङ पढाइलाई बिचैमा हापेर सङ्घर्षमा होमिएका सशक्त योद्धा मात्रै नभइ सादा जीवन र उच्च विचार बोकेर नेपालमा डाँडापाखादेखि लेकबेसी हुँदै युरोपका रङ्गीन मञ्चहरूमा पनि पुग्नुभएको छ ।
चार दशकभन्दा लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माको सो कार्यक्रम १९ बैशाखमा ओम्याक्स सिनेमा हलमा दिनको ४:०० बजे हुने र सहभागिताका लागि अनिवार्य प्रवेश पासको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
लागि
9865517000