Home Blog Page 50

युवा पुस्ताका चर्चित कवि प्रज्वल अधिकारीका दुई कविताहरु भिडियो

दिनैभरि यो सहरमा साइरन बज्छ
बज्नु पर्ने त श्रमिकको निधारबाट खसेको पसिनाले माटोमा स्पर्श गरेपछिको गीत हो
सुनिनुपर्ने त बुढी आमाले पोल्दै गरेको मकै पड्किदाको आवाज हो
अथवा,
धुवा हो कि जीन्दगीको उकुस मुकुसलके निस्केको खोकी
या बुढा बा ले ठेला धकेल्दा उनको मुखबाट निस्केको खुईअको आवाज
तर,
दिनैभरि यो सहरमा साइरन को आवाज सुनिन्छ

पाठशाला
भनिदिनुहोस बच्चाहरुलाई कलिको घामलाई पानि हाल्नुपर्छ
घाम जवान भएपछी उ आफैले पानि पिउन सक्छ
यो बच्चा घाम तिमीहरुको आँखाले जन्माउछ

थप केही भिडियो कविताहरु !​

युवा पुस्ताका चर्चित कवि बाबु त्रिपाठीका तीन कविताहरू भिडियो

नदीहरु
समयलाई काखी च्यापेर निरन्तर बगिरहेछन नदीहरु
किनारा साक्षी छ मान्छेको अन्त्य मृत्यु जस्तै
नदीको पनि त आफ्नै अन्त्य होला
तर, कहाँ गएर थकाई मार्छन होला नदीहरु

साईनो
म धर्तीमा बसेर एउटा हिसाव गरिरहेको छु
साइनोमा को जेठो
म जेठो कि ! मेरो आँशु
म जेठो कि ! मेरो मुस्कान

क्रान्ति
कसैको मन नदुखाईकन
कसैको झुपडी नजलाईकन
कसैलाई टुहुरा नबनाईकन क्रान्ति गर्नु पो क्रान्ति
क्रान्ति त बामे सरिरहेका नानीहरु गर्दैछन
कालिका पाउले जमिन टेकन खोजेर

थप केही भिडियो कविताहरु !

अजर फुयाँल || उद्यमी साहित्य सर्जकसँग वार्तालाप

उद्यमी साहित्य सर्जकहरूसँग साहित्य सिर्जना तथा उद्यम सँगसँगै अघि बढाइरहेका सर्जकहरूसँग वार्तालाप गर्ने क्रममा आज सर्जक अजर फुयाँलसँग नवसाहित्य डट कमका लागि संप्रस पौडेलले गर्नु भएको वार्तालापलाई प्रस्तुत गरेका छौं ।

साहित्य लेखनको सुरूवात के कसरी भयो ?
स्कुल जीवनबाट नै साहित्य लेखनको सुरूवात भएको हो । दाइ, दिदीले राम्रो साहित्य सिर्जना गर्ने कारणले नै सुरूवातीमा परिवारबाट नै प्रेरणा पाएको हुँ ।

एक पटक हरेक मान्छे कवि भन्छ भन्ने भनाइ छ । पछि आफ्नो भविष्य त्यसमा हुने नहुने वा कविताका शील्प बुझिसकेपछि सबैले निरन्तरता दिँदैनन् । तपाईँले यसलाई निरन्तरता दिनुभयो । तपाईँको विशेष साहित्यिक विधा कुन हो ?
सुरूवाती चरणमा कविताबाट नै सुरू भयो । त्यसपछि गजल र अहिले मुक्तक लेखन लगायत नयाँ नयाँ लेखनका लागि प्रयासरत छु ।

सुरूदेखि संगीतमा रुची थियो वा पछि कसैबाट प्रेरित हुनुभयो ?
गीत के हो भन्ने थाहा पाउँदा नपाउँदै गीत गाउन सुरू गरेँ ।

बाँकी भिडियोमा….

कविता : रम्नुको नामै रारा || गोपाल सञ्जेल

गोदावरी नगरपालिका वडा ११, ललितपुर निवासी गोपाल सन्जेल समाजशास्त्रमा स्नातकोत्तरपछि समाजसेवा तथा लेखनमा सक्रीय हुनुहुन्छ । उहाँका उज्यालो बाटोतिर (कविता सङ्ग्रह)– २०४८,
अनुभूतिका रेखाहरु (निबन्ध सङ्ग्रह)–२०५७,परिवर्तनको पक्षमा (निबन्ध सङ्ग्रह)– २०६३, प्रसङ्गवश (निबन्ध सङ्ग्रह)– २०६५,मै हराएँ आज (गजल सङ्ग्रह)–२०६७, बिस्मात (उपन्यास)– २०६९, पत्थर पगाल्दै (निबन्ध सङ्ग्रह)– २०७०, अयोग्य (लघु उपन्यास– संयुक्त लेखन) २०७१, निःशब्दका शब्द (कविता सङ्ग्रह)–२०७३, मभित्र म खोजेर (हाइकु सङ्ग्रह)–२०७३, समय–रेखामा आमोई (उपन्यास )–२०७८प्रकाशित रहेको छ । उहाँ अखबारी लेखन, स्तभ लेखन, फुटकर आलेख, कविता, गीत, गजल आदि विधामा सक्रीय रहदैँ आउनुभएको छ ।

चराचुरुङ्गीहरू
पानीको मैदानमाथि उडान भर्छन्
पूरापूर फेरो मार्छन्
मिठामिठा गीत गाउँछन्
मिठामिठा पीरती गाँस्छन्
पानीहाँसको आफ्नै घर
तैरिन्छन्, पौडिन्छन्, डुबुल्की मार्छन्
आफ्नै संसार ठान्छन् !

गर्भभित्रका जलचरहरू
रमेका कथाकुथुङ्ग्री कतिकति
आसपासका जीवात्माहरू
कथै बुन्न वरिपरि झुम्मिन्छन्
रम्नै रमण लाउँछन्
सबैसबै रम्छन्
रम्नुको नामै रारा !

हावा रम्नै हाम फाल्छ
पानीको सपाट मैदानमा लडिबुडी खेल्छ
घामको झुल्को उसैगरी लुटपुटिन्छ
रङ्ग पोत्छ, रङ्गीन बनाउँछ
इन्द्रेणीभन्दा धेरै रङ्ग पोत्छ
पानीको रङ हेर्न
पानीको रङ फेर्न
पानीको रङ उचेर्न
निलो आकाश ढकनी मार्छ
सेतो चाँदीको ढिक्का बनेर
बादल पानीमाथि नै नाच्छ !
छाया प्रतिछायाबिच ऐना हेराहेर गर्छ !
आकाश, हिमाल, रुख, बुट्यान, पानीसँगको अनौठो सम्मिलन !
पानीसँगै पातपतिङ्गर रङ्ग फेर्छ
रङ्गको नामै रारा !

तर मनुवाहरू भने
समय नापेर आउँछन्
बाहाना बनाउँछन्
खै, कसोकसो असहज मात्रै
केके गर्छन् गर्छन्
केके भन्छन् भन्छन्
लय मिल्दैन, सुर मिल्दैन
रम्ने ताल नि मिल्देन

आम्मै, धन्न दर्शन पाएँ रे !
आहा, कति राम्री रे !
ओहो, कस्तो अद्भूत रे !
भाग्यले पाइला टेक्न पाएँ रे !

कतिपयका कुरो त
खाने ठाउँ नि छैन
बस्ने ठाउँ नि छैन
खेल्ने ठाउँ नि छैन
बाटाघाटो नि छैन
हरे, यो कस्तो गुनासो ?
घरज्वाईँ बस्न आएजस्तो !
हे मूर्ख मनुवा,
मैले पाएको वरदानमा रम्न
चराचुरुङ्गी जस्तो जान्दैनौ र ?
जीवात्मा जस्तो ठान्दैनौ र ?
जलचर जस्तो मान्दैनौ र ?
हावा, पानी, घामले जस्तो सुन्दैनौ र ?
गुनासो रारा होइन,
रम्नुको गहिराही नै रारा हो !

भित्री आँखा खुल्दैन भने
प्रकृति कसरी खुलोस्
चराचर जगत कसरी उघ्रियोस्
मन नपर्न सक्छ
मन नरम्न सक्छ
त्यसो भने नआऊ, नछोऊ
परै बस, कथै सकियो
एक्लै रम्न देऊ, सङ्लै रहन देऊ
अनन्त छु, अनन्त रहन्छु
पूर्ण छु, परिपूर्ण रहन्छु
अनन्तको नामै रारा !
परिपूर्णको नामै रारा !
भित्री आँखाले हेर
व्यापार होइन, अपार खोज
क्षणिक सयल होइन,
आत्मिक आनन्द खोज
बिथोल्न होइन, बुझ्न आऊ
आउन नबिराऊ, समय ननापी आऊ
स्वर्गबाट आएकी होइन,
स्वर्ग यहीँ सृष्टि गरेको हो
स्वर्गकी अप्सरा होइन,
धरतीकै अप्सरा हो
अतृप्त छु, अतृप्त नै रहन्छु
अतृप्तको नामै रारा !
रम्न आऊ, रम्नुको नामै रारा !

ललितपुर

‘सुश्री पारिजात’ का लागि गोविन्द गिरी प्रेरणालाई यशश्वी बुक अवार्ड ।

मंसिर ४, सोमबार मकवानपुर ।  यशस्वी प्रज्ञा प्रतिष्ठानले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यकार गोविन्द गिरी प्रेरणालाई यशस्वी पुस्तक अवार्डबाट सम्मान गरेको छ ।

यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाको सभापतित्व तथा वरिष्ठ समालोचक तथा नेपाली साहित्यका विशिष्ट व्यक्तित्व वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा सम्पन्न सो कार्यक्रममा समालोचक वासुदेव त्रिपाठीले ’सुश्री पारिजात’ जीवनी कृतिका लागि यशस्वी पुस्तक अवार्डबाट गोविन्द गिरी प्रेरणालाई सम्मान गर्नुभएको हो ।

सम्मान मन्तव्यमा समालोचक त्रिपाठीले स्रष्टा गोविन्द गिरी प्रेरणाको लेखनीमाथि प्रकाश पार्दै उहाँको बहुआयामिक प्रतिभाको प्रशंसा गर्नुभएको थियो । कसैको पनि जीवनी लेख्नु सजिलो काम नभएको उल्लेख गर्दै पारिजात जस्ति विशिष्ट प्रतिभाको जीवनी लेखेर उनका बारेमा पाठकलाई जानकारी गराउनु सक्नु गिरीको विशेषता रहेको बताउनुभयो ।

समारोहमा समालोचक ज्ञानु अधिकारीले ’सुश्री पारिजात’ पुस्तक र सर्जक गिरीको बारेमा संक्षेपमा समीक्षात्मक टिप्पणी गर्नुभयो भने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्रष्टा गोविन्द गिरीको संक्षिप्त जीवनीमाथि प्रकाश पार्दै उहाँको लेखन यात्राका बारेमा बोल्नुभएको थियो । गोविन्द केही न केही नगरी बस्न नसक्ने बानी भएको व्यक्ति भन्दै उहाँले साहित्य लेखनदेखि सम्पादन, सृजना र संगठनमा सधैँ अग्रसर हुने गरेको बताउनुभयो । गोविन्दले साहित्यको सबै विधामा कलम चलाएर सफल भएको भन्दै उहाँका दुई दर्जनभन्दा कृतिहरू प्रकाशित भएको बताउनुभयो । उहाँका कृतिहरू नेपाली भाषा बाहेक आफ्नै स्वदेशको नेपाल भाषा (नेवारी) लगायत अङ्ग्रेजी, हिन्दी, मलायम आदि अन्य विभिन्न भाषामा समेत अनुवाद भइसकेको कुरा बताउनुभयो ।

कार्यक्रममा सम्मानित स्रष्टा गिरीले आफ्नो लेखन यात्राबारे चर्चा गर्दै यशस्वी पुस्तक अवार्ड जित्न सफल पुस्तक ’सुश्री पारिजात’ लेख्न शुरू गर्दादेखिको सुख दुःख तथा आत्म सन्तुष्टिका बारेमा संक्षेपमा उल्लेख गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौलाले आफ्नो स्वागत मन्तव्यमा बहुप्रतिभाशाली स्रष्टा गोविन्द गिरीलाई यश्वसी पुस्तक अवार्डबाट सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नुभएको थियो भने साहित्यकार मातका पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ठाकुर बेल्वासेले कार्यक्रमको सहजीकरण साहित्यकार गर्नुभएको थियो ।

‘सरुभक्तका मुक्तक’ पोखरामा सार्वजनिक ।

मंसिर ४, सोमबार मकवानपुर । साहित्यकार सरुभक्तका ५ वटा मुक्तक सङ्ग्रहलाई एउटै कृतिभित्र समेटेर प्रकाशन गरिएको छ । यसअघि प्रकाशित ३ वटा तथा नयाँ २ वटा मुक्तक सङ्ग्रह समेटिएको ‘सरुभक्तका मुक्तक’ नामक कृति मङ्सिर ३ गते आइतबार पोखरामा सार्वजनिक गरिएको हो ।

आयोजक मुक्तक मञ्च, केन्द्रीय समितिका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’ ले कृतिको लोकार्पण गर्नुभएको हो । कृति नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले प्रकाशन गरेको हो । सरुभक्तका दार्शनिक मुक्तकहरूले आफूलाई आकर्षण गर्ने गरेको वात्सायनले बताउनुभयो । निरन्तर साधना र अध्ययनले सरुभक्तलाई आजको सरुभक्त बनाएको भन्दै उहाँले पोखरा मात्र नभई सिङ्गो नेपाली साहित्यकै गौरव गर्नलायक साहित्यकारका रूपमा आफूले सरुभक्तलाई चिनेको बताउनुभयो ।

सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ नामक मुक्तक सङ्ग्रह वि.सं. २०३५ मा प्रकाशन भएको थियो । पोखराकै पहिलो मुक्तक सङ्ग्रहका रूपमा परिचित उक्त कृतिसँगै हजार बुद्धहरू (२०६१) र प्रेमयात्रा (२०६७) सहित पूर्व प्रकाशित ३ कृति र ‘जीवनयात्रा’ र ‘समययात्रा’ गरी दुई नयाँ कृति सो पुस्तकमा समावेश गरिएका छन् ।

मुक्तककार सरुभक्तले मुक्तकसँगको आफ्नो सम्बन्ध गाढा भएको भन्दै अब मुक्तकले नै लेखाउने अवस्थामा पुगेको अनुभव सुनाउनुभयो । भन्नुभयो, ‘लेख्दिनँ भन्छु तर मुक्तकले नै मलाई मुक्तक लेखाउँछ ।’ उहाँले नेपालभरि मुक्तकसम्बन्धी अनेकौँ गतिविधि सञ्चालन हुँदै आएको बताउँदै आगामी दिनमा अन्तर्राष्ट्रिय मुक्तक गोष्ठी आयोजना गर्न मुक्तकसम्बन्धी संस्थाहरूसँग प्रस्ताव गर्नुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तका यसअघि आख्यान, नाटक, कवितालगायतका झण्डै ४ दर्जन कृति प्रकाशित छन् ।

साहित्यकार तीर्थ श्रेष्ठले सरुभक्तका मुक्तकको विशाल सङ्कलन प्रकाशन हुनुलाई ‘ऐतिहासिक कार्य’को संज्ञा दिनुभयो । टिकटमा मुक्तक कार्यक्रम शुरु गर्दादेखि हालसम्मका मुक्तकहरूलाई एउटै सङ्ग्रहमा समेटेर प्रकाशन गरिनु समग्र नेपाली मुक्तक क्षेत्रकै गौरवको कुरा भएको उहाँको भनाइ थियो । उहाँले मुक्तक कसैले यही संरचनामा लेख भन्न नहुने बताउँदै त्यस्तो तानाशाही प्रवृत्तिलाई कसैले नमान्ने तर्क गर्नुभयो ।

कृतिका सम्पादक डा. रूपक श्रेष्ठले सरुभक्त जस्तो दिग्गज स्रष्टाका मुक्तकहरूको सम्पादन गर्ने क्षमता आफूले नराख्ने बताउँदै आफू केवल सङ्कलक भएको धारणा राख्नुभयो । उहाँले सरुभक्तका मुक्तकहरूको सङ्कलन प्रकाशन गरेर सरुभक्तको मुक्तक मात्रै प्रकाशन गरेको नभई सिङ्गो नेपाली मुक्तकको इतिहासको संरक्षण गर्ने प्रयास गरेको बताउनुभयो । कृति प्रकाशनबाट प्राप्त रकमबाट मुक्तकसम्बन्धी पुरस्कार स्थापनाका लागि खर्चिने उनले जानकारी दिनुभयो ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले चार हरफको रचना भनेर मुक्तकप्रति नकारात्मक दृष्टि राख्नेप्रति असन्तोष व्यक्त गर्दै सिङ्गो महाकाव्यले दिन सक्ने भाव एउटै मुक्तकले दिन सक्ने जिकिर गर्नुभयो । प्रतिष्ठानकै संस्थापक महासचिव रमेश पौडेलले सरुभक्त मुक्तक मन पराउनेहरूका लागि पवित्र धाम भएको बताउनुभयो । पागल बस्ती नामक उपन्यासका लागि २०४८ को मदन पुरस्कार विजेता सरुभक्तले अन्य विधा लेख्न नजानेर मुक्तकमा लागिरहेका नभई मुक्तकप्रतिको लगाव र यसको शक्तिका कारण लेखिरहेको पौडेलको तर्क थियो ।

नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरलेले स्वागत तथा सचिव नवीन भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले कृतिभित्रबाट केही मुक्तक वाचन गर्नुभएको थियो ।

प्रा.डा. मुकेशकुमार चालिसे र माधव भण्डारी रश्मि सम्मानित हुने ।

मंसिर ३, आइतबार मकवानपुर । बुढ्यौली साहित्य समाज मकवानपुरले यस वर्षदेखि प्रदान गर्न लागेको “तुल्सी थापा स्मृति सम्मान” प्रा.डा. श्री मुकेश कुमार चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । पछिल्लो कृति ‘डाँडामाथिका जून’ सहित जेष्ठ नागरिक सम्बन्धित ३  पुस्तक प्रकाशन गर्नुभएका ललितपुर निवासी चालिसे नेपालको पहिलो बाँदर विशेषज्ञ समेत हुनुहुन्छ । यस्तै समाजले “तोयानाथ रिजाल स्मृति सम्मान” ८४ बर्षे साहित्यकार श्री माधव भण्डारी रश्मिलाई प्रदान गर्नेछ । शोक काव्यसहित केही साहित्यिक कृतिहरू रचना गर्नु भएका रश्मि हेटौंडा निवासी हुनुहुन्छ । आगामी पुस ९ गते एक विशेष समारोहबीच दुवै सम्मान प्रदान गरिने समाजका अध्यक्ष आर.सी. रिजालले बताउनु भयो ।

कथा : चिठीले कोरेको बाटो । शिवराज शाही

म भर्खर बैँसको पहिलो खुड्किलो उक्लिने तयारीमा थिएँ । त्यस बेला अनौठा अनौठा सपना देख्थेँ । कहिले डाँफे झैँ हिमालको चुचुरोमा नाचिरहेको हुन्थेँ । कहिले कोइली झैँ वनै थर्कने गरी प्रेमको गीत गाइरहेको हुन्थेँ । अनि कहिले कुनै रोमान्टिक फिल्मको हिरो झैँ हिरोइनको न्यानो अङ्‍गालोमा बाँधिएको हुन्थेँ ।
किशोर वायुको प्रभाव थियो सायद । म भर्खर आफ्नो उमेरको १६औँ वसन्त उक्लिएको थिएँ ।
“ए ! यसका त जुँगा रेखी बसेछन् ।”
आमा जिस्काउनुहुन्थ्यो ।
“अब बिहे गर्ने बेला भो ।”

म लाजले भुतुक्कै हुन्थेँ । आमाको कुरा नसुने झैँ गर्थेँ । कुरा अन्तै मोड्ने कोसिस गर्थेँ ।
भन्थेँ- “आमा स्कुल जान ढिला भयो, भात पस्किदिनू ।”

जुम्ला, कुडारी बजारको उत्तरपट्टिको भिरालो पाखामा थियो हाम्रो स्कुल । श्री सरस्वती मा.वि. । वार्षिक परीक्षा सकाएर बन्द भएको स्कुल भर्खरै खुलेको थियो ।

म दश कक्षामा पढ्थेँ । राम्रो विद्यार्थी त थिइनँ नै, जसोतसो पास हुन्थेँ । पढे पो राम्रो नम्बर ल्याएर पास हुनु ! सधैँ उटपट्याङमै व्यस्त भएपछि यस्तै त हो । चिट चोर्‍यो, जबर्जस्ती पास भयो ।

प्रेम के हो ? थाहा थिएन । तर प्रेमबाट टाढा थिइन । पाँच कक्षामै पढ्ने बेला आफ्नै कक्षाकी केटीसँग ‘लभ’ परेको थियो मेरो ।
चिठी उसैले पठाएकी थिई । ऊ तुरुन्तै स्वीकार गर्नु जस्ती राम्री पनि थिइनँ । तर पढाइमा तगडा थिई । कक्षामा सधैँ प्रथम हुन्थी ।

म स्वार्थी भएँ । मन नपर्दा नपर्दै पनि उसको प्रेम स्वीकार गरेँ । सोचेको थिएँ- वार्षिक परीक्षामा आफ्नो मान्छे ठानेर आफ्नो उत्तरपुस्तिका सार्न दिई भने कक्षामा दोस्रो हुन के बेर ?

तर दुर्भाग्य ! वार्षिक परीक्षा नआउँदै उसको परिवार जुम्ला छोडेर इन्डिया हानियो । मेरा सपना तुहियो । अचेल सोच्छु- स्वार्थले भरिएको सपना थियो त्यो । त्यसैले पूरा भएन् । स्वार्थले भरिएका सपना कहिल्यै पूरा हुँदैनन्, केवल मनमा पश्चातापको बिउ रोपेर जान्छन् ।

कक्षा पाँचमा पढ्ने बेलाको प्रेमकहानीको नमिठो अन्त्य पछि मैले फेरि प्रेम गरिनँ । प्रेम त कसैले पत्याए पो गर्नु ! कक्षाका सबै केटीले अघिल्ला सिटे पढन्तेहरूलाई मात्र हेर्थे । म जस्तो पछिल्लो सिटे ल्वाँठलाई कसले हेर्नु ?
एक दिन साथी पारस र म कक्षाको सबैभन्दा पछिल्लो बेन्चमा बसेर खासखुस गरिरहेका थियौँ । पहिलो घन्टी थियो, नेपाली पढाउने सरिता म्याडम निबन्ध भट्याइरहेकी थिइन् । कथा भए पो पढ्नु ! निबन्ध पढ्न त मनै लाग्दैन । त्यसैले हामीले विषयवस्तुभन्दा अन्तै ध्यान केन्द्रित गरेका थियौँ ।

पारसे भन्दै थियो-

“नौ कक्षामा सुर्खेतबाट स्वर्गकी अप्सरा जस्ती केटी आकी छ ।”
“कस्ती कस्ती ?” मैले कान ठाडा पारेको थिएँ ।
“अप्सरा जस्ती, फिल्मको हिरोनी जस्ती” पारसेले मेरो कानैमा मुख टाँसेर सुनाएको थियो ।
उसको कुरा सुनेर म तरङ्गित भएँ । कति बेर कक्षा सकिएला र स्वर्गकी अप्सरा देखुँला ! म आतुर भएँ । ४५ मिनेटको कक्षा पनि ४५ दिन जस्तो लाग्यो ।

“केको हल्ला हो ?” सरिता म्याडमको सदावहार प्रश्न आयो । “केही होइन” भन्दै हामीले शिर झुकायौँ ।

एउटा विराट् छटपटीपछि कक्षा सकियो । भेडाको हुल झैँ ढोकामा धकेलाधकेल गर्दै बाहिर निस्किरहेका विद्यार्थी हुलमा चेपिँदै हामी कक्षा नौको ढोकानिर पुग्यौँ ।

लौ  ! कक्षा नौ त सुनसान छ । हामीले स्वर्गकी अप्सरा खोजिरहेका थियौँ । त्यहाँ त केवल रित्ता बेन्च र एउटा भाँचिएको कुर्सी छ । केटाहरूले कुर्सीको खुट्टै भाँचेछन् ।

एक छिनपछि चौरतिरबाट एक हुल विद्यार्थी हामीतिर आइरहेका थिए । कक्षाकोठा चिसा थिए, त्यसैले ‘बिएस्सी’ सरले बाहिरै पढाएछन् । घाम ताप्दै । भिड नजिकै आयो ।

“खोइ त स्वर्गकी अप्सरा ?”
मैले पारसेको कानैमा मुख पुर्‍याए । ऊ एक छिन केही बोलेन । ध्यान दिएर भिडतिर हेर्‍यौँ । अलिबेरपछि उसले उत्साहित हुँदै एउटी केटी देखायो ।

“ल हेर ऊ त्यही हो, स्वर्गकी अप्सरा ।”
केटी साँच्चै स्वर्गकी अप्सरा जस्ती थिई ।
दुई चुल्ठी बाटेकी, माथिल्लो ओठमा कोठी भएकी, हामीले लाउँदा मागेर ल्याए जस्ता देखिने स्कुल ड्रेसमा पनि चिटिक्क परेकी । ऊ सुस्त सुस्त हिँडिरहेकी थिई । मानौँ- उसको पदचापले धर्ती भासिन सक्छ ।

केटी मेरो नजिकै आई । मलाई त छुलुक्कै पिसाब आउला जस्तो भयो । तर मैले होस् घुमाइन् । तत्कालै जिब्रोले दुबै ओठमा थुक लगाएँ । मेरा ओठ चिल्ला भए । म ढुक्क भएँ । स्वर्गकी अप्सरालाई चिसोले फुटेका ओठ देखाउनु त भएन् नि !
***
“तेरी भाउजू ।”
“हैन तेरी भाउजू ।”
स्वर्गकी अप्सरा कसले पट्याउने भन्ने विषयमा पारसे र मेरो विवाद पर्‍यो ।
“ज्यान गए छोड्दिनँ” ऊ भन्थ्यो ।
“अनि मचाहिँ के हेरेर बस्छु ?”
हामी दुवै जना आआफ्नो अडानमा अडिएका थियौँ । केही गर्दा पनि कुरा नमिलेपछि पारसे जङ्गियो ।
“ल दोस्त, जसको शक्ति उसको भक्ति । तैले सके तँ पट्याएर देखा, मैले सके म देखाउँछु ।”
“ओके डन”
मैले पारसेको चुनौती स्वीकार गरे ।

त्यसै साँझ घरमा बाआमा सुतिसकेपछि मैले राम्रा अक्षरमा चिठी लेखेँ । फोन नम्बर त माग्न सके पो ! मागे पनि के ? आफूसँग मोबाइल थिएन । आमाको मोबाइलबाट उसलाई फोन गरुँ, रिसाएर गाली गरी भने… ! फोनबाट मनका कुरा व्यक्त गर्नु जोखिमपूर्ण लाग्यो ।

एकबारको जिन्दगीमा किन खुकुरीको धारमा नाँच्नु ? मैले प्रेम प्रस्ताव राख्न चिठी उपयुक्त माध्यम ठानेँ । रातभर नसुतेरै चिठी लेखे । चिठी लेखिसकेपछि अलिकति आँट आयो ।
“भोलि जसरी पनि पारसेले भन्दा पहिला नै चिठी दिन्छु ।”

चिठीमा पाउँनेको नाम थिएन, उसको नाम त थाहा भए पो ! पठाउनेको नाम पनि लेखिन । नामबिनाको चिठी खाममा कोचेर म निदाएँ । निदाएँ पनि के भन्नु ? उसकै सौन्दर्यको कल्पनामा हराएँ ।

चिठी कसरी दिने ? आफैँले दिउँ कि अरू कसैलाई दिन लगाउँ ? मनमा अनेकौँ कुराहरू खेलाउँदै भोलिपल्ट स्कुल पुगेँ । पारसे त अघि नै पुगिसकेको रहेछ । कतै उसले चिठी पनि दिइसक्यो कि ? मलाई छटपटी भयो ।
म स्कुल पुग्दा प्नार्थना सुरू हुनै आँटेको थियो, पारसेलाई बेवास्ता गरेर चौरमा पुगेँ । ऊ कक्षामै बस्यो, राष्ट्रिय गान गाउने बेला पनि चौरमा आएन ।

प्रार्थना सकेर कक्षामा आउँदा पारसे अँध्यारो मुख लगाएर अन्तिम बेन्चमा बसेको थियो । म पनि गएर उसको छेवैमा बसे ।
“ओइ के भो, स्वर्गकी अप्सरालाई प्रपोज गर्न डराइस् कि के हो ?” उसको मौलिएको चेहरा देखेर सोधिहालेँ । ऊ फिस्स हाँस्यो, मलाई जिस्काए जसरी । छिनमै मुसुमुसु हाँस्छ, छिनमै औँसीको रात झैँ अँध्यारो मुख लगाउँछ । हैन आज पारसे बौलायो कि क्या हो ? उसको चाल देखेर म अचम्मित भएँ ।

पहिलो घन्टी चलिरहँदा जब मैले झोलाको बाहिरी गोजीमा हात छिराएँ, मेरो पेट चिसो भयो । त्यहाँ मेरो चिठी थिएन । घरबाट निस्कने बेला चिठी बाहिरी गोजीमै राखेको थिएँ । अहिले छैन । मैले पूरै झोला छामछुम पारेँ । चिठी भेटिएन ।

थकित भएर पारसेको अनुहारतिर हेरेँ । उसले किताबमा आँखा गाडेको थियो, पढनदास पल्टेर । मेरो चिठी कहाँ हरायो ? अब मैले स्वर्गकी अप्सरालाई के दिने ? मलाई रोउँ रोउँ लाग्यो । मन भारी भयो ।

जब हातमा मोटो मेहलको लोरो बोकेर ‘बिएस्सी’ सर ढोकामा उभिए, मेरो जिउमा एकैचोटी सयौ काँडा उम्रिए जस्तो भयो । के आज मेरो ढाड चिलाएकै हो त ? मैले एकपल्ट पारसेको अनुहारतिर आँखा पुर्‍याएँ । उसको अनुहार रातो भएको थियो । ऊ पनि डराए जस्तो छ !

‘बिएस्सी’ सर विद्यार्थी कुट्न माहिर थिए नै ।
“बिएस्सी सरको हातबाट कुटाइ खानुभन्दा भिरबाट हाम फालेर मर्नु बेस” कुटाई चाखेकाहरू यसै भन्थे ।
“एइ पारसे उठ्” मेहलको लौरो पारसेतिर सोझ्याउँदै बिएस्सी सर कराए ।
“आस्थालाई चिठी किन लेखिस् ?” पारसे मौलोमा बलि दिन आँटेको राँगो झैँ डराउँदै उठ्यो । एकै छिनमा आस्था पनि देखिई कक्षामा । हैट, स्वर्गकी अप्सराले त डुबाउँछे कि क्या हो ?

बिचरा पारसेको मुटु भलिबल झैँ उफ्रिरहेको होला । मलाई उसको असाध्यै माया लाग्यो । पारसेले केही सोच्न नपाउँदै बिएस्सी सरको लौरो उसको पिठ्युँमा बजारियो । एकचोटी होइन, लगातार पाँचचोटी । तुरुक्क आँसु चुहाउँदै पारसे बेन्चमा थचारियो । स्वर्गकी अप्सराको नाम आस्था रहेछ । स्वर्गकी अप्सरा हो कि नर्ककी ? मलाई आस्थासँग विद्रोह गर्न मन लाग्यो । यसरी मर्ने गरी कुट्न लगाउने हो ? अब यसलाई ज्यान गए चिठी लेख्दिनँ ।

भएछ के भने-
कक्षाका सबै विद्यार्थी प्रार्थनामा उपस्थित भएका बेला पारसेले सुटुक्क मेरो चिठी चोरेछ । उसले चिठीमा आफ्नो नाम थपेछ । कुन बेला, कक्षा नौमा पसेर आस्थाको झोलामा चिठी राखिदिएछ । अनि पो पारसेको दशा चम्कियो । आस्थाले चिठी ‘बिएस्सी’ सरलाई बुझाई । सरले सजाय दिए । के सजायको अर्थ फाँसी दिनु अथवा मर्ने गरी पिट्नु मात्र हो ?

कक्षामा सबैका सामु पारसेले आस्थाको खुट्टा ढोगेर माफी माग्यो । ढोग्ने बेला पारसेको आँसुको थोपा आस्थाको खुट्टामा पर्‍यो ।
के पारसेको आँसुले पोल्यो आस्थालाई ? मैले आस्थाको अनुहारमा हेरेँ, त्यहाँ कुनै पीडा थिएन् । ‘बिएस्सी’ सर बाहिरिए, सँगसगँ आस्था पनि । जब बेन्चमा पछारिएर पारसे डाँको छोडेर रुन थाल्यो मेरो मन अमिलो भयो । मैले नै चिठी लेखेर त यो सब भएको नि !
“भो नरो पारस” सरको आगमनले पढाउन छाडेर मौन बसेकी म्याडमले मायालु आवाजमा भनिन् ।
“भर्खरका केटाकेटी हुन्, अलिअलि गल्ती त भैहाल्छ नि ! यसरी मर्ने गरी कुट्ने हो ? हेर अनुहारै रातो भा’छ”

पारसेको हालत देखेर पूरा कक्षा नि:शब्द थियो । हामीसँगै पढ्ने पारसेकी दिदीका आँखा रसाएका थिएँ, आँखामा सिङ्गै कर्णाली भरिए जसरी । पहिलो घन्टी सकिएपछि पारसे र म स्कुलमा बस्नै सकेनौँ । स्कुलबाट फुत्त निस्केर हिँड्यौँ । बाटोमा पारसेको झोला पनि मैले नै बोकेँ । पारसे भन्थ्यो “दोस्त झोला बोक्दा पिठ्युँ चर्‍याउँदो छ ।”

उसको घर कुडारी बजारभन्दा दुई किलोमिटर दक्षिणमा थियो, त्रिवेणी बजारमा । पारसेको घर जाने बाटोमा अलि अलि घाँस भएको चौर थियो । ऊ आकाशतिर पिठ्युँ फर्काएर चौरमा पल्टियो । हावाको झोक्काले पारसेको पातलो सर्ट जिउ छोडेर भाग्ला झैँ गर्न थाल्यो । मैले देखेँ । उसको पिठ्युँमा सातवटा राता धर्सा बसेका थिए । तिनै चहराएका होलान् । मैले चिनेदेखि पारसे यसरी घायल भएर कहिल्यै लडेको थिएन । ऊ बलियो थियो । कहिलेकहीँ स्कुलमा केटाहरुले मलाई पिट्दा बचाउने ऊ नै त हो । एकाएक मेरा आँखा टम्म भरिए ।
“दोस्त पल्टिदै गर्, म पिसाब गरेर आउँछु” छल्किएका आँसु लुकाउन छेउ लागेँ ।

पारसेलाई उसको घर पुर्‍याएर म कुडारी बजार फर्किएँ । उसको सम्झनाले बाटो छेकेँ, मैले जबर्जस्ती पाइला चालेँ ।

“सुम्निमा दिदी, आज पारसे आएन ?”
अर्को दिन, स्कुलभरि कतै पनि पारसेलाई नभेटेपछि उसकी दिदीलाई सोधेको थिएँ । भरिएको गाग्रीको मुखमा हल्लिरहेको पानी झैँ टिलपिल भएका आँसुलाई सेतो दोपट्टाले पुछ्दै सुम्निमा दिदी बोलिन् ।
“पारसे त हिजो राति नै घर छोडेर हिँड्यो ।”
“कहाँ गयो त ?”
“ दे… … ?” (खोई)
पारसे घर छोडेर भाग्यो । स्कुलभरि हल्ला चल्यो । तल नाग्म बजारसम्म खोज्न पनि गएका थिएँ रे पारसेका बा ! तर कतै भेटिएन् रे !
‘बिएस्सी’ सरले कुटेको साँझ पारसेका बाले सोधेका थिए रे, किन कुटाइ खाइस् भनेर । पारसेले इमान्दार भएर सबै कुरा भनेछ ।
तँलाई पढ्न पठाको कि लभ गर्न भन्दै पारसेलाई दुई झापड लगाएका थिए रे उसका बाले । त्यसै रात पारसे घर छोडेर भागेछ ।

पारसेले घर छोडेको केही दिनपछि उसकी आमा हाम्रो पसलमा आएकी थिइन् । त्यस दिन बा सदरमुकाम जानुभएको थियो । पसलमा आमा र म मात्र थियौँ । मलाई देखेर पारसेकी आमाका आँखा रसाए । भनिन् – “छाउल्या त बाईगयो, तमी राम्मो गरिकन पढ्या !” (सङ्गैको साथी हिँडिसक्यो, तिमी राम्रोसँग पढ्नू)
बोल्दाबोल्दै उनले आँखाको डिलमा टिलपिलाएको आँसु थाम्न सकिनन् । भक्कानो फुट्यो । उनी रुन्चे आवाजमै बोलिन् ।
“त्यै अभागी सात् एकसरा राम्रा टाला पुनि थेनुन्”
“हुन्देउ झर्को नमान” आमाले सम्झाउनुभयो । “छोरो हो , एक दिन त पक्कै फर्केर आउला ।”
जाने बेला पारसेकी आमाले फर्की फर्की मलाई हेरिन् । बिचरा ! आफ्नै छोरा जस्तो मानिन् होला ।

पारसेले घर छोडेपछि म एक्लो भएँ । कक्षामा पनि एक्लै बस्थेँ । कहिलेकहीँ झुक्किएर पारसेलाई बोलाउँथे पनि । त्यहाँ पारसे थिएन । अरू विद्यार्थी अचम्म मानेर मलाई हेर्थे । कतिले त भन्थे पनि-
“भाँडा पसले साहुको छोरो बहुलायो ।”
म हरेक रात सोच्थेँ । कहाँ गयो होला पारसे ? इन्डिया पो गयो कि ? बजारमा पढाइ छाडेर इन्डिया जाने केटाहरू धेरै थिए ।
पारसे खलासी गर्न नेपालगन्ज पो गयो कि ? कोही केटाहरू घरबाट भागेर खलासी हुन नेपालगन्ज पुगेका थिए । कहाँ गयो होला पारसे ? मलाई कयौँ रात उसको सम्झनाले निदाउन दिएन, सताइरह्यो ।

म निराश थिएँ ।
म उदास थिएँ ।
आस्थासँग बेला बेला आँखा जुध्थे । ऊ मन पर्नै पनि छाडेकी थिई । धेरैचोटि मसँग बोल्न खोजेकी थिई । म तर्किएको थिएँ । म एक्लो थिएँ, म कवि भएँ । हरेक दिन एकदुई वटा कविता लेख्न थालेँ, डायरीहरु भरिँदै गए ।
चौकीमा नयाँ असई आएका थिए । असई साबसँग हाम्रो बाको राम्रो सम्बन्ध थियो । असई साब बेला बेला हाम्रो पसलमा आइरहन्थे । भन्थे “जुम्लामा जाडो खान आउन मन थिएन, कर्मले यतै पठायो ।”
“यस्तै हो असई साब” बा भन्नुहुन्थ्यो । “मलाई पनि उतै जाजरकोटमै राम्रो थियो, आफ्नो पुर्ख्यौली ठाउँ भनेर जुम्ला आइयो । यहाँ यस्तै छ ।”

मलाई असई साब खासै मन पर्दैन थियो । बेला बेला चौकीमै बोलाएर कविता सुनाउन लगाइरहने । हिउँ परेर बजार सेतै भएको बेलाको चौकी जाओस् कवि बनेर । आस्था यिनै असई साबकी छोरी रहिछे । म चौकीमा कविता सुनाउन गएका बेला ऊ चिया ल्याएर दिन्थी ।

घुँडासम्म आउँने हिउँ छिचोल्दै चौकी जाउ, बाङ्गाटिङ्गा अक्षरमा लेखेका कविता सुनाउ, अनि असई साबका कुरा सुन । कहिलेकहीँ असई साब भन्थे-

“लेख्दै जाऊ, एकदिन ठुलो कवि हुन्छौ ।”
म फिस्स हाँस्दै टाउको हल्लाउँथेँ ।
दिनहरू यसरी नै बित्दै गए । हिउँ परेर बजार सेतै भएका बेला पारसेको याद आउँथ्यो । तर हिउँका ठुला ठुला घर बनाउन ऊ फर्केर आएन ।
हेर्दाहेर्दै चैत आयो, एसएलसी परीक्षा पनि आयो । मैले पारसेलाई सम्झिएँ, तर सँगै परीक्षा दिन ऊ आएन । नयाँ वर्ष आयो, त्यसको तीन महिनापछि एसएलसीको नतिजा पनि आयो । मैले पारसेलाई सम्झिएँ, तर मलाई बधाई दिन ऊ आएन । एसएलसी पछि म पढ्न काठमाडौं जान आँटेको थिएँ । म काठमाडौँ जाने दिन आयो । मैले पारसेलाई सम्झिएँ, तर शुभयात्रा भन्न ऊ आएन ।
०००
दुई वर्षपछि दसैँ बिदामा जुम्ला जाँदा कसैले सुनाएका थिए ।
“पारसे भेटियो, ड्राइभर भयाको छ । कर्णालीका छालैछालै मोटर हुइक्याउँदो छ ।”
तर पनि पारसेसँग मेरो भेट भएन । भेटुँला कुनै दिन । आफ्नो जीवन आफ्नै हातमा बोकेर खाल्डाखुल्डी परेको, भत्किएको कर्णाली राजमार्गमा सुन्दर जीवन खोज्दै होला ऊ । भेटुँला कुनै दिन र सङ्गै यात्रा गरुँला ।

कविताः बुलबुल | स्मीता तिवारी

भयङ्कर डरलाग्दो
मध्यरातमा,
दुनियाँको प्रपञ्चबाट
छक्क परी
एक सानी
“बुलबुल”;

हरेक दिन
बिस्तारै बिस्तारै
आफ्नो आफ्नो श्वास छोड्छिन्
चिच्याउनुको साटो,
विनाहतास
उड्छे
उनको असहनीय पीडा
कु कु कुको स्वरमा;

भन्छन्
दुनियाँ
जसलाई
“गीत”…।

चितवनमा सुनिए नृपेशका गजलहरु ।

मकवानपुर, २ मंसिर । युवा गजलकार नृपेश उप्रेतीको एकल गजल वाचन गरिएको छ । काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनको आयोजना र रत्ननगर वाङ्मय परिषद्को सहकार्यमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा गजलकार नृपेश उप्रेतीले गजल प्रस्तुत गरेका हुन् । रत्ननगर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा उप्रेतीका गजल सुन्न चितवन र नवलपरासीका स्रस्टाहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको शुरुआत उनले तरन्नुमबाट गरे : यो प्रेमपथ हो यसमा काँडा हुनेछ हरदम गन्तव्य पास लाग्छ, टाढा हुनेछ हरदम । साम्राज्य ढल्छ हरएक, एउटा समय सीमामा राजा जो हुन्छ मनको, राजा हुनेछ हरदम । उप्रेतीले कार्यक्रममा शृङ्गाररस र समसामयिक गजलहरू सुनाएका थिए । रत्ननगर, चितवन घर भएका उनी पछिल्लोसमय बेलायत बस्दै आएका छन् । विसं. २०७४ सालमा `मुसाफिर´ गजलसङ्ग्रह प्रकाशन गरेका उनका एक सय बढी गजल रेकर्ड पनि भएका छन् । केही नेपाली चलचित्रमा पनि उनका गीत समावेश छन् ।

मौसम थियो बदलियो गुनासो के गरूँ
हावाले निभ्दा दियो गुनासो के गरूँ ।
सम्बन्ध यस्तो बन्यो जस्तो पुरानो लुगा
टाल्दै गएँ च्यातियो गुनासो के गरूँ ।

करिव दुई घण्टाको बसाइँमा नृपेशले २० वटा गजल प्रस्तुत गरे । अधिकांश गजल तरन्नुममा प्रस्तुत गरेका उनले केही गजललाई वाचन गरे । उनका हरेक शेरलाई स्रोताले ध्यानपूर्वक सुनेका थिए भने गजलमा तालीको लहर पनि उत्तिकै आएको थियो । थोपा हुँ पानीको म आफ्नै सफर छँदैछ गंगा बनेर बग्ने मनमा रहर छँदैछ । हतियार खोज्नलाई पर्दैन भो तिमीले मार्ने भए मलाई कातिल नजर छँदैछ ।। प्रेमको प्राप्ति र समर्पणलाई सम्बोधन गरेर लेखेका गजल पनि उनले सुनाए । प्रणयभावका गजलले गजल सुन्न जम्मा भएको माहोल पनि मन्त्रमुग्ध बनेको थियो ।

कार्यक्रममा बोल्दै गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले नृपेश उप्रेती गजलका क्षेत्रमा स्थापित नाम भएको बताए । `नृप्रेशजीले राम्रा गजल लेख्नुहुन्छ, चितवनको गजल गतिविधिमा उहाँको योगदान प्रशंसनीय छ । सापकोटाले भने । रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले गजलकार उप्रेतीले गजल लेखेरै आफूलाई स्थापित गरेको बताए । कार्यक्रमलाई काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले सहजीकरण गरेका थिए ।