Home Blog Page 36

आँचलद्वारा रचना वाचन र वाचित रचनामाथि निखिलद्वारा समिक्षात्मक टिप्पणी

फागुन १९, शनिबार
मकवानपुर ।
महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ आँचल साहित्य कला पुञ्ज मकवानपुरले रचना वाचन तथा नियमित मासिक भेटघाट कार्यक्रम गरेको छ ।
११४ ओैँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित कार्यक्रम भावना सापकोटाको सभाध्यक्षता, हास्यव्यङ्ग्यकार तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साहित्य सर्जक तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल र महाकाव्यकार मुना अर्याल विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा सम्झना अधिकारी, अनिल कोइराला, रोश्नी चौलागाईँ, स्वस्तिका दाहाल, सानु खनाल, अनु रोक्का, सुबास सजल, सबिता तिमल्सिना, शोभा थापा, राजकुमार लामिछाने, मिथिला अधिकारी, विष्णु गौतम, सविता तिमल्सिना आदिले कविता वाचन गर्नुभयो भने एसके निधनले सूत्रकथा तथा किशन पौडेल र श्याम श्रेष्ठले लघु कथा वाचन गर्नुभयो । संप्रस पौडेलले हास्यव्यङ्ग्य कविता तथा प्रयासी प्रविनाले मुक्तक वाचन गर्नुभयो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले कार्यक्रममा वाचित रचनामाथि समिक्षात्मक टिप्पणी गर्नुभयो ।
शनिबार साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा साहित्य सर्जक, साहित्य सेवी, शिक्षक, पत्रकार, स्रोताहरूको उपस्थिति रहेको थियो । छवि अनित्य, मञ्जु खराल, मुक्ति गोविन्द वैद्य, हरिवंश भेटवाल, अभिमन्यु गौतम, भवानी तिमल्सिना, निर्मला ब्लोन आदिको उपस्थिति रह्यो ।
संस्थाका उपाध्यक्ष नीरा शर्माद्वारा स्वागत गरिएको कार्यक्रमलाई एलिजा पुडासैनीले सहजीकरण गर्नु भएको हो ।

प्रदेशस्तरीय हस्तलेखन प्रतियोगितामा ज्ञानदोय बालबाटिका आवासीय मावि तृतीय

कसमस एजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टरले आयोजना गरेको प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०८०, बागमती प्रदेशको पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिबार कार्यक्रममा उत्कृष्ट १०० विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी कार्यक्रम भव्यरुपमा समापन गरिएको हो । पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलाराज रेग्मीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सभापतित्व कसमस एजुकेशनका निर्देशक रमेश पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा विजेता विद्यार्थी तथा विद्यालयका अनुमानित ५०० प्रतिनिधि विद्यालयहरु समावेश भएका थिए।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य कला पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशभित्रका उत्कृष्ट हस्तलेखन भएका विद्यार्थीहरुलाई प्रमुख अतिथिद्वारा पुरस्कार वितरण गरिएको हो । यस्तै प्रथम हुनेमा कक्षा २ देखि ४ मा नोबल एकेडेमी, काठमाडौंका राजा चेम्जोङ रहेका छन् । रोजबड स्कूल, बुद्धनगर, काठमाडौंकी लुनिभा मानन्धरले द्वितीय स्थान हासिल गरिन् भने ज्ञानदोय बालबाटिका आवसीय मावि हेटौँडाका स्पन्दन रायमाझी तृतीय भएका छन् ।

साथै कक्षा ५, देखि ७ मा कान्जीरोवा नेशनल स्कूल, काठमाडौँका सिन्जा पौडेल प्रथम भए । घलराज मेमोरियल स्कूल, काठमाडौंकी प्रकृति लकान्द्री द्वितीय स्थान हासिल गरिन् । यस्तै निहारिका पब्लिक स्कूल, ग्वार्को ललितपुरकी आकृती चौधरी तृतीय स्थान हासिल गर्न सफल भइन् । त्यसैगरी कक्षा ८ देखि १० मा अरोमा अंग्रेजी मा.वि., भरतपुर चितवनका देवेन्द्र साह प्रथम भए भने ज्योति एकेडेमी, सीतापाईलाका प्रधुम्न गौतम द्वितीय भए भने व्हाइट किट इन्टरनेशनल स्कूल, काठमाडौंका सामुल रायमाझी तृतीय भए ।

कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रथम, द्वितीय, तृतीय र क्रमशः नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै उत्कृष्ट हुने १०० जना विद्यार्थीहरुलाई नगद रु ३००० सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । त्यसैगरी उक्त कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु रमेश पराजुली, रेशम कुमार पौडेल, अमीर महत, जनार्दन घिमिरे लगायत सम्पूर्ण कर्मचारीसहित प्रतिनिधि विद्यालयका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।

गौरी कँडेलको गजल

बाँझै भएको छ जमिन फाली बिग्रिएपछि
कसरी भण्डार रित्तिन्न र बाली बिग्रिएपछि

घर उसै उजाड भयो, समाज उस्तै शून्य शून्य
खोज्दैछन् परदेशमा भविष्य माली बिग्रिएपछि

पहाडले पनि छेक्दैन, सागर अडिदैन कसैगरी
गरा सम्यायर के हुन्थ्यो र आली बिग्रिएपछि

के दिउँ देश बाँचेको प्रमाणमा, सबैले बाटो छाडे
बरु न्याय मात्र हराउनेथ्यो अमाली बिग्रिएपछि

                    बकैया–४, मकवानपुर

निबन्ध : पानीको यात्रा / घनश्याम घिमिरे

राम्ररी गोडमेल नपुगेका, पानी नपुगेका, पौष्टिक आहार नपुगेका बिरुवाहरू; जो फुल्न खोज्दैछन्, जो फल्न खोज्दैछन्, जो हाँस्न खोज्दैछन्, हँसाउन खोज्दैछन् तर किन किन खुलेर फुल्न सकिरहेका छैनन् । फल्न सकिरहेका छैनन् । तिनै बिरुवाहरूको फाँटको एउटा कान्लामा उभिएर आकाशतिर हेर्छु । बादलहरु हतारिएर उडिरहेका छन् । ठेलामठेल गर्दै दौडिरहेका छन् । तिनीहरु कहाँ जाँदैछन् होला ? तिनीहरूको गन्तव्य के होला ? बादलहरु जो हिजो हिउँ थिए मेरै हिमालका । तातिए ! पग्लिए ! बग्न थाले, उत्तरबाट दक्षिणतिर । उकालो बाटो ओरालोतिर । पहरा हुँदै, पाखा हुँदै, खोँच हुँदै, बेसी हुँदै, उकाली हुँदै, फाँटहरुमा फैलिँदै गए । गइरहे । जाँदैछन् । सायद केही नदी बनेर, केही खोला बनेर, केही खहरे बनेर, तिनीहरु मिसिँदै बढ्दै पर पुग्नेछन् । तर यहाँ म अहिले सप्रन नसकेका बालीहरूको फाँटमा उभिएर बगिरहेका खोलाहरूलाई हेर्छु । दौडिरहेका बादलहरुलाई हेर्छु ।

दौडिँदै गरेका पानीहरूलाई साउती गरेर एकैछिन रोक्न पाए हुन्थ्यो । यो माटोको प्यास, यो बिरुवाको आस, यो जीवनको बास तिमी त हो नि । पानी ! एकैछिन मेरो फाँटबाट पनि बग्देऊ न । ए पानी ! एकैछिन मेरो आँतबाट पनि बग्देऊ न । एकैछिन रोकिदेऊ न । मन त छ बग्दै गरेको खोलालाई अलिकति फर्काएर टारीको कुलोतिर पसाऊँ । बेसीको फाँटतिर धकेलिदिऊँ अनि तराईको विशाल भूमितिर नहरमा बदलिदिऊँ । त्यो खोला निरर्थक बग्नुभन्दा बिरुवाहरूको जरा जरा हुँदै बगोस् । जीवनहरूको नशा नशा हुँदै बगोस् । चराचुरुङ्गीहरूको चिरबिर हुँदै बगोस् । जीवन लिएर बगोस् । जीवन दिएर बगोस् । बगरहरुलाई उब्जाउ फाँट बनाउँदै बगोस् । बाँझो मनलाई हराभरा छाँट बनाउँदै बगोस् । अलिकति अगाडि बगिसकेको त्यो खोला फेरि फर्केर फाँटतिर बगोस् । खेतका कान्लाहरूतिर बगोस् । त्यसैले त त्यो खोला ! त्यो पानी ! निरर्थक बग्नुभन्दा सार्थक बगाइका लागि अलिकति फर्कियोस् । अलिकति मोडियोस् ।

कहिलेकाहीँ हतारिएर जानेहरूलाई तानेर फर्काउनुपर्छ । घचेडेर मोडिदिनुपर्छ । घुमाएर फर्काउनुपर्छ । जसरी त्यो खोलाको पानीलाई कतै मेसिनले तानेर टारी खेतमा फर्काउँछौं । जसरी त्यो खोलाको पानीलाई कुलो बनाएर बेँसीखेतमा मोडिदिन्छौं । जसरी त्यो खोलाको पानीलाई नहर बनाएर तराईको फाँटमा फैलाउँछौँ । हो त हतारिनेहरूलाई, छोडी जानेहरूलाई, पर पर हुन खोज्नेहरूलाई । कहिले मायाले, कहिले घुर्क्याइले, कहिले फुर्क्याइले, कहिले जिम्मेवारीले मोडिदिनुपर्छ, नजिक्याउनुपर्छ । आफै आफैसँग राख्न खोज्नुपर्छ ।

“खोलाको पानी त दौडिने, हतारिने, छिटोछिटो हिँड्ने, परपर पुग्ने; पोखरीको पानी हामीसँग छँदै छ नि” भन्दै खोलाको पानीलाई छोडिदियौँ भने खोलाको गतिशीलतालाई बिर्सियौँ भने पोखरीहरु सुक्दै जानेछन् । खाल्डो रहनेछ, पानी सकिनेछ । निर्जीव माटो रहनेछ । सजीव पानी रित्तिनेछ । त्यही सजीवताको रित्याइलाई रोक्नका लागि, त्यही माटोको जीवनलाई बचाउनका लागि, गतिशीलताको विकल्प अर्को गतिशीलता हो । खोलाको विकल्प बग्दै गरेको त्यही खोला हो । जमिरहेको पोखरी हुनै सक्दैन। हुन त मेरो आशा; जम्दै गरेको पोखरी पनि बग्न सिकोस् । हिँड्न सिकोस् । किनाराहरू भत्काओस् । हिँडाइमा जीवन हुन्छ । बगाइमा चेतना हुन्छ । भत्काइमा निर्माण हुन्छ । अनि पो त्यो जीवन, त्यो चेतना, त्यो निर्माण, संसारको सार हुन्छ । त्यो सारका लागि पनि बग्नु छ । हिँड्नु छ । अनि फर्कनु छ ।

कहिलेकाहीँ बगाइको यात्राले अलि लामो गन्तव्य रोजेको हुनसक्छ । जस्तो कि हिमालबाट पग्लेको हिउँ हिमनदी हुँदै भिरपाखा, लेकबेसी, फाँट, मैदान भएर समुद्रमा पुग्दछ । समुद्रको विशाल आयाममा आफूलाई लुकाएर फेरि वाष्पीकरण हुन्छ । आकाशसम्म उचालिन्छ । बाफ बन्छ । बादल बन्छ । समयले फेरि हिमालको हिउँ बनाइदिन्छ र फर्कन्छ । मैले धरतीमा पाइला टेकेर आकाशमा हेर्दै गर्दा अनगिन्ती बादलका टुक्राहरु ठेलामठेल गर्दै एक आपसमा हतारिँदै, मडारिदै कुदिरहेको देख्दैछु । त्यो सबै पानीको भोलि हो । त्यो सबै पानीको हिजो हो । आज त धर्तीमा खोलाहरु बगिरहेका छन् । आकाशमा बादलहरु दौडिरहेका छन् । समुद्रमा पानीहरु बसिरहेका छन् । हिमालमा हिउँहरु थुप्रिरहेका छन् । तर मेरो फाँट, मेरो मैदान, मेरो बेसी, मेरो टारी रित्तो रित्तो छ । उदास उदास छ । प्यासी प्यासी छ । बाँझो बाँझो छ । एकातिर टारीहरू बाँझा छन्, अर्कोतिर भकारीहरू रित्ता छन् । एकातिर पेटहरु खाली छन् । अर्कोतिर भरिएका ट्रकहरू आइरहेका छन्, रित्ता ट्रकहरू गइरहेका छन् । भरिएका जहाजहरू गइरहेका छन्, रित्ता जहाजहरू आइरहेका छन् । मलाई पानीहरू हतारिएर बगेकामा चिन्ता पटक्कै होइन । ती पानीहरू समुद्रमै बिलाउने हुन् कि भन्ने चिन्ता अलि बढी हो । मलाई आकाशमा बादल दौडादौड गरेकोमा चिन्ता पटक्कै होइन । मलाई ती बादलहरु आकाशकै शून्यतामा बहकिने हुन् कि भन्ने चिन्ता अलि बढी हो । मलाई भरिएका ट्रकहरू आइरहेकोमा चिन्ता पटक्कै होइन । त्योभन्दा बढी ट्रकहरु रित्तै गइरहेकोमा हो । मलाई भरिएका जहाजहरू गइरहेकोमा चिन्ता पटक्कै होइन। त्योभन्दा बढी जहाजहरू रित्तै फर्किएकोमा हो ।

केही पानीहरू थुनिन्छन् ठूलाठूला ड्यामहरूमा । अड्काइन्छन् केही समय । पोखरी बन्छन् । बिस्तारै बिस्तारै लामो कालो सुरुङबाट हत्तारिँदै झरेका उनीहरु उज्यालो बन्छन् । उज्यालो बनाउँछन् । अँध्यारोलाई हटाउँछन् । गाउँगाउँमा पुग्छन् । बस्तीबस्तीमा पुग्छन् । सहरसहरमा पुग्छन् । मानव सभ्यताका सहयोगी बनिदिन्छन् । कतै उज्यालो बलेर अँध्यारोको विरुद्धमा उभिदिन्छन् । कतै ऊर्जा बनेर गतिशीलताको सिर्जना गरिदिन्छन् । कतै वैज्ञानिक उपकरणका सास बनिदिन्छन् । अनि आफ्नो सार्थकता पुष्टि गरिदिन्छन् । मलाई त हतारिएको पानीको यात्रा भन्दा रोकिएको पानीको यात्रा पनि कहिलेकाहीँ ठीक लाग्छ, जसले केही समय शक्ति सञ्चय गर्छ । अनि कतै बल्छ । कतै बाल्छ । कतै दौडिन्छ । कतै दौडाउँछ । कतै यन्त्रलाई ज्यान दिन्छ । पानीको यो यात्रा रोकिएको होस् कि जमेको होस् । बगेको होस् कि बगाइएको होस् । जीवनका लागि त हो नि । समाजका लागि त हो नि । विज्ञानका लागि त हो नि । जो आफैमा गतिशील छ । जो आफैमा सृजनशील छ । जो आफैमा उत्पादनशील छ।

कहिलेकाहीँ पानीले आफू एक्लै हिँड्न पाउँदैन । बग्न पाउँदैन । मान्छे आफू सफा देखिन आफ्नो वास्तविकतालाई पानीमा मिसाइदिन्छ । मान्छेका यथार्थ अनुहारहरुलाई बोकेर पानी बग्नुपर्छ । जहाँ पानी तरल कम, ठोस बढी छ । जहाँ पानी आफै निर्जीव बनेर धीमा बगिरहेको छ । त्यो पानीको यात्रा कहिले ढलमा, कहिले नालीमा, कहिले खोल्सामा, कहिले गन्धकीमा लडीबुडी गर्दै अगाडि बढ्नुपरेको छ । पानी न हो जसोतसो बगिदिन्छ दुर्गन्ध बोकेर, नसके गजदम्म बसिदिन्छ दुर्गन्ध फैलाएर ।

मौलाएर परपरसम्म पुगेको फर्सीको लहरा अलिकति जरा उखेलिने बित्तिकै मुन्टाबाट ओइलिन सुरु भएको देखेको छु । सायद त्यो फर्सीको लहराको जीवन मुन्टामा भन्दा पनि बढी जरामा अडिएको रहेछ। माटोमा जोडिएको रहेछ । त्यही भएर त जरा उखेलिने बित्तिकै मुन्टाबाट ओहिलाउन सुरु भयो । मानव जीवन र सभ्यता पनि उस्तो लाग्छ मलाई जुन आफ्नो माटोसँग जोडिएको हुन्छ । आफ्नो संस्कृतिसँग बाँचेको हुन्छ । आफ्नोपनसँग उजेलिएको हुन्छ । त्यो आफ्नोपन, त्यो आफ्नो संस्कृति, त्यो आफ्नो माटो सधैं सधैं आफ्नो हुन्छ । जीवन बाँच्नका लागि नयाँ नयाँ कुरा जान्नका लागि, अलिकति खुलेर हाँस्नका लागि संसारको जुनसुकै कुनामा पुगे पनि, जुनजुन माटोमा बगे पनि, जुनजुन हावामा दौडिए पनि आखिरमा संसार त एउटै घर न हो तर त्यही घरभित्रको आफ्नो माटोमा, आफ्नोपनमा, आफ्नो संस्कृतिमा फर्कनै पर्छ । सार्थक जीवनका लागि, साँचो जीवनका लागि जसरी बग्दै गरेको खोलाको पानीलाई टारमा ल्याएपछि न हो फूल फुल्ने, फल लाग्ने, हरियाली मुस्कुराउने, त्यो निर्जीव माटोलाई सजीव बनाउने ।

पानीको यात्रा, जीवनको यात्रा, गतिशीलताको यात्रा, उत्सर्गको यात्रा, परिवर्तनको यात्रा, आखिरमा फर्कनुहुनेछ । जमिरहेको पानी होस् वा बगिरहेको पानी होस् जब पानी जीवनसँग जोडिन्छ, जब पानी माटोसँग जोडिन्छ, जब पानी सिर्जनासँग जोडिन्छ, जब पानी उत्पादनसँग जोडिन्छ, तब पो पानीको अर्थ हुन्छ । कहिलेकाहीँ हिँड्दै गरेका पाइलाहरू गन्तव्यको दिशा त अर्कै रहेछ भन्ने बोध भएपछि गन्तव्य पहिल्याउन फर्कनै पर्छ । हिँडेका गल्तीहरूलाई सच्याउनै पर्छ, त्यो पनि फर्कनु हो । अनि कहिलेकाहीँ हिँड्दै गरेका पाइलाहरु गन्तव्यमा पुग्न अल्छी गर्न सक्छन् त्यसलाई अझ बढाउनुपर्छ। अझ चलाउनुपर्छ। गन्तव्यलाई नजिक्याउनुपर्छ । त्यो पनि त फर्कनु हो । फर्कनु पाइला मेट्नु मात्र होइन, पाइला बढाउनु पनि हो । यी पानीका पाइलाहरू डोबडोबमा मरुभूमि बनेर रहे भने ती मरुभूमिलाई उब्जनशील बनाउन फर्कनु पनि फर्कनु हो । अनि मरुभूमि र बाँझा जमिनहरुलाई उत्पादनशील बनाउँदै हरिया गरागरामा कलकलाउँदो ध्वनि छर्दै समुद्रको यात्राका लागि तम्सिनु अनि फेरि बाफिँदै, उड्दै, जम्दै खोँचखोल्चाबाट पहरातिर हाम्फाल्नु, पखेरातिर तप्किनु र फेरि बन्जर जमिनलाई उज्यालो बनाउँदै हिँड्नु पनि त फर्कनु हो । यो पानीको यात्रामा, यो जवानीको यात्रामा फर्कने उपदेश दिइरहँदा । आफ्नो माटोमा, आफ्नो संस्कृतिमा, आफ्नो सभ्यतामा, आफ्नो प्रकृतिमा, आफ्नोपनमा मुस्कुराउने उपदेश दिइरहँदा । त्यो उपदेश दिनु भन्दा बढी ग्रहण गर्नु चाहिँ फर्कनु हो । त्यो उपदेश भन्नुभन्दा बढी आफै बन्नु चाहिँ फर्कनु हो । फर्कनु हामीबाट ममा फर्कनु हो । फर्कनु मबाट आफूमा फर्कनु हो । अनि फर्कनु, “महरु” सबै फर्किएपछि समाज र सभ्यतातर्फ फर्कनु हो । फर्किएको सभ्यतामा मुस्कान हुनेछ । उज्यालो हुनेछ । हरियाली हुनेछ । पूर्णता हुनेछ । आत्मीयताको अँगालो हुनेछ । त्यसैले त गाउँँगाउँमा, बस्तीबस्तीमा, आँगनआँगनमा, चोटाचोटामा रित्ता अँगालाहरु फर्कनुको पर्खाइमा छन् । भरिनुको पर्खाइमा छन्।

अनन्त अर्यालको कथाकृति “अलिखित पाना” विमोचन

स्याङ्जा । गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाको आयोजनामा फागुन १८ गते शुक्रवार वालिङ नगरपालिका–६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा अनन्त अर्यालको कथाकृति “अलिखित पाना” विमोचन गरिएको छ ।

गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्त अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा अग्रज स्रष्टा डा. शङ्करप्रसाद गैरे रहेका थिए भने विशिष्ट अतिथिमा अग्रज कवि डा. टङ्कप्रसाद पन्थ रहेका थिए ।

कार्यक्रममा अग्रज आख्यानकार अनन्त अर्यालको पहिलो कथा कृतिको रूपमा प्रकाशित भएको “अलिखित पाना” को विमोचन गरिएको थियो । उनका यसअघि दुइ कविता सङ्ग्रह “म आलोच्य छु” (२०६०) र “अनन्त यात्रा” (२०७७)  प्रकाशित छन् ।

विमोचन गरिएको कथा कृतिका बारेमा समीक्षक डा. टङ्कप्रसाद पन्थद्वारा समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कविहरू शम्भु अर्याल, सिजन अर्याल, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, घनश्याम अधिकारी, डिल्लीराम भण्डारी, खगेन्द्र अर्याल, नारायणप्रसाद रेग्मी, कमलप्रसाद बगाले, देवराज गैह्रे, चण्डिकाप्रसाद भट्टराई, लेखनाथ काफ्ले, ध्रुवप्रसाद शर्मा पङ्गेनी, वसन्त खनाल, आदिद्वारा आफ्ना कविता, गीत, गजल र मुक्तक रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य युवा कवि वसन्त खनालले राखे भने सहजीकरण मिलन समीरद्वारा गरेका थिए ।

मसान उपासकको गजल

हर मान्छे आफैँमा प्रेमी या पागल तिमी कसरी भन्छौँ ?
जिन्दगीमा हारेर पनि भएँ सफल तिमी कसरी भन्छौँ ?

मेरो जिन्दगी प्रेमिल छ, सुखमय छ, भो चिन्ता नगर
बनाएर ती आँखाहरू सजल तिमी कसरी भन्छौँ ?

उता रगत,बगाउँदैछ्न युवाहरू पराईको भुमिमा,
फेरि फुलाउँछु बगरमा कमल तिमी कसरी भन्छौँ ?

फर्कनुछ फर्क यार प्रेमको बाटोमा,यो बडो सुन्दर छ
नगरेर पनि लगानी सप्रन्छ फसल तिमी कसरी भन्छौँ ?

बकैया –४, मकवानपुर

#फर्क अभियान#

 

सकियो झरनाको दुईदिने बकैया कला–साहित्य महोत्सव–२०८०

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले बकैया गाउँपालिका–९, शिखरपुरस्थित कालीदेवी माविमा शुक्रवार र शनिवार दुईदिने बकैया कला–साहित्य महोत्सव–२०८० गरेको छ । आफ्नो ३१ औँ वार्षिकोत्सवका अवसरमा दुईदिने बकैया कला साहित्य महोत्सव गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए ।

महोत्सवको पहिलो दिन शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले महोत्सवको उद्घाटन गरेका थिए । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष टंकध्वज लोप्चन, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार परशुराम गौतम, समाजसेवी ठूलीमाया माेक्तान, पत्रकार शुरेस श्रेष्ठ, बालअधिकारकर्मी आरपि दाहाललगायत विभिन्न बिद्यालयका प्रअ तथा शिक्षकहरूको आतिथ्यता रहेको थियो । शुक्रबार बकैया गाउँपालिकास्तरीय कविता प्रतियोगिता र चित्रकला प्रतियोगितासमेत गरिएको थियो । कविता प्रतियोगितामा सीता खनाल र अजर फुयाँल तथा चित्रकला प्रतियोगितामा परशुराम गौतम र आरपि दाहाल निर्णायक रहेका थिए । चित्रकलामा इमोन राई, सुस्मिता मोक्तान र सुदिप घलान तथा कवितामा कालीदेवी माविबाट राज भोलोनको त्याग  शीर्षकको कविता, जनक माविबाट सुदिप गोङ्वा तामाङको सोझो नेता शीर्षकको कविता र महेन्द्र माविबाट कुसुम लुइटेलको मेरा बा र परदेश शीर्षकको कविता उत्कृष्ट तीन घोषित भएका थिए ।  

महोत्सवको दास्रो दिन शनिवार झरनाले विभिन्न ८ जनालाई सम्मान समर्पण गरेको छ । पुरस्कार समर्पण सत्र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख अतिथ्यतामा भएको थियो । सो सत्रमा साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका नगद  रू. २१,१२१ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८० डा. गीता त्रिपाठीलाई प्रदान गरिएको छ । यस्तै, साहित्यसेवी विनोद सुवेदीले आफ्ना मातापिताको नाममा स्थापना गरेका नगद रू १५,५५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८० कवि साम्ब ढाकाललाई प्रदान गरिएको छ । यस्तै, साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेका नगद रू. ७,७७७ राशिसहितको खडानन्द–मनमाया युवाप्रतिभा सम्मान–२०८० स्याङ्जाका मिलन समीर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेका नगद रू. ७,७७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८० गजलकार बिमला कार्की “सुसं”, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेका नगद रु ७,७७७ राशिसहितको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान–२०८० भरतप्रसाद सापकोटा, नन्दादेवी गौतमले आफ्ना छोरा स्व.गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेका नगद रु. ११,१११ राशिसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० पत्रकार रामकुमार एलन, चन्द्रकुमार राईले स्थापना गरेका नगद रु ५,५५५ राशीसहितको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८० गजलकार अजर फुयाँल, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गरेका नगद ७,७७७ राशिसहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८० बाँसुरीबादक विष्णु घतानी सम्मानित भएका छन् ।

त्यस्तै, दोस्रो दिन नै पालिका अध्यक्षलाई आठ प्रश्न सत्रमा विभिन्न क्षेत्रका आठ स्थानियहरूले सोधेका आठ प्रश्नको जवाफ बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले दिए । महोत्सवमा करिब तीन दर्जनबढी कवि, मुक्तककार, गजलकारहरुले आ–आफ्ना रचना वाचन गरेका थिए भने बकैयाको काव्य महकमा बकैयाका १३ जना स्रष्टाहरूलाई मञ्च प्रदान गरिएको थियो । यस्तै राई, माझी, तामाङ भाषाका नृत्यहरूसमेत प्रस्तुत गरिएका थिए ।

कार्यक्रमका विभिन्न सत्रहरूको सहजीकरण गायत्री रुपाखेती, अमृता लामिछाने, विश्व राई, प्रेम बोम्जन, निलहरि ढुङ्गेल, कृष्ण घतानी र मसान उपासकले गरेका थिए भने बिभिन्न सत्रमा कृष्णप्रसाद चौलागाई, जनार्दन खनाल, रमेशमोहन अधिकारी, लक्ष्मी जिम्बा, नुरप्रसाद गौतमले अध्यक्षता गरेका थिए ।

महोत्सव आयोजनाका लागि गाउँपालिकाले रू. ४ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । वि.सं. २०५० साल फागुन १२ गते स्थापना भएको झरना साहित्यिक परिवारले विविध साहित्यिक क्रियाकलाप गर्दै आएको छ ।

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

पोखरा । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ ।

लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे ।

कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे । लघुकथा आकारका दृष्टिले सानो भएका कारणले मात्र नभई यसको क्षमताकै कारणले लोकप्रिय भएको मत राख्दै उनले विराट् विश्वलाई अटाउन सक्ने क्षमता लघुकथाले धारण गरेको भनाइ राखे । मान्छेभित्रको मान्छे गुण हराइरहेको परिवेशमा हरेक मान्छेले यो धर्तीमा जन्मेर मान्छे आवरणले मात्र मान्छे छु वा वास्तविक मान्छे नै हुँ भन्ने कुरा प्रत्येक मान्छेले सोच्नुपर्ने बेलामा कृति आएको सरुभक्तले बताए ।

कथाकार थापाले आफूलाई साथीहरूको सङ्गतले लेखक बनाएको बताए । यो कृति पनि साथीहरूकै प्रेरणाले ल्याएको भनाइ राखे । रोलाँ बाथको ‘डेथ अफ अथर’ को सिद्धान्तलाई आफूले स्वीकार गरेको बताउँदै उनले कृतिको जिम्मेवारी पाठकमा हस्तान्तरण भइसकेको बताए । उनका यसअघि मनको मूच्र्छना (गजल सङ्ग्रह, २०६०), पलापला (गजल सङ्ग्रह, २०६५), पर्खालबाहिर (मुक्तक सङ्ग्रह, २०६६) र अक्षरहरूको मूच्र्छना (कविता सङ्ग्रह, २०७७) प्रकाशित छन् । माया पब्लिकेसनले प्रकाशन गरेको मान्छे हराएको मान्छेमा ७० ओटा लघुकथा समेटिएका छन् । लघुकथा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापा छोरेपाटन माविका पूर्व प्रधानाध्यापक तथा निवृत्त शिक्षकसमेत हुन् । उनी नवनीत साहित्य सागरका पूर्व अध्यक्ष तथा अक्षरयात्राका परिकल्पनाकारमध्ये एक हुन् ।

कृतिको समीक्षा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले विषयगत विविधता ‘मान्छे हराएको मान्छे’ को वैशिष्ट्य भएको बताए । उनले थापालाई कृतिका लघुकथाका आधारमा सामाजिक यथार्थवादी साहित्यकारका रूपमा चिन्न सकिने बताए । दार्शनिक चिन्तन गर्न सक्ने कथाकारका रूपमा थापालाई स्थापित गर्ने लघुकथाहरू कृतिमा समेटिएका डा. अधिकारीको भनाइ थियो ।

कथाकार थापाको परिचय दिँदै साहित्यकार दीपक समीपले साहित्यिक भिडमा पनि अलग्गै चिन्न सकिने साहित्यिक व्यक्तित्वका रूपमा चिनाए । थापा विचारको प्रयोग र शब्दहरूको सदुपयोग गर्न सक्ने साहित्यकारका भएको समीपको मत थियो ।

लघुकथा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव अमृतले गरेका थिए ।

दोस्रो भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगितामा जेनिथ प्रथम

हेटौंडा, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा दोस्रो भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगितामा जेनिथ विद्यालयकी विशाखा पण्डित प्रथम हुन सफल भएकी छिन् । हेटौंडाका १९ वटा विद्यालयका ३४ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय दोस्रो, हेटौंडा एकेडेमी विद्यालय तेस्रो र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी सान्त्वना हुन सफल भएको छ ।

ज्ञानोदय बालबाटिका आवासीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप्ती महतको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा संगीतकार विष्णु अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा कागेश्वरी मनोहरा नगर अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष तथा संगीतकार बिनोद चुडालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका विद्यालयलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

श्रीमति संघ काठमाडौंकी उपाध्यक्ष राधा ज्ञवालीको हिमालमा घाम झुल्क्यो र ज्ञानोदय बालबाटिकाका प्रिन्सिपल श्यामकुमार बानियाँको आकाश खुल्यो सुस्तरी भन्ने गीत लोकार्पण गरिएको थियो । दुवै गीतमा संगीत ओमप्रकाश राई, छायांकन तथा सम्पादन महेन्द्र ओझाको रहेको छ । विद्यार्थी रहेको अन्तरनिहित प्रतिभा प्रस्फोटन गर्ने उद्देश्यले गतवर्षबाट विद्यालयले भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगिता गर्दै आइरहेको छ ।

सुमिना दाहालका तीन मुक्तकहरू

मुक्तक १

म सारङ्गी बजाउला तिमी मादल भएर आउनु
म झर्छु पानी भएर तिमी बादल भएर आउनु
सँगैसँगै रमाउला जिन्दगीको हरेक पलपलमा
म आँखा भएर रहन्छु तिमी गाजल भएर आउनु

मुक्तक २

किन किन मलाई आफ्नै देश मनपर्छ
यहीँ देशको भाषा अनि भेष मनपर्छ
यहीँ भुमिमा जन्मिएकाले होला सायद
मलाई यो देशको साह्रै परिवेश मनपर्छ

मुक्तक ३

दूध पिएपछि माता बिर्सिन्छ मान्छे
दशा सकिएपछि खाता बिर्सिन्छ मान्छे
कति स्वार्थी हुन्छन् मान्छेको जात पनि
काम सकिएपछि नाता बिर्सिन्छ मान्छे ।

बुद्ध मावि, कक्षा ९, बकैया–३, मकवानपुर