- नवसाहित्य
सुबास सजल
कवि
डरलाग्दो अन्त्य मानव सभ्यताको
मलाई
दर्दनाक लाग्दैन,
बाघले मृग खाइरहेको दृश्य!
देखेर
लाग्दैन घिन,
सिनो लुछिरहेको गिद्द।
बरू लागिरहन्छ
आखिर किन मान्छेहरू
लुकाएर आफ्नै नरभक्षी स्वरूप
क्रुरता देख्छन् बाघको अनुहारमा।
किन तुलना गर्छन्?
आफ्नैहरूको अन्तरघाती स्वभावलाई।
कुखुरा ढुकिरहेको स्यालसँग।
म देखिरहेछु
पात झरेको रुखमा पनि
एउटा “प्रेमिल प्रतीक्षा”
जस्तो कि
कोही ऋतु पर्खिरहेकी छे
आफ्नो वसन्तलाई।
म देखिरहेछु
विध्वंस मचाएको बाढीमा पनि
एउटा “प्रेमिल व्यग्रता” छ
जस्तो कि,
कोही मदन दौडिरहेको छ
आफ्नी मुनालाई भेट्न।
म चाहन्छु
नदीले आफ्नो बाटो आफैँ खनोस्।
झरना झरिरहोस् आफ्नै बाटोबाट।
भिरको फूल भिरमै फूलिरहोस्।
बनाएर कृत्रिम नहर आकाशमा
कसैले नगरुन् मरुभूमिमा सिँचाइ।
तर किन?
बिर्सिएर इतिहासका निर्मम पराजयहरू
चिथोरिरहन्छ छातीमा
विकासवादको डोजरले
रोपेर कङ्क्रिटका
गगनचुम्बी महलहरू
लिइरहन्छ सहनशिलताको परीक्षा बारम्बार।
अधिकारको खोजीमा
अन्दोलनकारीहरूले ढुङ्गा बर्साएझैँ
बर्साएर असिनाका अस्वाभाविक गोलाहरू।
निकालेर
अतिवृष्टि पसिना
बादलको निधारबाट
उठाएर ओजोन तहको घुम्टो
सुस्तरी।
जब
उठाउने छ
प्रकृतिले विद्रोहको हतियार।
तब हुने छ
डरलाग्दो अन्त्य
मानव सभ्यताको।
– सुबास सजल





