Home Blog Page 4

आँचलद्वारा पहिलो चरणका उत्कृष्ट १० कविता सार्वजनिक

नवसाहित्य डटकम

१६ ज्येष्ठ । नवसाहित्य अनलाइन । आँचल साहित्य कला पुञ्ज मकवानपुरले प्रतियोगिताका लागि १० उत्कृष्ट कविताहरू सार्वजनिक गरेको छ । ज्येष्ठ १७ गते शनिबार हुन लागेको माध्यमिक तहस्तरीय कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविको सूचि सार्वजानिक भएको छ ।

आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले बृहत साहित्यक तथा साँस्कृतिक कार्यक्रममा हुन लागेको कविता प्रतियोगिताका लागि प्राप्त २६ कविताहरूबाट छनोट गरिएको बताउनुभयो ।

कक्षा ८-१२ तहस्तरीय कविता प्रतियोगितामा जेठ १४ गतेसम्म प्राप्त भएका कविताहरूमध्ये उत्कृष्ट १० छनौट गरी कविहरूको रचना वाचन गर्ने र प्रथम द्वितीय तृतीय तथा सान्त्वना स्थान प्राप्त कवितालाई पुरस्कृत गरिनेछ । पुरस्कारहरू सोही अनुसार क्रमश: १० हजार, ७ हजार, ४ हजार र १ हजार रहनेछन्।

कार्यक्रममा साहित्यकार निमेष निखिलको ‘कि नोट स्पिच’ प्रस्तुत हुने तथा मकवानपुर जिल्लाका विभिन्न साहित्यिक स्रष्टाका रचना समेत वाचन हुनेछ । कार्यक्रममा महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, सिविन बाल हेल्प लाइनका जिल्ला प्रमुख झविन्द्र ज्ञवाली र श्यामकृष्ण श्रेष्ठ ‘डिजिटल स्क्रिनको प्रभाव’ विषयक बहसमा सहभागी हुनुहुनेछ ।

हेटौँडा उपमहानगरपालिकाको प्रवर्धनमा ‘बृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम’जेठ १७ गते बिहान १०:३० बजे हेटौँडा पार्टी प्यालेसमा आयोजना हुनेछ ।

महोत्सवका क्रममा विभिन्न स्रष्टाहरूलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ भने सम्मान तथा सम्बन्धित स्रष्टाहरू बारे यसअघिको समाचारमा उल्लेख गरिएको छ ।
https://nawasahitya.com/?p=16462

मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन एवं स्रष्टा सम्मान फागुन १६ मा

नवसाहित्य डटकम संवादाता हेटौँडा । नेपाली साहित्यको मर्मस्पर्शी विधा मुक्तकको श्रीवृद्धिका लागि समर्पित मुक्तक मञ्च मकवानपुरले आफ्नो स्थापनाको चौथो वर्षगाँठलाई विशेष उत्सवका रूपमा मनाउने भएको छ। यही फागुन १६ गते शनिबार बिहान ११ बजे हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको सभाहलमा यो भव्य समारोह आयोजना हुने भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको उपस्थिति रहने मञ्चले जनाएको छ। समारोहमा विभिन्न स्रष्टाहरूलाई नगद राशिसहित विशेष सम्मान अर्पण गरिनेछ। जसअन्तर्गत भैरहवाका डा. मुरारि पराजुलीलाई ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’, काठमाडौँका सुनिल अधिकारीलाई ‘तारा स्मृति मुक्तक सम्मान’, काठमाडौँकै मदन नेपाललाई ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ र मकवानपुरका युवा स्रष्टा अनिस न्यौपाने ‘मनको आँखा’ लाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ प्रदान गरिने भएको छ। यी सम्मानहरूको स्थापना क्रमशः अग्रज साहित्यकार आर.सी. रिजाल, मञ्चका संस्थापक उपाध्यक्ष किसन पौडेल, संस्थापक अध्यक्ष डी.बी. बर्तौला र प्रलेस मकवानपुरका निवर्तमान अध्यक्ष श्रीराम अधिकारीले गर्नुभएको हो। मञ्चले विगतका वर्षहरूदेखि नै मुक्तक विधामा निरन्तर साधनारत व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। यसअघि बुटवलका रमेश समर्थन, मकवानपुरका देवराज खरेल, रौतहटका हरिकृष्ण काफ्ले, चितवनकी विमला अधिकारी देवकोटा, सिन्धुलीका लोकेन्द्र डहरे, पोखराका दीपक समिप, काठमाडौँकी निलाञ्जला भारद्वाज तथा मकवानपुरका समर्पण न्यौपाने र विर्खे अन्जान एवं सिन्धुलीकी अस्मिता दाहाल यस मञ्चबाट सम्मानित भइसकेका छन्। वार्षिकोत्सवको समापनसँगै मञ्चको दोस्रो अधिवेशन समेत सञ्चालन गरिनेछ। अधिवेशनको विशेष सत्रमा संस्थाको आगामी कार्ययोजना, संगठनको वृहत्तर विस्तार र नयाँ नेतृत्व चयनका विषयमा घनीभूत छलफल हुनेछ। मञ्चका सचिव सुबास सजलले यस मुक्तकीय अभियानलाई अझ सशक्त, मर्यादित र संगठित बनाउने मूल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको छ। तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् नवसाहित्य टेलिभिजन

Read More »

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

नवसाहित्य डटकम समाचारदाता गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। एकतर्फी प्रेमको संवेदनशील अनुभूति र आत्मीय भाव समेटिएको यस गीतले छोटो समयमै श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले गीतलाई मर्मस्पर्शी बनाएको छ। गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ र गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ। यसअघि पनि गीतकार राईका केही गीत रेकर्ड भइसकेका छन्। शिला खनालले २०७५ मा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै मनमा बी राईले २०७९ मा र नवराज पराजुलीले २०८१ मा ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई दस वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन्। हाल उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्। राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव र लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ का संस्थापक उनी नेपाली लघुकथाको विकासमा क्रियाशील छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्। राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ प्रकाशित भइसकेको छ। उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा समेत सम्पादन अनुभव बटुलिसकेका छन्। नेपाली भाषा र साहित्यमा योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्। तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् नवसाहित्य टेलिभिजन

Read More »

मोनिटाइजमा महाराजको दिव्योपदेश

नवसाहित्य डटकम एकाबिहानै फेसबुकको एउटा “मोनिटाइजका लागि सहकार्य गरौँ” भन्ने ग्रुपमा राष्ट्रनायक स्वयं सक्रिय देखिए ।इतिहास पढ्न अब किताब पल्टाउनु पर्दैन रहेछ, फेसबुक स्क्रोल गरे पुग्ने । पुस २७ मा सरकारले बिदा दिएको छ, त्यसैले होला- राज्य विस्तारभन्दा मोनिटाइज अभियान सक्रिय । डलरको लोभले मैले पनि मेन्सन हानेँ- ‘@पृथ्वीनारायण शाह – राष्ट्रनायक’ फलोअर्स तीन अङ्कको K, मेरो पनि बढाइदिनु पर्‍यो नि ! इनबक्समा बोलाइयो ।लाइक, कमेन्ट, शेयरको सन्धी होला भनेर उतै हान्निएँ ।तर उताबाट आयो- “visit the given links.” भिडियो खोलें, स्क्रोल गर्दै जाँदा यति तल पुगेँ कि जमिन उत्खनन् गरेको भए मरुभूमिमा पनि पानी निस्किन्थ्यो । जमिनमा भए म्याराथन जितिन्थ्यो । स्कुल पढ्दा कन्ठस्थ उक्ति थियो-लमजुन् भन्याको गरुड हो । गोर्षा भन्याको सरप हो । नेपाल भन्याको भ्यागुता हो । गरुडको अघि आषा छलनु । तब सर्पले भ्यागुतो षान पाउछ । छन त महाराजलाई सम्झाउन मन थियो । डिजिटल युगमा गरूड भन्याका अमेरिका हो, भीउसेन थापाले कोखामा दाँत भयाका भन्थे । अस्ति मातरै भेनेजुएलाका मादुरोलाई माकुरोले झिँगो टिप्याजस्तो टपक्क टिपी लग्दा भया । एकछिनपछि महाराजबाट थम्ब्स अप इमोजी आयो । सायद दिव्योपदेश यही हो- हेरेपछि बुझिहाल्छस् ! समय फेरिएको रहेछ महाराज । पहिले राज्य खुकुरीले जितिन्थ्यो, अहिले reach, views र engagement ले । सिक्का अब भर्चुअल भएको छ । दिव्योपदेश एआइले दिन थालेको छ ।बस्न्यात, थापा, पाँडेहरूका जो बचेकाहरू रीलमा रोइरहेछन्, स्टोरीमा हाँसिरहेछन् । कसैका छोराछोरीहरू ‘सब्सक्राइब’ माग्ने त कसैका ‘स्टार’ बाँडिरहेछन् । इतिहास अब सालिकमार्फत् होइन, कन्टेन्टमार्फत् लेखिन थालिएको छ । विजयर्‍याली होइन, स्टोरी, रिल, पोस्टादीमार्फत् गाली पाउँदा पनि भाइरल भइयो भनेर सेलेब्रेसन गर्ने बेला आयो । सजिलो भो महाराज, घरमैँ बस्यो ट्याप ट्याप गर्‍यो । भ्यूज बटुल्न गुन्द्रुक र पिठो बोकेर पल्लो किल्लासम्म जानु परेन । फेसबुक मोनिटाइज सहरकार्यका लागि लमजुङे राजासँग सन्धी गर्नै परेन । उबेला हजुरले बिनाफ्वाँकमा दुख बेसाउनुभो । मकवानपुरमा आँखा गाडेर ससुरालीकै घिउ खाँदै जेठान दिग्बन्धन सेनलाई लखेट्नुभो । यतिखेर भए त पक्ष विपक्षमा ह्यासट्याग अभियानै चल्थ्यो । त्यसकै नाममा कन्टेन्ट क्रियटरहरू बढ्थे । आजको पाठ सिकियो । बाँकी भोलिका लागि भन्दै मोबाइल चार्जमा जोडेर निदाउँदा भया ।भोलिपल्ट ग्रुप खोजेँ- ग्रुप बेपत्ता । हिजो “मोनिटाइज सहकार्य”, आज “फलानोलाई जिताऔँ अभियान” ।महाराज अलप, डलर अधुरो, मोनिटाइज अधुरै । राज्य जित्न तलबार चाहिन्थ्यो, आज ध्यान जित्न स्क्रोल । अस्तु । तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् नवसाहित्य टेलिभिजन

Read More »

पर्याकविता प्रतियोगितामा पौडेल, जोशी र किरण सिवा पुरस्कृत

संप्रस पौडेल समाचार प्रमुख पौष २६, नवसाहित्य । राष्ट्रिय पर्याकविता प्रतियोगिता २०८२ मा मकवानपुरका किशन पौडेल (कविताः दोहन) प्रथम हुनु भएको छ । प्रतियोगितामा कैलालीका मोहित जोशी (कविताः समयको अन्त्यको किनारमा उभिएर) द्वितीय र किरण सिवा (कविताः मौन प्रकृति) तृतीय हुनुका साथै तनहुँका नरोत्तम श्रेष्ठ (कविताः बीउको रक्तिम घोषणा) र काठमाडौँका यशोदा अधिकारी (कविताः धर्तीको विघटन) सान्त्वना घोषित हुनु भएको हो । प्रथम, द्वितीय, तृतीय र दुइ सान्त्वना विजेताहरूलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र ५/५ हजार नगद राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो ।कूल १६४ कविताबाट छनोट भइ उत्कृष्ट १० को सूची प्रकाशनपश्चात् वाचन प्रक्रियालाई समेत आधार मानी कूल अङ्क गणना गर्दै प्रतियोगिताका विजयी घोषित गरिएको हो निर्णायकद्वय पर्या साहित्य लेखक विजय हितान र साहित्यकार डा. निमेष निखिलले जानकारी दिनुभयो ।साहित्य सङ्गम मकवानपुरको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता प्रतियोगिताका साथै ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस समेत सञ्चालन गरियो । साहित्यकार सुवास खनालले सहजीकरण गर्नु भएको बहसमा पर्या अभियन्ता विजय हितान (चितवन), पर्या साहित्यकार ईश्वर कँडेल (ईश्वर कँडेल) र समीक्षक घनश्याम घिमिरे (मकवानपुर) को सहभागिता रह्यो ।प्रकृतिले कुनै न कुनै सन्देश दिइरहने र सो सन्देशलाई समयमैँ बुझ्न नसके मानवले भयावह नतिजा भोग्नुपर्ने हुनाले दीगो विकासको अवधारणालाई व्यापक अध्ययन र अनुसन्धान गर्दै विकासका गतिविधि सञ्चालन गर्नुपर्नेमा बहसकर्ताहरूको जोड रहेको थियो । मानव श्रेष्ठ प्राणीको रूपमा मानवले नै घोषणा गरेकाले प्रकृतिका अघि सानो अंश मात्र रहेको यथार्थता बिर्सन नहुने बताउँदै उहाँहरूले साहित्यमा प्रकृति अर्थात् पर्या चेतले स्थान पाउँदै गएको र यसले व्यापकता पाउनुपर्ने आवाज उठाउनुभयो । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, साहित्यकार तुलसी घिमिरे, महाकाव्यकार मुना अर्याललगायत विशिष्ट अतिथि रहनु भयो ।साहित्य सङ्गम मकवानपुरकी सचिव रजनी पौडेलले सहजीकरण गर्नु भएको सो कार्यक्रम हेटौँडा पार्टी प्यालेसमा आयोजना भएको हो । तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् नवसाहित्य टेलिभिजन

Read More »

‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२’ – बहस एवम् कविता प्रतियोगिता हुँदै।

नवसाहित्य डटकम समाचारदाता                हेटौँडा, २५ पुस । साहित्य सङ्गम मकवानपुरको ३९ औँ वार्षिकोत्सवको अवसरमा भोलि २०८२ पुस २६ गते शनिबार हेटौँडामा ‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव–२०८२’ तथा विशेष बहस कार्यक्रम आयोजना हुँदैछ। हेटौँडा–४ स्थित हेटौँडा पार्टी प्यालेसमा बिहान ११:०० बजेदेखि सुरु हुने यस कार्यक्रममा खुला कविता प्रतियोगिता र ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस हुने आयोजकले जनाएको छ। उत्सवको मुख्य आकर्षणका रूपमा रहेको राष्ट्रिय पर्याकविता प्रतियोगिताका लागि देशभरबाट प्राप्त १६४ कविताहरूमध्येबाट उत्कृष्ट १० कविता र कविहरूको नाम यसअघि नै सार्वजनिक गरिसकिएको छ। छनोटमा परेका १० जना कविहरूले भोलि हुने अन्तिम चरणको प्रतियोगितामा उपस्थित भई आफ्ना कविता वाचन गर्नेछन्। वाचन पश्चात निर्णायकको मूल्याङ्कनका आधारमा प्रथम (रू‍.३० हजार), द्वितीय (रू‍.२० हजार) , तृतीय (रू‍.१० हजार) र प्रोत्साहन पुरस्कार ( दुइजनालाई रू‍.५ हजार) विजेता घोषणा गरिनेछ। अन्तिम चरणका लागि छनोट भएका उत्कृष्ट १० कवि र कविताहरू (वर्णानुक्रम अनुसार): १. किरण सिवा (सुनसरी) – मौन प्रकृति २. किशन पौडेल (मकवानपुर) – दोहन ३. नरोत्तम श्रेष्ठ (तनहुँ) – बिउको रक्तिम घोषणापत्र ४. निरूपम श्रेष्ठ (सिन्धुली) – हरियो विद्रोह ५. मदन घिमिरे (कास्की) – एक आरोहीको डायरी ६. मोहित जोशी (कैलाली) – समयको अन्त्यको किनारमा उभिएर ७. यशोदा अधिकारी (काठमाडौँ) – धर्तिको विघटन ८. राजु झल्लूप्रसाद (धादिङ) – तर ९. सुबास सजल (मकवानपुर) – मौनधारण १०. सुरेशचन्द्र घिमिरे (लमजुङ) – प्रकृति र जीवन संस्थाका अध्यक्ष डी.बी. बर्तौला र कार्यक्रम संयोजक मनोज पोखरेलद्वारा जारी सूचना अनुसार, प्रतियोगी कविहरूका लागि आयोजकले खाना तथा आवासको व्यवस्था गरेको छ। ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस कार्यक्रमको अर्को सत्रमा समकालीन नेपाली साहित्यमा पर्यावरणको चेतना र यसको महत्त्वबारे विशेष बहस हुनेछ। ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक यस बहसमा वक्ताका रूपमा डा. गीता त्रिपाठी (काठमाडौँ), डा. घनश्याम घिमिरे (मकवानपुर) र विजय हितान (रुपन्देही) रहनुहुनेछ। बहसको सहजीकरण सुवास खनालले गर्नुहुनेछ। साहित्य सङ्गम मकवानपुरले वातावरण संरक्षण र साहित्यलाई जोड्ने उद्देश्यले विगत केही वर्षयता पर्याकविता उत्सवलाई निरन्तरता दिँदै आएको छ। – नवसाहित्य संवाददाता तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् नवसाहित्य टेलिभिजन

Read More »

कवि नवराज पराजुली कविताका गुच्छाहरू लिएर कन्सर्टका क्रममा हेटौँडा आउँदै हुनुहुन्छ ।

२४ पुष, हेटौँडा । नेपाली कविता लेखन र वाचनमा छुट्टै पहिचान बनाउनुभएका कवि विशेषता युवा पुस्तामाझ रूचाइनु भएको छ । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएका पराजुलीको कविता संग्रह सगरमाथाको गहिराईले पद्मश्री पुरस्कार प्राप्त गरेको थियो भने उहाँ देश तथा विदेशमा विभिन्न सम्मान र पुरस्कारले सम्मानित भइसक्नुभएको छ । मञ्च प्रस्तुतिका लागि चर्चित कवि पराजुली आफ्ना कविता लिएर देश मात्रै होइन विदेशका समेत विभिन्न भूगोलमा पुगिसक्नुभएको छ । यसो त लाटोकोसेरो, पर्खाइ, जुलपी आदि उहाँद्वारा सिर्जित गीतहरू हुन् । पराजुलीले शुक्रबार बेलुकी ५:०० बजे एभोकाडो एण्ड अर्किड रिसोर्टमा आफ्ना कविताहरू वाचन र प्रस्तुति दिनुहुने किताबघरका छवि अनित्यले जानकारी दिनुभयो । नवसाहित्य अनलाइन कवि नवराज पराजुलीलाई हेटौंडामा हार्दिक स्वागत गर्दछौँ ।

Read More »

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लाई उत्तम शान्ति पुरस्कार (पाठक प्रतिक्रियासहित)

नवसाहित्य डटकम

कवि/गजलकार/मुक्तककार/नियात्राकार

१४ जेठ । नवसाहित्य अनलाइन । जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ लाई उत्तम शान्ति पुरस्कार प्रदान गरिने घोषणा भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८१ सालको सो पुरस्कार लामिछानेको नियात्राकृतिका लागि प्रदान गरेको हो ।

१ लाख १ रुपैयाँ राशिको सो पुरस्कार लेखक स्वयम्‌ले सन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राका अनुभवहरू उल्लेख गरिएको लामिछानेको तेस्रो पुस्तकका लागि प्रदान गरिएको हो ।

यस पुस्तकले अन्टार्कटिकाको दृश्य–चित्र प्रस्तुत गर्दै पृथ्वीको भविष्यबारे चिन्ता व्यक्त गरेको छ । हिउँको साम्राज्य मात्र नभई अन्टार्कटिका मानव सभ्यताको रक्षा कवच समेत बनिरहेको कुरा उल्लेख भएको यस पुस्तकलाई जलवायु परिवर्तनको असरको खोजीका रूपमा सन्दर्भ पुस्तकका रूपमा प्रयोग गर्न सकिने चर्चा हुने गरेको छ । अन्टार्कटिकाको सौन्दर्य, अनुसन्धान र वातावरणीय सन्देश दिइएको पुस्तकमा उहाँले अन्टार्कटिकाको भ्रमण दोहोर्‍याएर नगर्ने उल्लेख गर्नुभएको छ । संसारका १ सय ३० भन्दा बढी देशको भ्रमण गरिसक्नु भएका उहाँका यसअघि ‘सरसर्ती संसार’ र ‘देश देशावर’ नियात्रासङ्ग्रह प्रकाशित छन् ।

लामिछानेको ‘अक्षत अन्टार्कटिका’ फाइनप्रिन्टले बजारमा ल्याएको हो भने २०८१ चैत्रमा सो पुस्तकको लोकार्पण गरिएको थियो ।
०००
पाठक प्रतिक्रियाहरूः
जर्मनी निवासी डा. यज्ञ अधिकारीले “अक्षत अन्टार्कटिका” को पाण्डुलिपि पढेर दिनु भएको सुझाव ।
(लेखक लामिछानेको सामाजिक सञ्जालबाट)
“ज्ञानको विशाल सागरमा अक्षत अन्टार्कटिका को दिगो इँटा”
“यात्रा केवल गन्तव्यसम्म पुग्ने बाटो होइन, यो आफैँमा एउटा ज्ञानको पाठशाला हो, जहाँ प्रत्येक पाइलाले नयाँ क्षितिज उघार्छ।”
जीव लामिछानेज्यूका अघिल्ला कृतिहरू ‘सर्सर्ती संसार’ र ‘देश देशावर’ का पाण्डुलिपिहरूमा ससाना त्रुटिहरू औँल्याउँदै राम्रो सुझाव दिन पाउँदा उहाँले मलाई विश्वास गर्नुभयो र अक्षत अन्टार्कटिकाको पाण्डुलिपि हात पार्ने अवसर दिनुभयो । यसका लागि सर्वप्रथम, म हृदयदेखि नै धेरैधेरै धन्यवाद व्यक्त गर्दछु, किनकि यो अवसरले मलाई एउटा उत्कृष्ट साहित्यिक यात्राको साक्षी बन्ने सौभाग्य मिल्यो ।
पाण्डुलिपि प्राप्त भएपछि मैले यसलाई राम्रोसँग बुझेर पढ्ने प्रयास गरेँ । मेरो उद्देश्य पाठकहरूले अझ राम्रो अनुभव गर्न सकुन् भन्ने थियो, त्यसैले मनमा लागेका सुझावहरू इमानदारीपूर्वक राखें । आज आएर जब यो प्रकाशन भयो र मैले यसलाई पुनः पढेँ, तब मनमा एक प्रकारको सन्तोषको अनुभूति भयो, किनकि मेरा सुझावहरूलाई उचित स्थान दिइएको पाएँ । सामाजिक सञ्जालमा यस पुस्तकको बारेमा धेरै चर्चा भइसकेको र अधिकांश पाठकहरूले यसलाई उत्कृष्ट घोषणा गरिसकेको अवस्थामा, पाण्डुलिपि पढ्ने एक पाठकका रूपमा म यसको समीक्षा अलि फरक तरिकाले गर्न चाहन्छु ।
१. नेपाली साहित्यमा ‘अन्तरविषयक यात्रा संस्मरण’ को एक अग्रणी कृति:
सामान्यतया यात्रा संस्मरणलाई एउटा निश्चित भूगोल र त्यसको यात्रा विवरणमा सीमित मानिन्छ, तर ‘ अक्षत अन्टार्कटिकाले यस परम्परालाई तोडेको छ । यो केवल एउटा यात्रा विवरण मात्र नभएर, बहुआयामिक ज्ञानको सङ्गम हो । यसले यात्रा, इतिहास, जैविक विविधता (biodiversity), पारिस्थितिक विज्ञान (ecology), जलवायु परिवर्तन (climate change), प्रकृति संरक्षण (nature protection), प्रविधि (technology) जस्ता अनेकौँ आयामहरूलाई समेटेको छ । यस अर्थमा, नेपाली साहित्यमा ‘अन्तरविषयक यात्रा संस्मरण’ (interdisciplinary travelogue) को यो एउटा अग्रणी कृति हो भन्न म रुचाउँछु । लेखकले भौगोलिक यात्रालाई ज्ञानका विभिन्न विधासँग जोडेर पाठकलाई एउटै पुस्तकमा अनेकौँ जानकारी दिने जुन प्रयास गर्नुभएको छ, त्यो आफैँमा सराहनीय छ।
२. व्यक्तिगत आत्मीयता र विशेषज्ञताको प्रतिबिम्ब:
मेरो आफ्नै विशेषज्ञता प्रकृति, वातावरण र वन्यजन्तु संरक्षणका क्षेत्रमा भएकाले अक्षत अन्टार्कटिका मेरालागि विशेष पुस्तक बन्न पुग्यो । यसमा मैले आफ्ना मनमा लागेका कुराहरू र मैले अनुरोध गरेका केही शब्दहरू समेत पाएँ, जसले पुस्तकसँग मेरो व्यक्तिगत आत्मीयता थप बढायो । वातावरण, जैविक विविधता र संरक्षणका विषयमा लेखकको गहिरो रुचि र त्यसलाई यात्रा संस्मरणमा सहजै मिसाउने क्षमताले मलाई विशेष रूपमा प्रभावित बनायो ।
३. पाठकलाई घटनास्थलमै पुर्याउने जीवन्त लेखनशैली:
जीवजीको लेखनको सबैभन्दा बलियो पक्ष नै पाठकलाई यात्रामा आफू नै पुगेको अनुभूति गराउनु हो । अन्टार्कटिकाको शून्य तापक्रम, विशाल हिउँका पहाडहरू, पेन्गुइन र सिलहरूको जीवनशैली, त्यहाँको मौनता र विशालता- यी सबैलाई उहाँले यति सजीव रूपमा प्रस्तुत गर्नुभएको छ कि शब्दहरूले नै चित्र कोरिदिन्छन् । पाठकले किताब पढिरहँदा आफू अन्टार्कटिकाको चिसो हावा महसुस गरिरहेको, पेन्गुइनको चाल नियालिरहेको वा हिउँले ढाकिएको विशाल दृश्यमा हराइरहेको अनुभव गर्छन् । यो आफैँमा एउटा शक्तिशाली लेखनको उदाहरण हो ।
४. ‘दिगोपन’ (Sustainability) को अवधारणामा आधारित नवीन कृति:
पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष यसको ‘दिगोपन’ (sustainability) को अवधारणालाई समेट्नु हो । यसले केवल वातावरणीय पक्षमा मात्र ध्यान दिएको छैन, बरु:
क. संरक्षण, प्रकृति, पारिस्थितिक प्रणाली, वनस्पति तथा जीवजन्तु (flora and fauna) र जलवायु परिवर्तनका विषयमा गहन जानकारी प्रदान गरेको छ ।
ख. यात्रा र वातावरणको सामाजिक पक्ष, मानव क्रियाकलापले प्रकृतिमा पार्ने प्रभावका कुराहरूलाई पनि कुशलतापूर्वक समावेश गरेको छ ।
ग. र, यस यात्रासँग जोडिएका आर्थिक पक्षहरूलाई पनि छोटो तर सारगर्भित रूपमा समेटेको छ ।
यसरी, अक्षत अन्टार्कटिकाले नेपाली साहित्यमा एक नयाँ क्षितिजबाट ‘दिगो विकासको इँटा’ (sustainable brick) थपेको मैले अनुभव गरेको छु । यो पुस्तक केवल मनोरञ्जनका लागि मात्र नभई, पाठकलाई सचेत गराउने, ज्ञान दिने र पृथ्वीको भविष्यबारे सोच्न बाध्य पार्ने एक सशक्त माध्यम बनेको छ ।
अन्त्यमा,
समग्रमा, ‘ अक्षत अन्टार्कटिका’ केवल एक यात्रा संस्मरण नभएर, नेपाली साहित्यमा ज्ञान, विज्ञान र चेतनाको बहुआयामिक संगम प्रस्तुत गर्ने एक अद्वितीय, दूरदर्शी र प्रेरणादायी कृति हो । यस उत्कृष्ट र नवीन सिर्जनाका लागि आदरणीय जीव लामिछानेज्यूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा यस्ता थप सिर्जनात्मक एवं महत्वपूर्ण कृतिहरूको अपेक्षा गर्दछु ।
नेपाली साहित्यमा यस्तो महत्वपूर्ण, नवीनतम र बहुआयामिक कृतिको पाण्डुलिपि सर्वप्रथम पढ्ने सौभाग्य र विश्वास प्रदान गर्नुभएकोमा लेखक आदरणीय जीव लामिछानेज्यूप्रति म हार्दिक कृतज्ञता र असीम आभार व्यक्त गर्दछु । यो मेरो लागि केवल एक पठन मात्र नभएर, ज्ञान, अनुभूति र सिर्जनात्मकताको यात्रासँग प्रत्यक्ष जोडिने एक ऐतिहासिक अवसर रह्यो ।
साहित्यको शुभचिन्तक,
डा.यज्ञ अधिकारी, जर्मनी
०००
केही समय अगाडि फेसबुकमा एउटा विज्ञापन देखेँ Nepalibooks UK को, कि नेपालबाट केही नयाँ किताब आएका छन् पढ्न चाहनु हुनेहरूले सम्पर्क गर्नु होला भनेर ।
किताबका लिस्ट हेरेँ । एउटा किताबमा आँखा गाडिए । दुई चार हफ्तादेखि फेसबुक लगायतका सामाजिक सञ्जालमा निकै चर्चित किताब थियो त्यो । मलाई पनि पढ्न मन लाग्यो र मगाएँ । मगाएको ३ दिन पछि हुलाकबाट किताब मेरा हात र बैकबाट पैसा मलाई किताब पठाउनेका हात लाग्यो । जे होस् काम फटाफट हाताहात भयो । किताब थियो जीवा लामिछानेको अक्षत अन्टार्कटिका ।
किताब त पाएँ तर किताब मोडेको प्लास्टिक पनि खोल्न भ्याएको थिएन व्यस्तताले । गएको सप्ताहान्तमा अब त पढ्छु भनेर किताबको घुम्टो उघारेँ ।
अन्टार्कटिका यसै पनि रहस्यको भूमि । अझै पनि धेरै खोजी हुन बाँकी रहेको पृथ्वीको एक मात्र बाहिरी सतह केही वृत्तचित्र, केही अन्टार्कटिकालाई नै विषय बनाएर देखाईएका विभिन्न व्यक्तिका भ्रमण अनुभव आदि पनि युट्युबमा हेरेर धेरै/थोरै जानकारी राखेकै थिएँ अन्टार्कटिकाको बारेमा । म पनि विज्ञानको विद्यार्थी र त्यसमाथि भूगर्भ नै विषय भएकोले पृथ्वीको उत्पत्ति देखि प्लेट टेक्टोनिक्स सम्म सामान्य किताबी ज्ञान त थियो नै तर पनि आँखाले देखे जस्तो त कहाँ हुनु र ।
जब पढ्न थालेँ, पढ्दै गएँ, छोड्न मन लागेन । लाग्यो स्वान हेलेनिक भेगाको छैटौँ डेकको कोठा नं ६०३ मा जीवा लामिछाने होइन म छु घनश्याम दाइसँग । अथवा टोली नेता ब्रान्डनको यात्रामा के गर्न हुने के नहुने भन्ने ब्रिफिङ पनि मै सुन्दैछु अथवा पुनितको टिमले बनाएको मिष्टान्न परिकार मेरै मुखले स्वाद लिँदैछ अथवा ड्रेक प्यासेसको कहाली लाग्दो यात्रमा म आत्तिदैछु अथवा त्यस कहाली लाग्दो यात्रा पछि एलिजावेथ र रुनीलाई उनिहरूको परिवारसँग सम्पर्क गराउने सहयोगी हात पनि मेरै हुन् अथवा ब्रान्डनको अनुमति पाएपछि म नै ध्रुवीय डुबुल्की लगाउँदैछु अथवा रोबर्ड प्वाइन्टमा बसेर एलिफेन्ट सिल र हजारौँ पेन्गुइनको अद्भुत दृश्यावलोकन पनि मेरै आँखाले गर्दैछन् अथवा हुलाकबाट परिवारलाई चिठी पनि म नै पठाउँदैछु र घर फर्केपछि आफ्नै पोस्टबक्सबाट त्यो चिठी म नै निकाल्दै छु ।
साँच्चै रोमाञ्चक यात्रा गराए जीवाले आफूसँगै । अझ त्यसमाथि यो नियात्रा कृति मात्र नियात्रा नभएर अन्टार्कटिकाको इतिहास पनि बोकेर आएको रहेछ । कुन समयमा कुन देशको कुन मान्छेले कसरी यात्रा गरे, कस्तो यात्रा गरे, कस्ता दु: ख पाए, कुन ठाउँको नाम कसले कसरी राखे, कुन कुन देशका कस्ता अनुसन्धान केन्द्र छन् कसरी के गर्छन् आदि सारा कुरा खोजेर अध्ययन गरेर फेरि सबैले बुझ्ने भाषा शैलीमा आफ्नो यात्रासँगै मिलाएर राख्नु सानो मेहेनत र क्षमताले भ्याउँदैन । यसको लागि जीवा लामिछाने प्रशंसा र धन्यवादका पात्र छन् ।
मनमा लागेको एउटा कुरा चाहिँ के हो भने नियात्रा पढ्दै जाँदा अनुसन्धान र खोजी इतिहासमा मात्र जीवा भेटेँ मैले, यात्रामा त जीवा नै भेटिन ! जीवाको ठाउँमा मलाई नै पाएँ । जीवालाई मैले पढेको यो पहिलो पटक हो तर अब भेटेसम्म पढ्ने बनायो यो किताबले । सायद लेखकको सफलता यही नै होला ।
लेखक जीवा लामिछानेलाई अनन्त बधाई एवं शुभकामना ।
दुश्यन्त भट्टराई, बेलायत
०००
हिमदेशको कथा- लक्ष्मण वियोगी
केही दिनअघि नै हो, पढिसिध्याएको । केही लेख्छु, लेख्नुपर्छ भनेर अगाडि सर्छु । धेरै जनले लेखिसके । विद्वान, विदूषी, समालोचक र प्राध्यापकले भन्नुपर्ने सबै भनिसके । अहँ, म सक्दिनँ । हात काम्छन्, हृदय थर्थराउँछ । पूरै शरीर लुलो भएर आउँछ । जीवा लामिछानेले कसरी लेख्न सके, यति गहन र हिमालजस्तै अग्लो कृति । छक्कमात्रै होइन, चकित परेको छु । उनी दशकौँदेखि साधनारत साहित्यकार होइनन् । विश्वविद्यालयको साहित्य विभागको कुनै हाँगो समातेर घोटिरहने प्राध्यापक पनि होइनन् । न दर्शन, इतिहास र विज्ञानका आविष्कारक नै हुन् ! अनि, कसरी भुल्भुलायो उनीभित्र यो धाराको कलकलजस्तो लेखन प्रवाह ?
बरु जीवा देशमात्रै होइन, विदेशमा चिनिएका उद्यमी हुन् । धेरै मानेका, पुजेका सरल व्यक्ति । उनको उद्यमकलाको सर्वत्र बखान हुन्छ । यस्तो व्यक्तिले साहित्यरसमा आफूलाई कसरी भिजाउन सकेको होला ? बुझेर बुझ्न नसकिने महासागरजस्तै छ, उनको लेखनी । बुझ्नै नसकेको उनको लेखनी र कृतिबारे म के बोलूँ । केही अघि उनको सरसर्ती संसारले संसार घुमाएको थियो । त्यसको रमरम नसेलाउँदै अहिले हिमदेश घुमियो । पढ्दा त उडेर अन्तपुरमा पुगेको अनुभूत हुन्छ । त्यो देश पुगेको दिन कस्तो होला ?
त्यतिबेला ‘नमरी स्वर्ग देखिन्न’ भन्ने उक्तिको प्यारोडी बन्छ होला – स्वर्ग देख्न मर्नै पर्दैन !
माथि भनिहालेँ, यो कृतिभित्र पसेर म केही लेख्न सकिरहेको छैन । कुन शब्द, वाक्य, अनुच्छेद वा पृष्ठका विषयमा लेखूँ ? ती हरेक वाक्य र अनुच्छेद गहिरिएर पढ्दै जाने हो भने अलग्गै दर्शन वा कृति जन्मिन्छ । त्यो काम शोधार्थीकै हो । त्यो सामथ्र्य ममा नभएपछि यतिकै अधमरो भएको छु । अन्तस्करणमा अनेक बेसूरा लय बजिरहेको छ ः
– कृतिभित्र म कहीँ यात्रा गरिहेको छु । कहीँ निबन्ध पढिरहेको छु । कहीँ कथा त कहीँ उपन्यासका पात्र भेटिरहेको छु । कतै मिथकीय हिमसुवास आएर नाकमा ठोक्किएको छ । कतै दर्शन, इतिहास, अध्यात्म, धर्म, विकासको चरमोत्कर्षमा पुगेका पश्चिमाहरूको लोकविचार र लोकाचारले मथिङ्गल हल्लाइरहेको छ । यी विविध स्वाद यसरी एउटै कृतिभित्र फेला पार्नु साँच्चै दुर्लभ नै होला ।
– पोलार प्लन्ज (धुव्रीय स्नान), शीतदंश, मरिन डाभर (गोताखोर), हिमदेश, ग्याबस्ट्रेभ माउन्टेन अर्थात् हिउँले पुरिएका पहाड, हिमगुन्द्री, हिमचकटी, हिमचिप्लेटी, हिमखण्ड, हिमरोटी आदि आदि । हेर्नुस् त शब्दहरू यी उताबाट आएका होइनन्, यतै हाम्रो घरगाउँबाट गएकाजस्ता छन् । हाम्रै वनपालेका हाडेकाफल, ऐँसेलु, चुत्रो र पानीअमला जस्ता । यिनै शब्दभित्र दर्शन, इतिहास र लोकाचारको महाकाव्य छन्, म कसरी यिनको वर्णन गर्न सकूँला र !
– पशुप्रेम अर्थात् सामुद्रिक जीवप्रतिको प्रेमभाव र पर्यावरणीय चेतले भरिपूर्ण छ, कृति । यिनै कथाले कल्पनाको समुद्रमा हराइरहेको अनुभूति हुन्छ ।
– पढ्दा–पढ्दै लाग्न थाल्यो, कुनै समय विश्वका देशहरू अन्टार्कटिकालाई लिएर युद्ध नगरुन् । मानव बस्ती विकासमा तछाडमछाड नगरुन् ।
– कतिसम्म आश्चार्यका कामहरू भइरहेका रहेछन्– अन्टार्कटिकामा । जस्तैः सौर्य ऊर्जा उत्पादन, रेडियो कार्यक्रम सञ्चालन, पानीका कुण्डको शोध तथा खनिज उत्खनन् । अचम्म र आश्चार्य, यी कामले पक्कै भोलिका दिनमा यहाँ मानव अतिक्रमण बढ्दैन भनेर भन्न सकिने आधार देखिँदैनन् ।
– लाग्छ– जीवा लेखक होइनन्, समुद्रमा धुन खोज्दै हिँडेका एक सङ्गीतकार हुन् । धुन प्रकृतिमा कति छन् कति ? तिनलाई टिप्नु र सारेगमको लयमा ढाल्नु पो सिर्जनशीलता रहेछ । यसमा कृतिकारको कलाको परख पोखिएको छ ।
– जीवाजस्ता भाग्यमानी संसारमा औंलामा गन्न सकिने मात्र होलान् । जो संसारलाई फन्को मार्दै हिँडिरहेका छन् । नेपालीजनलाई ज्ञान, विज्ञान, दर्शन र विश्वको चमत्कार सुनाइरहन्छन्, समुद्रको सिम्फोनी जस्तै ।
– सृष्टिको संरचना ध्वस्त पार्न जुर्मुराएर उठ्ने मानव र संरक्षणका अनेक उपाय पत्ता लगाउने पनि मानव ! कस्तो अचम्म ! अन्त्यमा, विद्वान पिताका विद्वान छोराको मार्मिक ज्ञानवद्र्धक चिट्ठीले भावुक बनाउँछ । खासमा पृथ्वी रहे न मानव अस्तित्व रहला ?
– सधैँ सकारात्मक सोचका र नकारात्मक पक्षलाई पनि सकारात्मक एवम् रोचक ढंगले प्रस्तुत गर्न सक्ने अद्भूत कलायुक्त व्यक्ति हुन् जीवा । नजिकबाट उनको व्यक्तित्व र ज्ञानको संगत गर्न पाइयो भने पनि जीवनमा धेरै कुरा सिकिन्छ र जीवन सार्थक हुन्छ झैँ लाग्छ ।
– यतिबेला म सोचिरहेछु– यो जुनीमा त म त्यो हिममूलुकमा पुग्न किमार्थ सक्दिनँ । अर्को जुनी मान्छे भएर जन्मेको अनुभूति हुन सक्यो भने अवश्य पुग्न पाइयोस् ।
– यही कृतिबाट उत्तम शान्ति पुरस्कार प्राप्त गर्दै गरेका कृतिकारको शतक आयुको कामना ।
०००
विगतमा अन्टार्कटिका महाद्वीपमा पुग्नका लागि भएका प्रयासहरुका बारेमा विस्तृतमा यसै पुस्तककमा उल्लेख भएको छ । त्यहाँ पुग्नका लागि विगतमा मानिसहरुबाट भएको प्रयास मात्र नभएर त्यस क्रमका खतरनाक र भयङ्कर दुर्घटनाहरुका बारेमा समेत पुस्तकमा लेखिकएको छ । सबैभन्दा आश्चर्यजक तथा डरलाग्दो तथ्य चाहि अन्टार्कटिकाभित्र रहेको ताजा पानीको सतह पग्लियो भने समुद्रको सतह ६० मिटर बढ्ने कुरा उल्लेख छ । समुद्रको सतह ६० मिटर बढ्नु भन्नाले विश्वका कैयन् सहरहरू पानीभित्र विलुप्त हुनु हो । लेखकले विगतमा ह्वेल र शीलको शिकारको नाममा मानवबाट भएको अत्याचार बारे समेत पुस्तकमा लेख्नु भएको छ । मानवीयता हराएका ती शताव्दीहरुमा आफ्नो स्वार्थका लागि मान्छेले गरेका उपद्रो र अत्याचारबाट अहिलेको पुस्ताले पछुताइरहेको सन्दर्भहरु पनि पुस्तकमा रहेका छन् ।
०००
नेपाली साहित्यको उन्नयनमा लामिछानेको योगदानः
उहाँलाई सन् २०११ र २०१८ मा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद् सदस्यमा नियुक्त गरिएको थियो । लामिछाने नेपाल सरकारले प्रदान गर्ने प्रबल जनसेवाश्री (सन् २०१३) र कीर्तिमय राष्ट्रदीप (सन् २०२३) बाट विभूषित हुनुहुन्छ । यस्तै उहाँले खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान स्थापना गरी २०६३ सालदेखि प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्दै आउनु भएको छ । त्यसो त ‘पद्मश्री साधना सम्मान’ र ‘पद्मश्री गौरव पुरस्कार’ समेतका संस्थापक हुनुहुन्छ । गणेश रसिक, अमर न्यौपाने, झमक घिमिरे, खगेन्द्र सङ्ग्रौला, मनु ब्राजाकी, उपेन्द्र सुब्बा, निलम कार्की, रमेश सायन, सञ्जीव उप्रेती, कृष्ण गौतम, केशवराज ज्ञवालीलगायतले पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नु भएको छ भने माया ठकुरीलाई पद्मश्री साधना सम्मान तथा पद्मश्री गौरव पुरस्कारबाट पहिलो पटक डा. सन्दुक रूइतलाई र २०८० मा भने प्रा.डा. केदार भक्त माथेमालाई सम्मान गरिएको छ

मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछाने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष हुनुहुन्छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

आँचलको पूर्वतयारी बैठक चार जना स्रष्टाहरूलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्ने।

नवसाहित्य डटकम

१४ जेठ, हेटौँडा ‌।
आँचल साहित्य कला पुञ्ज मकवानपुरको पूर्वतयारी बैठक तथा पत्रकार सम्मेलन आज हेटौँडामा एक कार्यक्रमबिच सम्पन्न भएको छ।
महिलाहरूको क्रियाशील संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुर २०६९ सालमा स्थापना भएको हो भने संस्थाले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ।

वर्षमा चारवटा बृहत कार्यक्रम गर्दै आइरहेको आँचलले हरेक वर्ष ९ जना स्रष्टाहरूलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ। यस वर्ष भने अक्षयकोष स्थापना भएको तर बैंकको ब्याजदर घटेको कारण अक्षयकोष रकम प्राप्त भइसकेका सम्मानहरू मध्ये पाँचवटा सम्मानहरू स्थगित गरिएको र चारवटा सम्मान मात्रै प्रदान गर्न लागेको संस्थाका अध्यक्ष भावना सापकोटाले बताउनुभयो ।

सो कार्यक्रममा प्रदान गरिने सम्मान तथा पुरस्कारहरू:
मङ्गला देवी श्रेष्ठ बालप्रतिभा पुरस्कार सम्मान २०८१
बाल प्रतिभा अनसुया खनाल, तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय
(राशि ३ हजार ५ सय, पुरस्कार संस्थापक देवप्रसाद श्रेष्ठ)
यस सम्मानबाट हालसम्म सम्मानित बाल प्रतिभा हरू प्रज्वल ढुङ्गाना ऋतु केबी समर्पण न्यौपाने प्रसिद्धि लामिछाने हुनुहुन्छ ।

मुक्ति-तारा नवप्रतिभा सम्मान २०८१
नवप्रतिभा स्वस्तिका दाहाल
(राशि रु. ५ हजार १, संस्थापक मुक्तिगोविन्द वैद्य र तारा वैद्य)
यस सम्मानबाट हालसम्म सम्मानित नवप्रतिभाहरू प्रसिद्धिका लम्साल प्रसन्ना चौलागाईँ कृतिका लौडारी र स्वस्तिका बानियाँ हुनुहुन्छ ।

सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८१
कवि पुरुषोत्तम आचार्य
(राशि १० हजार १, सम्मान संस्थापक चन्द्र किरण श्रेष्ठ र मेनुका शर्मा)
यस सम्मानबाट हालसम्म सम्मानित युवा प्रतिभाहरू सुवास खनाल, छवि अनित्य, विष्णुबहादुर विश्वकर्मा र दीपक गौतम हुनुहुन्छ ।

आँचल सम्मान २०८१
अक्षय कोष संस्थापक प्रकाश लम्साल
यस सम्मानबाट हालसम्म सम्मानित साहित्यसेवीहरू मुक्ति गोविन्द वैद्य र हरिवंश भेटवाल हुनुहुन्छ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्य रहने कार्यक्रममा ‘बालबालिका अभिभावक र आजको समाज’ विषयक मनोपरामर्श कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्राध्यापक तथा मामाघर नेपालका संस्थापक अर्पण पराजुलीले परामर्शदाताको रूपमा सहजीकरण गर्नुहुनेछ ।

कार्यक्रममा महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, सिविन बाल हेल्प लाइनका जिल्ला प्रमुख झविन्द्र ज्ञवाली र श्यामकृष्ण श्रेष्ठ ‘डिजिटल स्क्रिनको प्रभाव’ विषयक बहसमा सहभागी हुनुहुनेछ ।

कक्षा ८-१२ तहस्तरीय कविता प्रतियोगितामा जेठ १४ गतेसम्म प्राप्त भएका कविताहरूमध्ये उत्कृष्ट १० छनौट गरी कविहरूको रचना वाचन गर्ने र प्रथम द्वितीय तृतीय तथा सान्त्वना स्थान प्राप्त कवितालाई पुरस्कृत गरिनेछ । पुरस्कारहरू सोही अनुसार क्रमश: १० हजार, ७ हजार, ४ हजार र १ हजार रहनेछन्।

कार्यक्रममा साहित्यकार निमेष निखिलको ‘कि नोट स्पिच’ प्रस्तुत हुने तथा मकवानपुर जिल्लाका विभिन्न साहित्यिक स्रष्टाका रचना समेत वाचन हुने अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ।

बैठक तथा पत्रकार सम्मेलनका क्रममा सापकोटाले कार्यक्रममा उपस्थितिका लागि साहित्यकार साहित्यनुरागी पत्रकार पुरस्कार संस्थापक आँचलका साधारण सदस्यहरू विशिष्ट आजीवन सदस्यहरू मकवानपुरका सम्पूर्ण साहित्यिक संस्था शुभचिन्तक तथा सरोकारवालाहरूप्रति आभार व्यक्त गरेको गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा हेटौँडा उपमहानगरपालिकाको प्रवर्धनमा ‘बृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम’ जेठ १७ गते हेटौँडा पार्टी प्यालेसमा आयोजना हुने जानकारी दिइएको छ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

प्रज्ञा प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कविता महोत्सव’ २०८२ का लागि कविता आह्वान

नवसाहित्य डटकम

१३ जेठ । नवसाहित्य अनलाइन । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरिएको छ । २०८२ असार ९ गते प्रज्ञाप्रतिष्ठानद्वारा आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि जेठ २० गतेसम्म कविता उपलब्ध गराइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिष्ठानले कविता उपलब्ध गराउनका लागि आफैँ उपस्थित भई वा इमेल (kavitamahotsav082@gmail.com) गर्न सकिने नेपाली कविहरूका लागि अनुरोध गरेको छ । समावेशी सहभागितामूलक र बहुभाषी गरिने हुनाले कविता नेपालका सबै भाषा/मातृभाषामा लेखेर सहभागिता जनाउन सकिने तथा मातृभाषामा पठाइएका कविता अनिवार्य रूपमा अनुवादसहित पठाउनुपर्ने जानकारी गराइएको छ ।

प्राप्त कविताहरू मध्येबाट उत्कृष्ट १० कवितालाई रु. ४० हजार सहित कदर-पत्र प्रदान गरिने छ भने कविता मौलिक हुनुका साथै महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यमबाट प्रसारित र प्रकाशित नभएको हुनुपर्ने छ । म्याद नाघी आएका तथा तोकिएको मापदण्डविपरीत रहेका कवितालावई महोत्सवको मूल्याङ्कन प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख गरिएको छ ।

सहभागी कविहरूले आफ्नो ठेगाना खुलाई हालसालै खिचेको एकप्रति पासपोर्ट साइजको फोटो र सम्पर्क फोन/मोबाइल नम्बर अनिवार्य रूपमा स्पष्ट लेखी पठाउनुपर्नेछ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

प्रलेस मकवानपुरले “मार्क्सवादी सौन्दर्य चेतना” विमर्श गर्ने

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

१२ जेठ, हेटौँडा । नवसाहित्य अनलाइन । गणतन्त्र दिवसको सन्दर्भमा प्रलेस (प्रगतिशील लेखक सङ्घ) मकवानपुरले “मार्क्सवादी सौन्दर्य चेतना ” विषयक विमर्श कार्यक्रम गर्ने भएको छ ।

भोगेन्द्र लुइँटेलले कार्यपत्र प्रस्तुत गर्ने सो कार्यक्रममा पूर्व सभासद प्रल्हाद लामिछाने टिप्पणीकर्ता तथा केदार न्यौपाने प्रमुख अतिथि तथा वक्ता रहने अध्यक्ष विशाल अधिकारीले जानकारी दिनुभयो ।

साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा जेठ १६ गते बिहान ७:०० बजे आयोजना हुनेछ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

आँचल, मकवानपुरको कविता प्रतियोगितामा १० हजार राशिको प्रथम पुरस्कार

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

जेठ १२, हेटौँडा । नवसाहित्य अनलाइन । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा बृहत् साहित्यिक तथा साँस्कृतिक कार्यक्रम २०८२ हुने भएको छ । आँचलको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापनमा सो कार्यक्रम हुन लागेको हो ।

जेठ १७ गते शनिबार हुने सो कार्यक्रममा कविता प्रतियोगिता हुने आँचलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा ८ कक्षादेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीले मात्र भाग लिन पाउनेछन् भने एक विद्यालयबाट बढीमा दुई विद्यार्थीहरू सहभागी हुन पाउने अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो । बढीमा १५० शब्दसीमा तोकिएको कविता जुनसुकै विषयमा लेखिए पनि मौलिक हुनुपर्ने र कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित हुन नहुने उहाँको बताउनुभयो ।

प्रतियोगीले नेपाली भाषामा टाइप गरी वा हस्तलिखित रूपमा इमेल (sahityaaachal2069@gmail.com) मार्फत् जेठ १४ गते बुधबार साँझ ५ बजेसम्म कविता पठाउनु पर्नेछ । प्रतियोगिताका लागि उत्कृष्ट १० कविता छनोट गरी जेठ १५ गते बिहीबार सार्वजनिक गरिनेछ ।

छनोटपश्चात् प्रतियोगिताका लागि भने कवि स्वयम् उपस्थित भइ कविता वाचन गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार, ४ हजार पुरस्कार राशि तोकिएको छ भने सान्त्वना हुनेलाई १ हजार रुपैयाँ नगदसहित सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

मातृभूमिको साहित्य महोत्सवमा स्रस्टा सम्मान, परिचर्चा र काव्य वाचन हुने

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

जेठ १२, हेटौँडा । नवसाहित्य अनलाइन । मातृभूमि साहित्य समाज मकवानपुरले जेठ १५ गते गणतन्त्र दिवसको दिन ‘मातृभूमि साहित्य महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । हेटौंडा उपमहानगर पालिकाको प्रवर्धनमा आयोजित कार्यक्रममा स्रस्टा सम्मान, परिचर्चा तथा काव्य वाचन गरिनेछ ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोकले जानकारी दिएको छ ।
क) सम्मान: मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान २०८२
सम्मानित स्रष्टा: पत्रकार प्रताप विष्ट
सम्मान संस्थापक: मातृभूमि साहित्य समाज

ख) सम्मान: मायादेवी मातृभूमि पुरस्कार – २०८०
सम्मानित स्रष्टाः साहित्यकार गीता रेग्मी – काठमाडौँ
सम्मान संस्थापकः रुकु कार्की
पुरस्कार राशिः २१ हजार

ग) सम्मान-राजकुमार स्मृति मातृभूमि सम्मान२०८०
सम्मानित स्रष्टाः कवि चन्द्र गुरुङ, धरान
सम्मान संस्थापकः माननीय इन्द्रबहादुर बानियाँ
नगद राशि- १५ हजार

घ) सम्मान: क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८०
सम्मानित स्रष्टा: साहित्यकार माधव काफ्ले, रौतहट
सम्मान संस्थापक: माननीय इन्द्रबहादुर बानियाँ
ईन्द्रबहादुर बानियाँ नगद राशि: १५ हजार

ङ) सम्मान: होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान२०८१
सम्मानित स्रष्टा: कवि सुदेश सत्याल
सम्मान संस्थापक: हयग्रीव आचार्य
नगद राशि: १५ हजार

च) सम्मान:मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान-२०८१
सम्मानित स्रष्टा: रजनी ज्ञवाली (नर्सिङ सेवा)
सम्मान संस्थापक: वनमाली सुवेदी तथा कृष्णप्रसाद दाहाल नगद राशि: १५ हजार

छ) सम्मान: झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन सङ्घर्ष प्रोत्साहन वृत्ति -२०८०
कमला आधारभूत विद्यालय, हेटौँडा १८, कक्षा ८ को छात्र एवम् छात्रा ।
सम्मान संस्थापक: राजबाबु पहाडी
नगद राशि: ७ हजार ५ सय

साहित्य महोत्सवका केही सत्रहरूः
१. काव्य वाचन सत्र
कवि भूपिन, चन्द्र गुरूङ, राधिका कल्पित, सुरेन्द्र अस्तफल, सुदेश सत्यालका साथै गजलकारहरू पुष्प अधिकारी अञ्जली, उषा तिवारी र समिता पौडेल न्यौपाने र मुक्तककारद्वय हरिकृष्ण काफ्ले र बिर्खे अन्जानले काव्य वाचन सत्रमा रचना वाचन गर्नुहुनेछ ।

२. परिचर्चा कार्यक्रम
क.
“हाम्रो नगरः पर्या-पर्यटन र संस्कृतिमा समृद्ध सहर” विषयक परिचर्चा कार्यक्रम समेत रहनेछ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकी प्रमुख मीनाकुमारी लामाको अभिभावकत्वमा हुने र पर्यटन व्यवसायी भागिरथ खरेल, १० नं. वडाध्यक्ष फूर्वा दोर्जे लामा र हेउमनपाका उपनिर्देशक डा. भीमप्रसाद तिमल्सिना सहभागी रहने कार्यक्रमलाई साहित्यकार हयग्रीव आचार्यले सहजीकरण गर्नुहुनेछ ।
ख.
‘साहित्य सिर्जना संवाद र सञ्चार’ परिचर्चा कार्यक्रममा टिप्पणीकर्तात्रय प्रताप विष्ट, गणेश लाठ र शान्ति प्रियबन्दनाको सहभागितामा रामकुमार एलनले सहजीकरण गर्नुहुने
ग.
साझा सरोकार, प्रतिलिपि अधिकार विषयक परिचर्चा सत्रलाई अधिवक्तात्रय मदनकुमार दाहाल र अप्सरा बस्नेत टिप्पणीकर्ता रही विशभ अधिकारीले प्रस्तुति दिनुहुनेछ ।

३. परिसंवाद कार्यक्रम
कविहरू चन्द्र गुरूङ, भुपिन, राधिका कल्पित र सुदेश सत्याल सहभागी हुने ‘कविता, जीवन र समाज’ परिसंवाद कार्यक्रमलाई साहित्यकार निमेष निखिलले सहजीकरण गर्नुहुनेछ ।

हेउमनपा प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथि रहने उद्घाटन सत्र कार्यक्रम २०८२ जेठ १५ गते पल्पसा प्याराडाइस होम प्रा.ली. हेटौँडा-४ मा बिहान ८:३० मा हुने पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

साहित्य सङ्गम मकवानपुरद्वारा प्रदान गरिने विभिन्न सम्मानहरूबाट ८ जना स्रष्टाहरू सम्मानित

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

१० ज्येष्ठ, मकवानपुर । नवसाहित्य अनलाइन । साहित्य सङ्गम मकवानपुरद्वारा प्रदान गरिने विभिन्न सम्मानहरूबाट ८ जना स्रष्टाहरू सम्मानित गरिएको छ । ३५५औँ साहित्य सन्ध्या, सङ्गम स्रष्टा सम्मान, बहस तथा रचना वाचन गरिएको ‘सङ्गम साहित्य उत्सव २०८२’ को अवसरमा साहित्यकारहरू सम्मानित हुनु भएको हो ।
सम्मानित साहित्यकारहरू यसप्रकार रहनु भएको थियोः

कवि अभय श्रेष्ठ
साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०/२०८१
[पुरस्कार संस्थापकः साहित्य सङ्गम मकवानपुर, राशिः २५ हजार १]

हास्यव्यङ्ग्य सर्जक राजकुमार लामिछाने (सिस्नुपानी नेपालका निवर्तमान अध्यक्ष)
मकवानपुर साहित्यश्री सम्मान २०८१
[पुरस्कार संस्थापकः साहित्य सङ्गम मकवानपुर, राशिः १५ हजार ५ सय ५५]

कवि टिका आत्रेय
भेषनाथ अधिकारी स्मृति साहित्य सम्मान २०८१
[पुरस्कार संस्थापकः विशाल अधिकारी आशुतोष, राशिः १५ हजार ५ सय ५५]

पत्रकार/साहित्य सर्जक रामकुमार एलन
विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८१
[पुरस्कार संस्थापकः विनोद सुवेदी/सुनिता सुवेदी, राशिः ११ हजार १ सय]

कवि/गजलकार मसान उपासक
रामहरि देबु साहित्य सम्मान २०८१
[पुरस्कार संस्थापक ऋषि केबी/पुण्यशिला श्रेष्ठ, राशिः १० हजार]

कवि यश लामा
मुक्ति-तारा साहित्य सम्मान २०८१
[पुरस्कार संस्थापक: मुक्तिगोविन्द वैद्य/तारा वैद्य, राशिः १० हजार]

समीर पाख्रिन
दीपक मुडभरी स्मृति साहित्य सम्मान २०८१
[पुरस्कार संस्थापकः मुडभरी परिवार, राशिः १० हजार]

गजलकार/कविः बबी थापा
मङ्गलादेवी श्रेष्ठ स्मृति साहित्य सम्मान २०८१
राशिः १० हजार

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र सोही संस्थाका संस्थापक सदस्य केशव श्रेष्ठ ज्योतिको प्रमुख आतिथ्यका साथै वडा नम्बर ४ हेटौँडा उपमनपाका अध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा साहित्यकार निमेष निखिलको अभिभावकत्वमा, समीक्षक घनश्याम घिमिरे, कविद्वय टिका आचार्य र अभय श्रेष्ठसँग कविताकेन्द्रित बहस ‘कविताः युगको प्रतिविम्बन’ विषयक बहसलाई कवि शान्ति प्रियवन्दनाले सहजीकरण गर्नुभयो ।

नवसर्जक चौतारीका संस्थापक दीपक गौतमको अभिभावकत्वमा आयोजित नवपुस्ताकेन्द्रित ‘सिर्जनामा नयाँ पुस्ताः सपना र सम्भावना’ विषयक बहसमा नवसर्जक साहित्य चौतारीकी अध्यक्ष कृतिका लौडारी, शिक्षकद्वय संप्रस पौडेल र प्रतिभा डङ्गोलबिचको बहसलाई कवि छवि अनित्यले सहजीकरण गर्नुभयो ।

रजनी पौडेलले सहजीकरण गर्नु भएको कविता वाचनको सत्र ‘काव्यको सुगन्ध’ मा सल्लाहकार तुलसी घिमिरेको अभिभावकत्वमा २१ साहित्य सर्जकहरूले आफ्ना रचना सुनाउनुभयो ।

यस्तै सङ्गमका पदाधिकारीहरूको रचना वाचन कार्यक्रमलाई भने ‘सङ्गम अनुगुञ्जन’लाई स्वस्तिका बानियाँले सहजीकरण गर्नुभएको हो । सहभागी सम्पूर्ण सर्जकहरूलाई पुस्तक तथा प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले सङ्गमको अक्षयकोषमा सघाउ पुर्‍याउने हेतुले १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । हेटौँडा पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

ढुङ्गा : प्रकृतिको मौन गुरु/श्यामकुमार बानियाँ

नवसाहित्य डटकम

गन्तव्यमा पुग्न हतारिएको थिएँ, ठेस लाग्यो । रन्थनिएँ । दाहिने गोडाको बुढी औँलोमा नमिठो चोट लागेछ । नङ उप्किएछ, रगत बग्न थाल्यो । मज्जैले रिसाएँ ढुङ्गोसित । स्वतन्त्र हुने अभिलाषा लिएर जमिनमुनिबाट चियाउँदै गरेको ढुङ्गोलाई हर उपाय लगाएर उप्काएँ र गुल्टाइदिएँ भीरबाट । ठाउँकुठाउँ ठोक्किँदै खाँचमा पुगेर विश्राम लियो त्यसले । दुखाइ कम नभए पनि केही राहत महसुस गरेँ । आफैँसित मौन संवाद गर्दै बाटो लागेँ ।
घर पुगेँ । हातगोडा धोएँ, पल्टिएँ बिछौनामा । औँलो टन्किरहेकै छ टनकटनक । मभित्र उठेको आवेग नियन्त्रण नहुँदा जबर्जस्ती उप्काएर गुल्टाइदिँदा विविध आवाज दिँदै खोचमा विश्राम लिन पुगेको ढुङ्गो सम्झेँ । मनले हठात् प्रश्न गर्र्यो, धत् यसरी रिसाउनुहुन्छ ? निर्जीव वस्तुसित रिसाएर के पाइस् हँ ?
लजाएँ आफैँसित ।
हठात् बैठक कोठाबाट पूजाकोठातिर नजर पुगेछ । केही वर्षअघि तीर्थ जाँदा आमाले ल्याउनुभएको ढुङ्गो पूजाकोठामा विराजमान छ । जसलाई ईश्वर सम्झेर आमा दैनिक जल चढाउनुहुन्छ, पूजा गर्नुहुन्छ । मैले थाहा पाएदेखि तामाको थालीमा विराजमान तीन थान काला ढुङ्गालाई पूजा गरिरहेकै छु, पुकारी रहेकै छु, शालिग्रामको नामले । आँखा खुलेझैँ लाग्छ । आफू हिँड्न नजान्ने दोषचाहिँ ढुङ्गोलाई दिने ¤ लज्जानुभव हुन्छ । मनमनै आफैँलाई प्रश्न गर्छु, मूर्ख, किन रिसाइस् हँ यति मूल्यवान् वस्तुसित ?
घोत्लिन्छु, ढुङ्गाकृतिहरू रैमट्ट आउँछन् मस्तिष्कभरि । जीवनमा नभई नहुने, सभ्यता, संस्कृति र इतिहाससँग बर्सौदेखि अन्योन्याश्रित सम्बन्ध स्थापित प्राकृतिक संरचना पो हो त यो । हेर्दा साधारण, स्थिर र निर्जीव वस्तु तर मानवका लागि बहुमल्य सम्पत्ति पो हो त यो । ममा जीवनका विविध आयामहरूसँग जोडिएको ढुङ्गाको इतिहास, प्रयोग र महŒवका बारेमा कुतूहलले डेरा जमाउँछ । ढुङ्गो नटुसाए पनि मनमा ढुङ्गोप्रतिको आकर्षणको बिज अङ्कुराउन थाल्छ ।
शिवलिङ्ग र शालिग्राम रूपधारी ढुङ्गाले साउती मार्दै भनेजस्तो लाग्छ, “म पृथ्वीको निर्माणसँगै उत्पन्न भएको पदार्थ हुँ । खनिजयुक्त संरचना हुँ । मैले पृथ्वीको सतहलाई मजबुत बनाएर राखेको छु । ज्वालामुखी विस्फोट, चट्टानहरूका तुक्रा र विविध खनिजको मिलनपछि म जन्मेको हुँ । चाहे ग्रेनाइट भन चाहे स्यान्डस्टोन, चाहे लाइमस्टोन नामले पुकार, चाहे स्लेट ती सबै सबै म नै हुँ । तिम्रो महलमा बिछ्याइएको मार्बल नामक जिनिस पनि म नै हुँ ।”
अहो, कति धेरै रूप रूपअनुसारका विशेषता मानव सभ्यतासँग गासिएको फरकफरक कालखण्डमा भिन्न–भिन्न उपयोग भिन्न भिन्न योगदान  म ढुङ्गोप्रति नतमस्तक हुन्छु ।
सम्झन्छु, जाबो ढुङ्गोको यत्रो महिमागान किन? लाग्छ, मानव सभ्यताको प्रारम्भिक चरणदेखि पाइलापाइलामा उपयोग हुँदै आएको यसको महत्त्व साँच्चै असामान्य छ । आदिम युगमा मानिसले यसैलाई हतियार बनाए, औजार बनाए । घर बनाउने सामग्री यही बन्यो । ढुङ्गाको प्रयोगले नै युग ढुङ्गेयुग कहलिन पुग्यो । ढुङ्गाबाट बनाइएका हतियारले मानिसलाई शिकार गर्न मात्र सहज बनाएन, खेतीपाती सुरुवात गर्न र जङ्गली जनावरहरूबाट जोगाउन मद्दत गरेको कहाँ भुल्न पाइन्छ र ?
ढुङ्गाको नाता सांस्कृतिक, धार्मिक, र ऐतिहासिक सम्पदासँग छ । नेपाली वास्तुकलाको अनुपम सौन्दर्य र प्राचीन सभ्यता यसकै जगमा खिल्खिलाएको छ । मन्दिरमा पुजिएको र घरको जगमा दबिएको ढुङ्गाको भाषा पटकपटक सुन्ने यत्न गरेको छु । तिनले भनेझैँ लाग्छ, “प्राचीन सभ्यताहरूमा मैले सांस्कृतिक र धार्मिक महत्त्व राखेँ । स्वयम्भूनाथ, पशुपतिनाथ मन्दिर परिसर र तीर्थालुका लागि बनाइएको घाट, पाटन, भक्तपुर र काठमाडौँ दरबार स्क्वायर कहाँ छैन र म चाँगुनारायण, मनकामना मन्दिर एवं विभिन्न स्थानमा राखिएको शिलालेख, रानीपोखरीको बिचमा रहेको मन्दिरसँगै वरपरका संरचना, सिद्ध गुफा, गोरखनाथ गुफा र यसको प्रवेशद्वार लगायतका स्थानमा मेरा रूप तपाइँहरूले नियाल्नु भएकै होला । नेपालको ताजमहल मानिने पाल्पाको रानीमहल कलाको उत्कृष्ट नमुना थिएँ, हुँ र रहिरहनेछु । मिश्र्रको पिरामिड, भारतको अजन्ता–एलोरा गुफा र मेसोपोटामियाका मन्दिरहरू सबै मैबाट निर्मित छन् । के तिमी गुप्तेश्वर, महेन्द्र गुफा र चमेरे गफा पुगेका छौ ? माथिका कयौँ संरचनाहरूले ममा कलात्मक र वास्तुशिल्पको महत्त्वलाई प्रमाणित गर्दैनन् र ? ती संरचनाले तिम्रा भावना, श्रद्धा, र कलाको प्रदर्शन गरिरहैकै छन् नि, होइन र ?”
सम्झन्छु, बारी र खेतका कान्ला पानीसँगै बग्दा टाढाटाढाबाट ढुङ्गा सङ्कलन गरी बाले ठड्याउनु भएको पर्खालहरू साना हातले आफ्नो बर्कतले भ्याएसम्मका ढुङ्गा बटुलेर मैले बालाई सहयोग गरेका दिनहरू घर, सडक र पुल, निर्माणमा ढुङ्गासँग ज्यामीले पसिना सिञ्चन गरेको यिनै आँखाहरूले देखेका छन् । पुलकित हुँदै आफैँसितै बात मार्छु, मजबुती र दीर्घकालीन गुणले मानवलाई सुरक्षित र दिगो संरचना निर्माण गर्न सघाउने तिम्रो महिमागान गाएर थाकेको दिन तिमीलाई नै सिरानी हालेर निदाउने छु म, फेरि कहिल्यै नब्युँझने गरी ।
अँ, साँच्ची झन्डै भुलेको यिनले खेतीपातीका लागि सिंचाइ प्रणालीमा मदत गरेको कुरा । त्यस्तै, मान्छेले मूर्तिकला र सजावटमा आफ्नो सिर्जनशीलताको अद्भुत नमूना प्रस्तुत गर्दा यसले सहेका छिनाहम्मर र घनको प्रहारको पीडा कहाँ वर्णन गर्न सकिन्छ र ?
मन्दिर र देवालयमा पुग्दा म घन्टौँ यिनी कला कुँदिएका प्रस्तरसँग बात मार्ने गर्छु । तिनीहरूको आवाज सुन्ने प्रयत्न गरिरहेको हुन्छु । प्रस्तरहरू भन्छन्, -सनातन धर्ममा आस्था राख्नेहरू शिवलिङ्ग बनाएर पुज्छन् । कालीगण्डकीको बगरबाट उठाएर मन्दिरमा सजाउँछन् र शालिग्रामको नाममा पुजिन्छु । बौद्ध धर्मका स्तूप र गुम्बाहरू निर्माणमा म नै प्रयोग हुन्छु । मस्जिद निर्माणमा प्रयोग म नै भएको छु । इसाईधर्मालम्बीहरू ममा ईश्वरको रूप जिसस देख्छन् । म कहाँ छैन, ध्यानमग्न भएर मनन गर त -म यत्रतत्र सर्वत्र छु, रहिरहनेछु युगयुगसम्म
उत्तरतर्फ अग्लिएको हिमशृङ्खलाहरूले भनिरहेझैँ लाग्छ, “म ढुङ्गाको आयाम हुँ, सौन्दर्य हुँ । सांस्कृतिक र धार्मिक पहिचान हुँ अनि पहाडी बस्तीमा असरल्ल छरिएर रहेका घरहरू पर्यटक लोभ्याउने आकर्षण हुँ । स्थानीय जीवनशैली हुँ ।”
गोपाल योञ्जनको ‘बनेको छ पहराले यो छाती मेरो’ गीत गुन्गुनाउँदै नदी र झर्ना खसिरहेका दृश्यमा लीन हुँदै गर्दा चट्टानले मलाई भनिरहेझैँ लाग्छ, म स्थिरता, मजबुती र धैर्य हुँ । मलाई हेर र जीवनका कठिनाइहरूलाई पार गर्ने साहस र आत्मबल बढाऊ । हरिभक्तले किन लेखे कुन्नि -मन त ढुङ्गाकै भए हुन्थ्यो अटल, अडिग र दृढ व्यक्तित्वलाई प्रशंसा गर्दै केही मान्छे भन्छन् ढुङ्गामा गाडेको खाँबो, हेय दृष्टि राख्नेहरू भन्छन्, के दुःख बिसाउनु ढुङ्गाजस्तो मुटु भएको जाबो म उखान र तुक्काहरूमा कतै मानवीय दृढता त कतै दयाहीनहरूको पर्याय बनेको छु भने कविताहरूमा कहिलेकाहीँ कठोरता र भावनाहीनताको प्रतीक भएको छु ।
वातावरणीय सन्तुलन कायम गर्न ढुङ्गाले खेलेको भूमिकालाई नकार्न सकिन्न । मैले यही ढुङ्गा कहिले जुत्ता पुछ्ने साधन बन्नुपर्दा विरक्तिएको अनुभूत गरेको छु कहिले धूप, दीप र नैवेद्य ग्रहण गर्न तम्तयार देवदेवीको प्रतिरूप देखेको छु । कहिले उकाली ओरालीहरूमा चौतारीमा थकान मार्ने बिसौनी बनेर बटुवा पर्खिरहेको भेटेको छु । कहिले पहाड र चट्टान बनेर बाढी र भूक्षय नियन्त्रण गर्न रक्षाकवच बनिदिएको देखेको छु । अधिक उत्खनन् र प्रयोगले समस्याको कारक बनेको देखेको छु । खानीहरूबाट निकालिँदा कमजोर जमिनले मानिसलाई चुनौतीको पहाड थपिदिएको देखेको छु ।
ठेस लाग्दा रुने मान्छे म, दुस्मन सम्झेर भीरबाट गुल्टाएर खुसी हुने मान्छे म एकाएक मलाई ढुङ्गा गुरु लाग्न थाल्छ । यसको स्थिरताबाट कठिन परिस्थितिमा पनि अडिग रहन प्रेरणा मिल्छ मलाई । समयसँगै कठोर बन्न र सहनशील बन्न प्रेरित गरिरहन्छ मलाई । हाम्रो जीवन र सभ्यताको आधार प्रकृतिबाट प्राप्त यो अनमोल उपहार संरक्षण र सम्मान गर्ने रहरको सगरमाथा एकाएक अग्लिएको छ ।

Shyamkumarbaniya@gmail.com

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

हेटौँडामा जनगायक जीवन शर्मा सम्मानित हुने

संप्रस पौडेल

कवि/गजलकार/मुक्तककार/नियात्राकार

१३ वैशाख २०८२ । नवसाहित्य अनलाइन । जनता अनि राष्ट्रको गीत गाए परिवेशबाट माथि उठ्न अनि परिवर्तनतर्फ अग्रसर हुन आग्रह गर्ने जनगायक जीवन शर्मा हेटौँडामा सम्मानित हुँदै हुनुहुन्छ। शर्मालाई श्यामप्रसाद शर्मा प्रतिष्ठान मकवानपुरले सम्मान गर्न लागेको हो ।

श्याम प्रसाद स्मृति सम्मान-२०८२ समर्पण गरिने कार्यक्रममा शर्माका एकल गायन प्रस्तुति रहने संस्थाका सचिव सुवास खनालले बताउनु भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्य रहने सो कार्यक्रम हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको प्रवर्द्वन तथा मकवानपुर जिल्लाको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम, मकवानपुरको आयोजनामा हुने ४ नम्बर वडाका अध्ययक्ष नवीन सिग्देलले जानकारी गराउनु भयो ।

सिमली छायाँमा बसी, झरनाको चिसो पानी, रातो लालटिन, सागर भेट्न जाँदैछ नदी, सुकेर जाँदैन रोकेर रोकिँदैन, जस्ता चर्चित गीतहरूमा स्वर दिनु भएका शर्माका गीतहरू यसअघि प्रलेस मकवानपुरले समेत हेटौँडामा एक कार्यक्रमबिच प्रस्तुत गराएको थियो । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालको संस्थापक शर्माको स्मृतिमा स्थापित श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान, का अध्यक्ष सूर्यचन्द्र न्यौपाने हुनुहन्छ ।

दर्शनशास्त्र र राजनीतिशास्त्रमा स्नातक गर्नु भएका शर्माले अङ्ग्रेजी र मानवशास्त्रमा स्नात्तकोत्तर पूरा गर्नु भएको छ भने जनताका गीत गाउँदै हिँड्ने उहाँलाई सर्वहारा गायकको परिचय समेत प्राप्त छ । उहाँका १ हजारभन्दा बढी गीत रेकर्ड छन् भने झण्डै ३ दशक रक्तिम समूहमा आबद्ध भइ जनतामाझ चेतना बाँड्ने अभियानमा गीतसङ्गीतलाई माध्यम बनाइ हिँड्ने उहाँले हालसालै रक्तिम समूह त्याग गर्नुभएको छ ।

पूर्व शिक्षक शर्मा इन्जिनियरिङ पढाइलाई बिचैमा हापेर सङ्घर्षमा होमिएका सशक्त योद्धा मात्रै नभइ सादा जीवन र उच्च विचार बोकेर नेपालमा डाँडापाखादेखि लेकबेसी हुँदै युरोपका रङ्गीन मञ्चहरूमा पनि पुग्नुभएको छ ।

चार दशकभन्दा लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माको सो कार्यक्रम १९ बैशाखमा ओम्याक्स सिनेमा हलमा दिनको ४:०० बजे हुने र सहभागिताका लागि अनिवार्य प्रवेश पासको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

लागि
9865517000

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन