Home Blog Page 86

वातावरण दिवसको अवसरमा खुल्ला कविता प्रतियोगितामा राना प्रथम

मकवानपुर । हेटौंडामा पर्यावरण सम्बन्धी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । विश्व वातावरण दिवस– २०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित साताव्यापी कार्यक्रम अन्तरगत बुधबार उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

सर्जक सञ्जाल मकवानपुरको संयोजन तथा व्यवस्थापन सञ्चालित प्रतियोगितामा ३३ जना कविहरूले कविता बाचन गरेका थिए ।

प्रतियोगितामा रिजन राना प्रथम, किशन पौडेल द्वितिय, बैकुन्ठ लामिछाने तृतिय, ईश्वर थापा र स्वस्तिका बानियाँ सान्त्वना भएका छन् ।
विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार, ७५ सय र ५र५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र विश्व वातावरण दिवसको समापन कार्यक्रमका दिन प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवम् समितिका सल्लाहकार ज्ञानबहादुर थापा, सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिल, समाजसेवी मुक्ति गोविन्द वैध्य, प्रगतिशिल लेखक संघका केन्द्रिय सदस्य मसान उपासक, नेपाली लेखक संघका छवि अनित्य, साहित्य संगम मकवानपुरका सानु खनाल, मातृभूमि साहित्य समाजका माधव पोखरेल, गजल मंच मकवानपुरका संजित श्रेष्ठ, पत्रकार सुरेश श्रेष्ठ, समितिका सल्लाहकार श्याम प्रसाद श्रेष्ठ, गणेश कुमार श्रेष्ठ, कविहरू दिपक गौतम, शान्ति प्रिय बन्दना, श्याम कुमार बानियाँ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

#सर्जक सञ्जाल मकवानपुर# #टोल विकास संस्था नगर समन्वय समिति# #विश्व वातावरण दिवस– २०८०#

झरनाको साहित्यिक पदयात्रा हेटौँडाबाट बकैयाको लटारम्भेश्वरसम्म

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा २९० औँ साहित्य शृङ्खलाका अवसरमा मकवानपुरको बकैया–१२ ठिङ्गनस्थित महाभारत पर्वत श्रृङ्खलामा रहेको लटारम्भेश्वर मन्दिरसम्मको करिब १८ किलोमिटरको पदयात्रा कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

पदयात्रामा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता भएको सो यात्रामा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, बकैया गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाल, बकैयाका वडाका अध्यक्षहरू ज्ञानेन्द्र बजगाई, गोपालबहादुर न्यासुर, टंकध्वलज लोप्चन, बिष्णु नेगी र लक्ष्मी जिम्बा, कार्यपालिका सदस्यहरू लक्ष्मी माझी र दीपकुमारी बिश्वकर्मा, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाल, नेपाली भाषा शिक्षक समितिका अध्यक्ष केशव सञ्जेल, गजल मञ्च मकवानपुरका अध्यक्ष  केशव समर्पण, नेपाली लेखक सङ्घका अध्यक्ष छवि अनित्य,  मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबि बर्तौला, गजल मञ्चका सचिव हरि पौड्याल, प्रलेस मकवानपुर उपाध्यक्ष बिशाल अधिकारी, हेटौँडा क्याम्पसका सहायक प्रमुख देविराम लामा, सिस्नुपानी मकवानपुरका सम्प्रस पौड्याल, एस लामा, झरना साहित्यिक परिवार मकवानपुर कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, विशिष्ट आजीवन सदस्यहरू, आजीवन सदस्यहरू, बकैया गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू तथा स्थानीय व्यक्तिहरू गरी ८० भन्दा बढीको सहभागिता रहेको थियो ।

बकैया गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष गोपालबहादुर न्यासुर तथा वडा नम्बर १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँको विशेष आर्थिक व्यवस्थापनमा यो पदयात्रा कार्यक्रम आयोजना गरिएको हो ।

पदयात्राबाट फर्कने क्रममा बीच बाटोमा झरना साहित्यिक परिवार मकवानपुरको २९० औँ साहित्य शृङ्खला पनि आयोजना गरिएको छ ‌। कार्यक्रममा साहित्यिक रचनाहरू वाचन गरिनुका साथै बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, झरना साहित्यिक परिवार मकवानपुरका पूर्व अध्यक्ष उद्धव प्रसाद सापकोटा, जनार्दन खनाललगायतले आफ्ना महत्वपूर्ण भनाईहरू राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले आफुले यो क्षेत्रमा पदमार्ग विकास गर्ने प्रतिबद्धता गर्दै तुरुन्तै डिपिआर बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । तत्काल यो पदमार्गको काम शुरु हुने बताउनुभयो ।

मकवानपुरको बकैया १२ स्थित पर्ने लटारम्भेश्वर मन्दिर पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । जिल्लाभित्र तथा जिल्ला बाहिरका विभिन्न ठाउँबाट धार्मिक आस्था, प्राकृतिक आनन्द, तथा साहसिक यात्राका लागि यस ठाउँमा मानिसहरूको आवतजावत बढ्दै गरेको पाइन्छ । केही वर्षअघिसम्म खासै चर्चामा नआएको यो मनोरम स्थलमा हाल आएर दिनहुँ सयौँ मानिसहरूले भ्रमण गर्ने गरेको स्थानीयको भनाइ छ ।

संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षताका भएको कार्यक्रममा निलहरी ढुङ्गेलले स्वागत गर्नुभएको थियो भने सहजीकरण संस्थाका सचिव मसान उपासकले गर्नुभएको थियो ।

# लटारम्भेश्वर मन्दिर# #झरना साहित्यिक परिवार मकवानपुर#

मकवानपुरको पालुङमा ‘पर्यटन साहित्य उत्सव’

मकवानपुर । मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरको पालुङमा साहित्य संगम मकवानपुरको आयोजना, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, थाहा नगरपालिका र पालुुङ साहित्य परिषद्को सहकार्यमा पर्यटन साहित्य उत्सव, २०८० आयोजना भएको छ ।

उत्सवमा काठमाडौं, मकवानपुर र देशका विभिन्न जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको थियो । थाहा नगरपालिकाको पालङुमा रहेको विकास घरमा आयोजना गरिएको उत्सवमा साहित्यका विभिन्न पाटाहरुमा बहस, अन्र्तक्रिया र रचना वाचन भएका थिए ।

साहित्य संगम मकवानपुरको एकसय ३१ औं साहित्य सन्ध्याको अवसरमा ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ उत्सवको आयोजना गरिएको थियो । उत्सवमा शुक्रबार गजल महफिलको आयोजना गरिएको थियो । गजलकार बाबुु त्रिपाठीले सहजीकरण गरेको महफिलमा धर्मराज स्याङ्तान, इन्दिरा अधिकारी, विद्या निर्दोष पहाडी, विनिता महत, श्रीराम अधिकारी, भरतप्रमोद दाहाल, सुवास सजल लगाएका गजलकारहरुले सभाहललाई गुञ्जयमान बनाएका थिए । महफिलमा ३५ जना साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी दोस्रो दिन शनिबार नियमति साहित्य सन्ध्या, कार्यपत्र प्रस्तुुती, बहस तथा कविता वाचन कार्यक्रम भएका थिए । मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयक कार्यपत्र निमेष निखिलले प्रस्तुुत गरेका थिए भने कार्यपत्रमाथि टिप्पणी साहित्यकार सुवास खनालले गरेका थिए । उक्त कार्यपत्रमाथि सहभागी साहित्यकाहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको दोस्रो सेसनमा ‘साहित्यसँगै पर्यटनः आन्तरिक पर्यटनको प्रदीपन’ भन्ने शीर्षकमा बहस गरिएको थियो । जसका वक्ताहरुमा रुपमा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, भाषा, संस्कृति अध्येता ओम रिजाल, तथा साहित्यकार माया मानवीले पर्यटन प्रवद्र्धन गर्नका लागि आआफ्ना सल्लाह सुुझाव र चुनौतीमाथि धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा वक्ताहरुले पर्यटनलाई साहित्यसँगै जोडेर लैजाने हो भने पर्यटन क्षेत्रको प्रचार र विकासमा अझ मद्दत पुुग्ने बताएका थिए । उनिहरुले स्थानीय सरकारले साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा राख्ने गरेको उल्लेख गर्दै पर्यटनमार्फत् भाषा, संस्कृति र पर्यटन क्षेत्रलाई महत्वपूर्ण टेवा पुुग्ने बताए । संगमका कोषाध्यक्ष मनोज पोखरेलले सहजीकरण गरेको उक्त बहस कार्यक्रममा साहित्यकार देवराज खरेलको अभिभावकत्व रहेको थियो ।

उत्सवमा पर्यावरणसँग सम्वन्धित कविता वाचन कार्यक्रम आयोजना गरिएको थियो । पर्यावरण कविता वाचन सेसनमा भावना सापकोटा, पुुण्यशिला श्रेष्ठ, रजनी पौडेल, ज्योत्सना श्रेष्ठ, सुुदीप गिरी, प्रज्वल अधिकारी, सुुरज पराजुली, नवराज बर्तौला, बाबु त्रिपाठी, प्रकाश समिर, राम बर्तौला, रसिक राज, श्यामकुमार बानियाँ, देवराज तिवारी, विशाल अधिकारी संप्रश पौडेल, मसान उपासक, अञ्जय प्रधान, यस लामा, चिरञ्जीवी लामिछाने, वैकुठ लामिछानेलगायताका वाचन गरेका थिए । महाकाव्यकार नवराज लम्सालको अभिभावकत्व रहेको सो कार्यक्रमको सहजीकरण संगमका उपाध्यक्ष सानु खनालले गरेका थिए ।

उत्सव साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा थाहा नगरपालिकाका नगरप्रमुुख विष्णुु विष्टको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विष्टले देशको संघीय राजधानीसँग जोडिएर पनि मकवानपुुर पर्यटन क्षेत्रको ओझेलमा परिरहेको बताए । मकवानपुरको थाहा नगरपालिकालाई पर्यटकीय क्षेत्रको हब बनाउने गरी थाहा नगरपालिकाकाले काम गरिरहेको उनले बताए । विश्वका अग्ला शिखर देखि कला संस्कृति, मानव सभ्यता, भौतिक निर्माण, विभिन्न प्रजातीका फलफूल, जडिबुटी, चिसो हावापानी र सुन्दर भौगोलिक बनावट र प्राकृतिक सुन्दरका लागि दामन धनी रहेको नगरप्रमुख विष्टले बताए ।

चैत्र वैशाखमा लालिगुराँसले ढकमक्क हुने यो ठाउँमा यतिबेला आन्तरिक पर्यटनको घुुँइचो लाग्न थालेको छ । तर यहाँबाट वाह भनेर गएकाहरु किन फेरि फर्केर बसोबासको लागि या अन्य कर्म गर्नका लागि यहाँ आउँदैनन् यो चाहिँ चिन्ताको विषय भएको विष्टले उल्लेख गरे । एकपटक आएकाहरुलाई फेरि आउने वातावरण बनाउन थाहा नगरपालिकाले अध्ययन गरेर काम गरिरहेको उनले बताए ।

त्यसैगरी थाहा नगरपालिकाका उपप्रमुुख भरत गोपालीले साहित्यमा लगानी गरेर पर्यटन भित्र्याउन साहित्यिक संघसंस्था र साहित्यकारको सहयोग आवश्यक रहेको बताए । उनले साहित्यमार्फत् पनि पर्यटन क्षेत्रको प्रचारप्रसार र विकास सम्भव छ भन्ने बल्ल बुुझ्दै गएको उल्लेख गरे । उपप्रमुुख गोपालीले साहित्यसँग मन मुटु जोडिएको र आगामी दिनमा साहित्यलाई अझ माथि उठाउन विभिन्न कार्यक्रमहरुको आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे ।

उत्सवमा साहित्य सङ्गम मकवानपुरका पूूर्वअध्यक्षहरु निमेष निखिल, श्यामकुमार बानियाँ, सुवास खनाल, पालुुङ साहित्य परिषद्का अध्यक्ष विर्खे अञ्जान, भीम विराग साहित्य कला प्रतिष्ठान, आँचल साहित्य कला पुञ्ज, सिस्नुपानी नेपाल मकवानपुर, नेपाली लेखक संघ, गजल मञ्च मकवानपुरलगायत मकवानपुर जिल्लाका विभिन्न साहित्यिक संघसस्था तथा साहित्यकारको उपस्थिति रहेका थियो ।

#साहित्य संगम मकवानपुर# # पर्यटन साहित्य उत्सव, २०८०#

सप्ताहव्यापि भ्रष्टाचारविरोधी रचनावाचन सम्पन्न

मकवानपुर । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भ्रष्टाचारविरूद्ध सप्ताहव्यापि रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौँडाको बुद्ध चोकबाट शुरु भएको कार्यक्रम हेटौँडा–४ शीतलमहल चोक, हेटौँडा–२ संगम चोक, हेटौँडा–६ चौघडा चोक, हेटौँडा–१६ चिसापानी, हेटौँडा–८ कमानेमा दैनिक कार्यक्रम गर्दै समापन कार्यक्रम पुनः बुद्ध चोकमा सम्पन्न गरिएको हो ।

आज आयोजित कार्यक्रममा २८ सर्जकहरूको रचना वाचन भयो । रोशनी चौलागाईँ, जनार्दन खनाल, दीपक गौतम, संप्रस पौडेल, देवराज तिवारी, यश लामा, सानु खनाल, शम्भुप्रसाद बाँसकोटा, सुवास खनाल, गोविन्द दुलाल, राजकुमार लामिछाने, केशव समर्पण, शोभा थापा, सुदीप गिरी, एस. के. निधन, छवि अनित्य, हयग्रीव आचार्य, किसन पौडेल, राजकुमार चौधरी, सञ्जीत श्रेष्ठ आदिले रचना वाचन गर्नुभयो ।

सर्जक सञ्जाल मकवानपुरद्वारा आयोजित सप्ताहव्यापि कार्यक्रम मकवानपुरका सबै साहित्यिक संस्थाका सहभागितामा रहेको भन्दै संयोजक निमेष निखिलले सडकमा रचना वाचन गर्दै गर्दा महिनामा एउटा कार्यक्रम सडकमा गर्दा आम मानिससँग जोडिन पाइने हुँदा त्यसतर्फ ध्यान केन्द्रित भएको बताउनु भयो ।

कार्यक्रममा स्थानीय, यात्रुहरू, शिक्षक, विद्यार्थी तथा मिडियाकर्मी लगायत स्रोता दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा दबाब सिर्जना गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा आज समापन भएता पनि खबरदारी गर्ने काम कहिल्यै नरोकिने आयोजकले बताएको छ ।

अन्तिम दिनको कार्यक्रम मीनप्रसाद लामिछानेले सहजीकरण गर्नुभ‌एको हो ।

#भ्रष्टाचारविरूद्ध सचेतना #रचना वाचन #सर्जक सञ्जाल मकवानपुर

संगमचोकमा भ्रष्टाचारविरूद्ध रचना वाचन ।

मकवानपुर । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भइरहेको आन्दोलन तेस्रो दिन पनि चलेको छ । सर्जक सञ्जाल मकवानपुरले संगमचोकमा भ्रष्टाचारविरूद्ध सचेतनाका लागि रचना वाचन कार्यक्रम गरेको हो ।

ओमभक्त भण्डारीले एकोहोरो शङ्खनाद गरी शुरू गरेको कार्यक्रममा साहित्य सर्जक, स्थानीय, बटुवा, मिडियाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियान घोषणा गरिएको थियो ।

आजको कार्यक्रममा सानुभाइ विश्वकर्मा, शम्भुप्रसाद बाँस्कोटा, दीपक गौतम, राजकुमार चौधरी, देवराज तिवारी, पुरूषोत्तम आचार्य, छवि अनित्य, सञ्जीत श्रेष्ठ, अनिता न्यौपाने, सुवास सजल, देव निर्दोष, समर्पण न्यौपाने, एस।के। निधन, ओमभक्त भण्डारी, बैकुण्ठ लामिछाने, सानु खनालले रचना वाचन तथा लोक गायिका सरू कार्कीले गीत गायन गर्नुभयो ।

पत्रकार प्रताप बिष्टले भ्रष्टाचारविरूद्धको रचना वाचन अभियानमा आफू पनि सँगसँग रहेको जनाउँदै सबैले बोल्ने र गर्ने बानीबीच समानता हुनुपर्ने बताउनुभयो । यस्तै, सर्जक भूपिन चितवनदेखि सो कार्यक्रममा ऐक्यबद्धता जनाउन आउनुभयो भने चोकचोकमा सप्ताहव्यापी रचना वाचन आयोजना गर्नु कठिन रहेको बताउँदै यसमा होमिनुभ‌एका सर्जक, अभियन्ता, स्थानीयलाई धन्यवाद दिँदै उहाँले रचना वाचन समेत गर्नुभयो ।

कार्यक्रमलाई रेडियो निकासले प्रत्यक्ष प्रशारण गरिरहेको छ भने एन‌एस टेलिभिजनले भिडियोमा कैद गरिरहेको छ ।

दैनिक कार्यक्रम अन्तर्गत बुधबार चौघडाचोकमा रचना वाचन हुने संयोजक निमेष निखिलले बताउनुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा आयोजित कार्यक्रम संप्रस पौडेलले सहजीकरण गर्नुभ‌एको हो ।

#भ्रष्टाचारविरूद्ध सचेतना #रचना वाचन #सर्जक सञ्जाल मकवानपुर

शीतलमहल चोकमा भ्रष्टाचारविरूद्ध रचना वाचन ।

हेटौँडा, जेठ १ / सर्जक सञ्जाल मकवानपुरको आयोजनामा शीतलमहल चोकमा भ्रष्टाचारविरूद्ध सचेतनाका लागि रचना वाचन कार्यक्रम गरिएको छ ।

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा दोस्रो दिन सो कार्यक्रम भ‌एको हो ।

कार्यक्रममा पुरूषोत्तम आचार्य, शम्भुप्रसाद बासकोटा, हरि पौड्याल, स्वस्तिका दाहाल, सुवास सजल, संप्रस पौडेल, समर्पण न्यौपाने, सञ्जित श्रेष्ठ, देवराज तिवारी, राजकुमार लामिछाने, माधव पोखरेल, हयग्रीव आचार्य, ऋषिराम पोखरेल आदि सर्जकहरूले भ्रष्टाचार विरूद्धमा विविध रचना वाचन गर्नुभयो ।

कार्यक्रमलाई रेडियो निकासले प्रत्यक्ष प्रशारण गरेको थियो । पहिलो दिनको कार्यक्रम खर्च सहयोग बैकुण्ठ लामिछाने र दोस्रो दिनको कैलाश ढकालले प्रायोजन गर्नुभ‌एको हो ।

कार्यक्रममा साहित्य सर्जक, व्यापारी, स्थानीय, पत्रकार, बटुवाहरूको सहभागिता रहेको थियो ‌। दैनिक कार्यक्रम अन्तर्गत मंगलबार संगमचोकमा रचना वाचन हुने संयोजक निमेष निखिलले बताउनुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा आयोजित कार्यक्रम दीपक गौतमले सहजीकरण गर्नुभ‌एको हो ।

#भ्रष्टाचारविरूद्ध सचेतना #रचना वाचन #सर्जक सञ्जाल मकवानपुर