Home Blog Page 31

कवि विप्लव प्रतीकको  हाइकुहरूको सङ्ग्रह ‘शाडेनफ्रोएडा’ सार्वजनिक

२२ चैत्र, मकवानपुर । नवसाहित्य अनलाइन । कविता लेखन तथा वाचनमा चर्चाको नाम कवि विप्लव प्रतीक । त्यसो त लेखनका विविध विधामा कलम चलाउँदै आउनु भएका प्रतीकका कविताले नेपाली साहित्यलाई अझ उँचो बनाएका छन् । त्यसो यो नाम उहाँ निबन्ध, गीत, नाटक, पत्रकारिता, सिनेमा मात्रै नभई अनुवादमा समेत सशक्त हस्ताक्षर हो । यो पाला भने उहाँ हाइकु सङ्ग्रह लिएर उपस्थित हुनु भएको छ ।

विप्लवको नयाँ पुस्तक ‘शाडेनफ्रोएडा’ काठमाडौँमा विमोचन गरिएको छ । संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आम पाठकहरूमाझ यसलाई पस्केको जानकारी गर्नु भएको थियो । उहाँले समारोहको सुरुवातमा उपस्थित रहनेहरूको स्वागतार्थ यसै सङ्ग्रहका हाइकु सुनाउनु भएको थियो ।

सातौँ-आठौँ शताब्दीदेखि नै विश्व साहित्यमा महत्वपूर्ण योगदान दिने हाइकु तथा सिन्जो जापानबाट सुरू भई संसारभर चर्चित विधा हो भने नेपालमा शङ्कर लामिछानेले सुरू गर्नु भएको हो । नेपालमा हाइकुको विकासका लागि नेपाल हाइकु सङ्घ,  हाइकु केन्द्र नेपालजस्ता संस्था र सर्जकहरू सक्रिय रहेका छन् ।

केही दिनअघि प्रतीकको यस पुस्तकको कभर पेज सार्वजनिक भएसँगै ‘शाडेनफ्रोएडा (Schadenfreude)’ शब्दबारे चर्चा चुलिएको हो । यस शब्दले ‘न चिताएको वा न सोचेको’ भन्ने अर्थ राख्दछ । जर्मन शब्द Schadenfreude अङ्ग्रेजीमा ‘Harm-joy’ भन्ने बुझिन्छ । नेपालीमा यस शब्दको अर्थ ‘अर्को व्यक्तिमा परेको असरबाट खुसी वा आनन्द लिनु’ भन्ने अर्थ हुन्छ । हाइकुले कवि विप्लवका जर्मनीको ‘शाडेनफ्रोएडा’ लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।

सन् २००६ तिर हाइकुसँग नजिकिएको बताउनु हुने उहाँले ‘तीन हरफमा जम्मा १७ अक्षर भित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिव्यक्ति पस्कन सिकाउने’ विचार राख्नुहुन्छ ।

पुस्तकका कम्प्युटरका लिपिहरू नभई स्वयं लेखककै हस्ताक्षरबाट मुद्रित गरिएको यस पुस्तकभित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकुहरू समेटिएका छन् । ४ सय ९५ रुपैयाँ मूल्य तोकिएको पुस्तक ‘शाडेनफ्रोएडा’ लाई पब्लिकेशन नेपालयले अडियो बुकका रूपमा प्रतीककै आवाजमा समेत प्रस्तुत गर्दैछ ।

पुस्तकमा सङ्ग्रहित ५ हाइकुहरूः

१.

सहर सुत्यो

मानिसका सपना

ब्युँझिन थाले ।

२.

कसरी ब्युँझुँ

सर्पको सिरानीमा

निदाएको छु ।

३.

पलाँस थिएँ

तिमीले छोएपछि

गुराँस भएँ ।

४.

सूर्य निल्दैछु

सबैको हृदयबाट

पीर पग्लोस् ।

५.

तिम्रो त्यो आँखा

साँच्चिकै सागर हो

डुब्यो कि, डुब्यो ।

नवीन पुस्तकमार्फत् पाठकहरूमाझ सशक्त हाइकुहरू प्रस्तुत गर्नु भएकोमा कवि विप्लवलाई नवसाहित्य अनलाइन परिवार हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछौँ ।

नीलकण्ठ नगरपालिकाद्वारा प्रदेशस्तरीय खुल्ला प्रतियोगिताका लागि कविता आह्वान

२४ चैत्र, मकवानपुर ।
नवसाहित्य अनलाइन । नीलकण्ठ नगरपालिकाले प्रदेशस्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
धादिङ जिल्लामा अवस्थित सो पालिकाले बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि गद्य वा छन्दको कुनै पनि कविता पठाउनका लागि सूचना आह्वान गरेको हो ।

१८० शब्दसीमा रहेको कविता नेपाली भाषामा लेखिनुपर्ने, प्रीति फन्टमा टाइप हुनुका साथै राष्ट्र, राष्ट्रियता, प्राकृतिक विविधता तथा सामाजिक सद्भावप्रति समर्पित हुनुपर्ने जानकारी दिएको छ । यस्तै कविता जातीय, लैङ्गीक, वर्गीय, साम्प्रदायिक विद्वेष र राजनीतिक आक्षेप लगाउने खालको हुन नहुने समेत सूचनामा प्रकाशन गरिएको छ ।
कविता मौलिक हुनुका साथै अन्यत्र अप्रकाशित हुनुका साथै नतिजा प्रकाशनको अवधिअघिसमेत अन्यत्र प्रकाशन गर्न नपाइने जनाएको छ ।

प्राप्त कविताहरूबाट उत्कृष्ट ५ कविता छनौट गरी छानिएका कवितालाई वाचनका अङ्क समेत समावेश गरी विजयी कविहरूको सूची प्रकाशित गरी पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
प्रथम पुरस्कार २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वना ५ हजार (जनही) का साथै प्रमाणपत्र प्रदान गरिने जानकारीका साथै सर्जकको फोटोसहित कविता २०८१ बैशाख २२ गतेभित्र बुझाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

झसापद्वारा टिकटमा मुक्तक, स्रष्टा सम्मान र मुक्तक पुरस्कार समर्पण

२४ चैत्र, मकवानपुर ।
नवसाहित्य अनलाइन । झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले मोरङका मुक्तककार बाबुराम पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई रु. १५,५५५  राशिको ‘शिव-सावित्री अधिकारी स्मृति साहित्य सम्मान’ ले सम्मान गरिएको हो ।

यसअघि सार्वजनिक भएका उत्कृष्ट १० मुक्तकारहरूमध्ये ज्ञानदीप शिक्षा निकेतन माविकी छात्रा आकाङ्क्षा निरौला सर्वोत्कृष्ट हुनु भएको छ । संस्थाले उहाँलाई ५ हजार ५ सय ५५ नगद राशिको ‘शिव-सावित्री मुक्तक पुरस्कार’ र प्रमाणपत्रले सम्मान गरेको छ ।
प्रतियोगितात्मक कार्यक्रममा साहित्य सर्जक पुरूषोत्तम आचार्य र अमृता लामिछानेले निर्णायकको भूमिका निभाउनु भएको हो ।
टिकटमा मुक्तक कार्यक्रमअन्तर्गत डडेल्धुराकी पार्वती भट्ट, स्याङ्जाकी अमृता पोख्रेल, धादिङकी निर्मला स्नेहीका साथमा मकवानपुरका स्रष्टाहरू सानु खनाल र दीपक गौतमले ६/६ वटा मुक्तकहरू वाचन गर्नुभयो ।

मन्तव्यका क्रममा झसापका संस्थापक अध्यक्ष तथा पुरस्कार संस्थापक रमेशमोहन अधिकारीले भन्नुभयो- “कतिपय लेखकहरूले आर्थिक क्षमताका बाबजुद पनि धेरै स्रोतहरूबाट सङ्कलन गरी निकै दुख र कष्टका साथ पुस्तक प्रकाशन गरेको हुन्छ । यस अवस्थामा पुस्तक छापिइसकेपछि पुरस्कार दिनुभन्दा पान्डुलिपिमै पुरस्कार दिने परम्परा बसाउन सके पुस्तक प्रकाशन गर्नमा हौसला मिल्न सक्छ ।”

कार्यक्रममा साहित्य सर्जकहरू भावना सापकोटा, राजकुमार लामिछाने, सागर तिमल्सिना, डिबी बर्तौला, निमेष निखिल, रामकुमार एलन, सुबास सजल, छवि अनित्य, मञ्जु मैनाली, भवानी तिमल्सिना, दिनेश शर्मा आदिको उपस्थिति रहेको थियो ।

झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा सञ्चालित ३०२ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने प्रमुख अतिथि रहनु भएको थियो । मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा सञ्चालित कार्यक्रमलाई झसाप सचिव मसान उपासकले सहजीकरण गर्नु भएको हो ।

पेन्टागन एकेडेमीद्वारा १२६ शिक्षकहरू सम्मानित

२४ चैत्र मकवानपुर ।
नवसाहित्य अनलाइन । पेन्टागन एकेडेमी हेटौँडाले १२७ शिक्षकहरूलाई सम्मान गरेको छ ।
तयारी कक्षा सञ्चालन गरी शिक्षक सेवा आयोग परीक्षामा सफलता प्राप्त गर्ने प्रशिक्षार्थीहरूलाई एक कार्यक्रमबिच सम्मान गरिएको हो । ।
१२७ सफल प्रशिक्षार्थीमध्ये उपस्थित ५९ जनालाई प्रमाणपत्रसहित सम्मानित गरिएको कार्यक्रममा तयारी कक्षाका लागि प्रशिक्षण गराउनुहुने ९ प्रशिक्षकहरूलाई समेत संस्थाले सम्मान गरेको छ ।

यस शैक्षिक केन्द्रमा अध्ययन गरी वि.सं. २०८० मा ५१ जना प्रशिक्षार्थीहरू शिक्षक सेवा आयोगमा सफल हुन सफल भएका हुन् भने २०७९ मा ७५ जना सफल भएका थिए । यो सालका तयारी कक्षाहरू सञ्चालन भइरहेकाले आउँदा दिनमा नियमित रूपमा सम्मान कार्यक्रम, भेटघाट, अनुभव आदानप्रदान कार्यक्रमहरू राखिने आयोजकले जानकारी दिएको छ । २०७१ सालमा स्थापित यस शैक्षिक संस्थाले २०७३ सालदेखि शिक्षक सेवा आयोग तयारी कक्षा निरन्तर सञ्चालन गर्दै आइरहेको छ । २०७४ मा सर्वाधिक अर्थात् ६० जना प्रशिक्षार्थीहरू उत्तीर्ण हुन सफल रहेकोले शिक्षक परीक्षाको तयारीलाई निरन्तरताका साथै लोक सेवा, सिटिइभिटी स्टाफ नर्स, कम्प्युटर कक्षालगायत विविध तयारी कक्षााहरू सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रशिक्षकहरू चिरञ्जीवि घिमिरे, सुवास खनाल, दिनेश माझी र संप्रस पौडेलले शुभकामना मन्तव्य राख्नु भयो । उहाँहरूले शिक्षक सेवा आयोगका तयारीका लागि मकवानपुर जिल्लामैँ सर्वाधिक सङ्ख्यामा जनशक्ति उत्पादनमा पेन्टागन एकेडेमीको प्रशंसा गर्नुभयो ।
पत्रकार सुरेश श्रेष्ठले मन्तव्यका क्रममा समाज परिवर्तनमा शिक्षकको भूमिका निकै महत्वपूर्ण हुने हुँदा नवप्रवेशी शिक्षकहरूलाई जागिर खाने सोच मात्र नराखी राष्ट्रका लागि सेवाभावले प्रेरित भएर शिक्षण गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले शिक्षक निकै आदर्श पात्र रहेकोले उसको भूमिकालाई सबैले अध्ययन गरिरहेकोले विद्यार्थीहरूको शैक्षिक अवस्था परिवर्तनमा जोड गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका संयोजक तथा प्रशिक्षक टिकाप्रसाद दाहालले स्वागत गर्नु भएको कार्यक्रममा शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि दिनानाथ गौतमले मकवानपुरमा ६४ जनाको विज्ञापन मध्ये ३८ मात्र सिफारिस हुनुले अवसरको कमी भयो भन्ने गुनासो गर्नुभन्दा तयारीका लागि आजैदेखि लाग्न प्रेरित गर्नुभयो । यस्तै खोजेको र रोजेको जनशक्ति उत्पादनमा पेन्टागन एकेडेमीको भूमिकाप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत यस कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कक्षामा ड्रप‌आउट विद्यार्थीलाई शिक्षकले नियमितता गराउनुपर्ने, शिक्षक थिङ्क ट्याङ्क र नवीन ट्याङ्क समेत भएकोले विद्यार्थीलाई सिकाउने र बिकाउने काम र यसका सम्बन्धमा आइपरेका चुनौतिलाई सामना गर्ने व्यक्ति भएकाले पाठ्यक्रमले निर्धारण गरेको सिकाइको लक्ष्य हासिल गर्नमा जोड गर्नुभयो । उहाँले आफूले सरकारी सेवा प्रवेश गर्दाका अनुभवहरू बाँड्दै निरन्तर अभ्यास गर्नका लागि प्रेरित गर्नुभयो ।

नवप्रवेशी शिक्षक जुनु दोङले तयारी गर्ने प्रशिक्षार्थीहरूलाई नहडबडाइकन तयारी गर्न, आफूमा विश्वास राख्दै नियमित अभ्यास गर्न र प्रशिक्षकहरूसँग नियमित सहकार्यमा रही तयारी गर्न सकेमा सफलता हात पार्न सकिने अनुभव व्यक्त गर्नुभयो ।

पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईँको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उहाँले नेपालमैँ प्रयोग हुने जनशक्ति उत्पादनमा आफ्नो शैक्षिक संस्थामार्फत् पहल गरिरहेको र नेपालमा वार्षिक रूपमा विभिन्न आयोग, सरकारी संस्थान, बैङ्कहरूमा हुने ३५ भन्दा बढी प्रकारका विज्ञापन मागबारे नै कतिपय युवाहरू अनभिज्ञ रहेको अनुभव आफूसँग रहेको बताउनुभयो । त्यस्तै उहाँले यस्ता विज्ञापनबारे जानकारी राख्न, तयारी कक्षामा सहभागी हुन र परीक्षाबारे जिज्ञासाका लागि शैक्षिक योग्यता भएर पनि घरमैँ रहेका, के गर्ने भन्नेबारे अनभिज्ञ युवाहरूलाई एक पटक आफ्नो शैक्षिक संस्थामा समन्वय गराइदिन आग्रह गर्दै वैदेशिक रोजगारी मात्रै विकल्प नरहेको बताउनुभयो ।

प्रशिक्षकहरू सरोज लामिछाने, चिरञ्जीवि घिमिरे, कृष्ण पौडेल, शिव खतिवडा, भरत पोखरेल, एकेडेमीका संरक्षक कृष्णप्रसाद चौलागाईँ, सल्लाहकार पुन्य गौतम लगायत उपस्थित सम्मान कार्यक्रमलाई मञ्जु पराजुलीले सहजीकरण गर्नु भ‌एको हो ।

झरनाको ‘टिकटमा मुक्तक’ आज

२४ चैत्र, मकवानपुर ।
नवसाहित्य अनलाइन । झरना साहित्यिक परिवार मकवानपुरले ‘टिकटमा मुक्तक साँझ’ गर्ने भएको छ ।

शनिबार मकवानपुर बहुमुखी क्याम्पसमा आयोजना हुने कार्यक्रममा मकवानपुरबाट दीपक गौतम र सानु खनालका साथै डडेल्धुराकी पार्वती भट्ट, धादिङकी निर्मला स्नेही र स्याङ्जाकी अमृता पोख्रेलका मुक्तकहरू सुनिनेछन् ।
मुक्तककार बाबुराम पोखरेललाई सम्मान समेत गरिने सो कार्य्रक्रम दिउँसो २ बजे हुने जानकारी दिएको छ ।

साथै माध्यमिक तह (कक्षा ९-१२) स्तरीय मुक्तक प्रतियोगितामा छनौट भएका उत्कृष्ट १० मुक्तककारहरूको नाम सार्वजनिक गरिएको छ । छनौट भएका सर्जकहरूले कार्यक्रममा उपस्थित भएर रचना वाचन गर्ने र सर्वोत्कृष्ट १ सर्जकलाई ‘शिव-सावित्री अधिकारी स्मृति मुक्तक पुरस्कार’ प्रदान गरिने आयोजकले जानकारी दिएको छ । छनौट भएका स्रष्टाहरू अजय बर्तौला (जिएस निकेतन मा.वि.), सुदिप गोङ्वा (जनक मा.वि.), निश्चल दुलाल (हेटौँडा स्कुल अफ म्यानेजमेन्ट), रजनीस कुमार शाह (हेटौँडा स्कुल अफ म्यानेजमेन्ट), कृतिका लामिछाने (नयाँबजार, गोरखा), विविसा रुम्बा, (शारदा मा.वि.), आकांक्षा निरौला (जिएस निकेतन मा. वि.), मनिका नेगी (बुद्ध मा.वि.), भोजराज संजेल (सिदार्थ मा.वि.) र सन्ध्या लम्साल (चन्द्रोदय मा.वि.) रहेको आयोजकले जानकारी दिएको छ ।

३०२औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित यस कार्यक्रमको मिडिया सहयोगी नव साहित्य अनलाइन रहेको छ । वि.सं. २०५० मा स्थापित झसाप (झरना साहित्यिक परिवार) मकवानपुरको साहित्यिक क्षेत्रमा सक्रिय संस्थाका रूपमा रही आएको छ ।

खेम बतासको “बुढीपोल्ली” को सर्वत्र चर्चा

चैत्र २१, मकवानपुर
नवसाहित्य अनलाइन ।
खेम बतासको नवीनतम कथासङ्ग्रह ‘बुढीपोल्ली’ बजारमा आएको केही साता मात्रै भएको छ । माया पब्लिकेसनद्वारा प्रकाशित उक्त सङ्ग्रहमा मान्छे हराएको सूचना, हाफ चश्मा, हटस्पट, नोकिया एक्स वन, रम्मी, सराबी कान्छो, आदतको दास, बदनाम गल्लीको कथा, कथालय नकटो, बुढीपोल्ली, छोइडुम र ओल्के लगायत १२ वटा कथाहरू रहेका छन् ।

“बुढीपोल्ली” के हो ?
भाद्र १ गते वनबाट लिङ्गो ल्याएर तोकिएको ठाउँमा गाड्ने चलन रहेको छ । साथै प्रत्येक दिन निगाला, बाँझ, झिक्रा जम्मा गरी बुढी गाड्ने चलन हुन्छ भने असोज १ गते सोही ठाउँमा बालबच्चाहरू जम्मा हुने र त्यसलाई आगो लगाएर बुढी पोल्ने चलन रहेको छ । कर्णाली प्रदेशमा परम्परादेखि प्रचलनमा रहेको बुढी पोल्ने पर्वमा घाँसका ५ मुठा बनाउने, गोठमा घुमाउने गरी ‘बुढी’ धपाउने र ‘बुढी’ पोल्ने दिन लिङ्गोसँगै राखेर पोल्ने गरेमा गाईगोरूलाई खोरेतजस्ता रोगव्याध लाग्दैन, बाघले खाँदैन र पानीले बगाउँदैन भन्ने विश्वास रहेको छ । साथै आ-आफ्नो बारीमा फलेका काँक्रो बाँडिचुँडी खाने, गीत गाउँदै देउडा गाउने यो पर्व द्वापर युगदेखि चलेको जनविश्वास रहेको छ । भगवान कृष्णलाई विषयुक्त दुध चुसाउने पुतना राक्षसनीको दहन गरेस्वरूप यो पर्व कुमाउँ गढवाल, कर्णाली र भारतका अन्य स्थानहरूमा मनाउने गरिएको छ ।

बतासको “बुढीपोल्ली” कथासङ्ग्रहमा के छ ?
२०५ पृष्ठ सङ्ख्या रहेको उक्त कथासंग्रहमा १२ वटा कथाहरू रहेका छन् । हाल १ हजार १ सय प्रति प्रकाशित पुस्तक नेपालभर उपलब्ध रहेको र मूल्य ४५० उल्लेख भएको लेखकले जानकारी दिनु भएको छ । कथाकार बतासका कथाहरूमा मूलतः सुदूरपश्चिमको डोटेली भाषा र संस्कृतिका विविध पक्षहरूलाई केन्द्रविन्दुमा राखिएको छ ।

कैलालीलाई कर्मथलो बनाएर लेखनमा सक्रिय खेम बतास विशेषतः कविका रूपमा परिचित हुनुहुन्छ । उहाँका कोदो, मनरख्नी, कालो रङ्ग, किर्नाहरू र पूर्ण रोक्काको पत्र बहुचर्चित कविताहरू हुन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नात्तकोत्तर गर्नु भएको छ भने उहाँ प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ ।

यसअघि २० जना कथाकारहरूद्वारा लिखित संयुक्त कथासङ्ग्रह “छकालै” मा उहाँका कथा पनि समावेश भएको थियो । कविता, गजल तथा कथा लेखनमा सक्रिय उहाँ कैलाली जिल्ला निवासी हुनुहुन्छ ।


०००
पुस्तकका सम्बन्धमा लेखक भन्नुहुन्छ-
वर्षौँदेखि राज्यको आँखामा नपरेको भूगोल, सदियौँदेखि मान्छे भएर बाँच्न नपाएका तर आत्मसम्मानको लडाइँमा होमिएका मान्छेहरूको दैनिकी हो – बुढीपोल्ली ।
बुढीपोल्ली – जातीय विभेद, लैङ्गिक असमानता र कुरीतिको चपेटामा परेका मान्छेको नियति हो ।
कर्नाली तर्न नसक्ने तर महाकाली तर्न सक्नेहरको जीवन गाथा हो – बुढीपोल्ली ।
सङ्ग्रहमा डोटेली मौलिक संस्कृतिलाई विसंरसचना गर्ने प्रयास गरिएको छ ।”

०००
यस्तै कथा सङ्ग्रहका विषयमा साहित्य सर्जक गड्सेरी माइला लेख्नुहुन्छः
कथा संग्रह “बुढीपोल्ली” पढ्दै जाँदा छोड्नै नमिल्ने रछ, कथैपिच्छे फरकफरक स्वाद । हाम्रो ग्रामीण जीवनको सचित्र वर्णन ।
साइकल मर्मतका दुकानहरू, चियापसलेहरू, चियापसलमा दैनिक चल्ने जुवा तासहरू, जुवा ताससँगै चल्ने भद्र अभद्र ठट्टा र यी ठट्टासँगै सकिने केही पुरूषको दैनिकीलाई बडो मार्मिक ढङ्गले उल्लेख गरेका छन् ।

छिमेकीलाई, साथीलाई जिस्किएर अर्कै नाम दिने, त्यहि नामले बोलाउने चलन सबै ठाउँका गाउँ घरमा उस्तै हो, रम्मी कथाको पात्र डेढ पयरलाई यसरी जिस्काइँदै छ ।
“के होला डेढ पयर ?”
“बेला भएन ब ?”
“सबै कि घरबारी भैगै तेरो कलि नानै”
“कि उठ्ठैन, (दायाँ हातको चोर औँला तलमाथि हल्लाए)”
“नहुने भे हिट अस्पताल”

यसरी जिस्काएपछि डेढ पयरले जसरी पनि बिहे गरि छाड्ने अठोट गरो, बिहे गरो पनि, केटीलाई बिहेका लागि तयार गर्न उसले केही रोचक प्रतिबध्दता गरेको थियोः
कबुल नं. १ तारामन्डलीको घर छ भनेको रहेछ (यो भनेको उसको घरको छानामा प्वालै प्वाल परेकाले ताराहरू देखिँदो रहेछ ।)


कबुल नं. २ लाप्लुपको लाउनु दिउँला भनेको रहेछ (यो भनेको लुगामा टालाटुली हालेर लाउनु रहेछ ।)


कबुल नं. ३ गजाइबजाइको पानी ल्याउनु पर्छ (यो भनेको पानीको सङ्कट हुने भएकोले पानी ल्याउन हल्लाखल्ला, हारालुछ, तानातान गर्नु रहेछ ।)


कबुल नं. ४ बञ्चराले काट्टा धान (यो भनेको जग्गा थोरै भएकोले धान पनि थोरै हुन्छ, थोरै धान काट्न हँसिया नचाहिने बञ्चरैले काटे पनि हुन्छ भन्ने व्यङ्ग्यात्मक सन्देश रहेछ)
नोकिया एक्स वानको कथा पनि उत्तिकै रोचक छ । मोबाइलको लत, फेसबुकको आदत, फेसबुक च्याटिङ अहिलेको समयको यथार्थता हो ।

पराग ब्रोले वर्षौँदेखि साथी बनाएकी, च्याटमा बात मारेकी कविताको आफ्नै छिमेकमा बिहे भो । ‘हेलो पराग ब्रो’ भनेर दुलहीले नै बोलाएपछि झसङ्ग भो, छाँगाबाट खसेझैँ भो ।

०००
‘कर्नाली तर्न नसकेका तर महाकाली तर्नेको कथा मेरा कथा हुन् ।’ भन्ने उनै खेम ओझा ‘बतास’ लाई नवसाहित्य परिवार हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछौँ ।

सरस्वती पौडेलका पाँच गजलहरु

१. चाहे शिरमा राख, चाहे पैतालामा राख ,
म कहिले भन्दिनँ, तिम्रो आँखामा राख ।

हरेक पल्ट तिम्रो अघि म निरीह बनेको छु,
चाहे अचानोमा राख ,चाहे सिलौटामा राख ।

सुनेकै भरमा फूल बनाइदिएँ यो जिन्दगी,
चाहे मन्दिरमा चढाउ, चाहे बगैचामा राख ।

यो मन नियम तोडेर आइदिन्छ त म के गरुँ,
चाहे अदालतमा लैजाउ,चाहे कठघरामा राख।

दिलको भित्ता तोडेर आएको छ तस्वीर पनि,
चाहे तिम्रो भित्तामा राख चाहे ऐनामा राख।

२. म दुर बाट हजुर ,मलाई बजार थाहा छैन,
गाउँको गाग्री हुँ शहरको इनार थाहा छैन।

उ सुटुक्क आयो र खुसुक्क निस्केर गयो ,
खै भयो त्यहाँ कस्तो कारोबार थाहा छैन।

के थियो पर्दा भित्र भ्रमित बन्यो दुनियाँ ,
कसरी पुछियो अधरको शृङ्गार थाहा छैन।

लम्बाइ मिल्दैन घरी ,चौडाइ मिल्दैन घरी,
मलाई मेरै मनको यो आकार थाहा छैन।

घाउ देखिदैन कुनै, दुख्नै छोड्दैन फेरि ,
धेरै दिन भयो छातीको बिमार थाहा छैन।

३. बस्तीमा एउटा खबर आएको छ,
कलम बोक्नेले खुकुरी समाएको छ ।

धर्तीलाई फूल सँग दाँज्ने मान्छे हूँ,
त्यसैले मलाई माटो बसाएको छ ।

तस्बिर अमुर्त छ, म कसरी मानौं ?
मलाई त्यहीँ तस्बिरले रुवाएको छ।

मुस्किलले आकाश देख्न पाएकी छु,
मेरो छानाबाट थोरै घाम उदाएको छ ।

तिम्रा सवाल को जवाफ दिनु पैले,
समयले ऐना उपहार पठाएको छ।

४. कोहि खबर लिएर जरुर आएको छ,
ढोका बन्द गर मजदुर आएको छ ।

फेरि एउटा शरीरको बलि बन्ने भो,
बँदेल बनेर जंगली सुगुर आएको छ ।

मन जस्तै सुनसान छ न्यायालय पनि
आत्महत्या गरेको उजुर आएको छ।

मालिक मोज गर्दै छन् यहीँ गाउँमा
आज पनि बिहानै कुकुर आएको छ ।।

हे शहर ! एक पटक बिउझेर हेर्दे फेरि
सपना बोकेर कोहि भरतपुर आएको छ

५. तिमी मेरो सम्झनामा आउनु हुन्न,
दुख्छ फेरि घाउ कोट्याउनु हुन्न ।

लेखिओस् अनि च्यातिओस् बरु,
प्रेमको कहानी कतै छपाउनु हुन्न ।

यो मन,मनमा बस्नेहरुको लागि हो,
मनमा बस्ने ले नै मन बिझाउनु हुन्न ।

प्रेमिल जिन्दगीको सपनामा छ ऊ,
अधुरै हुन सक्छ फेरि उठाउनु हुन्न ।

जिन्दगीको मजा लिदै छ पुतलीले
एकै छिन बलेको बत्ती निभाउनु हुन्न ।

हरेक पुरुषलाई भँवराको ठाउँमा राखिने दृष्टिकोण पनि विचारणीय पक्ष होः देवराज तिवारी

मुक्तक मञ्च मकवानपुरद्वारा आयोजित १५औं नियमित रचना वाचन कार्यक्रममा राजबाबु पहाडी र शोभा शाह थापाका दुई दर्जन मुक्तकहरू सुनिए । तिनै मुक्तक वाचनपश्चात् समीक्षक देवराज तिवारीले गर्नुभएको समीक्षात्मक टिप्पणी आजको विशेष प्रस्तुति रहनेछ ।

०००
मुक्तककार राजवाबु पहाडीका १२ मुक्तकहरू :
१. पाँच बजे पछि रित्तो हात फर्कायो
कर्मचारीले जनतालाई पर्खायो,
पाँच बजे पछि रित्तो हात फर्कायो,
कथित राष्ट्रसेवकले आज,
कामै नगरि सिंगो दिन घर्कायो ।

२. ओथारो दिएको फूल तारेर खायो
ओथारो दिएको फूल तारेर खायो,
सबैलाई आतंकित पारेर खायो,
बचेरा एक चिरबिर गरिरहेथ्यो,
त्यसलाई पनि छाडेन, मारेर खायो ।

३. हाल बेहाल भो, यो कस्तो ‘नेपाल’ भो ?
हाल बेहाल भो, जाल भो, अनौठो ताल भो, यो कस्तो ‘नेपाल’ भो ?
धनीलाई बाक्लो दाल भो, निमुखालाई चुहिने त्रिपाल भो,
पापी मालामाल भो, धर्मात्मालाई गाल भो, सधैं बबाल भो,
गरीबको काल भो, धनीको ज्युनार गर्ने सुनको थाल भो ।

४. त्यो सिल्ली किन जान्छ दिल्ली?
सल्काउन जाबो एक खिल्ली,
त्यो सिल्ली किन जान्छ दिल्ली?
बाघ झैं संधै गर्जिन्छ यता,
उता चाहिँ म्याउ गर्ने बिल्ली ।

५. सपना भो ठ्यास
एकातिरा ड्यास,
अर्कोतिरा क्यास,
बिचैमा च्यापिएँ म
सपना भो ठ्यास ।

६. भुस्साहा कुकुर हिँडेका छ्न् टुरमा
चपला अवलाहरु अब कोही छैनन्, अत्याधुनिक यो कान्तीपुरमा,
दाउ अनेक बोकीकन नरनारीहरु हिंडेका छन आ-आफ्नै सुरमा,
धुलो, धुँवा, मरेका जन्तु, तुवाँलो अनि फोहरका डुंगुर वरीपरी,
जोगीहरु घुरमा, स्याल र भुस्साहा कुकुर चाहिँ हिँडेका छ्न् टुरमा ।

७. उर्बर मष्तिष्कहरु किन यस्तो वंजर भो
उर्बर मष्तिष्कहरु किन यस्तो वंजर भो?
संवेदना गुमाएको मुर्दा अस्थिपंजर भो,
शृजना नगर्ने, काट्ने, बिगार्ने र भत्काउने
निच नराधमले बोक्ने धारिलो खन्जर भो।

८. बुझे शृजनाको खानी, नबुझे नालीको पानी
चुत्था कुरामा नभुल सुन ए ! शृजनशील नानी हो,
अजेय शक्ति तिमी हौ बुझ् ए ! अनुपम जवानी हो,
जोश, जाँगर, उर्जा, आशा, भरोसा सब तिमी नै त हौ
बुझे शृजनाको खानी हो नबुझे नालीको पानी हो ।

९. यस्तो बारंबार लागिरहेछ
यो जिन्दगी नै बोझिल भार लागिरहेछ,
किन मलाई यस्तो बारंबार लागिरहेछ?
अमुल्य क्षणहरु व्यर्थमा गुज्रीरहेछ,
आफ्नै औचित्य किन/पनि निस्सार लागिरहेछ ?

१०. उता चल्यो आँधी यता ढल्यो समाधि
भरेथेँ आफैलाइ अनेक बिचारले खाँदी,
गिर्ला कतै भनेर राखेथेँ लंगौटीले बाँधी,
तर आज कसरी भो यो बिचलन बिचित्र,
उता चल्यो आँधी यता ढल्यो समाधि ।

११. प्रेम ब्रम्हाण्डमा व्याप्त छ
प्रेम ब्रम्हाण्डमा व्याप्त छ,
सवको लागी पर्याप्त छ,
आँखा खोल मौजुद छ,
बन्द गर समाप्त छ ।

१२. चस्किएर गयौ
लसक्क लस्किएर गयौ,
किन हो झस्किएर गयौ,
सुइरो रोपी यो मुटु भित्र
चसक्क चस्किएर गयौ ।

मुक्तक वाचन कार्यक्रममा वाचित राजबाबु पहाडीका मुक्तकहरूमाथि समीक्षकीय दृष्टिकोण
कुनै पनि व्यक्तिको रचना गर्भमा उही बाँचेको समाज र उसले देखेको परिवेश अनि उसले गरेका साथीसङ्गतिहरूको प्रभाव पर्ने गर्छ । त्यसकारण उनका रचनामा पनि यसको प्रभाव देखिएको छ नै । उनका मुक्तकका विषय पनि यही सन्दर्भमा आएका छन् । उनका मुक्तकहरूलाई विभिन्न शीर्षकहरूमा हेर्ने प्रयास यहाँ गरिएको छ ।

सरंचना पक्ष:
उनका वाचित मुक्तकहरू मुक्तकको चतुष्पदीय संरचनालाई अङ्गीकार गर्दै शीर्षक राखेर प्रस्तुत गरिएको छ । कुनै मुक्तकमा दुई शब्दका हरफ र कुनै मुक्तकमा बाह्र शब्दका हरफसम्ममा संरचित मुक्तकहरूले वाचन प्रवाहमा गति निर्धारण गरेको देखिन्छ । कतिपय मुक्तकमा भने वाचनमै गतिमा अवरोध सिर्जना भएको अवस्था पनि छ । सरंचनाकै पक्षबाट हेर्दा शीर्षक चयनमा कुनै त्यस्तो मापदण्ड अपनाएको देखिँदैन ।

विषयवस्तु :
१. राजनीतिक क्षेत्रमा देखिएका विसङ्गत पक्षहरू
२. प्रशासनिक क्षेत्रमा देखिएका कामचोर प्रवृत्ति
३. जिम्मेबारीप्रति लापर्बाही रहने प्रवृत्ति
४. सहरी जीवनशैलीमा देखिएको व्यक्तिवादी प्रवृत्ति
५. सिर्जनशील मस्तिष्क बाँझो बन्दै गएको प्रसङ्ग
६. राष्ट्रिय चासोमा विदेशी गुहार्ने चाप्लुसी प्रवृत्ति
७. जीवनको निराशाको चित्रण
८. निराशाका बिचमा आशाको खाजी
९. प्रेमको सर्वव्यापकता तथा प्रेमको शृङ्गारिकता

मूल कथ्य :
कुनै पनि रचनामा व्यङ्ग्य अर्थात् ध्वनि महत्त्वपूर्ण पक्ष हो । त्यो व्यङ्ग्यको कसीमा राखेर आफ्नो वैचारिकी प्रस्तुत गर्ने जमर्को रचनाकारले गर्छ । यी मुक्तकहरूले पनि सामाजिक बेथितिबाट थितिको चाहना प्रकट गर्छन् । घरको समस्या घरबाटै समाधान होस् भन्ने चाहन्छन् । मानिसको सिर्जनक्षमतामा ह्रास आउन दिनु हुँदैन भन्छन् । हाम्रा दृष्टिकोणहरू बदलिएको परिवेशमा हाम्रा मस्तिष्क पनि बाँझो बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । सरकारी निकायमा देखिएको कामचोर प्रवृत्तिको अन्त्य भए जनताले सुशासनको महसुस गर्थे भन्ने भनाइ राख्छन् । त्यस्तै प्रेममा कसैले सङ्कुचन हुनुपर्ने कारण नभएको भन्दै प्रेमको सर्वव्यापकतालाई खुला आँखाले हेर्न अनुरोध गर्छन् । त्यहीँ प्रेमको शृङ्गारिकतालाई पनि समेट्दै नारी मनको अभावमा मुटुमा दुखेको अनुभूत गर्न पुग्छन् । विषयगत विविधता मार्फत् समाजलाई पस्कन खोज्नु सबल पक्ष हो ।


लैङ्गिकता- मुक्तकले उठाएका विविध विषयवस्तु मध्ये लैङ्गिकता पनि एक महत्त्वपूर्ण पक्ष हो । सबै मुक्तकहरूले महिला सशक्तीकरणभन्दा पनि महिलाका सामान्य स्वभावमाथि प्रवेश गर्न खोजेको आभास हुन्छ ।
‘चपला अवलाहरू अब कोही छैनन्, अत्याधुनिक यो कान्तीपुरमा
दाउ अनेक बोकीकन नरनारीहरु हिंडेका छन आ-आफ्नै सुरमा,’
चपला (चपल स्वाभवकी, बाठी स्त्री) अबला (बल नभएकी, दुर्बल नारी, अशक्त) कोही छैनन् भन्दै अनेक दाउमा नरनारी हिँडेका छन् । आफ्नै सुरमा हिँडेका नारीहरूमाथि कटाक्ष गरिएको मुक्तकले लैङ्गिक सशक्तीकरणको पक्षभन्दा पनि अनेक दाउ बोकेर हिँडेका मानिसहरूको स्वभावप्रति असन्तोषको राग पस्किएको देखिन्छ । चपला र अबला भनेर एउटै ठाउँमा फरक दृष्टान्त बनाएर कतै अन्योल सिर्जना गरेको जस्तो देखिन्छ ।

भाषाशैली तथा शीर्षकका सीमा
मुक्तकको भाषा सरल भइकन कटाक्ष मिश्रित हुनुपर्ने हुन्छ । शब्दको कुनै सीमा त हुँदैन नै तर एक या दुई शब्दका हरफले मुक्तकको शक्ति क्षिण गर्छ जस्तो लाग्छ । स्वतन्त्रतापूर्वकको घुमाइलाई भुस्याहा कुकुरसँग तुलना गर्ने खालको भाषिक शब्द चयनले साहित्यिक रस सौन्दर्यलाई कमजोर बनाएको अनुभूति पनि नहुने होइन । वर्णविन्यासगत त्रुटि देखिन्छन् ।
कुनै पहिलो हरफ नै शीर्षक छ । कुनैमा दोस्रो हरफ । कुनैमा चौथो हरफै वा त्यसको आधा वा कुनैमा दोस्रोको आधा हरफ पनि शीर्षक छ । यसले शीर्षकीकरणमा अन्योलता थपेको देखिन्छ । त्यसमा पनि मुक्तकमा वाचन गरिने अन्तिम हरफ नै शीर्षकमा राखियो भने मुक्तकको रहस्यको पर्दाफास गर्दा मुक्तकको मर्ममा प्रहार हुन गयो कि भन्ने लाग्छ । समग्रमा उनका मुक्तकहरूले आम मानिसका पीडाजन्य कुराहरू उठाउन सकेको देखिन्छ । यो सबल पक्ष हो ।

शोभा शाह थापाका १२ मुक्तकहरू :
१. जल्दा बल्दा सारा समस्याहरु निदान हुनुपर्छ देशमा
बाली लगाउने मालिक खुद किसान हुनुपर्छ देशमा
बनाई धारा कानुन तोड्ने शासक मान्य छैन जनलाई
ती भ्रष्टाचारी फाँसी चढाउने विधान हुनुपर्छ देशमा ।

२. विदेशीको ईशारामा संसदमा नाटक मञ्चन हुन्छ भने
देशलाई न्याय दिंदा यदि सर्वोच्च नै बाधक हुन्छ भने
चारैतिर क्रान्तिको आगो बल्नुपर्छ देशद्रोही जल्नुपर्छ
जन्मभूमि विरुद्ध तिनका हस्ताक्षर घातक हुन्छ भने ।


३. छेपारोले झैं फेरि रहने छ तिनको रंग अजबको
जनलाई भेडों बनाउने छ तिनको ढंग अजबको
पलमै मिल्छ त्यो विपक्षसित पल मै लड्छ पक्षसंग
कुर्सीको लागि लडिरहने छ तिनको जंग अजबको ।


४. देश जोगाउने अभिभारा जनले बोक्नुपर्छ अब
देशद्रोहीको छातीमा तातो गोली ठोक्नुपर्छ अब
जाग जाग सपूत हो बोक बन्दुक खुँडा खुकुरी
जन्मभूमि पराई हात जानबाट रोक्नुपर्छ अब ।

५. ईमान बेची झोली बोकी भ्रष्ट पार्टी नधाउ अब दाजै
झोले बनि भ्रष्टाचारीहरुको भजन नगाउ अब दाजै
चुनाव आउँदा दिन्छ नोट माग्छ भोट उही मुकुण्डोधारीले
चुहाई र्याल दुईछाक मासुभात नखाउ अब दाजै ।

६. भित्र मुटु घाइते पार्ने नजरको तीर कस्तो कस्तो
मन हलचल पार्ने त्यो अधरको नीर कस्तो कस्तो
न छोड्छौ साथ न थाम्छौ हात परें म रन भुलैयामा
लाग्दैछ तिमीसंगको यो सफरको पीर कस्तो कस्तो ।

७.विश्वासमाथि कहिले पनि कुनै घात नभए
मनमुटु दुख्ने प्रियेको वचन बात नभए
मुनामदनको झैं अमर हुन्थ्यो सबको माया
प्रियेसीको बैँस लुटि भाग्ने भँमरा जात नभए ।

८. चुसी चुसी यौवन रस भँवरा अन्त बाग सरेर जान्छ
सम्झी सम्झी दुईदिने झुटो प्रीत दुखी फूल झरेर जान्छ
कयौं चुँडिन्छ कोपिलामै कोही फ्याँकिन्छ पत्र पत्र भई
मरेपनि अभागी गुलाफ मिठो सुवास छरेर जान्छ ।

९.नचुँड्नु कोपिला फक्रेर फूल बनि फुल्न पाओस
आउँदा पवन रमाउँदै डालीसंगै झुल्न पाओस
हुन्छ दुईदिने छोटो जिन्दगानी बाँच्न दिनु विन्ती
प्रीत गाँसी भँवरासित सबै पीडा भुल्न पाओस ।

१०. यो देशमा नारी हिंसा सधैं चेली बलात्कारमा किन पर्छन् आमा
कोही गर्छन् एसिड प्रहार कोही छुरा प्रहार गर्छन् आमा
भो नदेऊ जन्म कुनै सन्तान अब राख कोख बाँझै वरु
रुँदै तड्पी तड्पी बाँच्नुपर्छ कि त अकाल मै मर्छन आमा ।

११. एक नारीले अर्को नारीको दुख बुझ्दैन भने
चेलीको पीडामा माईतीको मन दुख्दैन भने
टाँका लाईदेउ कोखमा अब हे नारी जाति हो
आफ्नै सन्तानले जन्मदिने आमा पुज्दैन भने ।

१२. गरेछौ देश विकास गगन चुम्बी भ्यु टावरको
होर्डिङ बोर्ड राख्नु अब हनी पतञ्जली डाबरको
आउँछ टन्नै आईसी डलर भाट पर्यटक भित्रेर
नाच्नु अनि लगाई घाँघर ईण्डियन बाँदरको ।
धन्यवाद !

मुक्तक वाचन कार्यक्रममा वाचित शोभा शाह थापाका मुक्तकहरूमाथि समीक्षकीय दृष्टिकोण
हरेकका साहित्यिक रचनामा ऊ बाँचेको समाज परिवेश अनि उसका साथीहरूको प्रभाव पर्छ । तसर्थ मुक्तककार शोभा शाहका मुक्तकहरूमा ती पक्षहरूको प्रभाव नपर्ने कुरा भएन । उनका मुक्तकका विषय पनि यही सामाजिक सन्दर्भको कठघराबाट उठेर आएका छन् । उनका यहाँ वाचित मुक्तकहरूलाई विभिन्न शीर्षकहरूमा हेर्ने प्रयास गरिएको छ ।

सरंचना पक्ष :
उनका मुक्तकहरू पनि मुक्तकको चतुष्पदीय संरचनालाई अङ्गीकार गर्दै रचिएको देखिन्छ । उनका यहाँ वाचनमा परेका १२ मुक्तकका हरफहरू कम्तीमा छ शब्दका छन् र कुनै हरफ बढीमा दश शब्दमा संरचित छन् । सरंचनात्मक दृष्टिले हेर्दा मुक्तकीय संरचनाका सन्दर्भमा भएका पछिल्ला विभिन्न वहसहरूले पछ्याएको बाटोलाई आत्मसात गरेको देखिन्छ ।

विषयवस्तु :
१. राजनीतिक विषय क्षेत्रका विसङ्गति,
२. विदेशी रिझाउन गरिएका नाटकहरू,
३. कुर्सीको पछि मरिहत्ते गर्ने,
४. चुनावका बेला मात्रै जनता गुहार्ने नेतृत्व,
५. यौवन लुटेर जाने युन कुण्ठित पुरष चरित्र,
६. विकासका नाममा खडा गरिएका अनावश्यक भ्युटावर निर्माणको विरोध लागयतका विविध पक्षहरू ।

मुक्तकमा राजनीतिक व्यङ्ग्य :
किसानले किसानी गर्छ तर किसानले मालिकको अनुभूति गर्न पाएको छैन भन्ने चिन्ता छ । कानुन बनाएर कानुनको धारा तोड्ने अनि भ्रष्टाचार गरेर देशलाई सिद्याउन खोज्नेलाई फाँसीमा चढाउन चाहने शोभा विदेशीको ईशारामा संसदमा नाटक मञ्चन भएको विषय पनि जोडदार रूपमा उठाउँछिन् । रङ बदलिरहने छेपारे प्रवृत्तिलाई उछितो काढ्ने उनका रचनाले कुर्सीमोहलाई व्यङ्ग्य गर्दै देशद्रोहीलाई गोली ठोक्नुपर्ने उग्र धारणा राख्न पुग्छिन् । नेताले इमान बेचेर खाए । कार्यकर्ता पदलोलुप भएर झन् झोले नै बने भन्ने चिन्तामा उनका मुक्तकहरू लेखिएका छन् । देश विकासको नाममा भ्युटावर बनाउने अनि भारतीय पतञ्जलीलगायतका उत्पादनहरूको होर्डिङबोर्ड टाँग्न मात्रै काम लागेको भन्दै नेपाली नेतृत्वलाई भारतीय चटकेले बाँदर नचाएजस्तै गरी नचाइरहेको भन्दै आक्रोश पोखेको देखिन्छ ।

मुक्तकमा लैङ्गिकता
उनी महिला भएर पनि होला महिलामाथि प्रेम गरेर धोका दिने प्रवृत्ति पनि मुक्तकका विषय बनेका छन् । लामो सफरको जोडी बिचमै छोडेर हिँडेपछिको जीवनको कष्टकर अवस्थाले निम्त्याएको पिर मुक्तकको विषय बन्यो । हरेक प्रेमीप्रेमिकामा मुनामदनको जस्तो भाव हुनुपर्छ भन्ने चाहना मुक्तकका विषय बने । यौवन रस चुसेर भँवरा हिँडेकोमा आपत्ति छ । कयौँ बलात्कार जन्य घटनामा पनि महिलाहरू कोपिलामै चुँडिनुपरेको तथ्यलाई उनले यसमा प्रस्तुत गरेकी छन् । नारी हिंसामा पुरुष मात्रै नभई नारीकै पनि हात रहेको तर्फ मुक्तक बोलेको देखिन्छ ।
बलात्कार, एसिड आक्रमण, छुरा प्रहार जस्ता घटनामा छोरीबुहारी आमा दिदीबहिनी जो कोही पनि सिकारमा परेको तथ्य थाहा पाएपछि यदि महिला धर्तीलाई बोझ भएको हो भने कोख बाँझै राख्नुपर्ने आक्रोश पोख्दै नारीको पक्षमा उभिएका मुक्तकहरू यसमा अटाएका छन् ।

सीमा
भाषिक वर्णविन्यासगत त्रुटि, बिम्बहरूमा नवीनताको अभाव जस्तो भँवरासित प्रीत गाँसेर पीडा भुल्न पाएहुन्थ्यो भन्ने प्रसङ्गमा सायद पुरुषलाई भँवरा भनिएको होला । अब हरेक पुरुषलाई भँवराको ठाउँमा राखिने दृष्टिकोण पनि विचारणीय पक्ष हो भन्ने लाग्छ । भँवराले फूलको रस चुस्छ र हिँड्छ । यसो भन्दैमा के सबै पुरुष त्यही भँवरा भए त ? राम्रोको पारख गर्नु र हिँड्नु प्राकृतिक कुरा हुन् । मुनामदनको प्रेममा पनि प्रश्न गर्ने ठाउँ छ । एकअर्कालाई अति प्रेम गर्ने अनि वास्तविकता नबुझी मृत्युको बाटो रोज्ने प्रेमले अति भावुकताको वकालत गर्छ र जीवन अति भावुकताले हैन व्यवहारले चल्छ । अबको जीवनमा संवेदना भन्दा पनि तर्क र व्यवहार हाबी भइरहेको सन्दर्भमा बिम्ब पनि नयाँ नयाँ निर्माण गर्न सक्दा मुक्तकले बल प्राप्त गर्छन् ।
यति हुँदाहुँदै पनि मुक्तकमार्फत् सामाजिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिप्रति कटाक्ष गर्नु यी रचनाका सबल पक्ष हुँदै हुन् ।

४ महिने शिशुको सन्देश । 

१० घण्टे उडानमा आमा र शिशुसहित कोरियाको सियोलबाट अमेरिकाको सनफ्रान्सिस्कोतर्फ गइरहेकी थिइन् ।

यी आमाले विमानमा रहेका २०० भन्दा बढी यात्रुहरू प्रत्येकलाई प्लास्टिकको झोला बाँडेकी थिइन् । झोलामा चकलेट, चिविङ्गम र इयरप्लगहरू छन् जसलाई उडानको क्रममा उनको ४ महिनाको बच्चा चिच्याएकोमा अग्रिम माफीको रूपमा वितरण गरिएको हो ।

प्रत्येक झोलामा एउटा सन्देश पनि थियो-

“नमस्ते, म जान वू हुँ । म ४ महिनाको भएँ र आज म मेरी आमा र हजुरआमासँग मेरी काकीकोमा जानको लागि अमेरिका यात्रा गर्दैछु। म अलिकति आत्तिएको र डराएको छु । किनकी यो मेरो पहिलो यात्रा हो, मेरो जीवनकै पहिलो उडान ।

यो मेरो लागि रुनु वा केहि बाधा हुनु सामान्य हो । म शान्त रहने प्रयास गर्नेछु, तर म तपाईंलाई वाचा भने गर्न सक्दिन। यदि मेरो आवाज धेरै कर्कस भयो भने कृपया यो इयरफोनलाई प्रयोग गर्नुहोस्। तपाईं यात्राको आनन्द लिनुहोस्। धन्यवाद। –गाईने 

मुक्तक मञ्च मकवानपुरद्वारा रचनावाचन कार्यक्रम

 १७ चैत्र, मकवानपुर । नवसाहित्य अनलाइन ।  मुक्तक मञ्च मकवानपुरले मुक्तककारद्वय राजबाबु पहाडी र शोभा शाह थापाको मुक्तकवाचन कार्यक्रम गरेको छ । कार्यक्रममा मुक्तककारद्वयका ६/६ मुक्तकका साथमा साहित्य सर्जकहरू तुलसी घिमिरे, पुरूषोत्तम आचार्य, भवानी तिमल्सिना, स्वस्तिका बानियाँलगायतले मुक्तक वाचन गर्नुभ‌एको हो ।

वाचकद्वयका मुक्तकमाथि साहित्य सर्जक देवराज तिवारीले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभ‌यो भने उहाँहरूलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरियो । मुक्क मञ्च मकवानपुरको १५औँ नियमित मुक्तक वाचन श्रृङ्खला साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालन भ‌एको हो ।

कार्यक्रममा मञ्चका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष मेनु तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभ‌एको कार्यक्रमलाई मञ्चका सचिव सुबास सजलले सहजीकरण गर्नुभ‌एको हो ।