- नवसाहित्य
नवसाहित्य डटकम
एकाबिहानै फेसबुकको एउटा “मोनिटाइजका लागि सहकार्य गरौँ” भन्ने ग्रुपमा राष्ट्रनायक स्वयं सक्रिय देखिए ।
इतिहास पढ्न अब किताब पल्टाउनु पर्दैन रहेछ, फेसबुक स्क्रोल गरे पुग्ने ।
पुस २७ मा सरकारले बिदा दिएको छ, त्यसैले होला- राज्य विस्तारभन्दा मोनिटाइज अभियान सक्रिय ।
डलरको लोभले मैले पनि मेन्सन हानेँ- ‘@पृथ्वीनारायण शाह – राष्ट्रनायक’ फलोअर्स तीन अङ्कको K, मेरो पनि बढाइदिनु पर्यो नि ! इनबक्समा बोलाइयो ।
लाइक, कमेन्ट, शेयरको सन्धी होला भनेर उतै हान्निएँ ।
तर उताबाट आयो- “visit the given links.”
भिडियो खोलें, स्क्रोल गर्दै जाँदा यति तल पुगेँ कि जमिन उत्खनन् गरेको भए मरुभूमिमा पनि पानी निस्किन्थ्यो । जमिनमा भए म्याराथन जितिन्थ्यो ।
स्कुल पढ्दा कन्ठस्थ उक्ति थियो-
लमजुन् भन्याको गरुड हो । गोर्षा भन्याको सरप हो । नेपाल भन्याको भ्यागुता हो । गरुडको अघि आषा छलनु । तब सर्पले भ्यागुतो षान पाउछ ।
छन त महाराजलाई सम्झाउन मन थियो । डिजिटल युगमा गरूड भन्याका अमेरिका हो, भीउसेन थापाले कोखामा दाँत भयाका भन्थे । अस्ति मातरै भेनेजुएलाका मादुरोलाई माकुरोले झिँगो टिप्याजस्तो टपक्क टिपी लग्दा भया ।
एकछिनपछि महाराजबाट थम्ब्स अप इमोजी आयो । सायद दिव्योपदेश यही हो- हेरेपछि बुझिहाल्छस् !
समय फेरिएको रहेछ महाराज । पहिले राज्य खुकुरीले जितिन्थ्यो, अहिले reach, views र engagement ले । सिक्का अब भर्चुअल भएको छ । दिव्योपदेश एआइले दिन थालेको छ ।
बस्न्यात, थापा, पाँडेहरूका जो बचेकाहरू रीलमा रोइरहेछन्, स्टोरीमा हाँसिरहेछन् । कसैका छोराछोरीहरू ‘सब्सक्राइब’ माग्ने त कसैका ‘स्टार’ बाँडिरहेछन् । इतिहास अब सालिकमार्फत् होइन, कन्टेन्टमार्फत् लेखिन थालिएको छ । विजयर्याली होइन, स्टोरी, रिल, पोस्टादीमार्फत् गाली पाउँदा पनि भाइरल भइयो भनेर सेलेब्रेसन गर्ने बेला आयो ।
सजिलो भो महाराज, घरमैँ बस्यो ट्याप ट्याप गर्यो । भ्यूज बटुल्न गुन्द्रुक र पिठो बोकेर पल्लो किल्लासम्म जानु परेन । फेसबुक मोनिटाइज सहरकार्यका लागि लमजुङे राजासँग सन्धी गर्नै परेन । उबेला हजुरले बिनाफ्वाँकमा दुख बेसाउनुभो । मकवानपुरमा आँखा गाडेर ससुरालीकै घिउ खाँदै जेठान दिग्बन्धन सेनलाई लखेट्नुभो । यतिखेर भए त पक्ष विपक्षमा ह्यासट्याग अभियानै चल्थ्यो । त्यसकै नाममा कन्टेन्ट क्रियटरहरू बढ्थे ।
आजको पाठ सिकियो । बाँकी भोलिका लागि भन्दै मोबाइल चार्जमा जोडेर निदाउँदा भया ।
भोलिपल्ट ग्रुप खोजेँ- ग्रुप बेपत्ता ।
हिजो “मोनिटाइज सहकार्य”, आज “फलानोलाई जिताऔँ अभियान” ।
महाराज अलप, डलर अधुरो, मोनिटाइज अधुरै ।
राज्य जित्न तलबार चाहिन्थ्यो, आज ध्यान जित्न स्क्रोल । अस्तु ।





