Home Blog Page 83

सानु खनालका तीन मुक्तकहरू

हेटौँडा उपमहानगरपालिका– १२, पदमपोखरी, मकवानपुर निवासी सानु खनाल पेसाले नेपाल टेलिकम, हेटौँडा शाखामा कार्यरत हुनुहुन्छ । उहाँ साहित्य सङ्गम, मकवानपुरको कार्यसमितिका उपाध्यक्ष हुनुहुन्छ । उहाँले मुक्तक, कविता, कथा, गजललगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । – सम्पादक


मुक्तक १

बाहिर यस्तै त हो तन भित्र के केमा मन चलिरहेको छ
बाँचेको प्रमाण दिनलाई मुटुमा धड्कन चलिरहेको छ
कहिले फुरुक्क पार्छ सुखले कहिले हुरुक्क पार्छ दुःखले
जिन्दगी यस्तै रहेछ साथी ऐजन ऐजन चलिरहेको छ ।

मुक्तक २
जित मात्रैले पनि अभिमान बढ्छ हार सिकाउनुपर्छ
सुखदुःख दुइटा पाटा जीवनका सार सिकाउनुपर्छ
सन्तानको उन्नति प्रगतिमा साँच्चै गौरव गर्नु छ भने
सबैभन्दा पहिले उनीहरुलाई संस्कार सिकाउनुपर्छ ।

मुक्तक ३

रूप उस्तै देखिए तापनि त्यसको सार फरक हुन सक्छ
कसले कुन कोणबाट हेर्छ हेर्ने आधार फरक हुन सक्छ
विषय, परिवेश र हाम्रो चेतनाको गहिराइका कारणले
समान कुरामा हजुरको र मेरो विचार फरक हुन सक्छ ।

सानु खनाल, मकवानपुर

कविता : गाह्रो छ मान्छे हुन/ सुनिल गौतम

रेडियोकर्मी, शिक्षक तथा अन्य विविध क्षेत्रमा सक्रिय हेटौँडा– ५ का सुनिल गौतम कविता, गीत, कथालगायत साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका दर्जनौँ गीतहरू रेकर्ड भएका छन् । उहाँ राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका केन्द्रीय सदस्य तथा साहित्य सङ्गम मकवानपुरका कार्यसमिति सदस्य तथा प्रलेस मकवानपुरका पूर्वसचिव हुनुहुन्छ । – सम्पादक

मेरै सीप जडेर बन्छ हँसिया, मै हुन्छु कामी किन ?
बिक्दै छन् श्रम सीप यी तर यहाँ, मान्छे भलै बिक्दिनँ
सीमा तोकिदिएर भन्न सुरु भो, मान्छे अमान्छे जुन ?
तिम्रा ब्राह्मणवादभित्र किन हो, गाह्रो छ मान्छे हुन ।

गाग्रो पोखिदिएर हेर्छ रमिते, बोल्दैन द्यौता तर
हो झैँ लाग्दछ मन्दिरै पनि यहाँ, पापीहरूको घर
कैलेसम्म यहाँ छ सल्किरहने, जातीय आगो भन ?
तिम्रा ब्राह्मणवादभित्र किन हो, गाह्रो छ मान्छे हुन ।

कामैको भरमा पुरेत जति हौ, दर्जी न उस्तै त हो
जुत्ताको श्रम गर्छ हेर ऊ अझै, सार्की कसोरी भयो ?
ढुङ्गा हुन्छ पवित्र देव तर त्यो, मान्छे हुँदैन किन ?
तिम्रा ब्राह्मणवादभित्र यसरी, गाह्रो छ मान्छे हुन ।

कैल्यै साँध थिएन हुन्न अछुतो, यो सीपमा ठोक्किन
मैले देवल छोउँ हुन्छ बिटुलो, पर्ने छ मै रोक्किन
मेरो दोष भयो र जात कसरी, के दोष भो जन्मन
तिम्रा ब्राह्मणवादभित्र किन हो, गाह्रो छ मान्छे हुन ।

तिम्ले स्वाश लिँदा न छेक्न उभिएँ, बाधक भएँ लौ भन
खोक्रो धर्म र जातको चलनले, भत्काएँ के आँगन
भुल्दै वाद र वेदको दमन यो, खोज्छन् मुठी कस्सिन
तिम्रै दर्शनको म सार जिउने, खोज्दै छु मान्छे हुन ।

सुनिल गौतम, मकवानपुर

गजल : वसन्त ओली वसन्ती, दाङ

घोराही उपमहानगरपालिका– ८, दुन्द्रा, दाङमा जन्मनुभएका गजलकार वसन्त ओली वसन्ती उपन्यास, मुक्तक, गजललगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका तिर्सना (उपन्यास– २०६९), कोसेली (संयुक्त मुक्तक सङ्ग्रह), इन्द्रेणी– ४ (संयुक्त गजल सङ्ग्रह), बोई (गजलसङ्ग्रह – २०७८), बोई २ (दोस्रो संस्करण)– २०८० प्रकाशित भएका छन् । उहाँ पुष्पपराग वर्षको सर्बोत्कृष्ट गजलकार सम्मान– २०७४ (भक्तपुर), गोदावरी गजल साधना सम्मान– २०७५ (ललितपुर), सारथि साहित्य प्रतिष्ठान सम्मान– काठमाडौ (२०७६), गोधूलि साहित्य वर्ष कृति पुरस्कार –काठमाडौ (२०७८), सङ्गम सहित्य सम्मान पुरस्कार– नुवाकोट (२०७८), नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार– २०७९ (दाङ), सदाबहार राष्ट्रिय गजल प्रतियोगिता महेन्द्रनगर– २०७५ (प्रथम), सदाबहार खुल्ला गजल प्रतियोगिता महेन्द्रनगर–२०७४ (प्रथम), रोल्पा–माडी गजल प्रतियोगिता– २०७३ रोल्पा– (प्रथम), सर्जक जमघट साहित्य समाज गजल प्रतियोगिता–कालीमाटी काठमाडौँ– २०७५ (प्रथम), विश्वव्यापी खुल्ला अनलाइन गजल प्रतियोगिता भारत– २०७३– (द्वितीय) बाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।– सम्पादक

गजल

सङ्कटकै बेला भनेछौ मैले सब सुविधा पाउनुपर्छ
भन्दा सम्झिनुपर्थ्यो कहिले उभिएर पनि निदाउनुपर्छ

रिसाएर दुर गएकी उनलाई आखिरमा घरमै ल्याएँ
सोचेँ, कपडा फाटे सिलाउन मिलेसम्म सिलाउनुपर्छ

ढुङ्गाले घनबाहेक चिन्दो रहेनछ अरू कोहीलाई
सायद परिचय दिनलाई पनि एकपटक हिर्काउनुपर्छ

कसैले सोध्यो– त्यतिका मान्छे कसरी दिलभित्र राख्न सक्छौ ?
मैले भनेँ बाकसमा धेरै कपडा राख्न पट्याउनुपर्छ

मनमा केही कुरा नभए पनि मसँग बोल्न किन डराएकी छौ ?
हुन त हो रित्तो घरको ढोकामा पनि साँचो लगाउनुपर्छ ।

वसन्त ओली वसन्ती, दाङ

गजल: गजलकार सदा निहारिका

ललितपुर निवासी सदा निहारिका गजल, कविता, मुक्तकलगायतका विधामा सक्रियतापूर्वक आफ्नो कलम चलाउँदै आउनुभएको छ । उहाँ गोदावरी साहित्य प्रतिष्ठान र सुनगाभा साहित्य प्रतिष्ठानमा आबद्ध रहनुभएको छ ।– सम्पादक

गजल

कसले सक्छ र यति मिलाएर गर्न बयान हजुरको
र त आफू आफैँ गाउनुहुन्छ गुणगान हजुरको ।

दिनभरिको पापको मोक्ष हुन्छ कि हुन्न होला
बित्छ सँधै मन्दिर चाहार्दै बिहान हजुरको ।

आचीमै खसेको पैसा पनि मुखैले टिपुँ झैँ गर्नुहुन्छ
होला पैसाकै चिता सुनकै चिहान हजुरको ।

उचाइमा हुँदा बडो ख्याल गर्नुहोस् सानाहरूसँग
नाथे चराले पनि खसाल्न सक्छ विमान हजुरको ।

सदा निहारिका, ललितपुर

कविता: स्वतन्त्रताको जन्म / रोश्नी चौँलागाई

हेटौँडा– ५ निवासी रोश्नी चौँलागाई कक्षा १२ मा अध्ययनरत रहनुभएको छ । उहाँ नवसाहित्य चौतारीको केन्द्रीय सचिव, गजल मञ्च मकवानपुरको सदस्य रहनुभएको छ । उहाँ कविता, गजल, मुक्तकलगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । – सम्पादक

बलिदानको नरम दियो बाली
कर्मको चहकिलो प्रकाश छर्दै
तिमीले सँगालेका जिन्दगीका हर कणमा
हुर्काउन सकुँ म हृदयमा
सपनाको सिङ्गो ’नेपाल’ !
सजाउन सकुँ म हत्केलामा
भविष्यको हाम्रो, ’नेपाल’ !

नेपथ्यका फूलबारीमा सरेका बेर्नालाई
सार्नु छ रङ्गमचका विशाल फाँटहरूमा !
र त
तिमी मेटिएर गएको माटोमा
स्वाभिमानको फूलहरू फुलाउनु छ !
देशमा नवीन परिवर्तनको निम्ति
तिम्रै दृढ विश्वासका रक्तधाराहरूले
रच्नु छ पुनः पृथक् इतिहास,
अनि कोर्नु छ
स्वर्णिम नेपालको मार्गचित्र !

हामीले सिँचेको स्वप्नभूमिमा
अस्ताउनु पर्ने छैन असमयमै
कोही लखन,
कोही धर्मभक्त,
वा कोही चिनियाँलाल
कुनै काण्डमा मारिनुपर्ने छैन
तिमीहरू जस्ता देशका सान अब
देशद्रोहीहरु अब मौलाउने छैनन्
तिनका बिउहरूमा सूर्यले किरण छर्ने छैन !

जननी जन्मभूमिश्चः स्वर्गादपिः गरीयसी
म तब आत्मसात गर्ने छु
जब जनताका मौन अवधि सकिने छ,
अनि फुट्ने छ मूल एउटा बुलन्द आवाजको
अनैतिकताको खटिरामा
नैतिकताको मलम लाग्ने छ !

आततायीको मृत्युले नै गर्छ समाप्त
संसारभरका निरङ्कुश सत्ता
तर
जब सहिदको जीवन बलिदान हुन्छ
तब जन्मदिन्छ आस्तिवको पूर्ण स्वतन्त्रता !

रोश्नी चौँलागाई, मकवानपुर

कविता : ईश्वरसँग अनलाइनमा / सन्तराम राई

बकैया– ४, मकवानपुर निवासी सन्तराम राई सरकारी सेवामा रहेर पनि कविता, गजल, मुक्तकलगायतका विधामा कलम चलाइरहनुभएको छ । उहाँ झरना साहित्यिक परिवार, मकवानपुरको सहसचिवका रूपमा क्रियाशील रहँदै आउनुभएको छ ।- सम्पादक

कुनै एक दिन
मतलब
कुनै दिन
आफैँलाई मारेर बाँच्नेहरूको लिस्ट
सायद ईश्वरसँग पनि छैन
पक्कै छैन
बाध्यतामा मुस्कान बेचिएका
ओठहरुको लिस्ट
आफैँ हिँडेका पाइलाहरू
मेट्दै हिँड्ने
डुङ्गा झैँ छोराछोरीहरू सम्झी
अनायासै
आमाको आँखाबाट झर्ने
आँशुहरूको लिस्ट
सानै छँदा
बाबुआमाको नाममा
फालिएका केशहरुको लिस्ट
नफक्री झरेका
शिरका लालीगुराँसहरुको लिस्ट
छैन होला
शरीरभित्र बदलिरहने
कोषहरूको लिस्ट
रोक्किनकै लागि
नरोक्की चल्ने
धड्कन अनि श्वासहरूको लिस्ट
अनि छैन होला
गन्तव्यमा नपुगी
टुक्रिने, मर्ने
करौँडौ स्पर्महरूको लिस्ट
नजन्मिएका
आइस्टाइनहरू, बुद्धहरु अनि मार्क्सहरूको लिस्ट

तर
आज एकाएक भएको
ईश्वरसँगको अनलाइन भेटमा
अचानक, ईश्वरको गुगल लिस्ट
ह्याक गरेँ र हेर्न थालेँ
अस्पष्ट नबुझिने फन्टहरू
भाषा ट्रान्सलेटर एप्समा
तब त्यहाँ भेटेँ
मर्ने बाँच्नेहरूको ‘मात्र’ लिस्ट
हाँस्ने रुनेहरूको ‘मात्र’ लिस्ट
दुःखसुख भोग्नेहरूको लिस्ट
यद्यपि हत्तार–हत्तार
खोज्दै थिएँ म
मरेर बाँच्नेहरू
बाध्यात्मक मुस्कान बोकेका ओठहरू
आमाका गह भिजाइरहने आँसुहरू

केशहरूसँगै फालिएका सम्झनाहरू
लालीगुँराास पुछिएका सिउँदोहरू

अझ भेट्दै भेटिनँ त्यहाँ
बेआकार कोषहरू
पुनः जन्म लिइरहने रगतहरू
आफै मस्त चलिरहने
धड्कन अनि श्वासहरू
बेमौत मरेका महापुरुषहरू
यी यावत लिस्टहरू
खोज्दाखोज्दै एक्कासि
खाली
खाली
खाली
मतलब,
ईश्वर आफ्नो गुगल लिस्ट
हाइड गरी अफलाइन भएछन्
र जाँदाजाँदै
एउटा म्यासेज छोडेछन्
जहाँ लेखिएको थियो
“हे मनुष्य !
मलाई अझै, युगौँयुग
ईश्वरै बन्नु छ ।”

मकवानपुर

कविता : तिमी मलाई उस्तै कविता लेख्न उक्साइरहेछौ /प्रज्ज्वल अधिकारी

दुराडाँडा, लमजुङमा जन्मिनुभएका कवि प्रज्ज्वल अधिकारी हालः कीर्तिपुर, काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । अङ्ग्रेजी विषयमा एमए गर्नुभएका उहाँ कविता, गीत र गजलमा कलम चलाउँदै आउनुभएको छ । उहाँ विमर्श युवा प्रतिष्ठान नेपाल र स्रष्टालयमा आबद्ध रहँदै आउनुभएको छ । उहाँ शताब्दी साहित्य प्रतिष्ठान सम्मान, गोदावरी साहित्य सम्मान, अर्थ आवर विश्व कविता महोत्सव द्वितीय, राष्ट्रिय कविता महोत्सव प्रथम, ओलम्पिया पोयट्री स्ल्याम विजेता, राष्ट्रिय कविता महोत्सव प्रज्ञा तृतीय, द्वितीय, अन्नपूर्ण एफएम राष्ट्रिय कविता प्रतियोगिता प्रथम, अनेसास कविता प्रतियोगिता तृतीयबाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ । उहाँका छकालै संयुक्त कथा सङ्ग्रह, अक्षरहरूको सगरमाथा संयुक्त कविता सङ्ग्रह, स्वच्छन्द सुसेली भाग १ र २ संयुक्त कविता सङ्ग्रह प्रकाशित भएका छन् । यसका साथै उहाँका हालसम्म ५ वटा गीतहरू पनि रेकर्ड भएका छन् । – सम्पादक


लेखिएका कविताहरू पढिएनन् या
पढेर पनि बुझिएन
वा बुझेर पनि नबुझे झैँ गरियो ?
कि मेरो देश–जन्मजातै स्वाधीन देश हो !
अब तिमी फेरि
यति ठुलो व्यङ्ग्य लेख्न उक्साइरहेछौ

उहिल्यै लेखिसकिएका
वैरीका सामु कहिल्लै घुँडा टेकेनौँ कविता
घुँडा टेक्दै अब फेरि लेख्नु ?
आफ्नैले आफ्नैलाई अरुका सामु
घुँडा टेकाइरहेको समयमा यो वाक्यले अर्थ राख्छ ?

विश्वको जुनसुकै कुनामा जन्मिएको कविले
महिला मुक्तिको कविता लेखिसकेको छ भने
त्यो कविताको भाव विश्वव्यापी हो
तिमीलाई तिम्रै भाषामा लेखेर बुझाउन खोज्नु मूर्खता हो

बालश्रम, बलात्कार, सीमा मिचेका कविता
बच्चा कुनै रेस्टुरेन्टमा भाँडा माझ्दै गरेको भेटिएपछि
कुनै चेली जङ्गलमा लुटिएको भेटिएपछि
शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रको सीमा मिचेपछि
तिमी फेरि यिनै विषयमा कविता लेख्न उक्साउँछौ

नयाँ कविता, नयाँ शिल्प, नयाँ बिम्ब, प्रतीक भनेर
दर्शकतिरबाट, समालोचकबाट आउने आवाज
म छक्क पर्छु
जब लेख्न बस्छु कविता
आँखै अगाडि आउँछ–
उस्तै व्वयस्था, उस्तै कार्यप्रणाली,
उही नेता, उस्तै जनता
उही आन्दोलन, उही नारा
वाक्क हुन्छु म
र, तिनै पुराना बिम्बलाई
कहिले अगाडि कहिले पछाडि राखेर
उही रक्सीलाई नयाँ बोतलमा हालिदिन्छु
माथिको वाक्य पनि त क्लिसे हो

दाइजोको निहुँमा लेखिएको– एउटै कविता
छाउपडी विरुद्ध लेखिएको– एउटै वाक्य
श्रमिकको बारेमा लेखिएको– एउटै हरफ
यदि तिमी मान्छे हौ भने पर्याप्त हुन्छ
तर तिमी मलाई यिनै भावमा कविता लेख्न
बुहारी जलाउँछौ, छोरी मार्छौ, श्रमिक पिट्छौ

बमले उडेको बच्चाको दिमाग
–सिरियाको होस् या युक्रेनको
घरबारविहीन भएर लखेटिएका
–भुटानी हुन् या रोहिङ्ग्या
बमले खरानी बनाएको
–हिरोसिमा होस् या नागासाकी
अब अरु यस्ता घटना नघट्न यिनै घटना काफी छैनन् ?

रगतको आहलले तिर्खा मेट्दैन
युद्धको धुवाँमा पानीका कण हुँदैनन्
यी र यस्ता सयौँ वाक्य कयौँ पटक लेखिसकिए
मलाई केही नयाँ लेख्न देऊ

तिमी मलाई केही फरक परिवेश देऊ
म तिमीलाई नयाँ कविता दिन्छु ।

प्रज्वल अधिकारी, लमजुङ

कविता: लास / मीन थापा

जानकी गाउँपालिका, कैलाली निवासी मीन थापा पेसाले शिक्षण क्षेत्रमा आबद्ध रहनुभएको छ । उहाँ कविता, गीत, गजललगायतका विधामा कलम चलाइरहनुभएको छ । उहाँको ’उत्तरआधुनिक मान्छे’ (२०६९) कविता सङ्ग्रह प्रकाशित भएको छ ।- सम्पादक


त्यो लास कसको हो
जसले खुलेआम
अनिश्चिता छरपष्ट सडकभरि
हाम्रा आँखाहरूमा
हाम्रै आत्माहरूभित्र झाँकेर
कुनै गहिरो सपनापछिको अँध्यारो वर्तमानलाई
उज्यालै उज्यालो दिएर बलिवेदी चढ्यो ।
कहिल्यै महसुस नहुने
सुख रोइरहेका हामीलाई
दुख हाँस्न सिकाएर गयो ।
कुनै मृत्यु जस्तो
सपनामा आफ्नो छाया देखेर
बर्सौँम्म पनि डराउने हामीलाई
कुनै ठोस उज्यालाका निम्ति
कति सहजै मृत्यु बाँच्न सिकाएर अलप भएर गयो ।
कति सहजै जीवन बलिदानी गर्न सिकाएर गयो ।
हाम्रा निम्ति
मानौँ ऊ
सपनामा पनि नचिताएको उज्यालो भएर आयो ।
आखिर त्यो लास कसको हो
जुन अहिले पनि मानौँ
हाम्रो सपनाको प्रत्याभूति हाँसिरहेछ
हाम्रो सङ्घर्षको सुरुवात बाँचिरहेछ ।
हाम्रा निम्ति एकपल्ट बाँचे जस्तो गरेर
सायद हाँसी हाँसी
देशका निम्ति हामी पनि मरिरहेछ ।
मानौँ ऊ केही बोल्न चाहे जस्तो गरेर
हाम्रो लाचार मौनतालाई
आफू पल्टिएको सडकमा
इतिहास र वर्तमानसँगसँगै साउती गरिरहेछ ।
मानौँ ऊ एकफेर हिँड्न चाहिरहेछ
स्वतन्त्रताका डेगहरू।
हेर्न चाहिरहेछ आमाका आँखामा
देश हाँसिरहेको आँसु ।
अन्तिम सास लिनुअगावै
मानौँ ऊ सदासदाका लागि देख्न चाहिरहेको थियो
कुनै गोरो पर्यटकको क्यामेरामा
भर्खरै मात्र कैद गरिएको
स्वयम्भूका आँखाभरि
आफ्नो रगतले कोरिएको मूर्त देशको एउटा शालीन तस्बिर ।

हामी एकोहोरो सहानुभूति जस्तो मन उभ्याएर
उसको बलिदानीको स्वायत्त क्षितिजउपर
आँखा चिम्लिरहेछौँ
उसको सङ्कल्पको धरातललाई ।
उसको बलिदानलाई
मृत्यु जस्तो ठानेर एकोहोरो
आफ्नै कायरताको शङ्ख फुकिरहेछौँ ।
त्यो लास आखिर हाम्रो को थियो
जो खुलेआम सहादत भयो
हामी सबैले देख्ने गरेर
छरपष्ट रगत चुहिने गरेर
कति सहजै
छातिमा गोली खाएर मर्‍यो ।
हामी भने केही क्षणका लागि
रेडियोमा एकोहोरो श्रदाञ्जली फुक्न भनिरहेछौँ ।
टेलिभिजनका स्क्रिनहरुमा रोइरहे जस्ता
कमरेडहरुका रक्तिम आँखा देखाउन भनिरहेछौँ ।
टेलिफोन बुथमा उसको बलिदानी हल्ला गर्न लगाइरहेछौँ
कुनै गुमनाम अखबारको सम्पादकलाई कालममा थोरै स्पेस छोड्न भनिरहेछौँ ।
हामी सोचिरहेछौँ यति नै प्रयाप्त छ उसको बलिदानीलाई
अहिले पनि एकोहोरो हेरिरहे जस्तो लाग्छ उसको लास
मानौँ ऊ येसु जस्तो
क्रुसमा चढाइएका
आफ्ना सङ्कल्पहरूबाट, प्रतिबद्धताबाट
नयाँ सुनियोजित भविष्यका लागि
कुनै कालजयी इतिहासको आत्मा भएर
बौरिने छ फेरि पनि
त्यस बेला उसको मृत्यु हाम्रा निम्ति
लास मात्रको बलिदानी हुने छैन ।

मीन थापा / कैलाली

ध्रुव सञ्ज्यालका मुक्तकहरू


कालिकोट निवासी ध्रुव सञ्ज्याल हाल भरतपुर बसेर वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनमा बि. एस्सी. तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ कविता, गजल, मुक्तकलगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँ हाल शिक्षण पेसामा संलग्न रहनुभएको छ । -सम्पादक

मुक्तक १

देखिँदैनन् आफ्नाहरू अक्सर शून्य शून्य लाग्छ
अनि लाग्दैन कसैको पनि भर शून्य शून्य लाग्छ
तिमीबिनाको एक पल मात्रै हो नरमाइलो लाग्ने
मलाई मेरी आमाबिनाको घर शून्य शून्य लाग्छ ।

मुक्तक २
यहाँ मान्छेको क्षमताको मापन कसरी हुन्छ ?
र क्षमता पत्ता लगाउन अध्यापन कसरी हुन्छ ?
म लजाउँछु गाउँको आँटो र गुन्द्रुकको प्रचार गर्न
तर यो बजारमा शरीर बेच्ने विज्ञापन कसरी हुन्छ ?

मुक्तक ३
चुनाव आउँदा पो खाँचो पर्छ हजुरलाई
अनि भएभरका गफ दिएर टर्छ हजुरलाई
मजदुरको पसिनाको मूल्यको के चासो ?
कुर्सी हराउँछ कि भन्ने डर छ हजुरलाई ।

ध्रुव सञ्ज्याल, कालिकोट

सूत्रकथा : त्यान्द्रो / एस.के. निधन

  • के कामले आउनु भयो हजुर बा ?
  • नागरिकता बनाउन ।
  • कसको ?
  • आफ्नै ।
  • बुढेसकालमा किन चाहियो र ?
  • वृद्ध भत्ता खान ।
  • खै ! जन्म दर्ता दिनुस्।
  • वडाले दर्ता गर्नै मानेन ।
  • किन ?
  • आमाबाको विवाह दर्ता छैन रे ।
  • दर्ता गराइदिनुस् न त ।
  • त्यो पनि भएन ।
  • किन ?
  • नागरिकताबिना विवाह दर्ता नहुँदो रहेछ।
  • नागतिकता लिएर जानुस् न त।
  • छैन ।
  • किन ?
  • बा नागरिकता नबनाई मर्नुभएछ।
  • बाको मृत्यु दर्ता त होला नि ?
  • छैन ।
  • किन छैन ?
  • वडाले मृत्यु दर्ता गर्नै मानेन ।
  • किन ?
  • मेरा बाको मृत्यु हुनै सक्दैन रे।
  • किन हुन सक्दैन रे त ?
  • मेरा बाको पनि जन्म दर्ता छैन रे । वडा अध्यक्षले नजन्मिएको मान्छे मर्नै सक्दैन भन्नुभयो ।
  • ओहो ! हजुरबा ! साह्रै गाह्रो पो भयो त ।
  • उसो भए बन्दैन त हाकिम साब ।
  • हेरौँ, कानुनले के भन्छ ? म प्रयास गर्छु । तपाईँ कोठा नम्बर १ मा जानुस् ।
    [ टिनिनिनी : गोल्डेन जिरा, मिलाएर पकाउनुस् ]
  • हाकिम साबले पठाउनु भएको ।
  • अँ मैले बुझेँ । ५०० रुपियाँ दस्तुर बुझाउनुस् ।
  • लिनुस् सर ।
  • ल ठिक छ अब २ नम्बर कोठामा जानुस् ।
  • दस्तुर बुझाएको बिल पाइँदैन सर ।
  • बिल त पाइन्थ्यो नि हजुर तर कसको नाममा काट्ने ? अहिलेसम्म तपाईँको बा पनि जन्मनुभएको छैन । तपाईँ बुढो मान्छे भनेर खुसुक्क सिफारिस गर्दिएको छु । चुपचाप गोजीमा राख्नुस् ।
    [ टिनिनिनी : गोल्डेन जिरा]
  • १ नम्बर कोठाको सरले पठाउनुभएको ।
  • ए मैले बुझेँ ।
  • बा खोइ त ?
  • पोहोर बित्नु भो ।
  • अलिकति खर्च बढ्ने भो है ।
  • भन्नाले ।
  • सुन्नुस् :
    बा जन्माएको ५००
    बाको नागरिकता बनाएको ५००
    बाको विवाह दर्ताको ५००
    बाको मृत्यु दर्ताको ५००
    ट्याक्कटुक्क मिलाउँदा रु ३०००
  • लिनुस् सर पैसो ।
  • ल अब यो तपाईँको बाको जन्मदर्ता, नागरिकता, विवाह दर्ता अनि मृत्यु दर्ता ।
    अब ३ नम्बर कोठामा जानुस् ।
  • बिल पाइँदैन ?
  • कसको नाममा दिने र हौ ? बा मरिसक्नुभयो, तपाईँ जन्मनु नै भएको छैन ।
    [ टिनिनिनी : गोल्डेन जिरा ]
  • नमस्ते सर !
    २ नम्बर कोठाको सरले पठाउनुभएको ।
  • ए मैले बुझेँ, बा आमा दुवैलाई ल्याउनुपर्ने थियोे । कागजपत्र मात्रै ल्याउनुभएछ। हाकिम साबले मिलाएर गर्दिनू भन्नुभएको छ । एकैछिनलाई तपाईँको बा त मै बनिदिउँला। ऊ तिनी खरदारनी भाउजू अलिक महङ्गी छिन् खुसुक्क ५०० दिनुस् । अनि तिनी आमा, म बा बनेरै भए पनि तपाईँको जन्म दर्ता गराइदिउँला नि ।
  • लौ न हजुर !
  • ल बधाई छ तपाईँको जन्म दर्ता भयो ।अब कोठा नम्बर ५ मा जानुस् ।
    [ टिनिनिनी : गोल्डेन जिरा, भात पाकिसक्यो।]
  • नमस्ते सर !
  • बा आमाको नागतिकता र तपाईँको जन्म दर्ता ल्याउनुभयो त ?
  • सबै कागजपत्र ल्याएको छु सर ।
  • तल लेखा शाखामा गएर दस्तुर तिरेर आउनुस् । म तपाईँको नागरिकताको फाइल अगाडि बढाइदिन्छु ।

    -नमस्कार वडा अध्यक्षज्यू !
  • घरिघरि किन आको भन्या ? तपाईँको काम हुँदैन, कागज पत्र नै पुग्दैन ।
    -अब सबै पुग्छ हजुर !
  • कसरी ?
  • आज :
    बिहान ११ बजे बा जन्माएँ ।
    १२ बजे बाले नागरिकता लिनु भो ।
    २ बजे बाले विवाह गर्नु भो ।
    २:४५ मा म जन्मेँ ।
    २:३० मा बा फेरि मर्नु भो ।
    ३:३० मा मेरो नागरिकता बन्यो ।

    ५ नबज्दै यहाँ आइपुगेको छु ।
  • ए ल ल मैले सबै बुझेँ । बस्दै गर्नुस् । तपाईंको वृद्ध भत्ता कार्ड बनाइहाल्न पठाउँछु । हाम्रो काम नै जनताको सेवा गर्ने न हो ।
  • अध्यक्षज्यू ! सानो बिन्ती बिसाम् ।
  • भन्नुस् न।
  • बुढो ज्यान, धम्की उस्तै छ । ७५ पुगेँ, ज्योतिषीले ८० कट्दैन भनेका छ्न् । आको बेला मृत्यु दर्ता नि गरेर जाउँ कि भनेको । सरकारी काम साह्रै झन्झटिलो रहेछ । मलाई फ्याट्टै केही भैहालेमा छोरालाई किन दु:ख दिनु ?
  • तपाईँ जिउँदै हुनुहुन्छ, मृत्यु दर्ता कसरी हुन्छ ?
  • सित्तैमा गर्नु भन्या होइन क्यारे । दिनभरिमा प्रक्रिया बुझेर आएको छु । दस्तुर तिरिहाल्छु । मिलाईदिनुस् न हजुर ।बाचुन्जेल भोट पनि हालम्ला केरै ।
  • अनि तपाईँ कति वर्षमा मर्ने त ?
  • उमेरको त के ठेगान भो र ? तपैँहरूको सरकारी कागजले आजै जन्माएर आजै ७५ को बनायो ।
  • ल बुढा ठ्याक्कै ८५ साल मङ्सिर ४ गते स्थानीय चुनाव सकिन्छ । अर्को पाँच वर्षसम्म तिमी बाँच्दैनौ होला । यसैले ८५ मङ्सिर ५ को मितिमा तिम्रो मृत्यु दर्ता गर्दिएँ । मर्नु नि फेरि, धोका दिने होइन ।
  • बाँच्न नजानेकाले मर्दा के धोका दिनु र हजुर ।
  • ए पख्नोस् त, कता हिँड्नुभएको ?
    -काम सकियो क्यारे ! अब घर जान थालेको ।
  • हतार नगर्नुस् न, कामै बाँकी नै छ ।
  • अझै के बाँकी छ र अध्यक्षज्यू ?
  • लु ! सरकारी डड्डाअनुसार तपाईँ आजसम्म जन्मिँदै नजन्मिई यत्रो वर्ष बाँच्नुभयो। तपाईँले राज्यलाई हर्जाना तिर्नुपर्छ ।
  • कति जति लाग्ला हजुर ?
  • तपाईँ आफ्नै मान्छे, धेरै किन लिनु ? त्यो कार्ड छोडेर जानुस्, वृद्धभत्ताको पहिलो किस्ताबाट तानतुन पारेर मिलाइदिउँला नि ।

एस. के. निधन, मकवानपुर