Home Blog Page 34

कविता : जनघोष/युद्धप्रसाद मिश्र

हाम्ले आज अमानवी दमन यो बिर्सेर के पाउने
बाँचेको छ परम्परा रगतको सट्टा रगत नै लिने
खाई घातक मार दुर्दमनका पीडा सहन्नौं अब
खप्नुसम्म खप्यौं दुरापद ठूला हेरी रहन्नौं अब

आगो आज उठी सक्यो झुपडीमा बन्दै गई उन्मना
हाम्रो के अब झुक्न सक्छ र यहाँ विज्ञानवादी फना
उठ्दैछन् हँसिया हलो र खुकुरी खुर्पी खुँडा बञ्चरा
उठ्दैछन् नवचेतना सजग भै आत्मा भएका दरा

पथ्र्यो के जनमुक्तिको विजय श्री अध्यात्मदेखि तल
टथ्र्यो के बदला नलिकन त्यसै हाम्रो रगतको भल
दिन्छौं पारि सखाप नै प्रतिक्रियावादीहरूको हठ
उम्लेको छ असह्य भै हृदयको हाम्रो व्यथा उत्कट

धर्तीमा सुखशान्तिका किरणले र्छाईदिने लक्ष्यका
हामी न्याय उचाल्न वीरगतिको बाटो लिने पक्षका
पीडाग्रस्त बनी गई शरणमा पर्दै ठूलाका मुनि
सच्चाइसित थर्र थर्र डरले नार्मदको के जुनि ?

(युगज्योति २०४६)

थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी रूझ्दछन्ः बब मार्ली

म जन्मिनुभन्दा केही सालअघि बब मार्लीको निधन भयो । क्यान्सर मध्येको एक पीडादायी क्यान्सर acral lentiginous melanoma नै उनको निधनको कारण बन्यो । सायद जगदीश घिमिरेलाई मल्टिपल माइलोमाले जस्तै सकस दिएजस्तो…. ।

नेस्टा रोबर्ट मार्लीका नामले जन्मिएका उनी बब मार्ली भएर चिनिँदै गर्दा आफैँ गीत लेख्थे, सङ्गीत भर्थे र गाउँथे । एकताका कलेज पढ्नेक्रममा अङ्ग्रेजी गीत सुन्नेहरू अली बेग्लै क्षमताका हुन्छन् भन्ने कोरा बुझाइले मलाई पनि सतायो । अँ उसैबेला उनका बफेलो सोल्जर्स खुबै सुनियो । वन लभ, नो ओम्यान नो क्राइ सुनिएका गीतहरू हुन् । आफ्ना गीतमा सचेतनाका आवाजहरूलाई जहिल्यै अङ्गिकार गर्ने उनी एक माथिल्लो दर्जाका सर्जक हुन् ।

उनले स्कुल पढ्दापढ्दै छोडे । यता विल यु म्यारी मि, आइ लभ यू जस्ता चर्चित नेपाली पप गीतका गायक अनिल सिंहझैँ ।

धार्मिक विश्वासका कारण लट्टा परेको कपाल (आजकाल ड्रेडलक भन्छन् क्यार) पाल्ने मार्लीले झण्डै २ दशक विश्व सङ्गीतमा ठूलो योगदान दिए । दङ्गा र हत्याले थिलथिलो भएको जमैकामा कन्सर्टको दुई दिनअघि उनको हातमा गोली लाग्यो । पटक पटक शान्तिका लागि उनले विभिन्न कन्सर्टहरूमा गायनमार्फत् योगदान गरे । जमैकामा शान्ति स्थापनामा उनको योगदान रहेको विभिन्न तथ्यहरूमा अध्ययन गर्न पाइन्छ । सायद नेपालमा द्वन्द्वकालमा त्यसले निम्त्याएको डर र त्रास अन्त्यका लागि नेपथ्यका अमृत गुरूङको शान्ति यात्रासँग हामी तुलना गर्न सकौँला ।

गायकीमा जम्नुअघि हात हेरेर भविष्य आँकलन गर्ने उनले अफ्रिकी डायस्पोरालाई आधार बनाएर गीत लेखे, गाए । अनौठो त के भने उनको निधनपछि उनको कोठाबाट उनकी आमाले थुप्रै गीतका रेकर्डहरू प्राप्त गरेकी थिइन् ।
उनका केही चर्चित भनाइहरू यस्ता रहेका छन्ः
* जब एउटा ढोका बन्द हुन्छ, के तपाईँलाई थाहा छैन अरू धेरै ढोकाहरू खुला छन् ?
* कुनै पनि कुराको चिन्ता नगर्नुहोस्, सबै कुरा ठीक हुनेछ।
* जीवनभरि कैदी हुनुभन्दा स्वतन्त्रताका लागि लडेर मर्नु बेस हो ।
* आफूले बाँचेको जीवनलाई प्रेम गर्नुहोस् । आफूले मन पराएको जीवन जिउनुहोस् ।
* तपाईँ मानिसलाई केही बेरका लागि मुर्ख बनाउँन सक्नुहुन्छ तर सँधैभरिका लागि होइन ।
* हरेक मानिसले आफ्नो भाग्य आफैँ निर्णय गर्ने अधिकार पाउनुपर्छ ।
* संगीतको बारेमा एउटा राम्रो कुरा, जब यसले तपाईँलाई छुन्छ, तपाईँलाई कुनै पीडा महसुस हुँदैन ।

उनले गाँजाको ३ पाते चिन्हलाई आफ्नो सिग्नेचर बनाए । अहिले पनि कपडा, जुत्ता, टोपी, रुमाल आदिमा यो निकै प्रचलित छ । हुन त हिन्दु धर्मका नागा साधुहरूको गाँजा सेवन गर्ने शैली अपनाउने उनलाई शिवभक्त भएको भन्ने पनि अध्ययनमा पाइन्छ । यसको अध्ययनका आधार भने फितलो छ । त्यसो त भारतका एउटा समूहले गाएको ‘ॐ नम शिवाय’ र ‘बम भोले बम’ लाई बब मार्लीले नै गाएको भन्ने हल्लाहरू पनि इन्टरनेटतिर छ्याप्छ्याप्ती पाइन्छन् । बरू उनले जमैकाबाट सुरूवात भएको रास्ताफारियन संस्कृति अपनाएका थिए । जमैकामा नै (१९६० मा) जन्मिएको रेगे म्युजिकलाई संसारभर चर्चाको चुलीमा पुर्‍याउने उनलाई English rock bank रोलिङ स्टोनले विश्वका १०० रक एन रोल कलाकारमध्ये ११औं स्थानमा राखेको थियो ।

नेपालमा पनि लाखौँ युवाहरू बब मार्लीका ‘फ्यान’ हरू छन् । तीमध्ये कतिपय त उनको खराब आदतका मात्रै ‘फ्यान’ छन् । उनीहरूलाई के लाग्छ भने “गाँजाको लतले बब मार्लीले राम्रो गीत गाएका हुन् ।” यो बडो दुखको कुरो हो ।

आफू १० वर्षको आउमेरमै हुँदा बुवालाई गुमाउनु परेपछि नै उनले आफ्ना गीतहरूमा पीडा, दुख, अभावहरूलाई सङ्गाले । उनका गीतमा राजनीति, समाज, विश्वास, स्वतन्त्रता, शान्तिले प्राथमिकता पाउनुका मूख्य कारण उनले सानैदेखि भोग्नुपरेको रङ्गभेद (बुवा अङ्ग्रेज, आमा अश्वेत) का विभेदहरू हुन् । अफ्रिकी मुलुक जमैकामा जन्मिएका बब ३६ वर्षकै उमेरमा अमेरिकाको फ्लोरिडामा निधन भएको हो । उनी गितारलाई भन्दा फूटबललाई माया गर्थे । तब न उनको दाहसंस्कारमा एकमुठी गाँजाका साथ गितार राखिएको थियो भनिन्छ ।
– संप्रस

सन्दर्भसूचीहरूः

  • व्रिटानिका
  • विकिपिडिया
  • बायोग्राफी डट कम
  • बब मार्ली डट कम
  • आइएमडीबी डट कम

केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण

७ चैत्र, मकवानपुर । साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तकको लोकार्पण गर्नु भएको हो । कृतिमा ९० वटा छन्दबद्ध कविता समावेश छन् । ९/९ श्लोक रहेको यस कविता सङ्ग्रहमा ९ वटै छन्दको प्रयोग भएको छ । दोलखामा जन्मिनु भएका पोखरेलले जनकपुर, काठमाडौँ, अस्ट्रेलिया बसाइका विषयहरू कृतिमा उतार्नु भएको छ । यसअघि ‘सम्मान’, ‘चेप्टे भङ्गालो’, ‘अंशबण्डा’, ‘बाटो भत्केपछि’ लगायतका कृति प्रकाशन गर्नुभएका उहाँले ३९ वर्ष शिक्षण पेसामा बिताउनु भएको छ । ‘मान्छे मार्ने तलाउ’ मा देशमा व्याप्त बेथितिलाई कसरी समाधान गर्न सकिने भन्ने कुरालाई मूख्यत विषय उठान गर्न खोजेको उहाँले बताउनु भएको छ ।

मुक्तक मञ्च कास्कीद्वारा ३२ हजार राशिको मुक्तक प्रतियोगिता ।

७ चैत्र, मकवानपुर ।
मुक्तक मञ्च कास्कीले मुक्तक प्रतियोगिता गर्ने भएको छ । बुधबार जारी सूचनाअनुसार चैत्र १४ भित्र मुक्तक उपलब्ध गराइसक्नु पर्नेछ ।

प्राप्त रचनाहरूमध्येबाट पहिलो, दोस्रो, तेस्रो पुरस्कार राशि क्रमशः रु ११ हजार, ९ हजार र ७ हजार रहेको छ भने सान्त्वना पुरस्कार राशि रु. ५ हजार रहेको छ ।

देवनागरी लिपिमा टाइप गरी चतुष्पदीय शैली (AABA) संरचनामा हुनुपर्ने, मौलिक तथा अन्य कुनै पनि माध्यममा प्रकाशित वा प्रशारित नभएको तथा अन्य प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने आयोजकले जानकारी दिएको छ । साथै प्रतियोगी मुक्तकको कुनै अंश वा भाग कसैका रचनालाई तोडमोड गरि लेखिएको पाइएमा रचना अयोग्य मानिनेछ भने विजयी रचनामा दाबी विरोध आइ प्रमाणित भएमा उत्कृष्टको आधारमा अर्को मुक्तक विजयी हुने समेत जानकारी गराइएको छ ।

प्रतियोगिताका लागि muktakmanch123@gmail.com मा सर्जकको नाम, ठेगाना र सम्पर्क नम्बरसहित मुक्तक प्रेषित गर्नुपर्नेछ ।

२ वटा मुक्तक पठाउनुपर्नेमा जातिय विभेद विषयमा १ र स्वतन्त्र मुक्तक १ हुनुपर्नेमा सोबाहेक भएमा प्रतियोगितामा समावेश नगराइने सूचनामा उल्लेखित छ । मुक्तक कुनै जाति, धर्म, वर्ग सम्प्रदाय तथा राष्ट्रिय एकतामा चोट पुर्‍याउने खालका मुक्तकहरू आएमा प्रतियोगितामा समावेश हुने छैन ।

छनौट भएका मुक्तकहरूको सूची चैत्र १५ गते सार्वजनिक हुने र १७ गते मुक्तक वाचन हुने हुँदा प्रतियोगीहरू आफैँ उपस्थित हुनुपर्नेछ । वाचन कार्यक्रम होराइजन कटेज एण्ड रेष्टुरेन्ट, पोखरा महानगरपालिका २६ मा सञ्चालन हुनेछ ।

कथाकार प्रधानको निधन

मकवानपुर । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले जानकारी दिनुभएको छ ।

प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् ।

पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना वि.सं. २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारीमा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो ।

सुरुमा उहाँले कविता लेख्ने गरे पनि पहिलो कविता संग्रह ‘जीवनपथ’ प्रकाशित भएपछि भने कवितालाई चटक्कै छाडेर कथालाई मूल विधाका रुपमा अपनाउनु भएको थियो । उहाँका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । उहाँका बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह प्रकाशित छन् ।

प्रधानले बाल साहित्यमा पनि कलम चलाउनु भएकाे थियो । उहाँका नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित छन् ।

गितारबारे केही रोचक जानकारी

संसारकै पहिलो गितारः
हुन त पहिलो गितार खासमा गितार नभएर भि-ह्वेला थियो । जुन स्पेनमा बनेको थियो । हालसम्म पत्ता लागेको तथ्यलाई हेर्दा १० स्ट्रिङ (तार जडित) वाद्यवादनको यो साधन खासमा सन् १५९० ताका Belchior Diaz ले तयार गरेका थिए । झट्ट हेर्दा नेपाली वाद्यवादन यन्त्र टुङ्ना जस्तै देखिने यस्तो बाजाको विकास भने १३औं शताब्दीमैँ भइसकेको पाइन्छ । Belchior Diaz को पछिल्लो नाम (थर) Vihuela भएकोले यो साधनलाई त्यही नामले चिनियो ।

रोचक त के भने स्पेनकै Antonio Torres Jurado लाई भने आधुनिक गितारको विकासकर्ताको श्रेय जान्छ । उनले सन् १८५० ताका अहिलेको अकस्टिक गितार निर्माण गरेका थिए । यस्तै गितारको घाँटी लामो राख्दै त्यसको पेट भद्दा राख्ने काम पनि उनैले गरेका हुन् ।

सामान्यतया गितारमा ६ वटा स्ट्रिङ रहेको हुन्छ । यसको सुरूवात उनै एन्टोनियोले गरेका हुन् । उनले विकास गरेको गितार बन्ने तरिकालाई बदल्दै ब्रासिङको विकास भने जर्मनबाट अमेरिका बसाइ सरेका Christian Frederick Martin ले गरेका हुन् । यस्तै hollow अर्थात् प्वालयुक्त (Flat) गितारको विकास पनि उनैले गरेका हुन् । आजकाल ६ को अलावा १२, १८, २१ स्ट्रिङ प्रयोग गरिएका गितारहरू पनि पाइन्छन् ।

इलेक्ट्रिक गितारको विकासः
अमेरिकन ज्याज गिटारिस्ट Charlie Christian ले अकस्टिक गिटारलाई विद्युतसँग समन्वय गराई आवाज ठूलो बनाउने विद्युतीय गितार आविष्कारको सोच बनाए । सन् १९३६ को यो सोचका बाबजुद १९६० को दशकमा पूर्णतः इलेक्ट्रिक गिटारको विकास हुन पुग्यो । जसले गर्दा सङ्गीत उद्योगमा आमूल परिवर्तन ल्याइदियो । कम्पनीका रूपमा फेन्टर टेलिकास्टरले विश्वमैँ पहिलो पटक विशाल सङ्ख्यामा इलेक्ट्रिक गितारको उत्पादन सुरू गर्‍यो । आजकाल Fender, Gibson, Ibanez, PRS अनि Yamaha जस्ता कम्पनीहरू गितारकै लागि प्रख्यात रहेका छन् ।

युकेलिली, अरेबिक उड (३५०० वर्षअघि विकास सुरू भएको), कपर पाइप्स, क्लिफ्टेली जस्ता वाद्यवादनका साधनहरू झट्ट हेर्दा गितार जस्तै देखिन्छन् । तीमध्ये केही गितारभन्दा पूरानो र केही नवीन इतिहास बोकेका साधन हुन् । अकस्टिक गितारको इतिहास पढ्दा ट्युनर धेरै पछि (साउन्ड होलभन्दा निकै पछि) मात्र जडान भएको पाइन्छ ।

हेड भएका मात्रै होइनन् नभएका गितारहरू झनै प्रसिद्ध हुँदै गएका छन् । नयाँ नयाँ सोचका साथ आजकाल गितारका आकार, प्रकार र ढाँचाहरूमा परिवर्तन भएका छन् । गितारको तीव्र विकासको रफ्तारले अहिले पाइप गितार, कपर गितार, ३६० डिग्री गितारको समेत विकास भइसकेको छ ।

फुटाएका गितारको मूल्य ६० लाख डलरः
गितारको रमाइला घटनाहरूमध्ये निर्भाना व्याण्डका गायक कर्ट कबेनको घटना निकै रोचक छ । आफ्नो नाम जहिल्यै अशुद्ध लेख्ने उनले बजाउने क्रममा फुटाएका गितारलाई जोडजाड गरिएको थियो । उनको निधनको १९ वर्षपछि ६० लाख डलरमा ‘फेन्डर स्ट्र्याटोक्यास्टर’ गितार लिलाम बिक्री भएको हो । हालसम्म सबैभन्दा महङ्गोमा बिक्री भएको गितारका रुपमा यसैलाई लिइन्छ ।

विदेशदेखि नेपालसम्मका केही गितारवादकहरूः
बब मार्ली, जिम्मी पेज, स्ल्यास, एसीडिसी आदिले गिब्सनका गितार निकै प्रयोग गरे भने जोन लेननले इपिफोन र मेटालिकाले इबानेज प्रयोग गरे । नेपाली गितारवादक सन्चा भक्स (स्ल्यास) र प्रकाश रसाइली गिब्सन प्रयोग गर्छन् । स्वर्गीय निशान आचार्य जो बायाँ हाते गिटारिस्ट हुनुहुन्थ्यो, उहाँ नेपालमा बनेको ‘न्याउली’ गितार प्रयोग गर्नुहुन्थ्यो । यस्तै स्वर्गीय रोबिन तामाङ जसलाई नेपाली गायनमा नयाँ प्रयोग मानिन्थ्यो उहाँको पनि आफ्नै रोजाइ थियो । हरि महर्जन वासबर्न बजाउनुहुन्छ भने आर्थर गन (दिवेश पोखरेल) टाकामाइन ब्रान्डको गितार बजाउनुहुन्छ । यहाँ उल्लेख गरिएकाबाहेक उहाँहरूले अरू गितार नबजाएको भन्नेचाहीँ होइन ।

इलेक्ट्रिक मात्रै होइन, अरू गायक सङ्गीतकारहरू जस्तै आस्था तामाङ मास्के, सन्ध्या जोशी, नविन के भट्टराई, गिरिश खतिवडाहरू पनि अकस्टिकमा खुबै रमाएको पाउँछौँ । त्यसो त डिन ब्रान्डका इलेक्ट्रिक गितार बजाउने स्त्री व्याण्डका सुजिनादेखि अभय एन्ड द स्टिम इन्जन्सका अभय सुब्बासम्म नेपाली महिला गिटारिस्टहरूले पछ्याउने नाम हुन् भन्न सकिन्छ ।

मन्त्र, 1974AD, नेपथ्य, मुक्तिदेखि विभिन्न व्याण्डका लिड गिटारिस्टहरूलाई नेपाली साङ्गीतिक क्षेत्रका शान मान्न सकिन्छ । हरि यसअघि चर्चा गरेजस्तै महर्जन फिरोज स्याङ्देन, सुनिल गुरूङ, तिलक मगर, सञ्जीव बराइली, प्रज्ञा लामा, रोशन शर्मा, शरद श्रेष्ठका पनि आ-आफ्नै रोजाइका गितार रहेका छन् ।

नेपाली गितारः
टेलर, सिग्मा गिटार, सि गल, अल्वारेज, फेइथ, इएपी, फर्च जस्ता ब्रान्डहरू विश्वभरि बजाइएका गितार हुन् भने नेपालमा नेपाली गितारको पनि आफ्नै बजार रहेको पाइन्छ । रविन र अनुप शर्मा दाजुभाइको मन्त्र नेपाली ब्रान्डको गितार हो भने मनास्लु, नमस्ते आदि नेपाली ब्रान्डका गितार हुन् । अहिले नेपालमा अकस्टिक मात्र नभइ इलेक्ट्रिक गितार समेत विकास भइरहेका छन् ।

अब त गितार विदेशमा मात्र होइन, नेपालमा पनि लोकगीतदेखि पपसम्म सबैमा अनिवार्य प्रयोग हुने वाद्यवादन भइसक्यो । विदेशी बाजाको चर्चा किन गरेको भन्ने प्रश्न पनि आउन सक्छ । “अम्बर गुरूङ भन्नुहुन्थ्यो नि- बाजा विदेशकै किन नहोस् त्यसले नेपालको मौलिक धुन बजाउन सक्नुपर्छ ।”
(गाइने)

प्रज्ञाले किन गर्‍यो अश्लील शब्दहरूको सङ्कलन ?

हुन त संसारमा कुनै पनि शब्द आफैँमा अश्लील हुँदैन । शब्दले दिने अर्थ वा यसलाई प्रयोग गरिने प्रसङ्गका आधारमा यसले आफूलाई श्लील वा अश्लील भनेर व्याख्या गराउँदो हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा तयार गरिएको शब्दकोषले भने ‘अश्लील’ शब्दलाई ‘लाजभाँड बुझाउने; लज्जास्पद; लज्जाजनक; फोहोर (कुरो)’ भनेर अर्थ्याएको पाइन्छ ।

अङ्ग्रेजी शब्दकोशले पनि ‘यौन वा शारीरिक कार्यहरूको स्पष्ट र आपत्तिजनक सन्दर्भ बनाउने; मोटा र असभ्य’ भनेर अश्लील (Vulgar) शब्दबारे व्याख्या गरेको पाइन्छ । अशिष्ट र दुर्वाच्य भनिने यस्ता शब्दहरू केवल शब्दकोशमा मात्रै सीमित गर्नका लागि वा प्रयोग नै नगर्नका लागि राखिएको अवश्य होयन ।

कहिलेकाहीँ एउटा भाषाको शब्द अर्को भाषाको लागि अश्लील बनिदिन्छ । नेपालीमध्ये पनि पूर्व र मध्य क्षेत्रका भाषा र पश्चिम क्षेत्रका भाषाबीचमा केही यस्ता शब्दहरू छन् ।

नेपाली मात्रै किन अन्य मातृभाषाका शब्दहरू यस पङ्तीमा सँगसँगै छन् । एउटा भाषाको शब्दले अर्को भाषामा फरक अर्थ दिन सक्छ । त्यो बेग्लै कुरो भयो ।

कहिलेकाहीँ बोल्दाबोल्दै शब्दको अभाव हुन्छ र हामीमध्ये धेरैले ‘ऊ’ जोडिदिन्छौं । त्यसले पनि शब्दको अभावलाई पूर्ती गरेकै हुन्छ । यहाँ भने अनेक अर्थ लाग्ने ‘ऊ’ का बारेमा नभई एकै अर्थ लाग्ने तर खुलेआम बोलीचालीमा प्रयोग नहुने शब्दबारे चर्चा गर्नेछौँ ।

naya.com.np द्वारा प्ले स्टोरमा अपलोड भएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ नेपाली भाषाप्रेमीहरूमाझ निकै चर्चित मोबाइल एप्लिकेसन हो । जसलाई नेपाल प्रज्ञा प्रतिष्ठानको आधिकारिक शब्दकोश मानिन्छ । जहाँ १ लाख २८ हजार बढी शब्द छन् । यस्तै nowa lab द्वारा अपलोड भएको Nepali Shabdaskosh Dictionary पनि रहेको छ । जसमा १ लाख ५० हजार बढी शब्द छन् । यिनै शब्दकोशहरूमा प्रयोग भएका केही ठेट नेपाली शब्दबारे लाजै पचाएर चर्चा गर्नु पर्ने भएको छ ।

नेपाली जनमानसमा अश्लील गालीका क्रममा प्रयोग गर्ने गरिएका केही शब्दहरूलाई यसले टपक्कै टिपेर राखेको छ । सबै शब्द जानेका, नजिकका साथीभाइसँग बोल्ने पनि गरेको तर घरपरिवार, कार्यालय, सार्वजनिक क्षेत्रमा ती शब्द उच्चारण गर्दा लज्जित महसुस हुने हुँदा ती शब्दलाई प्रज्ञाले किन आफ्नो शब्दकोषमा समावेश गर्‍यो भनेर म निकै दिनदेखि दङ्ग परिरहेको छु ।

शब्द नै त यहाँ उल्लेख नगरौं तर त्यसलाई सजिलै अनुमान गर्न सकिनेगरी केही बुँदाहरू उल्लेख गर्दछुः

१. चि*….: सम्भोग गर्ने वा गराउने भाव, क्रिया वा प्रकिया
सम्भोग भन्ने अर्थले महिला-पुरूष (आजकाल विपरीत मात्र नभई यसले उस्तै लिङ्गीसमेतलाई जनाउँछ) बीचको शारीरिक सम्बन्ध भन्ने जनाउँछ । यसलाई गालीगलौचको शब्दका रूपमा प्रयोग गरिँदा यो क्रिया जहिल्यै लाजको विषय बनिरहनेछ ।
मलाई के याद छ भने स्नात्तकोत्तरमा अध्ययनका क्रममा स्वास्थ्य शिक्षा विषय अध्ययन गर्ने घन्टीमा केटीहरू सबै बाहिरिन्थे । त्यसको फाइदा एकजना स्वास्थ्य शिक्षा अध्यापकले लिनुहुन्थ्यो । केटाहरू मात्रै भएको कक्षामा तिमीहरूलाई लाज लाग्दैन भने फलानो अङ्गको खास नाम यो हो भन्दै ठेट शब्दहरू वाचन गर्नुहुन्थ्यो । उहाँले हामीलाई स्वास्थ्य शिक्षा सहज छ भन्ने बुझाउन त्यसो गर्नुभयो वा किन हो त्यो अहिलेसम्म जान्न सकेको भने होइन ।

२. मु*…: उपेक्षा; गाली (अश्ली.) । स्त्रीका योनिवरिपरि उम्रने रौँ ।
शरीरका विभिन्न भागमा आउने रौंका फरक फरक नाम रहेका छन् । जसरी कपाल, दाह्री, जुँगा, आँखीभुइँ, छुसी आदि नामले विभिन्न रौंहरूको नामाकरण हुँदा जनेन्द्रय वरिपरी आउने रौँको नाम उच्चारण नै गर्न नमिल्ने त होइन भन्न सकिन्छ । तर के हाम्रा बालबच्चाले पढ्ने किताबमा यी छन्? वा राख्नु उपयुक्त हुन्छ ? बहसको अर्को विषय हुँदैन र ?

३. पु*….: स्त्रीको जननेन्द्रीय भाग, योनि ।

४. जाँ*….: पुरूषका निम्ति एक अश्लील गाली…… ।

५. झ्याँ*….: जबरजस्ती करणी गर्ने….. ।

६. फु*…..: वीर्य; शुक्र……. ।

वीर्य भन्ने शब्द नै प्रचलित भइसकेको अवस्थामा यसलाई ठेट बुझाउने शब्द ‘फु*…’ को प्रयोग कतिसम्म उपयुक्त होला ? के हामी कक्षामा विद्यार्थीका अघि वा घरपरिवारमा ठेट शब्द उच्चारण गर्न सक्छौँ ? एउटा शिक्षकले प्रज्ञाले समावेश गरेका यी शब्दलाई नै लिएर कक्षामा अध्यापन गराउन सक्छ ? त्यसो गरे भने मुद्दा खेप्नु पर्छ कि पर्दैन ? यो प्रश्न मलाई नै गर्ने हो भने पनि म सक्दिनँ ।

त्यसो त २० वर्षदेखि यस क्षेत्रमा काम गरिरहेको बताउने नेपाली शब्दकोश नामक एप्लिकेसनले समेत यी सबै शब्द र तिनका अर्थहरू समावेश गरेको छ ।

मुलुकी ऐन २०२० लाई विस्थापित गरेपछि बनेको मुलुकी आचार संहिता २०७४ को दफा १२२ मा उल्लेख गरिएको छः
“सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुनेः दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुँदैन ।”
यस दफाका अनुसार अश्लील शब्द बोल्न पाइँदैन भन्ने कानुनी व्यवस्था रहेको र सो गरेमा २५ हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ ।

त्यसो त दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने भन्ने कानुनी व्यवस्थामा अश्लिल प्रकारको शब्दको बारेमा उल्लेख गरिएको छ । जहाँ यस्ता शब्दहरू मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा…… विद्युतीय माध्यममार्फत् सार्वजनिक गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था उल्लेख भएको छ ।

एउटा बहसको खाँचो महसुस भएको छ, यी शब्दहरू प्रज्ञा शब्दकोशमा राखिनु कतिको उपयुक्त हुने हो ? वा यी प्रश्न केवल प्रश्न मात्रै हुन् प्रज्ञाले जे गर्‍यो ठिक गर्‍यो । आगे तपाईँको विचार ।

गजल भनिएका सिर्जनाहरू गजल नै होइनन्: घनेन्द्र ओझा, लेखनमा निरन्तरता दिऔँः बाबु त्रिपाठी

मकवानपुर, चैत्र ३
गजल मञ्च मकवानपुरले हेटौँडा गजल उत्सव सम्पन्न गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा १४ गजलकारहरूबाट गजल प्रस्तुत भयो ।

गजल मञ्च मकवानपुरको २१२औँ नियमित सन्ध्याका क्रममा श्याम बानियाँ, विश्वनाथ सञ्जेल, यश लामा, सानु खनाल, धर्मराज स्याङ्तान, सुबास सजल, भवानी तिमल्सिनाले आ-आफ्नो गजल वाचन गर्नुभयो भने अजर फुयाँलले ‘फर्क अभियान’ अन्तर्गतको गजल गायन गर्नुभयो ।

विशेष गजल गायन/वाचनतर्फ बाबु त्रिपाठी, पुरूषोत्तम आचार्य, शितल कादम्बिनी, घनेन्द्र ओझा र रुपक वनबासीले आ-आफ्नो रचना प्रस्तुत गर्नुभयो ।

गजल स्रोताहरूको समेत सक्रिय सहभागिता रहेको कार्यक्रममा गजलसम्बन्धी बहस समेत सञ्चालन भयो । बहसमा घनेन्द्र ओझा, बाबु त्रिपाठी, शितल कादम्बिनी सहभागी रहनुभयो । ‘नेपाली गजलः यात्रा र गन्तव्य’ विषयक बहसलाई दीपक गौतमले सहजीकरण र निमेष निखिलले अभिभाकत्व ग्रहण गर्नुभयो ।

झन्डै २ दशकदेखि मकवानपुरमा सक्रिय गजल मञ्च मकवानपुरले पत्रपत्रिका प्रकाशन, युवा पुस्ताका सर्जकहरूलाई हौसला, विद्यालय तथा नवसर्जककेन्द्रित गजल लेखन र वाचन लगायतका श्रृङ्खलाहरू सञ्चालन गर्दै सक्रियरुपमा लेखन कार्यलाई जोड दिइरहेको सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले शुभकामना मन्तव्यका क्रममा बताउनुभयो ।

कार्यक्रममा गजलकारद्वय बाबु त्रिपाठीले नवपुस्तालाई सङ्कोच नमानीकन गजल लेख्नका लागि अनुरोध गर्नुभयो भने घनेन्द्र ओझाले शास्त्रिय गजल लेखनका खास नियमहरू रहेकाले अहिले नेपाली गजल लेखनमा कुनै मानक स्थापना नभएको र गजल भनेर गजल नलेखिएको बताउनुभयो ।

गजल मञ्च मकवानपुरको अध्यक्ष केशव समर्पणको अध्यक्षता, ४ नं. वडा कार्यालय, हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमेन्द्र महर्जन, मनोज शाही, भरत घलान र शर्मिला श्रेष्ठको वाद्यवादन रहेको थियो ।

रोयल पार्टी प्यालेस, हेटौँडामा सम्पन्न कार्यक्रममा दीपक गौतम, मणिराज गौतम, राजकुमार लामिछाने, कृतिका लौडारी, सबिता तिमल्सिना, सुरेश श्रेष्ठ, छवि अनित्यलगायतका साहित्य सर्जक, पत्रकार, साहित्यसेवीहरूको उपस्थिति रहेको थियो ।

गजल मञ्च मकवानपुरका उपाध्यक्ष सञ्जित श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमलाई गजल मञ्च मकवानपुरका सचिव हरि पौड्यालले सहजीकरण गर्नु भएको हो ।

(कार्यक्रमको पूरा भिडियो तल रहेको छ ।)


कवि पुरूषोत्तम आचार्यलाई राधेश्याम स्मृति साहित्य सम्मान

मकवानपुर । कवि एवम् गजलकार पुरुषोत्तम आचार्यलाई राधेश्याम स्मृति साहित्य सम्मान प्रदान गरिएको छ ।
राधेश्याम विजया फाउण्डेशन मकवानपुरले सोमबार मकवानपुरको हर्नामाडीस्थित गुम्बाडाँडामा एक कार्यक्रममा आचार्यलाई रु. ११ हजार एक सय ११ रुपैयाँ राशीको सो सम्मान प्रदान गरेको हो ।

लामो समयदेखि मकवानपुरे साहित्यमा क्रियाशील रही साहित्यमार्फत् समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेकोमा सो सम्मान गरिएको हो ।

यसैगरी नगद १० हजार ५ रुपैयाँसहित विजयादेवी शैक्षिक पुरस्कार पवित्रा तिमल्सेनालाई प्रदान गरिएको छ । तिमल्सेनाले २०७९ सालको एसइईमा ज्योति मावि हर्नामाडीबाट ३.६५ उत्कृष्ट जिपिए प्राप्त गर्नु भएको हो ।

वामपन्थी नेता स्वर्गीय राधेश्याम खतिवडा र उनकी ८६ वर्षीया पत्नी विजयादेवी खतिवडाको नाममा २०७६ सालमा उनीहरुका छोराहरु अरुण र बरुण खतिवडाले दश लाख रुपैयाँको राधेश्याम विजया फाउण्डेशनअन्तर्गतको अक्षय कोष स्थापना गरी सोहीमार्फत् यी सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

फाउण्डेशनका अध्यक्ष एवम् अधिवक्ता अरुण कुमार खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा लेखक एवम् अग्रज पत्रकार नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

बुढ्यौली साहित्य समाजका अध्यक्ष आरसी रिजालको विशेष आतिथ्यता रहेको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सम्मानित साहित्यकार आचार्यको कृतित्व र व्यक्तित्वको बारेमा चर्चा गर्नु भयो भने कार्यक्रममा श्याम प्रसाद शर्मा प्रतिष्ठानका कार्यबाहक अध्यक्ष इन्द्र नेपाल, ज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्य सर्जकहरू मीनप्रसाद लामिछाने, ओमभक्त भण्डारी, समाजसेवी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा सुन्दर सिरीष प्रथम, सुबास सजल द्वितीय र सुजन घिमिरे तृतीय

फागुन २८, सोमबार
काठमाडौँ ।
चाँगुनारायण साहित्य समाजद्वारा आयोजित राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा सिन्धुपाल्चोकका सुन्दर शिरीष प्रथम, मकवानपुरका सुबास सजल द्वितीय र धनगढीका सुजन घिमिरे तृतीय हुनुभयो भने सिन्धुलीका रुपक जमरा र काठमाडौँकी दुर्गा खतिवडाले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ ।

देशभरबाट २० जना उत्कृष्ट कविताहरू छनौटमा परी अन्तिम चरणको लागि चाँगुनारायण मन्दिर परिसरमा वाचन गरिएको थियो ।

चाँगुनारायण स्मारिका लोकार्पण समेत गरिएको कार्यक्रमलाई प्रमुख अतिथि इतिहासविद् प्रा.डा. दिनेशराज पन्तमार्फत् कार्यक्रम उद्घाटन गरिएको हो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका अध्यक्ष जीवन खत्रिले सहयोगी संस्थाहरू नारायणी शङ्कर मानन्धर संस्था, एभरेस्ट इङलिस स्कुल, चट्याङ मास्टर सहयोगी तथा दाताहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

चाँगुनारायण साहित्य समाजका आजीवन सदस्य श्री रामशरण न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा प्रा.डा. देवी नेपाल,डा. विप्लव ढकाल र डा. गीता त्रिपाठी रहनु भएको निर्णायक मण्डलले निर्णय गरी नतिजा सार्वजनिक गरिएको हो ।

५/५ जना कविहरूको कविता वाचनबाट प्रारम्भ गरिएको प्रतियोगिताको यस चरणमा क्रमश: कवि कल्पना काफ्ले, कृष्णप्रसाद पौडेल, गोविन्द कँडेल, डिल्लीराम ढकाल र दुर्गा खतिवडाले आफ्नो कविता सुनाउनुभयो ।

अतिथि शङ्कर मानन्धरले मन्तव्य राख्नुभएपछि अर्का ५ जना कविहरू देवेन्द्र खरेल, प्रकाश बस्नेत गफाडी, हृदयेश पराजुली, विक्रम चेतनशील राई, बाबुराम श्रेष्ठ यात्रीमध्ये उपस्थित ३ कविले कविता वाचन गर्नुभयो ।

कार्यक्रममा कवि बि. के. माकाजूको पर्खाल कविता सङ्ग्रह विमोचन गरियो । अन्य कविहरूमा भोलानाथ सुवेदी, मणिराम कँडेल, मोतिराम बम, रवि सुवेदी र डा. सीता सुवेदी पन्थीले आफ्नो कविता वाचन गर्नुभयो । महाकाव्यकार डा. रामप्रसाद ज्ञवालीको साहित्य सम्बन्धि मन्तव्यपछि विशिष्ट अतिथि नगर प्रमुख श्री जीवन खत्रीले साहित्य उत्थानमा चाँगुनारायण नगरपालिका लागिरगने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगी कविहरूको कविता वाचनको अन्तिम चरणमा विकास अधिकारी शैलपुत्र, सुबास सजल, सुन्दर शिरीष, सुजन घिमिरे र रूपक जमराले आफ्नो कविता वाचन गर्नुभयो ।

कविता वाचनको समयपछि अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा विशिष्ट अतिथि मन्दिरका मूल पुरोहितले चाँगुनारायणको उत्त्पति र मन्दिर स्थापना बारे गलत कुरा लेखिँदै आएको बताउनुभयो । साथै एम पी पाण्डे, विष्णु सिवाबाट गीत, डा. गीता त्रिपाठीबाट गीत एवम् डा विप्लव ढकालबाट आआफ्ना रचना वाचन भए ।
प्रा.डा. श्री देवी नेपालले निर्णायक मण्डलको संयोजन गर्नुभएको थियो ।

अध्यक्ष खत्रीले चाँगुनारायण नगरपालिका, नारायणी शङ्कर मानन्धर संस्था, एभरेस्ट इङलिस स्कुल, चट्याङ मास्टर लगायत सहयोग गर्ने संस्था र व्यक्तिप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

समाजका अध्यक्ष लालबहादुर भुजेल, प्रमुख अतिथि इतिहासविद् प्रा.डा. दिनेशराज पन्त, विशिष्ट अतिथि चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मन्दिरका मूल पुरोहित चक्रधानन्द राजोपाध्याय, प्रा.डा. रामप्रसाद ज्ञवाली एवम् अतिथिहरू शङ्कर मानन्धर, पूर्व जिल्ला विकास समितिका सभापति नवराज गेलाल, ४ नं. वडाध्यक्ष रोजबहादुर तामाङ, ३ नं वडाध्यक्ष श्री श्यामसुन्दर धिमाललगायत रहनु भएको थियो ।

कार्यक्रमलाई कवि रामगोपाल आशुतोषले सहजीकरण गर्नुभएको हो ।