Home Blog Page 78

कथा : विरहिणी दमयन्ती / मदनमणि दीक्षित

मध्यरातमा कर्कोटक नागहरूको त्यो गाउँबाहिर घनघोर जङ्गलको एकान्त छाप्रामा उसलाई केही नभनी एक्लै परित्याग गरेर हिँड्ने निषधराज नललाई विदीर्ण हृदयले खोज्दै कोमलाङ्गी वैदर्भी दमयन्ती जङ्गलको गोरेटामा हिँडिरहिन् । दमयन्तीले नलसित आनन्दित र सुखी जीवन बिताएकी थिइन् । ती वर्षहरूमा तिनी आफ्नो चारैतिर जताततै नललाई मात्र देख्थिन् । कर्कोटक नागहरूको त्यो वनमा पनि तिनमा जताततै नलको भ्रम हुन थाल्यो ।

बौलाही झैँ प्रियतम नल ! कल्याणकर्ता निषधराज ! मेरी छोरी इन्द्रसेना र छोरो इन्द्रसेनका प्यारा पिता मेरा नल ! मलाई यसरी दुखित नतुल्याऊ, मबाट यसरी लुकेर नबस भन्दै बोटबिरुवासँग, फूल र लहरासँग रुँदै, पुकारा गर्दै दमयन्ती एकातिर हिँडिरहिन् ।

आफूसँगै नल छैनन् भन्नेमा विश्वस्त रहेर पनि दमयन्तीले विश्वास नै गर्न सकिनन् । अश्रुधाराले छोपिएका तिनका आँखाबाट तिनी प्रत्येक फूल र हरिया पातमा, वनको प्रत्येक सुगन्धमा, वनमा देखिने चराचुरुङ्गी, मृग र पशुहरूमा नलकै रूप देख्थिन् र फेरि आफैँसित तर्सिँदै आफूलाई समाल्थिन् तैपनि वियोगको त्यो उत्कट ज्वालामा दमयन्तीको हृदय भस्मीभूत हुँदै गयो ।

भोकी, अर्धनग्न, विक्षिप्त र शिथिल भएकी दमयन्तीलाई हिँड्न पनि गाह्रो भयो । तिनले एउटा पिपलबोटको फेदमा आश्रय लिइन् र दाहिने पाखुराको सिरान गरेर शून्य आकाशतिर हेर्दे पल्टिएर आफ्नो मनभित्र जीवनको अर्थ खोज्न थालिन् । बिहानदेखिकै शान्त तिनी एकान्तिक नारीका आँखा पनि शून्य आकाशमा नललाई खोज्दाखोज्दै निद्रालीन भए । सूर्य अस्ताउन केही समय बाँकी थियो । अस्ताउँदो सूर्यका कलिला पहेँला तेर्सा किरण दमयन्तीका मुहार र वक्षस्थलमा पर्न थाले ।

सपनामा दमयन्तीले नलको भाइ जुआडी पुष्करको कालो मुहारमा सेता दन्तपङ्क्ति र रातो पहेँलो आँखा देखिन् । सपनामा पुष्करले दमयन्तीलाई बोलाउँदै शिर सुम्सुम्याइरहेको थियो । दमयन्ती आतेसमा परेर निसास्सिएर ब्युँझिइन् । तिनले देखिन् एउटा भुसतिघ्रे, कालो, बलिष्ठको, डरलाग्दो नागजातिको पुरुष तिनको मुहारतिर कामुक दृष्टिले हेर्दै कपाल सुम्सुम्याइरहेको थियो । आत्तिएर दमयन्ती झ्वाट्ट उभिइन् र रक्षा माग्दै एकातिर दौडिन थालिन् । कर्कोटक जातिको त्यो नागले पनि दमयन्तीलाई समात्न खोज्दै पछि पछि दौडँदै आइरह्यो । ‘‘मलाई रक्षा गर !’’ जताततै चिच्याउँदै दौडिरहेकी दमयन्तीलाई केही बेरपछि त्यो कर्कोटकले समात्यो र जुरुक्क काँधमा बोकेर आफ्नो छाप्रोतिर दौडियो । दमयन्तीले आफूलाई पूर्णतः असुरक्षित र असहाय ठानिन् । कर्कोटकका काँधमा केही बेर छटपटाएपछि तिनी शान्त भइन् र आफ्नो रक्षाका उपायबारे विचार गर्न थालिन् ।

सूर्य अस्ताइसकेको थियो । कर्कोटकले आफ्नो छाप्राको पिँढीमा दमयन्तीलाई काँधबाट ओराल्यो । भुइँमा उभिएकी दमयन्तीले मुसुक्क हाँस्दै कर्कोटकलाई नमस्कार गरिन् र आफ्नो भोकबारे बताइन् । आफ्नो विजयमा त्यो नागयुवक प्रसन्न भयो । त्यसले पिँढीमा सुकुल ओछ्याएर त्यसमाथि बाघछाला हाल्दै ‘‘तिमी यहाँ सुखासनमा बस सुन्दरी, मसित नडराऊ । तिमी नारी हौ । म पुरुष हुँ । नारी र पुरुषको संयोग सृष्टिकारी हुने गर्छन् । यो संयोगमा त्रास किन ? हामी वार्तालाप गरौँ’’ भन्यो ।

नागयुवक दुष्टात्मा हो भन्ने कुरा त त्यसको कामुक आँखा र स्वरबाटै दमयन्तीले बुझिसकेकी थिइन् । उनले आफ्नो रक्षाको निम्ति उपाय खोज्न तिनले आफूलाई शान्त र संयत राखिन् र आफ्नो दुःख व्यथाबारे बताउन थालिन् । नागयुवकलाई आफ्नो कथा बताउँदा दमयन्तीले नलले जङ्गलको बाटो बिराएर हराएको कुरा मात्र गरिन् ।

‘‘यसको पति नल हरायो । वन एकान्त छ, त्यहाँका नाग नरनारीलाई यस्ती सुकुमारीलाई मैले नगरबाट हरण गरी ल्याएको हुँ भनी आफ्नो बहादुरीको बखान गरेर आफ्ना गाउँलेलाई प्रसन्न तुल्याउने छु । यी नारी मेरी भइसकिन् । यिनीसित राती सुखभोग गर्ने छु’’ भन्ने विचार गर्दै कर्कोटक नागले दमयन्तीसामु त्यहाँ कुरा गर्‍यो पनि । दमयन्तीले आपूmले रक्षक पाएर सन्तुष्ट भएको छु भनी आफ्नो प्रसन्नता जस्तो समेत प्रकट गरिन् । नागले दमयन्तीको भोकको कुरा सम्झियो र तिनका निम्ति कन्दमूल र दुधको खिरका साथ मृगको सुकुटी पकाउने र पोल्ने कुरा गर्‍यो, दमयन्ती खुसी भइन् ।

छाप्रामा आगो बालेर कर्कोटक नागयुवक भोजन पकाउनमा लाग्यो । बाहिर पिँढीमा निस्पट्ट अन्धकार छ । उज्यालो चाहियो भनेर दमयन्तीले चुलाबाट एउटा अगुल्टो मागेर पिँढीतिर लागिन् । दमयन्ती पाएर उन्मत्त र प्रसन्न भएको नागयुवकले छाप्राको कुनाबाट जौको जाँडको घैँटो ल्याएर आफू खाँदै दमयन्तीलाई पनि दियो । आफूलाई भोजनसँगै मात्र मदिरा मन पर्छ, त्यस वेला मात्र खाने छु बरु तिमी आफूले खाऊ भन्दै दमयन्तीले मायालु हातले नागयुवकलाई मदिरा खुवाउँदै रहिन् । कन्दमूलको खिर पकाउँदा पकाउँदै कर्कोटक उङ्न थाल्यो । दमयन्तीले छाप्राको ढोका र पिँढीमा जाँड पोखेर अगुल्टाले ढोकाको जाँड र छाप्रामा आगो लगाइदिइन् र त्यहाँबाट पूर्व दिशामा सुइँकुच्चा ठोकिन् । कर्कोटक नागयुवकबाट त्यसरी छुटकारा लिए पनि एक कोस पूर्वतिर गएर दमयन्तीले शिंशपा रुखका हाँगामा सावधान बसी रात गुजारिन् ।

किंकर्तव्यविमूढ तथा सधैँ अपराजिता रहेकी तर त्यस वेला आफूलाई पराजित अनुभव गरेर विह्वल भएकी दमयन्ती तीन दिनसम्म जङ्गलको माझ विह्वल हुँदै र बाटामा पाएका कन्दमूल खाँदै हिँडिरहिन् । जङ्गलबिचका साना खुला ठाउँमा छसात घर भएका निषाद र नागको बसोबास देखिँदा ती घरसित समेत तर्सिएर दमयन्ती वन्यप्रान्तकै बाटो हिँडिरहिन् । एकान्त यात्रामा ती एक्ली नारीले आफू र वनस्पति तथा पशुपन्छी अनि नलबिच एकात्मकता रहे जस्तो अनुभव गर्ने गरिन् । वनको बाटामा आफ्नो सामान्य रक्षाका निम्ति तिनले हातमा एउटा लट्ठी लिएकी थिइन् । कुनै अजिङ्गर, कर्कोटक वा निषादयुवकले फेरि बलजफ्ती गर्न नपाओस् । त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचार गर्दै दमयन्तीले आफ्नो केशलाई धुलाले मुसारेर जगल्टा जस्तो बनाइन् । आफ्नो रूपलाई हिलो दलेर विकृत तुल्याइन् । मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा शरीरलाई जतिसुकै क्षतविक्षत तुल्याए पनि दमयन्तीको हृदय र बुद्धि भविष्यको उज्यालो आशामा नलप्रति झन् झन् बढी मुग्ध र कोमल हुँदै गयो । जहिले जुन रूपमा भए पनि आफ्ना पति नललाई आफूले अवश्य नै फेला पार्ने छु भन्नेमा तिनको विश्वास झन् झन् दृढ हुँदै गयो । तेस्रो दिनको साँझ सूर्यास्तको समयमा वनका बिच खुला ठाउँमा रहेको खेतमा देखा परिरहेको एउटा ठुलो ढुङ्गानजिक पुगेर दमयन्ती अडिइन् ।

किंकर्तव्यविमूढ तथा सधैँ अपराजिता रहेकी तर त्यस वेला आफूलाई पराजित अनुभव गरेर विह्वल भएकी दमयन्ती तीन दिनसम्म जङ्गलको माझ विह्वल हुँदै र बाटामा पाएका कन्दमूल खाँदै हिँडिरहिन् । जङ्गलबिचका साना खुला ठाउँमा छसात घर भएका निषाद र नागको बसोबास देखिँदा ती घरसित समेत तर्सिएर दमयन्ती वन्यप्रान्तकै बाटो हिँडिरहिन् । एकान्त यात्रामा ती एक्ली नारीले आफू र वनस्पति तथा पशुपन्छी अनि नलबिच एकात्मकता रहे जस्तो अनुभव गर्ने गरिन् । वनको बाटामा आफ्नो सामान्य रक्षाका निम्ति तिनले हातमा एउटा लट्ठी लिएकी थिइन् । कुनै अजिङ्गर, कर्कोटक वा निषादयुवकले फेरि बलजफ्ती गर्न नपाओस् । त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचार गर्दै दमयन्तीले आफ्नो केशलाई धुलाले मुसारेर जगल्टा जस्तो बनाइन् । आफ्नो रूपलाई हिलो दलेर विकृत तुल्याइन् । मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा शरीरलाई जतिसुकै क्षतविक्षत तुल्याए पनि दमयन्तीको हृदय र बुद्धि भविष्यको उज्यालो आशामा नलप्रति झन् झन् बढी मुग्ध र कोमल हुँदै गयो । जहिले जुन रूपमा भए पनि आफ्ना पति नललाई आफूले अवश्य नै फेला पार्ने छु भन्नेमा तिनको विश्वास झन् झन् दृढ हुँदै गयो । तेस्रो दिनको साँझ सूर्यास्तको समयमा वनका बिच खुला ठाउँमा रहेको खेतमा देखा परिरहेको एउटा ठुलो ढुङ्गानजिक पुगेर दमयन्ती अडिइन् ।

तीनदेखि निद हराएकी दमयन्ती तुरुन्तै गहिरो निद्रामा परिन् । मध्यराततिर नललाई सम्झिएर बर्बराइरहेकी दमयन्तीको आँखा खुल्यो । कालोनिलो आकाशमा उत्तरतिर ध्रुवतारा त्यसको दाहिनेतिर साततारा र देब्रेतिर पाँच ताराका उज्याला तारामण्डलले तिनलाई मोहित तुल्यायो । पूर्वदेखि पश्चिमतिर केही दक्षिणतिर ढल्किएको आकाशगङ्गा दमयन्तीका दृष्टिमा सङ्गीतमय हुन थाल्यो । आकाश र पृथ्वी यस्ता सुन्दर छन् । तिनका बिच आफू एक्ली विरहिणी अवस्थामा अनुभव गरेर दमयन्ती कोमल मधुर स्वरमा वियोग र पीडाको गीत गाउन थालिन् । कति बेरसम्म तिनले गीत गाइन्, तिनले आफैँ थाहा पाइनन् । आकाशमा बिस्तारै बिस्तारै उभ्रिएर आउँदै पातला बादलले त्यो सुन्दर आकाशलाई दमयन्तीका हृदयमा धुमिल तुल्याउँदै लग्यो । बिस्तारै बिस्तारै दमयन्ती फेरि निदाइन् । यो पछिल्लो निद तिनका निम्ति बढी आनन्ददायी हुँदै गयो ।

आफ्नो सपनामा दमयन्तीले त्यो बाक्लो जङ्गलबिच त्यस्तै एउटा फराकिलो खुला ठाउँमा ऋषिहरूका आश्रमका छाप्रा देखिन् । त्यो आश्रमको चारैतिर मृग, मयूर, सुगा र गाईबाच्छा चरिरहेका देखेर मानवसामीप्य खोज्दै दमयन्ती ती छाप्रातिर अघि सरिन् । फेरि आक्रमण गर्छ कि कसैले भन्ने भयले गर्दा तिनका पाइला सुस्तरी उठिरहेका थिए ।

सपनामै तिनले मानव आवाज सुनिन्, ‘‘सुन्दरी !’’ आफ्नो रूपलाई आफैँले विकृत तुल्याइसकेकी तिनलाई सम्झना भयो तर पाइलो अघि सरिरह्यो ।

त्यही स्वर फेरि सुनियो, ‘‘तिमी को हौ ? वनदेवी, राक्षसी, यक्षी वा गन्धर्वी अथवा देवनारी कि मानवी ?’’ दमयन्तीलाई अचम्म लाग्यो, ‘‘सबै नै मानव नै त हुन् । मनुका सन्तान ।’’ सपनामा दमयन्ती मुसुक्क हाँसिन् । त्यो आश्रममा तिनले यथेष्ट मित्रता तथा सम्मानपूर्ण सत्कारका साथ भोजन गरिन् । सपनामा फेरि तिनले सुनिन्, ‘‘अझै उत्तरपट्टि हिँड्दै जाऊ, खोज्दै जाऊ, तिम्रो नल भेटिने छन् । नल पनि तिमीलाई खोज्दै अति पीडित हृदय लिएर तिमीतिरै आइरहेछन् ।’’

‘‘कहाँ थियौ यतिका दिनसम्म ?’’ भन्दै दमयन्ती चिसो ढुङ्गामाथि आफ्नो मुखमा सूर्यको सुनौलो प्रभाती किरणलाई अनुभव गर्दै ब्युँझिइन् । यथार्थ वस्तुस्थितिबारे दमयन्तीले बुझिन् । त्यस्तो सुखकारी सपना देखेकामा तिनी प्रसन्न भइन् र मुख पुछ्दै फेरि उत्तरतिरको बाटो लागिन् । केही बेरपछि एउटा सानो खोला देखियो । दमयन्तीले स्नान गरिन् । किनारामा केराको घारी थियो । केही काँचा, केही पाकेका केराको एक काँगियो नै तिनले खाइन् । दमयन्तीमा शक्ति र साहस फर्कियो । तिनी उत्तरतिर लागिन् ।

निकै बेर हिँडेपछि जङ्गलका बिचमा तिनले अस्पष्ट तर ठुलो आवाज सुनिन् । त्यो आवाज वन्यजन्तुको होइन भन्ने बुझेर तिनी केही पूर्वतिर त्यही आवाजतिर हिँड्दै रहिन् । केहीबेर हिँडेपछि दमयन्तीले घोडा, गोरु र गाडामा चढेका लगभग ५० देखि ६० जना मानिसको डफ्फा देखिन्, गाडा निकै थिए । गाडामाथि खरपातका घुमाउरा छाप्रा हालिएका थिए । सबै घोडा र गाईवस्तुका घाँटीमा साना घन्टी टिङटिङ बजिरहेको सुन्दा दमयन्ती हर्षोन्मत्त भइन् । त्यस्ती दमयन्तीलाई देखेर मानिस अगिल्लो गाडातिर डराउँदै, चिच्याउँदै, दौडिँदै गए । अगिल्लो गाडामा तिनीहरूले केही बेर कुरा गरेपछि उज्यालो सेतो लुगामाथि सुनको मुकुटलाई पहेँलो फेटाले बाँधेको, कम्मरमा चाँदीको बुट्टे पाताको माला पहिरी एउटा प्रौढ पुरुष निस्केर दमयन्तीतिर आयो । त्यस पुरुषले दमयन्तीको परिचय सोध्यो । आफ्नो परिचय दिएर सबै कुरा बताएपछि दमयन्तीले त्यस पुरुषको नाम र गन्तव्यस्थलबारे सोधिन् । त्यो पुरुष शुचिभद्र भन्ने सार्थवाह रहेछ । यक्षराज कुबेरको मित्र मणिभद्रको कुलमा शुचिभद्र जन्मिएको रहेछ । त्यो सार्थ काशीबाट अयोध्या हुँदै चेदीतिर जान हिँडेको रहेछ । दमयन्तीले निषध नलबारे बताइसकेकै थिइन् । शुचिभद्रको सार्थले कतै कहीँ नललाई देखेको थियो कि । राजा नलबारे केही सुनेको थियो कि भनी सोधिन् ।

शुचिभद्रलाई नलबारे केही थाहा थिएन । विदर्भकी कन्या दमयन्तीबारे सुनेर र कुरा गर्दा सेठ शुचिभद्रले तिनी शिथिल भएकीबारे बुझ्यो र भोजन गर्न आग्रह गर्‍यो । कैयौँ दिनपश्चात् दमयन्तीले मृगको सुकुटी, दही, भात र नुन हालेर उसिनेको कन्दमूल तथा दुध खाइन् । अचम्म मानेर तिनीतिर सेठ हेरिरह्यो । त्यसले भन्यो, ‘‘सुन्दरी वैदर्भी, चेदी ठुलो जनपद हो । नल त्यहीँ फेला होलान् नत्र तिनका बारे त्यहाँ थाहा पाइने छ । अहिले तिम्रो अवस्था कुनै निषादी जस्तो छ । तिम्रो शरीरमा यी झारपात अवश्य नै सुन्दर देखिन्छन् तर म तिमीलाई वस्त्र अर्पित गर्छु । ती वल्कलको परित्याग गर र आफ्नो कपाल पनि काँगियोले सम्याऊ ।’’

नललाई भेट्ने आशामा दमयन्तीलाई आफ्नो पूर्वसौन्दर्यको सम्झना भयो । तिनले वस्त्र फेर्न स्वीकार गरिन् तर साँझको स्नान र सन्ध्योपासनापछि मात्र भनिन् । शुचिभद्र सेठ आफ्नो गाडामा गयो । दमयन्ती एउटा गाडाको पछिल्लो बाँसको सहारा लिएर सार्थसँगै हिँड्न थालिन् । आधा कोसजति गएपछि मध्याह्नको सूर्यको रापले सेक्न थाल्दा शुचिभद्रको सार्थ पद्मसौबन्धिक भन्ने अति ठुलो तलाउको किनारमा जङ्गलबाट निस्केर पुग्यो ।

त्यो विशाल सरोवर अति रमणीय र सुन्दर थियो । राप र जङ्गलको उकुसमुकुसयुक्त निश्चलतामा पिल्सिएको र निस्सासिएको त्यो सार्थ एकैछिन सरोवरको किनारमा अड्यो । शुचिभद्रले भनेर केही युवकले सरोवरको किनारमा बस्न, नुहाउन र भोजन बनाउन मिल्ने ठाउँ खोजे । त्यस ठाउँमा पुगेपछि सार्थका खड्गधारी धनुर्धर रक्षक दलले आफ्नो ठाउँ लियो । सबै जना घोडा र गाडाबाट ओर्लिएर रुखका छहारीमा सुस्ताउन थाले । सार्थसँगसँगै पैदल आइरहेकामा विभिन्न रूप, रङ, भाषा र भेषका सातआठओटी नारी पनि थिए । ती नारीलाई देखेपछि दमयन्तीको मन चञ्चल भएर आँखा भिज्न थाले । दमयन्तीले तिनीहरूसित सामान्य कुरा गर्दै रुखका छहारीमा सुस्ताइन् । सार्थसँग गाडामा रहेका र पैदल यात्रीसमेतले केहीबेर सुस्ताएर सरोवरमा जलक्रीडा गरे । दमयन्ती पनि पानीमा उत्रिइन् र एक्लै पौडिँदै निकै टाढा टाढासम्म गइन् ।

सरोवरमा स्नानपछि शुचिभद्रले दमयन्तीलाई कालो धोती र दुकूलको ओढ्ने दियो । भोजनपश्चात् त्यो सार्थले निकै बेरसम्म त्यही सरोवरछेउ विश्राम गर्‍यो । विश्राम गर्दा घोडा र गाईगोरुलाई समेत नुहाइदिएर चर्न यताउति छोडिदियो ।

यात्राका निम्ति फेरि तयारी गर्दा सूर्य ढल्किन थालिसकेको थियो । उत्तरतिरको अगाडिको जङ्गल साह्रै नै बाक्लो र जङगली पशुले गर्दा रातको निम्ति डरलाग्दो छ भनी सार्थरक्षकहरूले भनेपछि त्यो रात सार्थले पद्मसौगन्धिककै छेउमा विश्राम गर्नु उचित हुने छ भनी सेठ शुचिभद्रले निर्णय लियो ।

सरोवर किनाराको खुला ठाउँमा गहिरो निद्रामा शुचिभद्र सार्थ सुतिरहँदा मध्यराततिर जङ्गली हात्तीको एउटा डफ्फा पानी खान भनी सरोवरतिर आयो । मध्यरातमा हात्तीद्वारा कुल्चिएर शुचिभद्र सार्थ ध्वस्त र विनष्ट भयो । सार्थबिच नरनारी तथा घोडा र साँढेहरूबिच हाहाकार मच्चियो । नारीहरूसँगै सुतेकी दमयन्तीले सुरुमै आफूलाई जोगाएर एउटा अग्लो रुखमा आश्रय लिइसकेकी थिइन् । तिनको सहायताले एउटी अर्की नारी रुखको अर्को हाँगामा बसिन् र हात्तीद्वारा भएको त्यो विनाशलाई दुवैले करुण दृष्टिले हेरिरहेका थिए । सार्थबाट उठेको हाहाकार चिल्लीबिल्ली र क्रन्दनले हात्तीलाई झन् तर्साएर उन्मत्त तुल्यायो । त्यो मध्यरातमा कतै केही देखिँदैन थियो । पानी खाएर हात्तीहरू तलाउबाट फर्किँदा बाँकी रहेको सार्थ झन् किचीमिची हुँदै गयो ।

बिहानको सूर्योदय हुँदा पनि क्षतविक्षत भएका केही नरनारीको ऐया र रोदन चलिरहेको थियो । रक्षक दल र पदयात्रीमध्ये रुख चढेकाहरू दशबाह्र जनाबाहेक सबै मरिसकेका नत्र असाध्य घाइते भइसकेका दमयन्तीले देखिन् । शुचिभद्रको छातीमै हात्तीको पाइला परेको रहेछ । रुखबाट ओर्लिएकी दमयन्तीले रुखमा आफूसँगै रहेकी नारीलाई भनिन्, हेर त बहिनी, सृष्टिकर्ताले मेरो यो शरीर जीवनभरि दुखै भोग्नका निम्ति बनाएको रहेछ तर हेर आज मेरा आँखामा यो बीभत्स दृश्यसामुसमेत आँसु छैनन् । कति पीडा भोगिसकेँ मैले । शुचिभद्रले दिएको यो वस्त्र मेरा निम्ति यत्रो अशुभ भयो । यसलाई म फ्याँक्छु ।’’ अर्की नारीले एउटी मृत नारीको कम्मरबाट रगतका टाटा लागेको मैलो कपडा ल्याइन् । दमयन्ती त्यसैमा बेरिइन् । दुवै नारी चेदीतिर हिँडे । उज्यालो हुँदै जाँदा बाटामा तिनले वैदिक मन्त्र गुनगुनाउँदै गएका केही ब्राह्मण र क्षेत्रीय पदयात्रीलाई भेटे । कोही कसैसँग बोलेनन् । सबै आआफ्नो बाटो लागे ।

सरोवरमा दुर्घटना भएको केही दिनपछि ती दुवै नारी चेदी जनपदको छेउमा पुगे । अर्की नारी आफ्नो गाउँतिर हिँडिन् । दमयन्तीले आफ्नो बाल्यकालको कुरा सम्झिन् । निकै सानी बालिकाको अवस्थामा रहेकी दमयन्तीले आफ्नी आमाबाट ठुलीआमाबारे कुरा सुनेकी थिइन्, ‘‘छोरी, तेरी ठुलीआमा मभन्दा निकै जेठी छन् । तँ जन्मिनेभन्दा निकै वर्ष पहिले मेरी दिदी सुनन्दालाई चेदीराज सुबाहुले अपहरण गरेर लगी आफ्नी पत्नी बनाएका थिए ।’’

त्यो सम्झनाले दमयन्तीमा ठुलो शङ्का उत्पन्न गर्‍यो, ‘‘सामुन्ने चेदी छ । त्यहाँ सुबाहु र ठुलीआमा सुनन्दा छन् । तिनले मलाई चिने भने नमिठो हुने छ तैपनि चेदी जानैपर्छ । नल फेला परिहाल्छन् कि ।’’

दमयन्तीले फेरि आफ्ना केश, वस्त्र र मुहारलाई विकृत तुल्याइन् । निषधराज नलबाट बिछोड भई हिँडेदेखि घाममा परेर तिनको मुहार र शरीर त्यसै पनि डढेर कालो भइसकेको थियो । चेदीभित्र पस्दा दमयन्तीलाई बौलाही जस्तै देखेर सडकका केटाकेटी हा हा हु हु गरी चिच्याउँदै गिज्याउँदै दमयन्तीका पछि लागे ।

चेदी नगरको मूल बाटाको पूर्वतिर काठको आफ्नो दुईतले घरको माथिल्लो बार्दलीमा बसेर रानी सुनन्दा सडकको रमिता हेरिरहेकी थिइन् । बौलाही जस्ती दमयन्तीमा ती वृद्धाको दृष्टि पर्‍यो । दमयन्तीको मुहारको ओज र देहयष्टितिर तिनको ध्यान गयो । आफ्नो सेवकलाई अराएर तिनले दमयन्तीलाई आफूछेउ बोलाइन् र परिचय सोधिन् । दमयन्तीले आफ्नो यथार्थ परिचय लुकाएर आफूले एउटा सम्भ्रान्त परिवारमा सेठकी पत्नीको सिँगारपटार गर्ने सुसारे भएर काम गर्ने गरेको बताइन् । आफ्नी युवती हुन लागेकी छोरीका निम्ति सुनन्दा कुशल सुसारेको खोजीमा थिइन् । सुनन्दाले दमयन्तीसामु आफ्नी छोरीको सुसारे सैरन्ध्रीको काम स्वीकार गर्न आग्रह गरिन् ।

तपाईँ रानी, मेरी मातासरह हुनुहुन्छ तथापि मेरा तीनओटा सर्तलाई स्वीकार गर्नुहुन्छ भने मात्र म यो काम गर्ने छु’’ भनिन् दमयन्तीले । ‘‘मैले कसैको जुठो खान नपरोस्, कसैको पाउ दाब्न नपरोस् र कुनै परपुरुषसित बोल्न नपरोस् ।’’ भन्ने आफ्नो सर्त प्रस्तुत गरिन् । सुनन्दाले तीनैओटा सर्तलाई स्वीकार गरेर छोरीलाई बोलाएर ‘‘तिमी सैरन्ध्री अबदेखि यिनको हेरविचार र स्याहारसुसारमा बस्नू’’ भनी आदेश दिइन् ।

‘‘तप निषधबाट नलसँगै निस्केकी दमयन्ती चेदी नगरमा आफ्नी ठुलीआमाको भवनमा सैरन्ध्रीका रूपमा रही निषधराज नललाई जसरी भए पनि खोजेर फेला पार्ने उपायबारे सन्तोषका साथ विचार गर्न थालिन् ।

कथा : अयोग्य-पात्र / सुवास खनाल

ऊ कथाकी पात्र हो । ऊ मतलव ‘शान्ति’ ।
एउटा अयोग्य पात्र ।
कथाका निम्ति भने हैन । कथाको निम्ति अयोग्य भएका भए त अहिले यो कथामा ऊ नभएर विप्लवी, आभा ,आशा यस्तै कुनै पात्रको स्थान हुन्थ्यो । कथाकी पात्र, यसको मतलब उसलाई कथाकारले आफ्नो विचारअनुसार खडा गर्न सक्थ्यो र त्यही उसको परिचय बन्न सक्थ्यो । तर कथाकी पात्र भएकै नाताले ऊ बदलिएकी छैन । कथाकारले उसलाई आफ्नो विचार अनुसार खडा गरेको छैन । कथा वास्तविकता नै मान्दा पनि फरक पर्दैन । त्यस हिसाबले ऊ पनि वास्तविक पात्र हुन सक्छे । पाठकका आँखामा विश्वसनीय ठहरिए वास्तविक र अविश्वसनीय ठहरिए अवास्तविक, यस्तै मानौँ ।
ऊ पात्र सङ्ख्यामा एक हो तर परिचय दुईवटा बनेको छ, यही कुरा नै सिद्घ भएको छ । यो लिङ्गको आधारमा हैन । उसको परिचय÷परिभाषा दुईवटा स्थापित छ ।
परिचय एक : ऊ एक जनताका निम्ति लड्ने क्रान्तिकारी साहसी योद्घा हो ।
परिचय दुई : ऊ एक आतङ्ककारी हो ।
समय असहज छ । देशमा विभेदका पर्खालहरू छन् । हुँदा खाने र हुनेखानेहरूका बीचमा ठूलो खाडल छ । गाउँमा सामन्तका अवशेषले खडा गरेका दुखका ठुला पर्खालहरू छन् । सहरमा पनि मजदूर तथा मालिकहरूका बीचमा विभेदका अनन्त शृङ्खला छन् । जन्मिनुको स्थान सन्दर्भका हिसाबले ऊ गाउँमा जन्मिई । कमजोर वर्गको परिवारमा जन्मेकी हुनाले विभेदले खडा गरेको पर्खाल र जञ्जीरहरू तोड्नुपर्छ भन्ने विचारबाट प्रशिक्षित भई । क्रान्तिकारी र जनताका निम्ति लड्ने सहयोद्धाको परिचय बोक्न पुगी वा यो परिचय बोक्नलाई उत्साहित गरियो ।
देशको परिस्थिति असहज छ । स्वतन्त्र ढङ्गले कुनै पनि विकासात्मक कार्यक्रम अगाडि बढाउन सम्भव भएको छैन । द्वन्द्वका बिउ रोपिएका छन् । राजनीतिक अस्थिरता लामो समयदेखि कायम छ । क्षणक्षणमा बदलिइरहने अल्टरनेटिङ करेन्टको ध्रुवजस्तै भएको छ परिस्थिति बदलिनु । सरकार बन्नु र ढल्नु भनेको डोरीको बलले एकछिन घुर्रा घुमेर फेरी ढल्नुजस्तै भएको छ । यस स्थितिमा गृहद्वन्द्व बढाउने जनसमूहको सदस्य बन्नु र त्यही दिशामा अघि बढ्नुले उसलाई राज्यको सरकारी निकायले आतङ्ककारीको परीभाषा दिएको छ ।
उसकी आमाले सानो हुँदा उसको शान्त स्वभावलाई सम्बोधन होस् भन्ने हिसाबले उसलाई ‘शान्ति’ नाम दिएकी थिइन्् । तर घर छाडेर हिँडेपछि धेरै भइसक्यो उसले आमालाई नभेटेको । उसलाई थाहा छ उसकी आमाले उसलाई धेरै माया गर्छिन् । यो परिस्थितिकोे बित्दो क्रमसँगै उसका थुप्रै साथिहरूको नाम परिवर्तन भयो । उदाहरणका रुपमा आभा, विप्लवी, परिवर्तन, ज्वाला, पृथक, अग्नि आकाश आदि । सो समय यी निकै चर्चित नामहरू थिए । तर ऊ भने आफ्नै नाम मोहमा फसेकी थिई । वा आमाले राखिदिएको नाम भएका कारण आमाको मायामा । उसको नाम परिवर्तन भएन । ऊ आमालाई असाध्यै माया गर्छे । त्यस विषयको सम्बोधन पनि हो उसले नाम परिवर्तन नगर्नु ।
‘यो बढि भावनात्मक छे, पार्टीको लागि यो विश्वसनीय मानिस होइन है ।’ यो उसले निकै पटक मानसिक तनाव व्यहोर्न झेलेको वाक्य हो –पार्टीभित्र । साथिहरू उसको स्वभावलाई आँकलन गरेर यसरी आरोपित गर्ने गर्दथे ।
– ‘मेरो संवेदनशीलता र भावनात्मकता मेरो निजत्व होइन र ?’ उसको एक मनले यसो भन्थ्यो ।
– ‘देश सङ्गीन घडीमा उभिएको बेला हामीले मुटु दरो पारेर शत्रुहरूसँग लड्नु आवश्यक छ ।’ अर्को मनको उत्तर यस्तो हुन्थ्यो ।

यी केही तरङ्गहरूले उसको मष्तिष्कमा भावावेगहरू ल्याइदिइरहन्छ ।

अगाडि बढ्नु बाध्यात्मक ठहरिन्छ । कारण के हो भने पछाडि फर्किने स्थिति शेष रहँदैन । राज्यले उनीहरूका निम्ति तय गरिदिएको दर्जाले तत्कालै जीवनको सहज बाटोतिरको अवतरण असम्भव भइसकेको थियो ।
ऊ एउटा डफ्फाको कमान्डर थिई । उसमा आफ्नो मोर्चाको कतिपय ठाउँमा भएको सहज विजयले ठूलो हौसला र खुसी ल्याइदिन्थ्यो । त्यसले उर्जा दिन्थ्यो र अबको यात्रामा विजय सधैँ हात लाग्छ भन्ने विश्वासमा हुन्थी । पार्टीको माथिल्लो तहबाट आउने निर्देशनलाई पालना गर्दै अगाडि बढ्ने प्रेरणा पाउँथी । बेलाबेलामा कवि गोपालप्रसाद रिमालले लेख्नुभएको –‘एक जुगमा एकदिन एकचोटि आउँछ……’ गीत सम्झिन्थी र त्यही दिनको पर्खाइमा रहनुपर्ने बोध गर्थी ।
कहिलेकाहीँ आफ्नो हात नियाल्थी । हातमा रेखाहरू कति स्पष्ट छन् । उसको पार्टीको मान्यता थियो– ‘ज्योतिषी र भविष्यवाणीलाई विश्वास गर्नु भ्रम हो । भाग्यमा विश्वास गर्नेहरू कर्मशील हुने चेष्टा गर्दैनन् ।’ पार्टीका प्रशिक्षणमा उसले यी कुराहरू सुन्दै आएकी थिई ।
ऊ सानामा आमाले उसको हात हेराउँदाका कुराहरू सन्झिन्थी । यो स्मरणलाई रोक्न खोजेपनि सम्भव हुँदैनथ्यो ।
– ‘ यो केटी बहुत लक्षिनकी छे ।’
– ‘ यसका हातहरू कोमल छन् । जीवनमा सुख पाउने देखिन्छ ।’
– ‘ हस्तरेखाहरू सुस्पष्ट छन् ।’
– ‘ समयले साथ दिएमा यसको भविष्य राम्रो देखिन्छ ।’
ज्योतिषले जोडेको ‘समयले साथ दिएमा’ भन्ने शब्दसमूहले उसमा ज्योतिष विश्वासमा कमी ल्याउन सहयोग पुर्‍याएको थियो ।
–‘समयले साथ दिएमा भन्ने कुरा नराखे पो पूर्ण विश्वास हुनु ।’ उसलाई आफ्नो यात्रा सही भएको चिन्तन गर्न तिनै शब्द समूहले सहयोग पुर्‍याउँथ्यो ।
आफ्ना कोमल हातहरूमा बन्दुक नसुहाएको भने उसलाई किन किन लागिरहन्थ्यो । सानो हुँदा उसलाई फूल रोप्नु, गोडमेल गर्नु र बगैँचा बनाउनुको खुब शौख थियो ।
‘शौख राख्नु हुन्न । कुनै पनि एउटा कुराप्रति बढी मोह राख्नु हुन्न । यसो गर्नु सामन्ती सोच हो । यो तोड्नुपर्छ ।’ उसले आन्तरिक प्रशिक्षणमा धेरै पटक सुनेको कुरा हुन् यीे ।
मनपर्ने–
फूल । कलम । साहस ।
अहिले बन्दुक उसको साथि भएको छ र उसलाई मन पर्नुु परेको छ ।
बन्दुक, जुन उसको वास्तविकता हो । योसँग उसको सफा सोच छैन । यसो भनौँ बन्दुकले सिर्जना गरेको द्वन्द्व उसमा रहेको छ । यो रहर होइन बाध्यता हो भन्ने सम्झेकी छे ।
‘कुन बन्दुकबाट सिर्जना सम्भव छ ?’ आफैँलाई प्रश्न गर्छे ।
‘निरपेक्ष हिंसाको विरोध गर्नु गलत हो । कुनै सही चीज प्राप्त गर्न यो आवश्यक पनि छ । नयाँ विरुवा हुर्काउन जीर्ण र ओगटेर बसेका काम नलाग्ने बूढा र धोद्रा रुखहरू फ्याँक्नै पर्छ । – आफैँलाई उत्तर दिने प्रयत्न गर्र्थीे ।
ऊ रजनीश ओशो पढ्दैथिई । र उसलाई ज्ञान भएको थियो कुनै वादको पछाडि लाग्नु, पिछलग्गु हुनु, अनुयायी हुनु परतन्त्रता हो तर ऊ जुन यात्रामा थिई त्यो एउटा विचारको यात्रा थियो । त्यसका उद्धेश्यहरू थिए । उसले पढेका आधारमा ऊ परतन्त्र थिई । ऊ सोच्न थालेकी थिई – ‘स्वतन्त्रता पनि परतन्त्रताको आडमा प्राप्त हुँदो रहेछ ।’
देश अर्को चरणमा प्रवेश भयो । सरकार र उसको पार्टीबीच शान्ति सम्झौता भयो । हिजो सम्मको यात्राको स्वरुप बदलियो । देशमा गणतन्त्र घोषणा गर्नेमा शान्तिपूर्ण आन्दोलन गर्ने दलहरू र सशस्त्र सङ्घर्ष गर्ने दलबीच सहमति भयो । परिवर्तन भयो, यसो त भनी नहालूँ । परिवर्तन हुने कुरा व्यवहारपरक सिद्ध हुनुपर्दछ । तर एउटा स्वरुप बदलियो । समयले अर्को गति लियो ।
सहर उस्तै छ । गाउँ उस्तै छ । समयले वृद्ध बनाउँदै लगेकाले उसकी आमा अझै असहज हुँदै गएकी छिन् । यो उसको अनुमान मात्र होइन । उसले अवस्था अनुकूल भएपछि आमासँग एक पटक भेटेकी थिई । भेटको समयमा आमा निकै खुसी भइन् तर आमा निकै कमजोर र मलिन हुँदै गएकी थिइन् । शरीर झनै जीर्ण हुँदै गएको उसले महशूश गरेकी थिई । हुन त दाजुभाउजुसँगै बस्ने आमाको बारे उसलाई उत्ति चिन्ता नभएपनि हुने हो तर आमाको प्रेमले कहिलेकाहीँ अत्यधिक तड्पाउँथ्यो । न्यास्रोले सताउँथ्यो । आमासँग बितेका पूराना दिनहरूका स्मरणमा भासिन पुग्थी ।
उनीहरू शिविरमा छन् । सबैले बुझ्ने र सहज भाषा –‘लडाकुका अस्थायी शिविर’ । सशस्त्र सङ्घर्षमा होमिएका लडाकुहरूलाई उचित व्यवस्थापन नभएसम्म राखिएको ठाउँ थियो– शिविर । ‘शान्ति, सम्झौता, लडाकु, अस्थायी शिविर, गणतन्त्र’ जस्ता शब्दहरू बढी प्रचलनमा रहेको समय रह्यो यो । यी शब्दहरूसँग सबै जानकार थिए । रेडियोमा बज्ने समाचार, चोकका चिया गफदेखि नेताहरूसँगका अन्तर्वार्ता सबैतिर यी शब्दहरू दोहोरिरहन्थे ।
शिविरमा उनीहरू छन् । यो समय लम्बिँदै गइरहेको छ । उनीहरूको व्यवस्थापनका निम्ति विविध निकायहरू गठित छन् । ती निकायहरू आफैँमा व्यवस्थापन हुन सकिरहेका छैनन् । चार महिना, आठ महिना हुँदै यो समय पनि लम्बिँदो छ ।
उसमा एउटा नयाँ अनुभूतिको सिलसिला सुरू भएको छ–आजभोली ।
–‘प्रेम’
उसमा पलाएको यो एउटा नितान्त नयाँ अनुभूति ।
‘केही सहारा नपाए पनि, पाएजस्तो । केही भविष्य नदेखे पनि, देखेजस्तो । यो एउटा भ्रम भनूँ भने सत्यजस्तो । सत्य भनूँ भ्रमजस्तो ।’
आजभोली ऊ शिविरकै एउटा पात्र मन पराउँछे ।
‘प्रेम के हो ?’
‘यो थाहा छैन । तर अनुभूति छ ।’
‘कस्तो अनुभूति ?’
‘त्यो पनि यस्तो भन्ने छैन । कहिले पीडाबोध हुन्छ कहिले खुशी । कहिले धेरै पाएजस्तो लाग्छ ,कहिले केही नपाएजस्तो । जहाँ कुनै विषय छैन, त्यहाँ धेरै ठूलो विषय देखिन्छ । जहाँ अत्यन्तै ठुलो विषय छ, त्यो निकै सानो भइदिन्छ । अमूर्त प्रेमको गहिराइमा उनीहरू कल्पनाझैँ हराएका छन् । कहाँ–कहाँ एकाकार हुन पुगेका छन् । अदृश्य उडानमा छन् । एउटा अपूर्व भविष्यसम्मको कल्पनामा खिचिएका छन् ,कुनै डोरीले तानिरहेको चङ्गाझैँ ।’
भविष्यकल्पना –
‘ऊ आमा हुनेछे । ऊ बाबु बन्नेछ । उनीहरूका बालबच्चा हुनेछन् । ऊ बच्चाहरूलाई भनेका कुरा नमान्दा हप्काउँदै हुनेछे । बालबच्चालाई हप्काएकामा बाबुचाहीँ उसलाई हप्काउँदै हुनेछ ।’
कथाकार यो भन्दा अघि बढ्न चाहेन । कथाकारले लेखेकै छ,उनीहरूमा भावनात्मक उतारचढावहरू अत्यन्तै आएका थिए ।
उता सरकारले एउटा मान्यता बनायो । जसमा उसले विश्वास गरेको दल पनि सहमत भयो । लडाकु मध्येका योग्यहरूलाई छानेर सरकारी सेनामा समायोजन गर्ने योजना बन्यो । अयोग्य सावित हुनेहरूलाई घर फर्काइने भयो ।
आज ऊ बसेको शिविरमा छनौटको कार्यक्रम थियो । सबै निर्णयकर्ताहरू भेला भए र योग्य तथा अयोग्य पात्रहरूको नामावली सार्वजनिक गरे र अयोग्यलाई शिविरबाट बिदाइ गरिने भयो ।
अन्तत: ऊ अयोग्य पात्र ठहरिई र क्याम्पबाट बाहिरिने भई । योग्य पात्र छनौटका केही आधारहरू थिए । ऊ आधारहरूका आधार रेखाभन्दा बाहिर परी । अर्को पात्र जो उसको रोजाइमा थियो । जसलाई ऊ प्रेम गर्थी । ऊ योग्य पात्र ठहरियो । ऊ क्याम्पबाट बाहिरिने भएन ।
ऊ क्याम्पबाट बाहिरिई । ( उसले कसरी सकी ?) । यो कथाकारलाई पनि थाहा छैन । कथाकारलाई यत्ति थाहा छ –ऊ बाहिरिई । ऊ जस्ता अरू केही पनि बाहिरिए । ऊ आँसु झार्दै गएकी थिई । पत्रिकाहरूले फोटो छापे उसका र उनीहरूका । त्यस दिन टेलिभिजन र रेडियोका रिपोर्ट पनि खुब राम्रो बन्यो ।
उसको हृदयभित्रको रहेको एउटा कथा कसैले क्यामरामा कैद गर्न सकेन । मनभित्रको ठूलो पीडा पत्रिकामा फोटो बनेर छापिएन । अयोग्य पात्रहरू बाहिरिएकोमा सरकार खुसी थियो । उसैका सङ्गठकहरूले पनि एउटा बोझ पन्छिएझैँ अनुभूति गरे ।
यो भन्दा पछि कथाकारलाई पनि थाहा छैन ।
कथाकारका अनुसार यो कथाको अन्त्य यहीँ हुन्छ ।
तर समाजमा यस्ता कथाहरूका अन्त्य भने भएका छैनन् ।

सुवास खनाल, मकवानपुर

केटा र केटी दुवै स्वरमा गीत गाउँथे किशोर कुमार / गाइने

भारतीय गायक किशोर कुमारको खास नाम आभासकुमार गाङ्गुली हो । उनले २ हजार हाराहारी गीतमा आवाज दिएका थिए । उनी गायक त हुँदैहुन्, राम्रा सङ्गीतकार र अभिनेता समेत हुन् ।

भनिन्छ, सानामा उनको स्वर निकै कर्कस थियो । सोही समयमा उनको एउटा औंलामा चोट लाग्यो । उतिखेर चोटपटकमा घरेलु औषधी लगाउने चलन थियो । औषधीले निकै चहराउँथ्यो । औषधीको समयमा उनी निकै रुन्थे । केही दिनसम्म यो क्रम चल्दै गएपछि उनको आवाजमा पूरापूर परिवर्तन भयो । बल्ल उनको कर्कस आवाज सुरिला आवाजमा बदलियो ।

उनलाई धेरै गायकहरू हंगामाबाज मान्थे । कोही कोही त उनलाई बेसूरका गायक पनि भन्थे ।

हाफ टिकेट फिल्ममा रहेको आँखे सिधी लगी गीत किशोर कुमारले केटा र केटी दुवैको स्वरमा आफैंले गीत गाएका हुन् ।

उनका बारेमा रमाइला किस्सा यसै सकिँदैनन् । एक पटक कसैले उनलाई गीत गाउनका लागि अनुरोध गरेछ । गीत गाउनुअगाडि आधा पैसा दिएको रहेछ, उनले त आधा गीत मात्रै गाएर टाप कसेछन् ।

एक पटक हाफ टिकेट नामक चलचित्रका लागि लता मङ्गेस्करसँग र किशोर कुमारको संयुक्त आवाजमा गीत रेकर्ड गराउनुपर्ने भएछ । कुनै कार्यक्रममा लता व्यस्त भएपछि उनले आफ्नो र लता मङ्गेस्कर गरी दुवैको आवाजमा आफैंले गाइदिएछन् । निर्देशकलाई यो आवाज राम्रो लागेछ र मङ्गेस्करको गीत नै रेकर्ड गराएनछन् । यस्तै अर्को एक कार्यक्रममा दादा बर्मनको अगाडी बर्मनकै आवाजमा उनकै गीत गाइदिएछन् । सराबी चलचित्रलाई नै चर्चित बनाएको गीत इंतहां हो गई इंतजार की बोलको गीत गाउँदा उनी टेबलमा लडिबुडि गर्दै गाएको प्रसङ्ग पनि छँदैछ ।

यस्ता किशोर कुमारको वैवाहिक जीवन भने चौपट नै भएछ । पहिलो विवाह केही वर्षमैं विदाई लिएपछि उनले चर्चित नायिका मधुवालासँग दोश्रो विवाह गरे । उनको निधनपछि अर्की अभिनेत्री योगिता बालीसँग विवाह गरे । २ वर्षमैं फेरि सो नाता टुङ्गियो र अर्की नायिकासँग चन्दा बर्मासँग विवाह गरे । विहेअघि बर्मालाई एक नायकले भनेका थिए अरे- किशोर कुमारले दायाँबायाँ कुरा गर्‍यो भने सिधै राखी बाँधिदिनु । नभन्दै यो सम्बन्ध पनि टिक्न सकेन । उनको पहिलो विवाहबाट एक र चौथो विवाहबाट एक सन्तानको जन्म भएको थियो ।

हिन्दी गीतको प्रशंसक कोही छन् भने उनीहरूको गीतको सूचीमा किशोर कुमारका गीत पक्कै रहनेछन् । उनै किशोर कुमारले ४ अगस्ट १९२९ मा जन्मिएका उनले १३ अक्टोबर १९९७ मा दुनियाँबाट विदा लिए । वैवाहिक असफलता रहे पनि उनले संसारमाझ सयौं वर्षपछिसम्मका लागि आफ्ना आवाज छोडेर गएका छन् ।

हार्दिक श्रद्धाञ्जली किशोर दा ।

कविता : आमा / स्नेहा पराजुली

खुसीले मेरो धोकोको बाटो त पाउन देऊ
जसले जे दिएको छ, त्यसलाई त्यहीँ फिर्ता दिने छु
बस् ! सही समय त आउन देऊ ।

सबै खुसी तिम्रf पाउमा हुने छन् आमा
धैर्य गरी मलाई पैसा कमाउन त देऊ
अहिले हाम्रो समय राम्रो छैन आमा
अरुलाई केही समयको लागि रमाउन त देऊ ।

खोजी ल्याउने छु हराएका ती सारा सुखहरू
याद छ, मलाई अफ्ठेरोमा साथ छोड्ने ती सारा मुखहरू
अब म आफन्त छन् भन्ने झुटो आशको साथ लिन्न
अफ्ठेरोमै हो आफ्नो अर्का चिन्ने
त्यसैले म यो समयलाई केही दोष दिन्न ।

कमाइ गर्नेबित्तिकै म मान्छे नै नरहने त होइन नि
तिम्रो अपमान गर्ने आफन्तलाई आमा
म फिटिक्कै मान्छे गन्ने छैन
छोरी पो जन्मिछे भनेर बिगार्ने ती मुखहरूलाई
भगाउने छु तिमीलाई सताउने ती सारा भूतहरूलाई ।

सुखका दिनहरू पक्कै आउने छन् आमा
समयलाई समयकै तरिकाले घुमाउन सिकेपछि
म पनि हेर्दै जाने छु अफ्ठेरोले तिमीलाई कसरी छुन्छ ?
मैले मेरो प्रगतिको लक्ष्मण रेखा तिम्रो वरपर छेकेपछि ।

म निरन्तर प्रयास गर्दै छु आमा
एकचोटि समयको खेललाई सिक्न त देऊ
सुख कसो नआउला र आमा त्यसपछि
आफ्नो भाग्य आफ्नै कर्मको कलमले लेख्न त देऊ ।

ममाथि अनेकन प्रश्न गर्नेहरूलाई छाडिदेऊ
ती प्रश्नहरूसँग मलाई लगाव हुने छ
आखिरमा उनीहरूको निम्ति आमा,
मेरो प्रगति नै सारा प्रश्नहरूको जवाफ हुनेछ ।


श्री महेन्द्र मा. वि., कक्षा १०, बकैया– ४, मकवानपुर

कविता : के हुँदै छ यहाँ ? / दिपिशा न्यौपाने

सानो छ नेपाल भन्दै,
झन् सानो बनाउन खोज्नेको कमी छैन यहाँ
देशलाई खोक्राउँदै,
आफ्नो खल्ती भर्नेको कमी छैन यहाँ
पुर्खाको परिश्रमले सिङ्गारिएको देशमा
हिंसा फैलाउनेको कमी छैन यहाँ
आफ्नो गोजी भर्दै,
बलात्कारीको साथ दिनेको कमी छैन यहाँ

मित्रताको हात बढाए झैँ गर्दै,
सीमा मिच्नेको कमी छैन यहाँ
गौतम बुद्ध जन्मेको देशमा
अशान्ति फैलाउनेको कमी छैन यहाँ
वीरताले जोगाएको देशमा,
आज वीरहरू नै छैनन् यहाँ
देशलाई माया गर्ने सपूतहरू,
कमै भेटिन्छन् यहाँ ।

मेरो स्वर्ग जस्तो देशलाई,
नर्क बनाउन खोज्नेको कमी छैन यहाँ
प्रकृतिले कुँदेको देशलाई,
ककसको कुदृष्टि लाग्दै छ यहाँ ?
सानो छ नेपाल भन्दै झन्
सानो बनाउन खोज्नेको कमी छैन यहाँ ।

हेटौँडा १६, मकवानपुर

कविता : छोरी / क्रिस्टिना कार्की

बिहान उठेर सधैँ गर्छे पूजापाठ
तर पाउँदिनन् कहिले छोराले जति साथ
सबैले भन्छन् छोरीलाई लक्ष्मी भनी है जान
अनि खाली किन गर्छन् उसैको अपमान ।

आएगए ती नेता चुनाव जितेर
छोरीलाई दिने अधिकार भनेर
सबैलाई चाहिन्छ छोरा नै छोरा
अनि बिहे गर्ने बेला खोज्छन् छोरी चैँ गोरा ।

सबैले भन्छन् पूजापाठ गरे कमाइन्छ पुण्य
छोरीलाई अपमान गर्ने घर सधैँ हुन्छ शून्य
सलाम ठोक्छु म त्यस्तो व्यक्तिलाई
जसले दिन्छ हक, अधिकार, सम्मान छोरीलाई ।
अरुले त बाबाकी परी भनेर जिस्काउँछन्
तर उनीहरूलाई के थाहा ममीले भाँडा माझ्न सिकाउँछन्
छोरीलाई कमजोर ठानी गर्छन् उसको अस्तित्वको अपहरण
बनेर देखाउँछे उसले यो नेपाली समाजको उदाहरण ।


बालजागृति सेकेन्डरी स्कुल, कक्षा–८

कविता : नेपाली वीर / सन्देश पौडेल

शान्तिका लागि
उडेका ती चरा देखेपछि
आँट आउँछ मलाई उनको नाम लेखेपछि
हो वीरहरू भन्दै छु म जो देशका लागि मरे
आफू माटोमा मिलेर पनि खुसीयाली छरे ।

कसैसँग नडराउने अनि आँटिला थिए वीर
दुइटा आँखा घुमाएर हेर्थे दशतिर ।
सबै थिए बलिया कोही थिएनन् कम
नेपालका वीर सुन्दा बढ्थ्यो सबको दम ।

हातमा खुकुरी भएपछि चाहिने थिएन साथी
रातो रगत बगाउदैँ हिँड्थे बालुवामाथि
नेपाललाई बचाउन कति दुःख गरे
देशकै लागि बाँचे अनि देशकै लागि मरे ।

मुटु झिकी राख्दा पनि वीरहरू बाँच्थे
आधा माया परिवारलाई आधा देशलाई साँच्थे
वीरताका लागि सहयोग गर्न बढाऊ अघि हात
हाम्रो देशलाई बचाउने सबलाई धन्यवाद ।

सन्देश पौडेल
महेन्द्र मा.वि. बकैया– ४, मकवानपुर

कविता : हाम्रो अभिभावक ‘पर्यावरण’ / सलिना गुर्मछान

पर्यावरण मेरी आमा,
जगत् मेरा बाबा
समस्त जीवको एक मात्र सहारा
पाइन्छ स्नेहको छहरा ।

समानता र न्यायको अभिव्यक्ति उही
सर्वगुणसम्पन्नको परिभाषा उही
सम्पन्नता र समृद्धताको उदाहरण उही
गाँस, बास र कपासको स्रोत पनि उही ।

जीवनको आशा पर्यावरण
जीवको अस्तित्व पर्यावरण
मानिसको पहिचान अनि स्वाभिमान प्रकृति
जगत्‌कै जीवन नै पर्यावरण ।

श्रापरुपी धारा बगाइदिन्छन्, माछा र भ्यागुता
काल बनी आउँछ परावैजनी किरण चराको जीवनमा
नयाँ नयाँ थरिथरिका क्यान्सर आमन्त्रण भैरहेछ स्वास्थ्यमा
निर्वाह गर्नुपर्छ नसोचेको जीवन लापरबाहीको परिणाममा ।

सायद प्रकृतिका हरेक अङ्ग प्रदूषणले विनाश गरेछ कि ?
प्रकृति रिसाई विश्व तापमान बढेको नै पो हो कि ?
सायद मानिसको कर्म प्रकृतिको मर्म नबुझेकै पो हो कि ?
तब न यो युगको चरम विकासमा पनि सन्तुष्ट नभएको हो कि ?

जय जय गीत निरन्तर गाइरहने छु
प्रकृति तिमीप्रति निरन्तर आभार रहिरहने छु
तिम्रो रङ्ग फेरि चम्काउने प्रयास गर्न सकूँ
तिम्रो स्वास्थ्यको सदा कामना गर्न सकूँ ।

सलिना गुर्मछान, हेटौँडा- १६

`आतोओडा´ उपन्यासमाथि गैंडाकोटमा चर्चा

गैंडाकोट, २० श्रावण ।

जानुका खतिवडाको उपन्यास `आतोओडा’ माथि गैँडाकोटमा बहस तथा अन्तरक्रिया गरिएको छ ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार आयोजित कार्यक्रममा सन्थाल जातिका दैनिकी बुनिएको समीक्षक सरिता तिवारीले बताउनु भएको छ । द कार्यक्रममा बोल्दै समीक्षक तिवारीले आतोओडा उपन्यासमा सन्थाल जातिका साधारण कुराका असाधारण पक्षहरू समेटिएको बताउनु भयो। उहाँले थप गर्नुभयो- `उपन्यासमा साधारण कुरालाई पनि मीठो गरी आख्यानीकरण गरिएको छ, सन्थाल समुदायको पहिचानलाई समाजशास्त्रीय ढंगले उल्लेख गरिएको छ´ । सन्थाल जातिको समग्र दु:ख, संघर्ष, परम्परालगायतका पक्षलाई समेटिएको सो पुस्तकको मूल्य ३३५ रुपैयाँ रहेको छ ।

अर्का वक्ता उदय अधिकारीले सन्थाल जातिको सम्बन्ध झापा बिद्रोहसँग जोडिएको बताउँदै लेखक खतिवडाले उपन्यासमा झापाको राजनीतिक घटनाक्रमलाई भने नजोडेको बताउनु भयो । `पुस्तकमा सन्थाल जातिको विविध प्रसङ्ग समेटिएता पनि सन्थाल जातिको समेत भूमिका जोडिएको झापाको राजनीतिक आन्दोलन भने पुस्तकले समेट्न सकेको छैन´, अधिकारीले भन्नुभयो । साथै सन्थाल भाषाका शब्दहरुको नेपाली अर्थ दिएर उपन्यासकारले पाठकलाई सजिलो पारिदिएको पनि उहाँले बताउनुभयो ।

अर्का वक्ता रमेश प्रभातले आख्यानकार जानुका खतिवडाको आतोओडा उपन्यास फूलमुनी, टुडुलगायत समस्त भूमिहीन सन्थाल जातिको कथा भएको र आफूहरु भूमिपुत्र भएर पनि भूमिहीन भएका कारण वर्षैपिच्छे बासका लागि ठाउँ फेरिरहनु पर्ने बाध्यतालाई यसमा मार्मिक रुपमा चित्रण गरिएको बताउनुभयो । ‘समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई नेपाली पाठकका सामु ल्याउनु उपन्यासकार जानुका खतिवडा र उनको आतोओडा उपन्यासको प्राप्ति हो ।´ उहाँले थप गर्नुभयो ।

झापाको गौरादहमा जन्मिएकी लेखक जानुका खतिवडाले विशेषगरी पूर्वीतराईमा बसोबास गर्ने र समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई यो उपन्यासले चित्रण गर्न खोजिएको पाइन्छ । लेखकले सन्थाल जातिसँगको आफ्नो संगत र उनीहरूको जीवनचर्या बारे राम्रोसँग देखे बुझेकाले आफ्नै सेरोफेरोको कथालाई उपन्यासमा उतारेको बताउनु भयो ।

कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटीले उपन्यासको मुख्य मुद्दा भूमिहीन सन्थालहरुको पीडा भएको बताउँदै किताबको पाण्डुलिपि पढेपछि नेपाली आख्यानजगतमा राम्रो किताब दिन सकिन्छ भनेर किताब प्रकाशन गरेको प्रकाश पार्नुभयो । आतोओडा उपन्यास पद्मश्री साहित्य पुरस्कार २०७९ को उत्कृष्ट १५ सुचीमा सुचीकृत छ ।

नारायणी रिसोर्टमा भएको कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गर्नु भएको हो ।
(चितवनबाट लेखाराम सापकोटाको सहयोगमा)

कविता : मेरो गाउँ / सासा अधिकारी

धुलोधुवाँ भन्दा पर मेरो गाउँ छ
हरियाली सुन्दर शान्त राम्रो ठाउँ छ
मकै र कोदोले जीवन चल्छ हाम्रो
हामीलाई त यहाँको परिवेश राम्रो

चर्को घाममा काम गर्ने भइसक्यो बानी
सानैमा सिन्दुर लाउन बाध्य छन् साना नानी
इन्टरनेट के हो केही थाहा छैन
काम र इमान्दारिता छाड्ने नै हैन ।

अङ्ग्रेजीमा हलो भन्न नजाने पनि
नेपालीमा भनिन्छ नमस्कार अनि
थाहा छैन जिमखाना गुन्द्रुक भात चल्छ
दुईचार पैसाले नै घरको चुलो बन्छ

बाखा र गाई नै हुन् हाम्रा राम्रा साथी,
आमाबुबाभन्दा अरु कोही छैनन् माथी
यस्तै छ जीवन कहिले तल र माथि
नेपाली हौँ हामी सबै मानिस हाम्रा साथी ।

नवोदय विद्यालय, हेटौँडा–४