समाचार प्रमुख:

नवसाहित्य

२८ भाद्र/नवसाहित्य । मीन भामद्वारा निर्देशित चलचित्र शाम्बला आजदेखि देशभर प्रदर्शनमा रहेको छ । ओस्करमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने यस चलचित्र बर्लिन र लोकार्नोजस्ता ठूला महोत्सवमा सहभागी चलचित्र हो ।

बहुपति प्रथा, हिमाली भेगको जनजीवन, तिब्बतसँगको व्यापारिक सम्बन्ध, भिक्षु जीवनचर्याका साथै आध्यात्मिक र दैनिकी भोगाइका विविध पाटोहरू उल्लेख गरेको यस चलचित्रमा गर्भवती महिलाको सङ्घर्षको कथा उधिन्ने प्रयास गरिएको छ ।

बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियरमा पुगेर ‘द ग्रेट बेयर’ मा छनोट हुने पहिलो नेपाली चलचित्र शाम्बलाकी नायिका थिन्ले ल्हामोलाई स्वीजरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय महोत्सवमा चयन भएको हालसम्मकै सर्वाधिक महंगो लगानीको नेपाली चलचित्र शाम्बलाले हिमाली जीवन र आत्मिक चिन्तनको बारेमा उल्लेख गरेको छ भने यसको प्रिमियर शोमा बलिउडका चर्चित कलाकार नवाजुद्दिन सिद्दिकी र अनुराग कश्यप समेतका सहभागिता रहेको थियो । त्यसो त आउँदो साता थ्री इडियट्स, पिके, सन्जुलगायतका चलचित्रका निर्देशक राजकुमार हिरानी समेत सोही चलचित्र हेर्नका लागि नेपाल आउने तय भएको निर्देशक भामले उल्लेख गर्नु भएको छ ।

विगतमा बाँसुली, कालोपोथी चलचित्र बनाएका भामको यस चलचित्रमा थिन्लेका अलावा सोनाम तोप्देन, कर्मा शाक्य, कर्मा गुरूङ, तेन्जिङ दाल्हालगायतको अभिनय रहेको छ भने नेपालबाट एकमात्र चलचित्रका रूपमा अमेरिकामा हुने ९७औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड) का लागि प्रतिनिधित्व  गर्ने भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन