जेठ ३०, बुधबार
नवसाहित्य अनलाइन । पूर्वमन्त्री प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट सम्मानित हुनुहुने भएको छ । साहित्य सङ्गम मकवानपुरद्वारा प्रत्येक वर्ष हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको सहयोगमा प्रदान गर्ने गरिएको छ ।
नेपाली राजनीति, पत्रकारिता र साहित्यमा सक्रिय स्वर्गीय श्यामप्रसाद शर्मा ललितपुर जिल्लाको सोलिथुम (हाल मकवानपुर) मा १९८६ असार ६ मा जन्मिनु भएको थियो। प्रगतिशील साहित्य लेखनमा स्थापित उहाँको नाममा सम्मान समर्पण यसअघि रु. १५ हजार राशिको रहेकोमा यसै वर्षदेखि २५ हजार राशि पुर्याइएको छ ।
२०२४ सालदेखि २०४६ सम्म भूमिगत जीवन बिताउनु भएको शर्माले ‘सेवा’ मासिक, ‘स्वास्नी मान्छे’, ‘साहित्य सेवा सदन’ पत्रिकाको सम्पादन तथा प्रकाशन गर्नु भएको थियो । मुक्ति पुरस्कार (२०५०) र महेन्द्र प्रज्ञा पुरस्कार (२०५०) लगायत सम्मानद्वारा द्वारा सम्मानित उहाँका निबन्धात्मक कृतिहरू “बहिनीलाई चिठ्ठी १-२ (२००८/२०१२)”, “तँ, तिमी, तपाईँ, हजुर (२०१४)”, “मेरीआमा (२०२३)”, “थुनुवाको डायरी (२०३८)”, “केही साहित्यकार र साहित्य (२०४२)” प्रकाशन भएका छन् । आत्मपरक, प्रयोगवादी तथा राष्ट्रवादी भावनाका सिर्जनामार्फत चिनिनु भएका शर्माको निधन २०७४ साल बैशाख २४ मा काठमाडौँमा भएको उहाँका म “साम्यवादी होइन (२०४०)”, “आएका केही चिठी (२०५५)”, “मेरो पत्रकार जीवन (२०६३)” लगायत कृतिहरू समेत प्रकाशन भएका थिए ।
२००४ सालमा प्रजा आन्दोलनमा सहभागी भएकामा विद्यालयमा पुनः अध्ययन गर्न नपाउँदा औपचारिक रूपमा कक्षा १० सम्मको स्कुले शिक्षा प्राप्त गर्नु भएका शर्माले वीरगञ्जमा प्रगतिशील लेखक संघको स्थापना गरेर अध्यक्ष हुनु भएको हो ।
शर्माका नाममा सम्मानित हुनुहुने स्रष्टा ज्ञवालीका एकल कविता वाचनका साथै रचित गीत कलाकार आशाकाजी श्रेष्ठ र गायक/मुक्तककार अजर फुयाँलद्वारा गायन हुनेछ । यस्तै साहित्य सङ्गम मकवानपुरका सल्लाहकारद्वय निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविताहरू वाचन गर्नुहुनेछ भने सल्लाहकार श्यामकुमार बानियाँ, कवि/गायकद्वय पुरूषोत्तम आचार्य र हरि पौड्यालको विविध साङ्गीतिक प्रस्तुति रहने कार्यक्रमबिच सो सम्मान समर्पण गरिने सङ्गमका सचिव मनोज पोखरेलले जानकारी दिनु भएको छ ।
साहित्य सङ्गमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्धनमा यही असार ७ गते ओम्याक्स सिनेमा, हेटौँडामा आयोजना हुने सो कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि समीक्षक घनश्याम घिमिरेद्वारा समीक्षा समेत हुनेछ सङ्गमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनु भएको छ ।