- नवसाहित्य
नवसाहित्य डटकम
मैले ऐँठन ढिलो पढेँ ।
ऐँठन किनेको लगभग छ महिनासम्म पढिनँ । नपढ्नुको कारण थिए, ऐँठनको बारेमा छापिएका समीक्षा । तिनको प्रभाव परुञ्जेल किताब खोल्न मन लागेन । एकपटक सुरुको ‘मिराज एक प्राक्कथन’ पढें; त्यसमा मृत्युको यस्तो विद्रुप चित्रण थियो कि आङ सिरिङ्ग गर्यो । त्यसपछि अरु पाना पल्टाइनँ, त्यत्तिकै थन्किरह्यो । बरु योगीको आत्मकथा, ओशो आदि पढें ।
युद्धमा केही अनपेक्षित घटना त होइजान्छन् । देश गृहयुद्धमा फसेको बेला म स्कुले विद्यार्थी थिएँ । रेडियोमा त्यस्तै त्रासदीपूर्ण समाचार आउँथ्यो । एक हिसाबले मृत्युको समाचार सुन्न अभ्यस्त भइसकिएको रहेछ ।
ऐँठनमा दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापान र कसोकसो (पौडी खेल्दै गरेको भएर) बाँचेकी सोराको कथा व्यथा पनि रहेछ । सरकारी सेना र छापामार (माओवादीले भन्ने जनसेनालाई छापामार भनिएको रहेछ) बिच दोहोरो भीडन्त हुँदा बबनकी श्रीमती उर्मिला र छोरो प्रल्हाद मरेको दर्दनाक प्रसङ्ग र बबनले भोग्नुपरेको पीडा वरिपरि कथा अगाडि बढ्छ । दाङ, भेरी, कर्णाली, मङ्गलसेन, अछाम वरिपरिको परिवेशमा रचिएको ऐँठन लेखन शिल्प र कलाको हिसाबले राम्रो लाग्यो । सम्पूर्ण कथा एउटा निकै ठूलो हस्पिटल, त्यहाँको उपचार कक्ष, इलेक्ट्रिकल सक, थेरापी कक्ष आदि छ; जहाँ बबन, सोरा, चन्द्रकला र अरू कैयौं घाइते र बिरामी छन् । बबन आफ्नो जिन्दगीको पूर्वावलोकनमा जान्छ र सम्झेको कुरा सुनाउँछ ।
किन यो कृतिको बारेमा नकारात्मक चर्चा धेरै भयो ? (कि मैले त्यस्तो सामग्री बढी पढें कि ! कहिलेकाहीँ त्यस्तो हुनसक्छ) भन्ने सोचें ।
जब विषयवस्तु अघि बढ्दै गयो, गहिराइमा पुगेर हेर्दा त मन खुम्चिदैं खुम्चिदैं गयो ।
छापामारहरूले बन्दी प्रहरीको हत्या (खण्ड १२) लाई अमानवीय तवरले विद्रुपीकरण गरिएको छ । त्यहाँनेर लेखक (विवेक ओझा) एकपक्षीय लाग्छन् । अन्यत्र पनि त्यस्ता घटनाहरूको आख्यानीकरण गरिएको छ । छापामारले गरेको हुलाकीको नृशंस हत्या (हत्याको वर्णन भयङ्कर छ), छापामारले आमाले थाहा पाउनेगरि छोरी बलात्कार गरेको घटनाको वर्णन छ । मङ्गलसेनमा सात जना प्रहरी जसले आत्मसमर्पण गरेका छन्, तिनको सामुहिक हत्या गरिएको छ । सिडिओको शरीरमा मट्टीतेल छर्केर जिउँदै जलाइएको छ, भाग्ने दुई जनालाई मार हानिएको छ । प्रायःजसो हत्या नृशंस र पाशविक लाग्ने खालका देखाइएको छ ।
कहीँकतै सरकारी तवरबाट भएका घटनाहरू पनि देखाइएको छ तर सन्तुलित छैन।
ऐँठन एक काल्पनिक आख्यान मात्रै भएको भए सायद पाच्य हुँदो हो ! समय, परिवेश, स्थान, घटना, कथ्य सबथोक देशमा दस वर्ष चलेको द्वन्द्वसँग सम्बन्धित छन् । त्यो द्वन्द्वमा छिटपुट रुपमा त्यस्ता घटनाहरू नभएका होइनन् । कुनै व्यक्ति वा परिवारमा घटेको घटना उसको लागि त सर्वश्व हो । एक जनाको हत्या पनि शतप्रतिशत हत्या नै हो । निर्दोष व्यक्तिको हत्या, बलात्कार जस्ता अमानवीय घटना घटेकै हुन् तर त्यस्ता दुवै पक्षबाट भएको देखिन्छ, बुझिन्छ । तर ऐँठनमा एक पक्षको ज्यादतीलाई बढाइचढाइ र अर्को पक्षको ज्यादतीलाई नजरअन्दाज गरिएको छ ।
बबन हस्पिटलबाट भागेपछिको दृश्यमा भने सेनाको अत्याचार देखाइएको छ तर छापामारको जत्ति त के छेउ पनि छैन । (खण्ड २३)
एउटा प्रसङ्ग यस्तो छ कि, बबनले पानी माग्दा छापामारले उसको टाउको, अनुहार, जिउभरि पिसाब फेरिदिन्छ । सैनिक (शाही सेना) ले मासुभात खुवाउँछ ।
अन्तिमतिर, उन्नाइस बीस वर्षपछिको समय देखाइन्छ जहाँ पूर्व लडाकुहरूसँग बबन (मुख्य पात्र, म) को भेट हुन्छ । कोही दु:खजिलो जिन्दगी धानिरहेका छन् । अर्को एउटा हेलिकप्टरमा सवार हुन्छ ।
खासमा ‘ऐँठन’ हत्या, हिंसाको क्रुर रुप देखाउँदै शान्तिको कामना गर्ने कृति रहेछ तथापि यसमा केही असन्तुलनले गर्दा आलोचना स्वभाविक रहेछ ।
कुमार काफ्ले
हालः नयाँबजार, इलाम
(काफ्ले ‘सपना कतिपय’ – लघुकथा २०८१, ‘हजार सपना’ – उपन्यास २०७२ का लेखक हुनुहुन्छ ।)





