Home Blog Page 47

कथा : राजिनामा || सीता अनजान

“सर नमस्कार ! त्यहाँ के भएको हो ? थुप्रै मानिस भेला भएका छन् त ?” भींडतिर जाँदै गरेका रमेश सरलाई मैले प्रश्न गरेँ ।

“खोई के भएको हो ? मलाई पनि थाहा छैन । भरखर आँउदै छु । मानिसको जमघट देखेर म पनि कक्षामा नगई सिधै यतै लागेँ ।” उनले मेरो प्रश्नको उत्तर दिए ।

म पनि उनीसँगै गफिँदै यताउति हेर्न थालेँ । परबाट दीक्षा मेमले हात हल्लाएर यतै आउनु भन्ने सङ्केत गरिन् । म उनले इशारा गरेतिरै गएँ । त्यहाँ अरु सरमेम पनि रहेछन् । सबैजना आआफ्नो तर्क प्रस्तुत गरिरहेका थिए तर मैले खास कुरो बुझिँन ।

“मेमले ठिक गर्नुभो । अन्याय गर्ने पनि त एउटा सीमा हुन्छ । महिला भनेर कति हेप्न सकेको ?” भींडबाट आवाज आयो ।

“ सबभन्दा पुरानो शिक्षक उनी नै हुन् । ३० वर्षदेखि लगातार मधेसबाट धाइरहेकी छिन् । क्याम्पसको अनुकूलता अनुसार कहिले बिहान, कहिले दिउँसो जहिले बोलाउँछन् तहिले आइरहेको देखिन्छ । बैंकको अधिकृत स्तरमा नाम निस्केको तापनि त्यहाँ गइनन् । आफ्नो उर्वर समय यही खर्चिन् । अहिले फल खाने बेलामा त उनैले पढाएका विद्यार्थीलाई पो न्युक्ति गरेछन् । त्यो पनि उनलाई एकवचन नसोधी अनि दुःख लाग्दैन त ?” मदन सरले आक्रोश पोखे ।

“ पद मात्र दिएर के गर्नु त ? काम गर्न नि सक्नुप¥यो नि ! दुई जना मानिसको अगाडि बोल्नुप¥यो भने थरथरी काम्छिन् अरे अनि त्यस्तो कमजोर मानिसलाई प्रमुख बनाएर मात्र हुन्छ ?” नेत्र सरले आपूmले सुनेको कुरा बताए ।

“त्यस्तो कुरा कसले भनेको ?” मदन सरले प्रश्न गरे ।

“रमेश सरले ।” उनले छोटो उत्तर दिए ।

“ए ! जो चाहिँ विज्ञापन खुलाउदा भिड्ने आँट नगरेर रातारात पार्टी परिवर्तन गरी दबाबमा छिर्छ अनि त्यो चाहिँ सक्षम अरे । बिचरा ! हामीलाई सिकाउँछ ।” अघिदेखि हाम्रा कुरा सुनिरहेका पुराना शिक्षक नरेन्द्र रिसाए ।

“त्यति मात्र हो र ? ती मान्छे त पहिले विद्यार्थी हुँदा पनि खुव उपद्रो गर्थे अरे । कहिले फेन भाँच्ने, कहिले शौचालयको ढोका फुटाउने, कहिले शिक्षकसँगै झगडा गर्ने …. । पछि क्याम्पसमा स्नातकोत्तरको कक्षा सुरु भएपछि पनि यहाँ राम्रो पढाइ हुँदैन भन्दै विद्यर्थीलाई भड्काएर अन्यत्र लगेका थिए अरे त ? के त्यो साँच्चो हो ?” मैले जिज्ञासा राखेँ ।

“खोई, के साँचो के झुटो भविष्यले बताउला तर यति चाहिँ साँचो हो । मान्छे अति नै उम्ल्यो कहाँ गएर नराम्ररी पोखिन्छ ।” नरेश सरले चिन्ता प्रकट गरे ।

“होइन, आफ्नै गुरुलाई कहिले बिद्यार्थीसँगै गएर तिनलाई पढाउन आउँदैन भन्नु, कहिले बोल्न आउँदैन भन्नु, कहिले असक्षम भन्नु त राम्रो कुरा होइन नि ! खास चाहिँ उसको समस्या के हो ? बुझ्नै सकिएन ।” मैले फेरि जिज्ञासा राखेँ ।

“उनी पहिले अर्कै कलेजमा पढाउथे । उनले पढाउने ठाउँमा नेपाली माध्यमका विद्यार्थी सकिए । उनी अङ्ग्रेजी माध्यममा पढाउन नसक्ने भएपछि जागिर सकियो । त्यसपछि यहाँ शक्ति प्रयोग गरेर दबाबमा छिरे । उनी आएपछि अर्की महिलाको जागिर सक्यो । उनलाई फेरि आउनेवित्तिकै पूर्णकालीन हुनुप¥यो । त्यसका लागि बिहानका कक्षा चाहियो । त्यही भएर उनले मेमसँग तपाई एक वर्ष चाहिँ दिउँसो आइदिएर मलाई सहयोग गर्नुप¥यो भनेछन् । मेमले प्रमुख सरलाई सोद्धा त्यसो गरे जागिर धरापमा पर्छ भनेपछि मेमले उसलाई सहयोग गर्न सकिनन् । त्यसपछि ऊ रिसाएर कक्षाकोठाभित्रै उनलाई पढाउन आउँदैन भनेछ । आफ्ना छरछिमेकका विद्यार्थीलाई पनि उचालेर मेमको कक्षा वहिष्कार गर्न लगाएछ । त्यो कुरा प्रशासनमा पनि पुग्यो । प्रशासनले पनि उसको त्यस्ता क्रियाकलापको भत्र्सना गरी माफी पनि मगाएको हो तर पनि उसको उदण्डता साम्य भएको देखिँदैन ।” नरेश सरले थाहा पाएको कुरा बताए ।

“त्यो मानिस गलत छ भन्ने कुरा प्रशासनमा सबैलाई थाहा छ तर पनि उसैलाई सल्लाहाकार चाहिँ किन नियुक्ती गरेको मैले नबुझेको कुरो नि !” अनिता मेमले जिज्ञासा राखिन् ।

“कसले नियुक्ती गर्छ त्यसलाई ? त्यो आफै जान्ने भाको नि ! बिनसित्तिमा पनि गफ गरेर हो जस्तै बनाउछ तर ती कुरा सत्य हुँदैनन् । अस्ति यो भरखर बनेको नयाँ भवन म, चिफसर र सञ्चालक समितिका अध्यक्ष बसेर डिजाइन् गरेको भन्यो । हामी त मख्ख प¥यौँ । भरे भन्दा त त्यस विषयमा उसलाई थाहा नै रहेनछ । कसैले तपाईं भनोस् न नभनोस् आफै मपाईं हुँदो रहेछ । उसका कुरा फिल्टर गरेर मात्र बुझ्नु ।” पुराना शिक्षक कैलाश सरले अनिताको जिज्ञासा तृप्ति गर्ने प्रयत्न गरे ।

“हामी मूल विषयवस्तुतिर नभएर सहायक विषयतिर केन्द्रित भयौँ । हाम्रो मुख्य विषय भनेको मेडमको राजिनामा हो ।” मैले सबैको ध्यान आकृष्ट गर्न खोजेँ ।

“मुख्य र सहायक भनेर कसरी मापन गर्ने र ? कहिलेकाहीं मुख्य जस्तो लागेको कुरा सहायक हुन्छ भने कहिले सहायक जस्तो लागेको कुरो मख्य पनि त हुन सक्छ । त्यसैले कुन मुख्य कुन सहायक भनेर पत्ता लगाउन अन्तिमसम्म कुर्नुपर्ने हुन्छ । फेरि मेडमलाई त्यो कदम चाल्न बाध्य बनाउने मुख्य कारण त त्यही त हो नि !” छलफलमा सहभागीले एकै स्वरमा बोले ।

“मेडम पनि अहिले बेलुकी सत्रको कार्यक्रम संयोजक होइन र ?” भरखर प्रवेश गरेकी रेनू मिसले जिज्ञासा राखिन् ।

“हो त ! मेडमले त्यहाँ राम्रो काम गरेको देखिन्छ । सबै जना सन्तुष्ट नै छन् । पहिले भन्दा अहिले राम्रो काम गरेको भनेर मेडमको तारिफ हुने गरेको पनि सुनिन्छ । प्रशासन पनि सकरात्मक छ । कर्मचारीले पनि आर्थिक रूपमा पारदर्शी भएको कुरा गर्छन् तर त्यही चाहिँ काहीं नभएको अप्ठेरो रहेछ । कहिले के कहिले के भनेर गिजोलिरहन्छ ।” सोना मेमले आफुले थाहा पाएको जानकारी दिइन् ।

“कुरा त्यसको मात्र होइन, क्याम्पस प्रशासनले पनि उनीमाथि अन्याय गरेको छ । उनीभन्दा आठदस वर्षपछि आएकाहरूलाई एकैपटक विभिन्न स्थानका प्रमुख पदमा बहाल गरिरहँदा उनको पनि चाहना के छ भनेर सोध्नु पर्दैन ? यत्रा जनामा एउटा पनि महिला नपर्नु के महिलाप्रतिको विभेद होइन र ? के महिलालाई चाहिँ अतिथिलाई खादा लगाउन, खानेकुरा बाँड्न मात्र प्रमुख बनाउनुपर्ने हो ? काम गर्ने अवसर नै नदिई कसरी जानिन्छ ? के पुरुषले चाहिँ गर्भमै सिकेर आएका हुन् र ? महिलाको नाम उच्चारण गर्ने बित्तिकै उनी भ्याउदिनन् । काम गर्न गारो हुन्छ । उनका बालबच्चा स–साना छन् । उनी टाढाबाट आउछिन् । कहिलेकाहीं अबेरसम्म बैठक बस्नुपर्ने हुन्छ । यस्तैयस्तै ……बहाना ?” मैले असन्तुष्टि व्यक्त गरेँ ।

“अहिले मेम जुन पदमा बहाल भएको देखिन्छ । पहिले त्यो पदमा पुरुष हुँदा प्रमुख भनेरै नियुक्ती गरिएको थियो तर त्यही पदमा मेडमलाई नियुक्ती गर्दा त्यो पद नै खारेज गरेर कार्यक्रम संयोजक मात्र भनियो । त्यस विषयमा हामीले प्रश्न गर्दा त्यो पद विधानबाटै हटाइयो भनिएको थियो । फेरि अहिले नयाँ पद सृजना गरेर पुरुषलाई नियुक्ती गरियो । नेपालको राजनीति र रामदेव क्याम्पसको राजनीति कसैले बुझ्न नसक्ने भए । जसलाई सोधे नि खोई थाहा छैन मात्र भन्छन् । ‘यी दुबैको कानुन दैब जानून्, भयो है अब । खोई के भन्नु र ?” सोना मेमले निरासा प्रकट गरिन् ।

“खोई, विभेद गरियो भन्ने कुरा भान्सेलाई थाहा छ कि छैन ? त्यो सबै समयले बताउला तर हामी प्रष्ट छौँ कि उनीमाथि अन्याय भयो भनेर । त्यसैले यस्तो अवस्थामा आफुमाथि भएको शोषणका विरुद्ध प्रतिकार पो गर्नुपर्छ । कमजोर बनेर भाग्न हुँदैन । राजिनामा समस्याको समाधान हो र ? हामी सबै मेमकै पक्षमा थियौँ तर उनले सल्लाह नै नगरी त्यस्तो कदम चालेको मलाई चाहिँ पटक्कै मन परेन ।” हर्कमाया मेमले चित्त बुझाइनन् ।

“मेमको स्वभाव झगडालु छैन । दायाँबायाँ, छलकपट पनि जानेको थाहा छैन । सबैसँग समान व्यावहार देखिन्छ । कसैलाई अपशब्द भनेको आजसम्म थाहा छैन । सँगै रहेर काम गरेको पनि बाइस वर्ष भइसकेछ । एउटा इमानदार मानिसलाई यसरी अपहेलना गरेको महसुस गरेपछि चित्त दख्यो होला । सहन नसकेर त्यस्तो कदम चालेको होला ।” मलाई लागेको कुरा भनेँ ।

गफ गर्दागर्दै मेमको पनि उपस्थित भयो । एकछिनको भलाकुसारीपछि त्यही विषयमा केन्द्रित भयौँ । हामीले मेमलाई राजिनामा फिर्ता लिन अनुरोध ग¥यौँ तर उनले मानिन् ।

“यस पटक मात्र होइन, अघिल्लो पटक पनि मलाई एकवचन सोधिएन । पछि मैले आफ्नो पनि इच्छा भएको कुरा राखेकी थिएँ । त्यतिखेर मलाई गुलियो वचन दिइएको पनि थियो । म सोझी मान्छे मख्ख परेँ तर अहिले त प्रशासनको प्रमुख सल्लाहाकार हुँ भन्नेबाटै मेरो क्षमतामाथि प्रश्न चिन्ह खडा गरेर असक्षमताको ट्याग भिराएर मेरो स्वाभिमानमा चोट पु¥याउने काम भयो । यस्तो परिस्थितिमा म कसरी यही बसेर काम गर्न सक्छु ? मेरो मनभित्र चाहिँ यस्तै कुराहरू खेलिरहँदा म कसरी ती निर्दोष विद्यार्थीलाई राम्रो शिक्षा दिन सक्छु ? उनीहरूको के दोष छ ? मेरो असुन्तष्टि त्यस्तो गलत क्रियाकलापका विरुद्धमा हो । ती गौप्राणीप्रति होइन ? फेरि मैले घुक्र्याएर त्यसो गरेकी पनि त होइन । त्यसो हुनाले अब म फिर्ता लिन्नँ । काम गर्ने क्रममा तपाईंहरूसँग पनि कहिलेकाहीं जानेर वा नजानेर मबाट कमीकमजोरी भए होलान् । ती सबै मैले नियतवस गरेका होइनन् भन्ने सम्झी त्यसका लागि क्षमा दिनुहुनेछ भन्ने आसा गरेकी छु । मेरा पक्षमा वा विपक्षमा जोजो हुनुहुन्छ तपाईंहरू सबैलाई धन्यबाद । आज म मूलतः मेरा सकर्मी मित्र र विद्यार्थी भाइबहिनीहरूसँग विदा माग्न आएकी हुँ । यहाँहरूसँग भेट भयो । अब विद्यार्थीहरूलाई भेटेर फर्कन्छु । होओस् त धन्यबाद ।” ज्योति मेम भक्कानिइन् ।

उनका पीडा सुन्दा माहोल कारुणिक बन्यो । सबै एकअर्काका मुखमा हेराहेर गर्न थाले तर कसैको वाक्य फुटेन । कति साथीहरूका आँखा रसाए । वातवरणमा सन्नाटा छायो ।

“मेमलाई प्रशासनले असक्षम भनेको होइन । त्यो एउटाले भन्दैमा यसरी विचलित हुनुहुँदैन । हामी सब तपाईंकै पक्षमा छौँ । रह्यो कुरा पदको । काम गर्ने सिलसिलामा गर्दै भन्दै जाँदा कहिलेकाहीं तलमाथि हुन्छ । सायद, यहाँ पनि त्यस्तै भयो होला भन्ने लाग्छ । अहिले जोजोले प्रवेश पाएका छन् । ती सबै आआफ्ना विभागमा दक्षता हाँसिल गरेकै मानिस हुन् । पद सृजना गर्ने र नियुक्ती गर्ने प्रक्रिया फरक भए होलान् तर व्यक्तिहरू सक्षम छन् । पक्कै पनि त्यस्ताको हातमा शासनको बागडोर आउँदा सबैलाई भलो हुनेतिर ध्यान जान्छ होला भन्ने लाग्छ । अब कसैप्रति पनि विभेद नहोओस् भन्ने कामना पनि गरौँ । परिणाम प्राप्त गर्न केही समय हामीले धैर्य गर्नुपर्छ त्यसैले मेमले आफ्नो कार्यमा पुनरविचार गर्नुहोओस् भन्ने आग्रह छ मेरो ।” मैले विन्ती गरेँ ।

“ती मान्छेको बोली र व्यावहारलाई लिएर मेमले त्यसरी चित्त दुखाउनु हुँदैन किनभने ती आफै पीडित छन् बिचरा !” अघिदेखि हामीसँगै छलफलमा भाग लिइरहेका सञ्चालक समितिका सदस्य बोले ।

“कसरी ?” मैले प्रश्न राखेँ ।

“उनी सानै छँदा बाबुआमाको बिछोड भयो । आमाले अर्को विवाह गरेपछि यिनीहरूको अवस्था एकदम नाजुक हुँदै गयो । आमाविहीन हुनुपर्दा यिनको स्वभावमा परिवर्तन आयो । पढ्ने क्रममा पनि यिनले निकै ठुलो सङ्घर्ष गर्नुप¥यो । विवाहपछि पनि पारिवारिक अवस्थामा खासै सुधार हुने वातावरण बनेन । बेलाबेला घरमा कलह भइरहन्छ । अहिले पनि विचार गर्नु त उनी कहिले हाँसिरहन्छन् । कहिले कति मलिन भएर बोल्छन् तर कहिले अनुहार कस्तो डरलाग्दो हुन्छ । बिनसित्ति आवेशमा आउँछन् र झम्टिन्छन् । त्यसमा पनि महिलासँग त उनको खासै क्यामेस्ट्री मिल्दैन । त्यसो हुनाले उनका कुरालाई लिएर त्यति धेरै गहि¥याइमा जानु हुँदैन भन्ने लाग्छ मेमले ।” सञ्चालक सदस्यले मेरो जिज्ञासा तृप्ति गर्ने प्रयत्न गरे ।

“तपाईले कसरी थाहा पाउनु भयो त ?” सोना मेमले जिज्ञासा राखिन् ।

“मेरो त करेसा जोडिएका छिमेकी, दाजुभाइ पनि हुन् । फेरि उनी दस वर्षको हुँदादेखि हामीसँगै छौँ । उनका जीवनका आरोहअवरोहसँग म परिचित छु ……” उनी भावुक बने ।

“कोही किन बर्बाद होस् नाटकको पात्र धुर्ब जस्तै रहेछन् । बिचरा रमेश सर !” म स्तब्ध भएँ ।

सुन्दरहरैँचा, मोरङ)

कविता : निस्सार छन् गन्तव्यहरु / स्वस्तिका दाहाल

बग्दैछु नदी जसरी
यद्यपी
निस्सार छन् गन्तव्यहरू
अन्त्य कहाँ हुन्छ
आफैँलाई थाहा छैन ।

सफलता पाउने आशमा
दौडिरहेका छन्, पाईताला
समयसँग आज म
बालक भएको छु ।

आँखाहरूमा आँसुका धाराहरू बग्दछन्
असफलताका/आवेगहरूका
थाहा छैन म कुन कालखण्डको  थिएँ
अहिले कुन कालखण्डमा छु ?

दुनियाँ स्वार्थी छन्,
स्वार्थीहरूको भीडसँगै बग्दैछु
यन्त्रवत् भएपछि अझै
के मेरो उत्पादनले सन्तुष्टि देला ?

भावनाहरूसँग नजिकिन खोजेँ
तर ती सबै अव्यक्त रहे
आत्मियतामा गाँसिन चाहेँ
ती वेदनाको भुमरीमा परे
ओठहरूमा हाँसो उतार्न खोजेँ

सबै व्यर्थ भए
र मैले पीडाहरूसँग सम्झौता गरेँ
र पो आज संसार निस्सार लाग्छ ।

मसँगका मसिनो साहसले
कसरी उठाउन सक्छु आरोपहरूको वजन
खालि भ्रमहरूको सर्कसमा
उ सर्पहरूको चटक देखाउछ ।

दिपावलीमा बालेको दियोको उज्यालो,
खोजी गर्दै भौतारिदा
ईतिहासले पोलेको नाङ्गो छालाहरूले
अरु सहन सक्दैनन् चर्का घामहरू ।

बहिराहरूसँग सान्त्वनाको आश गर्दै
अन्धाहरूलाई बाटो सोध्दै
जस्तो देख्न चाहन्छ घर समाज
बिल्कुल त्यही बन्नु
तर  यो पागल समय
के सोचेर यहाँ निजी खुशीहरू खोज्दैछ ?
बकैया –३, मकवानपुर

वास्तविकताः व्यङ्ग्यात्मक लघुकथा

स्वर्गका राजा ईन्द्र निरीक्षणको क्रममा यमलोक पुग्दा त्यहाँ भव्य स्वागत गरियो । यमराजले राजा ईन्द्रलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी गराउँदै सबै देशको आ-आफ्नो नाम लेखिएको कन्टेनर देखाए ।
त्यहाँ जुन देशको मान्छे मरेर आउँथ्यो, त्यो मान्छे नभागोस् भनेर त्यही देशको कन्टेनरमा हाली बिर्को बन्द गरिन्थ्यो ।
राजाले एकाएक गरि कन्टेनर हेर्दै जाँदा एउटा कन्टेनरको बिर्को खुल्ला देखेकोले बडो उत्सुक भई यमराजलाई बिर्को खुला हुनुको कारण सोधे । यमराजले जवाफ दिए- “सरकार यो त नेपालको कन्टेनर हो । यसको बिर्को लगाउनु पर्दैन । नेपालीहरूमा एकले अर्काको खुट्टा तान्ने परम्परा भएको हुँदा भाग्ने त कुरै छैन, कहिले पनि उनीहरू कन्टेनरबाट माथि उक्लिन सक्दैनन् ।”

स्व. डा. गणेशकुमार पौडेल
(पूर्व अध्यक्ष, सिस्नुपानी नेपाल मकवानपुर)

 

जनप्रिय माविद्वारा १७० विद्यार्थीलाई पुरस्कार वितरण

मङ्सिर १८, सोमबार
मकवानपुर ।
जनप्रिय मा.वि. हेटौंडा १६ ले आफ्नो ४७ औं वार्षिकोत्सवमा आयोजित विविध खेलकूद कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।
शुक्रबार आयोजित खेलकूद कार्यक्रमका विजेता १७० विद्यार्थीहरूलाई सोमबार एक समारोहबीच मेडल तथा प्रमाणपत्र वितरण गरिएको हो । पुरस्कार वितरण समारोह विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँको अध्यक्षता र शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रमेश बिडारीको प्रमुख आतिथ्यता तथा अक्कलबहादुर थिङको आतिथ्यतामा आयोजना भएको थियो । विद्यालयका शिक्षक र सम्पूर्ण विद्यार्थीहरूको उपस्थितिमा तहगत रुपमा लक्षित गरी आयोजित १३ विधाका खेलकूद क्रियाकलापका विजयी बालविकासदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई सम्मान गरिएको हो ।

माध्यमिक तहका जिम्नास्टिक खेलका लागि मालती फयल, नम्रता शर्मा, अजन्ता पराजुली आदिले संयोजन रहेको थियो भने सोही तहका भलिबल तथा बास्केटबल खेलका लागि रविन श्रेष्ठ, विजय थिङका साथै आधारभूत तहका लागि नम्रता शर्मा, भावना चौलागाईँ, करूणा महत, श्रृजु ढकाल, रामकृष्ण बिक, आशिष बल आदिले खेल तथा पुरस्कार वितरण कार्यलाई व्यवस्थित गर्नु भयो ।
प्राथमिक तथा पूर्व प्राथमिक तहमा दीपिका तिमल्सिना, यशोदा भट्टराई, घनश्याम ढकाल, सीता दाहाल, अमृता गौतम आदिले खेल तथा पुरस्कार वितरण कार्यलाई संयोजन गर्नुभएको थियो ।
आधारभूत तहसम्मका लागि बेलुन नाच, जोडी बोक्ने खेल, हिसाब दौड, १०० मिटर दौड, म्युजिकल चियर आदि क्रियाकलाप तथा माध्यमिक तहमा बास्केट बल, भलिबल, लङ्ग जम्प, ट्रिपल जम्प आदि खेलकूद क्रियाकलाप गराइएको र यसले विद्यार्थीको शारीरिक विकासका साथै मानसिक विकासमा टेवा पुग्ने र नियमित अभ्यासतर्फ लाग्न प्रेरित हुने अपेक्षा लिइएको विद्यालयका प्रधानाध्यापक चौलागाईँले बताउनुभयो । तहगत रूपमा विद्यार्थीको मनोभावनाअनुसारका खेलकूद क्रियाकलापलाई शिक्षकहरूलाई विभिन्न समूहमा विभाजन गरी व्यवस्थापन गराउँदा शिक्षकहरूमा अपनत्व बढ्ने तथा विद्यार्थीहरूमा पढाइका अलावा हुने पुनर्ताजगी महसुस गराउनुका साथै उनीहरूमा रहेको प्रतिभालाई प्रष्फुटन गराउने अवसर यस्तै अतिरिक्त तथा सह-क्रियाकलापका माध्यमबाट मिल्ने उहाँको धारणा रहेको थियो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डल, अतिरिक्त तथा सास्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा, नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ लगायत शिक्षकहरूको उपस्थिति रह्यो ।
विशेष जिम्मेवारी तोकिएका शिक्षक तथा कक्षा शिक्षकहरुले सम्वन्धित कक्षाका विजयी विद्यार्थीलाई पुरस्कृत गरेका थिए । अनुशासन विभाग तथा अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठको व्यवस्थापन, बौद्धिक तथा साहित्यिक विभाग संयोजक संप्रस पौडेलको संयोजन रहेको कार्यक्रमलाई जनप्रिय मिडिया संयोजक सुनिल गौतमले सहजीकरण गर्नु भएको हो ।

‘बरहथवा परिचय र महानन्द झा’ कृति लोकार्पित

रौतहटमा बसेर भाषा र साहित्यका साथै अनुसन्धानमा सक्रिय रहेका सञ्जय साह मित्रको अठारौँ कृतिको रुपमा ‘बरहथवा परिचय र महानन्द झा’ सार्वजनिक भएको छ । सर्लाहीको बरहथवामा आयोजित एक समारोहका बिच पूर्व रक्षामन्त्री तथा साँसद हरि उप्रेतीका साथै बज्जिका भाषा विकास परिषद् नेपालका अध्यक्ष शिवचन्द्र साह, बज्जिका साहित्यकार बिन्दा साहनी, बरहथवाको विकासमा अद्वितीय भूमिका खेलेका ज्येष्ठ नागरिक महानन्द झा, पुराना स्वास्थ्यकर्मी मदन झा, पूर्व प्रमुख जिल्ला अधिकारी तथा जिशिअ राम बिलास राय, राजेश कपाडिया, ठागा ठाकुर, बुधन दास, काशी घिमिरे, तीर्थराज घिमिरे, राम लोहित सिंह, पूर्व वडाध्यक्ष सञ्जय गुप्तासहित विभिन्न वडाध्यक्षहरुले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
बरहथवाका पुराना स्वास्थ्यकर्मी मदन झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व रक्षामन्त्री माननीय हरि उप्रेतीले ‘बरहथवा परिचय र महानन्द झा’ का सोधार्थी सञ्जय साह मित्रलाई दोसल्ला ओढाएर फूलको माला लगाई सम्मानपत्रले सम्मानित गरेका छन् । साथै लेखक मित्रलाई प्रमुख अतिथि उप्रेतीले दश हजार एक सय रुपैयाले पुरस्कृतसमेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय हरि उप्रेतीले आर्थिक रुपले केही कमजोर भए पनि नेपाल संस्कृतिमा सम्पन्न रहेको बताएका छन् । हाम्रा ऋषि मुनिहरु पुगेको ठाउँमा अहिले आएर बल्ल विज्ञान पुगिरहेको बताउँदै उप्रेतीले हाम्रै देशमा सबै सांस्कृतिक सम्पदा रहेकाले अरुको संस्कार र संस्कृतिलाई भित्र्याउनु गलत रहेको टिप्पणी गरेका छन् । भौगोलिक, भाषिक तथा सांस्कृतिक विविधता भएको देशको रुपमा नेपाल आदिकालदेखि संस्कृतिमा सम्पन्न रहेको स्पष्ट पारेका छन् ।

आफू बरहथवामा नै जन्मेको भए पनि बरहथवाको इतिहासको बारेमा अब थाहा पाउने बताउँदै उप्रेतीले कृतिकार मित्रलाई सम्मानित गर्दा आफूलाई गर्व अनुभूति भएको बताएका छन् ।

कार्यक्रममा तीर्थराज घिमिरे, रामलोभित सिंह, डा. सियाराम महतो कुशवाहा, राजेशप्रसाद गुप्ता लगातले मन्तव्य व्यक्त गर्दै बरहथवाको विकासमा महानन्द झाको भूमिका अत्यत्त विशिष्ट रहेको बताउँदै कृतिको प्रकाशन गरेर अनुसन्धानकर्मी सञ्जय साह मित्रले बरहथवाप्रति गुन लगाएको बताएका छन् ।

कार्यक्रममा कृतिकार मित्रले बरहथवाको सामान्य इतिहास आएको र अझ खोजअनुसन्धान जारी रहेको बताउँदै कृति अध्ययन गरेर सुझाव दिनको लागि आग्रह गरेका छन् । बरहथवाको विकासले आफूलाई तानेको र खोजतर्फ केन्द्रित गरेको बताउँदै लेखक मित्रले कृतिलाई प्रकाशन गरेर बजारमा ल्याइदिने आकृति क्रियसन हेटौँडा र सञ्चालक राम अविकासलाई धन्यवाद दिएका छन् । मित्रका यसअघि रौतहट परिचय, नेपालमा बज्जिका भाषा, बज्जिका व्याकरण, छठ पबनी : उद्भव र विस्तार, बज्जिका भाषाको इतिहास, बज्जिका र मिडिया अनुसन्धानमूलक कृति प्रकाशित छन् । यसै गरी नेपाली र बज्जिका भाषामा विभिन्न विधाका पुस्तक प्रकाशित हुनुका साथै मित्रका बज्जिका भाषाका पाठ्यपुस्तक सर्लाही र रौतहटमा पठनपाठन भइरहेका छन् । मित्र दर्जनौँ पुरस्कार र सम्मानका साथै उपाधिबाट पनि सम्मानित रहेका छन् ।

बरहथवास्थित सियान पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बरहथवाका पुराना जानकारहरुको सहभागिता रहेको थियो । अमेरिकामा रहेका इन्जिनियर डा. विजय झाले संयोजन र स्वागत गरेको कार्यक्रमको संचालन बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष साहित्यकार किशुनदयाल श्रीकृष्णले गरेका थिए ।

 

रुकुम(पूर्व) मा दोस्रो साहित्य महफिल २०८० भव्यताका साथ सम्पन्न

रुकुम(पूर्व) मा दोस्रो साहित्य महफिल २०८० भव्यताका साथ सम्पन्न भएको छ । जिल्लाको भूमे गाउँपालिकाको कार्यालय खाबाङमा “भाषा‚ साहित्य‚ कला र संस्कृती ! जीवन र जगतको समृद्धी” भन्ने नाराका साथ महफिल साहित्यरस छोड्दै भव्यताका साथ सम्पन्न भएको हो । भूमे गाउँपालिकाको आर्थिक सहयोग र राप्ति साहित्य परिषद् जिल्ला शाखा रुकुम(पूर्व) को आयोजनामा दोस्रो साहित्य महफिल २०८० सम्पन्न भएको हो । महफिलमा ख्याती प्राप्त साहित्य सर्जकहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । कविहरु रामेछापका विक्रम पवन परियार‚ रुकुम(पूर्व) का कर्मसही घर्ती मगर‚ कास्कीका अमृत ले कवितामार्फत दर्शक/स्रोता र अतिथीहरुको मन खिच्न सफल हुनुभएको थियो । गजलकार दैलेखका महेन्द्र चन्द महासागर र मुक्तककारहरु रुकुम(पश्चिम) का दिनेश आदिव‚ रुकुम(पूर्व) की बिना गौतमले गजल र मुक्तकका माध्यमबाट दर्शक/स्रोता र अतिथीहरुलाई आफुहरुतर्फ आकर्षण गर्नुभएको थियो । साहित्यक श्रष्ठाहरुले आफ्ना रचना वाचन गर्दै गर्दा दर्शक/स्रोताहरुबाट वा वा वा….. आइरहेको थियो भने वान्स मोर भनेको आवाजहरु पनि सुनिइरहेको थियो । रुकुम(पूर्व) मा पनि विस्तारै साहित्यिक माहोल बन्दै गएको छ । गत वर्ष सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा रुकुमकोटमा प्रथम साहित्य महफिल २०७९ सम्पन्न भएको थियो । आगामी वर्ष महफिल संचालनको लागि राप्ती साहित्य परिषदले पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पूनीराज घर्तीलाई कार्यक्रमकै बिचमा सहयोगको लागी आग्रह गर्दै प्रस्तावना पत्र पनि पेश गरिएको छ । उहाँले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । महफिलकै क्रममा राप्ती साहित्य परिषदले निकालेको सिर्जना संगमको पनि विमोचन गरिएको छ । महफिलकै बिचमा कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो । १२ जनाले प्रतिस्पर्धा गरेको कविता प्रतियोगितामा भूमे गाउँपाललिका ८ का सितल बुढाले प्रथम स्थान हासिल गर्नुभएको थियो । यस्तै भूमे गाउँपालिकाकी रमिता रसाइलीले दित्तीय स्थान हासिल गर्दा सिस्ने गाउँपालिकाका क्रमशः अमृता शाह र टीका केसी तृतीय र सान्तवना स्थान हासिल गर्नुभएको छ । उहाँहरुलाई प्रमाणपत्रसहित नगदले पुरस्कृत गरिएको छ । कार्यक्रममा साहित्यमा योगदान पुर्याएका व्यक्ती तथा संस्थाहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरएको छ । कार्यक्रममा स्थानीय साहित्यिक श्रष्ठाहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) का अध्यक्ष कमानसिङ विष्टको अध्यक्षतामा भएको साहित्य महफिल कार्यक्रम २०८० मा जिल्ला समन्वय समिति रुकुम(पूर्व) का प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपप्रमुख मोहनबहादुर केसी‚ भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ‚ सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पूनीराज घर्तीको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा साहित्यप्रेमी मनहरुको उपस्थिती रहेको थियो । राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) का उपाध्यक्ष जमुना गौतमको स्वागत मन्तव्य रहेको महफिल कार्यक्रमको संचालन सदस्य उर्मिला गौतमले गर्नुभएको थियो ।

‘भूपिनका कविता’ सार्वजनिक || कविता मेरो लागि मनोचिकित्सा होः भूपिन

मङ्सिर १६, शनिबार, चितवन ।
एक कार्यक्रमबीच कवि भूपिनको नवीन कृति ‘भूपिनका कविता’ सार्वजनिक गरिएको छ । भूपिनका कविता उत्सव नाम दिइएको सो कार्यक्रममा कृति सार्वजनिकीकरणका साथै, अन्तरक्रिया र वाचन समेत गरिएको हो ।
बाग्लुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका भूपिन तीन दशक बढी समयदेखि कविता लेखनमा सक्रिय हुनुहुन्छ । भूपिनका उत्कृष्ट कविता ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’ बाट पाठकहरुले अत्यधिक रुचाएका ५६ कविता समावेश गरी नयाँ संग्रह प्रकाशन गरिएकोले यसलाई जुम्ली कविता संग्रह भनिएको छ ।
एक दर्जन बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका कवि भूपिनको ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक (२०५३)’ कविता संग्रह, ‘हजार वर्षको निद्रा (२०६६)’ कविता संग्रह, निबन्ध संग्रह चौबिस रिल (२०६९), ‘सुप्लाको हवाइजहाज (२०७२)’ कविता संग्रह र ‘मैदारो (२०७५)’ उपन्यास प्रकाशित भइसकेका छन् । कविता संग्रह ‘भूपिनका कविता’ उहाँको छैठौं कृति हो । यसै वर्ष निबन्ध संग्रह ‘चौबिस रिल’ को तेस्रो संस्करण र नयाँ निबन्ध संग्रह प्रकाशनको तयारीमा रहेको कवि भूपिनले जानकारी दिनु भएको छ ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उपप्राध्यापकसमेत रहेका कवि भूपिनले अमेरिकाबाट नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित एक दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ । संरक्षण कविता आन्दोलनका संस्थापकसमेत रहेका भूपिन अक्षर समूह चितवनका निवर्तमान अध्यक्ष उहाँले हाल अफ द बिट जेनेरेशन संस्थाको नेतृत्व गरिरहनु भएको छ ।
अक्षर समूह चितवनको आयोजनामा नारायणगढ चितवन साहित्य परिषद् (चिसाप) को प्रेक्षालयमा आयोजित कार्यक्रममा डा. एकनारायण पौडेलले भूपिनले आफ्ना कविताहरूमा सामान्य र विशिष्ट विषयवस्तुलाई कलात्मकरूपमा उठाउनु भएको र कतिपय शीर्षकहरू व्यङ्ग्यात्मक समेत रहेको बताउनुभयो । उहाँले कवि भूपिन पाठकहरूमाझ नयाँ नाम नभएकोले कवितामा श्रृङ्खला कविता तथा प्रश्नात्मकसहितका निबन्ध शैलीको प्रयोगले पाठकमा फरक स्वाद दिने उल्लेख गर्नुभयो । साथै अर्का वक्ता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक कवि निमेष निखिलले भूपिनका कविताबारे बोल्नु आफैंमा जोखिमपूर्ण कदम रहेको भन्दै समकालिन नेपाली साहित्यमा आफ्ना कविताले नै भूपिनलाई यो उचाइँसम्म ल्याएको एक प्रतिनिधि कविका रूपमा आफूले चिनेको बताउनुभयो । साथै उहाँले कवि भूपिनलाई प्रकृति प्रेमी कविका रूपमा चित्रित गर्नुभयो ।
साहित्य सर्जकहरू श्यामल, एलबी क्षेत्री, तीर्थ श्रेष्ठ, श्रवण मुकारूङ, राजेन्द्र भण्डारी र उदय अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको प्रमुख अतिथि चितवनका अग्रज कवि तथा उपन्यासकार रेशम विहरीले एक अब्बल कविका रूपमा भूपिनलाई पाएको बताउनुभयो ।
अक्षर समूहका संस्थापक सदस्य उदय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अक्षर समूहका पूर्वअध्यक्ष ईश्वर कँडेलले भूपिन सरल कविता लेख्ने साधारण मानिसहरुको कवि भएको विचार राख्नुभयो ।
प्रकाशन गृह बुकहिलका सञ्चालक भुपेन्द्र खड्काले यस कृति प्रकाशनका सन्दर्भमा भन्नुभयो- कवि भूपिन भूपि शेरचन हिँडेको बाटोमा हिडिरहेको कवि भएको र कविता कोर्न जसले पनि सक्छ तर कवितामा प्रभावशालीपन र बौद्धिकता चाहिन्छ । त्यो दुवै भूपिनका कवितामा छ । उनी अन्य साहित्यकार भन्दा कविता, निबन्ध र उपन्यासमा कलम चलाउने अन्य साहित्यकार भन्दा उपल्लो दर्जाका साहित्यकार हुन् । विद्यालयको पाठ्यक्रममा भूपिनको कविता राखिएको छ । नयाँ पुस्तालाई भूपिनका कविताबारे अझ धेरै बुझाउन नयाँ कृति प्रकाशन गरिएको हो ।
कार्यक्रममा कवि अनिल श्रेष्ठ, गण्डकी साहित्य प्रतिष्ठानका कवि सागर उदास, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, भरतपुर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाइँ, साहित्य संगम मकनावनपुरका अध्यक्ष डीबी बर्तौलाले शुभकामना मन्तव्य राख्नुभयो ।
समालोचक डा. धनेश्वर भट्टराई, समालोचक डा. होमनाथ सापकोटा, गजलकार धनराज गिरी, विश्लेषक प्रेम रिमाल, सर्जकहरू असीम सागर, परि विक्रम आदि हुनुभएको कार्यक्रममा मकवानपुरबाट साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, मुक्तककार सुवास सजल, कविहरू स्वस्तिका बानियाँ र स्वस्तिका दाहाल सहभागी हुनुभयो । कार्यक्रममा चितवसहित तनहुँ, काठमाडौँ, पोखरा र बागलुङलगायत जिल्लाका साहित्य सर्जकहरू बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा कवि भूपिनले कविताको लागि जे पनि गर्ने पागल भएमा कविताको क्लिनिकमा जाने गरेको अनुभव सुनाउनु भयो । भावुक हुँदै भूपिनले भन्नुभयो- कविता मेरो लागि मनोचिकित्सा हो । बिरामी भएमा म कविताको क्लिनिकमा जान्छु । कविताको विकल्पमा अरु केही रोज्न सक्दिन ।
यसका साथै उहाँले कविताको कारणले आर्थिकरूपमा फाइदा हुने अमेरिका छाडेर नेपाल आएको अनुभव सुनाउनु भयो । त्यस निर्णयमा कुनै पश्चाताप नभएको र कविताका लागि सबै कुरा छाड्न तयार भएको बताउनुभयो । उहाँले ‘कुरुप’ कवितादेखि ‘नोटको जीवनी’ सम्म गरी कूल ६ वटा कविता वाचन गर्नुभयो । यस कार्यक्रमलाई अक्षर समूहका अध्यक्ष रमेश प्रभातले सहजीकरण गर्नुभएको हो ।

कुलपति राईको एकल कविता वाचन अमेरिकामा ।

वरिष्ठ कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन अमेरिकाको बोस्टनमा आयोजना गरिएको थियोे। ‘सबै भाषा-सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ ‘सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा-प्रतिष्ठान’ अघि बढिरहेको छ । यसै उद्वेश्यसहित कुलपति राईको एकल कवितावाचनको पहिल‍ो श्रृङ्खला चितवनबाट प्रारम्भ गरिएको थियो ।

 

यसै क्रमको दोस्रो श्रृङ्खला अमेरिकाको बोस्टनमा आफ्नो चर्चित कवितासङ्ग्रह ‘यारी’बाट कविता वाचन गर्नुभएको थियो । यसै सिलसिलामा उहाँले भाषा ,साहित्य ,दर्शनशास्त्र ,सामाजिक शास्त्रलगायतका विधाको उत्खनन र प्रवर्द्धन गर्ने उद्वेश्यले २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा- प्रतिष्ठानमा अझै पनि आमूल परिवर्तन हुन सकेको छैन ।जसको विद्यमान अवस्था उस्तै नै रहेको छ भन्दा अन्यथा लिनुपर्ने छैन भन्दै आफ्नो धारणा राख्नु भएको थियोे । अझ उहाँले कतिपयलाई प्राज्ञ-प्रतिष्ठानको महत्त्व ,उद्वेश्य र प्रभावकारिता थाहा भइसकेको छैन् र त्यसलाई देश – विदेशसम्म पुर्याउने लक्ष्य राखेको बताउनुभएको थियो ।

यसैक्रममा कूलपति राईले नेपाल प्रज्ञा- प्रतिष्ठान संसारको जुनसुकै कुना भएपनि सम्पूर्ण नेपालीको साझा थलोको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको थियो । यसैगरी प्रज्ञा -प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य /काव्य )विभाग प्रमुख बाबा बस्नेतले कविता वाचन ,अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्वन पूजाले मनतव्य र अनेसास नेपाल च्याप्टरका पूर्व महासचिव ऋषभदेव घिमिरे र दिपा राईले पनि कविता वाचन गर्नुभएको थियोे । सो कार्यक्रमअनेसास, बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियोे ।यस कार्यक्रममा बोस्टन, न्यू ह्याम्प्सायर र न्यूयोर्कबाट समेत सहभागिता रहेको थियो ।

कुलपति राई अमेरिकामा सम्मानित

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई मैत्रीपूर्ण सांस्कृतिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको थियो । यसै क्रममा कुलपति राईलाई किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा भव्य रूपमा स्वागत तथा सम्मानको आयोजना गरेको थियो ।

यस कार्यक्रमलाई संवोधन गर्दै पहिलोपटक अमेरिका न्युयोर्क पुगेका कुलपति राईले जहाँ भएपनि नेपाली जातिले पहिचानयुक्त संस्कृतिलाई जोगाउँदै आफ्नो अस्तित्वलाई स्थापित गर्न सक्नुपर्छ । त्यसले मात्रै नेपाली हुनुमा गर्व गर्न सकिने कुरा बताउँदै एक नम्बर प्रदेशको नाम कोसी नभई किरात प्रदेश हुनुपर्ने धारणा राख्नुभएको थियो ।

यसै क्रममा किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष खगेन्द्र राईले अमेरिकामा बसोबास गर्दै आएका राई जातिहरूआफ्नो पहिचानको संरक्षणका लागि एकजुट हुनुपर्ने बताउनु भएको थियोे ।यसैगरी पत्रकार लोकमणि राई लगायतका व्यक्तिहरू कार्यक्रममा सक्रिय रहनुभएको थियोे ।

कुलपति राईद्वारा अमेरिकाका स्रष्टालाई सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अनेसास बोस्टन च्याप्टर, अमेरिकाले हालै आफ्नो साधारण सभा तथा स्रष्टा सम्मान समारोहको आयोजना गरेको थियोे ।सो कार्यक्रम अमेरिकाको बोस्टनस्थित पशुपतिनाथ-बुद्ध मन्दिरमा सम्पन्न भएको थियो । यसअसरमा कुलपति राईले कार्यक्रमलाई सम्बोधन गर्दै ‘नेपाली साहित्य ,संस्कृति र कला अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिँदा आफूलाई गर्वको अनुभूति भएको छ । यसक्षेत्रको संरक्षण र प्रवर्द्धनमा प्रवासमा रहेका नेपालीले महत्त्वपूर्ण योगदान पु-याएका छन् । यस सुखद कार्यमा नेपाली प्रवासी स्रष्टाको जति प्रशंसा गरेपनि कमै हुन्छ’ भन्दै अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव तथा कवि ऋषभदेव घिमिरेलाई सम्मान र कवि शकुन ज्ञवालीलाई ‘नारी तारा’उपाधिद्वारा सम्मान गर्नुभएको थियो ।

यसैगरी कुलपति राईले कार्यक्रममा न्यूइङ्ल्यान्ड क्षेत्रमा रही नेपाली संस्कृति , समुदाय र साहित्यको उत्थानमा योगदान दिँदै आएका पशुपतिनाथ -बुद्ध फाउन्डेसन अफ न्यु इङ्ल्यान्डको बोर्ड अफ टस्ट्ीका सभापति सुशील पौडेल, कार्यसमितिका अध्यक्ष विष्णु कार्की, ग्रेटर बोस्टन नेपाली कम्युनिटीकी अध्यक्ष अञ्जु थापा, एनआरएनए उत्तरी अमेरिका क्षेत्रको पूर्वमहिला संयोजक तृष्णा काफ्ले शर्मा, एनआरएनए मासाच्युसेट्सका अध्यक्ष प्रचण्ड श्रेष्ठ, नरउड लायन्सका अध्यक्ष जाल घिमिरे, मेट्रो वेस्ट नेपाली कम्युनिटी,नरउडका अध्यक्ष सुरेश ढकाल, सृजनशील महिला समूह, नरउडकी अध्यक्ष सानु बर्मा अधिकारी, सङ्गीत क्षेत्रबाट रञ्जन बुढाथोकी, प्रेमसागर खतिवडा, सुशील गौतम, राजकपुर, श्याम नेपाली, सुन्दर गुरुङ, राम थापा, मीन केसीलगायतलाई सम्मान स्वरूप कदरपत्र प्रदान गर्नुभएको थियो ।

यसैगरी शुभकामना मनतव्यको क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य /काव्य ) विभाग प्रमुख बाबा बस्नेतले प्रवासमा रहेर पनि मेहनतका साथ नेपाली साहित्यको विकासमा भूमिका खेल्न सक्नु उल्लेखनीय पक्ष हो भन्नुभएको थियो । यस्तै अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्वन पुजाले आफूले नेपाली साहित्यलाई विश्वका कुनाकुप्चामा पु-याउनु निरन्तर लागिपर्ने आफ्न‍ो शुभकामना मनतव्यमा बताउनुभएको थियो । यसैगरी कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष विजय शर्मा, कवयित्री शकुन ज्ञवाली समेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।यस कार्यक्रमको अध्यक्षता अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले गर्नुभएको थियोे ।