- नवसाहित्य
नवसाहित्य डटकम
संवादाता
हेटौँडा । नेपाली साहित्यको मर्मस्पर्शी विधा मुक्तकको श्रीवृद्धिका लागि समर्पित मुक्तक मञ्च मकवानपुरले आफ्नो स्थापनाको चौथो वर्षगाँठलाई विशेष उत्सवका रूपमा मनाउने भएको छ। यही फागुन १६ गते शनिबार बिहान ११ बजे हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको सभाहलमा यो भव्य समारोह आयोजना हुने भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको उपस्थिति रहने मञ्चले जनाएको छ।
समारोहमा विभिन्न स्रष्टाहरूलाई नगद राशिसहित विशेष सम्मान अर्पण गरिनेछ। जसअन्तर्गत भैरहवाका डा. मुरारि पराजुलीलाई ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’, काठमाडौँका सुनिल अधिकारीलाई ‘तारा स्मृति मुक्तक सम्मान’, काठमाडौँकै मदन नेपाललाई ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ र मकवानपुरका युवा स्रष्टा अनिस न्यौपाने ‘मनको आँखा’ लाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ प्रदान गरिने भएको छ।
यी सम्मानहरूको स्थापना क्रमशः अग्रज साहित्यकार आर.सी. रिजाल, मञ्चका संस्थापक उपाध्यक्ष किसन पौडेल, संस्थापक अध्यक्ष डी.बी. बर्तौला र प्रलेस मकवानपुरका निवर्तमान अध्यक्ष श्रीराम अधिकारीले गर्नुभएको हो।
मञ्चले विगतका वर्षहरूदेखि नै मुक्तक विधामा निरन्तर साधनारत व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। यसअघि बुटवलका रमेश समर्थन, मकवानपुरका देवराज खरेल, रौतहटका हरिकृष्ण काफ्ले, चितवनकी विमला अधिकारी देवकोटा, सिन्धुलीका लोकेन्द्र डहरे, पोखराका दीपक समिप, काठमाडौँकी निलाञ्जला भारद्वाज तथा मकवानपुरका समर्पण न्यौपाने र विर्खे अन्जान एवं सिन्धुलीकी अस्मिता दाहाल यस मञ्चबाट सम्मानित भइसकेका छन्।
वार्षिकोत्सवको समापनसँगै मञ्चको दोस्रो अधिवेशन समेत सञ्चालन गरिनेछ। अधिवेशनको विशेष सत्रमा संस्थाको आगामी कार्ययोजना, संगठनको वृहत्तर विस्तार र नयाँ नेतृत्व चयनका विषयमा घनीभूत छलफल हुनेछ। मञ्चका सचिव सुबास सजलले यस मुक्तकीय अभियानलाई अझ सशक्त, मर्यादित र संगठित बनाउने मूल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको छ।





