Home Blog Page 32

कविता : कहाँसम्म पुगौँ ? -देवकी तिमल्सिना

गहिरो घाउ बोकेर
यो मरेको शहरमा
परिक्रमा गरिरहेको छु
भोक मेटाउने औषधिको खोजीमा
अलिकति आशा बोकेर ।
दैनिकीलाई एटीएम कार्ड बनाएर
हावाहुरीले फालेको कसिङ्गर भएर
पत्थरको मन बनाएर
जीवन रुपान्तरणको–अभियानमा ।

हरेक सम्बन्धबाट टाढा हुनु भनेको
झन् नजिक र बिर्सन नसकिने हुनु हो
जिन्दगीको सुरुवात हरेकपल भइरहनु हो ।
कल्पनाको जीवन र,
यथार्थको जीवन फरक हुने रहेछ
काखीमा तन्नेरी सपना च्यापेर
उदास मनको भङ्गालाहरूमा
छट्पटाइरहेका छन् साँझविहानका
भात पकाउने ताउलाहरू !
तिमी भन
भरोसाको पोथ्राहरूमा अल्झिरहेको
यो उमेरको मखमली–समय र सम्झना
मनको आँखीझ्यालबाट
सपनाको रङ फेर्दे–आस्था र निष्ठाको लागि
म अब कहाँसम्म पुगौँ ?

             –सर्केगार्ड ८, हुम्ला

विश्वमा एनिमेसनदेखि नेपाली एनिमेसन चलचित्र सलीना अनि एआइसम्मका कुरा ।

१४ चैत्र, मकवानपुर / –नवसाहित्य अनलाइन । 

एनिमेसन प्रयोग भएको पहिलो नेपाली चलचित्र सलीना

नेपालकै पहिलो एनिमेसन फिल्म ‘सलीना’ को टिजर सार्वजनिक भएको छ । टिजरको सुरूमा “एकादेशमा धेरै समयअगाडि एउटी राक्षसकी रानी थिई….” भनिएको छ । यसबाट के अनुमान गर्न सकिन्छ भने, १९९० को दशकमा भूत, राक्षस, भेम्पायर आदिका रूपमा अनेकन पात्रहरूको प्रयोग भएका हलिउड र तत्पश्चात्का बलिउड चलचित्रको प्रभाव नेपाली चलचित्रमा भर्खरै भित्रिएको पो हो कि ? ‘सलीना’ चलचित्रका केही जानकारीका साथै संसारमा एनिमेसनका रामकहानी आज प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

०००

एनिमेसनका इतिहास

जेनेसिस, भूडू, डीपडब, मार्ज आदिले पूर्णतया ‘एआइ’ मोडल, पात्र तथा विषयवस्तुहरू तयार गरी चलचित्रमा उतार्ने प्रयास गरिरहेका छन् ।

एआइको विषय थाति राखेर एनिमेसनको इतिहासकै कुरा गर्दा भने १८३२ देखि बहुचित्रहरूलाई चलायमान गराएर-Sequence movement को विकास भएको मानिन्छ ।

 

यस्तै सन् १९०६ मा पहिलो पटक J. Stuart Blackton द्वारा कालोपाटीमा चकले चित्र बनाएर आँखा तथा आँखिभुइँ हल्लाएर एनिमेसन (म्यानुअल) सुरू भएको थियो । १९०८ मा Humpty Dumpty Circus ले यसलाई केही परिवर्तन गरिदियो ।

 

सन् १९२३ मा टेलिभिजनको आविष्कार भई १९२८ मा लन्डन र न्युयोर्कबीचमा टेलिभिजनका सिग्नलहरू आदानप्रदान भएपछि टेलिभिजनका प्रोग्रामका साथसाथै कार्टुन भिडियोहरूले व्यापकता पाउन थालेको हो । त्यही समयमा नेपालमा चन्द्र शमशेर प्रधानमन्त्री थिए भने उनले संसारमा झन्डै ३० वर्षअघि बनेको रेडियो प्रयोग गरे र रेडियो प्रयोग गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका नाममा इतिहासमा नाम लेखाए ।

 

फेब्रुअरी १०, १९४० मा Warner Bros. को लगानीमा William Hanna र Josheph Barbera द्वारा तयार गरिएको टम एन्ड जेरीको पहिलो कार्टुन (टमको नाम जस्पर) र मेरीबीचको प्लेट र गिलास फुटाउने कार्टुन भिडियोलाई एनिमेसनको कोशेढुङ्गा मानिन्छ । यो कार्टुन श्रृङ्खला हालसम्म निर्माण र सञ्चालनमा रहेको छ ।

 

१९७५ मा George Lucas ले विशेष प्रकाशको माध्यमले विभिन्न असर (effects) हरूद्वारा भिडियोलाई प्रभावित बनाए भने १९७६ मा Westworld चलचित्रमा पहिलो पटक कम्प्युटर एनिमेसन भएको पाइन्छ । विण्डोज सफ्टवेयरको सुरुवातीदेखि नै चित्रात्मक रूपमा प्रयोग हुने 3D Wire-frame animation त कम्प्युटर प्रयोगकर्ताहरूले अहिले पनि प्रयोग गरी नै रहेका छन् । यसको विकास पनि आजभन्दा ५१ वर्षअघि नै भएको थियो ।

सन् १९९५ को Pixar द्वारा निर्मित Toy Story पहिलो पूरा लम्बाईको कम्प्युटर एनिमेटेड चलचित्र हो । जसलाई George Lucas ले बनाएका थिए भने पछि उनले एप्पलका सहसंस्थापक स्टिभ जब्सलाई बेचिदिए भने सोपश्चात् डिस्नेले यसलाई किनेको हो ।

 

एनिमेसनको वर्तमान अवस्था

एनिमेसन भिडियोको दुनियाँमा वाल्ड डिस्नेलाई बिर्सनै सकिँदैन । वाल्ट डिज्नेको कार्टुनले एनिमेसनलाई निकै चर्चामा पुर्‍याएको थियो । सन् १९२३ मा स्थापना भएको वाल्ड डिस्ने कम्पनी हालसम्म सक्रिय सञ्चालनमा रहेको सबैभन्दा पूरानो एनिमेसन कम्पनी हो । यसरी सुरू भएको एनिमेसन, कम्प्युर हार्डवेयर र सफ्टवेयरका प्रविधिमा भएको चरम विकाससँगै सन् २००४ मा The Polar Express सम्म र अझ २००९ मा अवटार चलचित्रको निर्माणसम्म आइपुग्दा भने यसको विकासले आकाश छोएको पाइन्छ । इतिहासमा केही चित्रहरूको चाल, आवाजविहीन (silent feature) भिडियो हुँदै आवाज र रङहरूको संयोजन गरेर वास्तविक रुपजस्तै उत्पादनका रूपमा आज 3D, 4D, CGI (Computer Generated Imagery), AR (Augmented Reality), VR (Virtual reality), AI (Artificial Intelligence) सम्मको प्रयोगको मध्य समय रहेको छ ।

०००

हामी कहाँ छौँ ?

फेरि ‘सलीना’ कै कुरा । ‘सलीना’ को भिडियोमा कम्प्युटर प्रोग्रामको मद्दतले एनिमेसन गरिएका पात्रहरू रहेका छन् । तेजसराज जोशीद्वारा निर्देशन गरिएको यस चलचित्रलाई उनका साथै श्रुती श्रेष्ठले उत्पादन गरेका हुन् भने शिव पुरी र श्रुती श्रेष्ठ यसका सम्पादक रहेका छन् ।

 

नेपालमा पहिलो एनिमेसन चलचित्र प्रदर्शनको तयारी हुँदै गर्दा साइबर उद्योगमा एआइको व्यापकता बढिरहेको तथ्य लुकाएर लुक्दैन । यतिखेर चलचित्रमा पनि एआइ मोडल, अन्य पात्रहरू, एआइ जेनेरेटेड स्क्रिप्ट, अडियो र भिडियो निर्माणको बाढी नै आइसकेको छ । संसारभर एआइले मानव श्रमको अवमूल्यन भइरहेको र यसले भविष्यमा बेरोजगारीको ठूलो सङ्कटसम्म बेहोर्न सक्ने सम्भावनाबारे बहस भइरहेका छन् ।

 

त्यसो त एआइद्वारा तयार गरिएको पहिलो नेपाली मोडल आभा हुन् जसलाई नारायण श्रेष्ठले तयार गरेका हुन् । संसारका अधिकांश आइटी कम्पनीहरू एआइतर्फ आकर्षित भइरहेको समयमा नेपाली चलचित्र उद्योगले पनि यसलाई पछ्याउने सम्भावना रहन सक्छ । भविष्यमा एआइ पात्रहरू अभिनित नेपाली चलचित्रहरू पनि बन्लान् । यता केही नेपाली चलचित्रहरूमा केही अंशमा एनिमेसनको प्रयोग यसभन्दा धेरै अघिदेखि हुँदै आएको भएतापनि पूर्णत एनिमेसन प्रयोग गरिएको छ । जहाँ एक भीमकाय जनावरसँगको लडाइँ प्रस्तुत गरिएको यस चलचित्रमा योद्धा राजकुमारीलाई मूख्य पात्र बनाइएको छ । फिल्ममा राक्षस्नी, कार्टुन, सुहानालगायतका पात्रहरू समावेश छन् ।

 

१२ चैत्रमा ओयसआर डिजिटलद्वारा सार्वजनिक केही भिडियोहरूमा विदेशी एनिमेसन चलचित्रमा देखाइने ड्रागनजस्ता जीवले एक जोडी युवालाई लखेटिरहेको देख्न पाइन्छ भने भीमकाय चमेरा जस्ता जीवले समेत पछ्याइरहेको देखाइएको छ । भिडियोमा ड्रागन बनेको, नक्सा भेटिएको, अरूको शक्ती प्रयोग गरिएको जस्ता वाक्य र दृष्यहरू हेर्न पाइन्छन् ।

 

सार्वजनिक टिजरमा आफूलाई बानर राजका रूपमा चिनाउने पात्रदेखि नेपाली पोसाकमा सुशिल नेपाल बताउने पात्रसम्म अनि मठमन्दिरहरू, हिमाल, पहाड, जीवित देवी कुमारी, सङ्कटका लागि हतियारको सीप सिकाइ आदि प्रदर्शन गरिएको छ । यस्तै भिडियोमा देवादिदेव महादेवको कृपाले राज्यमा राजकुमारी जन्मिएको तथा भविष्यवाणी पूरा भएका कुराहरू छन् । जहाँ भनिएको छ “उनी एक महान र बहादुर राजकुमारी हुनेछे ।” साथै धर्तीमा सङ्कट आउँदा जोगाउने विषय उल्लेखित छन् । टिजरको अघिल्लो भिडियो युट्युबमा झन्डै १ लाख पटक हेरिएको र मिश्रित रूपमा प्रतिक्रियाहरू प्राप्त भएको छ भने ओयसआरले ‘फाइनल भिडियो टिजर’ पनि अपलोड गरेको छ । जसमा अपेक्षित प्रतिक्रिया भने प्राप्त भएको छैन ।

 

न्युज २४ का कार्यक्रम प्रस्तोता राज श्रेष्ठले सोधेको एक प्रश्नमा पात्र सलिनाले यो फिल्म बन्नका लागि ६ वर्ष लागेको र यो फिल्ममा इमोसन, ड्रामा, कमेडी, विशेषतः बच्चाहरूले कार्टुनलाई मन पराउने विचार प्रस्तुत गरिएको छ । यस्तै भ्वाइस अफ नेपालका कार्यक्रम प्रस्तोता सुशिल नेपालले सोधेको प्रश्नमा दिनमा १८ घन्टासम्म काम गरेको पात्र सलिनाले बताएकी छिन् । साथै उनले भनेकी छिन्- “पहिलो फिल्ममैँ एक्सन सिन गर्न पाउँदा एकदमै खुसी लाग्यो ।” सलिनालाई मनपर्ने पात्र भने सुहाना हुन् । अर्का दुइ सिङ् भएका पात्र (कार्टुन चरित्रका) भ्वाइसको अडिसनमा आउने बताएका छन् भने सुशिलको साथी तेजसलाई भनेर आफ्नो लामो रोल बनाउन अनुरोध गरेका छन् । उनी आफूलाई अहिलेको ‘असिस्टेन्ट गुन्डा’ को रोलले आफूलाई कम कमाइ हुने गुनासो निकै रमाइलोका साथ गर्ने प्रयास गर्दछन् । भ्वाइसको अडिसनमा आउने वाचा गरेका कार्टुन पात्र आफ्नो चर्चा बढी हुनुपर्ने र त्यसका कारण विज्ञापनबाट पैसा कमाउने इच्छा भएको बताएको छ । सोधिएको थुप्रैमध्ये एक प्रश्नमा राक्षस्नी पात्रका रूपमा रहेकी खलनायिका भन्छिन्- “Definitely Sanjay Datta is a good looking guy, can I get his number?”

 

यसरी हेर्दा नेपाली चलचित्रले एनिमेसनलाई विश्व बजारले प्रयोग गरेको दशकौँअघिको प्रविधिलाई प्रयोग गर्दैछ भने चन्द्र शमशेरभन्दा हामी धेरै अगाडि रहेका छौँ भन्ने पुष्टी हुन आउँछ । यसर्थ एनिमेसन र एआइको फ्युजन गर्न सके एउटा चलचित्र बनाउँन ५ वर्ष कुर्नु पर्दैन । ५ वर्षमा अत्याधुनिक प्रविधि प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरमा बिक्री हुन सक्ने चलचित्र निर्माण गर्न सकिन्छ ।

 

एनिमेसनबाट संसारभर चर्चा पाएका चलचित्रहरू

यसबीचमा ‘फ्रोजन’, ‘अप’, ‘स्पाइडर म्यान’, ‘मोना’, ‘लुका’ देखि उच्च बजेटको ‘अवटार’ सम्म आइपुग्दा हलिउड चलचित्रले एनिमेसनको पूरापूर प्रयोगमा निकै फड्को मारेको पाइन्छ । त्यसो त लामो समयअघिदेखि हलिउडदेखि बलिउडका चलचित्रहरूमा धेरथोर स्थान त एनिमेसनले पाइरहेकै छ । ऋतिक रोशन अभिनित चलचित्र ‘कोही मिल गया’ मा एलियन रजनिकान्त अभिनित ‘रोबोट’ चलचित्रमा प्रयोग भएका एनिमेसनमार्फत् निकै चर्चा बटुलेको थियो । यता पहिलो नेपाली एनिमेसन चलचित्र सलीना ५ वर्ष समय लगाएर बनाइएको भनिएको छ । यसले दर्शकका ध्यान कत्तिको तान्न सक्छ, त्यो भविष्यले नै बताउला ।

 

अब एआइको प्रयोग

यतिखेर आइबिएम, माइक्रोसफ्ट, गुगलदेखि संसारलाई नेतृत्व गर्ने साइबर उद्योगहरूमा भारतीय र भारतीय मूलका व्यक्तिहरू रहेको सत्यलाई नकार्न सकिँदैन । यस अवस्थामा सरकारले सूचना सञ्चार क्षेत्रमा लागि परेका नेपाली युवालक्षित कार्यक्रममार्फत् नेपाललाई संसारसँग चिनाउने राम्रो मौका पनि रहेको छ । प्रतिस्पर्धाको यो समयमा शिक्षा, सञ्चार, उद्योग, विज्ञानसँगै मनोरञ्जनको क्षेत्र नेपाली चलचित्र उद्योगले समेत एआइको प्रयोगमा समय र बजेट खर्चन ढिला गर्नु किमार्थ उचित होइन । शिक्षक, विद्यार्थी, रिसर्चर अनि कन्टेन्ट क्रियरहरूसम्मलाई च्याट जिपिटी, जेमिनी, बार्ड जस्ता च्याटबोटको प्रयोग अब सामान्य बन्दै गइसकेको छ । केही शब्दका अल्गोरिद्‍मकै भरमा bing को एआइ इमेज क्रियटरदेखि तुरून्तै नतिजा निकाल्ने मोबाइल एप्लिकेसनहरू चलाउँदै दङ्ग पर्दा नपर्दै भिडियो कन्टेन्ट पनि बनाउन सकिने थुप्रै प्लेटफार्महरू खुलिसकेका छन् ।स्वास्थ्य, शिक्षा, वित्त, विज्ञानदेखि उपभोक्तालाई सेवा दिने कामसम्म एआइ प्रयोगले संसारलाई दोस्रो विश्वमा पुगेको आभास गराउन सकिन्छ ।

 

निश्कर्षमा

रेनमेकर स्टुडियो एनिमेसन तथा भिज्युअल इफेक्ट्स एकेडेमीद्वारा प्रस्तुत गरिएको गरिएको चलचित्र सलिना आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँने बताइएको छ । फिल्ममा प्रयोग भएका एनिमेसन, विषयवस्तु, हलिउड र बलिउडसँग तुलना गरेर सुझाव दिँदै गरौँला । मनोरञ्जनका क्षेत्र गेमिङ, चलचित्र, सूचना सञ्चारका क्षेत्र, स्वास्थ्यदेखि अनुसन्धानसम्म एनिमेसनले कमाल गरेको छ ।

यसका साथसाथै संसारभर प्रयोग भएका एआइका कमजोरी खोज्दै गरौँला, यतिखेर एआइ प्रयोग गरी लेखिएका पुस्तकहरू संसारभर सर्वाधिक बिक्रीको सूचीमा छन् भने एआइ प्रयोगले हाम्रै बौद्धिक क्षमतालाई सहयोग गर्ने र नतिजामा अझ उत्कृष्टता ल्याउने हुँदा लेखन, चित्रकला, चलचित्रमा यसको प्रयोगलाई नकार्न सकिँदैन ।  बरू अन्तर्राष्ट्रले प्रयोग गरिरहेको अत्याधुनिक आविष्कारले हाम्रो मौलिकपनलाई बिर्सन भने हुँदैन ।

(संप्रस)

सन्दर्भ सामग्रीहरूः

→ The Solomon Society, Youtube

→ Videocaddy

→ Chat GPT

→ Wikipedia

श्रीअन्तुमा अन्तर्राष्ट्रिय प्रगतिशील काव्य गोष्ठी हुने

१४ चैत्र, मकवानपुर / –नवसाहित्य अनलाइन । विश्वभरिका लेखक तथा साहित्यकारहरूलाई एकै ठाउँमा जमघट गराउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय प्रगतिशील काव्य गोष्ठी हुने भएको छ । प्रगतिशील लेखक सङ्घको आयोजनामा हुने सो गोष्ठी नेपालको पर्यटकीय जिल्ला इलामको श्रीअन्तुमा ज्येष्ठ १२ गते हुने भएको छ ।

प्रलेसका महासचिव डा.देवी दुलाल क्षेत्रीद्वारा हस्ताक्षरित प्रेस वक्तव्य अनुसार नेपालको साहित्यलाई विश्व स्तरमा चिनाउने तथा अन्य देशका प्रगतिशील साहित्यबाट नेपालका साहित्यकारले सिक्न नै काव्य गोष्ठी आयोजना गरिएको बताइएको छ । विश्व स्तरका प्रगतिशील साहित्यकारहरूको सिर्जनालाई प्रस्फुटित गर्ने उद्देश्यका साथ व्यापक तयारी तथा प्रचार प्रसार पनि चलिरहेको आयोजकले जानकारी गराएको छ ।

जारी विज्ञप्ति अनुसार गोष्ठी भन्दा एक दिन अगाडि ज्येष्ठ ११ गते सङ्घको परिषद् बैठक समेत आयोजना गरिएको छ । सो बैठकमा सम्पूर्ण केन्द्रीय सदस्य, परिषद् सदस्य तथा सल्लाहकारहरूको उपस्थिति रहने छ ।

गोष्ठीको अवसरमा प्रलेस २९औँ रारा विशेषाङ्क समेत लोकार्पण गरिने आयोजकले बतायो ।

सिस्नुपानी मकवानपुरले उत्तमकृष्ण मजगैयाँ र अनिल कीर्तेलाई सम्मान गर्ने

१४ चैत्र, मकवानपुर / –नवसाहित्य अनलाइन । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यकार उत्तमकृष्ण मजगैयाँ र अनिल पौडेल कीर्तेलाई सम्मान गर्ने भएको छ ।

संस्थाको स्थापना दिवसको अवसरमा बैशाख १९ गते स्व. गणेशकुमार पौडेलका परिवारजनबाट स्थापित ‘गणेश पौडेल स्मृति हास्यव्यङ्ग्य साहित्य सम्मान २०८०’ दाङका हास्यव्यङ्ग्य सर्जक मजगैयाँ र सल्लाहकार आरसी रिजालद्वारा स्थापित ‘हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार २०८०’ मोरङका ‘कीर्ते’ लाई प्रदान गरिने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनु भएको छ ।

साथै बैठकले ‘भैरव अर्याल स्मृति सम्मान २०८०’ प्राप्त गर्ने संस्थाका उपाध्यक्ष मीनप्रसाद लामिछाने र ‘मुक्ति-तारा साहित्य सम्मान २०८०’ प्राप्त गर्ने संस्थाका सदस्य सानुभाइ बिश्वकर्मालाई बधाई ज्ञापन गरिएको संस्थाका सहसचिव संप्रस पौडेलले जानकारी दिनु भएको छ ।

बुधबार संस्थाका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकले सिस्नुपानी दिवसको अवसरमा विविध हास्यव्यङ्ग्यात्मक विषयवस्तु प्रस्तुति गर्ने निर्णय गरेको छ ।

संस्थाले कार्तिक महिनामा आयोजना गरेको देउसी-भैलो कार्यक्रमबाट सङ्कलित रकममध्ये १५ हजार रुपैयाँ जाजरकोट तथा रूकुम पश्चिममा भूकम्पपीडितका लागि सहयोग गर्ने निर्णय भएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

कवि गगन योक्पाङ्देनको ’केवाफुङको गीत’ सार्वजनिक

चैत्र १४, काठमाडौं ।

कवि गगन योक्पाङ्देनको कवितासंग्रह ’केवाफुङको गीत’ बुधबार राजधानीमा सार्वजनिक भएको छ । शिल्पी थिएटरमा भएको कार्यक्रममा कविद्वय श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षकद्वय अशोक थापा, गुरुङ सुशान्त र माया पब्लिकेशनका अध्यक्ष विनयभूषण दत्तले पुस्तक विमोचन गरे ।

पुस्तकमाथि बोल्दै कवि मुकारुङले स्थानीयताको प्रयोगमा कवि योक्पाङ्देन अब्बल रहेको चर्चा गरे । ’पहिलो संग्रहमै कमजोरी निकै कम भएकाले कविमाथि शङ्का गर्ने ठाउँ छैन,’ उनले भने, ’विशेषगरी स्थानीय विषय, विम्बको प्रयोगले नै यी खास नेपाली कविता बनेका छन् ।’ राज्यले वर्षौंदेखि थिचोमिचोमा पारिएका समुदायबाट आफ्ना मुद्दा चर्को रूपमा आए पनि त्यसलाई स्वीकार्न सक्नुपर्ने उनको भनाइ थियो । तर उनले ती सबै पहिचानसँग जोडिएका छन् /छैनन् मूल्यांकन गर्न समीक्षकहरुलाई आग्रह गरे ।

कवि तुम्खेवाले ’केवाफुङको गीत’ भित्रका कविताले अर्गानिक स्वाद दिएको बताइन् । ’हरेक कविताको अन्त्यमा पञ्चिङ लाइन भेटिन्छ,’ उनले भनिन्, ’कविले आफ्नो ग्रामीण समाजको परिवेशलाई जस्ताको तस्तै कवितामा ल्याएका छन् ।’

समीक्षक थापाले मुलुकमा पटकपटक सामाजिक, राजनीतिक आन्दोलन भए पनि पहिचानको आन्दोलनको यात्रा सधैं धूमिल भइरहेकामा चिन्ता गरे । ’कवि, लेखकले लेखिरहेकै छन्, तर कहाँ के पुगेन र अझै पनि यही मुद्दामा अल्झिइरहनुपरेको छ ?’ उनले प्रश्न गरे, ‘अब सांस्कृतिक र पहिचानको मुद्दालाई फरक कोणबाट अघि बढाउन बहस सुरु गर्नुपर्ने हो कि ?’ अर्का वक्ता गुरुङले कवितामा सांस्कृतिक चिन्तन, परदेशीएका पीडादेखि पर्यावरणीय चिन्तनसम्म आएको बताए । ’संग्रहमा शब्दको फुर्मासी छैन, कविता कविताकै लागि लेखिएका छन्,’ उनले भने । राज्यले कुनै जाति समुदायलाई केन्द्रमा राखेर भाषा, राष्ट्रिय पहिचान निर्माण गर्न खोज्दा अन्य समुदायमा आक्रोश, असन्तुष्टि उब्जिएको र त्यो लेखनमा पनि आउने गरेको उनको भनाइ थियो ।

कार्यक्रमलाई सहजीकरण गरेका पत्रकार फणीन्द्र संगमले मोरङको मिक्लाजुङ बस्दै आएका योक्पाङ्देनका कवितामा स्थानीय रङ, विम्ब र त्यहीँको माटोको सुवास पाइने बताए । कवि योक्पाङ्देनले आफ्ना भावना, संवेग र आक्रोश कवितामै प्रकट गरेको भनाइ राखे । ’सिंहदरबार र बालुवाटारमा बस्ने, गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँड्नेहरुले नै देशको बदनाम गरेका छन्,’ उनले भने, ’गाउँमा खेतीकिसानी गर्ने, भारी बोक्नेले त त्यसरी सोच्न पनि सक्दैन ।’

कार्यक्रममा रंगकर्मी घिमिरे युवराजले संग्रहभित्रका दुई कविता वाचन गरेका थिए ।

पुस्तकलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।

सुवर्ण–तुलसी काव्य पुरस्कार–२०८० बाट सरुभक्त सम्मानित हुने

चैत्र १४,चितवन । नव साहित्य अनलाइन मकवानपुर 

कविडाँडा साहित्य समाज, चितवनद्धारा बितरण गर्दै आएको सुवर्ण–तुलसी काव्य पुरस्कार–२०८० बाट आख्यानकार सरुभक्त सम्मानित हुने भएका छन् ।

कविडाँडा साहित्य समाज, चितवनको गत फागुन १६ गतेको बैठकद्वारा यस वर्षको कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०८० वरिष्ठ कवि तथा आख्यानकार सरुभक्त श्रेष्ठलाई समर्पण गर्ने निर्णय गरिएको आयोजकले बताएका छन् ।

रु. पचास हजार पुरस्कार राशीको सुवर्ण–तुलसी काव्य पुरस्कार–२०८०  वरिष्ठ कवि तथा आख्यानकार सरुभक्त श्रेष्ठलाई  आगामी चैत्र २४ गते समर्पण गरिने कविडाँडा साहित्य समाज, चितवनका अध्यक्ष एल. बि. क्षेत्रीले जानकारी दिएका छन् ।

सरुभक्त लामो समयबाट संरक्षण कविता आन्दोलनको नेतृत्व गरीरहनुभएको छ भने उनी मदन पुरस्कारलगायत दर्जनौँ पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

कविता: आमा प्रति /गगन योक्पाङ्देन

पहिला – पहिला आमा रात भर
काेल्टे फेरि रहनु हुन्थ्यो
चुर खाइ रहनु हुन्थ्यो
एक्लै मन सङ्ग कुरा गर्दै बरबराइ रहनु हुन्थ्यो

आफ्ना पट्यार लाग्दा रातहरुलाइ
कहिले ढिकी भरि कुट्नु हुन्थ्यो
कहिले जाताे भरि पिस्नु हुन्थ्यो

र झिसमिसेमै उठेर आखामा अर्धाे कल्चाे सपना मिच्दै
मेलाेमा लाग्नु हुन्थ्यो ।

आमाकाे आदत देखि दिक्क
म कराउथे
– रात भर भुत जस्तो जाग्नु हुन्छ
– कति चुर खानु भएको हाेला
– खानामा ध्यान दिनु थि र सिजवामा होइन
– कि छाडेर गएको बुवाकाे याद

आमा आफ्ना चिसा आखाहरु पुछ्दै
सुस्तरी फुसफुसाउथिन
– छाेरा तलाइ पछि थाहा हुन्छ

आज घरब्यबहारकाे जुवा मेरो काधमा परेको छ
जाेत्नु छ मैले सिङ्गो धर्ति
र राेप्नु छ जीवन गह्रा – गह्रा

अचेल आमा मेरा अनिन्दा आखाहरु देखेर
मलाई सम्झाइ रहनु हुन्छ
– छाेरा पिर नलिइ मान्छेकाे दु: ख त
मरे पछि मात्रै सकिन्छ ।

उसाे भए म बाच्न चाहान्छु ।।

मिक्लाजुङ माेरङ ।

नगरकोटीको j थर्टी-थ्री पाठकमाझ

अघिल्ला कृतिहरूबाट आख्यानमा सम्झनैपर्ने नेपाली लेखकहरूमध्ये कुमार नगरकोटीको लेखन शैलीको चर्चा परिचर्चा सेलाइसकेको छैन । अघिल्लो कृतिका मन तातो वाफ छँदछँदै अर्को कृति उपस्थित भइसकेको हुन्छ । स्व. मदन भण्डारीले “राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन” भनेजस्ता के नगरकोटीलाई थकाइ लाग्दैन ? कहिलेकाहीँ उनीभन्दा बढी कल्पिन्छु । कतै तपाईँ, मेरा अनि हाम्रा कल्पनाहरू कल्पग्रन्थ बनेनन् कि ! २४ वर्षअघि देहान्त भइसकेकी लेखक बार्बरा कार्टल्याण्ड जसलाई Queen of romance नै भनियो, उनले एकै वर्षमा २३ उपन्यास लेखिन् अरे । देवकोटाले ३ महिनामैँ शाकुन्तल महाकाव्य लेख्नुभएको अरे । John Boyne ले The Boy in the Striped Pajamas अढाइ दिनमा लेखेछन् । पाठकका रूपमा तपाईँ एकै पटक कतिवटा किताब पढ्न सुरू गर्नुहुन्छ ? वा एउटा सकिसकेपछि मात्रै अर्को पढ्नुहुन्छ ? कतै नगरकोटी एकै पटक धेरैथरिका पाठकका लागि फरक शैलिका कथावस्तुमा बहुपुस्तक लेखिरहनु भएको त होइन ? पुस्तक लेखिरहनु र पाठकका मन जितिरहनु अझ उम्दा कुरा हुन सक्छ ।

जेहोस्, कथा, कविता, उपन्यास, नाटकहरूमार्फत् आफ्नो बेगल छाप पार्न सफल सर्जक हुनुहुन्छ नगरकोटी । जोगियाना, दोचा, मिस्टिका, घाटमान्डु, कोमा, अक्षरगन्ज, कल्पग्रन्थ, बाथ-टब हुँदै पछिल्लो कृति ट्रान्जिट समेत पाठकमाझ आइसकेको छ । किमोनो गर्ल, गिद्धहरूको नाच, खप्पर, पाटनका चिया अड्डाहरू, आयुचोर, कथाका कभरहरू सार्वजनिक गर्नु भएका उहाँका जीवनशैलीका रोचकभन्दा रोचक विषयवस्तुहरू सिर्जनामा पाइन्छन् । त्यसो त गिद्धहरूको नाच नाममा उहाँको फोसिल कथा सङ्ग्रहमा एक कथा पनि रहेको छ । लेखकले आफूले भोगेको र कल्पनाशीलतामा लेखिएका दर्जनौँ किताबहरू सार्वजनिक भइसकेका छन् । आकार भएका र नभएका कुनै पनि वस्तुमाथि नगरकोटीको दार्शनिक घनत्व अघिल्ला पुस्तकहरूमा प्रशस्त देख्न पाइन्छ । यसैमाझ उहाँको उपन्यास j थर्टी-थ्री पाठकमाझ केही हप्ताअघि नै आइसकेको छ । चैत्र १७ गते शिल्पी थिएटरमा नाट्य प्रस्तुतिका साथ ग्राफिक उपन्यास j थर्टी-थ्रीको चर्चा हुनेछ । सायद दुल्हन फर्काउने मिति हुनुपर्छ यो ।

पुस्तक सुरुवातदेखि आजको अवस्थामासम्म आइपुग्नज ७-८ वर्ष लागेको उहाँले बताउनु भएको छ । हुन त लेखकको मस्त ‘वसन्त याम’ नै यही समय हुनुपर्छ । पुस्तकका सम्बन्धमा पछिल्ला पृष्ठमा उल्लेख गरिएको छ- फाइनप्रिन्टद्वारा प्रकाशन गरिएको उपन्यास नेपाली भाषामा रहेको छ । प्यारलल युनिभर्समा सेट गरिएको र यथार्थ, अतियथार्थ अनि स्वैरयथार्थको मालामा उनिएको यो ग्राफिक उपन्यास जङ्गबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउनको यस्तो प्रेम कथा-गाथा हो, जुन इतिहासमा कहिल्यै लेखिएन । ब्यालेरिना र जङ्गबहादुरको दुर्लभ प्रेम कथा-गाथामा संयोगले पसेको र अनायास फसेको रहस्यमय पात्र j थर्टी-थ्री वास्तवमा को हो ? जङ्गबहादुर राणाको तान्त्रिक सहरमा j थर्टी-थ्री तपाईँलाई किन, कुन प्रयोजनका निम्ति खोजिरहेको छ ? ऊसित गुप्त रहस्यको त्यस्तो खजाना छ, जसलाई ऊ तपाईँसमक्ष पेस गर्न अधैर्य छ ?….

०००

यस कृतिका सम्बन्धमा कवि छवि अनित्य लेख्नुहुन्छ-

“एकादेशमा तपाईंले ‘कमिक्स’ पढ्नुभएको छ ? त्यस्तै केही तर वयस्क उमेरका कथा पढ्न मन छ ?

रहस्यमयी पात्र j थर्टी-थ्रीसँग जङ्गबहादुर राणाको रोचक प्रेमकथा पढ्ने मन बनाएर आउनुस् ।”

०००

पुस्तक पढिसकेपछि गोबिन्दपुरे लेख्नुहुन्छ-

“j थर्टी-थ्री दुई बसाईमा खर्लप्पै सिध्याएँ ।

जङ्गबहादुर राणाको बेलायत यात्रा र नेपाल फर्किएपछि उनलाई जीवनभर नै सताउने एउटा प्रेतपात्र जो जङ्गबहादुरकै ठाडो आदेशमा काटिएको अङ्गको phantom-pain ले प्रताडित छ । जङ्गी ऐतिहासिक व्यक्तित्वको यात्रा वृत्तान्तमा आधारित नगरकोटीको स्वैरकल्पना रोचक लाग्यो ।

अन्तमा नगरकोटीसँगै रिस पनि नउठेको हैन, प्रेत मुक्तिका लागि घटाइएको बदलामा जङ्गबहादुरकै वा बडिगार्डको लिङ्ग काटिनुपर्ने डा. वाग्लेको काटेर अर्को प्रेत जन्माउने गल्ती किन गरेको ?”

०००

प्रविन ढुङ्गेल बुकाहोलिक्समा लेख्नुहुन्छ-

“कुमार नगरकोटीको कल्पना, स्वैर-कल्पना अनि शाब्दिक जादु प्लस कथानकलाई साथ दिने, बढावा दिने accompanying artwork रहेको ग्राफिक उपन्यास हो जे थर्टी थ्री । पठनी रमाइलो लाग्दछ यो किताबको । कारण शब्द-पट र चित्रमार्फत् एउटा अलग नै संसारमा विचरण गर्न सक्छौँ हामी freestyle पारामा । कथा सुरु हुन्छ- एउटा सर्जन एवम् सर्जक टु इन वान मान्ठबाट, जो एकान्त एकलास र एक्कासी शुन्य स्थितिमा झरेको रहेको काठमाडौँ सहरका गल्लीमा क्रीम्सन कलरको लेडीज अम्ब्रेला ओढेर कतै गइरहेको हुन्छ। मानवविहीन जस्तो लाग्ने परिस्थिति रहे भए तापनि केही पात्रहरु – सर्जन – सर्जक, स्त्री अनि अर्को पुरुष व्यक्ति रहेका हुन्छन् चलायमान । कथानकमा अगाडि बढ्दै जाँदा र चित्रहरु अवलोकन गर्दै लाँदा बाल्यकालमा डोगा, परमाणु, नागराज, सुपर कमान्डो ध्रुव, भेडिया, टिंकल, archies आदि कमिक्स् पढेझैँ रोमान्चक अनुभुति हुन्छ। किताब पढ्दै जाँदा साथमा रहेको artworks ले पनि कथा बकेको भनेको बोध हुन्छ।

आफ्ना कृतिहरुमा फरकफरक प्रयोग गर्न रुचाउने नगरकोटीका अन्य किताबमा झैँ यो सचित्र उपन्यासमा पनि experimentation छ- पात्रहरूको छनौट, संवाद शैली, प्रस्तुति र कथानकमा रहने भूमिकामा । Artwork प्लस textual elements लेचाहिँ कल्प-ग्रन्थमा प्रयोग गरिएको textual placement, word highlight and hightail स्टाइल अनि word-play को कारण। पठन अनुभव रमाइलो हुन्छ अनि कथानक बेजोड लाग्छ। सुधार र परिवर्तन गर्नु पर्ने हो कि केही शब्द चयन र कथानकको एउटा प्लट भन्ने नि लाग्दो रहेछ तर अर्को मनले त्यो कुरा नहुँदा कस्तो खल्लो पो हुँदो हो है भन्ने नि लाग्दो रहेछ।

सुरुवातीमा मुख्य पात्र लाग्ने अम्ब्रेला बोक्ने डाक्टर निराकार वाग्ले पात्र बहुत मजेदार लाग्छन् मलाई। पेसाले चिकित्सक अनि हृदयले साहित्य सर्जक रहेकाले प्लस आफ्नी दिवङ्गत पत्नीको यादमा घडीको सुइमा फलानो समय dedicate गर्ने पाराले अनि संवाद र बानी-बेहोरा हेर्नाले । कतैबाट उडेर आउने र यी मनुवालाई लेखिएको पत्र सानो तर रोचक चाखलाग्दो छ। कथानकमा कैयौँ magical moments आउँछन् र अन्य पात्रहरू पनि रोचक, अनौठा र मदमस्त पाराका लाग्छन् ।

किताब लेख्न यी वाग्ले पात्रलाई उनकी पत्नीले साथ-सहयोग दिने कुरा मजेदार लाग्छ। भन्छौँ नि हामी- मान्छे मरेर गएपनि हामीमाथि सधैँ हुन्छ नजर र रेखदेख । त्यो कुरा याद आउँछ । कुनै व्यक्तिको प्रेम, मित्रता, शत्रुता, भर, विश्वास अनि सपोर्टको बानी लागेपछि छुट्न गाह्रो नै हुने के। घटना परिघटना magical लाग्दछन् । जङ्गबहादुर राणा (जबरा) को entry पछिको प्रसङ्ग, कोतपर्व र उपहारको प्रसङ्ग, बेलायत भ्रमणको परिवेश, महारानी एलिजावेथसँगको भेट, royal regal ballerina ballet dancer क्यालिस्टा ब्राउनको कुरा, प्रेम प्रसङ्ग, आशक्ती, triangular relationship, एउटा क्रुद्ध क्रूर गल्ती र after-effects मजेदार छन् । Multiverses को concept मजेदार लाग्छ र याद आउँदछ marvel multiverse को । एउटा घटनाले game of thrones को पनि याद आउँछ । ऐतिहासिक पात्रहरु, modern पात्रहरू अनि परिवेशबिचको balance मजेदार लाग्यो । किताब भित्र अर्को किताब, नोट र डायरी को प्रसङ्ग मजेदार छ नै । जे होस्, नयाँ नयाँ प्रयोग – रुचि- कथानक style मन पराउनेलाई फरक स्वाद मिल्ने नै छ। अनि: रेगुलर पढ्ने र कल्प-ग्रन्थको पठनीबाट दिक्क भएकाहरुलाइचाहिँ उत्ति रोचक नलाग्ला। Treat लाग्यो मलाई यो delicious, moody अनि surprising shocking मार्का पाराको with नगरकोटीयन स्टाइल लाग्दछन् । यहाँभन्दा अगाडि बढ्ने हो भने spoiler होइजाला भन्ने डर ।”

०००

उखान हराएको सूचना दिने नगरकोटी आफ्ना पाठकलाई नाटक हेरिरहेको भान पार्न सिपालु हुनुहुन्छ नै । चरा मात्र होइन टेलिफोन अनि रिभल्भरसम्मलाई पात्र बनाउने उहाँको जैविक र अजैविक पात्रहरूबारेको स्वैरकल्पना पनि ताजुबकै लाग्छ । मनसुन प्लिज कमसुन, अनुस्टुपविक्रम, टाइपराइटरको ट्याकरट्याकर, जनवरी गाउँ, सम्पदा सहर जस्ता फरक शैलीका पात्र, स्थान, घटनाको कल्पना गरेर शब्दहरूको माला उन्न सिपालु नगरकोटियन शैलीका पुस्तक पढ्नेहरूको छुट्टै दस्ता तयार हुँदैछ सायद । अर्को सत्य त के भने उहाँको नवीन उपन्यास j थर्टी-थ्रीमा फाइनप्रिन्टका चित्रकारहरूले नै तयार गराएका ग्राफिकको प्रयोग गरिएकोले पनि कथा र चित्रहरूको संयोजनले पाठक भूत र भविष्यमा पुगेको महसुस गर्नेछ ।

०००

नेपाल लिटरेचर फेस्टिभल पोखरामा विमोचित j थर्टी-थ्री तपाईँको गाउँसहरमा केकस्तो चर्चा पाइरहेको छ ? लेखक र पाठकवृत्तमा के कस्ता खासखुस चलेका छन् ? गाइँगुइँहरूको सङ्कलन त यो पनि हुनसक्छ है । अँ यो गाइँगुइँं उहाँको कानसम्म पुग्यो भने आउँदो पुस्तकमा मिस्टर गाइँगुइँ वा मिसेस गाइँगुइँ पात्र बन्न पनि बेर छैन । अहिलेका लागि लेखक नगरकोटीलाई बधाई तथा पाठकहरूमा शुभ पठनको कामना । (संप्रस)


सिनियर हाउसवाइफ || व्यङ्ग्य कविता || संप्रस पौडेल

मङ्सिर महिनामा,
भित्र्याएकी हुन्
जस्ताघरे बज्यैले जेठी बुहारी ।

बुहारी मात्रै होइनन्
भित्र्याएकी हुन् उनले
भान्छा चलाउने एक ‘अटोमेटिक मेसिन’
भित्र्याएकी हुन् उनले
घरभरीका लुगा धुने ‘वासिङ’ मेसिन
भित्र्याएकी हुन् उनले माइतीबाट
कोशेली ओसारीरहने ‘मालदार बुहारी’ ।

भित्र्याएकी हुन् एउटो ‘रोबोट’
– जो गर्मीभन्दा गर्मी समयमा
ढिँडो ओढाल्दै अगुल्टो ठोस्ने होस्
– जो ठिर्रोभन्दा ठिर्रो समयमा
पतिदेवलाई ओछ्याउनमैं चिया पुर्‍याउने होस् ।
खानाका लागि कुराउने नहोस्
बरू आधारातसम्म कुर्ने होस् ।

अब,
छिमेकीले गुनगान गाउनेदेखि
घरका कुरो सुनसान बनाउनेसम्म
अनि
ससुराका लुगादेखि सासुआमाका गोडासम्म
ध्यान पुग्नुपर्ने थियो बुहारीको ।

भनिन्थ्यो-
जो मुख लाउने नहोस् तर
झाडु-पोछा लाउने होस् ।
०००
त्यो समयबाट गुज्रिएर गाउँहरू
दिनानुदिन सहर हुँदै गएपछि
घरमा अवसरहरू भित्रिन थालेका छन्
जेठी बुहारीले सासुबाट खेप्ने बुहार्तन
बाँडिएका हुन् उही दिनदेखि
– अफिसमा जागिरेका रूपमा
– भान्छामा भान्छेका रूपमा
– गोठमा गोठालोका रूपमा
– खेतबारीमा मजदुरका रूपमा
– ड्राइक्लिनर्सका रूपमा
ध्यान पुग्नुपर्नेछ
– आइरनमा, क्रिजमा
– स्टोरमा, फ्रिजमा
अनेक अनेक कित्ता कित्तामा
०००
यस अर्थमा पनि सासुआमै
‘रिटायर्ट’ बुहारी बनिसकेपछि
जेठी बुहारी बढ्तै खुशी देखिन्थिन्
फुली थपिएको प्रहरीजस्तो
बढुवा भएको शिक्षकजस्तो
पदवी दिइएको मजदुरजस्तो
घरभित्रै बढुवा हुन्छिन् जेठी बुहारी
अर्थात्
‘सिनियर हाउसवाइफ’ ।

संप्रस पौडेल

साहित्य क्षेत्रमा सर्वप्रथम नोबेल पुरस्कार विजेता :अर्मा सुली प्रुधोमे

अर्मा सुली प्रुधोमे पूरा नाम रेनी फ्रान्सिस अर्मा सुली प्रुधोमे (René François Armand (Sully) Prudhomme) | १६ मार्च १८३९मा पेरिसमा जन्मिएका प्रुधोमेको उपनाम ‘सुली हो | उनी ६ ,सेप्टेम्वर १९०७मा दिवंगत भए ।

सुली प्रुधम परिवारका एक्लो सन्तान थिए । उनी मूलतः दार्शनिक कवि थिए । उनले पेरिसस्थित ‘इकोल पोलिटेकनिक’ नामक विद्यालयबाट आफ्नो शिक्षाको थालनी गरेका थिए । गणित विज्ञानमा उनको बढी रुचि थियो, जसअनुसार उनले त्यस विषयमा दक्षता हासिल गर्दै गए । उनको अध्ययनको क्रममा पेरिस सहरमा आँखाको रोग नराम्रोसँग फैलियो ।  यसको असर उनलाई पनि पर्‍यो र उनले एकाग्रतापूर्वक त्यस विषयमा अध्ययन गर्न सकेनन् । विस्तारै, उनले दार्शनिक ढङ्गका कविताहरू रच्न लागे । २६ वर्षको उमेरमा उनको पहिलो कवितासङ्ग्रह प्रकाशित भयो, जसको नाम थियो ‘स्टेजेज एट पोयम्स’ ।

‘स्टेजेज एट पोयम्स’ भित्रै उनको विश्वप्रसिद्ध कविता ‘ली वेस व्राइस’ सङ्ग्रहीत छ । अर्को वर्ष उनले ‘ले ऐ पि्रवेस’ नामक काव्यग्रन्थ प्रकाशित गरे ।  ‘ले एक पि्रवेश’ लाई अङ्ग्रेजी भाषामा ‘दि स्टेट’ नाम दिएर अनुवाद गरिएको छ । सन् १८७५ मा उनका अन्य दुई पुस्तक ‘ले सालीच्युड’ र ‘ले वेरेई ट्रेन्डेसेज’ पनि प्रकाशित भए । केही वर्षपछि फेरि दुई पुस्तक ‘ला जास्टिज’ र ‘ले वानुहुर’ उनले प्रकाशित गरे । ‘ला जस्टिज’मा न्यायको खोज गरिएको छ भने ‘ल वानुहुर’मा चरम आनन्दमा पुग्ने मार्ग पहिल्याइएको छ ।

सन् १८८१ मा उनी फ्रेन्च एकेडेमीका सदस्य चुनिए ।  त्यसबखत उनलाई भिक्टर हृयुगोको समानान्तर कवि मानिन्थ्यो ।आफ्नो जीवनको अन्तिम क्षणमा उनी ‘पक्षघात’बाट पीडित थिए । त्यही समयबीच उनले ललितकला, छन्द शास्त्र र काव्य सिद्धान्तमाथि केही निबन्धहरू पनि लेखेका थिए । सबैभन्दा पछि, आफ्नो ६३ वर्षको उमेरमा उनले ‘ला बे्रइ रेलिजन सेंलो पास्कल’ नामक पुस्तक लेखे, जसमा साहित्यसँग आधात्मिकताको महत्त्वलाई प्रकाश पारिएको छ । र, ६८ वर्षको उमेरमा निधन भएका सुली लाई Père-Lachaise मा समाधिस्त गरिएको छ ।