रौतहटको विश्रामपुरमा जन्मेर चन्द्रनिगाहपुरमा हुर्कनुभएका रमेशमोहन अधिकारी अहिले मकवानपुर निवासी हुनुहुन्छ । लामो समय शिक्षण सेवामा जीवन अर्पण गर्नुभएका अधिकारी झरना साहित्यिक परिवार छतिवन, जूनकिरी साहित्य परिवार फापरबारी, सूर्योदय प्रतिष्ठान चन्द्रनिगाहपुर र सूर्योदय पुस्तकालय चन्द्रनिगाहपुरको स्थापनामा ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँले सूर्योदय, जूनकिरी, झरना, समनपुष्प, चन्द्रोदय जस्ता आवधिक साहित्यिक पत्रिकाका सम्पादन गर्नुभएको छ । उहाँको सम्झनाको सेरोफेरो (२०६३), घुम्तीहरू छेलिएपछि (२०७४), गुराँस र युद्ध (२०७५) र आफैँसँग (२०७८) पुस्तकहरू प्रकाशित छन् ।
फुर्सत पाउँदा र नपाउँदा साथीको खोजीमा अन्तर पर्दोरहेछ । फुर्सत नहुँदा साथीकोे सम्झना जति आए पनि भेट्न नसकिनेरहेछ । फुर्सत हुँदा भने साथी भेट्ने तिर्सनाले व्याकुल बनाउनेरहेछ ।
अरूसँगका भेट र साथीसँगका भेटका कुरा भिन्दाभिन्दै रहेछन् । आफन्तहरूसँग विभिन्न चाडपर्व, बिहेबटुलो आदिमा वा अन्य मानिसहरूसँग आवश्यकता वा सन्दर्भका आधारमा भेट भइरहेको हुन्छ । साथीसँग यीभन्दा भिन्न प्रसङ्गका भेट पनि हुन्छन् ।
मैले यस संस्मरणमा जोड्न खोजेको सन्दर्भ बी.एड. पढ्दाका साथी विष्णुप्रसाद अधिकारीको कुरो हो । बी.एड. पढ्न सुरु गर्दा अर्थात् २०४५ सालमा उहाँसित छिपछिपे चिनजान भएको थियो, एउटै कक्षामा पढ्ने साथीका रूपमा मात्र । त्यसबेला २०४६ को आन्दोलनका कारणले हाम्रो पढाइ तीन वर्षका लागि लम्बिएको थियो । ती तीन वर्षमध्ये २०४७-२०४८ का बिचमा हामी सहप्रकोष्ठीसमेत भयौँ । झन्डै एउटै कदका, ऐच्छिक विषयहरूमध्ये नेपाली विषय मिल्ने, पढ्ने रुचि उस्तै ।
हामी दुवै एकै गोत्र, एकै जात र एकै थरका भए पनि हाम्रो बिचमा ‘सँगै पढ्ने साथी’भन्दा अर्को कुनै नाता थिएन तर थियो आत्मीय सम्बन्ध । सायद मेरा कतिपय नातेदारभन्दा नजिक । मेरा कतिपय निकट नातेदारले मेरा बुबाआमा जीवितै हुनुहुँदा पनि हाम्रा आँगनमा पाइला टेकेनन् र मृत्युपश्चात् पनि । तर मेरा मित्र मेरो आँगनमा मात्र होइन, उसैबेला अर्थात् २०४७/२०४८ मा चन्द्रनिगाहपुरको घरमा पुग्नुभएको थियो । साथमा हुनुहुन्थ्यो मित्रपत्नी रीता र थिइन् कान्छी सन्तान अर्थात् छोरी सृजना पनि । हामी पारिवारिक रूपमा एक दुई दिन सँगै बसेका थियौँ, थोरै भए पनि सँगै डुलेका थियौँ र पारिवारिक तस्बिर खिचाएका थियौँ । त्यसताका उहाँकी छोरी बिरामी हुनाले एक महिनाका लागि म्याडम वीरगन्जमा हामीसँगै हुनुहुन्थ्यो । म्याडमको उपस्थितिले अध्ययनार्थ गृहत्यागी भएका हामीलाई एक महिना भए पनि पारिवारिक साथ मिलेको थियो । महिलाका हातले पकाइएको मिष्ट भोजन खाने अवसर जुरेको थियो ।
अँ, २०४८ सालको कार्तिकतिर होला, हाम्रो दोस्रो वर्षको परीक्षा सिद्धिएको थियो र हामी दुवै जना परस्परमा छुट्टिएका थियौँ ।
उसबेला सबैका घरमा फोन थिएन । उद्योग, व्यवसाय, कार्यालय वा धनाढ्यहरूले ल्यान्डलाइन फोन चलाउँथे । हामी जस्ता भर्खर बी.एड.को पढाइ सकेका सामान्य मानिसकहाँ कहाँबाट फोन पाउनु र हुनु !
छुट्ताखेरि एकले अर्काको घरैमा चिठी पुग्ने ठेगाना पनि टिपिएनछ । अलि वरपरका व्यवसायीहरूको फोन नम्बर पनि साटासाट गरिएनछ । अब त दुवै जनाको बाटो बन्द । संवाद हुने स्थिति नै छैन । जागिरका सिलसिलाका साथै घर धान्ने कुरामा दुवै व्यस्त ।
म चाहिँ २०६५ देखि साथीलाई फेसबुकमा खोजेको खोज्यै छु, कतै भेट्तिनँ । फेसबुकमा नभेटेपछि कपिलवस्तु घर भनी ठेगाना बताउने हरेकलाई सोध्छु, कसैले बताउँदैनन् । उहाँका साथी हुनुहुन्छ, उसैबेला ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमै एक बर्से बी.एड. गर्न जानुभएका झविलाल पोख्रेल । उहाँलाई मित्र बन्न अनुरोध (फ्रेन्ड रिक्वेस्ट) पठाउँछु, स्विकार्नुहुन्न । म्यासेन्जरमा फोन नम्बर माग्छु, त्यो पनि दिनुहुन्न । म हत्तु हैरान भइसकेको हुन्छु ।
म सेवानिवृत्त हुनुको अर्थ उहाँ पनि पक्कै हुनुभएको होला भन्ठानेर ‘नेपाल निवृत्त शिक्षक समाज’का केन्द्रीय सचिव अभिमन्यु गौतमसँग गुहार माग्छु, “मेरो साथी खोज्न कपिलवस्तुको केन्द्रीय सदस्य वा जिल्ला अध्यक्षको नाम र फोन नम्बर दिनुहोस् न !” अभिमन्यु सर मभन्दा पाका भए पनि साथी जस्तो लाग्नुहुन्छ मलाई । उहाँले रुपन्देहीको एकजना सेवा निवृत्त शिक्षक मित्रको नाम र फोन नम्बर दिनुहुन्छ । अभिमन्यु सरले फोन नम्बर दिनुभएका साथीसित सम्पर्क भएपछि उहाँले कपिलवस्तुकै अर्का शिक्षकको नाम दिनुहुन्छ । उहाँहरूले पनि पत्ता लगाउन नसक्नुभएपछि बाध्य भएर अधिकारी नै थर भएका एकजना शिक्षकको नाम दिनुहोस् भनेर आग्रह गर्छु म । यसो भए त कसो भेट नहोला भन्ने लाग्छ मलाई । उहाँले दिनुभएको नाम अर्थात् शिक्षकमित्र चिन्तामणि अधिकारीमार्फत झविलाल पोख्रेल सरको मोबाइल नम्बर प्राप्त हुन्छ । त्यसपछि झवि सरले मेरा मित्र विष्णुका कान्छा सुपुत्र विक्रमको फोन नम्बर दिनुहुन्छ । त्यसपछि बल्ल मेरा मित्रको मोबाइल नम्बर प्राप्त हुन्छ र फोन सम्बन्ध स्थापना हुन्छ ।
यसपछि साइत जुर्छ मङ्सिर पूर्णिमाको दिन । यो दिन पनि अलि अप्ठ्यारै छ ।
एउटै थर भएका मानिसहरू पनि फरक फरक स्थानमा बस्ने हुनाले संस्कारहरू पनि फरक फरक छन् । हाम्रो घर विश्रामपुरमा र चन्द्रनिगाहपुर जहाँ हुँदा पनि बुबा हुन्जेल अर्थात् २०३०/०३१ सालसम्म छोरा जन्मेको भाग, छोराको बिहे भएको भाग, नयाँ घर बनाएको भाग भनेर वैशाख वा मङ्सिर पूर्णिमामा बोका बलि दिने चलन थियो । जमघट भएर कुल पूजा गरेको भने थाहा थिएन । कठजोरे अधिकारीमा हाम्रो एक घर मात्र भएर होला । वीरगन्जतिर भने वैशाखपूर्णिमामा कुलपूजा गर्ने चलन छ । यता हेटौँडामा भने कठजोरेको सङ्ख्या कम र अकठजोरेको सङ्ख्या बढी छ । त्यसैले होला, वैशाखमा कुलपूजा र मङ्सिरमा गोठपूजा गर्दा रहेछन् । गत वर्ष वीरगन्जको कुलपूजामा सरिक भएको र त्यहाँ एक पटक मात्र पूजा गर्ने चलन भएकाले यसपालि म कतै सरिक भइनँ । घरमै सामान्य रूपमा कुललाई सम्झिएर लागेँ कपिलवस्तुतिर ।
कपिलवस्तु पनि म जम्मा एक पटक गएको थिएँ तीन वर्षअघि, त्यो पनि नाइट बसबाट सुर्खेत जाँदा । यसभन्दा बाहेक कुरा गर्दा यस पटक मात्र म जाँदै छु त्यहाँ । त्यो पनि एक्लै । विभिन्न थरी रोग, त्यसमाथि कानको समस्याले धेरै टाढा म प्रायः एक्लै जान्नँ । यस पटक भने त्यस्तै पर्र्यो । नियात्राकार प्रतीक ढकालको ’त्यो उज्यालो कर्णाली’ले पनि मलाई एक्लै हिँड्न सुझाएको थियो । म पो अलिकति फुर्सत पाउनासाथ हिँड्न खोजुँला, अरूलाई पनि फुर्सत हुनु पर्र्योनि, मसँग हिँड्न होइन ?
मङ्सिर २२ गते हेटौँडा बसपार्कमा पुर्राईदिन्छन् छोराले बिहान नौ बजे । आँखामा ठ्याक्कै पर्छ भैरहवा जाने बस । गाडी नबदलीकन जान मलाई दाङ, नेपालगन्ज वा महेन्द्रनगर जाने बस चाहिने हो तर पश्चिम जान भेट्टाएको भैरहवा जाने गाडी पनि छाड्न भएन । त्यसैमा चढ्छु ।
बाटामा बसामाडी, मनहरी, लोथर जङ्गल नजिकका बस्तीहरू कट्तै बस्ती जङ्गल, बस्ती जङ्गल हुँदै टिकुलीको जङ्गल कटेपछि आइपुग्छ भरतपुर । भरतपुरपछि नारायणगढ र आइपुग्छ नारायणी नदी । सुन्दर, धीर तथा विस्तृत नारायणीको बहाव हेर्दै लाग्छु पारि नवलपुर जिल्लातर्पत अर्थात् लुम्बिनी प्रदेश । बाटामा छन् गाउँ, नगर, जङ्गल । गैँडाकोट स्वयम् जङ्गलबाट विभाजित छ । नवलपुरदेखि उता बर्दघाट नपुगुन्जेल पनि जङ्गलै छ । हो, तिनैमध्ये एउटा जङ्गल अर्थात् दाउन्नेभन्दा अलि पर बर्दघाटभन्दा अलि वर गाडी जाम हुन्छ । सुक्खा पहिरो गएकाले पहिरो जान सक्ने सम्भावना कम गर्न खस्न लागेका ढुङ्गाहरूलाई खसाउन खोजिएको रहेछ । एक्साभेटर, डोजर तथा सडक विभागका कर्मचारी र प्रहरी लागिपरेका रहेछन् । हामीलाई भने ‘जहाँ गाह्रो, त्यहीँ साह्रो’ भने झैँ तिर्खा र भोक दुवै लाग्छ । पानी बोकेको रहेनछु । सुन्तलाले तिर्खा मेटाउँछु । मसँग अर्को सिटमा मभन्दा पाका कँडेल थरका यात्री हुनुहुन्छ, खोकिरहनुभएकाले उहाँलाई सुन्तला दिन्नँ । भोक मेटाउन स्याउ खान्छु । एउटा उहाँलाई र एउटा मलाई भाग पुग्छ ।
बर्दघाट भनेको आदरणीय घनश्याम न्यौपाने परिश्रमी सरको घर भएको ठाउँ हो । उहाँको घर यसभन्दा अघि पनि आएको छु । मेरो लक्ष्य कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा नम्बर नौ अर्थात् गबदहबा हुनाले ओर्लेर भेट्न सक्तिनँ, फोन गरेकै भरमा चित्त बुझाउँछु ।
४५ मिनेटपछि जाम खुल्छ । गाडीहरू पुनः आआफ्ना लयमा रत हुन्छन् । बर्दघाटपछि पनि कतिओटा जङ्गल छन् बुटवल आइपुग्नुअघि । बुटवल आइपुगेपछि भने मेरा लागि असजिलो र अनौठो लाग्छ । अब कताबाट जाने ? तै बसले अर्को स्टेसनको नजिक पु¥याइदिन्छ । केही यात्री र प्रहरीलाई सोधेर गाडी पत्ता लगाउँछु । यहाँबाट मिनीबस पाइन्छ ।
तै मिनीबसका यात्री तथा कन्डक्टर सबै सहयोगी छन् र मलाई सजिलो हुन्छ । बस्न पनि पाउँछु । ओर्लने ठाउँ डुमरा पनि देखाइदिन्छन् ।
बुटवलदेखि डुमरासम्म जाँदा बाटामा देखिन्छन् जितगढी, फरेस्ट भ्यू लज एन्ड रेस्टुरेन्ट, बेलवास, ढवाहा, कोरिया नेपाल बहुप्राविधिक विश्वविद्यालय, नवदुर्गा भवानी मन्दिर । नजिकै छ चुरे । सैनामैना भन्ने ठाउँ यहीँ रहेछ । माओवादी द्वन्द्वकालमा यो ठाउँ निकै चर्चामा थियो । यसपछि रहेछन् सहिद नारायण पोख्रेल रामा क्याम्पस, कैलाश आश्रम ।
सायद यहाँबाट कपिलवस्तु जिल्ला सुरु हुने रहेछ । कपिलाधाम, गोरुसिङ्गे, बुर्ती, डुमरा । यस बिचमा पनि छन् जङ्गलहरू ।
डुमरामा ओर्लेर विष्णुजीलाई फोन गर्छु “म आइपुगेँ” भनेर । उहाँ एक घण्टा अघिदेखि प्रतीक्षा गदैै हुनुहुन्थ्यो । हामी फोन फोनबाट जोडिन्छौँ परस्परमा ३१ वर्षपछि बिजुलीको प्रकाशमा अनुहार ठम्याउँदै अर्थात् मङ्सिर पूर्नेको साँझ ५ः४५ मा ।
विष्णुजीको घर डुमराबाट पाँच छ किलोमिटर उत्तरतिर पर्ने हुनाले उहाँले बाइक ल्याउनुभएको रहेछ । साँझ परिसकेकाले डुमरामा रोकिनुको औचित्य थिएन तसर्थ हामी सामान्य भलाकुसारीपश्चात् गबदहबातिर लागिहाल्छौँ । बाटामा सानो बस्ती र त्यसपछि जङ्गलै जङ्गल छ । बाटो ग्रेभेल र कच्ची दुवै प्रकारको थियो । तीन दशकपछि भेटिँदा पनि बोल्न कट्टी गरेका बालबालिका जसरी नबोली अगि बढ्ने कुरा आएन । बाटामा अलि अलि गफ हुँदै अगि बढ्दै थियौँ, बाइक लन्ठ्याङमन्ठ्याङ भयो, सम्हालिन खोज्दाखोज्दै लडिहाल्यो । अगाडिको बाटामा बालुवा रहेछ, साँझको बेला, आँखाले राम्ररी ठम्याउन नभ्याउँदा लडेको रहेछ ।
बाइक लडेपछि स्वाभाविक रूपमा हामी पनि लड्ने भइहाल्यौँ । बाइकको स्पिड पनि बढी थिएन । प्रतिघण्टा २०÷३० किमि थियो होला । चोट त मलाई पनि घुँडामा लागेको रहेछ तर म जुरुक्क उठ्न सकेँ । विष्णु सर उठ्न सक्नुभएन । यसो हेरेँ, एउटा गोडा बाइकले थिचिएको रहेछ । बाइक उठाएँ बिस्तारै । गोडा निकालेपछि आराम गर्र्यौं एकछिन । एकछिनपछि सोधेँ, “बाइक हाँक्न सक्नुहुन्छ ?” “सक्तिनँ” भन्नुभयो । एक मन लाग्यो, उहाँको कुनै छोरालाई बोलाउनु पर्र्यो । अर्को मनले भन्यो, “गेयर मिल्ने बाइक भए त हाँके भइहाल्यो नि !” बाइकको नाम सोधेँ, स्प्लेन्डर रहेछ । मैले सुपर स्प्लेन्डर चलाउने हुनाले गेयरलगायतका कुरामा समस्या रहेन । बाइक अलिकति चलाएर पनि हेरेँ, अलिकति असजिलो भए पनि सकिने जस्तो लाग्यो । जङ्गली कच्ची बाटो, मैले पनि दुई जना जाने आँट गरिनँ । उहाँको पनि बाइकमा जान सक्ने अवस्था थिएन ।
डुमरासम्म चल्ने अटोहरू प्रायः गबदहबाकै थिए । प्रत्येक अटोले रोकेर मानवीयता देखाए । गाउँमा मानवीयता बाँचेके छ, त्यसमाथि त्यहीँको विद्यालयका प्रधानाध्यापक भएर जीवन बिताउनुभएको मान्छे । सहयोगको त कुरै आएन । एउटा अटोमा उहाँ घरसम्म जाने हुनुभयो । मैले अटोवालालाई “ढिला हाँक्नू” भनेँ र म पनि पछि पछि बाइक हाँक्तै मित्रको घर पुगेँ ।
साथीकहाँ पुग्दा स्थिति उल्टेको थियो । एउटा साथी भेट्न अर्को साथी पुग्दा पनि परिवारले पहिले सोचे जस्तो खुसी हुन पाएन । मलाई पनि अप्ठ्यारो अप्ठ्यारो लागिरह्यो । म शकुन भएर पुग्नुपर्ने अपशकुन जस्तो पो भयो । मेरो साथीको परिवारले भने मलाई रत्ति पनि त्यसको छनक दिएन । पीडामा पनि रमाएको देखाउन सक्ने खुबी कमैमा हुन्छ । त्यस्ता कम परिवारमध्ये मेरो साथीको परिवार पनि रहेछ ।
साथीको घर पुग्दाओर्दा पक्कै साढे सात बजेको हुँदो हो । त्यसपछि म्याडम र परिवारका अन्य सदस्यसँग भलाकुसारीपछि खानपिन भयो । खानपिन अघि र पछि पनि विष्णुजीको घरेलु र तात्कालिक उपचार हुँदै रह्यो । त्यही सिलसिलामा उहाँहरू अलि ढिलै सुत्नुभयो क्यारे ! म पनि नियमित औषधीहरूको प्रयोग गर्दैै निद्रादेवीको शरणमा परेँ ।
यहाँबाट छ किमि उत्तरपट्टि अर्घाखाँचीको चुरे छ, पूर्वमा जङ्गलपछि वाणगङ्गा नगरपालिका, दक्षिणपट्टि अलि तलै रहेछ महाराजगन्ज नगरपालिका र पश्चिमपट्टि जङ्गलपछि शिवराज नगरपालिका ।
भोलिपल्ट अर्थात् २३ गते बिहान नित्य कर्म सकेर चिया पिइसकेपछि एक्लै गाउँतिर निस्केँ । मेरा मित्रले पढाउनुभएको गबदहबा आधारभूत विद्यालय हेरेँ । २०३५ सालमा बनेको रहेछ । कम्पाउन्डिङ हुँदैरहेछ ।
गाउँमा एउटा प्रतीक्षालय रहेछ ।
गबदहबामा पहाडे कम र थारूहरू बढी रहेछन् । थारू जातिका मानिसका अनुहार देशैभर एकैनासको हुनेरहेछ क्यारे ! मलाई मेरो मूल घर भएको चन्द्रनिगाहपुरको मोतियाही, मोतीपुर, जुडीबेला, सन्तपुर, डुमरिया तथा बालचनपुरतिरका र यहाँका थारूहरू उस्तै उस्तै लागे । सहयोगी र मिलनसार पनि उस्तै लागे । यहाँ पनि माटाले बनेका घरमा थारू कलाकारिता झल्काउन खोजेकै छन् । पक्की बनाइएका कतिपय घरमा पिँढीलाई दुईफिटे पर्खाल ठड्याएर आफ्नोपन देखाउन खोजेकै छन् । झ्यालहरूमा त्रिकोणात्मकता प्रस्तुत गरेर थारूपन झल्काएकै छन् ।
साथीको गाउँ चारैतिर वनै वनले घेरिएको सुन्दर रहेछ । गाउँ सानै भए तापनि फाँटिलो र उब्जाउ रहेछ, रमाइलो रहेछ ।
अँ, चारैतिर वनबाट घेरिएको गबदहबा देख्ता मलाई आफू हुर्केबढेको चन्द्रनिगाहपुरको ठाडाटोलको सम्झना हुन्छ । ठाडाटोल होस् वा चन्द्रनिगाहपुर नै पनि तीनतिरबाट जङ्गलले घेरिएको थियो र छ पनि । ठाडाटोलमा हाम्रो बारी नै जङ्गलसित जोडिएको थियो । गबदहबा, चन्द्रनिगाहपुर, हेटौँडा वा म आज आएको बाटाका जङ्गल, बस्ती, जङ्गल, बस्ती हेर्दा मलाई २०३७ तिर पढेको मानव विकासको सिद्धान्त झुठो हो वा साँचो हो, भ्रम पो पर्र्यो । मैले मानव विकासका क्रममा मानिस जङ्गलबाट निस्क्यो भनेर पढेको थिएँ । त्यो विकसित देशमा होला वा मैदानी भागमा होला, पहाडी भागमा असत्य ठहरिन्छ । राजमार्गै राजमार्ग हिँडू वा पहाडै पहाड फाल हालौँ । पाथीभरा जाऔँ वा मुस्ताङ, दोलखा जाऔँ वा रारा सबैतिर जङ्गलमै छन् त मान्छे । कहिले जङ्गलबाट निस्के र !
लेखन : २०७९ पौष १० गते आइतबार ।
रमेशमोहन अधिकारी, मकवानपुर