Home Blog Page 48

पौष १४ र १५ गते नुवाकोटमा साहित्य, पर्यटन तथा संस्कृति महोत्सव हुने

साहित्य संगम नुवाकोटको आयोजनामा नुवाकोटको बिदुरमा आउदो पौष १४ र १५ गते दुई दिने साहित्य, पर्यटन तथा संस्कृति महोत्सव हुने भएको छ । साहित्यको माध्यमबाट सामाजिक चेतना अभिवृद्धि गराउने उद्देश्यको साथ पौष १४ र १५ गते नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव हुने साहित्य सङ्गम नुवाकोटका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिनुभयो ।
साहित्य संगम नुवाकोटद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सुमित्रा सुमीले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । सातै प्रदेशका साहित्यकारहरूको सहभागिता रहने कार्यक्रमको पहिलो दिन लाखे नाँच, खैजेडी भजन तथा पञ्चे बाजासहितको झाँकीले बिदुर परिक्रमा गर्नेछ । यस्तै, कार्यक्रमको पहिलो दिनमै काव्य गोष्ठी अन्तर्गत कविता, गजल र मुक्तक वाचन, विचार गोष्ठी, जनप्रतिनिधिको धारणालगायतका विभिन्न कार्यक्रम गरिने तथा साँझमा गजलको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।
यसैगरी, कार्यक्रमको दोस्रो दिन आगन्तुक साहित्यकारहरूलाइ विभिन्न पर्यटकिय स्थलको भ्रमण गराइने र मायाको चिनो वितरणसहित कार्यक्रम समापन हुने आयोजकको भनाई छ ।
पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सहकार्यमा हुन लागेको कार्यक्रममा स्थानीय निकायको सहयोगको अपेक्षा गरिएको समेत अध्यक्ष सुमीले जानकारी दिनुभयो ।

रिभिजिटिङ ‘भूपिनका कविता’ || रमेश प्रभात

नेपाली साहित्यका पाठकहरुलाई ‘भूपिन’ चिनाइरहनु पर्ने नाम होइन । कुनैबेला भूपिन व्याकुलका नामबाट साहित्य लेख्न थालेका उनी ‘चौबिस रिल’ निबन्धकृति प्रकाशन भएसँग उनी केवल ‘भूपिन’ भएका हुन् । यहाँहरुको सजिलोका लागि भूपेन्द्र खड्काको साहित्यिक अवतार नै ‘भूपिन’ हो । उनको लेखनको आयाम विभिन्न विधामा फैलिएको भए पनि चिन्नेहरु उनलाई कविकै रुपमा बढी चिन्छन् । त्यसो त उनी चितवनमा बसेर बलशाली नेपाली कविता लेख्ने युवापुस्ताका सशक्त कवि हुन् भन्नेमा दुई मत छैन । उनको कलममा के त्यस्तो जादू छ कुन्नि ? उनले लेखेका कविता, निबन्ध, उपन्यास जे छापिएर आए पनि पाठकले उत्तिकै प्रेमले पढिदिन्छन्, यो उनको लेखनीको शक्ति हो । उमेरले भूपिनभन्दा म जेठो भए पनि साधनाका हिसाबले म उनको भाइ हुँ । त्यसो त उनका कविताको एउटा जबर्जदस्त फ्यान हुँ म । उनको ‘नदीहरु मान्छेजस्ता हुँदैनन्’ शीर्षकको कविताले राष्ट्रिय पुरस्कार पाएपछि त्यो कविता चितवनका मेरो पुस्ताका थुप्रै कविहरुलाई पढ्दै र सुनाउँदै हिँडेको दिन हिँजो जस्तै लाग्छ । यतिबेला सम्झिल्याउँदा त्यो पनि पुग नपुग तीन दशक हुन लागेछ पत्तै नपाई । तर त्यो कविताको शक्ति अझ बढ्दो छ, यस मानेमा ज्यादै खुसी छु म ।

भूपिनका यसअघि प्रकाशित ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’, ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाईजहाज’जस्ता तीनवटै सङ्ग्रह मेरो निजी पुस्तकालयमा सुरक्षित मात्र छैनन्, मैले पटक पटक ती कृतिहरु पढेको पनि छु । यतिबेला ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाईजहाज’को बाइप्रोडक्ट भनौँ कि एकीकृत भर्सनका रुपमा ‘भूपिनका कविता’ बजारमा आएको छ । यो कविको नूतनवीन कृति भने होइन, यसमा ती दुई सङ्ग्रहमा परेका उन्साठीवटा कवितालाई छनोट गरेर तयार पारिएको हालसम्मको कवि भूपिनको प्रतिनिधिमूलक कविता कृति हो । यसलाई नामकरण गर्दा ‘भूपिनका कविता’ मात्र भनेर प्रतिनिधि कविताको घेराबाट मुक्त गरिएको छ । अझ भनौँ प्रतिनिधि कविता निस्कनका लागि स्थान राखिएको छ ।

‘भूपिनका कविता’ कूल १३५ पृष्ठको आयाममा फैलिएको कविता सञ्यचन हो । जम्मा दुईवटा खण्डमा विभक्त यो कृतिको पहिलो खण्ड ‘हजार वर्षको निद्रा’का २९ वटा कविताले ५८ पृष्ठ ओगटेको छ भने दोस्रो खण्डमा ‘सुप्लाको हवाईजहाज’ भित्र समाविष्ट ३० वटा कविा चयन गरिएका छन् । यो दोस्रो खण्डले जम्मा ६७ पृष्ठ ओगटेको छ । यसरी यस कृतिमा रचनाखण्डले जम्मा १२५ पृष्ठ ओगटेको देखिन्छ । यसरी गरिएको चयन प्रकाशकको नभएर कवि स्वयम्को हो । बागलुङको बलेवा विमानस्थल नजिकै जन्मिएका भूपिनले सानोमा जहाज उडेका र उडाएका दृश्य देखेर हुर्केकाले उनमा उडानप्रतिको मोह थियो । उनको त्यही मोह कविताका रुपमा मुखरित भएका हुन् । 

टिन र फलामबाट बनेको जहाज उडाउन नपाए पनि सुप्लाको हवाईजहाज उडाइसकेका कविका विविध भाव र शैलीका कविता यो कृतिमा चयन गरिएका छन् । यसमा चयन गरिएका कवितामा विचार छ, गाउँ छ, दलन छ, त्यसको प्रतिरोध छ, प्रेम छ, अलिकति देब्रेढल्कुवा प्रवृत्ति छ । के छैन यसमा ? सबथोक छ । पाठकले त्यसको रसास्वादन गर्न सक्नुपर्छ, बस् त्यत्ति हो । अरु थाहा पाउन कृति नै पढ्नु पर्छ । अन्त्यमा, कवि भूपिन आजका लागि मात्र नभएर भोलि र पर्सिका लागि पनि कविता लेख्ने कवि हुन् । यस मानेमा उनका कविता सदाबहार कविता हुन् । भूपिनको यो कृति पूर्व प्रकाशित कवितासङ्ग्रह पढ्न नपाएका पाठकका लागि निकै सङ्ग्रहणीय छ भने उक्त कृतिहरु पहिले नै पढिसकेका पाठकहरुका लागि पनि यसले पुनर्ताजगी पैदा गराउँछ । सुन्दर संयोजन सहित यो कृति प्रकाशित गराइदिने बुक हिल परिवार धन्यवादको पात्र बनेको छ ।
अन्त्यमा भूपिनकै कविताका पङ्क्ति सापटी लिँदै कलम रोक्न चाहन्छु -लेकिन सुनेको छु

“मेरो देहातमा बहुत बढियाँ छ ।”
साला मुखियाले पापी पडोसीलाई
अभितक यस्तै तार पठाउँछ ।

-रमेश प्रभात
अध्यक्ष, अक्षर समूह चितवन ।

रुकुम पुर्वमा दोस्रो साहित्यिक महफिल २०८० हुदै

जिल्लाकाे भुमे गाउँपालिकामा नेपाली भाषा, साहित्य उत्थान, विकास, संरक्षणका लागि दोस्रो साहित्यिक महफिल २०८० हुनेभएको हाे ।

यही मंसिर १६ गते शनिबारका दिन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना र भुमे गाउँपालिकाको आर्थिक सहयोगमा दोस्रो साहित्यिक महफिल २०८० हुन लागेको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतम `जानू´ले जानकारी दिनुभएको छ ।

आयाेजकका अनुसार उक्त महफिलमा जिल्ला स्तरिय कविता प्रतियोगिता हुने जानकारी गराइएको छ भने इच्छुक कविता लेख्ने व्यक्तिहरुलाई यही मंसिर १३ गते भित्र लिखित कविता आयाेजककाे सम्पर्कमा पठाउन हुन आग्रह गरिएको छ ।

त्यस्तै पठाइएको उत्कृष्ट लिखित १० कविताहरुलाई महफिलकै दिन वाचनमा राखी अन्तिम नतिजा सार्वजनिक गरि प्रथम,दाेस्राे,तेस्रो र सान्त्वना हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र दिइने राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष कमानसिंह बिष्टले बताउनुभएको छ ।

महफिलमा `सृजना संगम´ नामक मुखपत्र विमाेचन गरिनुका साथै स्थानीय साँस्कृतिक झाकी पनि प्रस्तुत गरिने राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका सचिव शिव शाहीले जानकारी दिनुभएको छ ।

यसपटकको महफिलमा कविता वाचनमा रामेछापबाट विक्रमपवन परियार, कास्कीबाट अमृत, म्याग्दीबाट बादल शाही र रुकुम पूर्वबाट कर्मसही घर्ती मगर आउनुहुने भएको छ भने गजल वाचनमा दैलेखबाट महेन्द्र चन्द महासागर, काेहाेलपुर बाँकेबाट देवकी निरौला र मुक्तक वाचनमा रुकुम पश्चिमबाट दिनेश आदिप, रुकुम पूर्वबाट विना गौतम आउने आयाेजकले बताएको छ ।

साहित्य सङ्‍गमको ३३७औं सन्ध्यामा वाचित रचनामाथि समीक्षक घनश्याम घिमिरेको समीक्षात्मक टिप्पणी

“सर्जकहरू सूचनाको महामारीबाट जोगिन आवश्यक छ”
०००
साहित्य सङ्‍गम मकवानपुरले यही मङ्सिर ९ गते शनिबार नियमित साहित्य सन्ध्याका क्रममा विगतको निरन्तरतास्वरूप वाचित रचनाहरूको समीक्षक घनश्याम घिमिरेमार्फत् समीक्षात्मक टिप्पणी गराएको थियो । उहाँका विचारहरूलाई यसरी प्रस्तुत गरिन्छ-
हरेक रचनाहरूको मेरो मस्तिष्कले भ्याएसम्म सकारात्मक र नकारात्मक पाटोले उद्दिन्न पाएको भए तपाईँहरूको सिर्जनाप्रति न्याय हुन्थ्यो तर अहिलेको परिस्थितिमा सकिएन ।
०००
कार्यक्रममा १५ वटा रचनाहरु वाचित भएका छन् । संक्षिप्त परिचय दिएर समग्रमा केही बोल्ने प्रयास गर्छु ।
अग्रज स्रष्टा जनार्दन खनालदेखि लिएर नव सर्जक कृष्मा लौडारीसम्मका सिर्जनाहरू हामीले सुन्यौं । केशव समर्पण र सुबास सजलका मुक्तक अनि समीर पाख्रिनका लघुकथाले यो प्रस्तुतिलाई विविधतामय बनायो ।
०००
अग्रज स्रष्टा जनार्दन खनालको सिर्जनामाथि संक्षिप्त टिप्पणी
सुरुवातमा अग्रज स्रष्टा जनार्दन खनालले आफ्नो भर्खरै प्रकाशित यात्रा काव्यको गोसाइकुण्ड यात्रा विवरण अंशभित्र रहेको केही कविता काव्यका श्लोकहरु हामीलाई सुनाउनुभयो । जसमा मकवानपुरको सिस्नेरी खण्डबाट बसाइ सरेर मकवानपुर क्षेत्रमा आइपुगेका पौडेल थरका साथीसँगै गोसाईकुण्ड क्षेत्रको भ्रमण गरेको प्रसंग विषयका रूपमा प्रस्तुत भएको थियो । यस सिर्जनाले जीवन यात्राका क्रममा मानिसले कुनै न कुनै रुपले साथी खोज्दो रहेछ भन्ने लक्ष्यार्थलाई अभिव्यक्त गरेको थियो ।
०००
नव स्रष्टा कृष्मा लौडारीको सिर्जनामाथि संक्षिप्त टिप्पणी
दोस्रो सिर्जनाको रूपमा कृष्मा लौडारी बहिनीले हामी नेपाली शीर्षकको कविता सुनाउनुभयो । जसले हामी नेपाली भएको प्रति त गर्व बोध गर्छौं तर नेपाली हुँदै गर्दाखेरि कति धेरै विसङ्गतिहरू पालेर बसिरहेका छौँ भन्ने कुरालाई बडा सटिक र सङ्क्षिप्त ढङ्गले अभिव्यक्त गर्नुभयो ।
लघुकथाकार समीर पाख्रिनको लघुकथामाथि संक्षिप्त टिप्पणी
तेस्रो सिर्जनाका रूपमा समीर पाख्रिनले लघुकथा वाचन गर्नुभयो । सिसावाला घर शीर्षकको लघुकथामा आजको हामी नेपाली जनजीवनको वास्तविकतालाई व्यङ्ग्यात्मक र अलिअलि प्रतिकात्मक ढङ्गले अभिव्यक्त गर्नुभयो । जसमा आफ्नो घर खेत नै बन्धकी राखेर ठूलो सपना देखेर आफ्ना सन्तानहरुलाई विदेश पठाइरहेका बुबा आमाहरुको सपना त फगत सिसाको घर जस्तो मात्र रहेछ भन्ने कुरालाई बडो मार्मिक, सरल र सुबोध्य ढङ्गले अभिव्यक्त गर्नुभयो ।
कवि स्वस्तिका दाहालको कवितामाथि संक्षिप्त टिप्पणी
चौथो प्रस्तुतिमा बहिनी स्वस्तिका दाहाल जसले मिठो स्वरका साथै शास्त्रीय लयमा प्रेमपरक विषयवस्तुका साथ शृङ्गारिक कविता अभिव्यक्त गर्नुभयो । जसले आफ्नो सपनाको राजासँगसँगै सुखद जीवनको यात्रा अगाडी बढाउन सकियोस् भन्ने भावलाई अभिव्यक्त गर्नु भएको थियो ।
मुक्तककार केशव समर्पणको मुक्तकमाथि संक्षिप्त टिप्पणी
पाँचौं सर्जकको रूपमा केशव समर्पण दुईवटा मुक्तकका साथ आउनुभयो । मैले विशेष भन्नैपर्छ- मुक्तक लेखनका दृष्टिकोणले केशव समर्पण पछिल्लो चरणमा अलि बढि नोटिस गर्न थालेकामध्ये उत्कृष्ट मुक्तककार हुन् । त्यसैको कसीमा दुईवटा मुक्तक आए । पहिलो मुक्तकमा हामीले जीवनलाई यथार्थपरक ढङ्गले बाँच्ने हो भने दुखभित्र सुख महसुस गर्नुपर्छ भन्ने भाव र दोस्रो मुक्तकमा जीवनको अर्को वास्तविक पाटो श्रृङ्गारिकता, प्रेम र आकर्षणलाई बडो रोमाञ्चक ढङ्गले अभिव्यक्त गर्ने प्रयास भएको थियो ।
मुक्तककार सुबास सजलको मुक्तकमाथि संक्षिप्त टिप्पणी
छैठौं स्रष्टाको रूपमा सुबास सजलले जसमा पहिलो मुक्तकमा उपयुक्तताको महत्व सानो कुराले पनि ठूलो महत्व कसरी प्रस्तुत गरिरहेको हुन्छ भन्ने किसिमका कुरालाई किसान लगायतको प्रसङ्‍ग मार्फत व्यक्त गर्नु भएको थियो । दोश्रो मुक्तकमा आफू बा भइसकेपछि बा हुनुका पीडा अप्ठ्यारा बाध्यता र विवशता, ढाकरे/भरियाले बोक्ने ढाकर जत्तिकै गरूङ्गो हुँदोरहेछ भन्ने किसिमको आत्मबोध सायद आफ्नै बा बनेर लेख्नु भाको मुक्तक हुनुपर्छ । जुन स्वाभाविक लाग्थ्यो ।
हास्यव्यङ्ग्य सर्जक संप्रस पौडेलको सिर्जनामाथि संक्षिप्त टिप्पणी
सातौँ सर्जकको रुपमा संप्रस पौडेल हुनुहुन्छ । पछिल्लो चरणमा विशेष गरी मकवानपुर क्षेत्रमा हास्यव्यङ्ग्यात्मक लेखनले पनि एउटा गति लिइरहेको छ । त्यसरी गति लिनुमा केही सर्जकहरूको हास्यव्यङ्ग्यप्रतिको लगाव, आकर्षण र निरन्तरता नै हो । अरुले जेसुकै भनिरहुन्, लेखिरहन्छु किन यो मेरो ‘प्यासन’ हो भन्ने किसिमले लेखिरहनुभएको कारणले पनि हुन सक्छ । जसको एउटा राम्रो उदाहरण अहिले मकवानपुर क्षेत्रमा लागिरहेको सम्पर्क पौडेल हो र उहाँले त्यही शृङ्खला यतै कडीलाई जोड्ने क्रममा महामूर्ख शिक्षकको हास्यव्यङ्ग्यात्मक कविता प्रस्तुत गर्नुभयो । जसले विद्वता प्रतिको व्यङ्ग्यात्मक अभिव्यक्ति र जीवनमा सैद्धान्तिक ज्ञानभन्दा पनि बढी व्यवहारिक ज्ञान खाँचो पर्छ वा सैद्धान्तिक ज्ञान र व्यावहारिक ज्ञानबीचको खाडल नेपाली परिवेशमा कस्तो छ भन्ने किसिमको अभिव्यक्ति कविताको विषयवस्तु बनाउँदै हुनुहुन्थ्यो । आरसी सरको हालसालैको फेसबुक स्टाटसलाई सम्झिरहेको थिएँ ।
कवि भावना सापकोटाको कवितामाथि संक्षिप्त टिप्पणी
आठौं सर्जकको रूपमा भावना सापकोटा जसले अँध्यारोका विरूद्ध उज्यालोको आवाज पोखिरहनु भएको थियो । कवितामार्फत अज्ञानताका बिरूद्ध ज्ञानको आवाज पोखिरहनुभएको थियो । अध्यारो जसले सत्य पहिचान गर्न अवरोध भइरहेको हुन्छ । अँध्यारो जसले जिन्दगीको गन्तव्य पहिल्याउन अवरोध गरिरहेको हुन्छ । जबरदस्त उज्यालोलाई छेक्ने दुस्प्रयास गरिरहेको हुन्छ तर त्यो अन्ततः असफल भएरै छोड्छ भन्ने किसिमको आशावादी जीवनदृष्टि कोणसहितको कविता उहाँले प्रस्तुत गर्नुभयो ।
छन्द कवि पुरूषोत्तम आचार्यको कवितामाथि संक्षिप्त टिप्पणी
नवौं स्रष्टाको रुपमा पुरुषोत्तम आचार्य रहनु भयो । पुरुषोत्तम आचार्यको बारेमा मैले औपचारिक कार्यक्रमहरुमा धेरै बोलिसकेको छु । उहाँले अलि अगाडि नै लेखेको कविता भने त्यो कुरालाई बढी ‘फोकस’ गर्नु भएको छ । त्यो कविता जसमा रुपान्तरण र उज्यालो प्रतिको चाहना स्वदेश प्रेम, समृद्धि, पहिचान, अस्तित्वप्रतिको चाहना र समग्रमा प्रगतिवादी चिन्तनभित्र आदर्शवादी विचारको पृष्ठपोषण गरेको कविताका रूपमा मैले उक्त कवितालाई पहिचान गरेँ ।
कवि निमेष निखिलको कवितामाथि संक्षिप्त टिप्पणी
दशौं कविको रूपमा निमेष सरले मन्तव्यका साथमा भारतका चर्चित लेखक उदय प्रकाशको ‘मर्नु’ शीर्षकको संक्षिप्त तर अत्यन्त चोटिलो कविता प्रस्तुत गर्नुभयो । जसले हामीलाई ‘मर्नु’ बाट बच्नुपर्छ भन्ने किसिमको आत्मबोध गरायो भन्ने लाग्छ ।
प्राज्ञ नन्दु उप्रेतीको कवितामाथि संक्षिप्त टिप्पणी
अर्का अतिथि वक्ताको रुपमा नन्दु उप्रेती सर आउनुभयो । जसले वाचित भएका सिर्जनाको बारेमा छोटो मिठो ढङ्गले आफ्नो समीक्षात्मक टिप्पणी राख्नुभयो । साथसाथै ‘के थियो तिम्रो नाम’ शीर्षकको कविता अभिव्यक्त गर्नुभयो । जसमा राष्ट्र निर्माणका क्रममा लाखौँ नेपाली सन्ततिहरूको योगदान रह्यो । तर योगदान रहेका लाखौंमध्ये केहीको मात्र नाम रह्यो । अरु धेरै छेलिएर किनाराकृत भएर उनीहरुको पहिचान धुलामेट भइरहेको वास्तविकतालाई त्यो अस्तित्वविहीन भएका हाम्रा क्रान्ति योद्धाहरूको अस्तित्वको उत्खनन गर्ने प्रयास आफ्नो कवितामार्फत् गर्नुभयो ।
(उप्रेती युद्धप्रसाद मिश्र प्रतिष्ठानका महासचिव हुनुहुन्छ ।)
अर्थक्षेत्रका जानकार सुदर्शन अधिकारीको कवितामाथि संक्षिप्त टिप्पणी
पछिल्लो श्रृंखलामा सुदर्शन अधिकारी सर, जसले चाहिँ ‘किन?’ शीर्षकको कवितामा अभिव्यक्त गर्नुभयो । आजको समस्या नेपाली समाजको आजको विसङ्‍गति र आजका अप्ठ्याराहरुमा ‘किन’ मार्फत् प्रश्न गर्दै उहाँले ती समस्याहरूप्रति व्यङ्ग्य उठान गर्नुभयो भन्ने मेरो बुझाइ रहेको छ ।
त्यसैगरी अर्का सर्जक राजकुमार चौधरीले ‘क्रान्ति सम्भव छ’ भन्ने शीर्षकको कवितात्मक अभिव्यक्ति प्रस्तुत गर्नुभयो । समग्रमा आजको राजनीतिक विकृति नेतृत्वको असफल नेतृत्व शैलीप्रतिको जनआक्रोशलाई आफ्नो लेखाइमा लिपिबद्ध गर्नुभएको थियो ।
कवि विपीन पाठकको कवितामाथि संक्षिप्त टिप्पणी
चितवनबाट विपीन पाठकको ‘चिप्ला मान्छे’ कविताले विचारविहिन आवाज, स्वार्थले भरिएको आवाज निकै घातक हुन्छ भन्ने निष्कर्षात्मक अभिव्यक्तिसहितको कविता प्रस्तुत गर्नु भयो ।
सर्जक भवानी तिमल्सिनाको कवितामाथि संक्षिप्त टिप्पणी
कार्यक्रम सञ्चालिका भवानी तिमल्सिनाले आफ्नो माटो, संस्कृति, प्रकृति देश आपसी प्रेम सद्भाव र एकताको गीत बनाएर कविताको प्रस्तुत गर्नुभयो ।
अन्त्यमा,
तीनवटा साहित्यिक विधाहरु कविता मुक्तक र लघुकथा आजको यो समयमा समेटिए । उमेरगत दृष्टिकोणले अग्रज स्रष्टादेखि नवस्रष्टाहरू पनि यहाँ समावेश हुनु भयो । अनि सिर्जनाकोस्तरका दृष्टिकोणको कुरा गर्दा बलशाली कवितादेखि अझै धेरै परिष्कार र परिमार्जन गरेर साँच्चिकै कविता पाउनुपर्ने खालका अभिव्यक्तिहरू पनि यहाँ प्रस्तुत भए भन्ने मेरो बुझाइ रहेको छ ।
समग्रमा मलाई यी सिर्जनाहरू पढिरहँदा र पछिल्लो चरणमा केही सिर्जनाहरु पढिरहँदा के लागिरहेको छ भने अहिले हाम्रोमा मानसिकता एउटा समस्याबाट निकै आक्रान्त छ । त्यो समस्या भनेको सूचनाको भारी हो । तपाईं हामी पटक-पटक सूचनाबाट लखेटिएका छौं । हाम्रो मस्तिष्कले, हाम्रो चेतनाले र हामीले सूचनालाई राम्ररी पर्गेल्न सकेनौं भने त्यसैले नै हामीलाई खाल्डोमा पुर्‍याइदिने रहेछ । कुन सूचना सूचना हो ? कुन सूचना विष हो छुट्ट्याउन निकै ठूलो कुरा हो । सामान्य मानिसदेखि लिएर स्रष्टाको दायित्व त अझ बढेर गएको छ । सूचना प्रविधिको जति धेरै सहजता छ, त्यो सहजताभित्र सूचनाका नाममा विचारका कलुष, विचारका फोहोरहरु, विचारका विषहरु हाम्रो मस्तिष्कमा भरिने सम्भावना अति धेरै हुँदोरहेछ । अब त्यसलाई सैद्धान्तिक भाषामा सूचनाको भारी भन्छन् । भारी कुन अर्थमा भनिएको भन्ने भारी बोक्दैमा काम गरेको हुँदैन । भारी त बोक्नु तर केको भारी बोकेको भन्नेमा भरपर्दो रहेछ । मैले निकै ठूलो काम गरेको छु भनेर अब ढुंगा बोकेर हामी उकालो ओरालो गर्‍यौं भने त्यसले के उपलब्धि दिने हो ? त्यस आधारमा कामको मूल्याङ्कन हुनुपर्छ । त्यसैले मैले जानेको छु, मैले पढेको छु, मैले धेरै कुरा लिएको छु भन्यो तर लिनचाहीँ के लियौं त्यसमा भर पर्ने रहेछ ।
सूचना प्रविधिले रातारात नायकलाई खलनायक र खलनायकलाई नायक बनाएको छ
त्यसकारण आजको बौद्धिक चुनौती भनेको सूचनालाई सही किसिमले पर्गेल्न सकिन्छ कि सकिँदैन भन्ने हो । विचारलाई सही किसिमले प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने हो । हिजो एउटा व्यक्तिमा नायकत्व सृजना हुनको लागि धेरै कुराको तपस्या चाहिन्थ्यो । धेरै कुराको योगदान चाहिन्थ्यो । तर आज समयले सूचनाले प्रविधिले रातारात एकजनालाई नायक बनाएको छ र रातारात त्यसलाई खलनायक पनि बनाइदिएको छ । अनि त्यो १ दिनमा नायक भएको व्यक्ति भोलिपल्ट खलनायक हुन सक्यो भने हिजो ऊ नायक थियो कि थिएन त भन्ने प्रश्न उठ्छ ।
सर्जकहरू सूचनाको महामारीबाट जोगिन आवश्यक छ
माथिको कुरामा किन जोड रहेको छ भने अब हाम्रा सिर्जनाहरु, सिर्जनामार्फत् अभिव्यक्त हुने विचारहरू, चिन्तनहरू त्यो सूचनाको भार पर्गेल्न सकेर आएको हुनुपर्छ । त्यही सतही आक्रोश, सतही विचारलाई ती सूचना सञ्जालहरुमा आएका ब्यानर न्युज पनि क्लिक नगरी वा भित्र नहेरिकन बाहिर आएका कुराहरुलाई हामीले पत्याएर आफ्नो परिपक्व विचार बनायौं र त्यसैलाई सिर्जना बनायौं भने भोलि ती आफूले रचना गरेका सिर्जनालाई आफैँलाई डस्न थाल्नेछ । त्यसकारण अरु व्यक्तिहरु त कुरा छोडौं, हामी सर्जकहरु त्यो सूचनाको भारबाट जोगिन आवश्यक छ । सूचनाको आक्रमणबाट, सूचनाको महामारीबाट जोगिन आवश्यक छ । अहिलेको समय भनेको सूचनाको महामारीको समय हो ।

कविता : तिमी जानु || ज्योति जङ्गल

तिमी जानु
मात्र तिमी जानु कहाँ हो र ?
फुलेपछि फूल झर्नुजस्तो सामान्य
बिहान उदाउने सूर्य साँझले छेलेजस्तो नियमित,
पानी ओरालो हिडिदिएर पहाड छोडेजस्तो प्राकृतिक
डिम्बा फुटाएर बचेरा उडेजस्तो तरङ्गीत,
 
त्यस्तो केही पनि त होइन तिमी जानु ।
 
उल्टो
ढुकढुकीको आवाज बढेर मुटु हल्लाइदिनु,
जाँगर यसैयसै हराउनु
रहर मर्नु,
सहनु, अनि सहदैसहदै जानुु
नमुस्कुराउनु र चुपचाप रहनु
जस्तो कि कुनै नाबालक आमाविहीन हुनु,
जस्तो कि संवेदनाको भारले थिचेर
छाती बडेमानको ढुङ्गो हुनु
र आँखाले भित्रभित्रै भूमिगत बाटो खनेर आँसु बगाउनु ।
 
तिमी जानु परिभाषाहीन चोटले धेरै दुख्नु,
र नदुखेजस्तो भइरहनु
मायालु हात छुटेपछि
भीडभित्र आवारा बाटोविहीन हुनु
तर पूर्ण भएजस्तो रित्तो भएर हिँडिरहनु,
वियोगको भूमरीमाझ
थरथर थरथर काँप्दै दियो भएर उभिनु,
आवेगलाई छातीको पर्खालले छोपेर
मुस्कुराइरहेको अभिनय गर्नु ।
 
कस्तो अफ्ठ्यारो छ तिमी जानु,
हृृदय खोलेर भन्न पनि नसक्नु
कि तिमी नजानू ।

कविताः के थियो तिम्रो नाम ? || नन्दु उप्रेती

ओ वीराङ्गना !
के थियो तिम्रो नाम ?
कि तिम्रो कुनै नामै थिएन ?

को थिए तिम्रा बाआमा ?
को थिए तिम्रा दाजुभाइ र दिदीबहिनीहरू ?
को थियो तिम्रो लोग्ने ?
को थिए तिम्रा आफन्तहरू ?
कसैले सुनाएनन् तिम्रो नाम ?
ओ वीराङ्गना !
के थियो तिम्रो नाम ?
कि तिम्रो कुनै नामै थिएन ?

नालापानीको युद्धमा
अल्मोडा र काँगडाका युद्धमा
भोट तिव्वततिरका युद्धमा लडिरहदा
तिमीजस्तै वीर विरङ्गनाहरूले कहिल्यै पनि लिएनन् तिम्रो नाम ?
चम्किरहँदा तिम्रो खुकुरी त्यहाँ
बोलाएनन् तिमीलाई तिम्रो नाम पुकारेर कसैले ?
तिमी ढल्दा जमिनमा मृत्युुलाई पछारेर
माटोमा लेखिएन रगतले तिम्रो नाम ?
ओ वीराङ्गना !
के थियो तिम्रो नाम ?
कि तिम्रो कुनै नामै थिएन ?

शत्रुका शिरमाथि तिम्रो खुकुरी नाचिरहँदा
तिम्रो पिठ्यूमा मजेत्रोले बाँधिएको बालक को थियो ?
तिनका रगतका छिर्काहरूले
शिरदेखि पाउसम्म निथ्रुक्कै भिजेको त्यो बालक को थियो ?
उम्लिरहेको तातो रगत धर्तीलाई चढाएर
तिमी स्वयम् धर्ती बनेपछि
पाउले माटोमा रगतका छाप लगाउँदै
टुकुर टुकुर हिड्ने त्यो बालक को थियो ?
ओ वीराङ्गना !
तिमीसँगै ढलेको खुकुरीको बिँड समातेर
दुई हातले खुकुरी उचाल्ने त्यो बालक को थियो ?

म हैन
म हैन
साँच्चै म हैन त्यो बालक
साँच्चै म हैन त्यो बालक
त्यो बालकको सृष्टिश्रृङ्खलाको शायद अंश पनि म हैन
छामिरहेको छु म मेरो आफ्नो रगत बारम्बार
मेरो रगत तातो छैन तिम्रो जस्तो
चिसो छ
मेरो रगत चिसो छ
नुन पग्लेर बगेको चिसो पानी जस्तो छ मेरो रगत
म हैन त्यो बालक
मेरो रगत तातो छैन ।

युद्धमा शत्रुको रगतले
तिम्रो पिठ्यूमा निथ्रुक्कै भिजेको त्यो बालक म हैन
तिम्रो खुकुरी धर्तीबाट उठाउने
त्यो बालक म हैन
भक्भकी उम्लिरहको रगतको तेजले
शत्रुलाई ललकार्ने ओ वीरङ्गना !
तिम्रो सन्तानको नाम मलाई योग्य भएन
मलाई माफ गर
मेरो रगतमा तिम्रो रगतको तातोपन पटक्कै छैन
मेरो रगत चिसो छ, चिसो
को ह‍ोलान् तिमीजस्तै तिम्रा वीर सन्तान ?
खोजिरहेछु तिनलाई म घर-घरमा
बाटो-बाटोमा, बस्ती-बस्तीमा
यो सिङ्गै देशमा म खोजिरहेको छु तिनलाई ,
यो देशलाई तातो रगत भएको सन्तान चाहियो
तिम्रो जस्तै तातो रगत भएको
भक्भकी रगत उम्लिरहेको तिम्रो सन्तान चाहियो ।

नामविनै मरेकी
र नामविनै बाँचिरहेकी
ओ विराङ्गना !
के थियो तिम्रो नाम ?
कि तिम्रो कुनै नामै थिएन ?

मकवानपुरको गजल इतिहास || मसान उपासक

बि.स.१९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गरे पनि मकवानपुर जिल्लामा साहित्य लेखनको इतिहासलाई हेर्दा वि.स. १९९८ सालभन्दा अघिको साहित्यिक लेखोट पाइँदैन । तत्कालीन मकवानपुरको सदरमुकाम भीमफेदी त्यसबेलाका हरेकखाले चहलपहलको केन्द्रका रूपमा रहेको पाइन्छ । वि.स. १९९९ सालमा भीमफेदी निवासी गणेशलाल श्रेष्ठको ‘मेरा दुई पुष्पाञ्जली’ गीत, गजल र भजन सङ्ग्रहका रूपमा प्रकाशन गरेको देखिन्छ । डा. भवानीभक्त सिंह प्रकाशक रहेको यो कृति नै मकवानपुर जिल्लामा हालसम्म प्रकाशित कृतिमध्ये सबैभन्दा पुरानो कृति मानिन्छ । यसो भनिए पनि यसलाई गजलको आधिकारिक लेखोट मानिँदैन ।
 

वि.स. २००९ सालमा ज्योति पुस्तकालय भीमफेदीको स्थापनापछि मकवानपुरे साहित्य बिस्तारै गति लिन थालेको देखिन्छ । त्यसै क्रममा २०१८ सालमा नव कला कुञ्ज हेटौँडा, २०१९ सालमा राप्ती क्लब भैँसे र राप्ती पुस्तकालय भैँसेको स्थापनाले पनि साहित्यिक–सांस्कृतिक जागरणका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको देखिन्छ । यसै क्रममा राप्ती क्लब तथा राप्ती पुस्तकालयले तुल्सी थापाको सम्पादकत्वमा ‘राप्ती’ हस्तलिखित पत्रिका पनि प्रकाशन गरेको देखिन्छ । यद्यपी मकवानपुरे गजल लेखन निकै पछि मात्र प्रवेश गरेको पाइन्छ ।

आधिकारिक रुपमा यही मितिबाट गजल लेखन सुरु भएको हो भन्न नसके पनि चालिसकोे दशकबाटै मकवानपुरे गजल लेखन सुरु भएको मान्न सकिन्छ । तत्कालीन समयमा भीम विरागले सोही समयबाट गजल लेखेको भनिए पनि निमेष निखिलको “मकवानपुरे गजल  एक सर्वेक्षण” शीर्षकको लेखमा सो समयमा भीम विरागका गजलहरू कतै प्रकाशित भएको नदेखिएको लेख्नुभएको छ । निमेष निखिलको दावीलाई मान्ने हो भने स्व. खेम बानियाँको वि.स. २०४७ मा लेखिएको गजल नै पहिलो भन्न सकिन्छ । यद्यपि धेरैले मकवानपुरमा पहिलो गजल लेख्नेमा भीम विरागलाई नै मानेका छन् ।

कुरालाई केशवप्रसाद उपाध्यायले केही समालोचनात्मक लेखहरू र बिर्खे अन्जानले ‘मकवानपुरका काव्य अवलोकन र अध्ययन’ पुस्तकबाट पनि पुष्टि गर्नु भएको छ । भीम विरागले ३० को दशकमा गजलहरु रेकर्ड गरेका थिए । तर, तत्कालीन समयमा संग्रहको रुपमा भने प्रकाशनमा आएको पाइँदैन । तीसको दशकमा रेकिर्डिङ भएका उनका ती गजलहरू २०५७ सालमा ‘भीम विरागका गीत/गजल-२०५७’ सङ्ग्रहको रुपमा प्रकाशित भएको थियो । विरागको गजल सङ्ग्रह २०५७ सालमा आएर मात्रै प्रकाशन भएता पनि उनले २०३० कै दशकमा गजल लेखेको र रेकर्ड गरेको हुनाले उनी नै मकवानपुरका पहिलो गजलकार भएको पुष्टि हुन्छ ।

मकवानपुरमा पचासको दशकपछि गजल लेखन निकै फस्टाएको देखिन्छ । पचासको दशकमा साम्ब ढकाल, केशवलाल तौजले, निमेष निखिल, इन्द्रजित शर्मा चौँलागाईलगायतले गजललाई अगाडि बढाएको पाइन्छ । वि.स.२०५३ सालबाट गजल लेख्न थाल्नुभएका इन्द्रजित शर्मा चौँलागाईले त मकवानपुरे गजलको निकै मलजल गरेको हामी पाउछौँ । वि.स. २०५३ कार्तिक/पौषको आफ्नो नवौँ अङ्कमा ‘झरना’ले गजल अङ्क प्रकाशित गरेको थियो भने २०५६ सालतिर रामकुमार एलनद्धारा सम्पादित ‘पलाँस’ हवाइ पत्रिकाले पनि गजल अङ्क प्रकाशित गरेको थियो । वि.सं. २०५७ मा मकवानपुरमै पहिलो गजल सङ्ग्रहको रुपमा भीम विरागका गीत/गजल (२०५७) सङ्ग्रह प्रकाशित भएपछि मकवानपुरे गजल लेखनमा गजलकारहरू कृतिकारको रुपमा पनि देखिन थालेका हुन् ।

साठीको दशक मकवानपुरे गजल इतिहासका लागि कोसेढुङ्गा सावित हुन आउँछ । यहाँ वि.स.२०६१ सालमा गजल मञ्च मकवानपुरको गठन भएपश्चात सङ्गठित रुपमै गजल लेखनको विकास भएको देखिन्छ । राम अविकासको नेतृत्वमा गठन भएको गजल मञ्चले नियमित रुपमा मासिक ‘गजल यात्रा’ सञ्चालन गरेपछि गजल लेखनमा अझै आकर्षण बढेको पाइन्छ ।
साठीको दशकमा राम अविकास, श्यामकुमार वानियाँ, सुवास खनाल, दीपक गौतम, देवकी सापकोटा, शरण बानियाँ, खेम बोलखे, हेमराज आचार्य ‘हमराज’, रमण सिन्धु, राजेश थापा ‘गरिब’, नानु थापा, बबी थापा, विनिता महत, ओमप्रकाश खुलाल, सुमित्रा आचार्य, कञ्चन प्रकृति, दीपकश्री सापकोटा, उद्धब सापकोटा, विश्व राई, राधिका अधिकारी ‘आँसु’, सरला बोलखे, सिर्जना सापकोटा, चिरञ्जीवि चकोर, छवि अनित्य, मनोज पोखरेल, सरिता शशी, सुमित्रा लामा ‘सुमी’, बिमला कार्की ‘सुसं’, मिलन बञ्जारा, विश्वनाथा सञ्जेल, प्रवीण भण्डारी ‘पर्वत’, योजना अधिकारी, अम्बिका बिहानी, बसन्त खरेली, निर्जन ‘ताजुप’, भावना सापकोटा, उमेश तिमल्सिना, प्रदीप भण्डारी, सुन्दर कार्की ‘रोदन’ लगायतले मकवानपुरमा गजल लेखनमा सक्रियता देखाएको देखिन्छ । यो बीचमा थुप्रै गजल सङ्ग्रहहरू प्रकाशित भएका छन् ।

ती निम्नानुसार छन् ।
भीम विरागका गीत/गजल (२०५७) भीम बिराग
सिर्जनाका हातहरू (२०५८) पालुङगे चरो
नदि किनारमा उभिएर (२०६१) अनमोल मणी
बिथोलिएको मन (२०६१) बबी थापा
समयको छाया (२०६४) इन्द्रजित शर्मा चौलागाईं
पत्थरको मान्छे (२०६६) विमला कार्की ‘सुसं’
स्पन्दन (गजल सङ्ग्रह) २०६६ ऋषि के. बी.
दबिएका स्वरहरू (२०६७) राम बर्तौला ‘आँसुु
रगतले लेखिएको इतिहास (गजल नाटक) २०६७ ऋषि के. बी.
पलपलको मूल्य (२०६८) विश्वनाथ सञ्जेल
आगमन (२०६९) विनिता कार्की
घाम नभएको आकाश (२०६९) विमला कार्की ‘सुसं’
सम्झना बिर्सना (२०६९) राम कार्की
भावलहर (२०६९) कुमार स्याङ्बो
भावहरूका सन्दर्भ (२०७०) देवराज तिवारी
पढेपछि थाहा पाउँछौ (२०७०) अनिष न्यौपाने ‘भावना’
सम्बन्ध (२०७१) सुरेश कार्की ‘निषाद’
कहर (२०७७) किशन पौडेल
फर्कियौ किनारबाट (२०७८) विश्वनाथ सञ्जेल
अक्षर आराधन (२०७९) मसान उपासक
गोधुली चिन्तन (२०७७.) भोलाप्रसाद सिवाकोटी र एसआर मञ्जरी ओली

हार्न नजान्ने मान्छे म (२०८०)  गणेश तिमल्सिना

मकवानपुर जिल्लाको साहित्यिक विकास र विस्तारमा जिल्लाभित्र स्थापना भएका विभिन्न सङ्घसंस्था, पत्रपत्रिकाको प्रकाशन, पुरस्कारहरूको स्थापना आदिले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पछिल्ला दिनमा विभिन्न सामाजिक, सांस्कृतिक सङ्घसंस्थाहरू, विद्यालयहरू, क्लबहरू, पुस्तकालय आदिले प्रकाशन गर्ने स्मारिका, समाचारमूलक दैनिक तथा साप्ताहिक पत्रपत्रिका आदिले पनि साहित्यलाई स्थान दिएर गजल लेखनमा सहयोगी भूमिका निर्वाह गरेका देखिन्छन् । त्यसैगरी विभिन्न साहित्यिक तथा गैरसाहित्यिक सङ्घसंस्थाहरूले बेलाबेलामा आयोजना गर्ने साहित्य गोष्ठीहरूले पनि जिल्लाको साहित्यिक विकास, विस्तार र प्रतिभा प्रोत्साहनमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । यसरी सबै क्षेत्रको माया पाएर मकवानपुरे गजल झाङ्गिदै र मौलाउँदै गएको देखिन्छ ।

मकवानपुरे गजलको विगतदेखि वर्तमानसम्म हेर्दा थुप्रैथुप्रै गजल सर्जकहरूले मकवानपुरे गजलको उठान र विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेको देखिन्छ । माथि उल्लेखित नामहरूमध्ये कतिपय नामहरू विगतदेखि आजसम्म पनि निरन्तर साधनारत छन् भने धेरैजसो समयक्रममा हराइसकेका छन् । मकवानपुरे साहित्यको पछिल्लो समयसम्म सक्रिय रहेका केही गजलकारका नामहरूमा आर. आर. चौलागाईं, साम्ब ढकाल, तुलसी घिमिरे, निमेष निखिल, विश्वनाथ सञ्जेल, मसान उपासक, श्यामकुमार बानियाँ, दीपक गौतम, सुवास खनाल, पुरुषोत्तम आचार्य, मेनु तिल्सिना, उमेश तिमल्सिना, चिरञ्जीवी लामिछाने, देवराज तिवारी, यश लामा, धर्मराज स्याङ्तान, केशव समर्पण, विशाल अधिकारी ‘आशुतोष’, किशन पौडेल, डी.बी. बर्तौला, सानु खनाल, सुनिल गौतम, सिएम रिमाल, मनोज पोखरेल, श्रीराम अधिकारी अनिता न्यौपाने, हरिप्रसाद पौड्याल, सुवास सजल, विधान स्पर्श, गोकर्ण लामा, अनिल कोइराला,  भानुभक्त विष्ट आदिको नाम उल्लेख्य रहेको छ । त्यसैगरी भावना सापकोटा, अमृता नेपाल, विमला कार्की, विनिता कार्की, मनु रेग्मी ‘आशा’, आदिको नाम अघि सार्न सकिन्छ । यस्तै, सन्जित श्रेष्ठ, मुस्कान तिमल्सिना, मिलन बन्जारा, गौतम भद्रध्वज, मञ्जु खराल, सुन्दर कार्की ‘रोदन’ आदि पनि मकवानपुरको गजल लेखनमा सक्रिय नामहरू हुन् ।

मकवानपुरे गजलमा पछिल्लो समय किशोर पुस्ताको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ । गजल मञ्चका पछिल्ला कार्यक्रमहरूमा नवपुस्ताको उपस्थिति उलेख्य रूपमा देखा पर्न थालेको छ । स्वस्तिका दाहाल, स्वस्तिका बानियाँ, प्रसिद्विका लम्साल, प्रसन्ना चौलागाईं, रोशनी चौलागाईं, कृतिका लौडारी, उषाकिरण अधिकारी, उज्ज्वल बराल, इलिशा पराजुली, रियाज कार्की आदि थुप्रै नामहरू लिन सकिने नामहरू बनेका छन् ।
 
सन्दर्भ सूची
झरना (छतिवन बिशेषाङ्क) अङ्क २५, प्रकाशक झरना साहित्यिक परिवार मकवानपुर
मकवानपुरका काव्य : अवलोकन र अध्ययन, बिर्खे अन्जान, प्रकाशक थाहा नगरपालिका
गजल यात्रा-१ प्रकाशक गजल मञ्च मकवानपुर 
गजल यात्रा-२ प्रकाशक गजल मञ्च मकवानपुर
गजल यात्रा-३ प्रकाशक गजल मञ्च मकवानपुर
 

सङ्‍गमद्वारा रचना वाचन, पाठक स्रोतालाई निराश नबनाउन सर्जकलाई आग्रह

मङ्सिर ९, शनिबार मकवानपुर । साहित्य सङ्‍गम मकवानपुरले ३३७औं नियमित साहित्य सन्ध्या सम्पन्न गरेको छ ।
शनिबार सङ्गम र सिस्नुपानी मकवानपुरको संयुक्त हलमा आयोजित कार्यक्रममा वाचित रचनाहरूका समीक्षा समेत गरिएको हो । सङ्‍गमका सचिव मनोज पोखरेलको अध्यक्षता र सल्लाहकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समीक्षक घनश्याम घिमिरेले वाचित रचनाहरूको समीक्षा गर्नु भएको थियो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल र युद्धप्रसाद मिश्र प्रतिष्ठानका महासचिव नन्दु उप्रेती अतिथि रहनु भएको कार्यक्रममा समीर पाख्रिनले लघु कथा वाचन गर्नुभयो भने सुवास सजल र केशव समर्पणले मुक्तक वाचन गर्नुभयो । यस्तै कविहरू जनार्दन खनाल, स्वस्तिका दाहाल र पुरूषोत्तम आचार्यले छन्द कविता वाचन गर्नुभयो भने राजकुमार चौधरी, भावना सापकोटा, भवानी तिमल्सिना, सुदर्शन अधिकारी, चितवनका विपिन पाठकले विविध गद्य कविताहरू वाचन गर्दा संप्रस पौडेलले हास्यव्यङ्ग्य कविता वाचन गर्नु भयो ।

अतिथि प्राज्ञ नन्दु उप्रेतीले काठमाडौंका साहित्यिक कार्यक्रमहरूमा युवाहरूको बाहुल्यता कम हुने मूख्य कारण देशभरबाट युवाहरू कमाउने उद्देश्यले, पढ्ने उद्देश्यले र विदेश जाने उद्देश्यले पुग्ने तर हेटौंडामा सिर्जना र श्रवणमा उल्लेख्य सहभागिता देखेर खुशी लागेको बताउनुभयो । उहाँले सर्जकहरूलाई आफूले लेख्ने कवितालाई निरन्तरता दिन र आफ्ना स्रोता पाठकलाई निराश नबनाउन आग्रह गर्नुभयो ।

रचना वाचनपछि समीक्षा गर्ने परम्परालाई जोडेको सङ्‍गमको आजको कार्यक्रममा समीक्षक घनश्याम घिमिरेले छोटो समयमा धेरै रचनाबारे बोल्नु पर्ने भएकोले समीक्षा गर्नु कठिन रहेको बताउँदै संक्षिप्तरूपमा समीक्षात्मक टिप्पणी गर्दै लेखकहरूले सूचनाको महामारीबाट जोगिन अनुरोध गर्नुभयो । अतिथि निमेष निखिलले मन्तव्यका साथ अनुवाद कविता वाचन गर्नुभयो भने प्रमुख अतिथि तुल्सि घिमिरेले राजनीति तथा समसामयिक घटनाका पक्षमा लेखिएका रचनाहरू छोटो आयुको हुने हुँदा सर्जकले त्यसमा ध्यान दिनुपर्ने मन्तव्यसाथ कविता वाचन गर्नुभयो ।

साहित्य सङ्‍गमका सचिव तथा सो कार्यक्रमका अध्यक्ष मनोज पोखरेलले सर्जकहरूको उपस्थिति उल्लेख्य रहेको र उत्कृष्ट रचनाहरू वाचन भएको तथा यस कार्यसमिति गठनपश्चात् तेस्रो नियमित सन्ध्याका क्रममा समेत सर्जकका रचनालाई समीक्षाका माध्यमबाट सुधार्नका लागि सहयोग पुग्ने विश्वास गर्दै लघु कथा सुनाउनुभयो ।
कार्यक्रमलाई सङ्‍गमका सहसचिव भवानी तिमल्सिनाले सहजीकरण गर्नु भएको हो ।

भारतको मेरठमा मकवानपुरे सर्जकहरूका रचना सुनिए

मंसिर ९, शनिबार
मकवानपुर ।
भारत, उत्तर प्रदेश मेरठको चौधरी चरण सिंह विश्वविद्यालयमा आयोजित त्रिदिवसीय क्रान्तिधरा मेरठ साहित्य महोत्सवको दोस्रो दिन लघुकथा सत्रमा, उत्तर प्रदेशका ऊर्जा राज्य मन्त्री डा. सोमेन्द्र तोमरबाट लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेललाई स्मृति पत्रबाट सम्मानित गर्नुभएको थियो । उक्त लघुकथा सत्रमा भारतका वरिष्ठ लघुकथाकार डा. शिखा कौशिक, संजय कुमार शर्मा, माता प्रसाद शुक्ला, निता चौधरी, नेपालबाट बलराम उपाध्याय रेग्मी र किशन पौडेलले लघुकथा वाचन गर्दै त्यस बारे चर्चा गर्नुभएको थियो ।
साथै उक्त त्रिदिवसीय कार्यक्रमको बहुभाषिक कवि सम्मेलन सत्रमा मकवानपुरका सर्जकहरू साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला, उपाध्यक्ष सानु खनाल, मातृभूमि साहित्य समाजका पूर्व कोषाध्यक्ष कवि बैकुण्ठ लामिछाने, कार्यसमिति सदस्य एवम् किशन पौडेल र देवेन्द्र कलवारले आफ्ना रचनाहरू वाचन गर्दै बहुभाषी कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।
वरीष्ठ गजलकार घनश्याम परिश्रमीको सभाध्यक्षता रहेको कार्यक्रमलाई सहजीकरण डा. देवि पन्थीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिधरा साहित्य अकादमीका अध्यक्ष डा. विजय पन्डित एवम् पुनम पन्डितले नेपालबाट सहभागी साहित्यकारहरूलाई स्मृति चिन्ह एवम् सम्मानपत्रले सम्मानित गर्नुभएको थियो ।
कार्यक्रम क्रान्तिधरा साहित्य अकादमी इतिहास विभाग चौधरी चरण सिंह विश्वविद्यालयमा सप्पन्न भएको हो ।
(मेरठ, भारतबाट किशन पौडेलको सहयोगमा)

लघुकथा प्रतिष्ठान पोखराको ५५ औँ शृङ्खला सम्पन्न ।

मंसिर ९, शनिबार । लघुकथा प्रतिष्ठान पोखराको नियमित रचनावाचनको ५५ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै साहित्यकार तथा नेपाली लेखक संघ, गण्डकीका अध्यक्ष डा ईश्वरमणि अधिकारीले विषय प्रतिको गहन लेखन, बहस र अन्तर्क्रिया गर्दै जादा कुनैपनी सिर्जनाले सार्थक रुप लिने भन्दै, शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा साहित्यकार लक्ष्मण थापा, दीपक समीप, कल्याण पन्त, गिता तिवारी, ढाकामोहन बराल, शोभा लामिछाने, बिष्णु प्रसाद बास्तोला, सहनशीला पौडेल लगायतले लघुकथा वाचन गरेका थिए । संस्थाका सचिव अमृतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।