Home Blog Page 6

गाम्नागेको व्यङ्ग्य कृति ‘दलालशाला’ झापा र दुबईबाट एकसाथ विमोचित

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

माघ २, बुधबार । सिस्नुपानी नेपालका अध्यक्ष एवं हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य कृति ‘दलालशाला (निबन्ध सङ्ग्रह)’ प्रकाशनमा आएको छ । मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको उक्त पुस्तक हास्यव्यङ्ग्यमा गाम्नागेको आठौँ कृति हो ।

झापाको गौरादहस्थित लेखकको निवास र दुबईको बुर्ज खलिफा टावरमा विमोचन समारोह सम्पन्न भएको लेखकले जानकारी गराउनु भएको छ । उहाँकी आमाको अस्वस्थताका कारण दुबईको भ्रमण रद्द गरी गृहनगर गौरादहमा लेखकसहित परिवारमार्फत् विमोचन गरिएको हो । यस्तै सप्ताहव्यापी ‘दुई थोपा हाँसो’ शीर्षकको चेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम लिएर संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेको सिस्नुपानी नेपालको समूहले विश्वकै अग्लो टावर बुर्ज खलिफाको १२५ औँ तलामा विमोचन गरेको हो ।

सिस्नुपानी नेपालका उपाध्यक्ष प्राज्ञ धीरेन्द्र प्रेमर्षि, उपाध्यक्ष तथा हास्य कलाकार मनोज गजुरेल, महासचिव टङ्कराज आचार्य, सचिव सरोज घिमिरे सदस्यहरू चक्र दवाडी एनआरएनए दुबईका अध्यक्ष विकास शाही, मध्यपूर्व प्रमुख रमेश श्रेष्ठ, समाजसेवी ठाकुर ढुङ्गाना, भीम मल्ल, मञ्जु पोखरेललगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको हास्यकलाकार गजुरेललले जानकारी गराउनु भएको हो ।

मञ्जरी प्रकाशनद्वारा प्रकाशित पुस्तकमा १३८ छोटा निबन्धहरु सङ्ग्रहित छन् भने २८४ पृष्ठको पुस्तकको मूल्य रु ५६५।– रहेको छ ।

‘नेपाल’ पत्रिकामा लामो समय ‘झटारो’ स्तम्भ लेखेका गाम्नागेका छानिएका झटारोहरू यस पुस्तकमा सङ्ग्रहित छन् । जसलाई पुस २९ गते लेखक गाम्नागेको ६०औँ जन्मदिनको अवसरमा विमोचन गरिएको हो । भुटानको मेनाटारमा जन्मिनु भएका गाम्नागे दूरसञ्चार संस्थानबाट निवृत्त जीवन बिताइरहनु भएको छ भने यसअघि उहाँका घिटिकघिटिक बाँचेर शहरमा (व्यङ्ग्य कविता), लाठीचार्ज (व्यंग्य निवन्ध), कत्ति धुनु गधाहरूलाई (व्यंग्य निवन्ध), तीन न तेह्र (व्यङ्ग्य कविता), स्वाहा (व्यंग्य निवन्ध), पत्याउँदा पत्याउँदै (व्यङ्ग्य कविता), छोपछाप (व्यङ्ग्य निबन्ध सङ्ग्रह) हास्यव्यङ्ग्य सङ्ग्रह प्रकाशन भएका छन् ।
उहाँले पसिनाका पाइला (उपन्यास), बाँदरको पुच्छर (बालकथा), बाँदरको कोशेली (बालकथा), प्रिय चिठीहरू (चिठी संग्रह) समेत लेख्नुभएको छ भने थुप्रै पुस्तकहरू सम्पादन गर्नु भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

भारतका ४ स्रष्टालाई नइ पुरस्कार

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

माघ १, मङ्गलबार । नइ प्रकाशनले भारतका ४ स्रष्टाहरूलाई २०८० सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो ।

कुन पुरस्कार कसलाई ?
* २ लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ केबी नेपालीलाई
* १ लाख रुपियाँ राशिको ‘नइ कोइलीदेवी पुरस्कार’ रञ्जित गजमेरलाई
* १ लाख रुपियाँ राशिको ‘नइ ईश्वर बराल पुरस्कार’ डा.जीवन नामदुङलाई
* १ लाख रुपियाँ राशिको ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ डा.शान्ति क्षेत्रीलाई
०००

स्रष्टाहरूलाई सम्मान गरिनुको कारणः
केबी नेपालीलाई साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि विगत साढे छ दशकदेखि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उहाँलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

विशेष गरेर नेपाली गीतको गायनका लागि उच्चस्तरीय सङ्गीत निर्माण गरी देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन अहोरात्र क्रियाशील रहेको भन्दै मुम्बई निवासी सङ्गीतकार रञ्जित गजमेरलाई सम्मान गर्न लागेको हो ।
नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत प्रकाशनले दार्जिलिङका डा.जीवन नामदुङलाई सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाली साहित्यमा कविता, निबन्ध, कथा र समालोचना लेखनबाट आफ्नै आकाश निर्माण गरी प्रसिद्धि कमाएकी सिक्किम निवासी साहित्यकार डा.शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइले जनाएको छ ।
नइ प्रकाशनको विधानअनुसार अन्तर्राष्ट्रियस्तरका सर्जकलाई दिइने पुरस्कार केबी नेपाली र डा.शान्ति क्षेत्रीलाई दिइएको हो ।
नेपाली साहित्य, गीतसङ्गीतलाई अन्तर्राष्ट्रियस्तरमा चर्चामा पुर्‍याउनु भएकोमा रञ्जित गजमेर तथा समालोचकलाई मात्र प्रदान गरिने पुरस्कार भारतीय समालोचकहरूमध्ये उत्कृष्ट समालोचकका रूपमा डा.जीवन नामदुङ गरी पहिलो पटक मुलुकबाहिरका २ स्रष्टालाई सम्मान प्रदान गरिएको नइ प्रकाशनका सचिव नरेन्द्र प्रसाइँले नवसाहित्य अनलाइनलाई जानकारी गराउनुभयो ।
०००

नइका नाममा हुलाक टिकट र सिक्का
२०८० सालमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभागले नइ प्रकाशनको लोगो अङ्कित १० रूपियाँको दस लाख प्रति हुलाक टिकट प्रकाशनमा ल्याएको छ । यस्तै २०७९ सालमा नइको रजतजयन्तिको अवसरमा नइको लोगोअङ्कित १ सय रुपियाँको १० हजार थान स्मारिका सिक्का नेपाल राष्ट्र बैंकले प्रकाशनमा ल्याएको छ ।

नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

‘भ्यागुतालाई स्टकोट’ का गायक सोमबहादुर लामा सम्मानित ।

नवसाहित्य डटकम

वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरद्वारा गायक सोमबहादुर घलान लामा सम्मानित हुनु भएको छ । ५० हजार रुपैयाँ राशिको सम्मानद्वारा सम्मानित लामा अशक्त अवस्थामैँ कार्यक्रममा उपस्थिति हुनुहुन्थ्यो ।
सक्रिय जीवनकालमा शिक्षणपश्चात् संस्थानमा रोजगारी गरी रातोमाटे गाउँ पञ्चायतका अध्यक्ष समेत रहनु भएका घलानको आफ्नै शब्द र स्वरमा रहेको सो गीत रेडियो नेपालद्वारा रेकर्ड भएको हो ।
कार्यक्रममा समाजसेवी कृष्णप्रसाद नेपाल १५ हजार रूपैयाँ राशिबाट सम्मानित हुनु भएको थियो ।
०००
वासुदेव रिजाल स्मृति ग्रन्थ प्रकाशन
हेटौँडा उपमहानगरपालिका मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम वासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजालको सभाध्यक्षतामा आयोजना भएको हो । भैरवीदेवी रिजाल संरक्षक रहनु भएको प्रतिष्ठानद्वारा वासुदेव रिजाल स्मृति ग्रन्थ प्रकाशन गरी विमोचन समेत गरिएको थियो । पुस्तकलाई साहित्यकार तथ सम्पादक निमेष निखिलले सम्पादन गर्नु भएको हो । स्मृति ग्रन्थमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूद्वारा लिखित तथा सञ्चालित ३१ लेखरचनाहरू समावेश छन् ।
प्रतिष्ठानले मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालय प्राङ्गणमा भानुभक्त आचार्यको शालिक निर्माण गरेको छ भने वर्षेनी भानु जयन्तिमा साहित्यिक जमघट समेत गर्ने गरेको छ ।
हेटौँडा गाउँपञ्चायतको पछिल्लो तथा नगरपञ्चायतका प्रथम प्रधानपञ्च रिजालको निधन २०३७ सालमा भएको हो । कार्यक्रममा स्व. वासुदेव रिजालको व्यक्तित्व तथा योगदान बारे इतिहासकार केदार न्यौपानेले मन्तव्य राख्नु भयो भने गायक लामाबारे रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले मन्तव्य राख्नु भयो ।
कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेल र निवर्तमान अध्यक्ष राजकुमार लामिछानेले हास्यव्यङ्ग्य रचना वाचन गर्नुभयो ।
रामचन्द्र आचार्य फुर्सतीले स्वागत गर्नु भएको कार्यक्रमलाई साहित्यकार तथा प्रतिष्ठानकी सचिव अनिता न्यौपानेले सहजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

विशेष लघुकथा वाचनमा पाँच स्रष्टा सुनिए

नवसाहित्य डटकम

१३ पुस २०८१ मकवानपुर, लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार पोखरामा विशेष लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा वाचन गरेर गरेका थिए ।

कार्यक्रममा लघुकथाकारहरू त्रिलोचन ढकाल, रमेशचन्द्र घिमिरे, टुकादेवी पौडेल आचार्य, गीता तिवारी, र ढाकामोहन बरालले दुई चरणमा आफ्ना उत्कृष्ट लघुकथा प्रस्तुत गरेका थिए । वाचन भएका कथाहरूमा समसामयिक सामाजिक यथार्थ, मानवीय संवेदनशीलता र सांस्कृतिक पक्षलाई समेटिएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले लघुकथाको महत्वबारे चर्चा गर्दै यस विधाको प्रभावकारिता र भविष्यका सम्भावनाहरूको चर्चा गरे ।

बिशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची” ले लघुकथा वाचन गर्दै लघुकथाको प्रकृति र प्रवृत्तिप्रति चर्चा गरेका थिए ।

लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य र सचिव अमृतले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले यस प्रकारका साहित्यिक कार्यक्रमहरूले लघुकथाका नयाँ सम्भावना उजागर गर्दै साहित्यिक क्षेत्रलाई समृद्ध पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

Section Title

काव्यगोष्ठी- २०८१ सम्पन्न !

नवसाहित्य डटकम

कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको सन्दर्भमा जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जाद्वारा आयोजित काव्यगोष्ठी- २०८१ सम्पन्न भएको छ ।

गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको उक्त काव्यगोष्ठीमा सभाध्यक्षको रूपमा जगत्रदेवी साहित्य संगमका अध्यक्ष अग्रज कवि व्यक्तित्व चण्डिकाप्रसाद भट्टराई रहनुभएको थियो ।

प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल रहनुभएको थियो भने विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी रहनु भएको थियो ।

काव्यगोष्ठीमा स्वागत मन्तव्य संगमका सह- सचिव गजलकार डिल्लीराम भण्डारीद्वारा प्रस्तुत गरिएको थियो ।

प्रमुख आमन्त्रित व्यक्तित्वद्वारा दीप प्रज्वलनसङ्गै ब्यानरमा उल्लेखित विवरण वाचन गरेर समुद्घाटन गरिएको काव्यगोष्ठी समारोहमा गजलकार डिल्लीराम भण्डारी, गजलकार सिर्जना खनाल, कवि सुमन भट्टराई, गजलकार झवनाथ बस्याल, कवि अमृता खनाल, गजलकार नारायणप्रसाद न्यौपाने, गजलकार गीता अधिकारी, 

कवि ऋषिराम भण्डारी, कवि बोधराज न्यौपाने, गजलकार आरती ढकाल पाठक, कवि हरिकला पाठक, कवि इन्द्रप्रसाद पाठक, कवि ढालबहादुर के.सी., अग्रज कवि सुर्यप्रसाद डुम्रे, अग्रज कवि लेखनाथ काफ्ले, कवि शिशिर पौडेल, कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी, कवि प्रेमबन्धु सुवेदी, युवा कवि मिलन समीर, अग्रज कवि चण्डिकाप्रसाद भट्टराई आदिले आफ्ना उत्कृष्ट रचनाहरु वाचन गर्नुभएको थियो ।

काव्यगोष्ठी- २०८१ को प्रायोजन गर्नुभएका सहृदयी सिर्जनशील व्यक्तित्व अमरविक्रम अधिकारी ( गल्याङ- ११, तुलसीभञ्ज्याङ्, स्याङ्जा, हाल- न्यूयोर्क, अमेरिका ) लाई उहाँको विशेष सहयोग र सद्भावको उच्च कदरस्वरुप कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 ( उहाँको अनुपस्थितिमा उहाँकि दिदी मीना न्यौपानेद्वारा उक्त कदरपत्र ग्रहण गरिएको थियो । )

समारोहमा नेपाली भाषा- साहित्यको क्षेत्रमा पुर्‍याउदै आउनुभएको विशेष महत्त्वपूर्ण योगदानको उच्च कदरस्वरुप डा. शैलेन्दुप्रकाश अधिकारीलाई जगत्रदेवी साहित्य सम्मान- २०८१ समर्पण गरिएको थियो ।

कार्यक्रममा धन्यवाद मन्तव्य संगमका सदस्य कवि प्रेमबन्धु सुवेदीद्वारा प्रस्तुत गरिएको थियोे भने सहजीकरण संगमका सचिव युवा कवि मिलन समीरद्वारा गरिएको थियोे ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

प्रलेस मकवानपुरमा विशाल अधिकारीको नेतृत्व, निभा शाह सम्मानित

नवसाहित्य डटकम

पौष २०, मकवानपुर । प्रगतिशील लेखक सङ्घ मकवानपुरको नेतृत्वमा विशाल अधिकारी चयन हुनु भएको छ । नवौँ अधिवेशनमार्फत् अधिकारीको नेतृत्वमा १० सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
समितिमा निम्नानुसारका व्यक्तिहरू रहनु भएको छः
१. अध्यक्ष, विशाल अधिकारी
२. उपाध्यक्ष, लिला उर्बशी
३. सचिव, गायत्री रुपाखेती
४. सहसचिव, रमेश अविरल
५. कोषाध्यक्ष, विधान आचार्य
६. सदस्य, राजकुमार चौधरी
७. सदस्य, निलहरि ढुङ्गेल
८. सदस्य, सूर्यबहादुर गोले
९. सदस्य, विक्रम घलान
१०. सदस्य, मनोज मोक्तान

प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षतामा आयोजित कार्यक्रमले उपाध्यक्ष विशाल अधिकारीको नेतृत्वमा वर्तमान कार्य समिति गठन गरेको हो । यस्तै लिला उर्वशी, विधान आचार्य, सूर्यबहादुर गोले, विक्रम घलान समेत पुनः नवगठित कार्यसमितिमा समेटिनु भएको छ ।

निभा शाह सम्मानितः
नवौँ जिल्ला अधिवेशनका क्रममा कवि निभा शाह सम्मानित हुनु भएको छ । साहलाई युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मानले सम्मानित गरिएको हो । प्रथम गणतन्त्रवादी कवि मिश्रको स्मृतिमा सो पुरस्कार बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालले स्थापना गर्नु भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दनाले सम्मानित स्रष्टाको बारेमा मन्तव्य राख्दै शाह ‘मनसरा’ जस्तो परिवर्तनमुखि अपेक्षाको कविता लेखेर परिवर्तनको पक्षमा वकालत गर्नसक्ने क्षमताको स्रष्टाका रूपमा आफूले चिनेको बताउनुभयो । २२ हजार २ सय २२ रुपैयाँ राशिको सो सम्मानबाट यसअघि पहिलाे पटक पशुपति तिमल्सिना सम्मानित हुनुभएकाे थियाे । दाेस्राे पटक रामेश श्रेष्ठ, तेस्राे पटक पुरुषाेत्तम आचार्य र आज चाैथाे पटक कवि निभा शाह सम्मानित हुनुभएकाे हाे ।

चिरञ्जीवि लामिछानेले सहजीकरण गर्नु भएको कार्यक्रम हेटौँडा क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

तिर्खा पँधेरोमा छटपटाइरहेको हुन्छ: विमल वैद्य

नवसाहित्य डटकम

छोडिजानेहरूका रहर बढी हुँदो हो
छोडिजानेहरूको सहर अर्कै हुँदो हो
लाग्छ दुख्ने कुनै अवयव हुँदैन
बिदाइमा हत हल्लाए जस्तै
हल्लिँदैन मन उसको
जुन दिन हल्लिन्छ मन
र रिक्तताको आभासले
भतभती पोल्न थाल्छ
त्यतिबेला एउटा चिसो सम्झनाले
तिम्रै आँखाअघि आत्महत्या गर्नेछ ।

कवि विमल वैद्यका ‘छुटेर जानेहरू’ कविताको एक कवितांश हुन् यी हरफहरू । हेटौँडामा एक कार्यक्रममा कवि कवि वैद्यको ‘युगको तटमा उभिएर’ कवितासङ्ग्रहमा सङ्ग्रहित तथा नयाँ कविताहरू वाचन गरिएका छन् ।

‘गोप्य कोठा’ कवितामार्फत् ‘कामको अभिलेख नरहने, मानिसहरूको भीड वर्जि हुने र नियम अनि कानुनहरू निषेधित हुने’ बताउने कवि वैद्य ‘स्कुल जाने छोरालाई’ कवितामार्फत् वर्तमान व्यवस्थाको तीतो यथार्थता यसरी व्यक्त गर्नुहुन्छ-
(कवितांश)
…एउटा प्राविधिक स्तरहीन निर्माणको
फर्जी बिल पास गर्छ
र केही दिनमैँ पुल र पर्खाल भत्किन्छन्
कानुन पढेका वकिल
रुपैयाँका लागि दाहिने हाले वादी लेख्छन्
र देब्रे हातले प्रतिवादी खाप्छन्
उपचार गर्ने डाक्टर
अस्पतालमा निःशुल्क पाइने दबाई नलेखेर पुर्जामा
नजिकैको मेडिकलबाट कमिसन खान्छ
शिक्षक स्कुलमा नपढाएर
कुनै राजनीतिक दलको झोले बनेर हिँड्छ
इमानको बाटोमा हिँड्न नसक्ने हो भने
छोरा, पढेर केही हुन्न
तिमीले स्कुल नगए हुन्छ ।…

कविता वाचनका क्रममा वैद्यले राजनैतिक विचार जे भएता पनि कविता लेखनमा नारा र भाषणलाई लेखेर कविताको महत्व घटाउन नहुने बताउनुभयो । वाचन गर्दैगर्दा उहाँले केही कविताका रचनागर्वबारे चर्चा समेत गर्नुभ‌यो । कार्यक्रममा वैद्यले फागुनको मौसम, ननफिक्सन प्रेम, स्कुल जाने छोरालाई, छुटेर जानेहरू, दाहिने खल्तिको पर्स लगायतका कविताहरू सुनाउनुभएको हो ।

इलाम निवासी हास्यव्यङ्ग्य सर्जक विष्णु नवीनका समाजप्रतिको विद्रोहका प्रसङ्ग उठाउँदै आफ्नो सङ्ग्रहबाट ‘म उहीविष्णु नवीन हुँ’ कविता वाचन गर्दै वैद्यले भन्नुभयो- विष्णु नवीन इलामका अत्यन्त सचेत कवि भएको र उहाँले आफू जीवित रहुञ्जेल समाज र समाजका विद्यमान धारणाप्रति विमति राख्दै त्यसका विपक्षमा चेतनास्वरूप निरन्तर लेखन र व्यवहारिक पाटोबाट व्यङ्ग्य गरिरहनु भएको बताउनुभयो ।

किताबघर हेटौँडाद्वारा आयोजित कार्यक्रममा साहित्यकारद्वय निमेष निखिल र शान्ति प्रियवन्दनाले मन्तव्य राख्नुभ‌एको थियो । मन्तव्यका क्रममा निखिलले वैद्यका कविता पढेर कविता लेख्ने आफ्नो पुस्ताले उहाँको लेखनबाट प्रजातान्त्रिक धारका प्रगतिशील कविताका रूपमा आफूले बुझेको र चेतनशील व्यक्तिले समाजमा घट्ने अस्वाभाविक घटनाप्रति ‘मान्छे’ लाई केन्द्रविन्दु बनाएर कविता लेख्नु कविको शक्ति भएको बताउनुभयो । जीवनयात्राका क्रममा आउने प्रेमविछोड, संयोगवियोगका विषयहरू कवितामा आउनु स्वभाविक हुँदाहुँदै आफ्नै कविताको बाटो बनाएर चार दशकदेखि यात्रारत कवि वैद्यको आगामी यात्राको लागि शुभकामना व्यक्त गर्नुभयो ।

प्रियवन्दनाले वैद्यका कविता तथा सङ्ग्रहप्रति आफ्नो धारणा राख्दै वैद्यका कविता सबैखाले वादबाट अलग रहनुका साथसाथै मानवीय संवेदना र प्रवृत्तिलाई उजागर गरेको बताउनुभयो । उहाँले आमा, माटो, प्रेम, सम्मान, संस्कृति र दर्शन अनि इतिहासजस्ता जीवन्त विषयलाई कविताले टपक्क टिपेको मात्र नभइ सामान्य र सरल शब्दको प्रयोगबाट वैद्यका कविताले श्रमिकहरूको भोक र विद्रोहसमेत ओकलेको हुँदाहुँदै नारीवादी दृष्टिले भने कमजोर रहेको बताउनुभयो ।

साहित्य सर्जक, साहित्यसेवी, पत्रकार तथा पाठकस्रोता सहभागी सो कार्यक्रम थर्ड आइ एजुकेसनल सेन्टर प्राइभेट लिमिटेडको सहयोगमा आयोजना गरिएको कार्यक्रमका सहजकर्ता तथा किताबघरका सञ्चालक छवि अनित्यले जानकारी दिनुभयो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

पुँजीवादी प्रेम – चन्द्र बहादुर लामा

चन्द्र बहादुर लामा

कवि

निर्मल लाग्थ्यो
निस्वार्थ लाग्थ्यो
र लाग्थ्यो निरपेक्ष
तिम्रो प्रेम ।

तर एकान्तमा
तिमीसङ्ग साटेका
रङ्गिन सपनाहरू
प्रिय वाचाहरु
न्याना उच्छवासहरू
प्रेमिल नजरहरू
कोमल स्पर्शहरू
स्वच्छन्द हाँसोहरू
निर्मल आँसुहरू
रसिक कुराहरु
स्नेहिल साउतीहरू
समर्पित आलिङ्गनहरू
हृदयस्पर्शी स्पन्दनहरू
अन्तरङ्ग भावनाहरू आदि आदि
सप्पै सप्पै कुराहरू
सेयर बजार संगै
ओरालो लागे पछि
बुझेको हुँ बल्ल
निरपेक्ष नभएर
तिम्रो प्रेम
पुँजीवादी रहेछ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

हेटौँडामा मोमिला जोशीको एकल कविता वाचन

नवसाहित्य डटकम

एकल वाचनका क्रममा कवि तथा निबन्धकार मोमिला जोशीका १० कविताहरू वाचन भएका छन् । साहित्य सङ्गम मकवानपुरको सहकार्यमा युवा परिषद बागमती प्रदेशद्वारा आयोजित युवा कविता उत्सवका अवसरमा कवि जोशीले आफ्ना झण्डै ४० वर्ष पूरानादेखि नयाँ कविताहरू सुनाउनुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलद्वारा व्यक्ति परिचय गराइएको सो कार्यक्रममा उहाँले पीडा, प्यास र पानी, सूर्य समय, एउटा लालीगुराँस हराएको बेला, मात्र एउटा हाँगा काटिने, दोभन प्रहारबाट, नगरबधुको वक्तव्य, हिउँदको प्रथम वर्षात्, उकालोमा मेरो तस्बिर, तिमी र म, भीमसेन थापाको सुसाइड नोट शिर्षकका कविताहरू वाचन गर्नुभएको हो ।

हेटौँडाको २ दिने बसाइका क्रममा शुक्रबार आँचल साहित्य कला पुञ्ज मकवानपुरद्वारा उहाँको निबन्ध कृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्…’ माथि बहस कार्यक्रम आयोजना गरिएको थियो ।

शनिबार रोयल प्यालेस हेटौँडामा आयोजित एकल कविता वाचन कार्यक्रममा जोशीले युवा, देश, सामाजिक परिस्थिति, महिला र पुरूषका समभावजस्ता विषयवस्तुलाई आफ्ना कवितामार्फत् समेट्नु भएको थियो ।

आयोजक युवा परिषदले अघिल्लो वर्ष विप्लव प्रतिकका एकल कविता वाचन गराएको थियो भने हाल नेपाली कला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष जोशीका कविता वाचनका सँगसँगै विगतको प्रतियोगितालाई समेत निरन्तरता दिँदै युवाहरूमा सिर्जनात्मक क्षमता वृद्धि, हौसला तथा आशा जगाउन पनि यस्ता कार्यक्रम आवश्यक रहेको परिषदका उपाध्यक्ष सन्तोष चौलागाईँले बताउनुभयो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविताको १ लाख राशि पुरस्कार संयोग, सुदर्शन, सुमी र महेशलाई

नवसाहित्य डटकम

प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित युवा कविता उत्सव २०८१ मा कास्कीका संगम संयोग प्रथम हुनु भएको छ । उहाँले ‘सावधान’ कविताका लागि ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्रले सम्मानित हुनु भएको छ ।

यस्तै कास्कीका कवि सुदर्शन पौडेलले ‘घर नफर्किएको छोराको सम्झनामा’ कविताका लागि ३० हजार राशिको द्वितीय पुरस्कार प्राप्त गर्नु भएको छ ।

उदयपुरका कवि सुमी पोखरेलले ‘समयदर्शक यन्त्रको पर्दा नियाल्दा’ कविताका लागि २० हजार राशिको तृतीय पुरस्कार प्राप्त गर्नुभयो । बझाङका कवि महेश कठायतले ‘देश’ कविताका लागि रु. १० हजार राशिसहित पुरस्कृत हुनुभयो ।

बझाङका कवि महेश कठायतले ‘देश’ कविताका लागि १० हजार राशिको सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । पहिलो चरणमा कूल २२३ कवितामध्ये उत्कृष्ट २० कविता छनोट गरिएको थियो । सोमध्ये ४ कविहरू पुरस्कृत हुनु भएको हो । वाचन सत्रमा पर्वतका तारानाथ पराजुली र संखुवासभाका सिजन श्रेष्ठ प्रतियोगितामा सहभागी नै हुनु भएन ।

कविहरू भीष्म उप्रेती, आरएन डङ्गोल र टिका आत्रेयले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

युवा परिषद बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्षतामा आयोजित कार्यक्रममा युवा तथा खेलकूद मन्त्री मीनकृष्ण महर्जनको प्रमुख आतिथ्य रह्यो । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, बुढ्यौली समाज मकवानपुरका अध्यक्ष आरसी रिजाललगायतले मन्तव्य राख्नुभयो ।

रोयल प्यालेस हेटौँडामा आयोजित कार्यक्रमलाई साहित्य सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन