एउटा नीलो ट्रक गुड्दै आएर मिलान सहरको लोरेला चोकमा रोकियो । ट्रकबाट सर्वशक्तिमान तानाशाह मुसोलिनी सहितका १६ वटा लाशहरु झिकेर चोकमा मिल्काए । यो त्यही चोक थियो जहाँ ८ महिनाअघि उसले आफ्ना १५ जना विरोधीहरुको लाश यसैगरी मिल्काउन लगाएको थियो ।
हजारौं नागरिकहरू खुशी र उत्तेजनाले कराउँदै चोकमा उफ्रिरहेका थिए । एउटी महिलाले मृत मुसोलिनीको शवमा पिसाब फेरिदिई । एउटा पुरुषले मरेको मुसो ल्याएर शवको मुखमा हालिदिंदै भन्यो, “लौ भाषण दे, अब यो मुखबाट !”
असीम घृणाले बौलाएका थिए नागरिकहरु । उनीहरूले लाशलाई उँधोमुन्टो पारेर झुण्ड्याइदिए । मृत मुसोलिनीको अनुहार रगतले लतपतिएको थियो र आँखाको छेउमा गोली लागेको प्वाल देखिन्थ्यो । दोपहरको २ बजेतिर अमेरिकी सैनिकहरु आए, उनीहरूले लाशहरु उठाए अनि नजिकैको चिहानमा लगेर दफनाइदिए ।
मुसोलिनी फासीवादको जनक थियो । फासी अर्थात् फर्सा (बञ्चरो) प्राचीन रोमनको पवित्र हतियार थियो भने मुसोलिनीका दुईवटा शक्तिशाली हतियार थिए, कन्सेन्ट र फोर्स ।
कन्सेन्ट अर्थात् सहमति । भाषण सुनेर जनताले लिडरप्रति कन्सेन्ट दिन्छन् । देशभक्ति, राष्ट्रवाद, प्राचीन गौरवजस्ता भाषण सुनाएर पोलिटिकल लिडरले जनतालाई समाजमा एकअर्काप्रति घृणा, छिमेकी देशप्रति घृणा, कुनै खास तह र तप्काका मान्छेसँग घृणा, कुनै धर्म संस्कृतिप्रति घृणा गर्न सिकाउँछ ।
कालो धन थुपार्ने भ्रष्टहरु, नाफाखोरी गर्ने ब्यापारीहरु, काम ठग्ने मजदुरहरु, देशका बोझजस्ता कमजोर मान्छेहरू सबैसँग घृणा, चारैतिर घृणा ।
घृणा बढेर खपिनसक्नु बन्छ । जनताले घृणित पात्रलाई सजायको माग गर्न थाल्छन् । आफूले घृणा गर्ने मान्छेले पीडा पाउँदा मान्छे प्रसन्न हुन थाल्छ । यसरी घृणा र बदलाको भाव बढ्दै गएपछि फासिज्म मौलाउँछ । अन्धभक्तहरुको भीडको समर्थन पाएर फासीवाद अझ उग्र बन्छ । यसका समर्थक अझ बढ्दै जान थाल्छन् । समाजका हर तह र तप्कामा फासिस्टहरु हाबी हुन्छन् । त्यसपछि सुरु हुन्छ, फोर्स ।
फोर्सले विरोधी आबाज कुल्चन्छ । भाडाका गुण्डा र पुलिसको बर्बरता आरम्भ हुन्छ । समाजमा दुई थरी मान्छे मात्रै बाँकी रहन्छन्, आतंककारी र आतंकित ।
समयको साथसाथै आतंककारी र आतंकित फेरिन्छन् । हिंजो आतंकित हुने समूहको आज आतंककारी बन्छ । उसले पनि आफू शक्तिशाली बनेपछि फासीवाद नै अपनाउँछ । मुलुकमा चेन्ज केही हुँदैन केबल पालो फेरिन्छ । हिंजोको फासिस्टको अन्त्य हुन्छ र अर्को फासिस्टले शासन सत्ता हत्याउँछ ।
मुसोलिनीले २२ वर्ष राज गर्यो । सबैले उसको जयजयकार गर्थे । फासीवादको समर्थनमा थुप्रै बलिदान भए । यतिका वर्षसम्म जनताले गरेको कष्ट, त्याग, बलिदान आखिर यत्तिकै खेर गयो । जाति, धर्म र इतिहासको फोकटिया गौरबगाथाले बेकारमा पिंढीको नाश मात्रै गर्यो ।
सन् १९४८ मा इटलीमा चुनाव भयो । त्यसमा फासिस्ट पार्टीले केबल २% भोट पायो । पार्टी समाप्त भयो । त्यसका समर्थक र पदाधिकारी लुकेर बसे ।
इटलीमा फासिज्म समाप्त भए पनि संसारका कतिपय मुलुकमा आज पनि छ । फासिज्मको पिता मुसोलिनी मर्यो तर फासीवाद मरेको छैन ।
उसको कन्सेन्ट र फोर्स ज्युँदै छ ।
हाम्रो समाजमा हेरुँ, अझै पनि मानिसहरू भीडको समर्थन गर्दछन् । ट्रोल गर्ने प्रथा अझै बढिरहेको छ । समाजमा भाडाका गुण्डाको बिगबिगी छ । शक्तिशालीको अन्धभक्त बन्ने परम्पराले प्रस्रय पाएको छ ।
मान्छेको मनमा घृणाको रक्तबीज जिउँदै छ । मान्छेको घृणामा फासिज्म जिउँदै छ । हाम्रो समाज वरिपरिको घृणाले फासिज्म अझै संगठित हुन थालेको छ । यस्तो अवस्थामा फाइदा उठाउने फासीवादीहरु हाम्रो छेउमा, यहाँको मिडियामा, शासन सत्तामा जीवित छन् । इटलीमा मरे पनि हामीकहाँ मुसोलिनी जिउँदै छ ।
वत्सराज कोइराला, नवलपुर
श्रीराम पाण्डेको नवीन पुस्तक ‘बन्दीगृहमा समय’ बजारमा
कार्तिक १२ आइतबार,
मकवानपुर । लेखक श्रीराम पाण्डेको नवीन पुस्तक ‘बन्दीगृहमा समय’ बजारमा आइपुगेको छ । २०७१ सालमा लेखिएका कविताहरू सङ्ग्रहित यस यस पुस्तकमा कूल ४९ कविताहरू समावेश भएका छन् । रु. ३३३ मूल्य रहेको पुस्तक सुमित्रा पाण्डेद्वारा प्रकाशन गरिएको लेखकले जानकारी दिनु भएको छ ।
कविता, कथा, समीक्षा लेखनमा सक्रिय उहाँले लामो समय शिक्षण पेशामा बिताउनु भएको छ । यसअघि ‘मातृस्मरण’ (शोकस्मृतिकाव्य, २०७६) र ‘दोछायाँ’ (संस्मरणहरू, २०७८) पुस्तकहरू पाठकमाझ ल्याउनु भएको छ । पाठकको सहजताका लागि यस पुस्तक किताबघर, हेटौँडामा आइसकेको सञ्चालक छवि अनित्यले बताउनुभयो ।
पाण्डे तथा उहाँको रचना बारे साहित्य सर्जक पोल्लास सिन्धुलीय लेख्नुहुन्छ- ५ दशक साहित्यिक लेखनमा यथेष्ट श्रम-पसिना बगाउने कुनै अब्बल कोटिको स्रष्टाको साहित्यिक हैसियत यतिबेला के हुनुपर्ने हो ? बहुज्ञ सर्जक श्रीराम पाण्डेलाई नजिकबाट नियाल्ने हो भने यसको आमजबाफ बिलकुलै फरक देखा पर्छ । झारेझुरे नै लेखे पनि यति लामो समय निरन्तर साहित्यमा समर्पित जुनसुकै स्रष्टाको नाम सहजै वरिष्ठको हारमा देखिन्छ भने यो नाम किन सीमित घेराभित्र बन्दी हुँदै आयो ?”
सङ्गमको नियमित सन्ध्यामा ऋत्विक र समर्पणको संयुक्त कविता वाचन
कार्तिक ११ शनिबार,
मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३३६औं नियमित सन्ध्याका क्रममा २ स्रष्टाहरूका संयुक्त कविता वाचन गरिएको छ ।
नवसर्जकद्वय ऋत्विक केबी र समर्पण न्यौपानेले आफ्ना ३/३ कविताहरू वाचन गर्नुभएको कार्यक्रममा सङ्गम अध्यक्ष डिबी बर्तौलाको अध्यक्षता तथा सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
सल्लाहकारद्वय निमेष निखिल र श्यामकुमार बानिया अतिथी रहनु भएको कार्यक्रममा अनिल कोइराला, देवराज खरेल, जनार्दन खनाल, राजकुमार लामिछाने, भावना सापकोटा, ऋषि केबी, पूण्यशिला श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ, संप्रस पौडेल, मसान उपासक, हरि पौडेल, किशन पौडेल, गोकर्ण मुक्तान, ठाकुरराम भण्डारी, सर्जु भण्डारी आदि सर्जकहरूले गीत गायन, कविता, मुक्तक, लघुकथा लगायतका रचनाहरू समेत वाचन गर्नुभयो । सङ्गमको कार्यक्रममा वाचित रचनाहरूमाथि समीक्षा गर्ने परम्पराको निरन्तरतास्वरूप सङ्गमका सल्लाहकार तथा कार्यक्रमका समीक्षक सुवास खनालले समीक्षात्मक टिप्पणी गर्नु भयो ।
सल्लाहकारद्वय निमेष निखिल र श्यामकुमार बानियाँले मन्तव्य राख्नुभएको सो कार्यक्रममा साहित्य सर्जक तथा साहित्यप्रेमीहरू सानु खनाल, रजनी पौडेल, सुदर्शन ढकाल, उमा मैनाली, मुक्तिगोविन्द वैद्य, सानुभाइ विश्वकर्मा, छवि अनित्य, टिका अविरल आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष डिबी बर्तौलाले साहित्य सङ्गमले नवसर्जकहरूलाई साथसाथै लिएर गइरहेको तथा आउँदा दिनमा बुढ्यौली साहित्यकेन्द्रित कार्यक्रम समेत सञ्चालन गर्ने बताउनु भयो ।
साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा सञ्चालित कार्यक्रमलाई संप्रस पौडेलले स्वागत तथा सचिव मनोज पोखरेलले सञ्चालन गर्नु भएको हो ।
अलबिदा प्रचण्ड भाष्कर
युवा पुस्ताका कवि प्रचण्ड भाष्करको असामयिक निधन भएको छ । घाँटीको क्यान्सरसँग जुध्दै गरेका कञ्चनपुरका उदियमान कवि भाष्करले २९ वर्षको उमेरमा संसार त्याग गर्नु भएको हो ।
बैतडीमा जन्मिनु भएका उहाँले छोटा र शक्तिशाली कवितामार्फत् पहिचान बनाउनु भएको थियो । उहाँले दम्भको उचाईँ, नेपाली, जङ्गबहादुर, प्रे, शङ्का, चोर खल्ती लगायतका दर्जनौं फूटकर कविताहरू लेख्नु भएको छ । डोट्याली र नेपाली भाषाका साथसाथै हिन्दी भाषामा समेत कविता लेखन र वाचन गर्नुहुने उहाँको भीमदत्त नगरपालिका–१७ मझगाँउस्थित आफ्नै निवासमा घाँटीको क्यान्सरसँग जुध्दाजुध्दै शुक्रबार राती २:४० मा निधन भएको हो ।
नवसाहित्य डट कम परिवार मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजन, आफ्नाआफन्त र साहित्यप्रेमीहरूमा धैर्यधारणको कामना गर्दछौं ।
सम्झनामा उहाँका १३ शक्तिशाली कविताहरू प्रस्तुत गरेका छौं ।
१
उनी
°°°
व्याकरणले “उनी”लाई
कहिले आदर गर्यो
कहिले तृतीय पुरुषसँग जोड्यो
र दिँदै हिँड्यो सर्वनामको उपमा
प्रेममा परेर व्याकरण बिर्सेको “मैले”
“उनी”लाई सदैव विशेषणको रूपमा मात्र देखेँ ।
२
चुनाव
°°°
मान्छे घर,जग्गा बेच्दा
बडो सचेत भएर लगाउँछ
कागजातमा दायाँ बायाँ औँठाछाप
तर, उही मान्छे दायाँ बायाँ केही नसोची
बेचिदिन्छ एउटै औँठोमा आफ्नो स्वतन्त्रता ।
३
परिस्थिति
°°°
बेला बेला
बुवाले नै किनिदिनु हुन्छ
छोराको लागि जुत्ता र चप्पल
एउटा कारण यो पनि प्रचण्ड भाष्कर
छोरा आफ्नो खुट्टामा उभिन नसक्नुको ।
४
प्राथमिकता
°°°
डाँफेको खोजीमा
निस्केको हिमाल
अल्झियो सरकारको नृत्यमा !
५
नियत
°°°
बाँध्न छोडेर
देशको घाउमा पट्टी
सरकार बाँधीरहेछ
पट्टी देशको आँखामा !
६
गल्ती
°°°
हिजो सम्म त्यागेर गुलियो
जो बाँचिरहेथ्यो मधुमेहबाट
त्यही मान्छे मरिरहेछ आज
चाखेर नेताको मिठो जिब्रो !
७
जिज्ञासा
°°°
सरकारसँग छैनन्
जनताका प्रश्नका उत्तरहरू
जनतासँग छैनन्
सरकारका उत्तरका प्रश्नहरू
मेरो देश अब कसरी उत्तीर्ण होला ?!
८
प्रवृति
°°°
हिजो जसले बेचे
मदिराको लागि बुढी औँला
तिनी आज लेखिरहेछन्
बचेका औँलाले दानापानी ।
९
परिस्थिति
°°°
बेला बेला
बुवाले नै किनिदिनु हुन्छ
छोराको लागि जुत्ता र चप्पल
एउटा कारण यो पनि हो
छोरा आफ्नो खुट्टामा उभिन नसक्नुको ।
१०
शङ्का
°°°
कतै नभएर पनि
हुनु भन्दा
खतरनाक हुँदोरहेछ
कतै भएर पनि नहुनु
यतिबेला म खतरामा छु ।
११
गुनासो
°°°
एउटा छोरो जो कहिल्यै
शहरबाट गाउँ फर्केन
एउटा छोरो जो कहिल्यै
गाउँबाट शहर छिरेन
खै किन हो बुवा दुवैसँग रिसाएका छन् ?!
१२
जिम्मेवारी
°°°
बुवाले सिकाइरहे
व्रतको महत्व
आमाले सिकाइरहनुभयो
खानाको माहात्म्य ।
१३
डर
°°°
निषेध गरेको छु
आफूलाई
मायाको जङ्गलमा पस्न
आफ्नो जलिरहेको हृदय बोकेर ।
°°°
कविता : दशै र सहरको सन्नाटा / बैकुण्ठ लामिछाने
गाउँ फर्किदै गरेका गाउलेहरु
घिसार्दै शहर डोहोर्याइएका खसिबोकाहरु
कतै काखिमा च्यापेर
त
कतै प्लास्टिकको सानो प्वालबाट स्वास फेर्दै
दङग खुट्टा बाधियर शहर घुम्न निकालियका कुखुराहरु
आलिमा भरखरै फुल्न शुरु गरेका सयपत्रीहरु
लिङे पिङमा रमाइरहेका केटाकेटिहरु
गफिदै गरेका पुराना दौतरीहरु
घट्टमा पिसिदै गरेको मोटा चामलको पिठोको बास्ना
स्कुल बिदामा मधेस घर निस्किदै गरेका शिक्षकहरु
मामाघरको गफ गरिरहेकाबएक हुल केटाकेटिहरु
गाउको चौतारोमा कोचाकोच मान्छे ओसारिरहेको
एतिहासिक बस
थुम्कोमा बिहान सखारै बज्न थालेको मङल धुन
येत्ती देखियपछी
दशै सङ्घारमा गाउँ पसिसक्यो बुझ्नुहोला ।
हतारको कारखानाबाट
हुलकाहुल मान्छेहरु
पोका पुन्तुरा बोकेर
बस स्टेशन हानियका छन
सुमो काउन्टर तिर दौडिइरहेका छन
शहरका पाहुनाहरु
आफुलाइ हतारमा गाउको ठेगानामा डेलिभरी गराइरहेछन ।
बिस्तारै शहर गयको छ रित्तिदै
नशामा पियको छ सन्नाटा
सेलाउदै गयको छ कोलाहाल
कोखामा कुन्डल भिरेर बसेको छन ढोकाहरु
अब शहरले बुझ्नुपर्छ
पर्खाइको बिकल्प छैन
टिकटकमा रमाइरहेको गाउँ बेसि
बारिको पाटो, अम्बाको बुटो
उन्माद नाचिरहेको लिङेपिङ
प्रफुल्ल मनहरु, लहलह झुलेको धानको साम्राज्य
दशैको ह्याप्पी बड्डे भनिरहेकी बुडिमाउ
यी सब हेरेरै
शहरले
केही समय अनिवार्य पर्खनै पर्छ
बुझ्नै पर्छ फेरि गाउमा सन्नाटा नरोपे सम्म
शहरमा कोलाहाल जन्मिदैन
यो पर्खाइको फुर्सतमा शहरले सोचोस
मेरो सबथोक येहि छ भन्नेहरु
जिन्दगिनै मलाइ सुम्पनेहरु पनि किन हतारमा गाउँ पसिरहेछन ??









