नवसाहित्य डटकम

समाचारदाता

       
        हेटौँडा, २५ पुस । साहित्य सङ्गम मकवानपुरको ३९ औँ वार्षिकोत्सवको अवसरमा भोलि २०८२ पुस २६ गते शनिबार हेटौँडामा ‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव–२०८२’ तथा विशेष बहस कार्यक्रम आयोजना हुँदैछ।

हेटौँडा–४ स्थित हेटौँडा पार्टी प्यालेसमा बिहान ११:०० बजेदेखि सुरु हुने यस कार्यक्रममा खुला कविता प्रतियोगिता र ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस हुने आयोजकले जनाएको छ।

उत्सवको मुख्य आकर्षणका रूपमा रहेको राष्ट्रिय पर्याकविता प्रतियोगिताका लागि देशभरबाट प्राप्त १६४ कविताहरूमध्येबाट उत्कृष्ट १० कविता र कविहरूको नाम यसअघि नै सार्वजनिक गरिसकिएको छ।

छनोटमा परेका १० जना कविहरूले भोलि हुने अन्तिम चरणको प्रतियोगितामा उपस्थित भई आफ्ना कविता वाचन गर्नेछन्। वाचन पश्चात निर्णायकको मूल्याङ्कनका आधारमा प्रथम (रू‍.३० हजार), द्वितीय (रू‍.२० हजार) , तृतीय (रू‍.१० हजार) र प्रोत्साहन पुरस्कार ( दुइजनालाई रू‍.५ हजार) विजेता घोषणा गरिनेछ।

अन्तिम चरणका लागि छनोट भएका उत्कृष्ट १० कवि र कविताहरू (वर्णानुक्रम अनुसार):

१. किरण सिवा (सुनसरी) – मौन प्रकृति २. किशन पौडेल (मकवानपुर) – दोहन ३. नरोत्तम श्रेष्ठ (तनहुँ) – बिउको रक्तिम घोषणापत्र ४. निरूपम श्रेष्ठ (सिन्धुली) – हरियो विद्रोह ५. मदन घिमिरे (कास्की) – एक आरोहीको डायरी ६. मोहित जोशी (कैलाली) – समयको अन्त्यको किनारमा उभिएर ७. यशोदा अधिकारी (काठमाडौँ) – धर्तिको विघटन ८. राजु झल्लूप्रसाद (धादिङ) – तर ९. सुबास सजल (मकवानपुर) – मौनधारण १०. सुरेशचन्द्र घिमिरे (लमजुङ) – प्रकृति र जीवन

संस्थाका अध्यक्ष डी.बी. बर्तौला र कार्यक्रम संयोजक मनोज पोखरेलद्वारा जारी सूचना अनुसार, प्रतियोगी कविहरूका लागि आयोजकले खाना तथा आवासको व्यवस्था गरेको छ।

‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस कार्यक्रमको अर्को सत्रमा समकालीन नेपाली साहित्यमा पर्यावरणको चेतना र यसको महत्त्वबारे विशेष बहस हुनेछ। ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक यस बहसमा वक्ताका रूपमा डा. गीता त्रिपाठी (काठमाडौँ), डा. घनश्याम घिमिरे (मकवानपुर) र विजय हितान (रुपन्देही) रहनुहुनेछ। बहसको सहजीकरण सुवास खनालले गर्नुहुनेछ।

साहित्य सङ्गम मकवानपुरले वातावरण संरक्षण र साहित्यलाई जोड्ने उद्देश्यले विगत केही वर्षयता पर्याकविता उत्सवलाई निरन्तरता दिँदै आएको छ।

– नवसाहित्य संवाददाता

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन