Home Blog Page 75

नवसर्जकको १४औँ मासिक शृङ्खला सम्पन्न

३२ साउन २०८०
नवसर्जक साहित्य चौतारी नेपालको १४ ओैँ मासिक शृङ्खला भर्चुअल माध्यम (गुगल मिट) मार्फत सम्पन्न भएको छ ।
चौतारीकी केन्द्रीय अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता एवम् चौतारीका सुदूरपश्चिम प्रदेशका संरक्षक तथा अग्रज साहित्यकार रामचन्द्र नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै चौतारीका केन्द्रीय सल्लाहकार डिबी बर्तौला, वाग्मती प्रदेश सल्लाहकार शान्ता दाहाल, साहित्यकार देवराज तिवारी, चौतारीकी संस्थापक उपाध्यक्ष कृतिका लौडारीको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशेष रचना वाचकको रूपमा सहभागी केन्द्रीय उपाध्यक्ष एवम् वाग्मती प्रदेश संयोजक उषाकिरण अधिकारीले आफ्ना प्रतिनिधि पाँच गद्यकविता वाचन गरेकी थिइन् ।
कार्यक्रममा चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँ, वरिष्ठ उपाध्यक्ष विभूति अधिकारी, महासचिव समर्पण न्यौपाने, सुदूरपश्चिम प्रदेशका सचिव प्रकाश बडुलगायतले कविता वाचन गरेका थिए भने पठन संस्कृति प्रबर्द्धनका क्रममा नवसर्जक प्रेरक गौतमले शान्ता सिम्खडाकृत कथा सङ्ग्रह ‘प्रेरक कथाहरू’ को कृति समीक्षा प्रस्तुत गरेका थिए ।
डेढ दर्जन नवसर्जकको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण चौतारीका महासचिव समर्पण न्यौपानेले गरेका थिए । चौतारीले हरेक महिनाको अन्तिम शनिबार नियमित मासिक शृङ्खला आयोजना गर्दै आएको छ भने समयसमयमा विधाविशेष प्रशिक्षण अभियानका साथै प्रादेशिक एवम् राष्ट्रिय बालसाहित्य उत्सव आयोजना गर्दै आएको छ ।

जनप्रियमा कार्यशालापछि २८ विद्यार्थीहरूद्वारा अभिभावकसाथ पुस्तक विमोचन

भाद्र १, मकवानपुर ।

हेटौंडा १६ मा अवस्थित जनप्रिय माध्यमिक विद्यालयका २८ विद्यार्थीहरूको पुस्तक विमोचन गरिएको छ ।

शुक्रबार आफ्नै प्राङ्गणमा गरिएको कार्यक्रममा पुस्तक विमोचनका साथै प्रत्येक विद्यार्थीले आफ्ना पुस्तकबाट एक/एक रचना वाचन गरेका थिए । सार्वजनिक गरिएका पुस्तकहरूमा विद्यार्थीहरूले कविता, कथा, मुक्तक, गजल, चित्रकथा, सामान्यज्ञान आदि समावेश गरेका थिए भने ती पुस्तकलाई विद्यालयको पुस्तकालयमा सबैले पढ्न पाइनेगरी सुरक्षित गरिनेछ ।

कार्यक्रमकै क्रममा आफ्नो कविता कृति ‘मुर्धन्य’ विमोचन गराउँदै कक्षा ९ की बिबिशा खड्काले विद्यालयले दिएको अवसरप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले आफ्ना आमाको साथमा राखेर बाबाको बयानमा कविता वाचन गर्दा ‘बाबा, मलाई नयाँ लुगा किनेर पनि तपाईँ किन थोत्रै लगाउनुहुन्छ’ भन्दा अन्य अभिभावकहरू भावुक भएर सुनिरहेका थिए । अधिकांश विद्यार्थीहरूले आफ्ना रचना आफ्ना अभिभावकका साथमा पुस्तक सार्वजनिक गरेका थिए ।

कक्षा ८ की सारा गिरीले ‘चरा’ शीर्षकमा कविता सुनाउँदै आफ्नी आमाका साथमा रही विद्यालयले सार्वजनिक कार्यक्रममा बोल्ने, साहित्य रचना गर्ने लगायतका क्रियाकलापबाट आफूले निकै फाइदा लिएको र विद्यालयले दिएको यो अवसरले आफूलाई अत्यन्त हौसला मिलेकोले आफूले दोस्रो किताब सार्वजनिक गर्न पाएको कुरा सगौरव प्रस्तुत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण पनेरूले यस्ता क्रियाकलापले विद्यार्थीहरूको क्षमता प्रदर्शनीमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो भने विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले विद्यार्थीहरूका सिर्जनाको अवसर जुटाइदिने व्यवस्थापन समिति, शिक्षक तथा प्रशिक्षकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

३ दिने उद्घोषण कार्यक्रमका प्रशिक्षक रुपक कालिराजले विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति सकारात्मक बनेर अघि बढ्न प्रेरणा दिनुभयो । यस्तै साहित्य सिर्जनालाई बालबालिकाहरूमाझ अभियानकै रूपमा अगाडि बढाइरहनु भएका नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक दीपक गौतमले ७० भन्दा बढी विद्यालयहरूमा यस्ता अभियान लिएर जाँदै गर्दा पहिलो पटक जनप्रिय माविमा आयोजित पुस्तक विमोचनले यो विद्यार्थीहरूको भविष्यप्रति विद्यालय परिवार लागिपरेकोमा खुशी लागेको बताउनु भयो ।

विद्यालयले करीब ३० विद्यार्थीहरूलाई प्रशिक्षकद्वय अमर गुरूङ तथा सुष्मा तिमल्सिनाबाट नृत्य प्रशिक्षण गराएको थियो भने झरना साहित्य परिवार (झसाप) मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलले मुक्तक तथा गजल लेखन अभ्यास गराउनु भएको थियो । यस्तै नेपाली लेखक संघका अध्यक्ष छवि अनित्यले वक्तृत्वकला तथा वादविवादबारे प्रशिक्षक गराउनुभयो । पुस्तक निर्माणका लागि नवोदय शिशु सदनका कला प्रशिक्षक मनिष योन्जनबाट विद्यार्थीहरूले रङ मिश्रणसम्बन्धी कलर ह्वीलबारे जानकारी, प्रयोग तथा पुस्तकको कभर पेजको कलासम्बन्धी प्रशिक्षण भएको थियो । साथमा शिक्षकहरू सुनिल गौतम, रविन श्रेष्ठ र संप्रस पौडेलले पुस्तकाकारमा ल्याउनका लागि सहजीकरण गर्नु भएको थियो ।

नेपाली भाषामा कथा लेखन तथा समापन कार्यक्रममा प्रशिक्षण तथा सहजीकरण जनप्रिय सञ्चार विभाग संयोजक सुनिल गौतमले गराउनुभयो भने अंग्रेजी भाषाका कथा लेखनबारे अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ तथा नेपाली माध्यम संयोजक नीरबहादुर खड्काले सहजीकरण गर्नुभएको थियो ।

 

अतिरिक्त तथा साँस्कृतिक विभागका संयोजक युक्तलाल विश्वकर्मा तथा शिक्षक घनश्याम ढकालले योगका विविध आसनहरू प्रशिक्षणपश्चात् विद्यार्थीहरूले आजको कार्यक्रममा समेत प्रदर्शनी गरेका थिए ।

आजको कार्यक्रमको भिडियोलाई नवसाहित्य अनलाइनले छायाङ्कन गरेको थियो । जनप्रिय माविको आयोजना तथा जनप्रिय बालक्लबको संयोजनमा सञ्चालित विद्यार्थीको क्षमता अभिवृद्धि लगायतका प्रशिक्षण कार्यक्रमको कार्यक्रमलाई संप्रस पौडेलले संयोजन गर्नुभएको हो भने समापन कार्यक्रम विद्यार्थीहरू कृतिका बराल र प्रख्यातमान लोले सञ्चालन गर्नु भएको थियो ।

समर्पण न्यौपानेलाई जयपृथ्वीबहादुर सिंह बाल पुरस्कार

मकवानपुर, भाद्र १
नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपाने सम्मानित हुने हुनु भएको छ ।
नेपाल बाल साहित्य समाजद्वारा स्थापित पुरस्कारबाट साहित्य समाज लेखनतर्फ उहाँलाई सम्मान गर्न लागिएको हो ।
भाद्र ७ गते जयपृथ्वीहादुर सिंहको जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सो पुरस्कार उहाँलाई हस्तान्तरण गरिनेछ ।

बालशिक्षा, पाठशाला, पुस्तक निर्माणका साथै गोरखापत्रको प्रथम व्यवस्थापक रहेर शिक्षा क्षेत्रमा अग्रणी भूमिका खेल्नुहुने जयपृथ्वीबहादुर सिंहको १४७औं जन्मजयन्तीको अवसरमा सिंहको योगदानको परिचर्चाका साथ न्यौपानेले सो सम्मान प्राप्त गर्न लाग्नु भएको हो ।

नवसाहित्य परिवार उहाँलाई बधाई तथा सक्रिय लेखन जीवनमा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

झरनाद्वारा एकैदिन २ विद्यालयमा काव्य प्रशिक्षण

श्रावण ३२, मकवानपुर ।
झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले एकै दिन बकैया गाउँपालिकामा रहेको बुद्ध मा.वि. र बागमती गाउँपालिकामा रहेको जनता मा.वि.मा काव्य प्रशिक्षण कार्य गरेको छ ।
झसाप मकवानपुरले २९१ औँ साहित्य शृङ्खलाअन्तर्गत बुधबार बुद्ध मा.वि. हात्तीसुँडेमा कक्षा ११/१२ का करीब ८० विद्यार्थीहरूलाई कविता,गीत र गजल लेखन सम्बन्धि प्रशिक्षण गरिएको थियो ।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बोम्जन, सहायक प्रधानाध्यापक योगबहादुर राई तथा शिक्षक सुरेश रेग्मीलगायतको आतिथ्यता रहेको थियो ।

सोही दिन संस्थाको २९२ औँ साहित्य शृङ्खलाअन्तर्गत जनता मा.वि. बागमतीमा माध्यमिक तहका करीब ६० विद्यार्थीहरूलाई काव्य प्रशिक्षण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीले आफूसँग भएको क्षमतालाई प्रष्फुटन गर्नका लागि यस्ता कार्यक्रमले सहजीकरण गर्ने बताउनुभयो । उहाँले आफूभित्र भएको प्रतिभालाई सबैले समयमै चिन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि यादवराज बरालले झरनाले गाउँमा पुगेर यस्ता कार्यक्रम गर्दा विद्यार्थीलाई सिर्जनशील हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा बुद्ध माविका प्रधानाध्यापक प्रेम बोम्जन, जनता माविका सहायक प्रअ दिनेश माझी, समाजसेवी बिष्णु घिमिरे, शिवराम ढकाल र तथा शिक्षकलगायतको व्यक्तिहरूको आतिथ्यता रहेको थियो ।
झसापका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव मसान उपासकले काव्य प्रशिक्षण दिनुभएको थियो भने कार्यसमिति सदस्य प्रेम बोम्जनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
“सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान” अन्तर्गत सो काव्य प्रशिक्षण गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयो । अबको पुस्ता सिर्जनशील रहे मात्रै समाज उन्नत बाटोमा जाने भएकोले यो अभियान चलाएको उहाँले बताउनुभयो ।

भवानी भिक्षुको कथा ‘अनि‘ ?’

साहित्यकार भवानी भिक्षुको जन्म वि. सं. १९६६ जेठ २१ भएको हो । उनले नेपाली साहित्यका विशेष गरी कथा र उपन्यासमा विधामा कलम चलाएका छन् । उनका गुनकेसरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०१४), अवान्तर (२०१४) लगायतका कृतिहरू प्रकाशन भएका छन् । उनले आगत उपन्यासमा साझा र मदन पुरस्कार पनि प्राप्त गरेका थिए । साहित्यकार भवानी भिक्षुद्वारा लिखित कथा ‘अनि… ?’ को रचनाकाल वि. सं. १९९९ हो । हामीले उक्त कथा साझा प्रकाशनले प्रकाशन गरेको गुनकेसरी कथासङ्ग्रहबाट साभार गरेका हौँ ।

हो, कथा भन्ने त म, तर तपाईँ सुन्ने, पढ्ने–कथाको मजा, स्वाद वा य यस्तै अरू जुनसुकै कुरा पनि पाउनेले अलि मलाई सहायता दिनुभो, कहानी भन्दाभन्दै थाकेको वा कतै रिक्त स्थानमा भन्न नसकिने अक्षमताले कथाप्रवाह थामिन जाला कि जस्तो बेलामा दुई चार वाक्य जोडिदिनुमा तपाईँ पनि सहायक हुनुभो भने, कुनै बाधा पर्न त जाओइन !

सुन्नुहोस्, त्यही तपाईँको छिमेकमा नै तपाईँको घरभन्दा चार–छ घरपरको घरमा बिहा हुने तरखर भैरहेको छ । भैरहेको के, बिलकुल तयारी नै भैसकेको छ । अर्थात् बाँकी छ भने, त्यही शास्त्रीय क्रिया, सामाजिक घोषणा, पाणिग्रहण र भोज–उत्सव । घरपट्टीलाई चिन्नुभएकै होला ! अलिक परै भए पनि छिमेकी त हुँदै–हुन् । उनै, साहु भने पनि वा जे भने पनि– ‘रामध्वज नाउँ भएको, मझ्यौला जीउडालका र ती सय पैसठ्ठीदिने उनन्चास वर्षहरूलाई पचाइसकेका मानिस !

होइन, कुनै नराम्रो कुरा तपाईँसित स्वीकार गराउन चाहन्नँ । तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ । फरक केही छ भने त यति मात्रै कि म भनिरहेको छु र तपाईँले सुनि–बुझिरहे पनि अझसम्म–नगण्य–स्वाभाविक भएकोले– एउटा बिहा जस्तो सहायताको खाँचो पर्न गयो । भनी त म रहेकै छु; अलि धेरै प्रयत्नपूर्वक चियाएकोले मेरो जानकारी पनि विशेष छ । र तपाईँ पनि एकदम अनभिज्ञ हुनुहुन्न । यसैले आफ्नो तर्फबाट मात्रै नभनेर तपाईसित चर्चा गर्न थालेको हुँ ।

नआत्तिनोस् न ! भन्ने–सुन्ने कुरा लामो छैन । उनै रामध्वजकी छोरी रत्‍नमायाको बिहा छ । नरदेवी हो की उतैतिरका कुनै टोलबाट जन्ती आउने रे । रामध्वज मानिस पुराना भए पनि पढेलेखेका हुन् । म्याट्रिक उनले पास गरेको बेलामा अचेलका एम.ए.–भन्दा पनि बढ्ता ज्ञानी गनिन्थे, र निकै मान–सम्मानपूर्ण दृष्टि उनमा पर्दथे । पढेलेखेर पनि धर्म–कर्म नमान्ने नभएर निष्ठापूर्वक पूजापाठ, गृहस्थ–कर्म गर्ने र धेरैजसो किताब, कथाहरू पनि पढ्ने, कलकत्ताका नाचहरू पनि राम्ररी बुझेर हेर्ने मानिस भई आज उनले उनन्चास वर्ष बिताए । ‘शिक्षित’ र ‘सद्’ दुवै ! शिक्षाले पनि सबै चलिरहेको मान्यता बढाएरै शुद्ध सामाजिक सदस्य, चारैतिरका आँखामा बुज्रुक !

तर एउटा कुरा कन्नि के भएर कस्तो भयो, मैले त बुझ्न सकिनँ; तपाईँले सके बुझ्न सक्नुभएको छ कि भन्न सक्तिनँ ।

एकदम मान्य रूपमा दुई–तीन बिहा गर्ने चलन नै भए पनि– शिक्षित भएपछि– एउटी दश–एघार वर्षकी छोरीलाई छोडेर मर्न गएकी स्वास्नीपछि रामध्वजले बिहा किन गरे ? पथ्राले उनीसित बिहा गर्नलाई प्रार्थना गर्न गएको त होइन ! बिचमा छोरी र शिक्षा पनि छ । फेरी बिहा गर्ने आवश्यकता ?

होला, तपाईँको भनाइ ठिक होला । छोरा नभएर कुलको उद्धार हुने कसरी ? साथै अपुतोका प्रति आउने स्वभाविक उपेक्षा, रामध्वज जस्तो दुनियाँको बराबरको तहमा चिप्लिने मानिसलाई, सह्य भएन होला । भो, जान दिनुहोस् यी कुरा ।

एउटा अर्को कुराको पनि शङ्का छ । छोरीलाई ‘माया’ भनेर त्यतिको प्यार किन गरेको ? के छोराको अभाव छोरीबाट पूरा गरेको ? तर त्यति मात्रै कहाँ ? उसलाई पढाउने, उसलाई लेखाउने, भानुभक्तको रामायणका साथै कथा–कहानीको किताब पनि दिने ! अझ काशीमा बस्दाखेरि त हिन्दी बोली पनि सिकिसकिछ ! ट्याप्प–ट्याप्प हिन्दी किताबमा भएका जम्मै कुराहरू निर्धक्कसित टिप्न सक्ने । यी सबै त रामध्वज जस्तालाई स्वभाविक थिएन । छोराको यति माया गरेर यस्तो पारिदिनु… ! ओहो ! आश्चर्य मान्नुभयो ? होइन, म सबै कुरा राम्ररी नबुझेर छोड्छु कहाँ र ? म नै बताइदिन्छु, सुन्नुहोस्–

रामध्वज सामाजिक मानिस । आचार–विचार, धर्म–कर्मका पक्का । हरेक प्रकारका उद्विग्नता र जीवनको निश्चित पानामा बाधा, व्यतिक्रम आउनै नदिने मानिस हुन् । तर यसमा उनको दोष नै के छ र की रत्‍नमाया पढिलेखिसकेकी रहिछ ! उनले आफ्नो जीवनमा व्यक्तिको निर्विघ्नता र सहजता त पाए आफ्नो दुनियाँदारीले, दुनियाँको प्रतिको नियमितताले । किन्तु उनले आखिरमा थाहा त यही नै पाए कि ‘म शिक्षितै भएर पो यतिको बुझ्ने भई आरामसाथ जीवन–क्रिया चलाइरहेको छु ।’ यसैले शिक्षाको प्रति उनमा कुनै उपेक्षाको भाव त हुनै सक्ने थिएन । तर कुनै अंशमा उपर्युक्त कुरा ठिक भए पनि, यही पक्का पनि हो, यो कुरा होइन । रत्‍नमायाको पढाइ–लेखाइमा यदि कदाचित् कहिल्यै पनि अलिकति बाधा जस्तोले चियाएको भए, रामध्वजको शिक्षा प्रियताले उहाँ कुनै काम गर्न सक्तैनथ्यो । किन्तु गत उनन्चास वर्षमा रामध्वजले आफ्नो ढाँचा काँचाले र भाग्यको सफलताले कुनै कममा बाधा भन्ने कुराको चालै पएका रहेनछन् । अतः रत्‍नमायाको विषयमा मुख्य कुरा यही हो । वस्तुतः रामध्वज बाधा हटाउने मानिस होइनन् कि स्वीकृतिबाटै बाधा पचाउनुमा उनको शिक्षा सहायक भएको उनको गत उनन्चास वर्ष हो । नत्रभने रामध्वजले पत्नी मरेपछि सन्तान वा कुलोद्वारको निम्ति मात्रै बिहा गर्नुमा उनको शिक्षा सहायक कताबाट हुन सक्थ्यो ?

अब अगाडि सुन्नोस् । थाहा पनि सायद पाउनुभएकै होला । त्यही रत्नमायाकै कुरा ! बुझ्नु भएन के ? त्यही युवक, रामध्वजको घरको पल्लोपट्टिको घरमा बसेको । उसैसित रत्‍नमायाको प्रेम छ । किन्तु पख्नोस्, ‘प्रेम’ भन्दैमा कुनै अर्को शारीरिक सम्बन्धको कल्पना चाहिँ नगर्नुहोला । त्यस्तो सन्दिग्ध कुरा भएको भए यस्तरी सजिलैसित मै पो कहाँ भन्न सक्थे र ? साथै रामध्वज जस्तोको घरमा र उसकी छोरीसित कुनै सन्दिग्ध कुरा पल्हाउने हावा नै उतातिर कसरी छिर्न सक्तछ ? त्यहाँको त जम्मै एकदम मान्य तिर कै पक्का छ, खँदिलो, सग्लो छ । त्यसैले त्यता एउटा साँचा अथवा ढाँचाबाहेक अरू केही पनि पाइएन । त्यहाँ त अक्सिजन जस्तो प्राणवृद्धि गर्ने वायु पनि त्यस ठाउँको परिमाण भन्दा बढ्ता आउन दिने कुनै प्रकारको चेष्टा रहेनछ । यसैले त त्यो रामध्वजको घर हो । त्यहाँ आकाङ्क्षा छैन, चलिआएको मात्रै छ । चढाउ–उतारको ठाँउ भए पनि अझसम्म कुनै त्यस्ता कुराले चियाएकै रहेनछन्, अवसरै पाएनन् । साँच्चिकैको कुरा त, रामध्वज ‘रामध्वज’ होइनन्, उनी त हाम्रो नेपालका, नेपालका यस टोलका, एउटा व्यक्ति हुन् ।

रत्‍नमायाको प्रेम रहेछ । रत्‍नमायाको बिहा पनि त्यही नरदेवी टोलतिरका कुनै ठाउँको मानिससित हुने भएको छ । यो कुरा पनि ठिकै जस्तो लाग्छ कि बाबुकी छोरी रत्‍नमाया, बाबुले सँगालेको परिधिलाई नाघ्नको त के कुरा, नाघ्ने कल्पनापर्यन्त पनि गर्न सक्तिन । किन्तु ननाघे पनि प्रेम त छँदै छ र रत्‍नमाया ढुङ्गा होइन; भित्र त रगत र मासुको मुटु छँदै छ । धेरै उपन्यास–कथाहरूको पठनले मानव–भावको प्रति त्यसको रूचि पनि तीव्र–स्पर्शशील छ । फेरि केही नभए पनि प्रेम त छ ! ह्रदयप्रति चरितार्थ भएर फुल्नु प्रेमको स्वभाव हो । यो कुरा हुन पाए ‘सुख’ हुन नपाए ‘दुःख’ भन्ने कुराहरू यसका अविचल नियम हुन् । तब सोच्नुहोस्, रत्‍नमायालाई हुने के ?

के भन्नुभो.. ? चाहे सुख होस्, चाहे दुख । शरीर संसारको हो, उसकै नियममा रहला, मन रत्‍नमायाको हो, उसले त्यसको प्रयोग आफैँ गरी दुवै ठिक छ । यही न ?

किन्तु मन र शरीरको सामञ्जस्य नभए ‘ठिक’ भन्ने कुराले ठिक्क तवरले ठाउँ पाउँदैन । यो कुरा अलि प्रष्ट पारेर बुझ्ने चेष्टा किन नगरौँ ।

मान्नुहोस्– रत्‍नमायाको बिहा भयो । प्रसन्नतासाथ रत्‍नमायाले पतिलाई वरण गरी । रामध्वज पनि सफल र सन्तुष्ट भए । बिहा कार्य सिद्धियो । दुलही–दुलहाको आवत–जावत पनि नयाँपन छोडेर वास्तविक स्थितिमा स्थापित हुनगयो । चारैतिर नाता, सम्बन्ध, नियम, विहित, धर्म र आचार इतयादिका भिडहरूले आफ्ना–आफ्ना बाटो तताए । अब केवल रत्‍नमाया र उसको लोग्ने पत्नीत्व र पतित्वको निम्ति परस्पर एक्लै शेष छन् । ‘पत्नी रिक्त छे कतैबाट’ भन्ने कुरा पति भन्नेले थाहा पायो । थाहा पाउनलाई बताउनुपरेन, थाहा हुन गयो ! अब भन्नुहोस् ‘पति असन्तुष्ट हुने कि नहुने ?

ठिक; अवश्य असन्तुष्ट हुने ! पत्‍नीको मन अर्कितर छ पत्नी उसकी हो ! यो पतिलाई सह्य नहुने किन ? तर सोद्धछु – सह्य नहुने किन ? आखिर बिहे नै त गर्‍यो, वैध नियमबाट शरीरको मालिक्याइँ प्राप्त गर्‍यो । शरीरचाहिँ शुद्धतापूर्वक, बिलकुल सत्यतापूर्वक, एकदम स्वच्छताका साथ पतिको अधिकारमा छ । साथै, शरीरले कहिले पनि भिन्न स्पर्श प्राप्त गर्ला भन्ने कुनै सानो आशङ्का पनि छैन । शरीरले आफ्नो हरप्रकारका नियम, संयमद्वारा यस्तो कुनै आशङ्कालाई उम्रन दिने ठाउँ नै राखिछोडेको रहेनछ । तब फेरि उपद्रव, असन्तुष्टिहरूले उठ्ने अधिकार कहाँबाट पाए ? किन, कसरी पाए ?

उत्तर छैन तै पनि बाधा उठिरहन्छ । निरन्तरको कार्यकलापमा जब सधैँ एउटा मौन विरक्ति वर्तमान नै रहन्छ र कहिलेकाहीँ साना–साना, नगण्य कुराहरूले पनि त्यही असन्तुष्टिको महास्रोतबाट सिञ्चित भएर आफ्नो विराट् वितण्डावादको रूप देखाई नै दिन थाल्दछन् भने कतै न कतैबाट कुनै ठुलो भुल अवश्यै रहन गएको रहेछ – जसलाई शुद्ध शरीरयुतको अति शुद्ध विवाहले पनि पन्छाउन सकेन भन्ने कुरा निश्चयपूर्वक आफैँ साबित हुन आउँछ ।

अनि, यस कल्पनाले विचार गर्दा आखिरमा यही कुरा सामुन्ने आयो– मनबाहेक शरीरको कुनै अस्तित्वै छैन । रत्‍नमायाले मन अर्कालाई दिएपछि शरीर त दिएकै रहिछ ! ‘मन’–जस्तो महान्‌लाई दिइसकेपछि शेष बचाउन सक्ने कुनै प्रकारको ‘अदेय’ वस्तु संसारमा सृजित भएकै छैन । जसलाई मन दिइएथ्यो, शरीरलाई पनि सहज भावले सुम्पिदिएको भए, सायद रत्‍नमायालाई प्रवञ्चनाले छुन सक्दैनथ्यो । कमसेकम एउटाको प्रति त रत्‍नमाया सत्य रहन सक्तथी, पूर्ण रहन सक्तथी ! किन्तु अब त त्यस ‘प्रेमी’ युवकतिर र चाँडै नै हेन पति दुवै तिर प्रवञ्चना, – दुवैतिर मात्रै होइन कि आफूलाई समेत लिएर तीनैतिर धोखा, सबैतिर छलमात्र सामुन्ने आयो । आखिर यो कुरा कसैलाई किन चिन्त्य भएन कि प्रेम दिएपछि फेरि उसको सत्यको पतिष्ठा नगरी भित्रको देउता कता जालान ? अब तपाईँ नै भन्नुहोस्, यतिका प्रवर्चनाको ठाउँभित्र ‘रामध्वज’ कता फालिन जान्छन् ? उनको सँचाबद्ध जीवन र त्यसको परिणाम रत्‍नमाया, दुवैले त यस वास्तविकतालाई छोप्न सक्दैनन् ! रामध्वजका समस्त प्रकारका बैध व्यक्तित्वबाट उकालो–ओह्लालोको मार्ग त अवरूद्ध हुन सकेन !

म त के भन्छु भने, यदि रत्‍नमायाले शरीरलाई अपवित्र पारिदिएकी नै भए हुने पति उस बखत शारीरकै अपवित्रतालाई लिएर आफूलाई अल्झाइहाल्दथ्यो; (भित्रतिर चियाउने प्रयत्न गर्ने अवसरै पाउँदैनथ्यो) निरन्तरको झगडा, कलह हुन्थ्यो, स्पष्ट र खोला गरेको स्थितिमा ! फेरि उसको एउटा–न एउटा तह लागि नै हाल्थ्यो– चाहे यता, चाहे उता; चाहे राम्रो, चाहे नराम्रो ! झगडामा स्पष्ट परिश्रम पर्न लागेपछि कहिल्यै त थकाइ लाग्थ्यो । कारण भएपछि परिणाम पनि सामुन्ने आउँथ्यो । तर यस अवस्थामा, जहाँ झगडा–कलह हुन, गर्न चारैतिरको ठाउँलाई साँचो र नियमले थुनिराखिएकै छ, कतैतिर छिद्र छैन भने भित्रभित्रै उम्लनबाहेक अरू हन्यै के होला ? थकाइ लाग्दै–लाग्दैन, त्यसैले निरन्तरको दाह, निरन्तरको जलन, सधैँको पीडामात्र सामुन्ने आइरहला । यस अवस्थामा रामध्वज, उनको साँचा, रत्‍नमाया र समस्त पार्थिव पवित्रता; टोल–छिमेक र उसभित्र रामध्वज–परिवारको श्रद्धा, कसैको केही पनि त लाग्दैन !

जम्मा तीन दिन शेष छ । त्यसपछि बिहा भएर निश्चिय र स्पष्टतापूर्वक रत्‍नमाया त्यही नरदेवी टोलतिरबाट आउने दुलहाकी दुलही भैहाल्छे । बिलकुल शास्त्रीय पात्‍नी रत्‍नमाया बन्न सक्छे, बन्ने पनि बन्छे यसमा कुनै, अलिकति पनि, सन्देह छैन । तब रत्‍नमाया, उसको प्रेम र उसको प्रेमी त्यो युवक — यी सबैको सृष्टि किन भयो ?

तपाईँ उत्तर दिनुहोला– ‘यो स्वभाव हो; मानिसलाई स्वभावको माथि पुग्नुपर्छ ।’ त्यसो भए कि स्वाभावै, कि मान्छे नै; दुवैमध्ये कोही यतिको तुच्छ छ जसको सृष्टि नै नहुनुपर्ने हो । किन्तु दुवै नभई जगत् ले बाटै पाउँदै भन्ने कठिनाइलाई के गर्ने ?

कुरा यत्तिकै हो । अब पर्सी वा निपर्सी रत्‍नमायाको बिहा नै हेर्नुहोला; अनि कथा समाप्त भैहाल्ने छ ।

चारैतिर बिहा हुने चाँजोपाँजोको धुमधाम छ । किन्तु उपन्यास पढ्न सक्ने रत्‍नमाया, एउटा किताबको पत्र पल्टाउँदै, उसमा भएको कुनै आदर्शवादिनीसित आफ्नो चरित्रलाई सामञ्जस्य दिने चेष्टा गरिरहेकी छे । बाबु रामध्वजको साँचा नै उसको बाह्य र आन्तरिक रूपरेखा, आकार –प्रकार सबै हो । त्यस परिधिलाई अतिक्रम गरेर विचार गर्न सक्ने त के कुरा, त्यस्तो वृत्तिकै निर्माण त्यहाँ रहेनछ । यता, ‘प्रेम’ स्वभाव हो । त्यसले राम्ररी आफ्नो डेरा जमाइसकेको छ । गत पाँच–सात दिनदेखि तयो छिमेकको युवक त्यसकहाँ आउँदै आएन । आउनुनपर्ने पनि हो ! तर रत्‍नमायाको मनमा त्यो नआएकै कारणले उसमाथि क्रोध, रिस किन उठिरहेछ ? रामध्वजले पनि दुई–चारपल्ट काममाजको चेपाचेपमा भने– ‘खोइ..आजभोलि गोविन्द- त्यही युवक)– ले किन आउन छोडे ? काम परेको बेलामा त झन् आउनुपर्ने… ! इत्यादि । रामध्वजको साँचाभित्र युवक पनि छ । त्यस हिसाबले उसको आवश्यकता पनि छ । युवक सच्चरित्र छ, सौम्य छ, भलादमी छ । रामध्वजको साँचामा उसको एउटा सीमित स्थान छ । किन्तु जहाँ त्यही साँचा नै कुण्ठा किन प्राप्त गर्छ ? यस अवस्थालाई कता फाल्ने ?

पर्सि रत्‍नमायाको जीवन परिवर्तित हुने छ । सुन्दर र सुन्दर भेषभूषामा, सुन्दर मनका साथ आएर एउटाले आफ्नो समस्त प्रेम दिने प्रतिज्ञाद्वारा उसलाई बाँध्ने छ । निश्चयत त्यसले प्रेम पनि देला, दिन सक्ला । फेरि सुन्दर गृहस्थी कि, सुन्दर घरमा, सुन्दर कोठाभित्रकी सुकुमार दुलही रत्‍नमाया अत्यन्त सफल, अत्यन्त कृतार्थ हुन जाली । रामध्वज पनि पूर्ण हुने छन्, साँचा मिथ्या हुन जाओइन । तर यी सबै सफलताभित्र त्यसको कुन स्थान होला, त्यो कता ठाउँ पाउला जसले अझसम्म रत्‍नमायाकै खुट्टामा आफ्नो सबभन्दा पूर्ण अमृत–अर्घ्य चढाएको छ ? फेरि एक्लै त्यही होइन, रत्‍नमायाले पनि त त्यही पूजालाई स्वीकार गरेर आफूलाई देउता तुल्याएकी थिई । कृतकत्य भएकी थिई ! तब यो कृतघ्घ्नता होइन ? पापको संज्ञाभित्र के यसको स्थान आउँदैन ?

रत्‍नमायाको सामुन्ने आयो–‘बाबु, इज्जत, गृहस्थी र स्वयं सद् रत्‍नमाया ।’ बिहा पर्सि नै हुने । मनको समस्त भक्ति, स्नेह, ममतालाई एक रस, एक धाराभित्रै, एकैतिर जीवनपर्यन्त झरिरहने स्वर्गीय परिकल्पना, शाश्वत विधान मङ्गलमय अनुष्ठान ‘बिहा’ ! बिहाको अमान्यता समस्त भूमण्डलमा कतै पनि छैन, त्यो अविजित हो । उसैभित्र बाबु, आमा, लोक, परलोक, समाज, धर्म सबैको सफलता छ । तर – रत्‍नमायाले रोक्ने चेष्ट गर्दा–गर्दै पनि आएको ‘तर’, के यी सबै हुनाले नै रत्‍नमायाको स्वयंको आफ्नो केही पनि छैन ? रत्‍नमाया स्वयम् आफ्नी होइन ? फेरि रत्‍नमायाको सृष्टि नै किन ? त्यो बिहा कस्तो होला, जसभित्र पत्नीको स्थान छ, किन्तु रत्‍नमायाको स्थान छैन । त्यस परिधिभन्दा परै रत्‍नमायालाई बस्नुपर्ला ।

आदर्श छ, मर्यादा छ, नियम (साँचा) छ, तर साथै आकाङ्क्षा छ, इच्छा छ, लोभ छ, ममता पनि छ । के यी दुवैको निरन्तर द्वन्द्वकै प्रतिफल रत्‍नमायाको भविष्य हुन जाने छ ? त्यसैमा त्यो असफल–विफल भई पिधिइरहिरहन्छे थिचिइरहन्छे ? फेरि त यी सब नियमै असफल हुन गए । सबै आर्दश, मर्यदा अत्यन्त हीन र निर्जीव देखिन आए । उनीहरूले त्यति ठूलो भक्त रत्‍नमायालाई नै जब ती सारा नै आएर यस्तो प्रतिफल दिन लाग्दछन् भने ती सबैको पूजा गर्ने कसरी ? स्थान दिने कहाँ ?

रत्‍नमायाको निम्ति कुनै उत्तर छैन । बिहा हुने तर्खर चलिरहेको छ । चर्म–चक्षुको अगाडि उत्साह छ, आमोद छ, सफलता छ, र सबै प्रकारको शुभको विधान छ । किन्तु रत्‍नमायाकै लागि जोरिन आएका यी समस्त शुभले उसलाई अँगालो हाल्न सक्ने महत्ता किन पाएनन् जसको अप्र्य स्वयं रत्‍नमाया नै हो ? प्रसादलाई शुभ पार्न सक्नेले देउतालाई नै कसरी अपवित्र पारे ? केही उत्तर छैन ।

अनि, सबै सिद्धियो । रत्‍नमायाको कल्पना, रत्‍नमायाको हृदय–मन्थन, रत्‍नमायाको सबै अत्यन्त वास्तविकले पनि रामध्वज र साँचाको अतिक्रमण गर्न सकेनन् । त्यसभित्र यी सबैको स्थान छैन । यसका निम्ति चाहे त्यो सङ्कुचित होओस् वा अत्यन्त क्षुद्र भनियोस् किन्तु यो रहन्छ ‘साँचा’ र त्यहाँ रहनेछन् ‘रामध्वज !’ आफआफैँमा पूर्ण व्यक्ति होइन कि रामध्वज नाउँमात्र भएको सहस्रौँमध्येको एउटा टुक्रा; अथवा ‘रामध्वज प्रतिनिधि ।’

प्रतिनिधित्व पूरा गरेर रामध्वज प्रतिनिधिले रत्‍नमाया कन्याको बिहा गरे । सबै रीति, क्रिया आदि पनि समास भए । शास्त्र–सङ्गत र थिति–सङ्गत सबैको तह लाग्यो । तब एक सुन्दर, सुकुमार समयमा, सबैको तह लाग्यो । तब एक सुन्दर, सुकुमार समयमा, सुन्दर शय्यामा, सुन्दर कोठाभित्र, सुन्दर पतिले त्यही रत्‍नमायाको लाजले परिपूर्ण निमीलित आँखालाई खोल्दै, त्यसमा आफ्नो अनुरागपूर्ण दृष्टि छर्ने चेष्टा गर्‍यो, गर्‍यो ! रत्‍नमाया काम्न थाली । ‘यो, ओहो ! यो त चिरपरिचित त्यही दृष्टि ! त्यही हो; त्यस्तै आकुलता, त्यही आकाङ्क्षाको अनुकरण यहाँ पनि त छ ! किन्तु ‘अनुकरण’– मात्रै; प्राण उपलब्ध हुने प्रकृतिकताको सट्टा स्वादिलो ताप ! के यतिका शुभभित्र यही कुरा आज यहाँ वरण गर्नुपर्ला ? के यसैका निम्ति त्यो यहाँ आएकी छे ? तब, आह ! के यत्तिका शुभभित्र सिँगारिएका सबै दम्भ मात्र थिए, सबै देखाउने कुरा मात्रै ? आज यसमा कुनै विशेषता किन प्राप्त भएन ? तब के वास्तविकता त्यही थियो जसलाई यत्तिको हृदयको पीडा दिएर रत्‍नमायाले ‘लिन नहुने’ भनी, विसर्जित गरिआएको रहिछ ? यही थियो भने त्यो पहिलेकैलाई नै विसर्जित किन गर्नुपर्‍यो ? यत्तिको पीडा, उत्ताप सबैलाई विषको घुट्को झैँ सही–सही घाँटीबाट किन तल उतार्नुपरेको थियो । तब यत्तिका संयम, आदर्श उच्चहरूले त्यसभन्दा बढ्ता शुचि, उदार दिनुको त के कुरा त्यसभन्दा अत्यन्त तलको केवल उत्तम, केवल प्रचण्ड, केवल पबल मात्रै दिए ? – जसमा आज स्निग्धता पनि छैन, महत्त्व पनि छैन । आज रत्‍नमायाले केही दिएकी रहिनछ, लिएकी मात्र मात्रै रहछि त्यसको प्रतिदान दिनु नै उसको जीवन हो । रत्नमाया आज अुनग्रहदात्री होइन, अनुगृहीत मात्रै छे !

पतिले रत्‍नमायालाई अङ्कमाल गर्‍यो । रत्‍नमाया पानी झैँ उसको काखमा ढल्किन गई । पतिले चुम्बन गर्‍यो, रत्‍नमायाका ओठ जल्न थाले । तर रत्‍नमायालाई यी सबै हुन लागेको थाहा छैन । एकाएक, उसले गरेको विसर्जनको एक दृश्य, त्यो युवकजस्तो प्रेम–दृष्टिको एउटा झल्को चिन्नलाई रत्‍नमायाका स्निग्ध आँखा अलि खुले । तर उफ ! यो के ? यहाँ त त्यो स्निग्धता, त्यो.. त्यो उत्सर्ग र मोहको पुण्यप्रद नम्रदृष्टिको सट्टा, यहाँ त..। रत्‍नमायाको प्राणले भन्यो, चिच्यायो–‘धोखा, छल, दम्भ । एकदम ठग्ने कुरा.. र ..।–( पतिले रत्‍नमायालाई छातीमा टाँस्यो) –र..। उफ ! आह ! ! रत्‍नमाया.. ! ! !

‘पत्नी’ रत्‍नमायाले बिहान हेरी– रामध्वजको, पतिको, टोल–छिमेक सबैको साँचा त्यस्तै छ, बिल्कुल अविशृङ्खल रूपमा । रत्‍नमायाले आफ्नो समस्त नारी–सर्वस्व लुटाएर पनि उसमा केही अलिकति पनि थप्न सकिन । रत्‍नमायाको कुनै दया, विशेषता, त्याग त्यसमा अलिकति पनि पर्न, पस्न गएका रहेनछन् । जम्मै त्यस्तै सुचारू छ; त्यस्तै संयमित, सुशृङ्खल । तब रत्‍नमायाको अन्तरबाट महाहाकारभित्र एउटा अव्यक्त, मूक प्रश्न उम्ल्यो–– ‘अन्तर्यामी ! फेरि आफूलाई ठगाउनु, लुटाउनु नै किन पर्‍यो ? कुन विशेषताका निमित्त, कुन फलका निमित्त ! हरे ! तब के यी सबै एउटा व्यवसाय मात्र थिए ? हाय स्वर्गको देउता ! तिम्रो हिसाव–किताब त तिमी नै बुझ, किन्तु जसका निम्ति आफ्नो सबै स्निग्धता, सबै तुष्टि, सबै सुख छोडेर आफूलाई नै होम गुर्नपर्‍यो त्यसले अलिकति कृतज्ञपर्यन्त नभएको कुरामा मैले कही भन्न नपाए पनि, मेरो यो अन्तरको देवताले कसरी क्षमा गर्न सक्ला, भगवान्….?

भक्तराज आचार्यले अम्बर गुरुङको गाली खाएपछि…

गाइने

एउटा रेडियो नेपालको युग थियो । जतिखेर गीत बज्दा अहिलेका एफएमहरूमा गायकको मात्रै नाम आउँदैनथ्यो । शब्द र सङ्गीतकारको नाम पनि सँगसँगै जोडिएर आउँथ्यो । नेपालका नम्बरी गायकहरूले शब्दको ओझ नहुँदा थुप्रै गीत फालिदिएका र शब्दकै कारण डायरी च्यातेर रेकर्ड नै गरेका किस्साहरू हामीमाझ छँदैछन् ।आज भने नेपाली सङ्गीत आकाशका विराट प्रतिभा अम्बर गुरूङ बारे केही जानकारी लिएर आएका छौं ।

नेपाली साङ्गितीक फाँटका विराट व्यक्तित्व अम्बर गुरूङको जन्म १९९४ फागुन १४ गते भारतको दार्जिलिङको मिलिङ कमानमा भएको हो । कहाँ गए ती दिनहरू संस्मरणका साथै अक्षरका आवाज, कहिले लहर कहिले तरङ्ग, सम्हालेर राख आदि गीतीसङ्ग्रह हामीमाझ छोडेर, सयौं वर्षसम्मका लागि आफ्ना आवाज सुरक्षित गरेर २०७३ जेठ २५ मा उहाँको भौतिक शरीर हामीमाझ विदा भयो ।

 

कैले लहर यो मनमा चल्छ, कैले आँधी चल्छ

आँखामा पानी किन भन त, मनमा आगो जब बल्छ

कैले तरङ्ग तालमा चल्छ, कैले नयनमा चल्छ

प्रश्‍नलाई पनि प्रश्‍न छ मेरो, भन पानी किन जल्छ

यस्तै कालजयी गीतका गायक, संगीतकार उनै गुरूङले अन्य धेरैले जस्तै दार्जिलिङ र नेपाल सम्बन्धमा थप मजबूत बनाउनुभयो ।

एउटा प्रसङ्ग छ, २०१८ सालताका दार्जिलिङमा भाषा आन्दोलको चरम उत्कर्षमा रहेकै बेला दार्जिलिङ् निवासी प्रख्यात कवि अगमसिंह गिरीको एउटा गीत रचना गर्नुभयो । नेपाली चाडबाड, भानुजयन्ति, नेपाली भाषा बोल्ने र चालचलनलाई अङ्गाल्ने नेपाल बाहिर बसेकाहरूलाई प्रवासी भनेको फिटिक्कै मन नपराउने अगमसिंह गिरीले लेख्नु भएको तथा नेपालीहरूले निकै मन पराएको “नौ लाख तारा उदाए” बोलको गीत राजनीतिक सन्देश भएको भन्दै अल इण्डिया रेडियोले प्रतिबन्ध लगायो । हुन त यो गीत पहिलो पटक गगन गुरूङले गाउनु भएको हो । पछि मात्रै अम्बर गुरूङले गाउनु भएको हो । यही गीत मन पराएका उनका प्रशंसक कला साहित्यलाई माया गर्ने राजा महेन्द्रले उहाँलाई आफ्नो जन्मोत्सवको अवसरमा (दोस्रो पटक) दरबार आउँदा नेपालमैं बस्न प्रस्ताव गर्नुभयो, त्यसपछि मात्रै गुरूङ यही बस्न थाल्नुभएको हो भन्ने चर्चा निकै पाइन्छ । अम्बर गुरूङले यो कुरा हल्ला मात्रै भएको बताउनु भयो । बरू भेटमा राजाले नेपाल एकेडेमीमा रहने वा अन्य के चाहन्छौ भनेर सोध्दा दार्जिलिङमैँ भाषा साहित्यमा काम गर्न खोजेको बताउँदा राजाले उच्च विचार भनेर प्रतिक्रिया दिएको भन्नुहुन्थ्यो । अरुणा लामा, गोपाल योञ्जन, आभास, शान्ति ठटाल, रञ्जित गजमेर, शिशिर योगी आदि उहाँका शिष्यहरू हुनुहुन्छ ।पछि रञ्जित गजमेर मुम्बईमा आर डी बर्मनको एक महत्वपूर्ण हिस्सा बने । यस बारे अर्को लेखमा उल्लेख गर्ने नै छु ।

सङ्गीतका सम्बन्धमा फ्रेडरिक नित्सेले सङ्गीतविना जीवन एउटा गल्ती मात्रै हुन्छ भन्नुभएछ । महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनले त आफू वैज्ञानिक नबनेको भए सङ्गीतकार बन्नेथिएँ भन्नु भएको रहेछ । सङ्गीतमैं जीवन जिएका गुरूङ नेपालमा सङ्गीतलाई मनोरञ्जनका रूपमा लिएको बताउनुहुन्थ्यो । यसैक्रममा सङ्गीत बजाउन जान्नेले पनि सङ्गीत लेख्न नजानेको बताउने उहाँले एक पटक ‘लोकगीत गाउँदिन’ भनेको विषयलाई लिएर साहित्यकार पारिजातले ‘नौ लाख तारा गीत लोकगीत बन्दैनन् भने अम्बर गुरूङको असफलता हो’ भन्नु भएछ । यस्तै उहाँले जीवनको उत्तरार्द्धमा आफू पप म्युजिकको विरूद्धमा नभएको तर नेपाली पप म्युजिकमा नेपाली लोकपन समावेश हुनुपर्ने बताउनु भयो । यस्तै उहाँको सुरूवाती समयमा विदेश पुग्दा भारतीय गीत मात्रै गाउनु भएका उहाँलाई स्रोताहरूले नेपाली गीत गाउन सल्लाह दिएपछि उहाँले नेपालीपनमाथि झनै ध्यान दिन थालेको भन्नुहुन्थ्यो । उहाँले लोकगीत तथा सङ्गीतबारे अध्ययन गर्न थालेपछि व्यापारिकतातर्फ बढी ध्यान पुगेकाले शब्द र धुनले नेपाली लोक गीतको हत्या हुँदै गरेको बताउनुहुन्थ्यो ।

एउटा रमाइलो किस्सा छ, भक्तराज आचार्यले एउटा प्रतिष्पर्धामा अम्बर गुरूङको कम्पोजिसनको गीत गाउनु भएछ । त्यही प्रतियोगितामा गुरूङ एउटा निर्णायक समेत भएकोमा गुरूङले सबै गर्नु तर कम्पोजिसनको कुरा नगर्नु भन्नुभएछ । अन्ततः उहाँले झुक्किएर गुरूङको कम्पोजिसन रहेको बताउनु भएछ । दुवैजनाले गोल्ड मेडल पनि पाउनु भएछ । पछि आचार्यले खुबै गाली खानु भयो अरे ।

सयौं गीतमा सङ्गीत भरेका गुरुङले नै नेपालको राष्ट्रिय गानमा सङ्गीत भर्नुभएको हो । राष्ट्रको हरेक उत्सव र शोकमा गाइने राष्ट्रगान एउटै भए पनि पहिलो छिटो र दोस्रो ढिलो हुनुपर्छ भन्ने उहाँ राष्ट्रियगानलाई हामीले चिन्नै नसकेको बताउनुहुन्थ्यो ।

प्रज्ञा प्रतिष्ठानमा सङ्गीत विशेषज्ञ, सङ्गीत प्रमुख, सङ्गीत संयोजक र सङ्गीत निर्देशक हुँदै नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा कूलपति हुनु भएका उहाँले देवकोटाका मुनामदन र कुञ्जिनी, घिमिरेका मालती मङ्गलेका साथै चलचित्रहरू मनको बाँध, जीवनरेखा, आदिकवि भानुभक्त वृत्तचित्र आदिमा पार्श्वसङ्गीत तथा स्वर दिनुभयो । महासङ्गीतकार, गोरखा दक्षिण बाहु चौथो, इन्द्रराज्यलक्ष्मी पुरस्कार, छिन्नलता गीत पुरस्कार, उत्तमशान्ति पुरस्कार, जगदम्बाश्री, नेपाली सेनाको मानार्थ महासेनानी आदिबाट सम्मानित गुरुङ उहाँले छाडेर गएको सिर्जनाहरूले नेपाल सङ्गीत आकाशमा उच्च सम्मानका साथ सयौं वर्षपछिसम्म रहिरहनु हुनेछ ।

उहाँले कैयन् होनहार शिष्यहरूमध्ये एक आभास पनि हुनुहुन्छ । जो गुरूङलाई गुरु मात्रै नभनेर सङ्गीतका चिन्तक भन्नुहुन्छ । अमेरिकी अभिनेता, संगीतकार, गायक जोनी डेपले शब्द एक्लैको कुनै सामर्थ्य नहुने तर संगीत भरेपछि भावनालाई छुने भनेजस्तै सङ्गीतका लागि सिङ्गो जीवन अर्पण गरेका अनि नेपाली सङ्गीतवादकहरूका साथमा विश्वलाई चिनाउने नेपाली मौलिकपनको अर्केस्ट्रा बनाउने अम्बर गुरूङको सपना यही शताब्दीमा सम्भव होला ?

माधव पाेखरेलकाे “गौरव गर्छु नेपाली भन्छु” गीत सार्वजनिक ।

मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष एवम् मकवानपुरे साहित्यकार माधव पोखरेलको नयाँ गीत “गौरव गर्छु नेपाली भन्छु” सार्वजनिक भएको छ । आज आधिकारिक रूपमा उहाँको आफ्नो युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । 

ल्यारिकल भिडियोको रूपमा आएको यो गीतको सम्पादक लोकेश भट्टले गर्नुभएको छ भने सङ्गीत शक्ति बल्लभ र स्वर सुमित खडकाकाे रहेको छ ।गीतलाइ म्युजिक एरेन्ज तथा मिक्सिङ निरज श्रेष्ठले गर्नुभएको हाे । सेभेन टिथ स्टुडियोमा रेकर्डिङ गरिएको हाे । जतासुकै जन्मे, हुर्के भाषा-भेष भएपनि मन नेपाली हो, भन्ने सन्देश बोकेर आएको यो गीतले नेपालीलाई एकसुत्रमा बाँधेको छ । मकवानपुरमा गत असार १ गते उहाँको रास्ट्रिय गीतको भिडियो सार्वजनिक भएको थियो ।

उसलाई मेरो आग्रह

बाध्यता र चुनौति अनेक आउलान्
साथ रहिदिनु तिमी
दुनियाँले त के के सोच्लान् तर
हात थामिदिनु तिमी ।

आफ्नो नजरमा राम्रो हुनु
अरूले के सोच्लान् मन नभुलाउनु त्यसमा
साथ रहिरहने छ सदैव मेरो
डर नमान्नु यसमा ।

तिमी मभित्रको एउटा संसार
जसमा रमाउने गर्छु म
परिवर्तन नहुनु तिमी
भाग्य, समय र ती अठोटझैं
तिरमिराएको छ यो मन सोचाइमा तिम्रो
रमाइरहेको छ यी आँखा साथ पाएकोमा तिम्रो
विश्वास गरेको छु तिम्रो
यसमा घात नगरिदिनु कहिल्यै
डर नमान्नु त्यसमा
साथ दिने छु जहिल्यै ।

मुस्कानमा तिम्रो रम्ने छु जहिले
साथ छाडी नजानु तिमीले
बाध्यता र परिस्थिति जस्तोसुकै आए पनि
चाहे मभन्दा धेरै राम्रो पाए पनि ।

रुमलिन्छु तिम्रो यादमा दिन अनि रात
जीवनको अन्तिमसम्म थामिदेऊ यी हात
सँगै बसी गरिदेऊ बात दुई मीठा मसँग
जीवनभर साथ रहिदेऊ नगरिदिनु घात ।

दिपिका लम्साल
बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल, कक्षा ८,

विचित्रको मेरो देश

सुन्दरताले विश्वको मुहारमा मुस्कान ल्याउँछ
प्रकृति भन्ने बित्तिकै साराको ओठमा नेपाल आउँछ
तर बिडम्बना
त्यो प्रकृतिको नारा भइसक्यो
गोर्खालीको राष्ट्रमा भ्रष्टाचार छाइसक्यो ।

कमजोर भइसक्यो अहिले वीरको देश
झुक्दै गइसक्यो अहिले नेपालीको भेष ।

विकास भन्ने यहाँको नेताको भाषण नेताको भाषण मात्र हो
विकासको नाममा एकअर्का बीच शासन मात्र हो ।

थाप्नु परेको छ झोली परदेशको अगाडी
थाप्नु परेको छ झोली परदेशको अगाडी ।
वीरको बच्चा किन पचासौं वर्ष पछाडी ?

हाम्रा उम्मेदवार
एउटा कुर्सीको लडाईँमा लड्छन्
पढेलेखेका जनता पनि
सबै कुरा सहेरै बस्छन् ।

उडाउँछन् पैसा यही राष्ट्रको
उडाउँछन् पैसा यही राष्ट्रको
जति नेता आए पनि कानै चिरिएको ।

भन्छन् यो देशलाई अष्ट्रेलिया बनाउँछु
पानीको समस्या हुँदैन १० वर्षमा मेलम्ची ल्याएर ।

देशमा माग्ने हुँदैनन् गरीबी हटाउँछु
देशमा माग्ने हुँदैनन् गरीबी हटाउँछु
मुख नछोपी हिँड्ने यहाँको वातावरण बनाउँछु ।

र अन्त्यमा यिनै गफले पैसा कमाउँछु
शिक्षाविना पनि म एक नेता कहलाउँछु
र देशैमाथि सबै ऋणको बोझ खनाउँछु ।

कति गर्छौ देशमा राज
कति गर्छौ देशको विनाश ।

नगर देशमा भ्रष्टाचार
नगर देशमा भ्रष्टाचार ।

यहीँ छ स्वर्ग यहीँ छ धर्ति
गोर्खालीको बच्चाच यहाँका डमरू
न्यायको ढोका ढकढकाउनु छ
यहाँ बनेर सुमेरू ।

पुस्कर पौडेल / बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल,कक्षा १०

कविता : भयको रहर / दीपक समीप

लमजुङको सोतीपसलमा जन्मेर पोखरालाई कर्मभूमि बनाएका दीपक समीप समकालीन पुस्ताका चर्चित साहित्यकार हुन् । उनी पचासको दशकदेखि गजल, गीत, कविता, कथा, लघुकथा, मुक्तक लेखनमा क्रियाशील छन् । उनले पोखरेली युवा सांस्कृतिक परिवार र गजल सन्ध्या पोखराको अध्यक्षको रूपमा समेत काम गरिसकेका छन् 

यिनका अलावा दीपक अन्य विभिन्न साहित्यिक संस्थाहरूमा पनि महत्त्वपूर्ण जिम्मेवारीमा रहँदै आएका छन् । दीपकले हालसम्म एक दर्जन भन्दा बढी साहित्यिक पुरस्कार र सम्मानहरू प्राप्त गरिसकेका छन् । पोखरामा गजलका धरोहर मानिने दीपक  युवापुस्तालाई साहित्यमा उत्प्रेरित गर्ने अभिभावकको रूपमा समेत चिनिन्छन् ।

आफ्नै लयमा निरन्तर सिर्जनाकर्ममा रमाएका दीपक समीप प्रकाशनमा भने उतिसारो हतारो गर्दैनन् । भूगोलभित्र नकोरिएको देश (गजलसङ्ग्रह २०६२) को प्रकाशनपछि हालसालै उनको दोस्रो कृति अक्षरअक्षरमा देश (मुक्तकसङ्ग्रह २०७८) बजारमा आएको छ ।

मलाई
बन्न मन थियो
हिमाल जस्तो
तर मेरा आँसुहरू पग्लेर
नदी बन्न सकेनन्

घरि घरि
मलाई असाध्यै डर लाग्छ
आफ्नो इमानप्रति
मभित्र
एक थोपा वीर्य नचढोस् उत्तेजनाको
ता कि
तिमीलाई एकान्तमा पनि
निस्वार्थ प्रेम गर्न सकुँ ।

अक्सर
म डराइरहन्छु
आफ्नै पुरुषत्वप्रति
कतै
ताँदोबाट फुत्केर भाग्छन् कि बाणहरू
ता कि रगतपच्छे बनाउँलान् कि
धरतीका कुमारी योनिहरू ।

मलाई भय छ
फूलहरूदेखि भय छ
मलाई भय छ
जूनहरूदेखि भय छ
मलाई भय छ
आफ्नै आँखादेखि भय छ
ता कि
देखुन् आँखाहरूले सिर्फ सौन्दर्य
नदेखुन् मेरा आँखाहरूले
कसैलाई कामुकताले
मलाई भय छ
मलाई आफैँदेखि भय छ ।

खासमा
मलाई
बन्न मन थियो
नदी जस्तो
तर नदीले पनि
बगाउन सक्दो रहेनछ
मेरा देशका दुःखहरू ।

दीपक समीप, पोखरा