खगेन्द्र संग्रौलाको जन्म वि सं २००३ मङ्सिर १० गते पाँचथरको सुभाङ गाउँमा भएको थियो । प्रगतिवादी लेखक संग्रौला हाल काठमाडौँमा बसोबास गर्नुहुन्छ । उहाँले मैनाली कथा पुरस्कार, २०४६ , कृष्णमणि साहित्य पुरस्कार, पद्मश्री साहित्य पुरस्कार, (आफ्नै आँखाको लयमा निबन्ध सङ्ग्रहका लागि, वि. सं. २०६८) प्राप्त गर्नुभएकाे छ । कथा र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गर्नुहुन्छ ।
कृतिहरू
फूलमाया (उपन्यास)
नलेखिएको इतिहास (उपन्यास, २०३४)
आमाको छटपटी (उपन्यास, २०३४)
सेतेको संसार (उपन्यास, २०४०)
हाँडीघोप्टेको जीतबाजी (उपन्यास, २०४०)
चेतनाको पहिलो डाक (उपन्यास, २०४०)
फाटेको लँगौटीले टालेको दिमाग (नाटक)
भविष्यको खोजी (नाटक)
हस्तक्षेप (कथा सङ्ग्रह, २०५२)
जनआन्दोलतका छर्राहरू (२०४७)
जूनकिरीको सङ्गीत (उपन्यास)
अनुवाद
संग्रौलाले विभिन्न भाषाका साहित्यिक कृतिहरू नेपालीमा अनुवादसमेत गरेका छन्। उनले अनुवाद गरेका केही कृतिहरू
युवाहरूको गीत (चिनियाँ उपन्यास)
शत्रु (म्याक्सिम गोर्कीको नाटक)
सरकारी निरीक्षक (गोगेलको उपन्यास)
अजम्बरी गाउँ (भियतनामी उपन्यास)
तारस बुलवा (गोगेलको नाटक)
फूल बेच्ने केटी (कोरियाली नाटक)
गुनिला चिनियाँ कथामाला (भाग १ देखि भाग ७ सम्म)
लु सुनका कथाहरू
होन्डुरसकी महिलाको हृदयको आवाज
मेरा बाको ईश्वर घोडाबाट लडेर थलापर्यो र त्यस भयानक दुर्घटनाबाट जगत्लाई हेर्ने मेरो दृष्टिकोणको बीजारोपण भयो । फुर्सदका क्षणहरुमा जब म आफ्नो अतीतलाई चियाउन खोज्छु, त्यस दुर्घटनाको सम्झनाले मेरो चित्तमा अतीतको विषादपूर्ण याद सोहोरेर ल्याउँछ ।
घोडा बेचियो, ईश्वर मर्यो र उसले बालाई साथै लिएर गयो । मेरो जीवनमा पलपलमा सुल्झाउनु पर्ने झ्याउलाहरू अनेक छन्, त्यसैले बाको घोडा र ईश्वरलाई सम्झेर अडिने फुर्सद मलाई छैन । त्यसो त घोडाको बिक्री र ईश्वरको मरणमा मलाई कुनै दुःख छैन र श्रद्धाले तिनलाई सम्झनु पर्ने कारण पनि छैन । तर समयको एक शृङ्खलामा जगत्को एक अँध्यारोे कुनामा बाको अस्तित्व थियो र त्यसै समयको अर्काे शृङ्खलामा जगत्को एक अँध्यारो कुनामा म छु । बा हुनुहुन्थ्यो र नै म छु । त्यसैले बालाई मैले श्रद्धाले सम्झना गर्नुपर्ने हो । तर बाको सम्झनासँगै गाँसिएर उहाँको घोडा र मृत ईश्वर त्रिशूलका तीन उपर्खुट्टी झैँ मेरो स्मृतिपटमा झम्टा मार्न आइलाग्छन् । घोडा र ईश्वरप्रति मेरो मनमा प्रगाढ वितृष्णाभाव छ । त्यसैले घोडा र ईश्वरलाई पन्छाएर एक्लै आउन नसक्ने मेरा बाको सम्झनाप्रति मेरो मनमा विशेष कोमलभाव रहेन । मृत ईश्वर निराकार र अगोचर भयो, त्यसको सम्झना दिलाउने गोचर वस्तु कतै केही छैन । बाको देह चितामा खरानी भयो, उहाँको सम्झना दिलाउने गोचर वस्तु पनि कतै केही रहेन । तर जगत्मा घोडाहरू रोबदार थर्कन पैदा गर्दै हिँडेका जब देख्छु, मृत ईश्वरको याद आउँछ । जब मृत ईश्वरको याद आउँछ, त्रिशूल समानका तीन भाइ मेरो मनोलोकमा झम्टा मार्न एकसाथ आइलाग्छन्— घोडा, मृत ईश्वर र बा ।
अस्तिताका धेरै कालपछि मेरा एक जना दाइसँग मेरो भेट भयो । भेटमा अतीतका सुख र दुःखका घटनाहरूको स्मरण गरियो । अतीतको पत्रमा धेरै पर ओझेल परिसकेका घटनाहरू कोट्याउँदै जाँदा दाइ बालाई सम्झन पुग्नुभएछ, र भन्न थाल्नुभो, “हेर भाइ, हाम्रा बा हाम्रा लागि सर्वस्व दिएर अकालमै जानुभो । त्यसैले बाको सम्झनामा यसो केही किन नलेख्ने ?” दाइका वचन मेरो मनको भित्तोमा थुरिएका मात्र के थिए त्रिशूलरुपी तीन भाइ मेरो स्मृतिपटमा झम्दा मार्न आइहाले— अघि अघि घोडा, माझमा मृत ईश्वर, पछिपछि बा । दाइ बडो भावुक मुद्रामा हुनुहुन्थ्यो । मनका कटु भावना भाषामा प्वाक्क भनेर उहाँको चित्तको कोमल कुनोमा चोट लगाउन मलाई उचित लागेन । अनि गम्दै म भन्न थाले“, “कुरा ठिकै हो, दुनियाँमा सबैका बा आफ्न सन्तानलाई सर्वस्व दिएरै जान्छन् र बाँचेका सन्तानहरूले मरेर गएका बालाई श्रद्धाले सम्झन्छन् । स्मृतिको यो लिखत नै सबैभन्दा सच्चा र दिगो हुन्छ । अरु खै के लेख्ने ?”
एकाध दिनपछि दाइ तराईतिर ओर्लनुभो । हाम्रा संवादहरूले मेरो मनका पुराना चोटका खाटाहरू कोट्याइदिएछन्, उदास अनुभूतिले मलाई डस्न छाडेनन् । पुराना दिनहरू बिर्सन खोज्यो, कटु सम्झना झन् झन् ताजा भएर आउने । बाका घोडाले मेरो अन्तरमा कताकता कुल्चिरह्यो । मृत ईश्वरको लासले मलाई एकनासले गाँजिरह्यो । र, बाको सम्झनाले मनमा उदास भाव जगाइरह्यो । म अब गम्न थालेँ “दाइको मन पनि रहने, आफ्नो मन पनि तैबिसेक हलुङ्गो हुने, अतीतको त्रासद स्मृतिलाई शब्दका सिक्रीले उनेर जगत्सामु कागतमा म किन नपछारूँ ?“ तर आफ्नै कल्पना मलाई बडो भयानक लाग्यो । बाको नाउँमा घोडाको जीवनी लेख्दा दुनियाँले मलाई भन्ला— देख्यौ, त्यो फेलानो घोडाको जीवनी लेखक हो, परम् पशुपूजक ।
जीवन कठोर छ । जीवनका तथ्यहरूको सामना गर्न सजिलो छैन । भन्नेहरू जेसुकै भनुन्, म मेरो अतीतको अन्धकारलाई च्यातेर दुनियाँछेउ राख्न चाहन्छु । त्यो विराट् अन्धकार, जसको गर्भबाट म जन्मेथेँ ।
मेरा बाको एउटा घोडा थियो— कथा यसरी सुरु हुन्छ । त्यो घोडा सम्पन्नता र सोखको प्रतीक हैन, विपन्नतालाई छोप्ने रामनामी खोल थियो । म तेह्र–चौध वर्षको छँदा घोडा ल्याइयो, म पन्ध्र–सोह्र वर्षको पुग्दा घोडा बेचेर खाइयो । त्यस कालका सुखद र सुन्दर स्मृतिहरू मसँग छँदै छैनन् भने पनि हुन्छ । जे छ त्यै घोडा छ, त्यसका कठोर टापले कुल्चेका चोटहरू मनमा छन्, तिनै चोटका वेदनामय सम्झनाहरू मनमा छन्, र ती सम्झनाहरू घोडाको कडा गन्धमा हुँडलिएर आउँछन् । दुनियाँलाई यो कुरा सुनाउँदा मलाई कुनै स्वप्न–ऐँठनको भयावह वर्णन गरे झैँ लाग्छ— बाको जीवनमा घोडा नायक थियो, र बा आफ्नो जीवनको आफैँ खलनायक । घोडा मानौँ प्रकाशपुञ्ज झैँ थियो, र बाचाहिँ“ घोडामुनिको तुच्छ छाया । बाको जीवनमा घोडा सबै थोक थियो— उहाँको अस्तित्व, उहाँको अस्मिता, उहाँको रोब, उहाँको मै हुँ भन्ने भावनाको सिङ्गो चिनारी । घोडा गयो र घोडाको बिदाइसँगै बाको स्वत्व हरायो । घोडा गयो, र घोडाको बिदाइसँगै बाको ईश्वरको सत्ता हल्लियो ।
म सम्झन्छु— घोडा, ईश्वर र बामाझको तीनकुने सम्बन्ध हेर्नलायकको थियो । जब घोडा आयो, बाको ईश्वरभक्ति हलक्कै बढेर गयो । बिहान–बेलुकी नित्य पञ्चाङ्ग पूजा हुन थाल्यो । पूजापाठ त अघि अघि पनि हुन्थ्यो नै, तर अब भने बाको आस्थामा उल्लास थपियो । शङ्ख–घण्टको बजाइमा नयाँ रौनक आयो, गीता पाठको समय लम्बियो, पाठ गराइको स्वरलहरीमा लयात्मकता र माधुर्यको पाइन भरियो । मानौँ ईश्वरभक्तिको बलले घोडा आयो, अथवा घोडाको भेषमा आँगनमै ईश्वर प्रत्यक्ष भयो । भन्न गाह्रो छ, त्यो पूजापाठ घोडा मार्फत ईश्वरको भक्ति थियो वा ईश्वर मार्फत घोडाप्रति समर्पित थियो ।
मलाई थाहा छ, बाको घोडाभक्तिको आफ्नै दुःखद परम्परा थियो । बाका बाउबाजे गाउँठाउँका हुनेखाने रहेछन्— बडा बडा घोडाका मालिक । तर सामन्ती तामसको खेलमा फाँडिँदै जाँदा र सन्तानको लावालस्करमा बाँडिदै जाँदा बासम्म पुर्ख्यौली हिङका के कुरा हिङ बाँधेको टालो पनि आइपुगेनछ । तर संस्कारको माखेसाङ्लोमा झुन्डिएर दुःखका गाँडहरूको माला भने रहिरहेछ— मै हुँ भन्ने भावनाको तामस, जगत् थर्काएर खाने फुइँ, घोडा चढेर माथिबाट दुनियाँलाई तल देख्ने मनोकाङ्क्षा, आदि । र यिनै दुर्दमनीय भावनाहरुको केन्द्रीय अभिव्यक्ति थियो त्यो टट्टु घोडा ।
अहिले घोडा र बाको दिनचर्या सम्झँदा विषाद र हाँसोको विचित्र भावना मेरो मनमा उब्जिन्छ । बा घोडा चढेर खोरिया खन्न जानुहुन्छ, घोडा चढेर खेत जोत्न जानुहुन्छ, घोडा चढेर बेसाहा खोज्न जानुहुन्छ । मरी मरी खोरिया खनेको कसैले देख्दैन, तर बाले घोडा चढेको दुनियाँले देख्छ । आँत सुकाई सुकाई खेत जोतेको कसैले देख्दैन, तर बाले घोडा चढेको दुनियाँले देख्छ । मनमा सन्ताप र ग्लानि बोकेर बेसाहा खोज्न हिँडेको कसैले देख्दैन तर बाले घोडा चढेको दुनियाँले देख्छ । जीवनको त्यो नाटक कति अनौठो थियो— भित्र भित्र खोक्रो, बाहिर बाहिर मखमली खोलले छोपेको मुलायम बोक्रो । तैपनि, म कल्पना गर्छु, घोडा पाल्नाका आफ्नै फाइदा पनि त हुँदा हुन् । घोडाको गौरवमय व्यक्तित्वको बलले यसो सरसापटी वा बेसाहा हात लगाउन सजिलो हुँदो हो, गोठाला–खेतालाको चाँजोपाँजो मिलाउन अनुकूल पर्दाे हो, दुनियाँको हुलमाझ आफ्नो अलग्ग चिनारीको मौलो गाड्न होलो पर्दाे हो र छोराछोरीको बिहाबारीको भारी बिसाउन कर पर्दाे हो ।
अघि नै भनिसकेँ— घोडा त्रिखुट्टीको निर्विवाद नायक थियो । तैपनि बाका जस्तै घोडाका पनि आफ्नै कथा र व्यथा थिए । त्यो यति पुड्को थियो, त्यसमाथि सानले सवार हुँदा बाका खुट्टाले रौँ प्रमाणले मात्र भुइँ छुन्नथे । गाउँमा हुनेखानेहरूका गजप–गजपका घोडा थिए— कसैका दरा दरा अन्वाडाल, कसैका बडाबडा खासु । अरुका घोडा चौबिसै प्रहर आङमा चञ्चल तरङ्गहरू खेलाउँदै उभिन्थे, बाको घोडा बुढी भैँसी झैँ जथाभावी घ्याच्च बस्थ्यो । अरुका घोडा खँदिलो, फर्फराउँदो हग्थे, बाको घोडा बाह्रैमास छेर्थ्यो । दुःखद भए पनि यस प्रसङ्गमा एउटा रोचक कुरा छ । त्यो के भने, अरु घोडचढीसँग कुम जोडेर बाले घोडा कुदाएको मैले कहिल्यै देखिनँ । गाउँको थाप्लोमा पट्टेर जङ्गलमाझ फराकिलो फाँटमा दुदी हप्तामा हाट लाग्थ्यो । जगत्–सम्राट झैँ अरु घोडावालहरू गर्जन–थर्कनसाथ जगत्लाई आफ्नो विराट् रूपको जनाउ दिन घोडा कुदाउँदै हाट भर्न जान्थे । अवश्य रेस हार्नाको त्रासले होला भन्ठान्छु, बा छुट्टै, एक्लै, हाट भर्न जानेहरूको हुलसँगै सवार हुनुहुन्थ्यो— ल्याख्य्राक ठ्याक, ल्याख्य्राक ठ्याक । लघु घोडाले बाको तामसी चित्तमा पैदा गरेको लघुताभास, त्यसको गहिरो चोट, त्यस चोटको असह्य पीडा— म उदास मुद्रामा अहिले त्यसको कल्पना गर्न सक्छु ।
जब घोडा थियो, घोडा हुनाको एउटा ठुलो भावनात्मक फाइदा थियो । सामन्ती संस्कार र संस्कृतिको कठोर छायामुनि हाम्रो विशाल परिवार मसानघाट जस्तो थियो— हर्दम मौन, साम्सुम्म र चकमन्न । मानौँ त्यहाँ मानवीय भाषाको अस्तित्व नै छैन, मानौँ त्यहाँ आपसमा भाव–सञ्चारको खाँचो नै छैन । त्यो मौन तब भङ्ग हुन्थ्यो जब अह्रन–खटन वा गाली–गलौजको खाँचो पर्थ्यो । तर घोडाको घन्टीलाई अँठ्याउन दमनकारी सामन्ती संस्कृतिको के तागत ? घोडाको गर्धनको एक एक चालसँगै घन्टीले मधुर ताल दिइरहन्थ्यो । र त्यो उच्चाटलाग्दो सन्नाटामा जीवन–तरङ्गहरू सञ्चार हुन्थे ।
जब बाको ईश्वर जीवित थियो, ईश्वर हुनाको पनि एउटा ठुलो फाइदा थियो । ईश्वरभक्तिका निमित्त पञ्चाङ्ग–पत्थरको पूजा हुन्थ्यो । शङ्ख, घण्ट र डमरुको एकीकृत आवाजले परिवारको प्राणघाती सन्नाटालाई चिरा चिरा पार्थ्यो र ती चिराका माझमा जीवनका ज्युँदा लहरहरू सल्बलाउँथे । सबैभन्दा मोहक र आल्हादक त बाको गीता पाठ नै हुन्थ्यो । बाका स्तोत्रहरूमा जीवनको प्रकाश थियो वा मृत्युको छाया त्यो त म बुझ्दिनथेँ । तर बाको लयात्मक स्वरमा टनाटन भरिएको सुमधुर सङ्गीत, त्यसको मनमुग्धकारी सौन्दर्य, त्यसको उल्लासमय ताल र स्पन्दन— मेरो शुष्क प्राणको त्राण थियो त्यो, बिछट्टै रमाइलो ।
अनिकालको राहुले जब जीवनलाई ग्रास गर्यो, बेसाहाका निमित्त घोडा बेचियो । घोडा जब बेचियो, बाको नित्य पूजापाठमा अचानक सुस्ती देखापर्यो । मानौँ घोडाको बिक्रीबाट ईश्वर यति शोकाकूल भयो, त्यो ढल्यो र मर्यो । अब आक्कलझुक्कल, औँसी–पूर्णिमामा मात्र शङ्ख, घण्ट र गीता पाठको क्षणिक आवाज सुनिने भयो । मानौँ बाको ईश्वर मरेकै हो र अब कहिलेकहीँ त्यसको सम्झनामा श्राद्ध मात्र हुन्छ ।
घोडा गयो र बाको जीवनमा उल्लास अस्तायो । ईश्वर ढल्यो र बाको जीवनमा आस्था ओझेल पर्यो ।
सत्कर्मको बाटोमा होस् वा दुष्कर्मको बाटोमा, जीवनलाई क्रियाशील र जिउँदो राख्न एउटा आस्था चाहिन्छ । आस्थाको दियो निभेपछि जीवन नीरव, निस्सार र उजाड हुन्छ । आस्थाप्राप्तिको साधनाक्रममा मृत्यु नै हात लागेछ भने पनि आस्थाको प्रकाशले त्यस मृत्युलाई सुन्दर तुल्याउँछ । लोककल्याणको महान् आदर्शका निमित्त आफूलाई समाजका काला शक्तिहरूका हातमा बलि चढाउने महात्माहरू बधस्थलमा जीवनको अन्तिम घडीमा पनि मुस्कुराउँछन् भन्ने कुरा मैले धेरैतिर पढेको छु । मलाई लाग्छ, त्यो मुस्कान आस्थाको प्रकाशको मूर्त रूप हो । घोडाप्रतिकै आस्था किन नहोस्, जतिन्जेलसम्म आस्था थियो, बाको जीवन रसिलो थियो । आस्थाको संसार जब ढल्यो, बाको बाँकी जीवन आफ्नै पिठ्युँको गह्रुङ्गो बोझसमान भयो ।
घोडासँगको बिछोड र ईश्वरप्रतिको मोहभङ्गले होला सायद, बा थला पर्नुभो । घोडा बेचियो, र घोडाबाट लडेर ईश्वर मर्यो । उत्तराधिकारमा मलाई न घोडा आयो, न ईश्वर । बा बित्नुभो, र म टुहुरो भएँ । जीवनको कठोर वास्तविकताले मलाई ठाडो आदेश दियो— भाइ, जगत्मा जिउनु छ भने तँ आफ्नो दृष्टिकोण आफैँ खोज् । अनि दृष्टिकोणको खोजीमा म सङ्घर्षमय जीवन–यात्रामा बाटो लागेँ— घोडाबेगर, ईश्वरबेगर र बाबेगर ।