Home Blog Page 58

कविता : नास्तिक भगवानहरू/आदित्यराम

बजारेर
धार्मिक क्रुरताको बुट
उत्तराधुनिक युगको
प्राविधिक छाती माथि
धर्मका अफिम रसले
मत्त भएकाहरू
अट्टहास गरिरहेछन्,
आँशुका व्यापारमा
बुद्धलाई बन्दुक बेचेर ।
खडा गरेर सत्ता;
संशोधन गरि
मिलनका धाराहरू
थपिदिए
विभेदकारी नाराहरू ।
मेटाएर
सहिष्णुताका परिच्छेद
लेखिदिए
तिरस्कार र हेयका अनुच्छेद ।
हटाएर
विश्वबन्धुत्वका भागहरू
राखिदिए नश्लिय मागहरू ।
परिवार समेट्ने
आशा देखाएर
मोहम्मदलाई,
छिँयाछिँया पारिएको छ
आत्मघाती बिस्फोटमा ।
पुर्खाका घर
हालसाविक गर्न उक्साएर
इब्राहिमको
छानो लुटिएको छ ।
संसार नियाल्न हिँडाएर
जोन आडमका आँखामा
फुलो पारिएको छ ।

मुर्तिहरू
अभियोग खेपिरहेछन्
रहर पूरा नगरिदिएको ।
विभत्स हताहती
चुपचाप हेरिरहेछन्
चर्चामा बालिएका
मैनबत्तीहरू ।
मैत्रीभाव भेट्दैनन्
रिम्पोन्छेहरू ।
हज निस्किएको छ,
इस्लामको खोजीमा ।
गुरुद्वारामा माथा
बजारिरहेछन् वाहेगुरु ।
उन्मुक्ति खोजेकाछन्
महाविरले जंजीरदेखी ।
बनाएपछि पर्खाल,
मान्छे–मान्छे छुट्याउने गरी
मुक्त हुन चाहन्छन्,
शास्त्रका अक्षरहरू
फेरि कहिल्यै नजोडिनेगरी ।
र,
हरेक साँझ विहानको
भजनले,
प्रार्थनाले,
नमाजले,
स्तुतिले,
बिर्सिएपछि मानवता,
नास्तिक भएकाछन्
भगवानहरू,
प्रभु, अल्लाह र सम्बुद्धहरू ।

                          गोरखा

कविता : मेरो यात्रा / भीमप्रसाद खतिवडा “अनुराग”

बोकी सुनौला सपना हजार
जानेछु विद्यालय बारबार ।
झोला भरी पुस्तक हैन हेर
ती लक्ष्य हुन् हिड्छु सधैँ लिएर ।।

म भन्दिन पुग्दछु चन्द्रमामा
सङ्घर्ष गर्नेछु यही धरामा ।
जादैछु गङ्गाजल झैँ बगेर
चिनाउँला सिन्धु म हुँ भनेर ।।

कुदृष्टि पर्दा जब मृतिकामा
मेरा दुवै पाउ बनून् सिमाना ।
यी नेत्र मेरा रवि चन्द्रमा हुन्
बिहान सन्ध्यामा उदाऊन् ।।

झण्डा उठेझैँ शिर यो उठाई
यो देश राखौँ मुटुमा लुकाई ।
चिरेर छाती हनुमान् बनेर
देखाउला देश यहाँ भनेर ।।

अस्मिता निम्ति लडी रहीरहन्छु
जस्तो सुकै दुःख परोस् सहन्छु ।
त्यो मैनबती जसरी बलेर
पग्लेर जाऊँ म प्रभा छरेर ।।

धर्ती भिजाऊँ पसिना बगाई
आनन्द मिल्नेछ यही मलाई ।
भूस्वर्ग हो लाग्दछ खेतबारी
यो भूमि पुज्ने म बनूँ पुजारी ।।

यी शब्दले व्यक्त गरी सकिन्न
यात्रा कहिल्यै पनि रोकिदैन ।
चाहे त्यो बादलमा विलाऊँ
म सूर्य हुँ भोलि पुनः उदाऊँ ।।

महेश संस्कृत विद्यापीठ, तनहुँ ।

कविता : पर्खाई / सुरज पराजुली

आफ्नो लट्टाईबाट धागो चुँडालेर
उडेको चढ़गा
छिमेकीको छानो, तल्लो गहाको आकाश
डाँडाको देवल हुँदै गाउँको सिमानाबाट खेलिंदै गयो

त्यसपछि
बार्दलीबाट एउटा कपकपाएको बुढो आवाज
कसैको खोजीमा गुञ्जिरहन्छ
प्रत्येक दिन

तेल घसेर
शिशु समय सुताउने कौसी सुकाइरहन्छ
पूर्वपट्टि बसेर कागले सुबोल नसुनाएको
एक धैर्य बिस्कुन
जहाँ वर्षौँ भयो
पूर्वपट्टि बसेर कागले सुबोल नसुनाएको

बिलाउनीको मागसहित हत्केला लम्किरहने चुलोमा
आगो नभर्भराएको धेरै भयो
जहाँ
खारिइरहेछ एक पर्खाइ नौनी

आफ्नो छातीमा बुकुर्सि मारिरहने पाठापाठी
शहरले खरिदे पनि
लामो समयदेखि आँखा नफरफराएको आँगन
उमारिरहेछ– एक आशा घोडताप्रे

काँक्राका बेलाहरू–पर्खिरहेछन्
लिचीका झुप्पाहरू–नुहिरहेछन्
सुन्तलाका दानाहरू–कुरिरहेछन्
एक चञ्चल किशोर हुल

पिँढी, मझेरी, आँटिले
बिर्सिएका छन् मुस्कुराउन
गोठ, बारी, बुइँगल
उस्तै बेचैनीमा छन्
आत्तिएका जस्ता देखिन्छन्
करेसा, आँगन र भान्सा

सुस्केराहरूको लहर निस्किरहन्छ चिम्नीबाट
कॉपिरहन्छ धुरी खाँबो र दलिन
बेलाबेला अनौठो आवाज निकाल्छन् गाग्रीहरू
गाउँलेहरू भन्छन् –
परिवर्तनशील समयको चट्याङ लागेपछि
यस घरको सातो गएको हो ।

इनरुवा–७, सुनसरी

कविता : कुण्डली / अन्जान प्रदीप

हामीले–
विचार र वीर्यको तरलतालाई
जिन्दगीको नाम दियौँ ।

हामीले–
बन्दढोकाको सानो छिद्रलाई
सम्झनाको नाम दियौँ ।

हामीले–
कुण्ठाको पोखरीमा छरिएको तरङ्गलाई
सपनाको नाम दियौँ ।

हामीले–
आफ्नै जन्मान्तर कैदलाई
स्वतन्त्रताको नाम दियौँ ।

हामीले–
आवाजको परिधिलाई खुम्च्याएर
परम्पराको नाम दियौँ ।

हामीले–
नशामा ढलमलिएका खुट्टाहरूलाई
स्वाधीनताको नाम दियौँ ।

हामीले–
विषमता र विसङ्गतिको पानालाई
समाचारको नाम दियौँ ।

हामीले
मगज चिथोरिरहने कोलाहललाई
मौनता र शान्तिको नाम दियौँ ।

हामीले पढाइरह्यौँ–
रातको ह्याङओभरमा बर्बराइरहेको शिक्षकझैँ
बेहोसीमा पाइन्टको जिप फुकालेर नैतिक शिक्षा ।

हामीले गरिरह्यौँ–
फुटपाथमा भाग्य वेचिरहेको ज्योतिषीले झैँ
सत्यको आवरणमा भ्रमको भविष्यको लेखाजोखा ।

हामीले बजाइरह्यौँ–
ऋण र बाध्यताको सुटकेस बोकेर
एयरपोर्टतिर सोझिएको ट्याक्सीभित्र देशभक्तिको गीत ।
हामीले मानिरह्यौँ–
विभेदको रक्ताम्य घडीकाँटाबाट
खसिरहेको चिच्याहटलाई समयको शालीन सङ्गीत ।

हामीले हेरिरह्यौँ–
विज्ञापनको फ्रेम भएको भर्चुअल ऐना,
जहाँ हरसमय प्रसारित हुन्छ सपनाहरुको मृत्युको समाचार ।

हामीले–
आफ्नै पतनको अभिलेखलाई
पौरख, गौरव र इतिहासको नाम दियौँ ।

र यसरी
शब्दहरूको न्वारन गर्दागर्दा
अन्त्यमा हामीले आफ्नै नाम बिर्सियौँ ।

खोजिदिनू
भोलिको शब्दकोशमा
हामीलाई सुहाउँदो नाम के होला ?
                                          चितवन

कविता : निर्धो वक्ररेखा / एलिसा एकलास

नभए पनि
बाँचुन्जेल टेक्न जमिन
मरेपछि पुरिन कब्र

यी मान्छेहरुले,
यो सभ्यताको होस्टेमा हैंसे मिलाएकै थिए

कमशल शरिरकै कङ्काल माथि उभिएको हो
‘द ग्रेट वाल’
श्रमिकहरुकै श्वास खोसेर विश्रामरत छ
पिरामिडभित्र बादशाहको ममी
ताजमहलको सेता सङ्गमर्मरमा खोज्नसक्नुहुन्छ
–डुँडा हातहरुको औँठाछाप
झुलन बगैँचाको मुस्कानमा हल्लिरहेको थियो
–मुस्कुराउन नसकेका ओठहरुका कला

नहेरेरै ग्लोब, नबुझेरै
–पृथ्वी गोलो छ
ध्यान नदिएरै नसोचेरै
–हाम्रो पालो आउँछ
घाम र जुन भेट्न कुदाइएकाहरुकै–
हो यो धर्ती
जीवनको फिलोसोफी खोज्न नजानेकाहरुकै
– हो यो सभ्यता

पृथ्वी गोलो छ– घुम्छ

पारिजातको आँसु पुछेर
–घाम खोज्न हिँडेका अधवैँसे शरीर

पूर्खाको अस्थिपन्जर बटुलेर
–इतिहासको निर्माणमा प्रश्न गर्ने नवपुस्ता

मन्दिरलाई साक्षी राखेर
–ईस्वरको उपस्थितिमा शङ्का गर्ने औलाहरू

नपढेरै राता किताबका अक्षर
‘इन्कलाब जिन्दावाद’ मा परेड खेल्न सिकाउने आमा
’इन्कलाब जिन्दावाद’ कराइरहेका यी आवाजहरू
हाम्रै हुन्
आज,
निर्धाहरू निद्राबाट ब्युँझिएका छौँ ।
नुवाकोट हालः काठमाडौँ

कविता प्रतियोगितामा पराजुली प्रथम, अन्जान द्वितीय र एकलास तृतीय

असोज २७, मकवानपुर ।
राष्ट्रिय युवा कविता उत्सव २०८० को महत्त्वपूर्ण हिस्साका रूपमा रहेको खुला कविता प्रतियोगितामा सुनसरीका कवि सुरज पराजुलीको कविता ‘पर्खाइ’ प्रथम भएको छ । उहाँले कविता ‘पर्खाइ’ का लागि ४० हजार राशि पुरस्कारसहित प्रथम हुनु भएको छ । यस्तै चितवनका कवि अन्जान प्रदीपले कविता ‘कुण्डली’ का लागि ३० हजार राशिसहित दोस्रो र नुवाकोटका कवि एलिसा एकलासले कविता ‘निर्धो बक्ररेखा’ का लागि २० हजार राशिसहित तेस्रो स्थान प्राप्त गर्नु भएको छ । १० हजार रूपैयाँ राशिसहित भीमप्रसाद खतिवडा अनुराग ‘मेरो यात्रा’ कवितामार्फत् सान्त्वना हुनु भएको छ ।

प्राप्त भएको कूल १५३ कवितामध्ये उत्कृष्ट २० छनौट गरी वाचन समेतका आधारमा अङ्क प्रदान गरी नतिजा सार्वजनिक गरिएको निर्णायक मण्डल संयोजक निमेष निखिलले बताउनु भयो । उहाँहरूलाई कार्यक्रमका सभाध्यक्ष र प्रमुख अतिथिले कदरपत्रद्वारा सम्मानित गर्नुभएको थियो । वाचनका क्रममा २० मध्ये १८ कविहरू उपस्थित हुनु भयो । कवितामा वाचन शैलीले सुन्नमा आनन्दित बनाएता पनि कविताको मेरूदण्ड शब्द सिर्जना नै रहेको बताउँदै निर्णायक मण्डल सदस्य कवि भुपिनले निर्णय प्रक्रिया निकै कठिन र निर्मम कार्य रहेता पनि मूल्याङ्कनका क्रममा शब्दहरूलाई न्याय दिने कोशिस गरेको जानकारी दिनुभयो ।

३ सदस्यीय निर्णायक मण्डल मण्डलमा चितवनका कवि भूपिन खड्का, काठमाडौँकी कवि डा. विन्दु शर्मा र हेटौँडाका कवि निमेष निखिल हुनुहुन्थ्यो ।

प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना र साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा शनिबार रोयल प्यालेस हेटौँडामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र प्रदेश युवा परिषद, बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईँको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो ।
मन्त्री मोक्तानले युवाहरू लेखन, वाचन लगायत साहित्य सिर्जनामा लाग्नु सकारात्मक पाटो रहेको बताउनु भयो भने उपाध्यक्ष चौलागाईँले पढ्ने मान्छेमा लेख्ने क्षमता हुने हुँदा पुस्तक पढ्नका लागि प्रेरित गर्नुपर्ने र यस अभियानमा सरिक सबै लेखकहरूलाई धन्यवाद प्रकट गर्नुभयो ।

विशिष्ट अतिथि कवी विप्लव प्रतिक र पूर्व सभासद् अनन्त पौडेल रहनु भएको कार्यक्रममा मकवानपुरका सम्पूर्ण साहित्यिक संस्थाबाट प्रतिनिधित्व गर्दै सर्जक सञ्जालका संयोजक तथा कविताका निर्णायक निमेष निखिलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सङ्गम अध्यक्ष डीबी बर्तौलाले मन्तव्यकका क्रममा साहित्य सङ्गमले साहित्य क्षेत्रको उन्नयनका लागि गुणात्मक कार्यक्रमहरू गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा एकल कविता वाचन सत्रमा कवि विप्लव प्रतीकले सुनाउनु भएको कवितामा दर्शक स्रोताहरू मग्न भएको देखिन्थ्यो । सङ्गम उपाध्यक्ष सानु खनालले उहाँ पूर्व पत्रकारका साथै गीतकार, अनुवादक, रङ्गकर्मीका साथै युवा पुस्ताका रोजाइका कविमध्ये एक भएकैले कार्यक्रमको एक महत्वपूर्ण हिस्साका रूपमा उहाँलाई उपस्थित गराइएको बताउनुभयो ।
किताबघर हेटौँडाले पुस्तक प्रदर्शनी गराएकोमा कवि प्रतिकले विभिन्न कार्यक्रमहरूमा यस्तै प्रदर्शनीका लागि जोड गर्नुपर्ने र त्यसले समेत पठन संस्कृतिमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । सर्जकहरूले प्रदर्शनीबाट आफ्नो रोजाइका पुस्तकहरू सङ्कलन गर्नुभएको थियो ।
युवा पुस्तामा कविता क्रेज सन्दर्भमा बहसमा साहित्य समीक्षक घनश्याम घिमिरे, कविद्वय केशव सिलवाल र सीमा आभास सहभागी रहनु भयो । बहसलाई सङ्गम अध्यक्ष बर्तौलाले सहजीकरण गर्नुभयो भने समग्र कार्यक्रमलाई सङ्गम सचिव मनोज पोखरेलले सञ्चालन गर्नु भएको हो ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

दौँतरी शृङ्खलामा दीपक समीप र जीवनसागर भण्डारी

पोखरा, २७ आश्विन । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा दौँतरी कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न भएको छ । संस्थाको इतिहास, दौँतरी कार्यक्रमको विशेषता र दौँतरी शृङ्खलामा उभिँदै गरेका स्रष्टाहरू दीपक समीप र जीवनसागर भण्डारीको छोटो परिचयसँगै कार्यक्रमको थालनी गरे संस्थाका महासचिव सञ्जीव पौडेलले । त्यसलगत्तै उनले शृङ्खलाका दौँतरी सर्जक दीपक समीप र जीवनसागर भण्डारीलाई मञ्चमा बोलाए । उनीहरूलाई मञ्चमा खादा लगाएर स्वागत गरे साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठले । कार्यक्रम सञ्चालक पौडेलले सहजकर्ताका रूपमा डा. ईश्वरमणि अधिकारीलाई मञ्चको जिम्मा लगाएसँगै अधिकारीले दौँतरी कार्यक्रमको मेलो अघि बढाए ।

अधिकारीले दीपक समीप र जीवनसागर भण्डारीका एक एक थान मुक्तक वाचन गरेर कार्यक्रम सुरु गरे । चालीसको दशकको अन्तिमतिरबाट छापा माध्यममा मुक्तकलेखनबाट उदाएका साहित्यकार दीपक समीप र पचासको दशकसँगै साहित्य लेखनमा लागेका जीवनसागर भण्डारीका सिर्जना लेखन र मित्रताका आयामलाई अधिकारीले एकपछि अर्को गर्दै कोट्याउँदै गए । मुक्तक र गफगाफ सँगसँगै अगाडि बढाइएको कार्यक्रममा स्रष्टाद्वय समीप र भण्डारीले तीन तीन मुक्तक वाचन गर्दै बिचबिचमा विविध सन्दर्भ प्रस्तुत गरेका थिए । रोचक सन्दर्भ र प्रभावशाली मुक्तकको समन्वयले कार्यक्रमलाई निकै स्वादिलो तुल्याएको थियो ।

लमजुङमा जन्मेर पोखरामा आएका समीप र कास्की जिल्लामै जन्मेर साहित्य साधनामा लागिरहेका भण्डारी पोखराका साहित्यिक गतिविधिमा निरन्तर सक्रिय र स्थापित सर्जक हुन् । साथमा मित्रताभित्रका विविध सन्दर्भ ठट्यौली पाराले राख्दै कार्यक्रमको माहौललाई रमाइलो तुल्याएका थिए । बिचबिचमा अन्तर्सम्बन्धका केही गुह्य पक्षलाई कोट्याउने काम डा. अधिकारीले गरिरहेकै थिए । हलमा उपस्थित दर्शकहरू निकै चाख मानी मानी यी सबै कुरा सुनिरहेको देखिन्थ्यो । गफगाफले रमाइलो बनाएको माहौललाई मुक्तक वाचन गर्दा निकै गम्भीर पनि तुल्याउँथे समीप र भण्डारी । उनीहरूले देशभक्ति, राजनीति, सामाजिक विकृति, भ्रष्टाचार, माया प्रेम, समसामयिक सन्दर्भ एवम् शृङ्गारिक विषयका पन्ध्र पन्ध्रओटा मुक्तक वाचन गरेका थिए ।

पूरै एक घण्टासम्म दुई जना मित्रका सिर्जना र अनुभव सुनेपछि फेरि मञ्चमा देखा परे कार्यक्रमका सञ्चालक पौडेल । उनले सल्लाहकार विश्व सिग्देल र नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठमार्फत दौँतरी सर्जक एवम् कार्यक्रमका सहयोगीहरूलाई मायाको चिनो प्रदान गरे ।

संस्थाले गत चैत्रमा आयोजना गरेको दौँतरी कार्यक्रमको शुभारम्भ शृङ्खलामा साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठलाई मञ्चमा उभ्याएर उनीहरूका सिर्जना तथा जीवनका अनुभव श्रवण गराएको थियो । दोस्रो शृङ्खलामा दोस्रो पुस्ताका सर्जकहरू दीपक समीप र जीवनसागर भण्डारीलाई उभ्याएको संस्थाले आगामी शृङ्खलामा त्यसभन्दा पछिल्लो पुस्तामा क्रियाशील कविद्वय अल्पज्ञानी र सञ्जीव पौडेललाई उभ्याउने घोषणा संस्थाले गरेको छ । आजको कार्यक्रमका स्रष्टा दीपक समीपले सञ्जीव पौडेललाई र जीवनसागर भण्डारीले अल्पज्ञानीलाई खादा लगाएर शृङ्खला हस्तान्तरण गरे । यस सँगसँगै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कार्यक्रमको समापन गरे ।

जनप्रियमा चाडपर्व विशेष ‘मञ्च एक प्रतिभा अनेक’ कार्यक्रम

आश्विन २६, मकवानपुर ।
हेटौंडा-१६, चिसापानीमा रहेको जनप्रिय माविमा ‘मञ्च एक प्रतिभा अनेक’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अवसरमा शिक्षकहरूका साथै नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीहरूको गायन, नृत्य, रचना वाचन लगायत कार्यक्रमहरू गरिएका छन् । कक्षा १२ ले कक्षा ११ लाई स्वागत गरी सुरू भएको कार्यक्रम जनप्रिय माविका विव्यस अध्यक्ष रमेशप्रसाद खतिवडाको अध्यक्षता र १६ नं. वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । चाडपर्वको अवसरमा साँस्कृतिक कार्यक्रम गरी दसैं, तिहार र छठको शुभकामना आदान प्रदान गरिएको अतिरिक्त तथा साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा सामुहिक नृत्य, सामुहिक गायनका साथै शिक्षक सुनिल गौतमले लेख्नु भएको विद्यालय गीत गाइएको थियो ।
विव्यस सदस्य कृष्णप्रसाद पनेरूले विद्यार्थीहरूले नै सञ्चालन गरी उनीहरूकै प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले सञ्चालित यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन भैरहेकोले भविष्यमा पनि यसले निरन्तरता पाउने बताउनुभयो । यस्तै प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति सबैको मद्दतले यत्ति भव्य कार्यक्रम बनेको र निरन्तर सहयोगको अपेक्षा गर्दै चाडपर्वको शुभकामना व्यक्त गर्नुभयो ।
सिटिइभिटी संयोजक मोतिउर रहमान, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, सहायक प्रधानाध्यापक रामआशिष मण्डल, शिक्षकहरू नमराज अर्याल, सुनिल गौतम आदिले धन्यवाद तथा शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा पिटिए अध्यक्ष गुणराज राना, सदस्य राजन दहाल र कमला धिमालको उपस्थिति रहेको थियो । प्रविधि संयोजन अभिषेक बास्तोला र राजन तिमल्सिनाले गर्नु भएको कार्यक्रमलाई एन.एस. टेलिभिजनले छायाङ्कन गरेको थियो भने दिवा सत्रको कार्यक्रमलाई कक्षा ९ का विद्यार्थीहरू प्रख्यातमान लो र बिबिशा खड्काले सञ्चालन गर्नुभएको हो ।

विप्लव प्रतीक; म गएको पनि कसैलाई थाहै नहोस्

विप्लव प्रतीक मूलतः कवि हुनुहुन्छ । उहाँका ‘नहारेको मान्छे’ (कविता संग्रह), ‘अविजित’ (उपन्यास-बुक हिल) प्रकाशित छ्न् । विश्व साहित्यको गहिरो अध्ययन गर्नु भएको उहाँले थुप्रै गीतहरू लेख्नु भएको छ भने रङ्गकर्म पनि गर्नुहुन्छ । युवाहरूका प्रिय कवि विप्लव प्रतीक द पोएट आइडलमा निर्णायकमध्ये एक भएपछि उहाँलाई युवाहरूले झनै पछ्याइरहेको पाइन्छ । आज उनै कवि विप्लव प्रतीकका केही काव्य रचनाहरू सजिएको छ ।

अपराजित
—————-
हारपछि हात बाँधिनु मात्रै हुँदैन
उदास रहेर अडेस लाग्नु मात्रै हुँदैन
प्रत्येक हार नै जितको अर्को नाम हो
पराजित नै आखिरमा अपराजित हुन्छ ।

सूर्योदय हुनु छ र अँध्यारो मेटिनु छ
अँध्यारो त आफैँ फुट्ने खेलौना झैँ हो
र सूर्यास्त, सूर्योदय हुने केवल बहाना हो ।

हात बाँधिनु मात्रै हुँदैन, अडेस लाग्नु मात्रै हुँदैन
माग्नु हुँदैन पानी, नत्र प्यासको बानी बस्छ
तिर्खाउन मन लागिरहन्छ, हमेसा पानी तर्कना खेल्छ ।

आगोले पोल्छ, फोका उठ्छ पाइतालाभरि
आगोमै ती फोकालाई फोड्दै
तिनै फोकाभित्रका पानीले निभाउँदै जानुपर्छ आगो
र तयार बस्नुपर्छ फेरि नयाँ तीखा काँडा टेक्न
रगताम्य पारेर काँडाहरूलाई
विवश पार्नुपर्छ प्रकृतिलाई त्यही काँडामा गुलाफ उमार्न ।

माग्नु हुँदैन पानी, नत्र प्यासको बानी बस्छ
तिर्खाउन मन लागिरहन्छ, हमेसा पानीतर्कना खेल्छ
हात बाँधिनु मात्रै हुँदैन, अडेस लाग्नु मात्रै हुँदैन
सूर्यास्त, सूर्योदय हुने एउटा बहाना मात्रै हो
पराजित नै आखिरमा अपराजित हुन्छ ।

हामी बाँचेको युग
—————–
गुलाफ रगतपछ्य छ
सयपत्री र मखमली छियाछिया छन्
र, रोएको छ हिमाल ।
काँडा तिखारिएको छ
तरबार चम्किएको छ
राक्षसहरू गर्जिरहेका छन् ।
अचेल दूबोमा शीत पर्दैन
र इन्द्रेणी लाग्दैन आकाशमा
लोभलाग्दो घाम बम बनेर आकाशमा उडिरहन्छ
जून चिहाएर हेर्न मन गर्दिन कतै पनि
र पृथ्वी,
मानवीय मूल्य विलुप्त भएको
घीनलाग्दो भट्टीमा पुत्पुत् जलिरहेछ
युग,
भित्रभित्रै पाकेर सडेको आफ्नो शरीर
भड्किलो पोसाकभित्र लुकाएर उभिएको छ ।
मानिस-मानिसबीच अन्तर निकै बढ्दो छ
महल र झुप्रोको अन्तर मात्र होइन
संवेदना, सद्भावको अभाव
आस्था र प्रेमको दुर्लभताले
दिक्दार धरती क्षीण भइसकी ।
अँगालो हाल्न सिकाउनेहरू शूलीमा परिसके
जीवनका कलाकारहरू ‘क्रुसीफाई’ भइसके
र, काँडा झन्झन् तिखारिँदैछ-
गुलाफका पत्रपत्रमा रगत छ
सयपत्री र मखमली छियाछिया-
समस्त पृथ्वी वेदनामा रोइरहिछे
राक्षसहरू भने कानको जाली फुट्ने गरी गर्जिरहेछन् ।

नाटक अनुवाद गरेर मञ्चनका लागि नेपाली स्वाद दिन सिपालु उहाँले कमला ह्यारिसद्वारा लिखित पुस्तक The Truths (An American Journey We Hold) लाई समेत नेपालीमा (सत्यको जगमा उभिएर) अनुवाद गर्नु भएको छ । यसअघि उहाँले अर्थर मिलरद्वारा लिखित Death of Salesman को नेपाली संस्करण ‘एउटा सपनाको अवसान’ पुस्तक सार्वजनिक गर्नु भएको छ ।

यतिखेर भने उहाँकै अर्को कविता उल्लेख गर्नु उपयुक्त हुन सक्छ ।

नाङ्‍गो सहर
————–
आज म यस शहरमा
नाङ्गै उपस्थित भएको छु
तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन
पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई ।
कचल्टिएको भातजस्तै
आधाकाँचामानिसहरूको बस्तीमा
मेरो नाङ्गोपन कुनै रमिता बनेन ।

यिनीहरू अचेल कागजको फूलमा बास्ना हाल्छन्
यिनीहरू अचेल रोबोटको शरीरमा धुकधुकी भेट्छन्
मानिसमानिसबीच संवेदनशीलता र सहृदयता
मानिसमानिसबीच सद्भावना र म्वाई अब चाहिएन
अब चाहिएन प्रेम, आत्मीयता र मृदु कुराहरू पनि
र विकृत भइसके मानवीय मूल्यहरू…
यस्तो अवस्थामा, यसशहरमा, यहाँका मानिसहरूबीच
नाङ्गो हुनुबाहेक अर्को बाटो पनि त छैन ।

यस सहरमा आज म नाङ्गै उपस्थित भएको छु
र भोलि सहर, गाउँ र बस्तीका
तमाम नागरिक नाङ्गै देखिइनेछन्
निर्वस्त्र हुनेछन् शरम नभएको शहरमा ।

दीप श्रेष्ठले गाउनु भएको ‘हर रात सपनीमा ऐँठन हुन्छ’ बोलको गीत उनै कवि तथा गीतकार विप्लव प्रतीकले लेख्नु भएको हो । लेखक प्राध्यापक अभि सुवेदीको भनाइ छ, विप्लव प्रतीकको कवितालाई कुशल गायकले सङ्गीत भरेर गाए हुन्छ । सरल र सौम्य शब्द गुच्छा प्रयोग गरी सुन्दर कविताको माला तयार गर्ने एक शिल्पी विप्लव प्रतिक आफूलाई जङ्गली फूल भन्न रूचाउनु हुन्छ । यस्तै उहाँको भिन्न शैलीको लेखनको कारण नै नेपाली भाषीहरूमाझ परिचित हुनुहुन्छ ।

जाँदा जाँदै उहाँको सर्वाधिक चर्चितमध्येको एक कविता राख्न चाहन्छौं ।

मलाई मन छ
———–
मलाई मन छ, म भएको
कसैलाई थाहै नहोस्
मलाई मन छ, म गएको पनि
कसैलाई थाहै नहोस् ।
म चाहन्छु हुन निर्मल पानीको थोपा
जुन थोपाको मात्रै केही महत्त्व छैन
म चाहन्छु बन्न शीतल हावाको झोँक्का
जुन झोँक्काको मात्रै कुनै मूल्य छैन
मलाई मन छ म भएको
कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि
कसैलाई थाहै नहोस् ।

म चाहन्छु हुन जङ्गलमै ओइलिने फूल
जुन फूल कसैको अभिलेखमा छैन
म चाहन्छु बन्न त्यस्तो प्राचीन कला
जुन आज कसैले सम्झेको छैन
मलाई मन छ म भएको
कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि
कसैलाई थाहै नहोस् ।

पूर्व पत्रकार, गीतकार, उपन्यासकार, अनुवादक, नाटक निर्देशक जति नै उपमा दिइराखौं विप्लव प्रतीक शान्त र कोमल कविताका स्रष्टा हुनुहुन्छ । उहाँले आफूलाई कविका रूपमा नै स्वीकार्नु भएको छ । कविले लुकेर खानु हुँदैन अनि कविले मागेर खानु हुँदैन भन्ने प्रष्ट वक्ता कवि विप्लव प्रतीकप्रति नवसाहित्य डट कम परिवार सक्रिय लेखन जीवनको कामना गर्दछौं । ✍️गाइने

कथाहरूमा विद्यालय / सुवास खनाल

यादमा आउँदा विद्यालयकालीन सम्झनाहरू पनि पुराना लोककथाहरूझैँ रमाइला लाग्छन् । आज विद्यालय जीवनबाट टाढिएको करिब १४ वर्ष जतिपछि ती दिनहरूतिर फर्केर सम्झिँदा कता कता ओठमा खुसी फुस्किन खोजे जस्तो गर्दछ।

मन आलादित भएर आउँछ। कुनै कर्तुतहरूले त अहिले पनि ग्लानिबोध गराउँछन् । धेरै पक्षहरू सम्झनाका कुनाहरूमा बयेली खेल्छन् ।

कर्मप्राप्ति निमावि हालको माविमा प्राथमिक विद्यालयको पढाइ सुरु गर्नुभन्दा अघि महेन्द्र माविमा कक्षा एकमा गुल्टिसकेको थिएँ। कक्षा एकको नेपालीको लिखित जाँचमा चौरमा ब्लाकबोर्ड राखी त्यसमा ‘क’ लेख्न भनिएको थियो । मलाई ‘क’ लेख्न आएन । गुल्टिएँ । महेन्द्र माविमा कक्षा एकभरिको मेरो प्रगति बुवाले घरमा सिलोटमा सिकाउनु भएको क…ख…. बिर्सिनु नै थियो । अब म श्री कर्मप्राप्ति प्राविको कक्षा एकको विद्यार्थी भएको थिएँ ।

कक्षा एकदेखि तिन कक्षासम्मका विषयहरू उत्तिसाहो सम्झनामा आउँदैनन् । त्यसपछिका रमाइला दिनहरू सम्झनाका कुनाहरूमा सुरक्षित छन् । अब म कर्मप्राप्ति स्कुलको विद्यार्थी भएको थिएँ । यसमा दुई कारणहरू प्रस्टसँग लुकेका थिए। पहिलो कारण, म कक्षा एकमा अनुत्तीर्ण भएको थिएँ । दोस्रो कर्मचुलीको विद्यालय जाँदा खोला तर्नु पर्दैनथ्यो र बर्खामासको सम्भावित जोखिम वहन गर्नु पर्दैनथ्यो । कर्मचुलीको पढाइ पनि निकै रमाइलोसित बित्यो । साना कक्षाहरूमा पढ्दा केही झगडा गर्नेबाहेक अन्य अर्थमा जोखिमपूर्ण काम गरेको खास थाहा छैन । कहिलेकाहीं साथीहरुले केही कारणहरुले पिट्थे । म प्रायः पिटाइ खानेमा नै पर्थे । किनकि पिट्ने खास आँट पुग्दैनथ्यो । तर एकपटक भने दिपेश र दीपक देवकोटा दाजुभाइसँग जुधेको घटना याद छ । उनीहरूलाई चाहिँ मैले जुधेर पराजित गरेको थिएँ । एक जनालाई ठेलेर नहरमा हालिदिएको त अर्को जना त टाप कसिसकेछन् । तर पछि दिपेश नै मेरो मिल्ने साथी भए । हाल अलिक कम भेटघाट हुन्छ । म प्रायः पिटाइ खाएर घर आएको बेला ममीले यो कुरा थाहा पाइहाल्नुहुन्थ्यो । खासमा हामी धुलौटे माटोमा खेल्नेहरूको रुंदा लेग्रा बस्दो रहेछ अनुहारमा । अनि त्यही देखेर घरमा जानकारी भइहाल्ने । अनि उल्टो पिटाइ खाइन्थ्यो । पिटाइ खानुको कारण हुन्थ्यो आफूले झगडा नगरी पिटाइ खाइँदैन भन्ने तर्क ।

बिहानीको पढाइ चल्ने बेला घरबाट खाजाको रूपमा गहुँको रोटी पकाएर पठाइदिनुहुन्थ्यो । हामी प्रायः रोटी स्कूल लाँदैनथ्यी रोटीलाई झाडीमा लुकाउँथ्यो । स्कुल सकिएपछि फर्किएर आई रोटी निकालेर त्यही टोक्दै घर फर्किन्थ्यो । कुनै दिन केही साथीहरू आफू खाजा नलगी अस्को चोरेर खाइदिन्थे अनि हामी पेट छाम्दै घर फर्किन्थ्यौ।

कक्षा चार पढ्दा तेस्रो घन्टीमा सूर्यकान्त ठाकुर सरले पढाउनुहुन्थ्यो । उहाँ अलिक नरम स्वभावको । हामी यही कुरोको फाइदा उठाउँथ्यौ । केही साथीहरू थिए-दीपक माझी, विष्णु माझी लगायत उनीहरू रुख चढ्न सिपालु थिए । सम्भवतः तेस्रो पिरिएडको कक्षा छोड़ने गर्थ्यों । त्यसपछि मौजे वनको बेलको रुखमा ती साथीहरू बढ् र बेल भारी खुवाउँथे । सम्भवतः उनीहरूसँगको सम्बन्ध त्यही कारण बलियो थियो । आफ्नो त रुख चढ्ने हुती र सिप थिएन । साना रुखहरू चढ्न सके पनि ठुला र काँडाहरू पनि हुने बेलको रुख चढ्नु दुःसाध्यकर नै थियो । कक्षा छ मा पढ्दाताका अँधेरीबाट पढ्न आउने तेजबहादुर गुरागाईंका दाजुभाइले घरवाट बदाम ल्याएर बेच्थे हामी उनीहरूसँग कहिले पैसामा बदाम किन्थ्यो त कहिले खाली कापीका पानाहरूसँग साट्थ्यौ ।

हामीले खेल्ने अर्को रमाइलो खालको खेल पनि हुन्थ्यो । त्यस खेलको नाम झिंगा दाउ’ भनेर राखिएको थियो । त्यस खेलका निम्ति खेल्ने जति सबैले कागजका खाली पानाहरू निकाल्थ्यौ । त्यसलाई भिंगा लाग्ने ठाउँमा फिंजाउँथ्यौ । जसको कागजमा भिंगा बस्थ्यो, त्यसले सबै कागजका पानाहरू जित्थ्यो । कहिलेकाही त सबै कागजका पानाहरू जितेर एउटा कपी नै तयार हुन्थ्यो त कहिले सबै हारेर घरमा नयाँ कपी किन्न लाउनु पर्ने हुन्थ्यो । हारेका दिनचाहिँ कपी हरायो भन्ने गजबको बहाना बनाइन्थ्यो घरमा ।

एक दिन तामाङ साथीहरूले राम्रा शब्दहरू भन्दै सिकाइदिएका अपशब्द कक्षामा बोल्नाले म र अर्को एउटा साथीले सरको नराम्रो झापड भेट्यौ हामीभन्दा ठूलो एक जना तामाङ साथीको तालमा लागेर तामाङ भाषा बोलुन्जेल त गज्जबै लाग्दै थियो तर, कक्षाका केटीहरूले सरलाई भनिदिएर पिटाइ भेटेपछि तिरिमिरी भयो ।

कर्मचुलीको मौजे वनमा सिमलका ठुला रुखहरू थिए । ढलेका सिमलका रुखहरुमा प्वाल बनाएर ठुला कीराहरू बस्दा रहेछन् । हामी त्यही लौरीले र सिन्काले घोचेर त्यसको भू भू. आवाज निकाल्थ्यौ र रेडियो बजाएको भन्ने गर्थ्यो । दिनको एक पटक त्यहाँ पुगेर उक्त कार्य गर्नु हाम्रो नियमितता जस्तै थियो । ठूलो कक्षामा पुगेपछि यो कार्य बन्द भयो ।

एक दिन सन्तोष बन्जारा, सगुन बन्जारा र म पावसको माझी गाउँभन्दा तल तर बगुवा खहरे नपुग्दै रहेको नुनढिकी झाडीमा लुकेर स्कुल गएनौं । यसको कारण हामी स्कुल जान अलिक ढिलो हिँडेका थियौं या ढिलो खेल्दै गएका थियौं । यो वेला सगुनको आँखामा अन्धो आएको थियो । अब हामी त्यहाँ दिनभरि अभिनय गरेर बस्यौं । सगुन बिमारी बन्ने, सन्तोष उसको घरको अभिभावक अनि म डक्टर । म अलिक टाढा घरमा हुन्थे, सन्तोष बोलाउन आउँथे र मचाहिँ झोलामा औषधी बोकेको जस्तो गर्दै गएर उनको उपचार गरेजस्तो गर्थे । बिचमा निकै पानी प्यास लाग्यो । त्यहाँ नजिकै पानीको कुवा थियो तर त्यो कुवा भाडीभन्दा बाहिर थियो । हामी त्यहाँ पानी खान गएका थियौं । यस बिच खेतमा धान गोड्न गएका रोपारहरूले देखेछन् र घर गएर भनिदिएछन् । स्कुलबाट एक जना पूर्ण माझी भन्ने दाइ फर्केको देखेपछि, त्यही समय अड्कल गरेर हामी घर फर्कियौं । तर हामीले पवडाउ खाइहाल्यौं । त्यो दिन रामधुलाइ खाइयो ।

हामी कर्मचुलीको विद्यालय अवधिभर निकै प्राकृतिक थियो भन्ने लाग्छ । स्कुल सकिएपछि कहिले डुली खान वनवन चहानें, कहिले नुनढिकी र काँसीको कलिलो गुभो खान फाँटफाँट चहार्ने, कहिले थाकल, कहिले अँगेरी, अमारो, अमला, धंगेरीको फूल, धाकलको गुभा, मकर काँजी, बयर, काभ्रोका कोपिला, कोइरालाको फूल, खनायो, कबाइ, कुटिली कोसा, अम्बा आदि खोज्दै खाने गर्थ्यो । एकताका धानको कलिलो गुभा निकालेर खाने काम केही आफूभन्दा ठुला दिदी र दाजुहरूले सिकाएका थिए । हामीले यस अवधिमा आफू हिँड्ने आली वरपरका धेरै नै धानका गुभाहरू निकालेर खायौं । एक दिन एकजना बच्चे भन्ने दिदीलाई कर्मचुलीका दुरुङच्याङ बुढाले धानको गुभा थुत्दाथुत्दै समातेका कारण सँगुरको खोरमा थुनिदिए । यो दृश्य हामी केही साथीहरूले प्रत्यक्ष देख्यौ । सायद उनले पोल गरिदिइनन् र हामी बाँच्यौं । त्यो बेला सुँगुरको खोरभित्र उनी आत्तिएर रोएको दृश्य धानको बोट देख्नासाथ झल्झली सम्झनामा आउँथ्यो । यसपछि यो काम गर्न नहुने रहेछ भन्ने पूर्ण चेतना हाम्रो दिमागमा प्राप्त भएको हुनुपर्छ ।

अब त हामीलाई धानको बोट छोइए पनि करेन्ट लाग्नेजस्तो हुने भएको थियो । एक दिन हाम्रो कक्षा खाली थियो । क्लासमेट जीवन पौडेल भाइ र म अफिस छिरेका थियौं । प्रधानाध्यापक रहनुभएका पदम सरको डेस्कमा दुईवटा अमारो रहेछ। जीवनले एउटा र मैले एउटा समातेर अमारो टोक्न लागेका थियो । अफिस माथिल्लो तल्लामा थियो । भन्याङ बजेको आवाज सुनियो । अब पयो मार । मैले अमारो फ्याँकिदिएँ । मैले फ्याँकेको अमारो त झ्यालबाट बाहिर गएछ तर जीवनले फ्याँक्दा अफिसको भित्ते घडीको सीसामा लागेर सिसा झयामकुरुम फुट्यो । हामी बाहिर निस्कियौ । हामीमा भयको पारो चढेको थियो । तर संयोगवश त्यहाँ कोही आएको रहेनछ । अब अफिसको घडीमा सिसा थिएन । हामी कहिलेकाही घडीको सुई हातले घुमाइदिएर टिफिन टाइम लम्ब्याइ दिन्थ्यो त कहिले छिटो छुट्टी गराइदिन्थ्यो । स्कुलको पियन कमल दाइको हातमा घडी हुन्नथ्यो । उनी घन्टी लाएर जाल बुन्न थाल्थे वा माछा मार्न जान्थे र अड्कलेर फर्किई घन्टी लगाउँथे ।

केही शिक्षकहरूले सुर्ती खानुहुन्थ्यो र सुर्तीको पोका अफिसमा छाडेर क्लास जानुहुन्थ्यो । हाम्रा बद्री पाण्डेलगायत केही साथीहरूले सुर्तीको चुनामा चक घोटेर हालिदिँदा रहेछन् । एक दिन एउटा सर अर्को सरसँग कुरा गर्दै गरेको सुनियो- “आजभोलि सुर्तीको चुना खुब खराब आउँछ सर, मेरो त ओठ निकै नराम्रोसँग काटेको छ ।” हामीलाई भने यसको रहस्य पहिल्यै थाहा भइसकेको थियो ।

कक्षा नौ मा फेरि महेन्द्र माविको विद्यार्थी भएँ । नेपाली शिक्षक रमेशमोहन सर ले पहिलो दिनमा नेपाली वर्णमालाका अक्षरहरू लेख्नको लागि निर्देशन गर्नुभयो । नाथे क, ख… पनि नआउने हो र ? यो त एक कक्षामा नै सिकेको हो । यस्तो सोच्दै लेखेको थिएँ । तर क, ख… नै बिग्रियो । ख लेख्दा रव लेखिएछ । यो त ‘र’ र ‘व’ मिश्रित शब्द ‘रव’ भएछ । यसले मलाई साना भनी छाडेका विषयमा ठुला अर्थहरू गाँसिएर बसेको हुन्छ भन्ने गम्भीर ज्ञान दिलायो ।

गर्मीको समयमा पौडी खेल्ने धुनमा स्कुलबाट भागेका दिनहरू। स्कुल छाडीछाडी जगलमा गाईवस्तु छाडेर तास खेल्ने धुनमा गाईले अर्काको बाली खाएको र मजाले गाली खाइएका दिनहरू सम्झनामा गाढा भएर रहेका छन् । तीजको छेउछाउ जुरेली बजारमा लाग्ने हाट बजारको घुइँचो हेर्न खल्तीमा सुक्को नभए नि स्कुल छाडी भागेका दिनहरू हिजो नै हुन् जस्तो लाग्छ । खोलामा विष हालेकाले माछा टिप्ने घुनले स्कुल छुटेका दिनहरू खासै टाढा पुगे झै लाग्दैनन् ।

हाम्रो शिक्षा प्रणालीमा भएको खोटलाई सुधार्नु पर्ने कुरा एक पक्षीय रयो । यसमा धेरै त्रुटिहरू छन् । व्यावहारिक र व्यावसायिक शिक्षाको विकास हुन सकेको छैन । मूल्याङ्कन प्रणाली गतिलो छैन । पछिल्लो समय विकास भइरहेको टेक्निकालिटिजका हिसाबले हाम्रो शिक्षा त सुस्त र मन्द गतिको देखिन्छ । समयानुकूल परिवर्तन हुन सकेको छैन । यी सबै विषय तत्तत् अर्थमा सही हुन् तर, जीवन प्रक्रियामा जुन विधि र पद्धति अपनाइयो त्यसलाई पनि महत्तम ढङ्गले हेर्ने पर्दछ । आगामी पिँढीमा यसको सुधारको अपेक्षा गर्न सकिन्छ तर विगतको अवमूल्यन गरेर होइन ।

ऊ बेला कुरो टाँसिएको पाइन्ट, एउटा दुइटा टाँक फुस्किएको सर्ट, चुँडिएर दुईचार पटक बुबाले टुकीबत्तीको मद्दतले टाँसिदिनुभएको हात्ती छाप चप्पल सहितको आफैलाई सम्झन्छु वेलावेला । प्राकृतिक भी लाने ती दिनहरुलाई आजभोलि नर्सरी पढ्ने छोराका दिनहरूसँग दाँज्दो रहेछु । बोर्डिङ स्कुलका क्लास वर्क र होमवर्कको भार ले घोटिएर केटो पातलो हुँदै गइरहेको देख्छु । स्कुल ब्याग त्यसमा टिफिन बट्टा, पानीको बोतल, हामीले चार कछातिर मात्र सिकेको अङ्ग्रेजी भाषामा लेखिएको धेरै पुस्तक । ल्याउने र पुयाउने पात्र (आमा बुबा वा हजुरबा हजुरआमा) । निन्जा हथौडी, अगि एन्ड कक्रोच र मोटु पात्लुवाला गफ ।

‘कान्छो समय बदलिई सकेछ- भखी गाउँ छाडेर हामीसँगै बजार बस्न थाल्नुभएकी आमाले बेला बेला भन्ने वाक्यांश सम्झिन्छु ।