Home Blog Page 21

फूल /-आइयुसी बजगाई

श्रावण ७, सोमबार
नवसाहित्य अनलाइन ।

मैले भर्खरै पढेको पुस्तकको नाम फूल हो। यसका लेखक पुष्पलता आचार्य हुन्। यो बाल काव्यको पुस्तक हो। यस पुस्तकलाई पुष्पलता प्रोडक्सन प्रालीले प्रकाशनमा ल्याएको हो। यो विक्रम सम्वत् २०६३ पुसमा छापिएको छ। यस पुस्तकमा २८ वटा पाना रहेका छन्। यसको आईएसबिएन नम्बर ९७८ ९९९४६ २ २४२ ९ रहेको छ यस पुस्तकको मूल्य १९ रहेको छ ।

मलाई यस पुस्तक पढिसकेपछि पुस्तकका लेखकले लेख्ने तरिका राम्रो लाग्यो। लेखकले अहिलेसम्म सागर सन्ध्या, समयको हुरी, अञ्जुली, रित्तो वर्तमान, गाउँको माया,आमाको काख लगायत का ३३ वटा कृति लेखिसकेका छन्। यो पुस्तक हाम्रो वातावरण, समाज वा हाम्रो वरिपरि रहेका एक सुन्दर सजीव वस्तु फूलको बारेमा लेखिएको छ। यो पुस्तकमा तीनवटा शीर्षकमा कविताहरू लेखिएका छन् । पहिलो शीर्षक शुभकामना, दोस्रो शीर्षक फूलको सौन्दर्य, र आफ्नै काव्य रहेका छन् यसको आकार आयताकार रहेको छ यस पुस्तकको गातामा बालबालिकाहरू र फूलको बगैँचा रहेको छ। मलाई यो पुस्तक पढ्न आधी घण्टा जस्तो लाग्यो। यो पुस्तकमा रहेका भाषा र शब्दहरू सजिलै पढ्न सकिने र बुझिने खालका छन् पुस्तकले हाम्रो वरिपरि रहेका प्रकृतिको महत्वलाई बुझाउन खोजेको छ ।

हामीले हरेक प्राकृतिक वस्तुहरूलाई जोगाउनुपर्छ फुल मनपराउनेहरूले फूलका अन्य पक्षहरूलाई पनि मन पराउन सक्नुपर्छ। अनि मात्रै मान्छे प्रकृति प्रेमी बन्छ भन्न खोजिएको छ। फुल जो कोहीलाई पनि मनपर्छ घरमा सजाएर राख्नहोस्। कसैलाई उपहार दिनहोस् अथवा कुनै विशेष कार्यक्रमहरूलाई रङ्गीचङ्गी र सजावट बनाउनका लागि होस् फूलको उत्ति नै महत्व रहेको हुन्छ त्यसैले प्राकृतिक वस्तु फुललाई मात्र माया गर्ने होइन कि प्रकृतिले दिएका हरेक वस्तुहरूलाई माया गर्नुपर्छ भनेर फूलमार्फत् बुझाउन खोजिएको छ।

आइयुसी बजगाई
कक्षा ७
(बालजागृति इङ्लिस बोर्डिङ स्कुल, हेटौँडा-२)

चन्द्रमा र मुनिया / -विशेषता बिडारी

श्रावण ७, सोमबार
नवसाहित्य अनलाइन ।
मैले हालसालै पढेको एक पुस्तकको नाम हो- चन्द्रमा र मुनिया । यो पुस्तक कवि हरि खनालद्वारा लिखित यस पुस्तक भुँडी पुराण प्रकाशनबाट २०७१ सालमा प्रकाशन भएको रहेछ । साथै यस पुस्तकको आइसबिएन ५६४ ३३ ९८ ३४ रहेछ। पुस्तकमा ७२ वटा पानाहरू रहेका छन् भने ७० रुपैयाँमा बजारमा किन्न पाइन्छ।

कवि हरि खनालले लेखेको ‘मुनिया र चन्द्रमा’ भन्ने शीर्षकको पुस्तक निकै रमाइलो र रोचक प्रसङ्ग रहेको छ। यो जति पढ्यो त्यति पढ्न मनलाग्दो रहेको छ । खनालले अहिलेसम्म प्रकाशन गरिसक्नुभएको कृतिहरुमध्ये सुरुवालको फुल, चिमुसी, अकबर र बीरबलको कथा, झरनाको गीत, भूतको कपर दि, गीत गाउने सन्दुक, काफल पाक्यो लगायतका अन्य थुप्रै कृतिहरू लेखिसक्नुभएको छ। त्यसमध्ये यो उहाँको एघारौँ कृति रहेछ।

विधाको हिसाबले बाल नाटक रहेको यस पुस्तक चन्द्रमा र मुनिया हजुरआमा र शिक्षा गरेर तीन शीर्षक भित्र समेटिएको छ। हजुरआमा भन्ने शीर्षकमा एक बालिकाले आफ्नै हजुरआमाको बारेमा जिज्ञासा राख्दा आमाबुबाले केही नभन्दा उनले हजुरआमाको बारेमा खोजी गर्न थालिन्। विभिन्न ठाउँ चहार्दै गर्दा हजुरआमालाई वृद्धाश्रममा लगेर राखेको थाहा पाएपछि आमाबुबालाई सम्झाई बुझाई गरेर हजुरआमालाई घर लिएर आउँछिन्। अर्को विषय चन्द्रमा र मुनियामा मुनियाले चन्द्रमाको आकारको बारेमा प्रश्न गर्दै गर्दा चन्द्रमाको बारेमा थाहा पाउछिन् र मुनिया र चन्द्रमा राम्रा साथी पनि बनेका हुन्छन्। अन्तिममा बालबालिकाहरूलाई श्रममा नपठाउन र शिक्षामा अनिवार्य गराउनुपर्छ भन्न खोजेको छ। यो पुस्तक झट्ट हेर्दा सानो र चार कुनै आकारको छ यसको गातामा चन्द्रमा र एक नानी चन्द्रमालाई हेर्दै रातमा अघि बढेको चित्र रहेको छ। ७२ पाना सङ्ख्या भएको यो किताब पढ्न मलाई दुई घण्टा लाग्यो ।

कवि हरि खनालले यस पुस्तकमा सजिला भाषा र शब्द प्रयोग गरेको हुँदा यो पढ्न र बुझ्नलाई सजिलो रहेको छ। यस पुस्तकले हामीलाई यस्तै कृति रचना गर्न व्यवहारिक ज्ञान दिन र रचनात्मक बनाउन मद्दत गर्छ। अन्तिममा भन्नुपर्दा विभिन्न कुराले गरेर मलाई यो पुस्तक मनपरेको हो। मलाई यो पुस्तकमा सच्याउनुपर्ने त्यस्तो कमजोरी केही छ जस्तो लाग्दैन। म यो पुस्तक म जस्तै विद्यार्थी साथीहरुलाई पढ्नका लागि सुझाव दिन्छु।

-विशेषता बिडारी
कक्षा : ७
(बालजागृति इङ्लिस बोर्डिङ स्कुल, हेटौँडा-२)

मिलन समिर एकल साँझ सम्पन्न ।

६, साउन, मकवानपुर नवसाहित्य, अनलाइल ।
स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक समीर साझ- २०८१ ( मिलन समीरको तेस्रो एकल मुक्तक वाचन, ” मिलनमन्त्र ” विमोचन तथा विमर्श कार्यक्रम ) सम्पन्न भएको छ ।

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा आज शनिबार साझ वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा समीर साझ- २०८१ कार्यक्रम सम्पन्न गरिएको थियोे ।

समीर साझ- २०८१ कार्यक्रममा मिलन समीरको तेसोपटक एकल मुक्तक वाचनसङ्गै समीरको नवीनतम मुक्तक काव्य कृति ” मिलनमन्त्र ” ( मायालु मुक्तकहरु ) को विमोचन र विमर्शसमेत गरिएको थियोे ।
वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीको अभिभावकत्वमा अनौपचारिक रूपमा आयोजना गरिएको समीर साझ- २०८१ कार्यक्रममा अग्रज समालोचक व्यक्तित्व यमप्रकाश खनालद्वारा मुक्तक काव्यकृतिमाथि केन्द्रित रहेर समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे ।

कार्यक्रमको शुभारम्भ युवा मुक्तककार मिलन समीरद्वारा आफ्ना उत्कृष्ट आधा दर्जन मुक्तक वाचनसङ्गै भएको थियोे । त्यसपश्चात ” मिलनमन्त्र ” को विमोचन देवीप्रसाद वनवासी, यमप्रकाश खनाल र मिलन समीरद्वारा गरिएको थियोे ।
मुक्तककार मिलन समीरद्वारा तीन चरणमा आफ्ना उत्कृष्ट मुक्तक रचनाहरु वाचन गरिएको थियोे ।
कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक सहयात्री युवाकवि वसन्त खनालद्वारा सहजीकरण गरिएको थियोे ।

कार्यक्रममा स्याङ्जाली कवि व्यक्तित्वहरु दिलीप तिवारी फकिर, अनन्त अर्याल, पारिश्वर न्यौपाने, खगेन्द्रजंग थापा, डोलराज डुम्रे विकल्प, अग्निकुमार रेग्मी पल्लव, विष्णु पङ्गेनी पाण्डे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सीताराम अधिकारी, चण्डिकाप्रसाद भट्टराई, स्मारिका अर्याल, देवराज गैह्रे, सिर्जना रेग्मी उपाध्याय प्रकृति, ढालबहादुर के.सी., अरुण अर्याल, बोधराज न्यौपाने, लक्ष्मीप्रसाद रेग्मी, राजकुमार उपाध्याय, मालारानी थापा क्षेत्री, नारायणप्रसाद कोइराला, विदुर कोइराला, कुशल काफ्ले, बिना शर्मा, नवराज रेग्मी, हिमलाल पङ्गेनी, युक्तबहादुर बोगटी, सीता गौडेल गैह्रे, स्वप्निल समीर, स्वर्णिम समीर, सिजल अर्याल, सृष्टि कोइराला, मातृका अर्याल, श्यामप्रसाद ढुंगाना, नवराज भुसाल, दीपक लम्साल, मन्जु के.सी., गोपाल जि.टी., विनोद खनाल, रुपक खनाल, भुपेन्द्र कोइराला, सरस्वती अर्याल, रामभक्त अधिकारी, शम्भु अर्याल आदिद्वारा आफ्ना उत्कृष्ट मुक्तक, गजल र कविता रचनाहरु वाचन गरिएको थियो

भुटनदेवी माविद्वारा योजनाबद्व शैक्षिकको कार्यशाला आयोजना

६ साउन मकवानपुर नवसाहित्य, अनलाइन

जिल्ला कै शैक्षिक क्षेत्रमा अगुवा र उत्कृष्ट सामुदायिक विध्यालय भुटनदेवी मा. बि. ले एक दिने वार्षिक योजना तथा बजेट निर्माण कार्यशाला-२०८१ सञ्चालन गरेकाे छ । २०८१ सालकाे एसईई परीक्षामा गुणस्तरमा मकवानपुर जिल्ला कै प्रथम स्थान हासिल गर्न सफल विध्यालयले आगामी २०८१/०८२ वर्ष अझ व्यवस्थित शैक्षिक याेजनासहित अगाडि बढ्न कार्यशाला आयाेजना गरिएकाे हाे ।
कार्यशालामा भाैतिक पूर्वाधारकाे विकास, शैक्षिक विकास, विध्यार्थीकाे समग्र विकासकाे लागि अतिरिक्त क्रियाकलाप र श्राेतकाे खाेजी, परिचालन र पारदर्शीता ४ वटा विषयमा समूह बनाई छलफल गरिएकाे थियाे । छलफल पश्चचात भाैतिक पूर्वाधार विकासबारे शिक्षक सरस्वती अधिकारी, शैक्षिक विकास बारे शिक्षक सूर्य घिमिरे, अतिरिक्त क्रियाकलापबारे शिक्षक सुमन श्रेष्ठ र श्राेतकाे खाेजी, परिचालन र पारदर्शीता बारे विध्यालयका  बालकृष्ण दाहालले समूहका सुझावहरू प्रस्तुत गर्नु भएकाे विध्यालयका सप्रअ भरत पाेखरेलले जानकारी दिनुभयाे । जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक र कर्मचारी सहभागीता रहेकाे कार्यशालाकाे उदेश्यबारे विध्यालयका प्रधानाध्यापक माधव दाहालले प्रष्ट पार्नु भएकाे थियाे । कार्यशालामा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले याेजनाबद्व र व्यवस्थित रूपमा शैक्षिक विकास र उन्नयनकाे लागि अगाडि बढ्न कार्यशाला आयाेजना गरिएकाे बताउनुभयाे । हेटाैँडा-४ काे वडा अध्यक्ष समेत रहेका सिग्देलले विकासकाे सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षा भएकाेले सामुदायिक र संस्थागत विध्यलय बीचकाे सहकार्य र प्रतिस्पर्धाद्वारा शिक्षामा गुणस्तर सुधार गर्न वडा कार्यालय लागिपरेकाे बताउनु भयाे ।
१२ कक्षासम्म अध्ययन हुने यस विध्यालयमा करिव २३ सय विध्यार्थी अध्ययनरत छन् भने  सिभिल ईन्जीनियरिङ्ग, व्यवस्थापन, विज्ञान विषय र सिटिभिटी तर्फ ३ वर्षे डिप्लाेमा ईन्जिनियरिङ्ग विध्यालयले अध्यापन गराउँदै आएकाे छ । कार्यशालामा समूहगत छलफलबाट निकालिएकाे निष्कर्षलाई विध्यालयकाे आगामी कार्ययाेजनाकाे रूपमा अगाडि बढाउन प्रधानाध्यापक माधव दाहालकाे संयाेजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएकाे सहप्रअ भरत पाेखरेलले जानकारी दिनुभयाे ।

निमेष निखिललाई गणेशलाल स्मृति सम्मान, कविता प्रतियोगितामा आरती, यात्री, पूर्णिमा र अनुशुया पुरस्कृत

श्रावण ५, शनिबार
नवसाहित्य अनलाइन ।
निमेष निखिललाई गणेशलाल स्मृति साहित्य पुरस्कार
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ‘गणेशलाल स्मृति साहित्य पुरस्कार २०८१’ बाट सम्मानित हुनु भएको छ । लोककवि गणेशलाल श्रेष्ठको ११३औँ जन्मजयन्तिको अवसरमा नेपाल भाषा खलः मकवानपुरमार्फत् उहाँलाई सो सम्मान गरिएको हो । पुरस्कार संस्थापक केशवलाल श्रेष्ठद्वारा स्थापित सो पुरस्कार यसअघि स्व. तुल्सी थापालाई प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वका बारेमा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले चर्चा गर्नु भएको हो ।

कविता प्रतियोगितामा ४ कविहरू पुरस्कृत
नेपाल भाषा खलः मकवानपुरले आयोजना गरेको खुला कविता प्रतियोगिता २०८१ मा म्याग्दीकी आरती आचार्य प्रथम हुनु भएको छ । सिन्धुलीका बाबुराम श्रेष्ठ यात्री द्वितीय र अर्घाखाँचीकी पूर्णिमा गिरी तृतीय हुनु भएको हो । यस्तै प्रतियोगितामा मकवानपुरकी अनुशुया खनाललाई सान्त्वना स्थापन प्राप्त भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः १५ हजार, १० हजार र ५ हजार रहेको थियो भने सान्त्वना पुरस्कार राशि ३ हजार रहेको थियो ।
कूल प्राप्त भएको ५५ कवितामध्ये उत्कृष्ट २० कविताहरू यसअघि नै प्रकाशन गराइ वाचनका लागि सर्जकहरूलाई निम्ता गरिएको थियो भने वाचनमा समेत अङ्क प्रदान गरिएको थियो । प्रमुख निर्णायक अनिता न्यौपाने तथा निर्णायकद्वय यश लामा र पुरूषोत्तम आचार्य रहेको निर्णायक मण्डलले कूल १ सय ५० अङ्कमा गरेको मूल्याङ्कनमा न्यौपानेले प्रतियोगीहरूको मूल्याङ्कनका क्रममा भाव, कला, वाचनलगायतका विधामार्फत् अङ्कन गरिएको बताउनुभयो । वाचनका लागि १६ स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

यसअघि मूल्याङ्कन समितिले छनोट गरेका २० कविताका सर्जकहरूमध्ये मकवानपुरका ९, सिन्धुली र चितवनका २, म्याग्दी, बैतडी, कास्की, अर्घाखाँची, काभ्रेपलाञ्चोक र धादिङका १/१ (ठेगाना उल्लेख नभएका १) रहेका थिए । 

प्रतियोगितामा प्रथम स्थान प्राप्त म्याग्दीकी आरती आचार्य

प्रतियोगितामा द्वितीय स्थान प्राप्त सिन्धुलीका बाबुराम श्रेष्ठ यात्री

प्रतियोगितामा तृतीय स्थान प्राप्त अर्घाखाँचीकी पुर्णिमा गिरी

प्रतियोगितामा सान्त्वना स्थान प्राप्त मकवानपुरकी अनुशुया खनाल

बालसाहित्यकार अनुषा सम्मानित

नवोदय शिशु सदनकी बाल साहित्यकार अनुषा उप्रेतीलाई जिल्लाको बाल साहित्य क्षेत्रमा पुर्‍याउनु भएको कदरस्वरूप सम्मानपत्रसहित सम्मानित हुनु भएको छ ।

हेटौँडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयका अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता तथा महेश्वर श्रेष्ठको सभाध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षाविद् देव श्रेष्ठले गणेशलाल मकवानपुरकै पहिलो स्रष्टा भ‌एको, गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्ने, नेपाली, तामाङ र नेपाल भाषा गरी तीनै भाषामा रचनाहरू लेख्ने स्रष्टाका रूपमा उहाँलाई चिनिएको बताउनुभयो ।

हेटौँडामा नेवारी भाषा बोल्ने नेवारहरूकै सङ्ख्या घट्दोक्रम रहेको अवस्थामा नेपाल भाषामा कविता प्रतियोगिता आयोजना गर्न नसकिएको र आगामी वर्ष यस्ता कार्यक्रमलाई मकवानपुरका अन्य साहित्यिक संस्थासँग समन्वय गरी अझ बृहत गर्नमा लागिपर्ने प्रमुख अतिथि विष्णुगोपाल महर्जनले बताउनुभयो ।

विजयीहरूका साथै सबै प्रतियोगीहरूलाई प्रमाणपत्र तथा जिल्लाबाहिरका सर्जकहरूलाई यातायात खर्च उपलब्ध गराइएको आयोजकले जानकारी गराएको छ । होटल लियो इनमा सञ्चालित कार्यक्रमलाई साहित्य सर्जक पुण्यशिला श्रेष्ठले सहजीकरण गर्नुभ‌एको हो ।

तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ विमोचित

हेटौँडाका पुस्तकले राष्ट्रियस्तरमा स्थान पाउन केही सुधार आवश्यक छ: घनश्याम घिमिरे

श्रावण ५, शनिबार
नवसाहित्य अनलाइन । साहित्य सर्जक तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ एक कार्यक्रमबिच विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरको २१५ औँ नियमित गजल यात्राका क्रममा घिमिरेको गजल सङ्ग्रह विमोचन गरिएको हो ।

साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालको गजलबाट सुरू भ‌एको पहिलो सत्र अन्तर्गतको गजल वाचन सत्रमा राम कार्की, मिथिला अधिकारी, साहित्य सङ्गमा अध्यक्ष डीबी बर्तौला र गजल मञ्च मकवानुरका पूर्व अध्यक्ष मुस्कान तिमल्सिनाले आ-आफ्ना गजलहरू वाचन गर्नुभयो ।

दोस्रो सत्रमा पुस्तक विमोचनका क्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, समीक्षकलगायत उपस्थित रहनुभयो । शुभकामना मन्तव्यका क्रममा शिक्षाविद् ऋषिराम पोखरेलले स्रष्टा परिचय दिँदै विगतमा साहित्य सर्जकहरू तुल्सी घिमिरे, खेम बानियाँ, साम्ब ढकाल, गोविन्द खड्काहरूको साथसाथ कविता लेख्ने गरेको स्मरण गर्दै व्यङ्ग्यसर्जक अर्जुन पराजुलीको रचनाजस्तो लेखकको कलमले समाजकै विषयलाई टिप्नुपर्ने बताउनुभयो ।

पुस्तकमाथि आफ्नो धारणा तथा शुभकामना मन्तव्यका क्रममा गजल मञ्चका निवर्तमान अध्यक्ष देवराज तिवारीले गजल मञ्च मकवानपुरले प्रकाशन गरेको यस पुस्तकमा राष्ट्रप्रेमको चिन्तन र जीवनका आशावादी दृष्टीकोणले युक्त भ‌एको बताउनुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले गजल मञ्च मकवानपुरको स्थापनापछि मकवानपुरमा गजल लेखनमा अझै बढी सक्रियता बढेको, नवपुस्तालाई प्रशिक्षण, प्रतियोगिता गराउँदै आएको र भविष्यमा समेत नवसर्जकमाथि यस्ता नतिजाउन्मुख कार्यमा सक्रिय रहिरहनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्जित श्रेष्ठ, स्वस्तिका दाहाल र हरि पौड्यालले विमोचित पुस्तकभित्रका एक एक गजल वाचन/गायन गर्नुभयो भने समीक्षक घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो ।

यस पुस्तकका सम्बन्धमा समीक्षक घिमिरेले भन्नुभयो- “पाठकको हिसाबले पढ्नुभन्दा गजलको शक्ति गेयात्मकसँग हुनाले अन्तरसाङ्गीतिक चिन्तन र चेतनाले मजबूत भयो भने त्यो गजल सशक्त हुनसक्छ । यस पुस्तकका गजलमा सर्जकले जीवनमा अनुभूत गरेको समाज, जीवन र सङ्घर्षको सरल शब्दमा लेखन रहेको छ । सरल अभिव्यक्तीमा माटोलाई माया गर्ने, गाउँठाउँ र आफ्नोपनलाई निरन्तरता दिन सबैसँग राजनीति, प्रेम, व्यङ्ग्य, प्रकृतिको लालित्यको रूपमा उहाँका गजलहरू सिर्जना भ‌एका छन् । हामीले जानेर नजानेर आफ्नो देश, समाज र मानव सभ्यताप्रति अपमान गरिरहेका छौँ भने त्यसप्रति खबरदारी गर्नेगरी उहाँका गजलका शेरहरू बनेर आएका छन् । यही नै उहाँका गजलका भावगत र विचारगत प्रष्टोक्ति हो ।” साथै उहाँले साहित्यका विभिन्न विधाहरूमध्ये संक्षिप्त विधामा लेख्नमा उत्तिकै लगाव आवश्यक पर्ने, भावनाको असीमित स्वरूपलाई कलात्मक बनाएर साहित्यमा प्रस्तुत गर्नु चानचुने कुरा नभएको र गजल लेखनमा प्राविधिक पक्ष तथा साहित्यक वजन राख्नेगरी विचार/भाव पक्षको संयोजनबारे सर्जक सचेत रहनुपर्ने आफू पाठक भएको हिसाबले बुझेको बताउनुभयो ।

समीक्षक घिमिरेले फरक विचारका सन्दर्भमा उहाँले बहस चिर्नका लागि अनुरोध गर्दै भन्नुभयो “हेटौँडामा महिनैपिच्छेजस्तो पुस्तकहरू बजारमा आइराख्दा सम्पादनमा ध्यान नदिँदा यसले राष्ट्रियस्तरमा ठाउँ टेक्न सकेको छैन । सम्पादकीय कमजोरी पुस्तकमा देखियो भने पुस्तक आउँछन्, जान्छन् जसमा प्रकाशक, सम्पादकको कमजोरी देखिन्छ तथापि लेखकमा त्यसको दोष थोपर्न भने पाइँदैन । नेपाली साहित्य ठाउँविशेषको नभइ नेपालभरीकै हुने हुनाले सम्पादनमा निर्मम हुनुका साथै विषयवस्तु राम्रो हुँदाहुँदै आजकाल पुस्तक डिजाइनमा समेत फरकपन ल्याउन जरूरी भइसकेको छ । लेखनमा खासै ध्यान नदिँदा भएको शब्दचयनमा पदयोग र पदवियोगको दृष्टिकोणले कमजोरीलाई सुधार्न सम्पादक समूहको दायित्व सबैभन्दा महत्वपूर्ण रहेको छ । पुस्तक लेखेरै जीवनयापन गर्ने कुरामा निजी प्रकाशन गृहहरूको महत्वपूर्ण भूमिका रहेको यस समयमा त्यस परिवर्तनलाई हेटौँडाले समेत पछ्याउन आवश्यक भइसकेको छ ।”

लेखक तुलसी घिमिरेले आफ्नो ७० वर्षे उमेरमा ७० वटा गजलको सङ्ग्रह प्रकाशन गराई मनमा रातदिन खेलिरहेका कुराहरू सार्वजनिक गरिदिएर मन हलुको बनाइदिएको बताउनुभयो । कार्यक्रममा लेखकले पुस्तककै १/१ गजल वाचन र गायन गर्नुभयो ।

मञ्चका अध्यक्ष केशव समर्पणले मञ्च स्थापनादेखि लेखनका सँगसँगै कार्यशालामार्फत् साहित्यमा नयाँ पुस्ता उत्पादनमा समेत गजल मञ्च सक्रिय रहीरहेको र अग्रज स्रष्टा घिमिरेको गजल सङ्ग्रह प्रकाशन गर्दा गजल मञ्च मकवानपुरको स्तरमा वृद्धि भएको बताउँदै घिमिरेलाई कृतिगत सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

मञ्चका उपाध्यक्ष सञ्जीत श्रेष्ठले स्वागत गर्नुभ‌एको कार्यक्रममा शिक्षाविद् देव श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, शिक्षाविद् ऋषिराम पोखरेल तथा साहित्य सर्जक देवराज खरेल विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, स्रष्टाहरू उमा मैनाली, सबिता तिमल्सिना, स्वस्तिका दाहाल, जनार्दन खनाल, डा. जगदीशचन्द्र बराललगायतको उपस्थिति रहेको थियो ।

७० वर्षको उमेरमा ७० गजल सङ्ग्रहित पुस्तकका लेखक घिमिरे होम्लिन बर्मामा जन्मिनु भएको हो भने यसअघि उहाँका “फूलका कुरा जूनका कुरा” गीत सङ्ग्रह (२०७१) र “माटोको मोह” कविता सङ्ग्रह (२०८०) प्रकाशनमा रहेका छन् । उहाँ साहित्य सङ्गम मकवानपुरको संस्थापकमध्ये एक हुनुहुन्छ भने हाल सोही संस्थाका सल्लाहकार समेत हुनुहुन्छ ।

साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित पुस्तक विमोचन कार्यक्रमलाई मञ्चका सचिव हरि पौड्यालले सहजीकरण गर्नुभ‌एको हो ।

मुक्तक / -आश्रिका न्यौपाने

श्रावण ३, बिहीबार
नवसाहित्य अनलाइन ।

तिमी छोरी हौ भन्दै बार बन्देज नलगाइदेउ न आमा
अवसर पाए म पनि त गर्न सक्छु छोराको झैँ काम
छोराछोरी बराबरी हेर्ने रहोस् तिम्रो दृष्टि
आफ्नै श्रमले राख्न सक्छु मेरो आफ्नो सान ।

धेरै श्रम गर्नुपर्छ यी दुई हातले
हात हात मिलाई काम गरौं साथले
भाग्यमा होइन हामी श्रममा भर परौँ
सुतीसुती खानलाई नि दिन्न माथले ।

आश्रिका न्यौपाने
कक्षा आठ
बालजागृति इङ्लिस सेकेण्डरी स्कुल

कविता: विद्यालय / -समृद्ध पौडेल

श्रावण ३, बिहीबार
नवसाहित्य अनलाइन ।

ज्ञान सिक्ने घर पछिको हुन्छ अर्को घर
राम्रा कुरा सिक्छौँ हामी परि शिक्षकको भर
अन्जान नानीहरूलाई सिकाउने ज्ञान
शिक्षक नै हो देवता गर सम्मान

अज्ञानताको बादललाई छर्लङ्ग हटाई
ज्ञान सिक्छौँ विद्यालयमा हामी रमाई रमाई
इज्जत गर्नुपर्छ हामीले शिक्षक अनि विद्यालयको
बुबा आमा जस्तै सम्मान गर्नुपर्छ गुरु भगवानको।

समृद्ध पौडेल
कक्षा चार
बालजागृति इङ्लिस सेकेण्डरी स्कुल

 

कविता: भानु / -सुहाना ढुङ्गाना

श्रावण ३, बिहीबार
नवसाहित्य अनलाइन ।

यहि देशमा जन्मिए कवि भानुभक्त
नेपाली साहित्यमा भए सशक्त
साहित्यको जगतमा उदाएका रवि
अद्वितीय रचनाहरूले भए आदिकवि

पिता थिए धनञ्जय माता धर्मावती
साहित्यको भण्डारमा कृति थपे कति
कृति आफ्नो रचना भनि प्रेरक बन्यो घाँसी
समाजको व्यङ्ग्य लेख्थे उनी हाँसी हाँसी

आफ्नो नाम कमाउन नेपाली हुँ भन्न
मलाई पनि रहर लाग्यो भानु भक्त बन्न
आफूलाई चिनाउने काम गरौं एउटा
मान्छे माथि उठेर बन्न सक्छ देउता।।

सुहाना ढुङ्गाना
कक्षा ५
बालजागृति इङ्लिस सेकेण्डरी स्कुल

युवावर्ष मोती पुरस्कारका लागि आवेदन आह्वान

श्रावण ३, बिहीबार
नवसाहित्य अनलाइन । राष्ट्रिय युवा सेवा कोषद्वारा युवावर्ष मोती पुरस्कारका लागि आवेदन आह्वान गरिएको छ । हरेक वर्ष प्रदान गरिँदै आएको यस पुरस्कारका लागि १६ वर्ष पूरा भइ ४० वर्ष ननाघेका इच्छुक साहित्यकारहरूबाट आवेदन हुनेगरी सूचनामार्फत् आह्वान गरिएको हो ।

आवेदनका लागि संस्थाले देहायका ५ वटा योग्यताहरू तोकेको छ ।
१) नेपाली साहित्य सिर्जनामा संलग्न रही गहनता, मौलिकता, भाषा तथा शैलीमा नविनता भएका स्तरीय कृतिहरू प्रकाशन गरेको ।
२) नेपाली भाषा साहित्यको क्षेत्रमा खोजपूर्ण अनुसन्धान गरेको ।
३) साहित्यकारहरूको सम्मान गर्ने कार्यमा संलग्न रहँदै आएको ।
४) नेपाली भाषा साहित्यको श्रीवृद्धिका साथै संस्थागत समुन्नतिमा अहम् भूमिका खेलेको ।
५) साहित्यिक श्रृङ्खलाहरूको आयोजनामा स्रष्टाहरूका निमित्त सक्रिय भूमिका खेली मोतीरामीय प्रवृत्तिको अनुसरण गरेको ।

यस्तै पुरस्कारका लागि आवेदन भर्दा देहायका कागजातहरू पेश गर्नुपर्ने आयोजकले जानकारी दिएको छः
१) आवेदनको साथै (१) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र (२) आफूलाई चिन्ने २ जना व्यक्तिको नाम र सम्पर्क नम्बर दिनुपर्नेछ ।
२) पुरस्कारको लागि “म किन योग्य छु” भनेर बढीमा २ पेजको “आफ्नो बारेमा आफैँले तयार गरेको” लेख पेश गर्नुपर्नेछ ।
३) व्यक्तिगत विवरण (CV) बढीमा ५ पेज ।
४) प्रकाशित कृतिहरू एक/एक प्रति (फिर्ता नहुने) पेश गर्नुपर्नेछ ।
५) नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ ।

२०८१ साउन ३२ गते बेलुकी ५ बजेसम्म आवेदन भरिसक्नुपर्ने सदस्य सचिव डा. विष्णुबहादुर भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । २०८० मा सो पुरस्कार बारा जिल्लाका युवा साहित्यकार प्रमोद शर्मा दहाल (प्रमोद सारंग) लाई प्रदान गरिएको सो पुरस्कारको राशि ४० हजार रुपैयाँ रहेको छ ।

यस कोषले नारायणगोपाल युवा सङ्गीत पुरस्कार, अरनिको युवा कला पुरस्कार, शारीरिक अपाङ्गता भएका गरीब तथा प्रतिभावान विद्यार्थीहरूलाई एमबिबिएस अध्ययनका लागि प्रोत्साहनस्वरूप छात्रवृत्ती पुरस्कार आदि प्रदान गर्दै आइरहेको छ ।