Home Blog Page 84

सङ्‌क्षिप्त जीवनी : लक्ष्मीप्रसाद देवकोटा

जन्म वि. सं. १९६६, तदनुसार १२ नोभेम्बर सन् १९०९ – मृत्यु वि. सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९) नेपाली साहित्यका महाकवि हुन् । देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।

देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए । उनी धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो ।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए ।

देवकोटा सन् १९६६ मा जन्मिँदा, देशमा राणा शासन थियो । राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन, तर धेरै चोटिको प्रयत्‍नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एकमात्र विद्यालय दरबार हाई स्कूलमा भर्ना गरिदिए। देवकोटा दरबार हाई स्कूलनै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए । सन् १९२५ मा देवकोटा त्रि-चन्द्र कलेजमा बिज्ञान बिषयमा भर्ना भए। बिज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे। सन् १९२९मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे ।

देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन । उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन् । कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसायोग्य छन् । यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ । मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो । देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे । यिनी एक पटक नेपालको शिक्षा मन्त्री सम्म भएका थिए । यिनैक पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो ।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्‍ने अद्वितिय प्रतिभा थियो । उनले शाकुन्तल महाकाब्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे । उनले नेपाली साहित्यलाई नया उचाइमा पुर्‍याए । “मुनामदन,”प्रचलित लोक भाकामा लेखिएको कृतिले नेपाली साहित्यमा संस्कृतको प्रभाब अन्त्य गर्‍यो । “पागल” कविता उनको अर्को महान कृति हो । जुन कवितामा उनले आफुलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन् | नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो ।

भारतीय महापण्डित डा. राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए । देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।

१५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । विसं १९८५मा उनको पहिलो सन्तान छोरी सावित्री र १९८९ मा जेठो छोरा प्रकाश जन्मिए । माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म विसं १९९३ मा भएको थियो । कानूनमा स्नातकोपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के जहाँ उनले विभिन्न व्यक्तिगत सङ्कटहरू भोग्नु पर्‍यो । दुई वर्ष भित्रै उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती बियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो । पछिल्ला वर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुःखी बनायो र यसले उनको मस्तिष्क लाई समेत चोट पुर्‍यायो । उनले केही समय मानसिक संस्थामा पनि बिताए ।

दु:खमा दु:ख थपिएझैँ, देवकोटालाई १९५८ (बि सं २०१५)मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिए पछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि वि.स.२०१६ साल भाद्र २९ गतेका दिन उनको मृत्यु भयो ।

सान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए- “मृत्यु मेरो अगाडि छ । म आकासमा नक्षत्रहरू खोज्छु तर भेट्दिन। म आफुलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफु र आफ्ना बच्चाहरूलाई मार्नेथिएँ ।” जीबनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने ‘मैले आफ्नो जिन्दगी हरीनाम नजपेर ,नास्तिक भएर बिताएछु ,अब जान आँटीहाले !’ अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कविता मार्फत यसरी व्यक्त गरे ।

कविता / शोकगीतको पोस्टमार्टम

निमेष निखिल

धपाउनु छ किरणहरूले हिर्काएर
कोठाभरि बाँकी रहेको अँध्यारो ।

भोक चिहाइरहेछ निर्लज्ज जुठेल्नाबाट
रोग ङिच्याइरहेछ दाँत आँखैअघि
लखेट्नु छ सबैसबैलाई जीवनका छेउछाउबाट ।

यो उन्मुक्त हाँसो
कसैको कुटिलता सापटी मागेर टाँसेको हैन अनुहारमा हामीले
झारेरै छोड्छौँ-
डाँडामाथि मात्र लुकामारी खेली हिँड्ने घाम एक दिन
जाबो बादल कतिन्जेल छेकेर उभिरहन सक्छ उज्यालो –
हामी अनुहारहरूमा कलिलो सूर्योदय पर्खिरहेछौँ ।

लेखुँला नि कविता त !
बस्, उक्सिऊन् मादल पेटहरू
अलिकति हाँसो पोखियोस् सुनसान मझेरीतिर
जताबाट आएको हो उतै फर्कियोस् चेतनामा लाग्ने रुँघाखोकी
कविता त लेखुँला नि फेरि पनि !

धेरै गाइयो दुखका सुस्केराहरू भाका हालेर
गीत गाएको अभिनयमा
हामीले त शोकगीत पो गुनगुनाएका रहेछौँ आजसम्म
आफ्नै छातीका वेदना निचोरेर

अब गर्नु छ- यी सबै शोकगीतको पोस्टमार्टम
र निकाल्नु छ पीडाका कीटाणु जिन्दगीका चेपहरूबाट
खोज्नु छ नयाँ समयका लागि नयाँ नयाँ भाकाहरू
गीत त फेरि पनि हामीले गाउनै छ ।

हेटौँडा- ५, मकवानपुर ।

कवि रिजन रानाको कविता : उसलाई खबरदार

– रिजन राना


उसलाई खबरदार

“उफ् ! कस्तो गर्मी हौ,
न पानी पर्छ, परे पनि बाढी नै जान्छ ।”
उम्लिएको पृथ्वीमा
उसिनिएको मान्छे छट्पटाउँदै बर्बराउँछ ।
उसको स्मृतिमा केही
श्यामश्वेत चित्रहरू चलिरहेका छन्-
‘हरियो वन, डाँडापखेरा सजाइरहेको,
कलकल बगेको खोला,
सदियौँदेखि उसको पुर्खाका तिर्खा मेटाइरहेको,
चराहरू धुरन्धर सङ्गीतकार जस्तो
कर्णप्रिय सुसेलीको धुनमा चिर्बिराइरहेको,
पारि सेतै हाँसेको हिमालसँग
प्रभाती किरण पिरती खेलिरहेको,
बालकहरू तीन तारे तित्रिक, अहो, तित्रै जस्तो टाठा !
सुन्दर बाल्कायलको सफर गरिरहेको ।’
प्रायश्चित गरे झैँ, ऊ मनमनै गुन्छ,
“सायद मनुवाहरू वन फाँडेर
आफैँ वनकर नभइदिएका भए,
सिद्धार्थ गौतमले पिपलकै बोटमुनि
बुद्धत्व पाएको सम्झिएको भए,
O2 लाई CO2 ले हरण गर्ने थिएन,
आज सासै फेर्न नसक्ने गरी ऐँठन पर्ने थिएन ।”
पढ्नलाई उसले पढेको छ,
कविशिरोमणिको वसन्त व्याख्यान,
वातावरण संरक्षण ऐनको प्राक्कथन ।
सुनेको छ,
वातावरण दिवसमा दिइने प्रवचन,
डाइनासोरहरू बिलाएको कथन,
हिमालमा हिउँ हराएको विज्ञापन ।
देखेकै छ,
१९९२ को पर्यावरण सन्धिमा गरिएको हस्ताक्षर ।
उसलाई थाहा छ,
मानिसलाई आवासको नाउँमा
प्रकृतिको निवास मासिएपछि,
धान फल्ने खेतमा कङ्क्रिट सहर उम्रिएपछि,
डाँडो काटेर समृद्धिको भ्युटावर
चढ्न कस्सिएपछि,
तब न हो, हाम्रो धरातल भासिएको ।
तर
यो सबैबिच उसको लगन भिन्नछ,
जमिन पुरेर आलिसान घर ठडाउने,
उसको एउटा सपना छ ।
नदीकिनार खनेर बालुवा खानी
चलाउने धन्दा छ ।
साथमा मान्छे भएको
अभिमानी झन्डा छ ।
उसले देखेको वनमा, डाँडापखेरामा, समथरमा,
जलथलमा, सुनको अन्डा छ ।
उसलाई त्यहाँ खन्नु छ, त्यही खोज्नु छ ।
उसले उर्वर भूमिलाई मरूभूमि बनाएर भुँडी भरेको छ,
स्वार्थारोहणको होडबाजीमा
तँछाडमछाड,
ऊ नै अघि लागेको छ ।
उसको छिमेकी झनै उग्र छ,
त्यसले तेल निकालेर
फुस्रा रेत छोडेको छ,
खनिज खोतल्न पहाड अनि
शक्ति देखाउन बम फोडेको छ,
ऐश्वर्य विलास गर्न पर्यावरणीय
सन्तुलन खल्लास पारेको छ,
मानवको दुख विसर्जन गर्ने खोजमा
हानिकारक रसायन उत्सर्जन गरेको छ ।
प्रविधिको जमाना भए पनि
उसले नबुझ्ने विधिमा
हिजोसम्म शान्त पर्यावरण
आज मुर्मुरिएको छ ।
उम्लिएको पृथ्वीमा
उसिनिएको उसलाई भन्छ-
“म छैन त तेरो अस्तित्व रहने छैन,
उसो त,
म पग्लिए तेरो उचाइ अग्लिने छैन,
खबरदार !
तैँले ममाथीको दोहनकारी क्रिया नबदले,
मेरो प्रतिक्रिया बद्लिने छैन ।”

– रिजन राना, गोरखा

गजलकार बबिता विष्टकाे गजल

बबिता विष्ट

सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्ष रहनुभएकी नारायणी नगरपालिका ६ दैलेख निवासी गजलकार बबिता विष्टले गजल, मुक्तक, कविता, हाइकु र टुक्रा कवितालगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँको गजल सङ्ग्रह ‘जीवन यात्रा’ (२०७७) प्रकाशित रहेको छ । –सम्पादक

गजल

एउटा सहर छ सधैँ उत्सव सधैँ बहार छ
अर्को गाउँ छ जहाँ मलामीको हाहाकार छ ।

मलाई ताकेको ढुङ्गा खसेर भएछ दुस्मन घाइते
बिचरा एक्लै रहेछ अस्पताल लैजाने विचार छ ।

आखिर त्यहीँ घाटसम्म त पुग्न रह्यो लेखेको
जसले जिन्दगीभर भनिरह्यो व्यस्त छु हतार छ ।

यो लडाइँमा तिमी जिते पनि हार्छौ हारे हार्छौ
म फूल बोकेर आएको छु तिमीसँग तरबार छ ।

सधैँ तिमीले जलायौ अब आफ्नालाई पालो देऊ
एउटा मान्छे अन्तिम पटक जल्न तयार छ ।

बबिता विष्ट

नारायणी नगरपालिका ६ दैलेख

कवि बिर्खे अन्जान कविता : नागरिक

बिर्खे अन्जान

थाहा नगरपालिका मकवानपुर निवासी बिर्खे अन्जान नेपाली साहित्यका कविता, निबन्ध, समालोचना, गजल, मुक्तक, कथालगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँ पालुङ साहित्य परिषद् (अध्यक्ष), जनसाहित्य मञ्च मकवानपुर(अध्यक्ष), अध्यक्ष गजलगङ्गा नेपाल ( २०६०–२०६५), फरक सोच अभियान, सदस्य, बुद्धिजीवी परिषद् मकवानपुर सदस्यलगायतका संस्थामा आबद्ध रहनुभएको छ । उहाँका गजल बिम्ब (संयुक्त लेखन– २०६२, ई प्रतिनिधि नेपाली गजल (संयुक्त लेखन– २०७०), समयका स्वरहरू (कविता सङ्ग्रह, संयुक्त लेखन– २०६५), समकालीन नेपाली गजल (संयुक्त लेखन– २०६८), अवसान सपना (कविता सङ्ग्रह- २०७२), शल्यक्रिया (समालोचना सङ्ग्रह– २०७२), कठघरामा देश (मुक्तक सङ्ग्रह– २०७७), मकवानपुरका काव्य : अवलोकन र अध्ययन– २०७९) लगायतका पुस्तकहरू प्रकाशित रहेका छन् । उहाँ राष्ट्रिय निबन्ध प्रतियोगिता– प्रथम (२०५५), राष्ट्रिय निबन्ध प्रतियोगिता– प्रथम (२०५६), बृहत् प्रतियोगितात्मक कवि सम्मेलन- द्वितीय (२०५९), सुदुर कथा पुरस्कार–अस्वीकार (२०६०), सौगात सम्मान– २०६० मकवानपुर, अन्तरङ्ग गजल सम्मान– २०६० लमजुङ, मातृभूमि युवा सम्मान– २०६९, सामाजिक सेवा सम्मान– २०६९, मकवानपुर, राष्ट्रिय खुल्ला कविता प्रतियोगिता द्वितीय– २०७९, सूदर पश्चिमाञ्चल साहित्य प्रतिष्ठान द्वारा सम्मानित (२०७९), युवा वर्ष मोती पुरस्कार (नेपाल सरकार) २०७९ बाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ । –सम्पादक

नागरिक

विद्रोहको लप्का हेरिरहँदा
त्यो आगोको मुस्लोमा
कतै हिटलरको अनुहार, कतै मुसोलिनीका आँखा
त कतै औरङ्गजेबको हात देखियो भने
सोचिहाल्नू महोदय—
त्यो विद्रोह होइन, आतङ्क हो ।

परन्तु
परिवर्तनका लागि गरिएका विद्रोह
मुक्तिकै खातिर उचालिएका मुट्ठी
र, स्वतन्त्रताका निम्ति घन्किएका गीत
सम्झनुहोस् देशकै लागि हो
विडम्बना ! जब देश छुट्छ आफ्नै देशबाट
खस्छ सङ्कटको पहाड, रेटिन्छ शङ्काको करौँती ।

स्वाभिमानको हाटबजारमा
अस्तित्वको पसल थापेर
बिक्री हुन्छ अनुहारको चित्र
कहिले थोक, कहिले खुद्रा, कहिले गोटा गोटामा
बेचिएका हामी
बर्सौँदेखि छुटिरहेका छौँ— आफ्नै देशको मानचित्रमा

प्रश्नहरूकै कारखानामा अनेकौँ प्रश्न पैदा हुन्छन्
कहाँ लिन जाने हो
— जन्मदर्ताको प्रमाणपत्र ?
— खै कसले दिन्छ आफैँलाई चिनाउने एक थान नागरिकता ?
असुरक्षित ठानिएको बेला
कोसँग माग्ने हो हारगुहार ?
कुन देशको तथ्याङ्कमा उल्लिखित छ हाम्रो गणना ?

मेटिँदै छ— ऐतिहासिक तथ्य
शून्य छ— कूटनीतिक संवाद
इतिहासको कुन पानामा उल्लिखित छ ?
लिपुलेक, लिम्पियाधुरा र कालापानी
कुन देशको झन्डालाई
फर्फराउने हो हामीले ?
नपुंसक समयले
हामीलाई दास कि गुलाम बनाइरहेछ ।

समृद्धिको उज्यालो बिहानसँग
सोधेकै हो आस्थाको घाम कहाँबाट उदाउँछ
बोकेर विश्वासको धर्म
खोजेकै हो हामीले टेक्ने धर्तीको सिमाना
निधारबाट बगेको पसिनाको थोपाले
मेटेकै हो आत्मीयताको तिर्खा ।

हुनै परे पनि अभावले कुपोषित
या बन्नै परे पनि भोको पेटको सारङ्गी
शरणार्थी अनुहार बोकेर हिँड्नुको सट्टा
ओ ! सिंहदरबार
लगेर बेचिदिनु मेरा एक जोर आँखाहरू
चुडेर मुटुको टुक्रा – टाँगिदिनू कुनै बधशालामा
या काटेर मेरा खुट्टाहरू– पठाइदिनू कुनै प्रयोगशाला
परिचयविहीन हुनुभन्दा
कयौँ गुणा ठुलो लाग्छ – अङ्गहीन हुनु

म यो भूगोलको
कुनै वर्ण, जात र लिङ्ग नखुलेको
उपेक्षित मान्छे हुँ

निधारमा धसेर माटोको टीका
छातिमा टाँगेर देशको नक्सा
पुस्तौँदेखि म खोजिरहेछु आफ्नै परिचय
र मागिरहेछु — केवल यो देशको एकथान नागरिकता ।

बिर्खे अन्जान

थाहा ३ मकवानपुर

देव निर्दोषका दुई मुक्तकहरू

मकवानपुरगढी -५ निवासी देव निर्दोष पछिल्लो समय नेपाली साहित्यका गजल, कविता र मुक्तकलगायतका विधाहरूमा सक्रियतापूर्वक लागिरहनुभएको छ । उहाँ मुक्तक मञ्चलगायतका संस्थाहरूमार्फत क्रियाशील रहनुभएको छ ।

मुक्तक १

थाहा थिएन मनसँग मन छुनुपर्ने रहेछ
परिस्थितिअनुसार कहिले कसो रुनुपर्ने रहेछ
बालापन जस्तै कहाँ हुन्छ र महोदय जिन्दगी
जिम्मेवारीसँगसँगै कठोर हुनुपर्ने रहेछ ।

मुक्तक २

यति मिठो बोलीवचन पढाउने को हो
त्यही बोलीमा धनैधन चडाउने को हो
श्रीमान्, जहाज उडाउन त लाइसेन्स हुनुपर्छ,
बिनासित्ती मेरो मन उडाउने को हो ?

देव निर्दोष, मकवानपुर

कवि गगन योक्पाङ्देनकाे कविता : तस्बिर

– गगन योक्पाङ्देन

माता कान्छीमाया लिम्बू र पिता चन्द्रबहादुर लिम्बूका सुपुत्रको रूपमा जन्मनुभएका मिक्लाजुङ गाउँपालिका मोरङ निवासी गगन योक्पाङ्देनले स्नातकसम्म अध्ययन गर्नुभएको छ । उहाँ कविता र निबन्ध विधामा सक्रिय हुनुहुन्छ । उहाँ टाँडीकुञ्ज परिवार २०७१ का सस्थापक संयोजक, उर्लाबारी गजल मञ्च ‘जरुवा साहित्य चौमासिक पत्रिका प्रकाशन/सम्पादन, नेपाली साहित्य समाज उर्लाबारीको उपाध्यक्ष, र मिक्लाजुङ साहित्य समाजको अध्यक्षका रूपमा सक्रियतापूर्वक लागिरहनुभएको छ । राष्ट्रिय कविता महोत्सव धरान- २०७९ मा दोस्रो तथा लेखनाथ पुस्तकालय एवम् वाचनालय मोरङ र शब्द खिम झापाद्वारा सम्मानित हुनुभएको छ । –सम्पादक

तस्बिर

इतिहासको एउटा कुरूप क्यानभासमा बनेको
मेरो भरिया बाजेको तस्बिर देखाउँदै बोजूले भनेकी थिइन्
-एक छाक खानकै लागि
-एक सरो लगाउनकै लागि
-र परिवार धान्नकै लागि
त्यस बेला पनि तेरा बाजे शासन र रासनको बोझ
थाप्लो र पिठ्युमा बोकेर हिँड्नु हुन्थ्यो ।

आमाले फेरि मलाई
इतिहासको एउटा अर्को क्यानभास देखाइन्
जहाँ मेरो बाजेको तस्बिरको ठाउँमा
मेरो बुबाको तस्बिर थियो ।

छोरा !
अब म तिमीलाई कसरी
उही क्यानभास र उही तस्बिरमा मेरो अनुहार देखाऊँ
परिवर्तन विनाशले मात्रै सम्भव छ सोचिएकै बेला
छोरा म तिमीलाई युद्ध र विध्वंसका गाथा सुनाएर
उद्वेलित बनाउन चाहन्न
म तिमीलाई मेरो थाप्लोको नाम्लो र पिठ्युँको भारी पनि दिन्न
बरु सट्टामा म तिमीलाई कापी, कलम र इरेजर दिने छु
ताकि तिमीले हाम्रा भाग्यमा कोरिएका
करिङमिरिङ किरिङमिरिङ धमिला धर्साहरू मेटाएर
कर्मको मसीले उज्यालो भविष्य लेख्न सक
ताकि भोलि तिमीले यो देशको सुन्दर तस्बिर फेर्न सक।

त्यो तस्बिरमा
ढाकरमा देश बोकेर उभो लागिरहेका
भरिया सपनाहरूको देशप्रेम झल्कियोस्
आफ्नो काँधमा सिङ्गै सगरमाथा उचालेर
बाँचिरहेका लाक्पा र दोर्जेहरूको समर्पण देखियोस्
जीवनका रङहरूले इन्द्रेणी पोतिरहेका
हाङ्दिङ्मा र डोल्माहरूको हार्दिकता अङ्कित होस्
र त्यो तस्बिरमा
सद्भावको धागोले राष्ट्रिय झन्डा सिलाइरहेका
माइला दर्जीहरूको अनुहार देखियोस् ।

त्यो तस्बिरमा
आफ्ना फाँटिला छातीभरि लहलह बाली झुलाएर
हाँसिरहेकी थरुनी दिदीको हाँसो पोतिएको होस्
त्यो तस्बिरमा
एक हातमा यो देशको माटो मुठ्याएर
अर्को हातले जङ्गे पिलर समातेर देशको स्वाभिमान चिच्याइरहेको
यादव भैयाको देशप्रेम खुलेको होस्
र त्यो तस्बिरमा
विचारको धनुषकाँड लिएर युद्ध लडिरहेको काङसोरेको तस्बिर पनि देखियोस्
यो धर्तीको क्यानभासमा देशको तस्बिर कोर्न
हरियो रङ नपुगे तिम्रो उत्साहको रङ खन्याएर पोतिदिनू
यो देशको तस्बिर कोर्न खैरो रङ नपुगे
तिम्रा पसिनाहरू निचोरेर पोतिदिनू
र यो देशको तस्बिरमा देशप्रेम कोर्न
रातो रङ नपुगे आफ्नै मुटुको रगत झिकेर पोतिदिनू
यति गर्दा पनि देशको तस्बिर धमिलो देखिए
आफ्नै आँखाको उज्यालो टिपेर टाँसिदिनू ।

‘परिवर्तन विनाशले मात्रै सम्भव छ’
सोचिएकै बेला
छोरा म तिमीलाई
युद्ध र विध्वंसका गाथा सुनाएर उद्वेलित बनाउन चाहन्न
म तिमीलाई मेरो थाप्लोको नाम्लो र पिठ्युँको भारी पनि दिन्न
बरु सट्टामा म तिमीलाई कापी, कलम र इरेजर दिने छु ।
ताकि,
तिमीले हाम्रो भाग्यमा कोरिएका
किरिङमिरिङ किरिङमिरिङ धमिला धर्साहरू मेटेर
कर्मको मसिले उज्यालो भविष्य लेख्न सक
ताकि भोलि तिमीले यो
देशको धुमिल धुमिल तस्बिर मेटाएर
देशको उज्यालो तस्बिर फेर्न सक ।

मिक्लाजुङ मोरङ

कथा : विवाह / मसान उपासक

– मसान उपासक

गाजल नलगाएका आँखाहरू सुन्दर हुँदैनन्, कविहरू यसै भन्छन् । सायद उनी पनि गाजल नलगाएकी भए यति सुन्दरी देखिन्नथिन् कि ? मैले मनमनै गमेँ । पहिलो भेटमा सुन्दर युवतीसँगको यात्रा रमाइलै भयो । जब सँगैको सिटमा बसियो, तब हामी कुराकानीमा सक्रिय भयौँ ।
तपाईँको नाम ? — मन्दिरा
तपाईँको पुरा नाम ? — मन्दिरा चालिसे
तपाईँको शिक्षा ? —बाह्र कक्षा पढ्दै ।
मुख्य विषय ? — अङ्ग्रेजी ।
… … … आदि … … … आदि ।

उनी साहित्यलाई माया गर्ने मान्छे रहिछिन् । भन्थिन् —‘एउटा उपन्यास लेख्ने तयारीमा छु ।’ म उत्साहित भएँ । एउटा कविसँग अर्को कविको जम्काभेट, गफगाफ लम्बिँदै गयो ।
समयान्तर नहुनु पर्थ्यो — मेरो कामना ।
हरेक कुराको आफ्नै महत्त्व छ — उनको उत्तर ।
समय स्थिर रहन सक्नुपर्थ्यो — मेरो धारणा ।
समयसँगै हामी पनि स्थिर हुनुपर्थ्यो कि ?— उनको आशङ्का ।
म चुप रहेँ । उनी पनि बोलिनन् ।
सहर भनेको सहर हो — उनको लिँडेढिपी ।
सहर भनेको स्वार्थी बस्ती हो — मेरो तर्क ।

सहरमा मान्छेहरू स्वार्थी देखिन्छन् । यसको कारण आफ्नै होला । यहाँका मान्छेहरू टेलिफोन नम्बरमा अनुदित भैसके र पैसामा बिकिसके । समयान्तर नै यही हो कि ? देवकोटाका पालामा ल्हासामा सुन साट्न जान्थे । हाम्रा पालामा मदन साउदी र कतारमा रियाल साट्न जादैछन् । यही त हो नि फरकपन । तैपनि उनी यसलाई समयान्तर नै मान्दिनन् । म लिँडेढिपी प्रस्तुत गर्छु ।

तिमी फेरियौ र तिम्रो समय
आखिर घेरियौ र हरायो निर्भय
जसले सक्छ उसकै पक्षमा छ
नहुनेको बेहाल छ हुनेकै छ विजय ।

दुई सेर गजल सुनाएँ । यात्राले कहिलेसम्म निरन्तरता पाउँछ होला ? जीवन रहेसम्म कि मृत्यु रहेसम्म । म सोचमग्न रहेँ । उनी फेरि बोलिन् ।

जिन्दगी दुःख हो आँसु त्यसको साथी — उनको निरासा ।
जिन्दगी सुख हो र हाँसो त्यसको साथी — मेरो ढाडस ।
त्यस्तो हुन सक्दैन जब प्रेम नै छैन भने — गोप्यता भङ्ग ।
प्रेम त आफैँ हुन्छ । खोजी गर्नै पर्दैन — मेरो आग्रह ।

छुट्टिने समय पो आएछ । यात्राको समाप्तिपछि हामी फरक फरक बसमा चढ्यौँ । दुई विपरीत यात्राले मन खिन्न बनायो । हिँड्दा धेरैसँग आँखा जुध्छ र बोलचाल हुन्छ । ती सबैको लेखाजोखा राख्ने कुरा पनि भएन र राखिएन । हप्ता बितेर महिनाहरू बितेछन् । त्यो दिनको यात्रा बिर्सिएछ ।

एक दिन कलेज पुगेर फर्किएँ । एउटा भाइलाई भेटेँ । हतारिँदै गाडीतिर हान्निएँ । बस छुट्न थालेछ । चढेँ । एउटा बिचतिरको सिट खाली रैछ । गएर बसेँ । अर्धपरिचित झैँ लाग्ने एउटा तरुनी अनुहार मलाई हेरेर फिस्स हाँस्यो । म रुघाखोकीले ग्रस्त थिएँ । हल्का ज्वरो पनि थियो । सिटमा चुपचाप बसेँ जसरी अरु दिन बसिन्थ्यो । नरिवल बेच्न एउटा अधबैँसे केटो आयो । उनले दुई टुक्रा किनिन् । म चुपचाप बसेँ । नरिवल ! नरिवल ! त्यो केटो कराउँदै गयो । गाडीले गति लियो । एक टुक्रा नरिवल मतिर तेर्सियो । दोधारमा परेँ । म अक्मकिएको देखेर उनैले बताइन् कि उनी को हुन् ? म क्षमाप्रार्थी भएँ । स्वास्थ्य कमजोरीले यस्तो पारेको बताएँ । गफगाफ फेरि सुरु भो । प्रेम, जीवन र पढाइका कुराकानी भए । भन्दै थिइन् — उपन्यास लेख्न सुरु गरेँ । मैले शुभकामना दिएँ । उनले आफ्नो घर देखाइन् र आउने निम्तो पनि दिन भुलिनन् । हामीले फोन नम्बर साटासाट गर्‍यौँ ।

जिन्दगी यात्रा भए जस्तो
समयले जवानी लगे जस्तो
यस्तो पो लाग्छ अचेल
मन मुटु नै कसैसँग गए जस्तो ।

जादाजादैँ यो मुक्तक सुनाइन् । बसबाट ओर्लिइन् । प्रेमिल हात हल्लाइन् र ओझेल परिन् ।

यता घरमा एक्कासि बिहेको कुरा चल्यो । बाबाको सल्लाह थियो—
— छोरा मान्छे बिहे गर्न हच्कँदैन ।
— वंश जोगाउन बिहे गर्नुपर्छ ।
— बिहे गर्नु भनेको रीति जोगाउनु पनि त हो ।
— परिपक्व देखिन पनि बिहे गर्नुपर्छ ।
— तैँले कमाएको सँगालेर राख्ने मान्छे आउँछे ।
— यत्रो जिन्दगी एक्लै कटाउन सकिन्न बाबु !

आमा पनि बोल्दै थिइन्—


— मलाई सघाउने मान्छे आउँछे ।
— आमालाई कहिलेसम्म दुःख गर् भन्छस् ?
— सबैको जस्तो तेरो पनि बिहे हेर्ने रहर छ ।
— नातिनातिनाको पनि मुख देख्नुपर्‍यो नि ।
— यसो भान्सा, मेलापात गर्न सघाउली कि ?

साथीभाइको पनि आफ्नै मत थियो—

— बुढेसकाल लाग्यो होला नि हैन र ?
— बिहे गर्दा छि ! भन्ने केटीसँग चाँहि गर्नुहुन्न है ।
— हिम्मत गर्नुपर्छ । मौकामा त हो नि हिरा फोर्ने ।
— बुढेसकालमा छोराछोरी स्याहार्नु पर्ला है !
— बिहे त जवानी मै पो गर्नुपर्छ ।

मेरो विचार बेग्लै थियो—


— आफ्नो बिहे गर्दा आफैँले आफैँलाई हेर्नुपर्छ ।
— आफ्नो भविष्यको ख्याल गरेर मात्रै बिहे गर्नुपर्छ ।
— सकेसम्म कम खर्च गर्नुपर्छ ।
— सबै गुणले भरिपूर्ण केटीसँग बिहे गर्नुपर्छ ।
— बिहे जीवनमा एकपटक मात्र गर्नुपर्छ ।
— बिहे हतारमा गरेर फुर्सदमा पछुताउने गरी गर्नुहुन्न ।

आखिर सबै कुराको बारेमा सोची बिचारी बिहे गर्ने भइयो । बुबाले धेरै घर देखाए । साथीभाइले धेरैको नाम लिएर जिस्काए । जे होस्, आखिर बिहे गर्ने पक्कापक्की भो । त्यसपछिको एक दिन उनी न्युरोडको एक कुनामा उभिएकी भेटियो । हामी एउटा रेस्टुँरामा बसेर कुराकानी थाल्यौँ ।

— बिहेको बारेमा तिम्रो के धारणा छ ? — मेरो प्रश्न ।
— बिहे जीवनमा एकपटक गर्नैपर्छ । — उनको उत्तर ।
— सिद्धान्त वा विचार मात्र मिले पुग्छ कि पुग्दैन ? — मेरो जिज्ञासा ।
— दुबै मिल्नुपर्छ । अन्यथा राम्रो सम्बन्ध स्थापित हुन सक्दैन । — उनको सचेतना ।

यसरी लामो कुराकानी भयो । मैले बाध्यता बताएँ । हाम्रो जीन्दगी, सिद्धान्त र व्यवहारका बारेमा लामै छलफल भयो । अन्त्यमा एक अभ्यस्त जीवन छाडेर नयाँ बाटोको निर्णय गरी हामी छुट्टियौँ । साँझपख मात्र म घर फर्किएँ । हामीमा रहेको इच्छा, सङ्कोच, आलोकाँचोपना, योजनाहीनता हटाएर दुबैको इच्छा, आकाङ्छाका बारेमा खुलेर कुरा गरेकाले होला हामी नयाँ सम्झौतामा पुग्यौँ । जिन्दगीको नयाँ धारमा टेकेर हिँड्ने निर्णय पारित गरियो ।

घरमा सबै परिवार जम्मा भइसकेका रहेछन् । खानापछि कुरा सुरु भयो । सबैले क्रमैसँग राय व्यक्त गरेँ —


— शीलस्वभाव हेरेर बिहे गर्नुपर्छ ।
— केटी घरको काम गर्ने हुनुपर्छ ।
— पढेकी हुनुपर्छ । सके जागिर खाएकै होस् ।
— केटी परम्परागत हैन आधुनिक हुनुपर्छ ।
— केटी राम्रो कुलको हुनुपर्छ ।
— केटीको खानदान हाम्रै हैसियतको हुनुपर्छ ।

कस्तो केटी खोज्ने ? निर्णय नभई परिवारका सदस्यहरू हाई ! काढ्न थाले । म पनि सुत्न लुसुक्क कोठातिर लम्किएँ ।
बिहे भनेको महत्त्वपूर्ण काम हो । यस्तो काममा गल्ती गरे त्यसले जिन्दगीभरि रुवाउँछ । त्यसैले सबै परिवार, छरछिमेकी, आफन्तको पनि आफन्त बोलाएर बिहे गरिन्छ । एक साँझ बुबाले सोधे— बिहे यसै साल गर्नुपर्ने, के के कुरा खोजौँ ?


— लुगाकपडा
— गहना
— धानचामल
— जग्गेका सामाग्री
— बाजागाजा


म बोलिनँ । योभन्दा अघि बिहे भाको होस् न थाहा पाउनु !
बरु, आफ्नो सुझबुझ तेर्स्याएँ —


— कम खर्च गर्नुपर्छ ।
— खर्चै गर्नुहुन्न ।
— बिहेपछि खर्चले पोल्ला जोगिनुपर्छ ।
— त्यही ऋणले मुग्लान पस्नुको अर्थ हुन्न ।
— बिहे आफूले चाहेकोसँग गर्नुपर्छ ।
— साहित्यिक भए धेरै राम्रो होला नभए जनवादी गरम् ।


त्यसपछि बुबाले सम्झाउनुभयो । उहाँले निर्देशनात्मक प्रस्ताव राख्नुभयो —


— बिहेअघि धेरै विचार गर्नुपर्छ ।
— बिहेले जीवनलाई जीवन बनाउँछ ।
— संस्कारका लागि पनि खर्च गर्नुपर्छ, लोकलाज ढाक्नैपर्छ ।
— ऋण लागेर के भो त ? दिन नलागे भैगो नि त ।
— बिहे गर्नुअघि अग्रजसँग सल्लाह लिनुपर्छ ।
— हामी हुँदाहुँदै तैँले चिन्तै नगर् न ।

यहाँ सयौँको बिहे हुन्छ । म पनि कयौँको जन्त गएको छु । तर यति बोझ भए, कसले बिहे गर्थ्यो होला र ? यति धेरै रीतिथिति र संस्कारका कुरा पूरा गरेपछि त बिहे भैहाल्छ नि । तर यी सबै पुरा गर्न नै धौ धौ छ ।

हुन त बिहे गर्न उक्साउने भनेकै घरपरिवार हुन् । आफन्त हुन् । बाआमाको बुहारीको रहर,भाइबैनीको भाउजूको रहर, आफ्नो नि घरबारको रहर भएपछि त हो नि बिहे गर्न हौसिने । ओहो ! दाह्री त हलक्कै आइसकेछ । दाह्री नै त हो नि बैँसको सङ्केत । दाह्री फुल्नु नै त हो बैँस फुल्नु । बैँस फुलेपछि त बिहे गर्ने उमेर ढल्किन्छ । झस्किन्छु । ब्लेडले दाह्री खौरिन्छु । कति सोची मात्रै राख्ने ? म उनलाई फोन गर्छु । केही समय कुरा गर्छु । फोन राख्छु । यसरी जसले बिहे गर्न उक्साउँछन् उनीहरूलाई नै नबोलाई बिहे गर्नुको औचित्यमाथि प्रश्न चिह्न तेर्सिन्छ । म प्रश्नैप्रश्नमा रन्थनिन्छु ।

बिहानी भालेको डाँकसँगै म आफ्नो कोठाबाट बाहिरिन्छु । कोठामा एक्लै भएका कारण कसैले थाहा पाएनन् होला । अन्य परिवारका सदस्यहरू निद्रामै मस्त छन् । जिन्दगी कसरी बित्छ, थाहा छैन । तैपनि ससानो झोला लिएर झर्छु कलङ्की हुँदै थानकोटको ओरालो क्रमशः । साथमा हेर्छु मन्दिरा मेरै जिउमा अडेस लागेर निदाए झैँ छिन् ।
यसरी बिहे गरियो । बिनाजग्गे । बिनाजन्ती । बिनापुरेत । बिनापरम्परा । बिनाआफन्त । बिनापरिवार । बिनाछरछिमेकी । बिनासाहत्य । बिनाजनवाद । अझ भनुम् न बिनातयारी … … … ।

– मसान उपासक

बकैया, मकवानपुर

कथा: क्याफे डे ला फ्युमी

–छवि अनित्य

रेइनी । उनको फेसबुक अकाउन्ट । मैले केही समय यता पछ्याइरहेको एउटा नाम फेसबुकमा ।
मलाई विश्वास छ, यो उनको वास्तविक नाम होइन । नेपाली नाम त बरु रेनु वा अलि तल चुरे झरेपछि रेणु हुनसक्थ्यो । तर उनले रोमनमा लेखेकी छिन्, आर् इ आइ एन इ — रेइनी । उच्चारण मैले गर्नेभन्दा केही फरक पनि त हुनसक्छ ! के फरक पर्छ ?
उनलाई खास पछ्याउनुका केही कारण छन् । सबैभन्दा ठूलो कारण उनको आइडल, भारतीय कवि—लेखक अरुन्धती राय । कसैकसैले ‘रोय’ पनि भन्छन् । जेसुकै भनुन्, मलाई त अझ राई भैदिएको भए उच्चारण गर्न सजिलो हुन्थ्यो । त्यसो हुँदो हो त अपनत्व पनि बढ्थ्यो होला नि ?
हो, उनी खुबै पछ्याउँथिन् अरुन्धतीलाई । र म पछ्याउँथेँ उनलाई । तर न उनले अरुन्धतीलाई भेटेकी छिन्, न त मैले उनलाई । बस् भेट्ने धोको छ शायद दुबैतिर ।
मैले पहिलो पटक उनलाई त्यतिबेला पछ्याएको थिएँ जतिबेला उनको प्रोफाइल पिक्चरमा थियो ‘द गड अफ स्मल थिङ्स्’ । ठुल्ठुला कमलका पातहरुबीचमा चेपिएर सकिनसकि फुल्न खोजिरहेका कोपिलाहरु थिए । तल कुनामा सुनौलो घेरामा लेखिएको थियो ‘विनर अफ द बुकर प्राइज’ । यसलाई विज्ञापन भनिँदैन होला नि ?
क्याप्सनमा उनले लेखेकी थिइन् – ‘चेन्ज इज वन थिङ्ग, एसेप्टेन्स इज एनोदर ।’
‘द गड अफ स्मल थिङ्स्’ मैले नपढेको किताब थियो । यो ठुलो कुरो हो र ? संसारमा कति बेस्ट सेलर किताब छन्, ती सबै पढेर सकिन्छ र ? वा अरुन्धतीले हाम्रा देवकोटा, पारिजात पढेकी छिन् होला र ? आआफ्नो रुचीको कुरो हो नि ।
ठुलो कुरा त अब थियो । यहाँ थियो । उनले ‘चेक इन’ मा मेन्सन गरेकी थिइन् – ‘क्याफे डे ला फ्युमी, हेटौंडा’ । मतलब उनी हेटौंडाकी ! यहाँ त प्रत्येक राम्रा पाठकलाई चिन्दछु म । फेरि मैले आजसम्म नचिनेकी को हुन् यिनी ? जो होउन्, मलाई चिन्नु नै त थिएन । तर पछ्याउनु जरुर थियो । किनकि यति असल पाठकलाई मिस गर्नु मजस्तो ‘बन्दै गरेको लेखक’का लागि घाटाको विषय हुन सक्थ्यो ।
कम्तीमा शहरमा कहिलेकाहीँ चलेका लेखकका पुस्तकमाथि अन्तरक्रिया हुन्थे । कुनै बेलामौकामा आफ्नै लेख रचनाहरु सुनाउने जमघट बढाउन सकिन्थ्यो । मलाई असल पाठक छुटाउनु हुन्न भन्ने जहिल्यै लाग्छ, रेइनीको प्रोफाइलमा पुगेपछि पनि लाग्यो ।
मैले पछ्याएँ, रेइनीलाई ।
र तुरुन्तै पछ्याउन थालेँ ‘क्याफे डे ला फ्युमी’ । मलाई लाग्दछ कि म यो शहरका हरेक भट्टी, मः मः होटलदेखि ठुला रेस्टुराँसम्म पसेको छु । तर मलाई थाहा थिएन, कहाँ छ यो क्याफे ?
उनले चेक इन गर्नुको अर्थ पक्कै भेटिन्छ गुगलमा ! गुगल म्याप्स खोलेँ र टाइप गरेँ ‘क्याफे डे ला फ्युमी’ ।
यो त त्यहीँ थियो, जुन बाटो भएर म दिनको दुईपटक कम्तिमा ओहोरदोहोर गर्थेँ । मैले किन देखिनँ त्यो नामको क्याफे त्यहाँ ?
…..
आज थोरै फुर्सदमा छु । मलाई जसरी पनि भेट्टाउनु छ ‘क्याफे डे ला फ्युमी’ ।
केही समय यताका रेइनीका प्रायः पोस्टहरु हेरेको छु । लगभग एउटै समयमा उनले क्याफेमा चेक इन गरेकी हुन्छिन् । करिब करिब साँढे एक बजेको आसपास । मलाई थाहा छ, यो जागिरेहरुको ‘लन्च आवर’ हो ।
गुगल म्यापले क्याफेको लोकेसन देखाएको मोडको एक छेउमा पार्किङ गरेँ । वरपरका होर्डिङ बोर्डहरु हेर्न थालेँ । त्यहाँ कतै पनि ‘क्याफे डे ला फ्युमी’ थिएन । फेरि सबैतिर नजर डुलाएँ । एउटा गल्लीको भित्री भित्तामा कफिको कपको आकर्षक पेन्टिङ थियो । लेखिएको थियो – ‘गुड मर्निङ क्याफे’ ।
जे होस्, क्याफे त छ ।
म त्यही गल्लीबाट भित्र छिरेँ ।
साँघुरो गल्लीबाट अलिकति भित्र बायाँपट्टी उक्लने साँघुरै भ¥याङ । सुन्तला रङका भित्ताहरुमा टाँसिएका काला—सेता ससाना काठका बाकसहरु । बाकसभित्र कतै सुन्दर कलाकृति, कतै ससाना गमला । पहिलो तल्लामा दायाँपट्टि सानो किचन ।
एक्कासी हरियो खुर्सानी डढाएको पिरो राग नाकबाट भित्र छि¥यो । बडो मुस्किलले थामिएँ । कसैले चाउमिन अर्डर गरेको हुनुपर्छ ।
बायाँपट्टि करिब अठार–बीसको साइजको एउटा कोठा । ढोकाबाट छिर्नेबित्तिकै बायाँ कुनामा रिसेप्सन । भित्र मुस्किलले चारवटा टेबल अटाएका छन् । भित्तामा गौतम बुद्धको पेन्टिङ शान्त मुद्रामा आँखा चिम्लेर बसेका छन् । दायाँ लहरमा झ्यालको छेवैमा भएको टेबलमा दुई किशारीहरु छन् । दुबै आआफ्ना फोनमा व्यस्त छन् । अर्को टेबलमा एक जोडी (नै त हुनुपर्छ) अधवैंसे छन् ।
ओहो ! भुसुक्कै बिर्सेको ।
अघि भ¥याङबाट उक्लँदै गर्दा एक जोर आँखा मलाई हेरेर मुस्कुराए जस्तो लागेको थियो । मैले त बल्ल पो याद गरेँ । हो नि, आँखा मुस्कुराउँछ । नपत्याए ऐनाअघि उभिएर एकपटक रिसाएर हेर्नुस् । अनि फेरि एकपटक मुस्कुराएर हेर्नुस् त । ओठको भाषासँग अभिव्यक्त भैरहेको हुन्छ आँखा पनि ।
शायद ती आँखा मैले चिनेको हुनुपर्छ ।
झट्ट सम्झेँ तिनको कालो टिसर्ट र त्यसमा छापिएको आइफल टावर । मान्छे बिना अर्थ त केही लगाउँदैन ।
बायाँ कर्नरको टेबलमा बसेँ । रिसेप्सनबाट उठेर एउटा गिलासमा पानी भरेर भाइ आयो । पानीको ग्लास टेबलमा राखेर मेनु त्यसको छेवैमा राख्यो ।
‘टु सिगरेट्स् ब्रो !’
अहँ, मैले होइन । झ्यालको छेवैको टेबलमा म भएतिरै फर्केर बसेकी किशोरीले अर्डर गरिन् ।
मैले त मेनु पनि पल्टाइनँ । अर्डर गरेँ, ‘एउटा झोल मः मः, बफ ।’
म त ‘क्याफे डे ला फ्युमी’ खोज्दै पो यहाँ आइपुगेको । कहाँ यो धुवाँभित्र हराउन आइपुगेँ । म भित्रको तलतल अचानक जागृत भएर आयो । धेरै भैसकेको थियो आफैंलाई नियन्त्रण गरेको । वेटरलाई बोलाएँ र एक खिल्लि अर्डर गरेँ ।
यहाँ धुमपान निषेध छैन ।
पहिलो प्रवेशमा मैले यही बुझेँ ।
एक सर्को तानेर मोबाइल खोलेँ । रेइनीले केहीबेर अघि मात्रै पोस्ट गरेकी थिइन् ।
‘सि निउ भेरि वेल द्याट सि निउ भेरि वेल द्याट सि निउ भेरि वेल ।’ क्याप्सनसँगै थियो ‘द मिनिस्ट्री अफ अट्मस्ट ह्याप्पिनस’ को कभर ।
मोबाइलको ट्रान्सलेट एपमा टाइप गरेँ ‘क्याफे डे ला फ्युमी’ । ‘डे ला’ शब्दले यो फ्रेन्च भएकोमा म ढुक्क थिएँ । नेपालीमा अनुवाद भएर आयो, ‘धुवाँको क्याफे’ । म सही ठाउँमा आएको रहेछु ।
झ्याल छेउका टेबलमा बसेकी अर्की किशोरीले अर्डर गरिन् ‘डबल एप्पल हुक्का’ । म हुक्काको फ्लेवरसँगै मः मः को स्वाद लिन थालेँ ।
…..
‘सि वाजन्ट अ वुमन हु स्माइल्ड एन्ड सेइड हेल्लो ।’
रेइनीले आज प्रोफाइल पिक्चर फेरेकी छिन् । ब्लाक एन्ड ह्वाइट तस्बिर छ । बुर्का झैँ लाग्ने गरी अनुहारमा सलले छोपेकी छिन् । क्याप्सनसँगै ह्यासट्गमा उल्लेख गरेकी छिन् अरुन्धती राय र ‘द मिनिस्ट्रि अफ अट्मस्ट ह्याप्पिनस’ ।
समय दिउँसो १ बजेर ३३ मिनेट ।
बिहानै अस्पताल पुगेको थिएँ । पुग्नै पर्ने थियो । स्वास्थ्यमा केही गडबडी भैरहेको थियो । स्वासप्रश्वासमा केही समस्या आइरहेको थियो । अझ कोभिड महामारीमा जहिल्यै मास्क लगाउनुपर्ने बाध्यतामा यो झनै कठिन थियो । मलाई सरकारी अस्पतालको लामो लाइनमा बसेर दिन बिताउनु थिएन । एउटा निजी अस्पतालमा पुगेँ ।
डाक्टरको कोठामा पस्ने बित्तिकै नर्सले ‘हेल्लो !’ भनिन् । मैले ‘हाई !’ ले जवाफ फर्काउनु नै थियो ।
डाक्टर भेट्नुअघि प्रेसर जाँच गर्नु नै थियो । त्यसैको लागि उनी त्यहाँ थिइन् । कफलाई मेरो पाखुरामा बाँध्दै गर्दा सोधिन् ‘अचेल नयाँ कविता आउन छोड्यो नि तपाईँको !’
‘अँ, अचेल लेखाइ अलि कम नै छ ।’
‘फेसबुकमा पढ्छु तपाईँका कविता । राम्रा लाग्छन् ।’
‘धन्यवाद ! केही नयाँ लेखिए भने पोस्ट गर्छु नै ।’
कागजमा प्रेसर नोट गरिन्, १३०÷१०० । सामान्य स्वास्थ्य परीक्षण भयो । डाक्टरले छातीको एक्स रे गर्न सिफारिस गरे । एक्सरेको कागज लिएर फेरि उही कोठामा गएँ ।
‘चुरोट कम पिउनुस् । तपाईँलाई राम्रो गर्दैन ।’ डाक्टरले चेतावनीको स्वरमा सुझाए । प्रेस्क्रिप्सन हातमा लिएर म बाहिरिएँ ।
मैले नचिनेकी मलाई फेसबुकमा पछ्याउने नर्सले केही भनुँ झैँ गरिन्, तर भनिनन् । उनको एप्रोनमा छातीको बायाँपट्टि लेखिएको नाम पढेँ, रानी केसी ।
…..
यसपटक रेइनीको पोस्टमा सल्किरहेको चुरोट एस्ट्रेको डिलमा सानसँग अडेको थियो ।
‘द वन्ली ड्रिम वर्थ ह्याविङ, आइ टोल्ड हर, इज टु ड्रिम द्याट यु विल लिभ ह्वाइल यु आर अलाइव एन्ड डाइ ह्वेन यु आर डेड ।’
ह्यासट्याग अरुन्धती राय र ‘द कस्ट अफ लिभिङ’ ।
केहीबेर अडिएपछि मैले लाइक बटनमा केहीबेर थिचेँ । त्यसपछि ‘लव रियाक्ट’ दबाएँ ।
अचानक मेरो आँखा अघिल्तिर रेइनी उभिएकी थिइन् । उनका दायाँ हातका चोर औंला र माझी औंलाका बीचमा च्यापिएको चुरोटको खिल्ली बडो कलात्मक ढंगले धुवाँका रेसाहरु छोडिरहेको थियो । मलाई आफ्नै औंलाहरुदेखि घृणा लाग्यो । किन मेरा औंलाहरुले कहिल्यै यति कलात्मक ढंगले च्याप्न सकेन चुरोटको खिल्ली ? किन मेरा औंलाहरुमा च्यापिएको चुरोटको ठुटोबाट निस्केनन् यति सुन्दर धुवाँका रेसाहरु ? कि यो ओठको जादू हो ? ती गुलाबी ओठको ! जसको स्पर्श पाउँदा बित्तिकै रोमाञ्चित भएर सल्किन्छ चुरोटको खिल्ली । जसले प्रेमपूर्वक तानेको पफमा लहरिन थाल्छन् धुवाँका रेसाहरु । यो आफैंमा अद्भुत थियो । यो फगत कल्पना थियो !
शायद म चाहन्थें रेइनी मसँगै होउन् । वा फेरि ‘क्याफे डे ला फ्युमी’ मा, त्यो धुवाँको क्याफेमा कुनाको टेबल सेयर गरिरहेकी होउन् । हामी एक खिल्ली अर्डर गरौँ । उनका औंलाहरुले उसैगरी कलात्मक ढंगले च्यापून् खिल्ली । उनका ओठहरुले प्रेमपूर्वक स्पर्श गरुन् पटकपटक त्यो खिल्लीलाई । अनि करिब अठार–बीस साइजको त्यो कोठाभरी नृत्य गरुन् धुवाँका रेसाहरुले !
वा फेरि यस्तो होस् न – कुनै शान्त नदिका किनारमा होऔं हामी । आकाशमा ताराहरु टिल्पिलाइरहेका होउन् । उनले कपालमा सुगन्धित फूल सिउरेकी होऊन् । म घरीघरी उनका आँखामा हेरिरहूँ । र देखिरहूँ जादुई रहस्यहरु । घन्टौं बितून् यसैगरी । हामी नबोली रहौं । उनी नबोलून् । म हेरिरहूँ ।
धत् ! म त फेरि फर्केर ‘द गड अफ स्मल थिङ्ग्स्’ मै पो पुगेछु ।
कुनै दिन रेइनीले सेयर गरेकी थिइन् अरुन्धतीलाई मेन्सन गर्दै – ‘सि वोर फ्लावर्स इन हर हेअर एन्ड क्यारिड म्याजिक सिक्रेट्स इन हर आइज । सि स्पोक टु नो वन । सि स्पेन्ट आवर्स अन द रिभरब्याङ्क । सि स्मोक्ड् सिगरेट्स् एन्ड ह्याड मिडनाइट स्वीम्ज् … ।’
म त झन्डै झन्डै अरुन्धतीकी पात्रसँगै उनको कल्पनामा डुबुल्की मार्न लागिरहेको रहेछु । यो त पक्का नकाम नै हो नि !
मेसेन्जरको नोटिफिकेसन बेल बज्यो, ‘टिङ्…’ ।
अनौठो संयोग थियो । रेइनीले सन्देश पठाएकी थिइन् ।
‘गिभ अप स्मोकिङ । नट गुड फर योर हेल्थ ।’

–छवि अनित्य

गजलकार विमला कार्की (सुसं) काे गजल

हाल मकवानपुर निवासी गजलकार विमला कार्की “सुसं” पेशाले स्वास्थ्यकर्मी भएर पनि चितवनमा रहेर कविता र गजलमा कलम चलाउनुहुन्छ । उहाँको ‘पत्थरको मान्छे’ गजल संग्रह (२०६६) र ‘घाम नभएको आकाश’ गजल संग्रह (२०६९) प्रकाशित रहेको छ । उहाँ गजल श्री (२०६५) हाम्रो मझेरी चितवन, तिला कुमारि सहित्य सम्मान स्याङ्जा २०६९, एकल गजल सन्धा सर्जक सम्मान हेटौडा लायन्स कल्ब २०६९, कला साहित्यिक प्रतिष्ठान ब्याङलोर सम्मान २०७२, कला फाउन्डेसन प्रसंसा २०७७, रास्कोट कला साहित्य प्रतिष्ठान २०७७ सम्मान, नेपालि साहित्यकार विश्व सञ्जाल प्रसंसा पत्र २०७८, नेपाल मुक्तक प्रतिष्ठान सम्मान प्रत्र २०७८, सगरमाथ साहित्य सम्मान पत्र २०७८ बाट सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ । –सम्पादक

गजल

सधैँ मुस्कुराइ रहने ति आँखा हुन्छन् ।
जुन आँखामा सधैँ हाम्रा बा आमा हुन्छन् ।

दिनभर एक्लै राज गरे पनि घामले
राति त आकाश भरि जुनतारा हुन्छन् ।

जो सर्माउछ बोल्न हेपिरहन्छ गाँउलाई
उस्को भान्छामा गाँउले देको खाजा हुन्छन् ।

दौडमा खुट्टा नहुनेले पनि भाग लियो
बुझ्नुस उस्का पनि जित्ने चहाना हुन्छन् ।

तिमीसंग किन हुन्छ यति धेरै सरम
मुस्ताङ्गे स्याउ जस्तै यी गाला राता हुन्छन ।

विमला कार्की (सुसं), मकवानपुर