संप्रस पौडेल

समाचार प्रमुख

सिस्नुपानी नेपाल मकवानपुरले हरेक वर्ष गर्दै आइरहेको कार्यक्रम यो वर्ष पनि निरन्तरता दिने भएको छ । सोहीअनुसार यो वर्षको गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम भाद्र ४ गते गर्न लागेको हो ।

संस्थाका अध्यक्ष संप्रस पौडेलले समाजमा रहेका बेथिति र विसङ्गतिविरूद्ध साहित्य सिर्जना गर्दै आइरहेको यस संस्थाले १ दर्जन बढी कलाकारहरूमार्फत् विविध हास्यव्यङ्ग्यात्मक प्रस्तुतिहरू प्रस्तुत गर्ने बताउनुभयो । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको प्रवर्धनमा हुने कार्यक्रम ओम्याक्स सिनेमा हलमा आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्यारोडी गायन, व्यङ्ग्य प्रहसन, नाचलगायत विविध हास्यव्यङ्ग्य प्रस्तुतिहरू रहने संस्थाका सचिव सुमार्गी हुमागाईँले बताउनुभयो ।

यस्तै प्रवर्धक वडाका वडा अध्यक्ष नवीन सिग्देलले हास्यव्यङ्ग्य सिर्जनाले कमजोरीहरूलाई सुधार्नका लागि प्रेरणा मिल्ने र जनताको आवाजलाई व्यङ्ग्यका साथसाथै रमाइलो अनि ठट्यौली शैलीमा मुखतरित गर्ने हुँदा अघिल्ला वर्षमा खचाखच दर्शकहरूबिच भव्य कार्यक्रम भएकोले यस कार्यक्रममा समेत अझ बढी चर्चा पाउने अपेक्षा रहेको बताउनुभयो । प्रवेश पासका लागि सिस्नुपानी संस्थाका साथसाथै वडा कार्यालयमा सम्पर्क गर्न सकिने समेत उहाँले जानकारी दिनुभयो ।

साहित्यको उन्नयनमा होस्टेमा हैँसे गर्दा समग्र हेटौँडाकै र नेपालको साहित्यमाथि नै लगानी हुने र त्यसले साहित्यिक क्षेत्रमा ठुलो टेवा पुगेको उहाँले बताउनुभयो । विगतदेखि नै सिस्नुपानीलगायतका अन्य संस्थाहरूमार्फत् साहित्य लेखन कार्यशाला, रचना वाचन, प्रतियोगिता, साहित्यकार तथा कलाकार सम्मान गरिरहेको ४ नम्बर वडा हेटौँडाले शिक्षामा समेत यथेष्ट कदम चालिरहेकोले सर्वाधिक शिक्षित जनसङ्ख्या रहेको वडाका रूपमा परिचित रहेको जानकारी दिनुभयो । साहित्य सिर्जना जोसुकैले गर्न नसक्ने र सिर्जना गर्नेहरूलाई हौसला दिनुपर्ने भन्दै यस्ता काममा अन्य वडाहरूलाई समेत हातेमालो गर्न आह्वान गर्नुभयो ।

यसअघि राष्ट्रव्यापि कविता प्रतियोगिता, हास्यव्यङ्ग्यात्मक गाईजात्रा, देउसीभैलो, कार्टुन प्रदर्शनी, हास्यव्यङ्ग्यकार सम्मान तथा रचना वाचनलगायतका विविध कार्यक्रमहरू गर्दै आइरहेको यस संस्था सिस्नुपानी नेपालको पहिलो जिल्ला शाखा हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन