- नवसाहित्य
नवसाहित्य डटकम
संवाददाता
पाेखरा १८, मङ्गलबार
शैक्षिक तथा सम्पूर्ण विद्यालयकाे उन्नयनमा क्रियाशील हुने पवित्र लक्ष्यका साथ स्काेप कास्कीले हरेक वर्ष गर्दै आएकाे सामुहिक सांस्कृतिक नृत्य प्रतियोगिता यस वर्ष पनि भव्य रुपमा सम्पन्न गरेकाे छ । कक्षा एकदेखि पाँचसम्ममा ‘जुनियर तह’ र कक्षा छदेखि दशसम्ममा ‘सिनियर तह’ मा छुट्टाछुट्टै मुल्याङ्कन गरी भएको उक्त कार्यक्रम नेपाली कला र संस्कृतिकाे प्रतिबिम्ब बनेकाे देखिन्थ्याे । ज्ञानसागर एकेडेमी कक्षा ११ की छात्रा लक्ष्मी सुनारबाट स्वागत नृत्य प्रस्तुत भएको थियो ।
मन्तव्यका क्रममा प्रमुख अतिथि प्राज्ञ तथा वरिष्ठ लाेक गायक प्रजापति पराजुलीले नयाँ पुस्तालाई हाम्रो संस्कृति र हाम्रो माैलिकतासँग सन्निकट बनाउन कार्यक्रम निकै फलदायी भएको बताउनुभयो ।
सामुहिक सांस्कृतिक नृत्य प्रतियाेगिताकाे सिनियरतर्फ ज्ञानगंगा स्कुल, ज्ञानसागर एकेडेमी, शान्ति निकेतन स्कुल र सरस्वती सेकेण्डरी बाेर्डिङ स्कुल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल भए भने जुनियरतर्फ पाेखरा स्पाइरल ग्यालेक्सी बाेर्डिङ स्कुल प्रथम, शान्तिनिकेतन स्कुल र सनफ्लावर बाेर्डिङ स्कुल द्वितीय, ज्ञानुबाबा सेकेण्डरी बाेर्डिङ स्कुल तृतीय र ज्ञानगंगा स्कुल सान्त्वना हुन सफल भए ।
उक्त प्रतियोगिताकाे मुल्यांकन समितिमा बुद्धिबहादुर गुरुङ (गाैरी), रविन गुरुङ र प्रिती गुरुङ रहनु भएको थियो ।
कार्यक्रममा एसइइ परीक्षामा चार जिपीएसहित नेपाल प्रथम हुने स्काेपका विद्यार्थीलाई कदर पत्र, दाेसल्ला र नगदले कदर तथा सम्मान गरिएकाे थियाे । सम्मानित विद्यार्थी र विद्यालयहरुमा शान्ति निकेतनबाट अदिती पराजुली र डिज्नील्याण्ड एकेडेमीबाट सृष्टी भण्डारी, सृष्टिना पाैडेल र स्मृति लम्साल रहेका थिए । यसैगरी उक्त अवसरमा सरस्वती सेकेण्डरी बाेर्डिङ स्कुलकी इमा थापा मगरले थाइल्याण्डमा सम्पन्न विश्व च्याम्पियनसिप हप्किदाे प्रतियोगितामा तेश्राे हुन सफल भएकोमा कदर एवम् सम्मान गरिएको थियाे । यसरी सफल नतिजा प्राप्त गर्ने शान्ति निकेतन स्कुल, डिज्नील्याण्ड एकेडेमी र सरस्वती बाेर्डिङ स्कुललाई समेत सम्मान गरिएको थियाे ।
स्काेप कास्कीका अध्यक्ष डा. महेश्वर पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा बहादुर थापाले स्वागत गर्नुभयो भने कार्यक्रमलाई सहजीकरण सचिव दीपक शाह एवम् कार्यक्रम संयाेजक छन्दमणि त्रिपाठीले गर्नु भएको हो ।