- नवसाहित्य
संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
भाद्र ८, मकवानपुर ।
नवसाहित्य ।
तुल्सी थापा; मकवानपुरमा मात्र नभएर अन्य क्षेत्रमा पनि सम्मानपूर्वक नाम लिइने अग्रज साहित्यकार । मकवानपुरको उत्तरी भेगमा शिक्षा क्षेत्रको कुरा गर्दा बिर्सन नहुने नाम । जातजातिमध्ये पनि विशेषतः चेपाङलाई मूलधारमा ल्याउनमा नेतृत्व गर्ने एक सफल नेतृत्वकर्ता ।
अघिल्लो वर्ष आजकै दिन अर्थात् २०८० भाद्र ८ गते उहाँको असामयिक निधनपछि साहित्यिक वृत्तले शोक मानिरहेको छ । यस्तै सन्दर्भमा साहित्य सङ्गम मकवानपुरको ३४६औँ नियमित साहित्य सन्ध्या एवम् तुल्सी थापा स्मृति विशेष सम्मान तथा रचना वाचन कार्यक्रमका अवसरमा स्व. थापाको व्यक्तित्व र साहित्यिक तथा शैक्षिक देनका सम्बन्धमा सम्झना गरिएको छ ।
कार्यक्रमका अतिथि निमेष निखिलले मन्तव्यका क्रममा भन्नुभयो- “नेपाली भाषामा रचना लेखनका साथसाथै धेरैलाई थाहा नभएको अङ्ग्रेजी अनुवाद उहाँको अर्को विशेषता थियो । थापा सरको ‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटक उज्ज्वल शर्मा भण्डारीको निर्देशनमा मञ्चन भइ उत्कृष्टताको रूपमा चर्चा हुनुका साथै चेपाङ भाषाको पहिलो पत्रिका ‘चिन्होजान्हो’ प्रकाशन गर्नमा थापा सरको स्मरणीय योगदान रहेको छ ।”
स्व. तुल्सी थापाकी बहिनी बेली थापाले शालिन र शान्त स्वभावका दाजुको योगदान तथा सम्झनामा कविता वाचन गर्दै भन्नुभयो- “दिल लगाएर लगनशील भएर साहित्यिक क्षेत्रमा लागिपरेका सबै साहित्यिक योद्धाहरूका साथै सामाजिक यात्रा, साहित्यिक यात्रा र शैक्षिक यात्राको विषयमा मकवानपुरे साहित्य समाजले नै स्व. थापालाई सम्झिरहेको अवस्थामा उहाँ हाम्रै वरिपरी रहिरहेको आभास हुन्छ ।”
०००
आँचल साहित्य कला पुञ्जकी सचिव सबिता तिमल्सिनाले नेपालमै पहिलो पटक थापा सरद्वारा सुरू गरिएको दाना कविता लेखनबाट प्रेरित भएर आफ्ना ३ थान दाना कविता सुनाउनुभयो ।
(तिमल्सिनाको एक ‘दाना कविता’)
मनकारी
असाध्यै मनकारी छ मेरो छिमेकी
पहिला आगो लगाइदिन्छ र पानी बोकेर आउँछ ।
०००
नवसर्जकहरू आरूशी काफ्ले, आश्रीका न्यौपाने, आश्रीका कार्कीका रचनाहरू वाचन भएका छन् । कार्यक्रममा सुबास सजलले स्व. थापाका दाना कविताका साथै आफ्नै कविता सुनाउनुभयो । कार्यक्रममा किशन पौडेलले आफ्ना ३ हाइकु वाचन गर्नुभयो ।
(पौडेलको एक हाइकु)
“बलेसीबाट
मनको मझेरीमा
तप्कियो आँसु ।”
०००
कार्यक्रममा राजुराम राउत, माधव पोखरेल, यश लामा, मसान उपासक, देवराज तिवारी, सुवास खनाल लगायतले थापा सरका व्यक्तित्व र व्यक्तिगत अनुभवका साथसाथै आआफ्ना रचनाहरू वाचन गर्नुभयो ।
श्यामकुमार बानियाँ, हयग्रीव आचार्य र आरसी रिजालले थापा सरको स्मृति दिवसका सम्बन्धमा उहाँका बारेमा आआफ्ना अनुभव तथा व्यक्तित्व चर्चा गर्नुभयो । बानियाँले आफ्ना गुरूका रूपमा सम्झिरहने थापा सरसँगका बाल्यकालदेखिका सम्बन्धबारे चर्चा गर्नुभयो । रिजालले भन्नुभयो- “थापा सरका कारण मकवानपुरले देशमैँ इज्जत कमाएको छ । यसैले उहाँले सुरू गर्नु भएक दाना कवितालाई अभियानका क्रममा हामीले लेखन, वाचन र विमर्श सुरू गर्नुपर्दछ ।”
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरको अक्षयकोष स्थापनामा रु. ५ हजारमाथि सहयोग गर्ने दाताहरू प्रेम हमाल, शुभद्रा हुमागाईँ, सन्तोष पौडेल, किशन पौडेल, कमल नेपाल, समर्पण न्यौपाने, बालकुमार श्रेष्ठ, संप्रस पौडेल, सुवास सजल, कैलाश ढकाललगायतलाई सम्मान गरियो ।
प्रमुख अतिथि तुलसी घिमिरेले थापा सरलाई सम्झनेक्रममा जीवितै हुँदा सुनाइएको कविता “मीतज्यू” सुनाउँदै भन्नुभयो- हामी दुवैले एकअर्कालाई मीतज्यू भन्ने गरेका थियौँ । एकअर्काप्रति प्रेमभाव थियो भने आआफ्ना लेखनका बारेमा चर्चा गर्ने गरेका थियौँ ।
सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत गर्नु भएको कार्यक्रममा स्वर्गीय थापाको तस्बिरमा माल्यार्पण गरी स्मरणमा मौनधारण गरिएको थियो ।
अध्यक्ष डीबी बर्तौलाले सहयोग दाताहरूप्रति धन्यवाद ज्ञापन गर्दै साहित्य सङ्गमले गर्ने गतिविधिहरूलाई अघि बढाउने कार्यका लागि निरन्तर प्रयासस्वरूप ६ लाख ६० हजार रुपैयाँ प्राप्त भइसकेको जानकारी दिनुभयो । जम्मा गरिएको रकमबाट व्याज प्राप्त हुनेक्रम रहेकोले यसले आउँदा कार्यक्रमलाई निरन्तरता दिलाउन सहज हुने बताउनुका साथै नियमित रचना वाचनका साथसाथै लेखन तथा वाचन कार्यशाला, उत्सव, विमर्शलगायतका कार्यहरूमार्फत् सक्रियता जनाइरहेको स्पष्ट पार्नुभयो । अभियानका क्रममा पछिल्लो पटक २७ जनाबाट १ लाख ९० हजार सहयोग प्राप्त भएको र यो अभियान १० लाख जम्मा गरी अक्षयकोष निर्माणमार्फत् बलियो कार्यक्रम सञ्चालनको आधार हुने हुँदा सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
साहित्य सङ्गम/सिस्नुपानी मकवानपुरको हलमा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।





