किशन पौडेल

कवि/गजलकार/मुक्तककार/नियात्राकार

बा
अभावका पहाडहरू बोकेर
मुगलानतिर भासिनु भो
दस नङ्ग्रा खिँयाएर
सन्ततिका सुन्दर भविष्य गोडमेल गर्दै
सुस्केरामा मिठो भाका भर्दै
सारङ्गीका तारहरू झैँ रेटिनु भो ।

बा
पौरखी हातहरू फैलाएर
दरिलो छाती बोकेर
फौजीमा भर्ती हुनु भो,
सन्ततिहरूकै भविष्य सुनिश्चित गर्न
अरूकै शत्रुहरूसँग लड्दै
बहादुर बन्नु भो ।

बा
एक हल गोरुहरू नारेर
पाटेबारीमा दिनभरि
गोरुसँगै नाचिरहनु भो,
सन्ततिका सपनाहरू बुन्दै
खेतका गराहरूमा
कोदालीसँग परेड खेलिरहनु भो ।

दिनभरि बाउसे गरेर थाक्नु भएको
बाको निधारमा मैले
कहिल्यै थकान देखिन ।

काँधमा जिम्मेवारी
र कर्तव्यको भारी बोकेर
सन्ततिका रहरहरूलाई गोडमेल गर्दै
अभावहरूसँग हाँस्दै जुधिरहनु भो ।

खै पीडाहरू पनि
कहाँ लुकाउनु हुन्छ बा
कहिल्यै बाँड्ने कोसिस गर्नुभएन
गुजमुज्ज परेका पन्नाजस्तै
चाउरी परेका बाका अनुहारमा
पीडाका वक्र रेखाहरू सलबलाउँछन् ।
खोपिल्टा परेका गालाहरू
दुःखका गहिरो सागर जस्तै लाग्छ

ती स्वाभिमानी पौरखी हात
त्यो बहादुर छाती
आदर्श र सङ्घर्षको प्रतीक बनेर
पहाड झैँ अटल भएर उभिएको छ
मेरो मानसपटलमा
मेरो स्मृतिमा !

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन