मध्यरातमा कर्कोटक नागहरूको त्यो गाउँबाहिर घनघोर जङ्गलको एकान्त छाप्रामा उसलाई केही नभनी एक्लै परित्याग गरेर हिँड्ने निषधराज नललाई विदीर्ण हृदयले खोज्दै कोमलाङ्गी वैदर्भी दमयन्ती जङ्गलको गोरेटामा हिँडिरहिन् । दमयन्तीले नलसित आनन्दित र सुखी जीवन बिताएकी थिइन् । ती वर्षहरूमा तिनी आफ्नो चारैतिर जताततै नललाई मात्र देख्थिन् । कर्कोटक नागहरूको त्यो वनमा पनि तिनमा जताततै नलको भ्रम हुन थाल्यो ।
बौलाही झैँ प्रियतम नल ! कल्याणकर्ता निषधराज ! मेरी छोरी इन्द्रसेना र छोरो इन्द्रसेनका प्यारा पिता मेरा नल ! मलाई यसरी दुखित नतुल्याऊ, मबाट यसरी लुकेर नबस भन्दै बोटबिरुवासँग, फूल र लहरासँग रुँदै, पुकारा गर्दै दमयन्ती एकातिर हिँडिरहिन् ।
आफूसँगै नल छैनन् भन्नेमा विश्वस्त रहेर पनि दमयन्तीले विश्वास नै गर्न सकिनन् । अश्रुधाराले छोपिएका तिनका आँखाबाट तिनी प्रत्येक फूल र हरिया पातमा, वनको प्रत्येक सुगन्धमा, वनमा देखिने चराचुरुङ्गी, मृग र पशुहरूमा नलकै रूप देख्थिन् र फेरि आफैँसित तर्सिँदै आफूलाई समाल्थिन् तैपनि वियोगको त्यो उत्कट ज्वालामा दमयन्तीको हृदय भस्मीभूत हुँदै गयो ।
भोकी, अर्धनग्न, विक्षिप्त र शिथिल भएकी दमयन्तीलाई हिँड्न पनि गाह्रो भयो । तिनले एउटा पिपलबोटको फेदमा आश्रय लिइन् र दाहिने पाखुराको सिरान गरेर शून्य आकाशतिर हेर्दे पल्टिएर आफ्नो मनभित्र जीवनको अर्थ खोज्न थालिन् । बिहानदेखिकै शान्त तिनी एकान्तिक नारीका आँखा पनि शून्य आकाशमा नललाई खोज्दाखोज्दै निद्रालीन भए । सूर्य अस्ताउन केही समय बाँकी थियो । अस्ताउँदो सूर्यका कलिला पहेँला तेर्सा किरण दमयन्तीका मुहार र वक्षस्थलमा पर्न थाले ।
सपनामा दमयन्तीले नलको भाइ जुआडी पुष्करको कालो मुहारमा सेता दन्तपङ्क्ति र रातो पहेँलो आँखा देखिन् । सपनामा पुष्करले दमयन्तीलाई बोलाउँदै शिर सुम्सुम्याइरहेको थियो । दमयन्ती आतेसमा परेर निसास्सिएर ब्युँझिइन् । तिनले देखिन् एउटा भुसतिघ्रे, कालो, बलिष्ठको, डरलाग्दो नागजातिको पुरुष तिनको मुहारतिर कामुक दृष्टिले हेर्दै कपाल सुम्सुम्याइरहेको थियो । आत्तिएर दमयन्ती झ्वाट्ट उभिइन् र रक्षा माग्दै एकातिर दौडिन थालिन् । कर्कोटक जातिको त्यो नागले पनि दमयन्तीलाई समात्न खोज्दै पछि पछि दौडँदै आइरह्यो । ‘‘मलाई रक्षा गर !’’ जताततै चिच्याउँदै दौडिरहेकी दमयन्तीलाई केही बेरपछि त्यो कर्कोटकले समात्यो र जुरुक्क काँधमा बोकेर आफ्नो छाप्रोतिर दौडियो । दमयन्तीले आफूलाई पूर्णतः असुरक्षित र असहाय ठानिन् । कर्कोटकका काँधमा केही बेर छटपटाएपछि तिनी शान्त भइन् र आफ्नो रक्षाका उपायबारे विचार गर्न थालिन् ।
सूर्य अस्ताइसकेको थियो । कर्कोटकले आफ्नो छाप्राको पिँढीमा दमयन्तीलाई काँधबाट ओराल्यो । भुइँमा उभिएकी दमयन्तीले मुसुक्क हाँस्दै कर्कोटकलाई नमस्कार गरिन् र आफ्नो भोकबारे बताइन् । आफ्नो विजयमा त्यो नागयुवक प्रसन्न भयो । त्यसले पिँढीमा सुकुल ओछ्याएर त्यसमाथि बाघछाला हाल्दै ‘‘तिमी यहाँ सुखासनमा बस सुन्दरी, मसित नडराऊ । तिमी नारी हौ । म पुरुष हुँ । नारी र पुरुषको संयोग सृष्टिकारी हुने गर्छन् । यो संयोगमा त्रास किन ? हामी वार्तालाप गरौँ’’ भन्यो ।
नागयुवक दुष्टात्मा हो भन्ने कुरा त त्यसको कामुक आँखा र स्वरबाटै दमयन्तीले बुझिसकेकी थिइन् । उनले आफ्नो रक्षाको निम्ति उपाय खोज्न तिनले आफूलाई शान्त र संयत राखिन् र आफ्नो दुःख व्यथाबारे बताउन थालिन् । नागयुवकलाई आफ्नो कथा बताउँदा दमयन्तीले नलले जङ्गलको बाटो बिराएर हराएको कुरा मात्र गरिन् ।
‘‘यसको पति नल हरायो । वन एकान्त छ, त्यहाँका नाग नरनारीलाई यस्ती सुकुमारीलाई मैले नगरबाट हरण गरी ल्याएको हुँ भनी आफ्नो बहादुरीको बखान गरेर आफ्ना गाउँलेलाई प्रसन्न तुल्याउने छु । यी नारी मेरी भइसकिन् । यिनीसित राती सुखभोग गर्ने छु’’ भन्ने विचार गर्दै कर्कोटक नागले दमयन्तीसामु त्यहाँ कुरा गर्यो पनि । दमयन्तीले आपूmले रक्षक पाएर सन्तुष्ट भएको छु भनी आफ्नो प्रसन्नता जस्तो समेत प्रकट गरिन् । नागले दमयन्तीको भोकको कुरा सम्झियो र तिनका निम्ति कन्दमूल र दुधको खिरका साथ मृगको सुकुटी पकाउने र पोल्ने कुरा गर्यो, दमयन्ती खुसी भइन् ।
छाप्रामा आगो बालेर कर्कोटक नागयुवक भोजन पकाउनमा लाग्यो । बाहिर पिँढीमा निस्पट्ट अन्धकार छ । उज्यालो चाहियो भनेर दमयन्तीले चुलाबाट एउटा अगुल्टो मागेर पिँढीतिर लागिन् । दमयन्ती पाएर उन्मत्त र प्रसन्न भएको नागयुवकले छाप्राको कुनाबाट जौको जाँडको घैँटो ल्याएर आफू खाँदै दमयन्तीलाई पनि दियो । आफूलाई भोजनसँगै मात्र मदिरा मन पर्छ, त्यस वेला मात्र खाने छु बरु तिमी आफूले खाऊ भन्दै दमयन्तीले मायालु हातले नागयुवकलाई मदिरा खुवाउँदै रहिन् । कन्दमूलको खिर पकाउँदा पकाउँदै कर्कोटक उङ्न थाल्यो । दमयन्तीले छाप्राको ढोका र पिँढीमा जाँड पोखेर अगुल्टाले ढोकाको जाँड र छाप्रामा आगो लगाइदिइन् र त्यहाँबाट पूर्व दिशामा सुइँकुच्चा ठोकिन् । कर्कोटक नागयुवकबाट त्यसरी छुटकारा लिए पनि एक कोस पूर्वतिर गएर दमयन्तीले शिंशपा रुखका हाँगामा सावधान बसी रात गुजारिन् ।
किंकर्तव्यविमूढ तथा सधैँ अपराजिता रहेकी तर त्यस वेला आफूलाई पराजित अनुभव गरेर विह्वल भएकी दमयन्ती तीन दिनसम्म जङ्गलको माझ विह्वल हुँदै र बाटामा पाएका कन्दमूल खाँदै हिँडिरहिन् । जङ्गलबिचका साना खुला ठाउँमा छसात घर भएका निषाद र नागको बसोबास देखिँदा ती घरसित समेत तर्सिएर दमयन्ती वन्यप्रान्तकै बाटो हिँडिरहिन् । एकान्त यात्रामा ती एक्ली नारीले आफू र वनस्पति तथा पशुपन्छी अनि नलबिच एकात्मकता रहे जस्तो अनुभव गर्ने गरिन् । वनको बाटामा आफ्नो सामान्य रक्षाका निम्ति तिनले हातमा एउटा लट्ठी लिएकी थिइन् । कुनै अजिङ्गर, कर्कोटक वा निषादयुवकले फेरि बलजफ्ती गर्न नपाओस् । त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचार गर्दै दमयन्तीले आफ्नो केशलाई धुलाले मुसारेर जगल्टा जस्तो बनाइन् । आफ्नो रूपलाई हिलो दलेर विकृत तुल्याइन् । मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा शरीरलाई जतिसुकै क्षतविक्षत तुल्याए पनि दमयन्तीको हृदय र बुद्धि भविष्यको उज्यालो आशामा नलप्रति झन् झन् बढी मुग्ध र कोमल हुँदै गयो । जहिले जुन रूपमा भए पनि आफ्ना पति नललाई आफूले अवश्य नै फेला पार्ने छु भन्नेमा तिनको विश्वास झन् झन् दृढ हुँदै गयो । तेस्रो दिनको साँझ सूर्यास्तको समयमा वनका बिच खुला ठाउँमा रहेको खेतमा देखा परिरहेको एउटा ठुलो ढुङ्गानजिक पुगेर दमयन्ती अडिइन् ।
किंकर्तव्यविमूढ तथा सधैँ अपराजिता रहेकी तर त्यस वेला आफूलाई पराजित अनुभव गरेर विह्वल भएकी दमयन्ती तीन दिनसम्म जङ्गलको माझ विह्वल हुँदै र बाटामा पाएका कन्दमूल खाँदै हिँडिरहिन् । जङ्गलबिचका साना खुला ठाउँमा छसात घर भएका निषाद र नागको बसोबास देखिँदा ती घरसित समेत तर्सिएर दमयन्ती वन्यप्रान्तकै बाटो हिँडिरहिन् । एकान्त यात्रामा ती एक्ली नारीले आफू र वनस्पति तथा पशुपन्छी अनि नलबिच एकात्मकता रहे जस्तो अनुभव गर्ने गरिन् । वनको बाटामा आफ्नो सामान्य रक्षाका निम्ति तिनले हातमा एउटा लट्ठी लिएकी थिइन् । कुनै अजिङ्गर, कर्कोटक वा निषादयुवकले फेरि बलजफ्ती गर्न नपाओस् । त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचार गर्दै दमयन्तीले आफ्नो केशलाई धुलाले मुसारेर जगल्टा जस्तो बनाइन् । आफ्नो रूपलाई हिलो दलेर विकृत तुल्याइन् । मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा शरीरलाई जतिसुकै क्षतविक्षत तुल्याए पनि दमयन्तीको हृदय र बुद्धि भविष्यको उज्यालो आशामा नलप्रति झन् झन् बढी मुग्ध र कोमल हुँदै गयो । जहिले जुन रूपमा भए पनि आफ्ना पति नललाई आफूले अवश्य नै फेला पार्ने छु भन्नेमा तिनको विश्वास झन् झन् दृढ हुँदै गयो । तेस्रो दिनको साँझ सूर्यास्तको समयमा वनका बिच खुला ठाउँमा रहेको खेतमा देखा परिरहेको एउटा ठुलो ढुङ्गानजिक पुगेर दमयन्ती अडिइन् ।
तीनदेखि निद हराएकी दमयन्ती तुरुन्तै गहिरो निद्रामा परिन् । मध्यराततिर नललाई सम्झिएर बर्बराइरहेकी दमयन्तीको आँखा खुल्यो । कालोनिलो आकाशमा उत्तरतिर ध्रुवतारा त्यसको दाहिनेतिर साततारा र देब्रेतिर पाँच ताराका उज्याला तारामण्डलले तिनलाई मोहित तुल्यायो । पूर्वदेखि पश्चिमतिर केही दक्षिणतिर ढल्किएको आकाशगङ्गा दमयन्तीका दृष्टिमा सङ्गीतमय हुन थाल्यो । आकाश र पृथ्वी यस्ता सुन्दर छन् । तिनका बिच आफू एक्ली विरहिणी अवस्थामा अनुभव गरेर दमयन्ती कोमल मधुर स्वरमा वियोग र पीडाको गीत गाउन थालिन् । कति बेरसम्म तिनले गीत गाइन्, तिनले आफैँ थाहा पाइनन् । आकाशमा बिस्तारै बिस्तारै उभ्रिएर आउँदै पातला बादलले त्यो सुन्दर आकाशलाई दमयन्तीका हृदयमा धुमिल तुल्याउँदै लग्यो । बिस्तारै बिस्तारै दमयन्ती फेरि निदाइन् । यो पछिल्लो निद तिनका निम्ति बढी आनन्ददायी हुँदै गयो ।
आफ्नो सपनामा दमयन्तीले त्यो बाक्लो जङ्गलबिच त्यस्तै एउटा फराकिलो खुला ठाउँमा ऋषिहरूका आश्रमका छाप्रा देखिन् । त्यो आश्रमको चारैतिर मृग, मयूर, सुगा र गाईबाच्छा चरिरहेका देखेर मानवसामीप्य खोज्दै दमयन्ती ती छाप्रातिर अघि सरिन् । फेरि आक्रमण गर्छ कि कसैले भन्ने भयले गर्दा तिनका पाइला सुस्तरी उठिरहेका थिए ।
सपनामै तिनले मानव आवाज सुनिन्, ‘‘सुन्दरी !’’ आफ्नो रूपलाई आफैँले विकृत तुल्याइसकेकी तिनलाई सम्झना भयो तर पाइलो अघि सरिरह्यो ।
त्यही स्वर फेरि सुनियो, ‘‘तिमी को हौ ? वनदेवी, राक्षसी, यक्षी वा गन्धर्वी अथवा देवनारी कि मानवी ?’’ दमयन्तीलाई अचम्म लाग्यो, ‘‘सबै नै मानव नै त हुन् । मनुका सन्तान ।’’ सपनामा दमयन्ती मुसुक्क हाँसिन् । त्यो आश्रममा तिनले यथेष्ट मित्रता तथा सम्मानपूर्ण सत्कारका साथ भोजन गरिन् । सपनामा फेरि तिनले सुनिन्, ‘‘अझै उत्तरपट्टि हिँड्दै जाऊ, खोज्दै जाऊ, तिम्रो नल भेटिने छन् । नल पनि तिमीलाई खोज्दै अति पीडित हृदय लिएर तिमीतिरै आइरहेछन् ।’’
‘‘कहाँ थियौ यतिका दिनसम्म ?’’ भन्दै दमयन्ती चिसो ढुङ्गामाथि आफ्नो मुखमा सूर्यको सुनौलो प्रभाती किरणलाई अनुभव गर्दै ब्युँझिइन् । यथार्थ वस्तुस्थितिबारे दमयन्तीले बुझिन् । त्यस्तो सुखकारी सपना देखेकामा तिनी प्रसन्न भइन् र मुख पुछ्दै फेरि उत्तरतिरको बाटो लागिन् । केही बेरपछि एउटा सानो खोला देखियो । दमयन्तीले स्नान गरिन् । किनारामा केराको घारी थियो । केही काँचा, केही पाकेका केराको एक काँगियो नै तिनले खाइन् । दमयन्तीमा शक्ति र साहस फर्कियो । तिनी उत्तरतिर लागिन् ।
निकै बेर हिँडेपछि जङ्गलका बिचमा तिनले अस्पष्ट तर ठुलो आवाज सुनिन् । त्यो आवाज वन्यजन्तुको होइन भन्ने बुझेर तिनी केही पूर्वतिर त्यही आवाजतिर हिँड्दै रहिन् । केहीबेर हिँडेपछि दमयन्तीले घोडा, गोरु र गाडामा चढेका लगभग ५० देखि ६० जना मानिसको डफ्फा देखिन्, गाडा निकै थिए । गाडामाथि खरपातका घुमाउरा छाप्रा हालिएका थिए । सबै घोडा र गाईवस्तुका घाँटीमा साना घन्टी टिङटिङ बजिरहेको सुन्दा दमयन्ती हर्षोन्मत्त भइन् । त्यस्ती दमयन्तीलाई देखेर मानिस अगिल्लो गाडातिर डराउँदै, चिच्याउँदै, दौडिँदै गए । अगिल्लो गाडामा तिनीहरूले केही बेर कुरा गरेपछि उज्यालो सेतो लुगामाथि सुनको मुकुटलाई पहेँलो फेटाले बाँधेको, कम्मरमा चाँदीको बुट्टे पाताको माला पहिरी एउटा प्रौढ पुरुष निस्केर दमयन्तीतिर आयो । त्यस पुरुषले दमयन्तीको परिचय सोध्यो । आफ्नो परिचय दिएर सबै कुरा बताएपछि दमयन्तीले त्यस पुरुषको नाम र गन्तव्यस्थलबारे सोधिन् । त्यो पुरुष शुचिभद्र भन्ने सार्थवाह रहेछ । यक्षराज कुबेरको मित्र मणिभद्रको कुलमा शुचिभद्र जन्मिएको रहेछ । त्यो सार्थ काशीबाट अयोध्या हुँदै चेदीतिर जान हिँडेको रहेछ । दमयन्तीले निषध नलबारे बताइसकेकै थिइन् । शुचिभद्रको सार्थले कतै कहीँ नललाई देखेको थियो कि । राजा नलबारे केही सुनेको थियो कि भनी सोधिन् ।
शुचिभद्रलाई नलबारे केही थाहा थिएन । विदर्भकी कन्या दमयन्तीबारे सुनेर र कुरा गर्दा सेठ शुचिभद्रले तिनी शिथिल भएकीबारे बुझ्यो र भोजन गर्न आग्रह गर्यो । कैयौँ दिनपश्चात् दमयन्तीले मृगको सुकुटी, दही, भात र नुन हालेर उसिनेको कन्दमूल तथा दुध खाइन् । अचम्म मानेर तिनीतिर सेठ हेरिरह्यो । त्यसले भन्यो, ‘‘सुन्दरी वैदर्भी, चेदी ठुलो जनपद हो । नल त्यहीँ फेला होलान् नत्र तिनका बारे त्यहाँ थाहा पाइने छ । अहिले तिम्रो अवस्था कुनै निषादी जस्तो छ । तिम्रो शरीरमा यी झारपात अवश्य नै सुन्दर देखिन्छन् तर म तिमीलाई वस्त्र अर्पित गर्छु । ती वल्कलको परित्याग गर र आफ्नो कपाल पनि काँगियोले सम्याऊ ।’’
नललाई भेट्ने आशामा दमयन्तीलाई आफ्नो पूर्वसौन्दर्यको सम्झना भयो । तिनले वस्त्र फेर्न स्वीकार गरिन् तर साँझको स्नान र सन्ध्योपासनापछि मात्र भनिन् । शुचिभद्र सेठ आफ्नो गाडामा गयो । दमयन्ती एउटा गाडाको पछिल्लो बाँसको सहारा लिएर सार्थसँगै हिँड्न थालिन् । आधा कोसजति गएपछि मध्याह्नको सूर्यको रापले सेक्न थाल्दा शुचिभद्रको सार्थ पद्मसौबन्धिक भन्ने अति ठुलो तलाउको किनारमा जङ्गलबाट निस्केर पुग्यो ।
त्यो विशाल सरोवर अति रमणीय र सुन्दर थियो । राप र जङ्गलको उकुसमुकुसयुक्त निश्चलतामा पिल्सिएको र निस्सासिएको त्यो सार्थ एकैछिन सरोवरको किनारमा अड्यो । शुचिभद्रले भनेर केही युवकले सरोवरको किनारमा बस्न, नुहाउन र भोजन बनाउन मिल्ने ठाउँ खोजे । त्यस ठाउँमा पुगेपछि सार्थका खड्गधारी धनुर्धर रक्षक दलले आफ्नो ठाउँ लियो । सबै जना घोडा र गाडाबाट ओर्लिएर रुखका छहारीमा सुस्ताउन थाले । सार्थसँगसँगै पैदल आइरहेकामा विभिन्न रूप, रङ, भाषा र भेषका सातआठओटी नारी पनि थिए । ती नारीलाई देखेपछि दमयन्तीको मन चञ्चल भएर आँखा भिज्न थाले । दमयन्तीले तिनीहरूसित सामान्य कुरा गर्दै रुखका छहारीमा सुस्ताइन् । सार्थसँग गाडामा रहेका र पैदल यात्रीसमेतले केहीबेर सुस्ताएर सरोवरमा जलक्रीडा गरे । दमयन्ती पनि पानीमा उत्रिइन् र एक्लै पौडिँदै निकै टाढा टाढासम्म गइन् ।
सरोवरमा स्नानपछि शुचिभद्रले दमयन्तीलाई कालो धोती र दुकूलको ओढ्ने दियो । भोजनपश्चात् त्यो सार्थले निकै बेरसम्म त्यही सरोवरछेउ विश्राम गर्यो । विश्राम गर्दा घोडा र गाईगोरुलाई समेत नुहाइदिएर चर्न यताउति छोडिदियो ।
यात्राका निम्ति फेरि तयारी गर्दा सूर्य ढल्किन थालिसकेको थियो । उत्तरतिरको अगाडिको जङ्गल साह्रै नै बाक्लो र जङगली पशुले गर्दा रातको निम्ति डरलाग्दो छ भनी सार्थरक्षकहरूले भनेपछि त्यो रात सार्थले पद्मसौगन्धिककै छेउमा विश्राम गर्नु उचित हुने छ भनी सेठ शुचिभद्रले निर्णय लियो ।
सरोवर किनाराको खुला ठाउँमा गहिरो निद्रामा शुचिभद्र सार्थ सुतिरहँदा मध्यराततिर जङ्गली हात्तीको एउटा डफ्फा पानी खान भनी सरोवरतिर आयो । मध्यरातमा हात्तीद्वारा कुल्चिएर शुचिभद्र सार्थ ध्वस्त र विनष्ट भयो । सार्थबिच नरनारी तथा घोडा र साँढेहरूबिच हाहाकार मच्चियो । नारीहरूसँगै सुतेकी दमयन्तीले सुरुमै आफूलाई जोगाएर एउटा अग्लो रुखमा आश्रय लिइसकेकी थिइन् । तिनको सहायताले एउटी अर्की नारी रुखको अर्को हाँगामा बसिन् र हात्तीद्वारा भएको त्यो विनाशलाई दुवैले करुण दृष्टिले हेरिरहेका थिए । सार्थबाट उठेको हाहाकार चिल्लीबिल्ली र क्रन्दनले हात्तीलाई झन् तर्साएर उन्मत्त तुल्यायो । त्यो मध्यरातमा कतै केही देखिँदैन थियो । पानी खाएर हात्तीहरू तलाउबाट फर्किँदा बाँकी रहेको सार्थ झन् किचीमिची हुँदै गयो ।
बिहानको सूर्योदय हुँदा पनि क्षतविक्षत भएका केही नरनारीको ऐया र रोदन चलिरहेको थियो । रक्षक दल र पदयात्रीमध्ये रुख चढेकाहरू दशबाह्र जनाबाहेक सबै मरिसकेका नत्र असाध्य घाइते भइसकेका दमयन्तीले देखिन् । शुचिभद्रको छातीमै हात्तीको पाइला परेको रहेछ । रुखबाट ओर्लिएकी दमयन्तीले रुखमा आफूसँगै रहेकी नारीलाई भनिन्, हेर त बहिनी, सृष्टिकर्ताले मेरो यो शरीर जीवनभरि दुखै भोग्नका निम्ति बनाएको रहेछ तर हेर आज मेरा आँखामा यो बीभत्स दृश्यसामुसमेत आँसु छैनन् । कति पीडा भोगिसकेँ मैले । शुचिभद्रले दिएको यो वस्त्र मेरा निम्ति यत्रो अशुभ भयो । यसलाई म फ्याँक्छु ।’’ अर्की नारीले एउटी मृत नारीको कम्मरबाट रगतका टाटा लागेको मैलो कपडा ल्याइन् । दमयन्ती त्यसैमा बेरिइन् । दुवै नारी चेदीतिर हिँडे । उज्यालो हुँदै जाँदा बाटामा तिनले वैदिक मन्त्र गुनगुनाउँदै गएका केही ब्राह्मण र क्षेत्रीय पदयात्रीलाई भेटे । कोही कसैसँग बोलेनन् । सबै आआफ्नो बाटो लागे ।
सरोवरमा दुर्घटना भएको केही दिनपछि ती दुवै नारी चेदी जनपदको छेउमा पुगे । अर्की नारी आफ्नो गाउँतिर हिँडिन् । दमयन्तीले आफ्नो बाल्यकालको कुरा सम्झिन् । निकै सानी बालिकाको अवस्थामा रहेकी दमयन्तीले आफ्नी आमाबाट ठुलीआमाबारे कुरा सुनेकी थिइन्, ‘‘छोरी, तेरी ठुलीआमा मभन्दा निकै जेठी छन् । तँ जन्मिनेभन्दा निकै वर्ष पहिले मेरी दिदी सुनन्दालाई चेदीराज सुबाहुले अपहरण गरेर लगी आफ्नी पत्नी बनाएका थिए ।’’
त्यो सम्झनाले दमयन्तीमा ठुलो शङ्का उत्पन्न गर्यो, ‘‘सामुन्ने चेदी छ । त्यहाँ सुबाहु र ठुलीआमा सुनन्दा छन् । तिनले मलाई चिने भने नमिठो हुने छ तैपनि चेदी जानैपर्छ । नल फेला परिहाल्छन् कि ।’’
दमयन्तीले फेरि आफ्ना केश, वस्त्र र मुहारलाई विकृत तुल्याइन् । निषधराज नलबाट बिछोड भई हिँडेदेखि घाममा परेर तिनको मुहार र शरीर त्यसै पनि डढेर कालो भइसकेको थियो । चेदीभित्र पस्दा दमयन्तीलाई बौलाही जस्तै देखेर सडकका केटाकेटी हा हा हु हु गरी चिच्याउँदै गिज्याउँदै दमयन्तीका पछि लागे ।
चेदी नगरको मूल बाटाको पूर्वतिर काठको आफ्नो दुईतले घरको माथिल्लो बार्दलीमा बसेर रानी सुनन्दा सडकको रमिता हेरिरहेकी थिइन् । बौलाही जस्ती दमयन्तीमा ती वृद्धाको दृष्टि पर्यो । दमयन्तीको मुहारको ओज र देहयष्टितिर तिनको ध्यान गयो । आफ्नो सेवकलाई अराएर तिनले दमयन्तीलाई आफूछेउ बोलाइन् र परिचय सोधिन् । दमयन्तीले आफ्नो यथार्थ परिचय लुकाएर आफूले एउटा सम्भ्रान्त परिवारमा सेठकी पत्नीको सिँगारपटार गर्ने सुसारे भएर काम गर्ने गरेको बताइन् । आफ्नी युवती हुन लागेकी छोरीका निम्ति सुनन्दा कुशल सुसारेको खोजीमा थिइन् । सुनन्दाले दमयन्तीसामु आफ्नी छोरीको सुसारे सैरन्ध्रीको काम स्वीकार गर्न आग्रह गरिन् ।
तपाईँ रानी, मेरी मातासरह हुनुहुन्छ तथापि मेरा तीनओटा सर्तलाई स्वीकार गर्नुहुन्छ भने मात्र म यो काम गर्ने छु’’ भनिन् दमयन्तीले । ‘‘मैले कसैको जुठो खान नपरोस्, कसैको पाउ दाब्न नपरोस् र कुनै परपुरुषसित बोल्न नपरोस् ।’’ भन्ने आफ्नो सर्त प्रस्तुत गरिन् । सुनन्दाले तीनैओटा सर्तलाई स्वीकार गरेर छोरीलाई बोलाएर ‘‘तिमी सैरन्ध्री अबदेखि यिनको हेरविचार र स्याहारसुसारमा बस्नू’’ भनी आदेश दिइन् ।
‘‘तप निषधबाट नलसँगै निस्केकी दमयन्ती चेदी नगरमा आफ्नी ठुलीआमाको भवनमा सैरन्ध्रीका रूपमा रही निषधराज नललाई जसरी भए पनि खोजेर फेला पार्ने उपायबारे सन्तोषका साथ विचार गर्न थालिन् ।









