Home Blog Page 82

हास्यव्यङ्ग्य : साइकल र भुँडी / संप्रस पौडेल

अहिले मसँग साइकल छैन । धेरै पहिले जीवनमै एउटा साइकल किनेँथेँ । त्यही चढेँ, थोत्रो पारेँ । सिध्याएँ । एउटा बाइक चढेँ, थोत्रो पारेँ, चढिरहेछु । यही हिसाबले म एउटा गाडी किन्छु होला । थोत्रै हुन्ज्याल चढ्छु होला । घर, टोल छरछिमेक र विद्यार्थीहरू म आ‌एको एक किलोमिटर परैबाट थाहा पाउँदा हुन् ।

आफूले नचढ्दैमा कसैका लागि गाडी चढ्नु कुनै रहरको कुरा पनि रहेन । तर साइकल चढ्नु अनिवार्य भैसकेको छ । ‘मर्निङ वाक’ जाँदा साइकल चढ्नेहरूले ज्यादै पसिना निकालेको देख्छु । त्यति हतार गरेर साइकल चढ्ने हो भने गाडी चढे भैगयो जस्तो पनि लाग्छ । पसिना नै निकाल्ने हो भने गर्मी महिनामा सिरक ओढे पनि निस्कन्छ भन्ने पनि थाहा छ । तर साइकल चलाएर पसिना निकाल्नुको मज्जै बेग्लै हुँदो हो । मेरो छिमेकी चार लाखको साइकल चलाएर पसिना निकाल्छन् । सायद बास्ना पनि आउँदो हो । तर चार लाख लगानी गरेपछि प्याडल पनि आफैँले पेल्नुपर्ने देखेर चकित भने भैरहन्छु ।

सोच्दासोच्दै भर्खरै एक्कासि एउटा बडेमानको भुँडी साइकल चढेर गयो । भुँडीको तौलले टायर लचक्क थियो । हुन त त्यहाँ भुँडी मात्रै थिएन । त्यसका ज्यान पनि थिए । तर साइकल नै भुँडीका लागि किनेकाले नाक, कान, टाउका, गिदीका के कुरा र ? कोही गिदी घटाउनलाई साइकल किन्दो हो र ? जो किन्छन् भुँडीका लागि मात्रै किन्छन् ।

यसरी हेर्दा वर्तमान समयमा भुँडी रूस र युक्रेन, अमेरिका र उत्तर कोरियाजत्तिकै नजिकको शत्रु हो । यो खानदानीको पहिचान र आम्दानीको स्रोत नभ‌एर गन्धगीको भण्डार मात्रै हो ।
अँ कुरा साइकलकै । पहाडी गाउँमा मिलबाट चामल बोक्ने साइकल सहरमा भुँडी बोक्छ । अर्काको भुँडी बोक्दैमा यसलाई गर्भवतीचाहिँ भनिँदैन । किनभने यसको आफ्नै भुँडी हुँदैन । पति वा पत्नी जोसुकै होउन्, अर्काको दोब्बर भुँडी बोक्दा पनि साइकललाई ‘दुई जिउ’ को भन्न पनि त सकिन्न नि । तथापि ’दुई जिउ’ की पत्नीको भुँडी बढ्दा पति खुसी नहुने कुरै भएन । खुसी हुनुको एकै कारण छ- यस्ता भुँडीमा बोसो नबढेर भ्रूण बढ्दै गएको हुन्छ ।
तराईमा किसानका दाउरा र विद्यार्थीका किताब बोक्ने साइकल आजकाल राजनीतिक नारा बनेका छन् । यसरी पढाउने र बचाउने मात्र नभ‌ई लडाउने कुरामा पनि साइकल सदैव अगाडि छ । यही मुद्दाले प्रदेश सरकार मात्रै पटक पटक लडाइसक्यो । उता सङ्घीय सरकारका मन्त्रीलाई पनि साइकलले पेट्रोल खाएर लडाएर अहिलेसम्म उठ्न सकेको होइन ।

आफ्नै टोलमा निदाइरहेका बालबच्चा च्याँठिने गरी बुलेट बाइक कराउँछ । आजकाल डिजिटल्ली हेराहेर गरेर फिजिकल्ली भित्र्याइएकी दुलही गुनासो गर्छिन् । नयाँ भाइरल ट्रेन्डअनुसार बुलेटमै चढाएर भित्र्याए । पहिले फोटो भिडियो खिच्नका लागि, अहिले चामलको बोरा र ग्यासको सिलिन्डर बोकाउनका लागि । बाइक चढ्नेका पनि साइकलभन्दा चर्का कथा होलान् ।

साइकलभन्दा झन्डै ६० वर्ष कान्छो रेडियो बेपत्ता हुन लागिसक्दा पनि साइकल नयाँ नयाँ ढाँचामा बजारमा आइरहेकै छ । श्रीपेच लाउन नपाएको युवराजले चढ्ने बाइकदेखि मैले चढ्ने एक्ससिडीसम्म आइपुग्दा पनि मोटरसाइकल जस्तै साइकलको भाउ भने बढेका बढ्यै छ ।

पहिले गाउँमा मोटरसाइकल मोह बढेर रहर गरेकोमा अहिले सहरमा हुँदा साइकलको अभाव खड्किरहन्छ । बरू आफ्ना दुख यसरी पोखेपछि तपाईँका पनि सम्बोधन हुन्छन् कि ?
केही सार्वजनिक दुख छन् । जस्तो हेलमेट भ‌ए साइकल चलाउँन हुन्थ्यो, साइकलै छैन । आफ्नै गाडी चढेर भुँडी बढेपछि साइकल चलाउनुपर्दो रैछ, गाडी नै छैन । थोत्रो मोटरसाइकल बेचेर केही लाख थप्न पाए साइकल किन्न सकिन्थ्यो ।

बोसो घटाउन नै साइकल चढ्ने अनुभविसँग सोध्न मन छ, फोनिक्सको ’बुढो’ साइकलले भुँडीको बोसो घटाउला‌ कि नघटाउला ? योग गर्न नजानेमा उल्टो असर हुने भने झैँ भुँडीबाट बोसो गिदीतिर सर्‍यो भने कम्पनीले क्षतिपूर्ति दिन्छ कि दिँदैन ?

कुप्रिएर बस्दा ढाड दुख्छ, कुप्रिएरै साइकल चलाउँदा ढाड दुख्ला कि नदुख्ला ? महिनामा २५ दिन साइकल चलाएर ५ दिन थेरापी गर्नुपर्छ कि पर्दैन ? नजानेको विषयले म रनभुल्ल हुन्छु ।

मलाई पत्यार लाग्छ- सरकार पुलिसलाई साइकलमा हिडाउँछ, चोरहरू बाइकमा भागिरहेछन् । विद्वान्‌हरू विकास र समृद्धि साइकलमै छन् भन्छन् ।
जेहोस्, विद्वान्‌कै कुरा सुनेर साइकल किन्ने सोच गरियो । तर साइकलको रङ हेर्नु पर्ला कि नपर्ला ? अनुहार, जिउडालमा ख्याल गर्नु पर्ला कि नपर्ला ? ट्युसन कक्षा लिएर पनि साइकल चढ्नैपर्ने भएको छ ।

तर साइकल मात्रै चलाएर हुन्नँ रैछ । साइकल चलाउँदा बोक्ने झोला पनि बेग्लै हुँदोरैछ । बिहान र बेलुका बोक्ने झोला फरक फरक त होला नि ? झोला भ‌ए साइकल किन्न हुन्थ्यो, साइकल छैन ‌।

तपाईँ शिक्षक, निजामती वा कुनै संस्थाको कर्मचारी हुनुहुन्छ र तोकिएको पोसाक कहिलेकाहीँ त लगाउनु हुन्न होला । तर ख्याल गर्नोस् नि, साइकल चलाउँदा चाहिने ड्रेसकोडको ज्यादा भ्यालु छ । त्यो नलगाए तपाईँको साइकल र टोकरीमा आँप कोचेर धकेल्ने साइकलको मूल्य उत्तिकै हुन्छ ।
अझ वातावरण दिवसमा गाडीमा साइकल बोकेर पनि दिवस मनाउन पुग्नुपर्छ । तपाईँ प्रमुख अतिथि हो भने आयोजकहरू तपाईँभन्दा पहिल्यै गाडीमै पुगिसकेका हुन्छन् । साइकल चलाउन थालेपछि गाडी चलाउनका लागि अतिरिक्त चालक पनि चाहिँदो रहेछ । साइकल पाल्न पनि कमाउनु पर्दोरहेछ ।
जिममा फलामका डल्ला उचालेर प्रोटिन खाए जस्तै साइकल चढेपछि दानापानीमा ख्याल गर्नुपर्ला कि नपर्ला । साइकल नै चलाउनका लागि खानपान, भेषभूषा, जुत्तादेखि टोपीसम्म फरक फरक हुनुपर्छ भन्ने बुझेर भाउन्न हुन्छु । अँ साँच्ची ! साइकलमा स्लाइनको व्यवस्था पनि हुनपर्छ ।
यति बग्रेल्ती प्रश्न गर्न जानेपछि म ढुक्कले साइकल चढ्न सक्छु । तर अझै एउटा प्रश्न निस्कन्छ- के भुँडी घटाउने साइकलमा पनि मेल र फिमेल भन्ने विभेद छ ? यो प्रश्न मनमा आएपछि झुक्किएर झिस्मिसेमै पत्नीको झुम्कावाला टिसर्ट लाएर मर्निङ वाक जाँदा बाटाका मान्छेहरू मलाई हेर्दै हाँस्दै गरेको दृश्य सम्झन्छु । म त्यस्तै हुने भयले साइकल सम्झेर झनै रातोपिरो हुन्छु ।
जदौ !
संप्रस पौडेल, मकवानपुर

कविता : अङ्क गणितको व्याकरण / वैकुण्ठ लामिछाने

२०५४/०५५ बाट लेखन यात्रामा साधनारत कवि वैकुण्ठ लामिछाने व्यवस्थापन शास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । उहाँ सूचना प्रविधि व्यवसायीका रूपमा स्वरोजगार रहँदै आउनुभएको छ । विद्रोही चेतका कवि लामिछानेका विभिन्न एकल कविता वाचन कार्यक्रम भइसकेका छन्, भने उहाँ कविता, गजल, कथालगायतका विधामा निरन्तर कलम चलाउँदै आउनुभएको छ ।

झिकेर क्याल्कुलेटरको मस्तिस्कबाट
अङ्कगणितका अवयवहरू
ऊ प्रत्येक क्षण सकी/नसकी मिलाइरहेकै छ
जिन्दगीको अङ्क गणितको व्याकरण
तर पनि किन प्रत्येक रात
यसरी मध्य निद्रामा तर्साइरहन्छ
अङ्क गणितको अङ्कको औजारले कोपरेर
उसैको मस्तिष्कको भाडाको कोठाको संवेदना

चिथोरेर निद्राको विश्वविद्यालय
यो मध्यरातमा
के पढाउन खोजिरहेछ जिन्दगीमा ?

भर्खरै समयको ज्याला कारखानाबाट
आजाद घोषणा गरेर
थकानको घट्टमा पिसिन
लम्पसार फालिएको काँचो मासुको थुप्रोमाथि
मध्यरातमा यसरी करङको नलिहाड चिथोरेर
कुन अजकल्टो चेतना
बैङ्क किस्ताको म्यासेज उसको कानको जालीसम्म पठाइरहेछ
र बजाइरहेछ उसको निद्रामा छुट्टीको घन्टी
स्कुलमा जस्तो छुट्टीको घन्टी बज्दा सधैँ खुसी नहुने रहेछ जिन्दगी
सुका मोहोरमा रमाइरहँदा
थानको ढुङ्गाको देवता
के ऐँजेरु पलाएको छ, क्याल्कुलेटरको मस्तिष्कमा
र अङ्कका जहानहरू नै करकर खाइरहेछन्
उसका रगतमासीहरू
किन यसरी हुँडलेर उसको मस्तिष्कको गैरीखेत
बाउसे खेलिरहेछन् अङ्कगणितका पाहुनाहरू
ओसारेर अँध्यारोको कलमी
निद्राको जरा किन उखेलिरहेको छ समय
समय कुन आदेशले
चेतनाको इङ्कुबेसन कारखानाबाट
यो मध्यरातमा यसरी
भद्रगोल अङ्कका चल्लाहरू नियोजितको कोरलिरहेछ
चिथोरेर थिलथिलो मस्तिष्क
अङ्कगणितको कतिऔँ जन्मोत्सव मनाइरहेछ
नियोजित क्याल्कुलेटर
छोराको युरोप जाँदाको बैङ्कको सुकिलो ऋण
छोरीलाई अस्ट्रेलिया पठाउँदाको ऋणको कोसेली
बाआमाको उपचारमा सहकारीमा बिक्रीमा राखिएको औँठाको कालो छाप
ढोका खोल् भन्दै ड्याङ् ड्याङ् ड्याङ् ड्याङ्
जम्मै एकैपटक किन हानिरहेछन् मस्तिष्कको झिल्लीबाहिर ?

किन यसरी झेल्ली क्याल्कुलेटर
सँगैकी श्रीमतीको मस्तिष्क अङ्कको औजारले छताछुल्ल चिरिरहेछ ।

ऊ प्रश्नको अस्थिपञ्जर बोकेर सोधिरहेछ
कुन विश्वविद्यालयले पढाउँछ अङ्कगणितको व्याकरण
कुन पाठमा लेखिएको छ
मस्त निदाउने अङ्कगणितका उपायहरू
ऊ जम्मै चिरियर भित्र भित्र लगभग मृत छ
ठ्याक्कै अहिलेको समाज जस्तै भएको छ
तर मृत घोषणा नभएसम्म उसको मस्तिष्कको
ऊ सोचिरहेछ
उसले अब कहिल्यै आरामले निदाउन पाउने छैन ।

बैकुण्ठ लामिछाने, हेटौँडा–५, मकवानपुर

लघुकथा: अवसरवादी / किशन पौडेल

हेटौँडा– ६, मकवानपुरमा २०२८ भाद्र २९ गते जन्मिनुभएका किशन पौडेल लघुकथा, कथा, गजल, कवितालगायत विधामा सक्रिय रहनुभएको छ । उहाँ लघुकथा चौतारी, मकवानपुरको संयोजक, वाग्मती लघुकथा समाजको सदस्य, मातृभूमि साहित्य समाजको सदस्य, साहित्य सङ्गम मकवानपुरको सदस्य, मुक्तक मञ्च मकवानपुरको उपाध्यक्ष रहनुभएको छ । उहाँका गजल सङ्ग्रह ‘कहर’ २०७७, लघुकथा सङ्ग्रह ‘खुसी’ २०७९, संयुक्त कविता सङ्ग्रह ‘अभिव्यञ्जना’ २०७९ , संयुक्त गजल सङ्ग्रह ‘हैसियत’ र ‘गजल ए महफिल’, सयुक्त विश्व लघुकथा सङ्ग्रह हिन्दी भाषा– २०२२, संयुक्त विश्व लघुकथा सङ्ग्रह बाङ्ला भाषा– २०२३ लगायत प्रकाशित छन् ।

उसलाई शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्‍याङ देख्यो । निहुँरिदै भन्यो– “प्रभु ! मलाई अवसरको ढोका खोलिदिनुस् ।” “तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो । विवेकमा लगाम लगाएर एक खुट्किलो उक्लियो । उसले माथि फर्केर हेर्‍यो, त्यहाँ गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै भन्यो– “हजुर, मलाई त्यहाँ पुग्नु छ !” “समाऊ हात ! ” कृपा दृष्टि भो ! चाप्लुसीको डोरी समायो र चढ्यो माथि । उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो, धेरै माथि उड्ने लालसाले महत्कात्त्वाकाङ्क्षा पखेटा फिँजाउँदै भन्यो– “स्वामी मलाई शिखरमा नै पुर्‍याइदिनुस् ! “ –“अवश्य ! ” मिठो आश्वासन प्राप्त भो । निष्ठालाई कुल्चिँदै ऊ माथि पुग्यो । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदाबाजी गर्दै रहेछन् । उसले सोध्यो– “मालिक म के गरूँ !” “देऊ बलिदान !” उसले आफ्नो नैतिकताको बलिदान दियो र अवसरको झ्यालबाट फुत्त भित्र पस्यो । इमानको ढोकामा चुकुल लगायो । उचाइको सिसमहलभित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्‍यो । ऊसँग स्वाभिमानको शिर थिएन ।

किशन पौडेल, हेटौँडा–४ चिल्ड्रेन पार्क

कविता : भानुप्रति / प्रेरक गाैतम

दुई सय वर्षअगाडि जन्म्यौ रम्घा त्यो गाउँमा
संसारैभरि चम्कियौ तिमी भानुको नाउँमा

घाँसीले पाठ पढाए तिम्लाई जीवनमा केही गर्ने
मान्छेको जुनी लिएर यहाँ सुगन्ध नै छर्ने ।

‘रामायण’ मार्फत अमर बन्यौ नेपाली मनमा
‘रामगीता’ लेखी विकास गयौ भक्तिको भावना ।

‘प्रश्नोत्तर’ बाट नैतिक ज्ञान बाँड्यौ नि तिमीले
त्यो ‘बधूशिक्षा’ मार्फत अर्ती दियौ नि तिमीले ।

नारीका बारे लेखेका कुरा त्यो बधूशिक्षामा
सबैका लागि अप्रिय बने आजको समाजमा ।

नेपाली आकाश चम्किलो पार्‍यौ तिम्रा ती कृतिले
आदर गर्छौँ सदैव हामी तिमीलाई भक्तिले ।

प्रेरक गाैतम, कक्षा- ७, जी. एस. निकेतन मावि, हेटाैँडा- ५

विभूतिअधिकारीको ’अर्जुनदृष्टि’ विमोचित


५ साउन, हेटौंडा

नवसर्जक साहित्य चौतारी नेपालका वरीष्ठ उपाध्यक्ष एवम् बालकवि विभूति अधिकारीको ‘अर्जुनदृष्टि’ नामक कविता सङ्ग्रह एक विशेष समारोहका बीच विमोचन भएको छ ।

बाल साहित्यकार विभूति अधिकारीको पुस्तक ‘अर्जुनदृष्टी’ को विमोचन कार्यक्रममा छन्द तरङ्गका संयोजक अग्रज छन्द कवि एवम् समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोजित समारोहमा वरिष्ठ भाषाविद्, बालसाहित्य अन्वेषक/अभियन्ता प्रा. डा. चुडामणि बन्धुको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’, काव्य विभागका निवर्तमान प्रमुख हेमनाथ पौडेल, बालसाहित्य एवम् लोकवार्ता विभागका निवर्तमान प्रमुख प्रा. डा. देवी नेपाल, सिक्किमका कवि, प्राध्यापक एवम् नेपाली भाषाका अभियन्ता तेजमान बराइली, कवि /समालोक प्रभा भट्टराईलगायतको विशिष्ट आतिथ्य रहेको थियो भने नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकार एवम् पुरस्कार संस्थापक विष्णु न्यौपाने, कृतिकारका पिता रामप्रसाद अधिकारी, माता गायत्री भट्टराई, एम्बिसन एकेडेमीका प्रिन्सिपल देवी घिमिरेलगायत ३०० भन्दा बढी साहित्यकार/साहित्यानुरागीको आतिथ्य एवम् उपस्थिति रहेको थियो ।

कोभिड कहरका समयमा २०७७ जेठदेखि हेटौँडाबाट साहित्य सर्जक दीपक गौतमले सञ्चालन गर्नुभएको ‘नवसर्जककेन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियान’ बाट छन्दमा कलम चलाउन थालेका धनगढी कैलालीका विभूति अधिकारीले २०७७ चैत २ गते ‘अद्भुत इन्द्रेनी’ नामक खण्डकाव्यमार्फत् नेपाली साहित्यमार्फत् आफ्नो सशक्त उपस्थिति जनाइसक्नु भएको छ ।

ऐरावती प्रकाशनद्वारा प्रकाशित ‘अर्जुनदृष्टि’ कवितासङ्ग्रहमा शास्त्रीय छन्दमा रचित विविध भावका ४९ वटा कविताहरू सङ्कलित रहेका छन् । कार्यक्रममा बोल्ने सम्पूर्ण वक्ता तथा अतिथिहरूले विभूतिमा काव्यप्रतिभा प्रचुर रहेको र उहाँद्वारा रचित दुवै कृति छन्द, भाव, विचार, बिम्ब, प्रतीक तथा अलङ्कार प्रयोगका हिसाबले उच्च कोटीको रहेको र ‘अर्जुनदृष्टि’ मा समाविष्ट ४९ वटै कविता स्तरीय रहेको विचार अभिव्यक्त भएका छन् । विभूति अधिकारीको १७ ओैँ जन्मोत्सवका अवसरमा आयोजित विमोचन कार्यक्रममा उपस्थित सबै साहित्यकार/साहित्यानुरागीलाई कृति निशुल्क उपलब्ध गराइएको थियो ।

नेपाली छन्द कविताको मानकीकरण र स्तरीकरणको अभियानमा लागिरहेको संस्था छन्द तरङ्गद्वारा आयोजित कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपाल, ऐरावती प्रकाशन र एम्बिसन एकेडेमीले सहकार्यमा पद्मोदय माध्यमिक विद्यालय, काठमडौंको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपानेले गर्नु भएको थियो ।

संप्रस पौडेल, हेटौंडा, मकवानपुर

मातृभूमिद्वारा आधा दर्जन स्रस्टा सम्मानित ।

श्रावण ६, हेटौँडा
मातृभूमि साहित्य साहित्य समाज मकवानपुरले ६ जना साहित्यिक सर्जकहरू तथा १ सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
दुई दिवसीय पुरस्कार समर्पण तथा रचना वाचन कार्यक्रमको अवसरमा देशका विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम्मानित हुनु भएको हो ।

कार्यक्रमको पहिलो दिन मकवानपुरका साहित्य सर्जक आरआर चौलागाईँलाई श्याम श्रेष्ठ स्मृति मातृभूमि साहित्य सम्मान, साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाललाई ईश्वरी स्मृति मातृभूमि पुरस्कार, चितवनका छन्द कवि लकाश पौडेललाई होमनाथ-बलदेवी मातृभूमि छन्द पुरस्कारबाट सम्मानित गरिएको छ । प्रत्येक पुरस्कार राशी १५ हजार रुपैयाँको रहेको थियो । यस्तै शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मानबाट व्यक्तित्वद्वय रामचन्द्र आचार्य फुर्सती र अमर माध्यमिक विद्यालयकी प्रअ मालती उप्रेती सम्मानित हुनु भएको छ ।
कार्यक्रमको दोस्रो दिन मातृभूमिका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षता र चितवन साहित्य परिषदका अध्यक्ष केदार खनालको प्रमुख आतिथ्यता रहेको शनिबारको कार्यक्रममा महालक्ष्मी बैङ्क हेटौंडा शाखाद्वारा प्रायोजित ५१ हजार राशीको ‘महालक्ष्मी साहित्य पुरस्कार २०८०’ बाट प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई समर्पण गरिएको छ । वर्ष २०७९ मा यस सम्मानबाट साहित्यकार श्रवण मुकारुङ सम्मानित हुनु भएको थियो ।

साथै मातृभूमिले ७ हजार राशीको ‘केशवलाल स्मृति पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार तथा प्राध्यापक सुरेश श्रेष्ठलाई सम्मानित गरेको छ । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको यस पुरस्कार पत्रकारिता पेशामा अविछिन्न सेवामा रही जनतालाई सुसूचित गर्नु भएकोमा प्रदान गरिएको हो । पत्रकार श्रेष्ठ पुस्तकालय अभियानका अभियन्ता समेत हुनुहुन्छ ।
अनुवादमा पहिलो विद्यावारिधि गर्नुभ‌एका पुरस्कृत व्यक्तित्व भट्टराईका अनुवाद कृति, उपन्यास तथा अनुसन्धानात्मक गरी कूल ६५ कृतिहरू प्रकाशित छन् । उहाँले विश्व साहित्यका अध्ययन गर्दै परिस्कृत हुँदै विश्व चेतना भर्न सक्ने साहित्य सिर्जना गरिरहन आह्वान गर्नुभयो । साथै अर्का पुरस्कृत व्यक्तित्व पत्रकार श्रेष्ठले कार्यक्रममा सञ्चार माध्यमले समाजमा चेतनाका लागि प्रयास गरिरहेको र त्यसमा साहित्य सिर्जनाबाट अझै मलजल पुग्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित हुनुहुँदै पत्रकार सुरेश श्रेष्ठ

कार्यक्रममा सर्जकहरू सानु खनाल, आयुषा खनाल, किशन पौडेल, सुवास तामाङ, सुवास खनाल, बैकुण्ठ लामिछाने, देवराज लामिछाने आदिले रचना वाचन गर्नुभ‌एको थियो ।
महालक्ष्मी विकास बैङ्कका क्षेत्रीय प्रबन्धक शम्भुप्रसाद पराजुली, हेटौंडा शाखाका मेनेजर अनन्त धिताल, बैङ्कका कर्मचारीहरुलगायत स्रष्टाहरू केशवराज आमोदी, गोविन्दराज विनोदी, धनराज गिरी, विष्णुप्रसाद पौडेल, पुष्प अधिकारी अञ्जली, मातृभूमिका संरक्षक एवम् संस्थापक हयग्रीव आचार्य, सल्लाहकार देवराज खरेल, मातृभूमिका उपाध्यक्ष कृष्णप्रसाद दाहाल, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला, लघुकथा चौतारी मकवानपुर संयोजक किशन पौडेल, मुना अर्याल, भानुभक्त आचार्य, साहित्यसेवी मुक्तिगोविन्द वैद्य आदिको सहभागिता रहेको थियो भने कार्यक्रमलाई मकवानपुरको पहिलो साहित्यिक अनलाइन सञ्चार माध्यम एन.एस. टेलिभिजनका सञ्चालक महेन्द्र ओझाले छायाङ्कन गर्नु भएको थियो ।
रचना वाचन तथा सहभागिताका लागि मायाको चिनो प्रदान गरिएको पल्पसा प्याराडाइजमा सञ्चालित कार्यक्रमको सहजीकरण मातृभूमिका महासचिव हेमन्त ढुंगेल तथा सचिव मञ्जु खरालले गर्नुभ‌एको थियो ।

संप्रस पौडेल, हेटौंडा, मकवानपुर
sampraspaudel2000@gmail.com

मातृभूमिले दियो एकसाथ ६ जनालाई सम्मान/पुरस्कार

मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले हेटौँडामा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका ६ जनालाई एक साथ सम्मान गरेको छ । मातृभूमिले साहित्य र शिक्षा क्षेत्रमा योगदान पुर्याएका ६ जनालाई सम्मान गरेको हो ।

शुक्तबार एक कार्यक्रमको आयोजना गर्दै मातृभूमिले साहित्यकार आर.आर. चौलागाईलाई श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७९ प्रदान गरेको छ । साहित्यकार चौलागाईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । ‘इश्वरी स्मृति–मातृभूमि पुरस्कार–२०७९’ काठमाडौंका साहित्यकार शैलेन्दु प्रकाश नेपाललाई समर्पण गरेको छ । होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार–२०७९ चितवनका वरिष्ठ साहित्यकार लकाश पौडेललाई, ‘शेखर शर्मा रिजाल स्मृति–मातृभूमि शैक्षिक सम्मान–२०७९’ मकवानपुरका रामचन्द्र आचार्य ‘फुर्सती’लाई प्रदान गरेको छ । यसैगरी ‘शेखर शर्मा रिजाल स्मृति–मातृभूमि शैक्षिक सम्मान–।२०७९’ मकवानपुरका मालती उप्रेतीलाई प्रदान गरेको छ । नेपाल, पौडेल, फुर्सती र उप्रेतीलाई नगद १५/१५ हजार रुपैयाँ राशिसहित पुरस्कृत गरेको हो ।

यस्तै ‘झलकबहादुर बानियाँ जीवन संघर्ष–मातृभूमि सम्मान–२०७९’ बाट हेटौँडा–१८, हर्नामाडीमा रहेको कमला आधारभूत विद्यालयका एक विद्यार्थीलाई नगद ७ हजार ५ सय रुपैयाँ राशिसहित सम्मान गरेको छ ।

मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्ष तथा प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टाराईले साहित्यलाई समाजको संस्कृति भएको बताउनुभएको छ ।


कार्यक्रममा किसन पौडेल, देवराज तिवारी, मसान उपासक, पुरुषोत्तम आचार्य, जर्नादन खनाललगायतले रचना वाचनसमेत गरेका थिए ।

#मातृभूमि साहित्य समाज मकवानपुर#

गजल: अनिल कोइराला

ढुङ्गा पगाल्ने केवल प्रेमको हिम्मत हुन्छ
जो कोहीले प्रेम पाउने कहाँ किस्मत हुन्छ ?

एकोहोरो रोटी कहिल्यै पाक्दैन मित्र डढ्छ
एकोहोरो प्रेमको प्रतिफल केवल खत हुन्छ ।

केही हुन्न सुरूप्प पार्न त भन्छन् साथीहरू
थाह छैन र खाएपछि नै त यसको लत हुन्छ ।

यहाँ विशेष निस्वार्थ कर्म गर्ने कमै भेटिन्छन्
स्वार्थमा कर्म गर्नेकै ठुलो घर अनि छत हुन्छ ।

जति नै तिमी असल नेता हौ केही फरक पर्दैन
पैसा हुने विपक्षीकै भागमा गतिलो मत हुन्छ ।

थाह छैन किन सधैँ जातीय वर्गीय विभेद हुन्छ
यति मात्र थाह छ ऊभित्र पनि रातै रगत हुन्छ ।

जब समस्या आउँछ टाढा कुद्छन् आफ्नाहरू
किन मान्छे मान्छे बन्न खोज्दैन्न जब जरुरत हुन्छ ।

अनिल कोइराला, मकवानपुर

संस्मरण : साथीहरू खोज्दा / रमेशमोहन अधिकारी

रौतहटको विश्रामपुरमा जन्मेर चन्द्रनिगाहपुरमा हुर्कनुभएका रमेशमोहन अधिकारी अहिले मकवानपुर निवासी हुनुहुन्छ । लामो समय शिक्षण सेवामा जीवन अर्पण गर्नुभएका अधिकारी झरना साहित्यिक परिवार छतिवन, जूनकिरी साहित्य परिवार फापरबारी, सूर्योदय प्रतिष्ठान चन्द्रनिगाहपुर र सूर्योदय पुस्तकालय चन्द्रनिगाहपुरको स्थापनामा ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँले सूर्योदय, जूनकिरी, झरना, समनपुष्प, चन्द्रोदय जस्ता आवधिक साहित्यिक पत्रिकाका सम्पादन गर्नुभएको छ । उहाँको सम्झनाको सेरोफेरो (२०६३), घुम्तीहरू छेलिएपछि (२०७४), गुराँस र युद्ध (२०७५) र आफैँसँग (२०७८) पुस्तकहरू प्रकाशित छन् ।


फुर्सत पाउँदा र नपाउँदा साथीको खोजीमा अन्तर पर्दोरहेछ । फुर्सत नहुँदा साथीकोे सम्झना जति आए पनि भेट्न नसकिनेरहेछ । फुर्सत हुँदा भने साथी भेट्ने तिर्सनाले व्याकुल बनाउनेरहेछ ।

अरूसँगका भेट र साथीसँगका भेटका कुरा भिन्दाभिन्दै रहेछन् । आफन्तहरूसँग विभिन्न चाडपर्व, बिहेबटुलो आदिमा वा अन्य मानिसहरूसँग आवश्यकता वा सन्दर्भका आधारमा भेट भइरहेको हुन्छ । साथीसँग यीभन्दा भिन्न प्रसङ्गका भेट पनि हुन्छन् ।
मैले यस संस्मरणमा जोड्न खोजेको सन्दर्भ बी.एड. पढ्दाका साथी विष्णुप्रसाद अधिकारीको कुरो हो । बी.एड. पढ्न सुरु गर्दा अर्थात् २०४५ सालमा उहाँसित छिपछिपे चिनजान भएको थियो, एउटै कक्षामा पढ्ने साथीका रूपमा मात्र । त्यसबेला २०४६ को आन्दोलनका कारणले हाम्रो पढाइ तीन वर्षका लागि लम्बिएको थियो । ती तीन वर्षमध्ये २०४७-२०४८ का बिचमा हामी सहप्रकोष्ठीसमेत भयौँ । झन्डै एउटै कदका, ऐच्छिक विषयहरूमध्ये नेपाली विषय मिल्ने, पढ्ने रुचि उस्तै ।

हामी दुवै एकै गोत्र, एकै जात र एकै थरका भए पनि हाम्रो बिचमा ‘सँगै पढ्ने साथी’भन्दा अर्को कुनै नाता थिएन तर थियो आत्मीय सम्बन्ध । सायद मेरा कतिपय नातेदारभन्दा नजिक । मेरा कतिपय निकट नातेदारले मेरा बुबाआमा जीवितै हुनुहुँदा पनि हाम्रा आँगनमा पाइला टेकेनन् र मृत्युपश्चात् पनि । तर मेरा मित्र मेरो आँगनमा मात्र होइन, उसैबेला अर्थात् २०४७/२०४८ मा चन्द्रनिगाहपुरको घरमा पुग्नुभएको थियो । साथमा हुनुहुन्थ्यो मित्रपत्नी रीता र थिइन् कान्छी सन्तान अर्थात् छोरी सृजना पनि । हामी पारिवारिक रूपमा एक दुई दिन सँगै बसेका थियौँ, थोरै भए पनि सँगै डुलेका थियौँ र पारिवारिक तस्बिर खिचाएका थियौँ । त्यसताका उहाँकी छोरी बिरामी हुनाले एक महिनाका लागि म्याडम वीरगन्जमा हामीसँगै हुनुहुन्थ्यो । म्याडमको उपस्थितिले अध्ययनार्थ गृहत्यागी भएका हामीलाई एक महिना भए पनि पारिवारिक साथ मिलेको थियो । महिलाका हातले पकाइएको मिष्ट भोजन खाने अवसर जुरेको थियो ।

अँ, २०४८ सालको कार्तिकतिर होला, हाम्रो दोस्रो वर्षको परीक्षा सिद्धिएको थियो र हामी दुवै जना परस्परमा छुट्टिएका थियौँ ।
उसबेला सबैका घरमा फोन थिएन । उद्योग, व्यवसाय, कार्यालय वा धनाढ्यहरूले ल्यान्डलाइन फोन चलाउँथे । हामी जस्ता भर्खर बी.एड.को पढाइ सकेका सामान्य मानिसकहाँ कहाँबाट फोन पाउनु र हुनु !

छुट्ताखेरि एकले अर्काको घरैमा चिठी पुग्ने ठेगाना पनि टिपिएनछ । अलि वरपरका व्यवसायीहरूको फोन नम्बर पनि साटासाट गरिएनछ । अब त दुवै जनाको बाटो बन्द । संवाद हुने स्थिति नै छैन । जागिरका सिलसिलाका साथै घर धान्ने कुरामा दुवै व्यस्त ।
म चाहिँ २०६५ देखि साथीलाई फेसबुकमा खोजेको खोज्यै छु, कतै भेट्तिनँ । फेसबुकमा नभेटेपछि कपिलवस्तु घर भनी ठेगाना बताउने हरेकलाई सोध्छु, कसैले बताउँदैनन् । उहाँका साथी हुनुहुन्छ, उसैबेला ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमै एक बर्से बी.एड. गर्न जानुभएका झविलाल पोख्रेल । उहाँलाई मित्र बन्न अनुरोध (फ्रेन्ड रिक्वेस्ट) पठाउँछु, स्विकार्नुहुन्न । म्यासेन्जरमा फोन नम्बर माग्छु, त्यो पनि दिनुहुन्न । म हत्तु हैरान भइसकेको हुन्छु ।


म सेवानिवृत्त हुनुको अर्थ उहाँ पनि पक्कै हुनुभएको होला भन्ठानेर ‘नेपाल निवृत्त शिक्षक समाज’का केन्द्रीय सचिव अभिमन्यु गौतमसँग गुहार माग्छु, “मेरो साथी खोज्न कपिलवस्तुको केन्द्रीय सदस्य वा जिल्ला अध्यक्षको नाम र फोन नम्बर दिनुहोस् न !” अभिमन्यु सर मभन्दा पाका भए पनि साथी जस्तो लाग्नुहुन्छ मलाई । उहाँले रुपन्देहीको एकजना सेवा निवृत्त शिक्षक मित्रको नाम र फोन नम्बर दिनुहुन्छ । अभिमन्यु सरले फोन नम्बर दिनुभएका साथीसित सम्पर्क भएपछि उहाँले कपिलवस्तुकै अर्का शिक्षकको नाम दिनुहुन्छ । उहाँहरूले पनि पत्ता लगाउन नसक्नुभएपछि बाध्य भएर अधिकारी नै थर भएका एकजना शिक्षकको नाम दिनुहोस् भनेर आग्रह गर्छु म । यसो भए त कसो भेट नहोला भन्ने लाग्छ मलाई । उहाँले दिनुभएको नाम अर्थात् शिक्षकमित्र चिन्तामणि अधिकारीमार्फत झविलाल पोख्रेल सरको मोबाइल नम्बर प्राप्त हुन्छ । त्यसपछि झवि सरले मेरा मित्र विष्णुका कान्छा सुपुत्र विक्रमको फोन नम्बर दिनुहुन्छ । त्यसपछि बल्ल मेरा मित्रको मोबाइल नम्बर प्राप्त हुन्छ र फोन सम्बन्ध स्थापना हुन्छ ।

यसपछि साइत जुर्छ मङ्सिर पूर्णिमाको दिन । यो दिन पनि अलि अप्ठ्यारै छ ।


एउटै थर भएका मानिसहरू पनि फरक फरक स्थानमा बस्ने हुनाले संस्कारहरू पनि फरक फरक छन् । हाम्रो घर विश्रामपुरमा र चन्द्रनिगाहपुर जहाँ हुँदा पनि बुबा हुन्जेल अर्थात् २०३०/०३१ सालसम्म छोरा जन्मेको भाग, छोराको बिहे भएको भाग, नयाँ घर बनाएको भाग भनेर वैशाख वा मङ्सिर पूर्णिमामा बोका बलि दिने चलन थियो । जमघट भएर कुल पूजा गरेको भने थाहा थिएन । कठजोरे अधिकारीमा हाम्रो एक घर मात्र भएर होला । वीरगन्जतिर भने वैशाखपूर्णिमामा कुलपूजा गर्ने चलन छ । यता हेटौँडामा भने कठजोरेको सङ्ख्या कम र अकठजोरेको सङ्ख्या बढी छ । त्यसैले होला, वैशाखमा कुलपूजा र मङ्सिरमा गोठपूजा गर्दा रहेछन् । गत वर्ष वीरगन्जको कुलपूजामा सरिक भएको र त्यहाँ एक पटक मात्र पूजा गर्ने चलन भएकाले यसपालि म कतै सरिक भइनँ । घरमै सामान्य रूपमा कुललाई सम्झिएर लागेँ कपिलवस्तुतिर ।

कपिलवस्तु पनि म जम्मा एक पटक गएको थिएँ तीन वर्षअघि, त्यो पनि नाइट बसबाट सुर्खेत जाँदा । यसभन्दा बाहेक कुरा गर्दा यस पटक मात्र म जाँदै छु त्यहाँ । त्यो पनि एक्लै । विभिन्न थरी रोग, त्यसमाथि कानको समस्याले धेरै टाढा म प्रायः एक्लै जान्नँ । यस पटक भने त्यस्तै पर्र्यो । नियात्राकार प्रतीक ढकालको ’त्यो उज्यालो कर्णाली’ले पनि मलाई एक्लै हिँड्न सुझाएको थियो । म पो अलिकति फुर्सत पाउनासाथ हिँड्न खोजुँला, अरूलाई पनि फुर्सत हुनु पर्र्योनि, मसँग हिँड्न होइन ?


मङ्सिर २२ गते हेटौँडा बसपार्कमा पुर्राईदिन्छन् छोराले बिहान नौ बजे । आँखामा ठ्याक्कै पर्छ भैरहवा जाने बस । गाडी नबदलीकन जान मलाई दाङ, नेपालगन्ज वा महेन्द्रनगर जाने बस चाहिने हो तर पश्चिम जान भेट्टाएको भैरहवा जाने गाडी पनि छाड्न भएन । त्यसैमा चढ्छु ।


बाटामा बसामाडी, मनहरी, लोथर जङ्गल नजिकका बस्तीहरू कट्तै बस्ती जङ्गल, बस्ती जङ्गल हुँदै टिकुलीको जङ्गल कटेपछि आइपुग्छ भरतपुर । भरतपुरपछि नारायणगढ र आइपुग्छ नारायणी नदी । सुन्दर, धीर तथा विस्तृत नारायणीको बहाव हेर्दै लाग्छु पारि नवलपुर जिल्लातर्पत अर्थात् लुम्बिनी प्रदेश । बाटामा छन् गाउँ, नगर, जङ्गल । गैँडाकोट स्वयम् जङ्गलबाट विभाजित छ । नवलपुरदेखि उता बर्दघाट नपुगुन्जेल पनि जङ्गलै छ । हो, तिनैमध्ये एउटा जङ्गल अर्थात् दाउन्नेभन्दा अलि पर बर्दघाटभन्दा अलि वर गाडी जाम हुन्छ । सुक्खा पहिरो गएकाले पहिरो जान सक्ने सम्भावना कम गर्न खस्न लागेका ढुङ्गाहरूलाई खसाउन खोजिएको रहेछ । एक्साभेटर, डोजर तथा सडक विभागका कर्मचारी र प्रहरी लागिपरेका रहेछन् । हामीलाई भने ‘जहाँ गाह्रो, त्यहीँ साह्रो’ भने झैँ तिर्खा र भोक दुवै लाग्छ । पानी बोकेको रहेनछु । सुन्तलाले तिर्खा मेटाउँछु । मसँग अर्को सिटमा मभन्दा पाका कँडेल थरका यात्री हुनुहुन्छ, खोकिरहनुभएकाले उहाँलाई सुन्तला दिन्नँ । भोक मेटाउन स्याउ खान्छु । एउटा उहाँलाई र एउटा मलाई भाग पुग्छ ।


बर्दघाट भनेको आदरणीय घनश्याम न्यौपाने परिश्रमी सरको घर भएको ठाउँ हो । उहाँको घर यसभन्दा अघि पनि आएको छु । मेरो लक्ष्य कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा नम्बर नौ अर्थात् गबदहबा हुनाले ओर्लेर भेट्न सक्तिनँ, फोन गरेकै भरमा चित्त बुझाउँछु ।


४५ मिनेटपछि जाम खुल्छ । गाडीहरू पुनः आआफ्ना लयमा रत हुन्छन् । बर्दघाटपछि पनि कतिओटा जङ्गल छन् बुटवल आइपुग्नुअघि । बुटवल आइपुगेपछि भने मेरा लागि असजिलो र अनौठो लाग्छ । अब कताबाट जाने ? तै बसले अर्को स्टेसनको नजिक पु¥याइदिन्छ । केही यात्री र प्रहरीलाई सोधेर गाडी पत्ता लगाउँछु । यहाँबाट मिनीबस पाइन्छ ।


तै मिनीबसका यात्री तथा कन्डक्टर सबै सहयोगी छन् र मलाई सजिलो हुन्छ । बस्न पनि पाउँछु । ओर्लने ठाउँ डुमरा पनि देखाइदिन्छन् ।


बुटवलदेखि डुमरासम्म जाँदा बाटामा देखिन्छन् जितगढी, फरेस्ट भ्यू लज एन्ड रेस्टुरेन्ट, बेलवास, ढवाहा, कोरिया नेपाल बहुप्राविधिक विश्वविद्यालय, नवदुर्गा भवानी मन्दिर । नजिकै छ चुरे । सैनामैना भन्ने ठाउँ यहीँ रहेछ । माओवादी द्वन्द्वकालमा यो ठाउँ निकै चर्चामा थियो । यसपछि रहेछन् सहिद नारायण पोख्रेल रामा क्याम्पस, कैलाश आश्रम ।


सायद यहाँबाट कपिलवस्तु जिल्ला सुरु हुने रहेछ । कपिलाधाम, गोरुसिङ्गे, बुर्ती, डुमरा । यस बिचमा पनि छन् जङ्गलहरू ।
डुमरामा ओर्लेर विष्णुजीलाई फोन गर्छु “म आइपुगेँ” भनेर । उहाँ एक घण्टा अघिदेखि प्रतीक्षा गदैै हुनुहुन्थ्यो । हामी फोन फोनबाट जोडिन्छौँ परस्परमा ३१ वर्षपछि बिजुलीको प्रकाशमा अनुहार ठम्याउँदै अर्थात् मङ्सिर पूर्नेको साँझ ५ः४५ मा ।


विष्णुजीको घर डुमराबाट पाँच छ किलोमिटर उत्तरतिर पर्ने हुनाले उहाँले बाइक ल्याउनुभएको रहेछ । साँझ परिसकेकाले डुमरामा रोकिनुको औचित्य थिएन तसर्थ हामी सामान्य भलाकुसारीपश्चात् गबदहबातिर लागिहाल्छौँ । बाटामा सानो बस्ती र त्यसपछि जङ्गलै जङ्गल छ । बाटो ग्रेभेल र कच्ची दुवै प्रकारको थियो । तीन दशकपछि भेटिँदा पनि बोल्न कट्टी गरेका बालबालिका जसरी नबोली अगि बढ्ने कुरा आएन । बाटामा अलि अलि गफ हुँदै अगि बढ्दै थियौँ, बाइक लन्ठ्याङमन्ठ्याङ भयो, सम्हालिन खोज्दाखोज्दै लडिहाल्यो । अगाडिको बाटामा बालुवा रहेछ, साँझको बेला, आँखाले राम्ररी ठम्याउन नभ्याउँदा लडेको रहेछ ।


बाइक लडेपछि स्वाभाविक रूपमा हामी पनि लड्ने भइहाल्यौँ । बाइकको स्पिड पनि बढी थिएन । प्रतिघण्टा २०÷३० किमि थियो होला । चोट त मलाई पनि घुँडामा लागेको रहेछ तर म जुरुक्क उठ्न सकेँ । विष्णु सर उठ्न सक्नुभएन । यसो हेरेँ, एउटा गोडा बाइकले थिचिएको रहेछ । बाइक उठाएँ बिस्तारै । गोडा निकालेपछि आराम गर्र्यौं एकछिन । एकछिनपछि सोधेँ, “बाइक हाँक्न सक्नुहुन्छ ?” “सक्तिनँ” भन्नुभयो । एक मन लाग्यो, उहाँको कुनै छोरालाई बोलाउनु पर्र्यो । अर्को मनले भन्यो, “गेयर मिल्ने बाइक भए त हाँके भइहाल्यो नि !” बाइकको नाम सोधेँ, स्प्लेन्डर रहेछ । मैले सुपर स्प्लेन्डर चलाउने हुनाले गेयरलगायतका कुरामा समस्या रहेन । बाइक अलिकति चलाएर पनि हेरेँ, अलिकति असजिलो भए पनि सकिने जस्तो लाग्यो । जङ्गली कच्ची बाटो, मैले पनि दुई जना जाने आँट गरिनँ । उहाँको पनि बाइकमा जान सक्ने अवस्था थिएन ।


डुमरासम्म चल्ने अटोहरू प्रायः गबदहबाकै थिए । प्रत्येक अटोले रोकेर मानवीयता देखाए । गाउँमा मानवीयता बाँचेके छ, त्यसमाथि त्यहीँको विद्यालयका प्रधानाध्यापक भएर जीवन बिताउनुभएको मान्छे । सहयोगको त कुरै आएन । एउटा अटोमा उहाँ घरसम्म जाने हुनुभयो । मैले अटोवालालाई “ढिला हाँक्नू” भनेँ र म पनि पछि पछि बाइक हाँक्तै मित्रको घर पुगेँ ।


साथीकहाँ पुग्दा स्थिति उल्टेको थियो । एउटा साथी भेट्न अर्को साथी पुग्दा पनि परिवारले पहिले सोचे जस्तो खुसी हुन पाएन । मलाई पनि अप्ठ्यारो अप्ठ्यारो लागिरह्यो । म शकुन भएर पुग्नुपर्ने अपशकुन जस्तो पो भयो । मेरो साथीको परिवारले भने मलाई रत्ति पनि त्यसको छनक दिएन । पीडामा पनि रमाएको देखाउन सक्ने खुबी कमैमा हुन्छ । त्यस्ता कम परिवारमध्ये मेरो साथीको परिवार पनि रहेछ ।


साथीको घर पुग्दाओर्दा पक्कै साढे सात बजेको हुँदो हो । त्यसपछि म्याडम र परिवारका अन्य सदस्यसँग भलाकुसारीपछि खानपिन भयो । खानपिन अघि र पछि पनि विष्णुजीको घरेलु र तात्कालिक उपचार हुँदै रह्यो । त्यही सिलसिलामा उहाँहरू अलि ढिलै सुत्नुभयो क्यारे ! म पनि नियमित औषधीहरूको प्रयोग गर्दैै निद्रादेवीको शरणमा परेँ ।


यहाँबाट छ किमि उत्तरपट्टि अर्घाखाँचीको चुरे छ, पूर्वमा जङ्गलपछि वाणगङ्गा नगरपालिका, दक्षिणपट्टि अलि तलै रहेछ महाराजगन्ज नगरपालिका र पश्चिमपट्टि जङ्गलपछि शिवराज नगरपालिका ।


भोलिपल्ट अर्थात् २३ गते बिहान नित्य कर्म सकेर चिया पिइसकेपछि एक्लै गाउँतिर निस्केँ । मेरा मित्रले पढाउनुभएको गबदहबा आधारभूत विद्यालय हेरेँ । २०३५ सालमा बनेको रहेछ । कम्पाउन्डिङ हुँदैरहेछ ।
गाउँमा एउटा प्रतीक्षालय रहेछ ।


गबदहबामा पहाडे कम र थारूहरू बढी रहेछन् । थारू जातिका मानिसका अनुहार देशैभर एकैनासको हुनेरहेछ क्यारे ! मलाई मेरो मूल घर भएको चन्द्रनिगाहपुरको मोतियाही, मोतीपुर, जुडीबेला, सन्तपुर, डुमरिया तथा बालचनपुरतिरका र यहाँका थारूहरू उस्तै उस्तै लागे । सहयोगी र मिलनसार पनि उस्तै लागे । यहाँ पनि माटाले बनेका घरमा थारू कलाकारिता झल्काउन खोजेकै छन् । पक्की बनाइएका कतिपय घरमा पिँढीलाई दुईफिटे पर्खाल ठड्याएर आफ्नोपन देखाउन खोजेकै छन् । झ्यालहरूमा त्रिकोणात्मकता प्रस्तुत गरेर थारूपन झल्काएकै छन् ।


साथीको गाउँ चारैतिर वनै वनले घेरिएको सुन्दर रहेछ । गाउँ सानै भए तापनि फाँटिलो र उब्जाउ रहेछ, रमाइलो रहेछ ।
अँ, चारैतिर वनबाट घेरिएको गबदहबा देख्ता मलाई आफू हुर्केबढेको चन्द्रनिगाहपुरको ठाडाटोलको सम्झना हुन्छ । ठाडाटोल होस् वा चन्द्रनिगाहपुर नै पनि तीनतिरबाट जङ्गलले घेरिएको थियो र छ पनि । ठाडाटोलमा हाम्रो बारी नै जङ्गलसित जोडिएको थियो । गबदहबा, चन्द्रनिगाहपुर, हेटौँडा वा म आज आएको बाटाका जङ्गल, बस्ती, जङ्गल, बस्ती हेर्दा मलाई २०३७ तिर पढेको मानव विकासको सिद्धान्त झुठो हो वा साँचो हो, भ्रम पो पर्र्यो । मैले मानव विकासका क्रममा मानिस जङ्गलबाट निस्क्यो भनेर पढेको थिएँ । त्यो विकसित देशमा होला वा मैदानी भागमा होला, पहाडी भागमा असत्य ठहरिन्छ । राजमार्गै राजमार्ग हिँडू वा पहाडै पहाड फाल हालौँ । पाथीभरा जाऔँ वा मुस्ताङ, दोलखा जाऔँ वा रारा सबैतिर जङ्गलमै छन् त मान्छे । कहिले जङ्गलबाट निस्के र !


लेखन : २०७९ पौष १० गते आइतबार ।

रमेशमोहन अधिकारी, मकवानपुर

कविता : प्रकृतिलाई पत्र / स्वस्तिका बानियाँ

हेटौँडा– ११, मकवानपुर निवासी स्वस्तिका बानियाँ साहित्यका कविता, गजल, मुक्तकलगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँ नवसर्जकका रूपमा रहे पनि मकवानपुरका विभिन्न साहित्यिक गतिविधिहरूमा सक्रियतापूर्वक सहभागी रहँदै आउनुभएको छ । – सम्पादक

उसको शरीरैभरि चोट छ
र पनि केही बोलेकै छैन
किन लाचार भएर सहेको छ ?
उसको आँगनैभरि फोहोरको डङ्गुर छ
कुनै बखत रहर मेटाएर
बग्थ्यो उसको खोला
आज मौन छ, स्थिर छ
सोचेको थ्यो जीवन्त बाँचिरहने छु
यो हरियो डाँडा बनेर
उसको आज घाँटी रेटिएको छ
सायद बोल्न सक्थ्यो भने बोल्थ्यो होला
जिन्दाबाद र मुर्दाबाद !
सायद गर्न सक्ने भए गर्थ्यो होला
टायर बालेर धुँवाको आन्दोलन
उसको अस्तित्वमा दाग जो लागेको छ ।

हे ! प्रकृति
आजकल बारम्बार बलात्कृत हुँदै छौ
लाग्दैन तिमीलाई ?
जीवनको बास्ना बोकेर
हिँड्ने पवनमा मान्छेले
कालो दुर्गन्धित हावा मिसाइदिएका छन्
तिम्रा सुन्दर बोटका वस्त्रहरू
काटिदिएका छन् / च्यातिदिएका छन्
र अलपत्र पारिएको छ तिमीलाई
तिम्रो जीवन आज तिम्रै हातमा छैन
लाग्छ तिमी थुनिएकी छौ शत्रु स्वरूप व्यासहरूभित्र
तिमी निसासिएकी छौ
पोलिथिनले छोपिदिएका छन्
तिम्रा नाकमुख
तिमी बन्दी बनेकी छौ– आफ्नै घरभित्र आज ।

तिमीले कति रोमाञ्चक जगत देखायौ
अक्षय प्रेमवर्षा गरिरह्यौ
तिमी महान् छौ ।

अब तिमीले सहन छाड्नुपर्छ
बन्नुपर्छ कठोर
तिमीले दिएको स्नेह जतिकै
मैले पनि तिमीलाई दिन सक्नुपर्छ स्नेह ।

स्वस्तिका बानियाँ, मकवानपुर