- नवसाहित्य

संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
बाबुनानीहरू,
आज हामी धनाढ्य, कम्प्युटर प्रोग्रामर, समाजसेवी अनि पढन्ते व्यक्तिबारे चर्चा गर्नेछौँ । उनी हुन् माइक्रोसफ्टका मालिक बिल गेट्स । उनका बारे केही रोचक कुराहरू पढौँ है त ।
बिल गेट्सका रोचक कुराहरूः
* १३ वर्षकै उमेरमा कम्प्युटर प्रोग्रामिङबाट संसारलाई कम्प्युटर अनिवार्य चिज हो भन्ने सिकाउने व्यक्ति हुन् बिल गेट्स । उसबेला tic-tac-toe नामक गेम बनाएका उनले १५ वर्षको उमेरमैँ Traf-O- Data Program बनाएर २० लाख डलर कमाए ।
* उनले २० वर्षमा कम्पनी खोलेर २६ वर्षमैँ करोडपति बनेका थिए । त्यसो त २५ वर्षकै उमेरमा IBM कम्पनीलाई IBM Interpreter प्रोग्राम बनाएर ५० लाख डलर कमाए ।
* अहिले पनि खरबपति भइकन पनि जम्मा १० डलरको घडी लाउने बिल गेट्स कम्प्युटर प्रविधिको आविष्कारको दुनियाँबाट संसार हाँकिरहेका व्यक्ति हुन् ।
* उनलाई आफ्नो भाषा अङ्ग्रेजी बाहेक अन्य कुनै पनि देशको भाषा बोल्न आउँदैन ।
* उस बेला अमेरिकाभरि कम्प्युटर पढाइ हुने एक मात्र विद्यालय थियो, जहाँ उनले शिक्षा प्राप्त गरे । उनकै देनले नै संसारभरिका करोडौँ मानिसहरू कम्प्युटर, यससँग सम्बन्धित पढाइ, सिकाइ, व्यवसाय अनि हरेक क्षेत्रमा आर्थिक क्रान्ति पनि गरिरहेका छन् ।
* सन् १९८५ मा विण्डोजमार्फत् कम्प्युटरको सरल प्रयोगलाई आम मानिसमा पुर्याउनमा प्रशस्त योगदान पुर्याएका गेट्स कुनै समय संसारकै धनी मानिसमा गनिन्थे । के भनिन्छ भने- उनले हार्बर्ड विश्वविद्यालयको आफ्ना प्राध्यापकलाई आफू ३० वर्षको उमेरमा संसारकै धनी व्यक्ति हुनुपर्ने लक्ष्य रहेको बताएका थिए, जबकी उनी ३१ वर्षकै उमेरमा त्यो सपना पूरा गर्न सक्षम भए ।
* सन् १९७५ मा पढ्दापढ्दै बिचैमा हार्बर्ड छोडेर उनले आफ्ना साथी पल एलनका साथमा माइक्रोसफ्ट कम्पनी खडा गरेपछि सफ्टवेयरमार्फत् माइक्रोकम्प्युटर प्रयोगमा क्रान्ति नै ल्याए । त्यसो त ३२ वर्षअघि पढ्दापढ्दै विश्वविद्यालय छाडेका उनी सन् २००७ मा हार्वर्ड विश्वविद्यालयबाट मानार्थ डिग्रीबाट सम्मानित भए ।
* किताब पढ्नाले व्यक्तित्व बढ्ने ठान्ने उनी व्यस्तताका बाबजूद पनि वर्षमा करिब ५० पुस्तक अध्ययन गर्ने गर्दछन् भने उनीसँग १० हजार बढी पुस्तक सङ्ग्रह भएको आफ्नै पुस्तकालय रहेको छ ।
* सन् २०१० मा १० बिलियन डलर दान गर्ने दानवीर गेट्सले हालसम्म ८० बिलियन डलरभन्दा बढी दान गरिसकेका छन् भने उनको फाउन्डेसनलाई अर्का खरबपति वारेन बफेटले समेत निकै सहयोग गरेका छन् । त्यसो त फेसबुकका मालिक जुकरबर्गलाई समेत उनले दानमार्फत् सामाजिक समस्या समाधानका लागि हौस्याएका छन् ।
* लगातार १७ वर्षसम्म संसारकै धनीका रूपमा रहेका बिल गेट्स हाल संसारका ७औँ धनाढ्य हुन् । उनीसँग १२८ बिलियन सम्पत्ति रहेको छ ।
* दुनियाँलाई पहिलो पटक विण्डोजको (Windows 1.01) स्वाद दिने उनीबारे रोचक त के भने कम्प्युटरमा Alt+Ctrl+Del गल्तिका कारण प्रयोगमा आएको उनले एक वक्तव्यका क्रममा खुलासा गरेका छन् ।
* चीनमा क्षयरोग (टिबी) फैलिएर महामारीको रूप लिएपछि उनले चिनियाँ स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गरे र सफलता पनि प्राप्त भयो । संसारभरि एड्स रोग नियन्त्रण, गरिबी नियन्त्रण, कृषिमा सहयोगदेखि छात्राहरूलाई छात्रवृत्तिसम्म उनको परोपकार फैलिएको छ ।
* Google संसारमैँ ९० प्रतिशत प्रयोगकर्ताले प्रयोग गर्ने सर्च इन्जिन हो भने Bing जम्मा ३ प्रतिशतले । माइक्रोसफ्टलाई पछि पारेको गुगलको यो सफलतालाई बिल गेट्सले पनि मानेका छन् ।
* अबको समय AI को हो भन्ने बिल गेट्सकै लगानीमा Copilot माइक्रोसफ्टद्वारा तयार गरिएको AI हो ।
* १९९८ ताका गेट्सले सहसंस्थापकका रूपमा एपल कम्पनीमा ठुलो हिस्सा शेयर लिएका थिए । सोही लगानीलाई सदुपयोग गर्दै अर्का संस्थापक स्टिभ जब्सले एपललाई अहिले माइक्रोसफ्टलाई पछि पार्दै सबैभन्दा मूल्यवान कम्पनीका रूपमा चिनाएका हुन् । (जब्सको निधन भइसकेको छ ।)
* सुरूवातिमा उनी रातभरि नै प्रोग्रामिङ कोडमा काम गर्थे भने अफिसको भुइँमैँ सुत्दथे । उडिसकेको हवाइजहाजलाई एयरपोर्टको कन्ट्रोल रूममा प्रवेश गरेर फिर्ता गरेको भन्ने भनाइ पनि पाइन्छ । बिल गेट्सका बारेमा यस्तै यस्तै चर्चित अनि रोचक थुप्रै किस्सा तथा भनाइहरू रहेका छन् ।
०००
बाबुनानीहरू, अब भने हामी दानवीर बिल गेट्सले नेपालसम्म गरेको सहयोगबारे पढ्नेछौँ ।
सन् १९५५ मा अमेरिकामा जन्मिएका बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स (हाल सम्बन्धविच्छेद) को संयुक्त नाममा ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ मार्फत् संसारका विभिन्न देशमा सहयोग जारी रहेको छ । यस पूण्यकर्मबाट संसारका लाखौँ बालबालिकाको ज्यान जोगिएको छ । नेपालमा समेत बालबालिकालाई लगाइने खोपमा सोही संस्थाबाट निकै सहयोग प्राप्त भइरहेको छ । वर्षेनी भारत आइपुग्ने बिल गेट्स सन् २०१४ मा भारतमा पोलियो उन्मुलनका लागि खोप कार्यक्रमदेखि नवजात शिशु, मातृशिशु स्वास्थ्य, पोषण, सरसफाइ, लैङ्गिक समानतालगायतका क्षेत्रमा सो फाउन्डेसनको ठुलो सहायता रहेको छ ।
यस संस्थाका संसारका ३ हजार बढी कर्मचारीमध्ये नेपालका डा. रोशन श्रेष्ठले सन् २०२३ मा ‘बिल गेट्स सिनियर अवार्ड’ प्राप्त गरेका थिए भने सम्मानबापत प्राप्त १ करोड ३० लाख रकम सामाजिक संस्थालाई नै दान गरेका थिए ।
WHO, UNICEF, GAVI लगायतका संस्थामा लाखौँ डलर सहयोग गरेका बिल गेट्सका संस्थाले कार्बन फूटप्रिन्ट कम गर्न अर्थात् वातावरण जोगाउँदै पृथ्वीको आयु बढाउनका लागि पनि लगानी गरिरहेका छन् । एसियामा विशेषतः भारतलाई ध्यान दिइरहेका उनले अफ्रिकामा समेत अरबौँ डलर दान गरेका छन् ।
उनै परोपकारी व्यक्ति बिल गेट्सका केही महत्वपूर्ण भनाइहरू पनि हामीले लिएर आएका छौँ ।
०००
विल गेट्सका केही विचारहरूः
* मान्छे सदैव बदलावसँग डराउँछन्, जब बिजुलीको आविष्कार भएको थियो त्योबेला पनि डराएका थिए ।
* कहानी जहाँ समाप्त हुन्छ, जीवन त्यहीँबाट सुरू हुन्छ ।
* जब तपाईँका हातमा पैसा हुन्छ, तपाईँ दुनियाँलाई बिर्सनुहुन्छ तर जब तपाईँका हातमा पैसा हुन्न, तब दुनियाँले तपाईँलाई चिन्दैन । यो नै जिन्दगी हो ।
* तपाईँको अवस्थामा सुधार गर्न उद्दत रहनेहरूको सँधै सङ्गत गर्नुहोस् ।
* तपाईँमा जति नै योग्यता किन नहोस्, केवल एकाग्रचित्त भएर नै तपाईँ महान कार्य गर्न सक्नुहुनेछ ।
* पैसा कमाउने होइन, बनाउने हो ।
* यदि तपाईँ गरिब जन्मनु भएको हो भने यो तपाईँको गल्ती होइन तर जब तपाईँ गरिबै मर्नुहुन्छ भने त्यो तपाईँको महाभूल हो ।
* मेरा बालबच्चासँग कम्प्युटर छन् तर पहिलो चिज जो उनीहरूले प्राप्त गर्दछन् त्यो पुस्तक हो ।
* सफलता एक खराब शिक्षक हो । यसले मानिसहरूमा यस्तो सोचको विकास गर्दछ कि मान्छे सफल हुनै नसकोस् ।
* तपाईँसँग कति पैसा छ भन्ने कुराले उस्तो अर्थ राख्दैन । किनभने तपाईँले समयलाई किन्न सक्नुहुन्न ।
* सबैभन्दा बेखुसी ग्राहक नै तपाईँको सिकाइको मूख्य स्रोत हो ।
* कुनै पनि काम गर्नका लागि म सबैभन्दा अल्छी मानिसलाई चयन गर्दछु किनभने उसले त्यो काम गर्नका लागि सबैभन्दा सजिलो तरिका खोज्दछ ।
* सफलताको खुसियाली मनाउँदै गरदा बितिगएका खराब समयलाई याद गर्न छोड्नुहुँदैन ।
* धैर्य सफलताको एक मात्र उपाय हो ।
* हामी जति नै पैसा किन नकमाऔँ, हामीले आफ्नो विचारलाई परिवर्तन गर्न सक्दैनौँ ।
* जीवन छोटो नै छ । समयको बरबादीका कारण यो अझै छोटो हुन जान्छ ।
* व्यापार; केही नियम र निकै नै जोखिमका साथ केवल पैसाको खेल हो ।
* नेतृत्व त्यो हो जसले दोस्रोलाई सशक्त बनाउन सक्छ ।
* जहाँ अर्कोलाई बुझ्न मुस्किल पर्न जान्छ, त्यहाँ आफैँलाई बुझ्नु सही हुन जान्छ ।
* आत्मविश्वास र कडा मेहनतले सदैव तपाईँलाई सफलतातर्फ डोर्याउँछ ।
* विगततिर नजानुहोस्, भविष्यको सपना पनि नदेख्नुहोस्, मनलाई वर्तमानमा केन्द्रित गर्नुहोस् ।
* केही गर्न वा बन्न चाहनुहुन्छ भने पहिले लक्ष्यको निर्धारण गर्नुहोस् । अन्यथा जीवनमा उचित उपलब्धी प्राप्त हुने छैन ।
* आफ्नो आदर्शका साथ जीवन बिताउनुहोस् तब दुनियाँलाई आभास हु्न्छ कि तपाईँ को हुनुहुन्छ ?
* जीवनका दिनहरू काट्नका लागि होइनन्, केही महान काम गर्नका लागि हुन् ।
* जीवनमा महत्वको चिज विजय होइन, सङ्घर्ष हो ।
* यदि तपाईँको व्यापार इन्टनेटभन्दा बाहिर छ भने तपाईँ व्यापारभन्दा बाहिरै हुनुहुन्छ ।
* अल्पसङ्ख्यकलाई अघि बढ्नमा रोक्ने कुनै चिज छ भने त्यो भेदभाव हो ।
* मान्छेहरूलाई समस्या र समाधानका उपाय दुवै बताइदिने हो भने उनीहरू काम गर्न थाल्नेछन्।
जतिसुकै व्यस्तता भए पनि निद्रासँग सम्झौता नगर्नु भन्ने बिल गेट्स दैनिक ७ घण्टा अनिवार्य नै सुत्ने गर्दछन् ।
बिल गेट्सको www.gatesnotes.com आफ्नै वेबसाइट हो भने उनको बारेमा “इनसाइड बिल्स ब्रेन” नामको डकुमेन्ट्री पनि बनेको छ । तपाईँहरूले पनि उनका बारेमा धेरै जानकारी लिँदै आफ्नो जीवनलाई कसरी अघि बढाउने भनेर उनीबाट प्रेरित हुन सक्नुहुनेछ ।
सङ्कलनः संप्रस पौडेल
स्रोतः
– gatesnotes.com
– Inside Bills Brain documentary
– CNBC
– press.farm
– kids britanica
– gavi.org
– yourstory.com आदि