Home Blog Page 14

बालबालिकाका नाममा खुला पत्रः अभि सुवेदी

अभि सुवेदी

साहित्यकार

प्यारा भाइबहिनीहरु,
नमस्कार !
 
तिमीहरू के राम्रो, के नराम्रो छुट्याउन सक्ने भएका छैनौ । त्यसैले ठुलाको अर्ति र उपदेश ध्यानपूर्वक सुन्ने र अनुशरण गर्ने गर्नुपर्छ । कहिलेकाहीँ त्यस्ता सल्लाहहरू दिक्कलाग्दा पनि हुन सक्छन् तर, त्यस्ता उपदेशमा जीवन बदल्न सक्ने शक्ति र सामर्थ्य लुकेका हुन्छन् ।
 
हामी सबैको पहिलो गुरू आमा हुन् । उनको अर्ति सधैँ शिरोपर गर्नुपर्छ । म पनि मेरी आमाको प्रेरणाले यहाँसम्म आइपुगेको हुँ । त्यहि प्रभावले आज पनि झण्डै ४६ वर्षदेखि मैले विश्वविद्यालयमा पढाएका संसारभर छरिएका मेरा विद्यार्थी र इष्टमित्रको मायामा रमाइरहेको छु । समाजमा अनेक खाले मान्छे बस्छन् । कोही गलत बाटोमा हिँडिरहेका हुन्छन् । ती गलत मानिसको सङ्‍गत गर्नुहुँदैन । असल मित्र बिस्तारै थपिँदै जान्छन् ।
 
म पूर्वी नेपालको तेह्रथुम जिल्लाको साब्लाखुमा २००२ सालमा जन्मिएँ । मेरो बाल्यकाल र अहिले तिमीहरू हुर्कँदै गरेको समयमा धेरै फरक छ । हाम्रो पालामा पढ्ने किताबसम्म हुँदैनथे । खरीले कालो पाटीमा लेख्नुपर्थ्यो । अहिले तिमीहरूले पाउनेजस्ता थरिथरिका शैक्षिक सामाग्री कहाँ थिए र ? त्यतिबेला आजको जस्तो कम्प्युटर, मोबाइल, टेलिभिजनको कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो।  
 
मेरो समयमा पढ्ने सामान नपाएर हैरान हुन्थ्यो, अहिले छान्न नजानेर समस्या थपिएको छ।
 
लगातार टेलिभिजन हेरेर बस्नु राम्रो होइन । टेलिभिजन हेर्न निश्चित समय छुट्याउनुपर्छ । टिभीमा के हेर्ने भन्नेबारे आफुभन्दा ठुलासँग सल्लाह गर्नुपर्छ । बहादुरीका कथा, दया र कल्याणका कथा हेर्नुपर्छ । संयोगान्त कथाहरू हेर्नुपर्छ । धर्मका विषयमा चाख लाग्छ भने अभिभावकसँग बसेर महाभारत हेर्ने गर्‍यो भने तिमीहरूको ज्ञानको दायरा बढ्छ । कोठाभित्र एक्लै कम्प्युटर र मोबाइलमा गेम खेलेर बस्नु स्वास्थ्यका दृष्टिले पनि भयानक हुन्छ । खेल्दा समुह बनाएर खेल्नुपर्छ । प्रकृति पनि एउटा पाठशाला हो । त्यसकारण घर र विद्यालय हाता बाहिरको वातावरण बारे पनि ज्ञान हुन उत्तिकै जरुरी छ। कुनै पनि काम जानेर बेफाइदा हुँदैन । तिमीहरूले सिकेको कुरा संस्कार भयो भने मात्रै उपयोगी हुन्छ ।
 
किताबमा भएका कविता भाका हालेर पढ्न सिक्नुपर्छ । कविता कण्ठस्थ पार्ने बानीको विकास सानैदेखि भयो भने ठुला कक्षामा जस्तोसुकै सूत्र पनि हाउगुजी लाग्दैनन् । तिमीहरूसँग भेट भएका बखत मैले सानैमा पढेका कविताहरू सुनाउँला । अक्षरहरू सफा र चट्ट पारेर लेख्ने गर्नुपर्छ, यो जीवनभर काम लाग्ने हुन्छ । भाषामा दख्खल राख्नुपर्छ ।
 
पैसा फुरमास गर्ने बानी पटक्कै राम्रो होइन नि ! दक्षिणा, उपहार आदिबाट प्राप्त रुपैयाँ, खेलौना, लुगाकपडा जस्ता सामानमा भरसक खर्च गर्नु हुँदैन । त्यसलाई जोगाएर किताब किन्ने बानीको विकास गर्नुपर्छ । भविष्यमा एउटा ठुलो लाइब्रेरी आफ्नै घरमा बनाउँछु भन्ने अठोट लिएर अघि बढे सम्भव हुन्छ । किताबहरू जहिले पनि काम लाग्छन् । मेरो लाईब्रेरीमा म आफैँले लेखेका, विश्वविद्यालयमा पढाएका र अन्य हजारौं देशी-विदेशी किताब छन्। मैले घरैमा पढ्न सुरु गर्दा मेरी आमाले भेला गरिदिनुभएका किताब पनि मेरो घरको लाइब्रेरीमा छन् । आजकल मेरो कोठा कक्षाकोठा जस्तै भएको छ । रिटायर्ड लाइफमा किताबहरू मेरा गुरू र साथी भएका छन् ।
 
तिमीहरूको उमेर जीवनको सुरुवाती अवस्था हो । यस्तो ऊर्जाशील समयमा कुनै पनि कुराले दुखी र विचलित हुनु हुँदैन । हामीले आफ्नो समयमा केही नयाँ र असल काम गर्न सक्यौँ भने मात्र यो क्षणभङ्गुर जीवनले सार्थकता पाउँछ । तिमीहरूले नराम्रो र असजिलो लागेका कुराहरू नजिकका दौँतरी, अभिभावक र नातेदारलाई सुनाएर समाधान गर्नुपर्छ । आफ्नो रुची खुलस्त भन्नुपर्छ । कहिलेकाहीँ अभिभावकको मात्र चाहना र करकापले गरेको कामले सही परिणाम नदिन पनि सक्छ ।
 
तिमीहरूलाई माया गर्ने,
अभि सुवेदी

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

निवृत्त शिक्षकका लागि संस्मरण लेखन कार्यशाला

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

भाद्र ६, मकवानपुर
नवसाहित्य अनलाइन । हेटौँडामा निवृत्त शिक्षकहरूका लागि संस्मरण लेखन कार्यशाला आयोजना हुने भएको छ । नेपाल निवृत्त शिक्षक समाज मकवानपुर तथा शकुन्तला ढुङ्गेल स्मृति कोष नेपालले सो कार्यशाला आयोजना गर्न लागेको हो ।
 
निवृत्त शिक्षकहरूलाई सिर्जनात्मक कार्यमा जोड गर्नका लागि समाजले पहिलो पटक साहित्य लेखन कार्यशाला गर्न लागेको निवृत्त शिक्षक समाज साहित्य विभाग संयोजक रमेशमोहन अधिकारीले बताउनुभयो । आगामी दिनमा अन्य विधाका लेखन शिल्पहरू समेत गरिने उहाँले जानकारी दिनुभयो ।
 
यस्तै नियात्राकार अधिकारीले संस्मरण तथा यात्रा संस्मरण लेखनका लागि सहभागिता शुल्क १ सय रुपैयाँ लाग्ने जानकारी दिनु भएको छ । लेखन कार्यशालापश्चात् उत्कृष्ट रचना पत्रिकामा छापिनुका साथै न्युनतम ५ सय शब्दको संस्मरणका लागि नियात्रासङ्ग्रह उपहार प्रदान गरिने उहाँले बताउनुभयो । 
 

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

ललिता दोषीको बाल चित्रकथा ‘हार्मोनियमको धुन’ प्रकाशित

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

भद्र ६, बिहिबार 
नवसाहित्य अनलाइन । काठमाडौँ । साहित्यकार ललिता ‘दोषी’द्वारा लिखित बालचित्रकथा ‘हार्मोनियमको धुन’ सार्वजनिक भएको छ । यस पुस्तकलाई कथालय इन्कले प्रकाशन गरेको हो ।

दिदीबहिनी आयुषा र अनुपमाले बुवामार्फत् हार्मोनियमको धुनसँगै गीत गाउन सिक्ने विषयबारे उल्लेख गरिएको छ भने पढाइ राम्रो नभएकोले अनुपमाप्रति बुवाको बेवास्ताका बाबजुद पनि विद्यालय गीत प्रतियोगितामा उनलाई अप्रत्याशित नतिजा प्राप्त हुन्छ । जिज्ञासायुक्त कथाका घुम्तिहरूले रोचक बनेको २४ पृष्ठको यस पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ ।

५ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न र ७ वर्षको बालबालिकाले आफैँ अध्ययन गर्ने सक्ने यस पुस्तकलाई कृष्णदीप सिग्देलले सम्पादन गर्नु भएको हो भने विनीता किताबका लागि बुद्धाचार्यले चित्र कोर्नु भएको हो ।

२०५६ सालमा प्रेमको परिभाषा कथा सङ्ग्रहबाट पहिलो पुस्तक लेखकका रूपमा चिनिनु भएका उहाँका जिज्ञासु सालु, असल मित्र, चिन्टु र पिन्टु, सुगाको अर्ति, दुखेको घाउ, हावा, दुईखुट्टे बिरालो, भुराका कुरा, नानी र सुगा, दाउरे, इन्द्रेनी, काफलगेडी, चिन मलाई, सेतो छडी लगायतका बालसाहित्यका पुस्तकहरू लेख्नु गर्नु भएको छ भने उहाँले दधीचि काठमाण्डौँ हास्यव्यङ्ग्य कविता र पहिरो लघुकथा सङ्ग्रह समेत लेख्नुभएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

२५ लघुकथा कृतिहरू एकै मञ्चमा विमोचित

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

भाद्र ४, काठमाडौँ
नवसाहित्य अनलाइन । २५ लघुकथाकारका २५ कृतिहरू एकसाथ लोकार्पण गरिएको छ । आइतबार एक कार्यक्रमबिच २४ लघुकथा कृतिहरू र १ लघुकथा समालोचनाको पुस्तक सार्वजनिक गरिएको हो ।
 
लघुकथाकार खेमराज पोखरेलको सभाध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन” तथा विशिष्ट अतिथिहरु साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त (पोखरा) बाट संयुक्त रुपमा गरिएको थियो ।
 
सिलौटो रेस्टुरेन्ट, अनाममनगर, काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरु लेकाली र  पन्त र अध्यक्ष पोखरेलले आआफ्नो मन्तव्य राख्नुभयो । श्रेष्ठले लघुकथाको मानक सिद्धान्त, लघुकथाको अवस्थाबारे प्रकाश पार्नु भयो भने लेकालीले तीसको दशकमा लघुकथाको अवस्था र लघुकथाले पाएको विधागत मान्यताबारे बोल्नुभयो ।
 
लघुकथा समाज नेपालका सदस्य रामकुमार पण्डित, हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता केसी, कृतिकारका तर्फबाट अन्जु शर्माले शुभकामना मन्तव्य राख्नुभयो ।
 
रोशन पराजुली, शुक्रराज कुँवर, गोपाल संग्रौला, छविलाल खड्काले र ममता मृदुलले कृतिभित्रबाट लघुकथा वाचन गर्नुभएको थियो । 
 
कार्यक्रमका लोकार्पित पुस्तकका लेखकहरू खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गोपाल संग्रौला, अम्बिका धिताल, कुमुदप्रसाद शर्मा प्याकुरेल,  भाभा शर्मा, विश्वराज अधिकारी, कुसुमाकर शर्मा, तेज प्रकाश श्रेष्ठ, रञ्जु खनाल, शुक्रराज कुँवर, निर्मला बराल, अञ्जु शर्मा, हिरण्यकुमारी पाठक, रमेन्द्र कोइराला, नवराज शर्मा, प्रा डा कपिल लामिछाने, डा हरि भण्डारी, गङ्गा खड्का, छविलाल खड्का, रोशन पराजुली, पी पी कोइराला, तुलसी पण्डितद्वारा लेखिएका लघुकथाहरू सार्वजनिक गरिएका हुन् भने सुनिता निरौला पौडेलका लघुकथा कृतिहरुमाथि प्रा डा. कपिल लामिछानेको समालोचना कृति समेत सोमा समावेश रहेको थियो ।
 
साहित्यकार रमेन्द्र कोइरालाले स्वागत गर्नु भएको उक्त कार्यक्रमको संयोजन ममता मृदुल र खेमराज पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमलाई मृदुलले सजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कौशी थिएटरमा भाद्र ६ देखि ‘काँचो धागो’ नाटक मञ्चन हुँदै

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

भाद्र ४, काठमाडौँ
नवसाहित्य अनलाइन । ‘काँचो धागो’ नाटक मञ्चन हुने भएको छ । युवा रङ्गकर्मी मुक्तिको लेखन रहेको यस नाटकलाई अशान्त शर्माले परिकल्पना तथा निर्देशन गर्नु भएको हो ।
 
मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोडेर नाटक काँचो धागो बनेको छ । गण्डकी क्षेत्रको कुनै गाउँमा घटेको घटना, घटनासँग सम्बन्धित मानव तथा मानवेत्तर पात्रहरूको कथा भए पनि नाटकले नेपालका अधिकांश पहाडी गाउँहरूको वर्तमान अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ । जसमा कतै न कतै हरेक नेपाली मनले आफ्नो कथा भेट्न सक्छ ।
 
निर्देशक शर्माले भन्नुभयो- ‘साथी-साथी आइदेऊ न’ पछि लगभग २० महिना निर्देशकीय विश्राम भयो । व्यक्तिगत जीवनमा पनि थुप्रै उतारचढाव आए । अर्को मौलिक कृति लेख्न नभ्याई रहेको बेलामा मुक्तिले ‘काँचो धागो’ को पहिलो ड्राफ्ट पढ्न दिए । छोयो ! आकांक्षा कार्कीको पनि आग्रह थियो दाजु नाटक गरौँ न ! नाटकमा संलग्न सबै कलाकार साथीहरूको उत्साह र हौसलाले बल गर्‍यो र यो ‘काँचो धागो’ नामको नाटक तयार भएको छ ।” निर्देशक शर्माले बताउनु भयो । नाटकमा शैली रचनाको प्रयास रहेको शर्माले जानकार दिनुभयो ।
 
“ रङ्गमञ्चमा छिरेदेखि नै नाटक लेख्ने इच्छा जागेको हो । एक हिसाबले त्यो पूरा भएको छ तर, यो नाटक मेरोभन्दा पनि बढी कथाका पात्रहरूको लागि प्रेरणा बन्नेहरूको हो ।” लेखक मुक्तिले बताउनुभयो ।
 
नाटकमा मुक्तिका साथै आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय रहेको छ ।
 
‘कथा एक्सप्रेस’ , ‘दरौँदीको पानी’, ‘ढल्केको सालैजो’, ‘साथी, साथी आइदेऊ न’ जस्ता समसामयिक विषयमा नाटक प्रस्तुत गरिसकेको Ways Pvt. Ltd  प्रस्तुत प्रस्तुत गर्न लागेको हो ।
 
कथा घेरासँगको सहकार्यमा नाटक मङ्गलबार बाहेक हरेक दिन साँझ ०५:१५ बजे र शनिबार ०१:०० बजे अतिरिक्त शोसहित टेकुस्थित कौशी थिएटरमा भाद्र ०६ देखि २९ गते सम्म नियमित मञ्चनमा हुनेछ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

मूर्तिभञ्जकको मूर्ति / —खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला

साहित्यकार

अजङ्गको कदका रूपचन्द्र विष्ट एक जटिल ग्रन्थि, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे । पहिलो भेटमा तिनका लय नमिलेका कुरा सुन्ने जोसुकैलाई लाग्दो हो-यो मानिस तामसी हो, सन्काहा हो अथवा यो ‘ठिस्’ हो । यसको दिमागका एक दुईवटा तार पक्कै खुकुलिएका होलान् । तर त्यही क्षणमा तिनको असामान्य व्यक्तित्वको सतहमुनि लुकेको कुनै चुम्बकीय तत्त्वले उसलाई नजानिँदो गरी आफूतिर खिच्दो पनि हो । रूपचन्द्र विष्ट आफ्नो लवाइ र खवाइमा, आफ्नो चिन्तन र वचनमा, आफ्नो आदर्श र आचरणमा लुखुर–लुखुर सनातनी गोरेटोमा हिँड्ने सरदर मानिसभन्दा बिछट्ट बेग्लै थिए । उनका विचारको मौलिकता, उनका आदर्शको आकर्षण र उनका आचरणको शक्ति त्यही उनको बेग्लोपनबाट पैदा भएको थियो । उनको त्यो बेग्ल्याइँ दुई जिब्रे कुरा, पाखण्डी अभिनय वा छलकारी आश्वासनमा होइन, कथनी र करनीको मितेरी साइनोमा थियो, आदर्श र आचरणको सङ्गतिमा थियो । उनी जे भन्थे, त्यो गर्थे । उनी जे गर्थे, चुसिएका र हेपिएका, दबिएका र बक् हरिएका जनहरूका लागि गर्थे । अनि उनी जे गर्थे, त्यसबाट आफू कुनै फल पाउने आश कहिल्यै राख्दैनथे । उनको सेवाको दाउ पछि मेवा खानु थिएन । उनी जे गर्थे, केवल जनजागरणका लागि गर्थे, केवल न्यायका लागि गर्थे, केवल सत्य, शिव र सुन्दरका लागि गर्थे ।

रूपचन्द्र विष्ट साँचो अर्थमा मूर्तिभञ्जक थिए । उनी जहाँ जहाँ पाइला टेक्थे, त्यहाँ मूर्ति भञ्जन गर्न अर्थात् मूर्ति तोड्न उनी बेत्तोडले आफ्नो विचारको घन उठाइहाल्थे । त्यो सत्यको मखमली खोल हालिएको झुठको मूर्ति हुनसक्थ्यो । त्यो न्यायको चहकदार जलप लगाइएको अन्यायको मूर्ति हुनसक्थ्यो । त्यो सत्यको भ्रान्तिकारी आवरणमुनि छोपिएको असत्यको मूर्ति हुनसक्थ्यो । र, त्यो सदाचारको सुन्दर खोलभित्र लुकाइएको दुराचारको कुरूप मूर्ति हुनसक्थ्यो । रूपचन्द्र विष्ट आफ्नो मूर्तिभञ्जन अभियानमा एक आँधी थिए, एक आतङ्क थिए । रूपचन्द्र एकमा अनेक थिए । चिन्तक पनि आफैँ, आफ्नो चिन्तनलाई मूर्त रूप दिने व्यूहरचनाकार पनि आफैँ, त्यो व्यूहरचनालाई व्यवहारमा साकार रूप दिने अभियन्ता पनि आफैँ । एक छाँटका एकल अभियन्ता । जो जो उनको अभियानको पछि लागे, ती उनले ‘आऊ’ भनेर आएका थिएनन् । ती उनको आकर्षणबाट डोरिएर यस्सै आएका थिए । ती उनको चिन्तन, कर्म र आचरणको सुवासबाट मोहित भएर आएका थिए ।

लाज मर्नु कुरो, अहिले उनै साहसिक मूर्तिभञ्जक रूपचन्द्र विष्टको मूर्ति खडा गरिएको छ । सुन्छु, मूर्ति खडा गर्नेहरू उनकै अभियानका सहयात्रीहरू हुन् । सके यी मूर्तिपूजकहरू रूपचन्द्रपथका ज्ञाता र प्रवक्ता, अनुयायी र साधक भनी आफूलाई चिनाउनमा खुबै गर्व गर्दा हुन् । तर, मूर्तिभञ्जक रूपचन्द्रकै मूर्ति खडा गरेर तिनले रूपचन्द्रका आदर्शको बिम्बमा ध्वाँसो त दलिदिएका छन् नै, तिनले आफ्नै हातले ध्वाँसो दलेर आफ्नो अनुहार पनि हेरिनसक्नु बनाएका छन् ।

छत्तीस सालको जनमत सङ्ग्रहको चेतन–प्रवाहको धक्काले जब शाही पञ्चायतको धनु हल्लाइदियो, रूपचन्द्र विष्ट पञ्चायती राजनीतिको मैदानमा हाम फाले । उनले आफ्नो राजनीतिको नाउँ ‘जनमुखी’ राखे । उनले चलनचल्तीको कुनै दर्शन वा राजनीतिक आदर्शको म अनुयायी हुँ भनेनन् । बरु शाही पञ्चायतका आँखा छल्न उनले ‘थाहा’ शब्द रोजे । त्यो ‘थाहा’ उनको दर्शन, सिद्धान्त, आदर्श सबैथोकको एकल प्रतीक थियो । उनले ‘थाहा’का अनेक आकारका रबरछाप बनाए र जहाँ गयो त्यहाँ उनी भकाभक ‘थाहा’ छाप ठोक्दै हिँडे । सडकका भित्तामा ‘थाहा’ छाप, घरका भित्तामा ‘थाहा’ छाप, चौतरी–देउरालीमा ‘थाहा’ छाप, युवाहरूका छाती–छातीमा ‘थाहा’ छाप । नागबेली परेको जीवन–यात्रामा वाहन चालक र प्रधानाध्यापकबाट प्रधानपञ्च हुँदै उनी ‘जनमुखी’ शैलीमा राष्ट्रिय पञ्चायतको चुनाव लड्न पुगे । त्यो पनि उही ‘जनमुखी’ शैलीमा । हातमा एक अम्मलको पर्चा छ, मुखमा छ ‘ए भाते, कुकुरहरू’ हो । कुमबाट हाते माइक झुन्डिएको छ, कबाडीखानाबाट झिकिए जस्तो पत्रु स्कुटरमा चढेका छन् । सित्तीमा कसैको केही नलिने उनको कठोर नीति छ । उसो त विचार र आदर्शबाहेक उनी कुनै पनि भौतिक वस्तु सित्तीमा कसैलाई नदिन प्रतिबद्ध छन् । चुनावी खर्च जोड्न उनी सुका–मोहोरमा ‘भाते, कुकुरहरू’लाई पर्चा हातहातै बेच्छन् । वचन त्यस्तो क्षुद्र छ, तैपनि मानिसहरू हाँसी–हाँसी उनका पर्चा किनेर बडो खुल्दुलीसाथ पढ्छन् । रूपचन्द्रको मनोरचना र अभिव्यक्ति शैली तिनले बुझेका छन् । र नै तिनका नजरमा रूपचन्द्रको ‘भाते, कुकुरहरू’ क्षम्य छ ।

राष्ट्रिय पञ्चायतको चुनावी सरगर्मी जारी छ । जताततै भित्ताभरि अरू उम्मेवादरहरूका एकदमै भड्किला चुनावी फोटा टाँसिएका छन् । रूपचन्द्रको त्यस्तो केही छैन । ती भन्छन्- ‘चुनाव लड्ने फोटाले होइन, विचारले हो । राजनीति गर्ने अनुहारले होइन, भावनाले हो ।’ उनको त्यो भनाइमा मूर्तिभञ्जनको हुङ्कार बोल्छ । तर, उनै रूपचन्द्रलाई श्रद्धा टक्रयाउन भनी उनैले भन्ने गरेका ‘भाते, कुकुरहरू’ले अहिले उनको कर्मथलो पालुङमा उनको आदर्शलाई क्रुरतासाथ कुल्चिँदै उनको निष्प्राण र भावशून्य मूर्ति ठड्याएका छन् । त्यो मूर्तिमा रूपचन्द्रको प्रिय आदर्शलाई गिज्याइएको त छ नै, त्यसमा कर्मकाण्डीय मूर्तिपूजाप्रतिको भयानक आशक्ति पनि लेपन गरिएको छ ।

कुरा फेरि उही पञ्चायती चुनावका । रूपचन्द्र सूत्रवचनहरूमा आफ्नो राजनीतिको अर्थ ट्याक्क भर्छन् । अनि उनी आफ्नो अभियानलाई ‘निष्पक्ष अभियान’ भनी अर्थ्याउँछन् । तैपनि पक्षधरताको ध्वजा उचालेर उनी उद्घोष गर्छन्- ‘श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्राको राजनीति दरबारले गरेर हुँदैन ।’ उनी कुरा घुमाएर आफ्नो चिन्तनको सार प्रकट गर्छन्- ‘हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा ।’ उनको मनको पन्तुरोभरि जनचेतना जगाउने राजनीतिका यस्ता सूत्रवचनहरू छन्, र उनको झोलामा छ पेट भर्ने रुखोसुखो रासन । उनी जजसका घरमा बस्छन्, आफ्नो र घरबेटीको रासन बाँडीचुँडी खान्छन् । खातिरदारी उनलाई मन पर्दैन, खुला र सादापन पाए उनी फुरुङ्ग पर्छन् । उनी फिरन्ते भेषमा मकवानपुर जिल्लाका दुर्गम र विकट भेगका एक–एक अभावग्रस्त छाप्राहरू चहार्छन् । उनी पलेँटी कसेर गुन्द्रीमा बस्छन् र मन फुकाएर गाउँलेहरूसँग बात मार्छन् । आफू सूत्रमा छोटोमा छिटो बोल्छन् । र, अरूहरूलाई मनका बह पोख्न मनग्गे मौका दिन्छन् । यसरी माओका शब्दमा उनी गाउँलेहरूसँग माछो र पानीको साइनो गाँस्छन् । यी हुन्, ‘थाहा’ आन्दोलनका प्रणेता ‘जनमुखी’ रुदाने ।

जिब्रामा विचारको तेजस्वी घन छ । रूपचन्द्र मूर्तिभञ्जन गर्ने आफ्नो तुफानी यात्रामा गतिमान् छन् । जे जे हो र जो जस्तो हो, उनी त्यसलाई प्वाक्क त्यस्तै भनिदिन्छन् । उनलाई न केहीको डर छ, न कसैको त्रास । के प्रशासक, के शासक, के साहु, के मठाधीश सबैलाई उनी ‘ए भाते, भ्रष्टाचारी, दुराचारी’ भन्न बाँकी राख्दैनन् । यसो भन्छन् र भनिनेको सा“चो चिनारी उसकै आँखासामु उदाङ्गो पारिदिन्छन् । उनलाई कसैका अगाडि निहुरिएर हात पसार्नु छैन । उनको अदम्य नैतिक शक्तिको मुहान त्यही“ छ ।

‘जनमुखी’ भेषमा नवीन विचारको शक्तिले ओतप्रोत भएर जब रूपचन्द्रले राष्ट्रिय पञ्चायतमा पाइला टेके, यो कहाँको को आइलाग्यो भनेर राजाका गोटीतुल्य पञ्चहरू तिल्मिलाए । पञ्चायतलाई ‘राष्ट्रियता’ र ‘विकास’को मायावी झल्लरीभित्र सजाइएको थियो । उनले त्यो झल्लरी ध्वार्ध्वारी च्याते । र भने- ‘भाते हो ! यो महाभ्रष्टाचारी व्यवस्था हो ।’ त्यो महाभ्रष्टाचारी व्यवस्थाका नियम र कानुन, नीति र कार्यक्रम बनाउने राष्ट्रिय पञ्चायतको अध्यक्षलाई पञ्च ‘माननीय’हरूले निहुरिएर ‘सम्माननीय’ भन्नुपर्थ्यो । रूपचन्द्रले त्यसो भन्न इन्कार गरे । अध्यक्ष नाउँको जीव उनलाई ‘माननीय’ भनी पुकार्थ्यो । उसलाई पनि उनले बराबरीको साइनो लगाएर ‘माननीय’मात्र भने । राजाका छायारूपी पञ्चहरूको भिडमा खैलाबैला मच्चियो । र, उनलाई ‘माननीय’ फिर्ता लिएर ‘सम्माननीय’ भन्न गर्नुविधि करकाप गरियो । तर ‘थाहा’को तत्त्वबोध भएका रुदानेले टेरपुच्छर लगाएनन् । छाती फुकाएर उभिँदै बेलायती बैठकको सभाकक्ष नै थर्किने गरी उनले भने- ‘कोही ‘सम्माननीय’ हुन जनता ‘जाननीय’ हुनुपर्छ । त्यसै भइन्छ ‘सम्माननीय’ ? बस्, ‘थाहा’सँग जोरी खोज्ने ‘भाते’ पञ्चहरू मुखामुख गर्दै तैँचुप् मै चुप् भए ।

मूर्तिभञ्जक रूपचन्द्रको ‘थाहा’ अभियान निख्ला वचनको आत्मतुष्टिकारी विलास थिएन । सिर्जना र निर्माणको चक्र पनि त्योसँग नङ–मासुझैँ गाँसिएको थियो । रूपचन्द्रका सिर्जनशील हात शिक्षा र कृषि, सडक र सहकारीतिर पनि लहसिए । बाटो खन्ने अगुवा आफैँ । ढुङ्गा बोक्ने अगुवा आफैँ । बारी खन्ने अगुवा आफैँ । आफ्नै आफ्नो खटनकर्ता । आफैँ आफ्नो कुल्ली । रूपचन्द्रका ‘नारी, किसान, कलिला’ हरूले उनलाई आँखाका नानीमा र हृदयको झोलीमा प्रेमले सजाएर राखेको त्यसै हो र ?

‘थाहा’ फगत चेतनाका ‘जनमुखी’ तरङ्गहरू उनिएर बुनिएको खुकुलो आन्दोलन थियो । रूपचन्द्रमा न सङ्गठनको संरचना बनाउन उत्रो चिन्ता थियो, न त नेतृत्वको तहगत पङ्क्ति खडा गर्न चासो नै थियो । उनी चेतना र आदर्शको विशाल छाता थिए । त्यो छातामुनि ओत लाग्न मानिसहरू यसै डोरिएर आउ“थे । छयासील सालमा जब बहुदलीय प्रजातन्त्र फक्र्यो, ठूला दलका प्रजातन्त्र र जनवादका उपासक हौँ भन्नेहरूले चुसाहा सेठहरूको मुक्त बजारमा लगेर आदर्शजति बुझाइदिए, र आफू टपरी बोकेर सत्ताको भान्सामा लुसुक्क छिरे । ‘जनमुखी’ ‘थाहा’ आन्दोलन राजनीतिका यी अगस्ती खाओवादीहरूको घेराउमा पर्‍यो । यो मिचियो, यो किचियो, यो छिन्नभिन्न भयो र यो अलपत्र पर्‍यो । अनि रूपचन्द्रको बाँकी जीवन पराजित मुद्रा, एक्लोपना, उदासी र सुस्केरामा सकियो ।

‘थाहा’ चिन्तन सूत्र कविता र सूत्र गद्यमा रहस्यजस्तो भएर यत्रतत्र छरिएको थियो । न त्यसको व्यवस्थित खाका खिचियो न सामान्य जनले सहजै बुझ्ने भाषामा त्यसलाई लिपिबद्ध गरियो । आखिरमा कुनै रहस्यमय गुप्त ज्ञानझैँ त्यो रूपचन्द्रको एकान्तबाससँगै भूमिगत भयो । रूपचन्द्रका अनुयायीहरू जो थिए, तिनले ‘जनमुखी’ ‘थाहा’पथको राम्ररी भेउ नै नपाएका अल्पज्ञानी बटुवाहरूको जस्तो अभिनय गरे । हुँदाहुँदा अहिले ती मूर्ति–भञ्जक रूपचन्द्रको आदर्शलाई लतारेर निष्प्राण र रुढिमुखी मूर्तिमा पछार्न पो पुगे । लाग्छ, यो ‘जनमुखी’ ‘थाहा’पथको कारुणिक दुर्दशा हो ।

विडम्बनावश, मूर्ति–भञ्जक रूपचन्द्रको मूर्तिको अनावरण माओवादी अध्यक्ष प्रचण्डका करकमलबाट भयो । यी विद्रोही नेतालाई ‘मेरो एक्काइसौँ शताब्दीको जनवाद मूर्ति पूजासँग असहमत छ’ भन्ने वाक्यधरी फुरेन । दृश्यमा देखेँ, रूपचन्द्रको मूर्ति अनावरण गरिने थलोमा ‘महान् मार्क्सवादी सौन्दर्य चिन्तक’ भनीकन कहलिएका मोहन वैद्य किरण पनि हाजिर थिए । ती मूर्ति–भञ्जक रूपचन्द्रको मूर्ति स्थापना गरिने थलोमा फड्के किनाराको साक्षी बसेको दृश्य मलाई बडो हास्यास्पद लाग्यो । तिनको सौन्दर्यशास्त्रमा मूर्ति–भञ्जन र मूर्ति पुजाबीच कुनै भेद नै पो नभएको हो कि !

थाहा छ, ‘जनमुखी’ ‘थाहा आन्दोलन’मा ‘नारी, किसान, कलिला’हरूलाई खुबै सम्मानका नजरले हेरिन्थ्यो । तिनको जागरण, तिनको मुक्ति र तिनको सुख नै यो आन्दोलनको एकमात्र अभीष्ट थियो । रूपचन्द्रको मूर्तिको अनावरण कुनै बालिकाको कलिलो हातबाट भएको भए ‘थाहा’कर्मीहरूले कमसेकम रूपचन्द्रको आदर्शलाई बिर्सेका रहेनछन् भनेर चित्त बुझाउने एउटा लुरे उपाय त हुन्थ्यो कि ! तर, ‘नारी, किसान, कलिला’हरूलाई भुसुक्कै बिर्सेर प्रचण्डको भेषमा तिनले शक्तिको मुख ताके । अनर्थ गरियो । मूर्ति–भञ्जक रूपचन्द्र विष्टको आदर्शलाई उनैको निष्प्राण मूर्तिमा गिराएर उपहास गरियो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

खचाखच दर्शकबिच सिस्नुपानी मकवानपुरको हास्यव्यङ्ग्य विशेष गाईजात्रा कार्यक्रम सम्पन्न

संप्रस पौडेल

समाचार प्रमुख (नवसाहित्य)

भाद्र ३ सोमबार
नवसाहित्य अनलाइन ।
हास्यव्यङ्ग्य विशेष कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यमय गाईजात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गहन खतिवडा र विशेषता अधिकारीले भीमेश्वरको मेला गीतको चिरञ्जीवि लामिछानेद्वारा लिखित प्यारोडी गीत “जाल अनि झेल” गाएर सुरू भएको कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको “खाइजात्रे बजेट भाषण” प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा अजर फूयाँलले “सिमसिमे वाटर” प्यारोडी गायन गर्नुभयो जसलाई सुमार्गी हुमागाईँले लेख्नु भएको हो । हुमागाईँको लेखनमा रहेको क्यारिकेचरसहितको प्रहसनमा हुमागाईँले ६ जना राजनीतिज्ञको क्यारिकेचर गर्नुभयो । डीबी बर्तौला, ओमभक्त भण्डारी, सुबास सजल, देव दुलाल, विशेषता अधिकारी, सलिना थापाले विभिन्न भूमिकामा प्रस्तुति दिनुभयो ।

२ वटा कविताहरूमध्ये पुरूषोत्तम आचार्यको “बत्ति नबाल्नु अब” र गोविन्द पौडेलको “जिन्दगीका जोल्टिङहरूमा” वाचन गरिएको कार्यक्रममा हुमागाईँको उत्कृष्ट प्रस्तुतिका कारण उहाँलाई ५ हजार पुरस्कार दिने घोषणा गरिएको थियो । साहित्य सर्जक मनोज पोखरेलको “माड्साप” एकल प्रहसनदेखि मीनप्रसाद लामिछानेद्वारा रचित “अन्तर्वार्ता” सम्मका प्रस्तुतिहरू प्रदर्शन भएका थिए । अन्तर्वार्तामा सानु खनाल, मनोज पोखरेल, रजनी पौडेल र मीनप्रसाद लामिछाने सहभागी रहनुभयो ।

लामिछानेद्वारा रचिएको “ठोक् न मादल ठोक्” गीतलाई सागर तिमल्सिनाले गायन गर्नुभयो । कार्यक्रममा खचाखच दर्शकहरूबिचमा गरिएको कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिका वडा नं. ४ ले प्रवर्धन गरेको हो ।

सामाजिक, राजनीतिक, आर्थिकका साथसाथै विविध मुद्दाहरूलाई उठान गरी प्यारोडी, प्रहसन आदिमार्फत् २.५ घण्टासम्म दर्शकलाई सक्रिय गराइराखेको कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालले आफ्नो हास्यव्यङ्ग्य सामग्री प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अवधिभर वाद्यवादनमा प्रलय चौलागाईँ, सुनिल केसी र विश्वराज अधिकारीको विशेष भूमिका रह्यो । उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले स्वागत गर्नु भएको कार्यक्रमलाई एनएस टेलिभिजनले छायाङ्कन गरेको हो ।

अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले शुभकामना मन्तव्य राख्नुभएको हो । प्रदेश सरकारका मन्त्री, सचिव, प्रशासकका साथसाथै उद्योगी, व्यवसायी, पेशागत कर्मचारी, सञ्चारकर्मी र विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रह्यो ।

ओम्याक्स सिनेमामा सम्पन्न गरिएको कार्यक्रमलाई नवसाहित्य अनलाइन र फित्कौली अनलाइन मिडिया पार्टनर रहेका थिए भने सिस्नुपानी मकवानपुरका सचिव गोविन्द पौडेल र संप्रस पौडेलले कार्यक्रमलाई सहजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

चार पुस्ताका कविता एउटै मञ्चमा ।

नवसाहित्य डटकम

संवाददाता

मकवानपुर, ३ भदौ ।
नवसाहित्य अनलाइन ।
साहित्य सङ्गम मकवानपुरले स्थापना दिवसकाे अवसरमा आइतबार हेटौंडामा संयुक्त कवितावाचन कार्यक्रम गरेकाे छ । कार्यक्रममा लेखनका हिसाबले नवपुस्तादेखि अग्रज पुस्तासम्मका सर्जकहरूको संयुक्त कवितावाचन गरिएको हो ।

सङ्गमले हरेक वर्ष मनाउँदै आएकाे स्थापना दिवस अन्तरगत ३५ औं सन्ध्या दिवसकाे अवसरमा आइतबार संयुक्त कवितावाचन कार्यक्रम गरिएकाे हाे । कविता वाचनमा एउटै मञ्चमा ४ पुस्ताका कविहरुको आफ्ना ३/३ वटा कविताहरु वाचन गर्नु भएको हो ।

`म जस्तै मेरा कविता पनि साना छन्, मसँगै मेरा कविता पनि ठूला हुनेछन् ।´ कवि अनसूया खनालले कविता वाचन अघि आफ्ना भनाइ यसरी व्यक्त गर्दैगर्दा दर्शक दीर्घामा गडगड ताली बजेको थियो । अनुसूयाले आफ्ना बिचरी चरी, मेरो गाउँ आमा शीर्षकका कविताहरू सुनाउनुभयो ।

नवपुस्ताकी अनसूयापछि प्रतिमा पाठकले आफ्ना तीन कविता प्रस्तुत गर्नुभयो । लामो समयपछि मन्चबाट कविता सुनाउँदै गर्दा उहाँले अग्रज पुस्ताबाट आफूले धेरै सिकेकाे तर आफूले सिकेका कुरा पुस्तान्तरण गर्न नसकेकाे बताउनुभयो । उहाँले कैदी सम्भावना, बुद्धबाँकी अर्कोपटक शीर्षकका कविता वाचन गर्नुभयो ।

यसैगरी कवि सुवास खनालले सानो छँदा बुबाको कविता चोरेर स्कुलमा सुनाउँदा पुरस्कृत भएकाे बताउँदै बुबाकाे कवितासँगै आमा पुस्ताले गाउने लाेक भाकाले लेख्न सिकाएकाे बताउनुभयो । उहाँले कलेज एक यातना शिविर शीर्षकको कविताबाट वाचन सुरु गर्नुभयो । यससँगै उहाँले वजनको वजनराहत शीर्षकको कविता सुनाउनुभयो ।

अग्रज पुस्तालाई प्रतिनिधित्व गर्दै कवि साम्ब ढकालले पनि अन्तराल, युक्रेनमा युद्ध :सम्वेदनामय सम्वेदनाफुटपाथबाट सङ्घम् शरणम् गच्छामी शीर्षकका कविताहरु सुनाउनुभयो ।

यसैगरी साहित्य सङ्गम मकवानपुरले यस वर्षकाे सन्ध्या सम्मानबाट चेतप्रसाद पौडेललाई सम्मानित गरेको छ । सङ्गमकाे सन्ध्यामा नियमित उपस्थित भएका पौडेललाई सम्मान गरिएकाे सचिव मनाेज पोखरेलले जानकारी दिनुभयो । सैँपुले साइँलो उपनामले चिनिने पौडेलले त्रिसत्यमा आधारित महाकाव्य समेत लेख्नुभएको छ ।

सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र व्यङ्ग्यकार तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाे सहजीकरण सचिव पोखरेलले गर्नुभयो ।

१९ जनाले गरे रक्तदान
साहित्य सङ्गम मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ । सङ्गम स्थापना दिवसकाे अवसरमा आइतबार रक्तदान कार्यक्रम गरिएकाे हाे ।

३५ औं सन्ध्या दिवसकाे अवसरमा गरिएकाे रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका संगम सचिव मनोज पोखरेलले जानकारी दिनुभयो । रचना वाचन, विमर्श, विमोचनलगायतका साहित्यिक गतिविधिहरू गर्दै आएको सङ्गमले आफ्नो सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएकाे अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो ।

उनका अनुसार मकवानपुरमा साहित्यिक संस्थाले रक्तदानको आयोजना गरेको पहिलो हाे । कार्यक्रममा साहित्यकार, साहित्यप्रेमी, पत्रकारलगायतले रक्तदान गरेका छन् । ३५औँ सन्ध्या दिवसको अवसर आयोजित कार्यक्रममा रचना वाचन समेत गरिएको थियो ।

कार्यक्रममा चिरञ्जीवी लामिछाने, पुष्पा काफ्ले ढुङ्गेल, हरि पौडेल, सञ्जीत श्रेष्ठ, सानु खनाल, सन्देश गौतम, संप्रस पौडेल, सुबास सजल, ध्रुव सिन्तान, सुजन ढकाल,अजर फुयाँल, कुबेर पराजुली, रोश्नी चौलागाईँ, कमल नेपाल, अन्जान खड्का, देवकी तिमल्सिनालगायतले रक्तदानसँगै रचना वाचन भएको थियो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

साहित्य सङ्गमको सन्ध्या दिवसमा रक्तदानसँगै रचना वाचन कार्यक्रम

नवसाहित्य डटकम

संवाददाता

भाद्र २, आइतबार
नवसाहित्य अनलाइन । साहित्य सङ्गम मकवानपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रचना वाचन, विमर्श, विमोचनलगायतका साहित्यिक गतिविधिहरू गर्दै आएको सङ्गमले आफ्नो सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभ‌एको छ । मकवानपुरमा साहित्यिक संस्थाले रक्तदानको आयोजना गरेको पहिलो कार्यक्रम रहेको समेत उहाँले बताउनुभएको छ ।

कार्यक्रममा साहित्यकार, साहित्यप्रेमी, पत्रकारलगायतले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा चिरञ्जीवि लामिछाने, पुष्पा काफ्ले ढुङ्गेल, हरि पौडेल, सञ्जीत श्रेष्ठ, सानु खनाल, सन्देश गौतम, संप्रस पौडेल, सुबास सजल, ध्रुव सिन्तान, सुजन ढकाल, भावना सापकोटा, अजर फुयाँल, कुबेर पराजुली, रोश्नी चौलागाईँ, कमल नेपाल, अन्जान खड्का, देवकी तिमल्सिना, बैकुण्ठ नेपाल, डीबी बर्तौलालगायत हुनुहुन्थ्यो । बर्तौलाले जानकारी दिनुभयो । आइतबार ३५औँ सन्ध्या दिवसको अवसर पारेर साहित्य सङ्गम/सिस्नुपानी मकवानपुरको हलमा आयोजित कार्यक्रममा विविध साहित्यिक रचना वाचन समेत गरिएको थियो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

आलेख: गीत मार्फत सकारात्मक सन्देश प्रवाह गर्ने चाहना / -डा.दामोदर रेग्मी

डा.दामोदर रेग्मी

गीतकार

स्कूलमा पढ्दा शुक्रवार नियमित रुपमा हुने कविता वादविवाद निबन्ध लगायतका अतिरिक्त क्रियाकलापहरुमा भाग लिने जांगरले मलाई लेखन कार्य तर्फ प्रेरित गरायो । विद्यालयका ती दिनहरुमा भविष्यमा कुनै साहित्यकार गीतकार कवि वा लेखक बनुलां भन्ने कुनै पूर्व निर्धारित उद्देश्य अनुसार लेख्ने कार्य गरिएको पनि थिएन ।

पछि कुनै घटना विशेषले गीत लेख्न थालियो । अलि पछि केही गीतहरु समेटेर सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि तयार हुन पुग्यो । सिरेटोले छुदै छुन्न गीति संग्रहको सामाजिक सञ्जालव्दारा सार्वजनिकीकरण र यसका केही गीतहरुको स्वरांकन तथा भिडियो म्यूजिक सार्वजनिक भएपछि म गीतकारको अर्को पहिचानमा समेत रहन पाउनु मेरो लागि खुशीको कुरा हुन गएको छ । गीतकारको यो भूमिकाले समाजका यावत घटना वा परिवेशलाई शव्द मार्फत आफ्ना रचनामा समावेश गर्ने दायित्व पनि थपिएको छ ।

आम मानिसहरु जस्तै सर्जकहरु पनि यही समाजका व्यक्ति हुन् । समाजमा हुने विभिन्न घटनाहरुवाट सर्जकहरु उत्ति नै प्रभावित भैरहेका हुन्छन । उनीहरुको लेखनको मूल श्रोतनै सामजिक परिवेश र सो परिवेश भित्रका पर्यावरणहरु हुन् । लेखक कहिले पनि सामाजिक परिवेश र पृष्ठभूमिबाट बाहिर जानै सक्दैन । ती परिवेशहरुमा केही आकर्षकपना नयांपना सिर्जनशीलता र साजसज्जा थपेर पाठक श्रोता वा दर्शकको मन आकर्षित गर्ने क्षमता सर्जकहरुमा भने पक्कै हुन्छ ।

गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक आवरणमा प्रस्तुत गरिदिन्छ । गीतकारहरु कहिलेकाहीँ त्यो कथाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ गीत सिर्जना गर्ने गर्दछन् । कथाको पात्रको रुपमा आफूलाई राखेर गीत वा कविता सिर्जना गरियो भने त्यो रचना बढी वास्तविकतामा आधारित हुन्छ ।

सर्जकहरु कुनै सिर्जनाका उत्पादनकर्ता मात्र होइनन् यिनीहरु सकारात्मक समाज निर्माणका सम्बाहकहरु पनि हुन् । रचनाहरु जुनसुकै हुन् यिनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्दछ । मैले लेख्ने गरेका प्रशासन तथा व्यवस्थापनका सयौ लेखहरुमा यो प्रवृत्तिलाई समाउने प्रयास गरेको छु । यो धार मैले लेखेका गीतहरुमा पनि प्रतिवम्वित भैरेहेको पृष्ठपोषण पाठक, श्रोता र दर्शकबाट प्राप्त गर्ने गरेको छु । मैले लेखेको सिरेटोले छुदै छुन्न गीति संग्रहमा नविर्सने कथाको मीठो पाना तिमी, धर्तीकी अप्सरा, सिरेटोले छुदै छुन्न, हराभरा जीवन हाम्रो प्रेमको, मनको वेदना कुन चिठी लेखुं, तारा जूनको यो रातमा, प्रकृतिलाई मुटुमा सांच्ने कि, केही पाइला तिमी चाल, कथाको विसर्जन, कथाले जे माग्यो त्यो भोगिदिएं, खियाउं नग्रा यहि देशको खातिर सेवा, त्यो लजालु मुस्कानले तीर नहान, हांसोमा रहेछ कृतिम चास्नी, वासन्ती सुवास लिएर तिमी आउन, बादल लाग्यो त्यो डांडापारी खुल्ने हो कहिले, विर्सेर पनि नविर्सने त्यो असीम याद, आज फेरी प्रेमिल वर्षा वर्षायो, शायद जिन्दगी यस्तै रहस्यको जाल छ, विसाउं कि कथा अव यात्रा नै छैन, विर्सने पो कसरी परेली कुरिरहेछ, खुशीको बहार छायो, एक अञ्जुली मायाको उपहार छरिदेउ, अप्सरा भुलाउने लाली त्यो यौवन, बन्द पाना पुस्तकका एकान्तमा पल्टाउनु र जिन्दगीको यो पाठशालाले धेरै पढायो शीर्षकका गीतहरु समावेश छन् । अधिकांश गीतहरु यहि धारमा रहेका छन् ।

जसरी हर आमालाई आफ्ना सवै सन्तान सुन्दर र प्यारा लाग्छन् गीतकारलाई पनि आफूले लेखेका सवै गीतहरु आफूलाई मन पर्नु स्भाविकै हो । तथापी कहिलेकाही केही गीतहरु अलि बढी नै मन पर्ने गर्दछ । यसमध्ये अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला वोल रहेको गीत लेखनकै क्रममा विशेष मन परको थियो । तर विविध कारणवस रेकर्डिंग हुने पहिलो सौभाग्य भने एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउू ले पायो । यस गीतमा गायक आनन्द कार्कीको स्वर र वरिष्ठ संगीतकार किरण कडेलको सुमधुर संगीतले साथ पाएको थियो । मैले सुन्ने गरेको थिएं गीतकारको शव्द गायक र संगीतकारमा पुगेपछि उहांहरुको चाहना अनुसार र लयको माग बमोजिम परिवर्तन हुन्छ । धेरै गीतकारहरु यस पीडामा रहेको पनि पाइयो । तर मेरो गीतमा त्यस्तो भएन ।उहाहरु दुवैले कुशल गायक र संगीतकारको अमिट छाप छोड्नु भयो । संगीतकार किरण कडेलको संगीत र आनन्द कार्कीको मनमोहक स्वरले मेरा हरेक शव्द र भावलाई पूर्ण न्याय गर्दै गीत तयार भयो । अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला बोलको गीतमा दोश्रो स्वरांकन र दोश्रो म्यूजिक भिडियो बन्यो । यसको गायन नेपाल आइडल बाट चर्चित प्रताप दास र नेपालकी अल्काइ याग्निकको नामवाट समेत परिचित अनु चौधरीको रह्यो भने संगीतकार डि वि लामा रहे ।

कुनै एक अवसरमा गायन, संगीत र अभिनय क्षेत्रमा नाम कमाउनु भएका मुरलीधर संग मेरो भेट भयो । मुरलीधर नेपाल आउदा जहिले पनि केही गीत गाएरै जाने गर्नुहुन्छ । यसपटक उहांले मरो शव्दमा समेत गीत गाउने चाहना गर्नु भयो । पूरै गीतिसंग्रह उहालाई थमाएं ।उहां त त्यहि नै मेरा गीत हेर्दै गुन्गुनाउन पो थाल्नु भयो । केही दिन भित्र मुरलीधरले दुइ तीन वटा गीतको डमि तयार गर्नु भयो । डमीहरुसवै राम्रा थिए किनकी त्यसमा मुरलीधरको स्वर थियो। ती डमीहरुमध्ये मेरो विशेष अनुरोधमा सिरेटोले छुदै छुन्न वोलको गीत गाउने कुरा तय भयो । मेरो गीति संग्रहको नाम पनि यसै गीतवाट रहेकोले यो गीत मुरलीधर जस्तो लोकप्रिय संगीतकार र गायकले गाइदिनु पर्छ भन्ने मेरो भनाइमा उहां सहमत हुनुभयो । उक्त गीत साह्रै नै कर्णप्रिय बन्यो मुरलीधरले एउटा राम्रो संगीत र स्वर तयार गरिदिनु भयो । गीत सार्वजनिक भएपछि सकारात्मक प्रतिक्रियाहरु आउन थाले । गीतका सवै हरफहरु मध्ये साहस त जुटाउंला खेर जान दिने छैन, तिम्रो जीवनको यात्रा नटुटोस कुनै दिनू भन्ने हरफमा धेरै जनाबाट तारिफ आयो ।

प्रताप दास र अनु चौधरीको स्वर तथा डि बि लामाको संगीतमा रहेको अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला बोलको गीत सकारात्मक भाव बोकेको र चुनौतीलाई स्वीकार्दै कर्मक्षेत्रमा लागिरहनु पर्ने वाक्यहरु गीतमा प्रयोग भएका थिए । यस गीतका थप केही वाक्यांशहरु यस्ता थिए जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन्, चम्किरहने त्यो चन्द्रमालाई पनि ग्रहणले छोपिदिन्छनू, घामपानी हो जीवन पछ्याइरहन्छन सधै सधै, मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै, केही आंट बढाउ तिमी उत्साह म थपिदिउंला, केही पाइला तिमी चाल्नु जंघार म तरिदिउंला, सुखदुख हो जीवन घुमिरहन्छ सधै सधै, अध्यारोमा सूर्य पनि हराउंछ कहि कतै । गीतको सफलता संगै यी हरफहरु धेरै चर्चित बने । यी हरफहरुमा भिडियो, रिल र टिकटकहरु धेरै बने ।अहिले पनि सकारात्मक सोच सम्बन्धी अधिकांश कार्यक्रमहरुमा यो गीत खुवै बज्ने गरेको छ ।

मेरो शव्द, डि बी लामाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ वोलको गीतमा पनि यस्ता केही सुखद अनुभूतिहरु रहन पुगे । गीतले एउटा विरह गाथा बोकेको थियो । तर यसका शव्द र हरफ हरुमा श्रोताबाट राम्रो पृष्ठपोषण प्राप्त हुन पुग्यो । मनभरिको वेदना यो कुन चिठीमा लेखुं, पुर्याइदिने हुलाकी म कतै छन् कि खोजुं हरफले धेरै प्रशंसा पनि पायो । डि बि लामाको संगीतमा यो मनको चाहना बोलको गीत पनि स्वरांकन भैसकेको छ ।
मैले रचना गरेको एउटा गीतको शीर्षक जिन्दगीको पाठशालाले धेरै पढायो रहेको थियो । यो गीतले पनि सकारात्मक सोच र आशावादिताको सन्देश बोकेको थियो ।

गीतका तर यसलाई स्वरांकन गराउने उचित साइत जुटेको थिएन । एकदिन संगीतकार किर्ती न्यौपाने संग सहकार्यको अवसर जुट्यो यसै गीतमा । यो गीत पुरुष स्वरमा ल्याउने गरि हामी दुवै अघि वढेका थियौं । तर गीतको शव्द र भावले आनि छोइंग डोल्माबाट स्वरांकन गराउन उचित हुने निश्कर्षमा हामी पुग्यौं । आनि छोइंग पनि यसमा सहमत हुनु भयो र अन्तत गीत स्वरांकन भै सार्वजनिक भयो ।यस गीतको प्रशंसा धेरै क्षेत्रबाट आयो । गीतका वाक्यांशहरु निम्नानुसार रहेका छन् ।

जिन्दगीको पाठशालाले धेरै पढायो
कहिले हसायो कहिले रुवायो
जीवनका पहलु सवै सिकायो

बाधा विघ्न आउंछन धेरै नमानी रत्ति
दुखमा आंशु पुछि दुखमा नमात्ति
व्यथाहरु लुकाइ हास्न सिकायो
भत्केका ती आशालाई जोड्न सिकायो

ओइलाएको मन भित्र नयां सोच पलायो
चुनौतीको सामनामा उर्जा दिलायो
पौरखी यी हातमा भाग्य जुरायो
सकारात्मक बन्दै हिड्न बाटो देखायो

यी एकाध प्रतिनिधिमूलक अनुभूतिहरुले गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक आवरणमा प्रस्तुत गरिदिने र गीतको भाव र निष्कर्ष सकारात्मक र आशावादी हुनु पर्ने र यस्ता सिर्जनाहरु तुलनात्मक रुपमा रुचाइने गर्दो रहेछ । यसर्थ सर्जकहरु पनि समाजको काल्पनिक दृष्यलाई सकारात्मकताको सन्देश प्रवाह गर्न सक्ने संवाहकहरु पनि हुन् । मेरा आगामी गीतका भाव र शव्द फरक हुन सक्लान तर हाल स्वरांकन भैसकेका केही पाइला तिमी चाल्नु जंघार म तारिदिउंला र जिन्दगीको पाठशालाले धेरै पढायो बोलका गीतहरुले एउटा सकारात्मकता र आशावादिताको सन्देश प्रवाह गर्न सके जस्तै यहि धारलाई समाउने उत्प्रेरणा पनि मिलेको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन