Home Blog Page 53

साहित्य सङ्‍गमले कविता प्रतियोगिता गर्ने

कार्तिक १५, बुधबार
मकवानपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब हेटौंडा मकवानपुरको संयुक्त आयोजनामा कविता प्रतियोगिता हुने भएको छ ।
त्रिभुवन माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापमा विद्यालयस्तरीय खुला कविता प्रतियोगिता हुन लागेको हो ।
साहित्य सङ्‍गम मकवानपुरले हरेक वर्ष देवकोटा जन्मजयन्तीको अवसरमा नियमितरूपमा सो कार्य गर्दै आइरहेकोले विद्यार्थीहरूलाई साहित्य सिर्जनामा हौसला प्रदान गर्नका लागि निरन्तरता दिइएको सङ्‍गम अध्यक्ष डीबी बर्तौलाले बताउनु भएको छ ।


कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले मात्र भाग लिनपाउनेगरी कविता जुनसुकै विषयमा लेख्न सकिने तथा मौलिक र अप्रकाशित हुनुपर्ने आयोजकले जानकारी दिएको छ । कविताका लागि बढीमा २०० शब्दसीमा तोकिएको छ भने प्राप्त कवितामध्ये उत्कृष्ट ३ लाई जनही २ हजार र १ जनालाई प्रोत्साहन पुरस्कार १ हजार र प्रमाणपत्र दिइने सङ्‍गमका उपाध्यक्ष सानु खनालले जानकारी दिनु भएको छ ।
यही कार्तिक २३ गतेभित्र प्राप्त कवितालाई कार्तिक २६ गते हुने प्रतियोगितामा सामेल गराउने आयोजकले सचिव मनोज पोखरेलले बताउनुभएको छ ।

हास्यव्यङ्ग्य : संस्कार / आर.सी रिजाल

देशभक्त शर्माको निधनपछि उनको छोरा पितृभक्त शर्माले कसरी पिताको १३ दिने कर्म गर्छ्न् भन्ने बिषयमा घाटबाटै खुलदुली सुरु भयो । कारण अरुलाई आशौच बार्नुपर्दा उनी – “हाम्रो पुरातन संस्कारमा समयानुकूल परिवर्तन गर्नु पर्ने” कुराको पक्षमा वकालत गर्थे ।

घाटबाट फर्केपछि आफन्त र छरछिमेकीबिच उनले पिताको काजकिरिया पाँच दिनमा टुग्याउने कुरा सुनाए । धेरैले परम्परा नतोड्नुस् भनेर सम्झाए । एकदुई जना नजिकैका नातेदारले त त्यस्तो कर्म गरेमा हामी तिम्रो आगनमा पाइलो टेक्दैनौसमेत भने ।

शर्माले – “हेर्नुस् जन्म र मृत्यु प्रकृतिको नियम हो भने संस्कार,परम्परा मानव निर्मित हुन् । मानवले बनाएका परम्परामा मानवलेनै सुधार गर्न सक्छ ।” भने । उनको विचारको सधैं समर्थन गर्ने हुकुमबहादुरले -“हामीले बाबुबाजेले सुनाएको कुरामा पनि ख्याल राख्नु पर्छ । यो संस्कार सुरुमा १३ वर्ष, १३ महिना, ६ महिना, ४५ दिन हुँदै जुध्दशमशेरको पालाबाट १३ दिनमा झारेको भनी सुन्दै आएका हौं । त्यसैले दिन घटाएर सुधारको बाटो अपनाउन समसामयिक ठहर्छ” भने ।

शर्माको काकाले-“सुनेको थियो रे ! जस्ता कुराको पछि नलागौँ । हाम्रो खलकबाट यस्तो उट्पट्याङ कार्यको थालनी गर्ने पक्षमा म समर्थन जनाउँदिन” भने ।

शर्माले – “पण्डित माधवराज जोशी, सहीद शुक्रराज शाष्त्रीसहितको आर्य समाजले वैदिक विधि अनुसार ३ दिनमा शुद्धि गर्ने अभियान चलाएका थिए । केही वर्ष अगाडि प्रज्ञाप्रतिष्ठानको संस्कृत समितिले वैदिक विधिका आधारमा तिनदिने मृत्युसंस्कारलाई उपयुक्त हुने सुझाव दिएको थियो । त्यस्तै पण्डित रुद्रप्रसाद आचार्य र पारशमणी पोखरेलले पास्कर गृहसुत्रको आधारमा पाँचदिने अन्त्यपद्धति अनुसार पहिलो ३ दिनमा १० पिण्ड, चौथो दिनमा ११ दिनको काम र पाँचौ दिनमा १२ र १३ दिनमा गर्ने कार्य सम्पन्न गर्न सकिन्छ भन्नुभएको छ।” भने ।

काका चाहिँले – “दुईचार हावादारीका लठुवाका उदाहरण दिएर समाज भाँड्ने कुरा अगाडि सारेर आशोच छोट्याउने कुरा नगर” भनी हकारे । “सुन्नुस् काका – एकदुई बर्षभित्रको कुरा गर्छु । डाक्टर उपेन्द्र देवकोटाको ७ दिनमा आशोच कर्म गरियो । हास्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्नी यशोदा सुवेदीको पाँच दिनमा कार्य सिध्याए । यस्तो बाटो पछ्याउने धेरै छ्न् । त्यसैले कुरा काट्ने काटी रहन्छन् । उहि कुकुर भुक्दै गर्छ, हात्ती अगाडि बढ्दै जान्छ भनेझैँ । म त पाँचौं दिनमा कर्म टुङ्ग्याउँछु।

“मलाई कुकुर भनिस्” भन्दै काका रिसाएर हिँडेपछि त्यहाँ उपस्थित प्रायः बुढापाकाहरु लाखापाखा लागे । युवाहरुले – “शर्मा दाइ तपाईंले सुधारसहितको राम्रो संस्कारको कुरा उठाउनु भयो । दुईचार अक्षर पढेका हामी शिक्षित भन्नेहरूले नै हो संस्कारमा सुधार गर्दै लाने हो । हामीहरु तपाईंको साथमा छौँ” भन्दै शर्माको हौसला बढाए ।

(लेखकको कवि बन्ने धुनमा, खरानीभित्रको आगो, कुकुरको पुच्छर, हाकिमको खप्पर, फु फु फु, कण्ठलङ्गौटी, को वरिष्ठ, भोलारामको आत्मा-अनुवाद कृति आदि पुस्तक प्रकाशन छन् ।)  हेटौंडा, मकवानपुर


 

‘बोई’ र ‘मफलर’ लाई छायाँदेवी चेतनाथ गजल पुरस्कार ।

छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ ।

पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल सङ्ग्रह ‘बोई’ र २०७९ का लागि प्रदीप रोदनको गजल सङ्ग्रह ‘मफलर’ लाई प्रदान गर्न लागिएको छ । दश हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने याे पुरस्कार आउँदाे कात्तिक २५ गते शनिवार काठमाण्डाैमा एक समारोहबीच प्रदान गरिनेछ ।

साहित्यकार जेसागरले २०७४ सालमा आफ्नो गजल कृति ‘यत्ति भए पुग्छ’ विमोचन समारोहमा आफ्ना मातापिताको नाममा स्थापना गरेको पुरस्कार २०७४ सालदेखि नियमित प्रदान गरिँदै आएको थियो । विशेष कारणवश २०७८ सालमा प्रदान हुन नसकेको कारण यो वर्ष २०७८ र २०७९ को लागि एकैपटक प्रदान गर्न लागिएको हो ।

बुलबुल पब्लिकेसन्सले संयोजन गर्दै आएको याे पुरस्कार २०७४ सालमा आवाज शर्माले सम्पादन गरेको संयुक्त गजल कृति ‘इन्द्रेणी-३, २०७५ सालमा टक गुरुङको गजल सङ्ग्रह ‘अनाहत’, २०७६ सालमा प्रकृति प्रेमीको गजल सङ्ग्रह ‘समीर’ र २०७७ सालमा पुष्प अधिकारी अञ्जलीको गजल सङ्ग्रह ‘हरियो ऐना’ लाई प्रदान गरिएको थियो ।

रोजगारीको सिलसिलामा यूएईमा रहँदै आउनुभएका पुरस्कारका कोषका संरक्षक जे सागरले योग्य कृतिहरु पुरस्कृत भएको भन्दै खुशी व्यक्त गर्नुभयाे।

पद्मश्री साहित्य सम्मान ‘मनु’ र साधना सम्मान दुर्गा बराल ‘वात्स्यायन’ लाई प्रदान

कार्तिक १३ सोमबार,
काठमाडौँ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने वि.सं. २०७९ को पद्मश्री साहित्य पुरस्कार २०७९ ‘मनु’ उपन्यासका लागि आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई प्रदान गरिएको छ ।
२०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको एक पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ भने पुरस्कार राशि ३ लाख रूपैयाँ रहेको छ ।
ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास मनुका विषयमा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले लेख्नुभएको छ- मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।
‘मनु’ ले यसै वर्ष १ लाख २५ हजार राशिको ‘कविडाँडा आख्यान पुरस्कार २०७९’ ले प्राप्त गर्ने यसअघि पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।
पुरस्कार समर्पणका क्रममा शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई  शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिनुभएका शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई यस बर्षको ‘पद्मश्री गौरव सम्मान २०७९’ र चित्रकला र बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई ‘पद्मश्री साधना सम्मान २०७९’ सम्मानित गरिएको छ । दुवै पुरस्कारको राशि ३ लाख रुपैयाँ रहेको छ ।
सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिँदै आएको पुरस्कार तथा सम्मान साहित्य सर्जक तथा साहित्यप्रेमीहरुको उपस्थितिमा सोमबार होटेल अकामा धुम्बाराही, काठमाडौंमा यो पुरस्कार प्रदान गरिएको हो ।

मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ आउँदै

कार्तिक १२, सोमबार
मकवानपुर । लेखक मोहन मैनालीको इतिहासमा आधारित नविन पुस्तक ‘मुकाम रणमैदान’ बजारमा आउँदैछ ।
‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’, ‘आकाशमुखी’ जस्ता पाठकका प्रिय कृतिहरूका लेखक मोहन मैनाली एक स्थापित स्रष्टा हुनुहुन्छ । उहाँको अर्को अनुसन्धानमूलक कृति ‘मुकाम रणमैदान’ छिट्टै पाठकमाझ आउँदैछ ।
लेखक मैनालीले दसैँको खुशीका रूपमा यस पुस्तक पाठकमाझ समर्पण गर्नु भएको छ । पुस्तकका सम्बन्धमा मैनाली लेख्नुहुन्छ-
“१८७१–७२ सालको नेपाल–अंग्रेज युद्धमा खटिएका नेपाली र अंग्रेज सिपाही तथा कमान्डरले लेखेका प्रकाशित तथा अप्रकाशित, सार्वजनिक भइसकेका तथा अहिलेसम्म गोप्य राखिएका, पाएसम्मका सबै चिठी उधिन्न, ती चिठीका सजिलै चिन्न नसकिने अक्षर चिन्न, सजिलै बुझ्न नसकिने शब्द र भाषा बुझ्न र त्यो लडाइँबारे लेखिएका किताब तथा लेख पढ्नमा दुई वर्ष बिताएँ । तिनबाट पाएका जानकारीलाई लेख्न, केर्न अनि दोहोर्‍याई तेहेर्‍याई लेख्न लामो समय, धेरै धैर्य र मेहनत खर्च गरेँ । परामर्श, सम्पादन, साजसज्जा र इलेक्ट्रोनिक तथा बोल्ने संस्करण तयार गर्नमा धेरै जनाले कठोर परिश्रम गरिदिनुभयो । त्यसैको फल हो यो किताब ।
पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्मका रणमैदानमा भएका सानाठूला लडाइँ, सुगौली सन्धी, चीनसँग गुहार मगाईलगायतका विषय समेटिएको यस किताबले त्यस लडाइँको पूर्ण चित्र प्रस्तुत गरेको छ । त्रिहत्तर हजार शब्दको मूल पाठ र १३ हजार शब्दको फुटनोट भएको यो किताब २६ खण्डमा विभाजित छ ।
यस किताबका कुनै पनि वाक्य यसअघि कतै प्रकाशित भएका छैनन । त्यसैले ती ताजा र चोखा छन् ।
यस किताबका मुद्रित (बाक्लो र पातलो गाता), इलेक्ट्रोनिक र बोल्ने संस्करण चाँडै, मुद्रित संस्करण प्रेसबाट आउनासाथ पाठकसमक्ष समर्पण गरिनेछन् ।”
इतिहासको अध्ययन, अनुसन्धानमा निकै मेहनतका साथ समय बिताएपछि इतिहासमा रुचि हुने पाठकलक्षित पुस्तकाकारका रूपमा आएको ‘मुकाम रणमैदान’ लाई प्रकाशक बुक हिलले बजारमा ल्याउन लागेको हो ।

कवि अनामिकाको पाँच कविताहरू

१७ अगस्त १९६३ मा मुजफ्फरपुर बिहारमा कवि अनामिकाको जन्म भएको हो । दिल्ली विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्य एम.ए., पी.एचडी. र डी. लिट. उपाधि हासिल गरेकी उनी दिल्ली विश्वविद्यालयअन्तर्गत सत्यवती कलेजको अङ्ग्रेजी विभागमा कार्यरत छिन् । उनका पोस्ट-एलियट पोएट्री : अ वोएज फ्रॉम कॉन्फ्लिक्ट टु आइसोलेसन (आलोचना), डन क्रिटिसिज्म डाउन द एजेज (आलोचना), ट्रिटमेन्ट अफ लव एन्ड डेथ इन पोस्टवार अमेरिकन विमेन पोएट्स (आलोचना), समकालीन अङ्ग्रेजी कविता (अनुवाद), पर कौन सुनेगा (उपन्यास), मन कृष्ण : मन अर्जुन (उपन्यास), प्रतिनायक (कथा सङ्ग्रह), समय के शहर में (कविता-सङ्ग्रह) प्रकाशित छन् । समकालीन हिन्दी कविताकी एक प्रतिनिधि कवि अनामिकाका कवितामा नारी संवेदनाका विविध अभिव्यक्तिलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने कौशल पाइन्छ ।

१. जन्म लिइरहेछ एउटा नयाँ पुरुष- १
(जनम ले रहा है एक नया पुरुष- १)

सृष्टिको पहिलो बिहान थियो त्यो !
मलाई भनियो-
तँ धरतीको उज्यालो होस्
र मबाट खोसियो मेरो सूर्य !
भनियो मलाई-
तँ जुरेली होस् यस बगैँचाकी
र खोसियो मबाट मेरो आकाश
भनियो मलाई-
तँ पानी होस् सृष्टिको आँखाकी
र विवाह गरियो मेरो बालुवासित
सुकाइयो मेरो सागर !
भनियो मलाई-
तँ बिम्ब होस् सबैभन्दा सुन्दर
र फुटाइयो मेरो ऐना ।

सन्त कबीरको माटो जसरी होइन
स्थानीय कागज बनाउने सामग्री जसरी
मलाई माडीमैदान बनाइयो
कुनै प्रकार उभिएँ म
एउटा प्रतिमा बन्यो मेरो
थियो कोही जसले टिप्यो ऐनाका टुक्रा
र जडिदियो मेरो प्रतिमाका अङ्ग अङ्गमा
एउटा सिङ्गो ब्रह्माण्ड नै परावर्तित थियो
अब मेरा अङ्गप्रत्यङ्गमा
सूर्य जुन खोसिएको थियो मबाट
दौडिएर आयो फर्केर
अनि गम्लङ्ग अँगालो हाल्यो मलाई
आकाश स्वयम् एउटा चरा जसरी
उत्रेर आयो मेरा काँधमा ।

समयको समुद्र ‌ओच्छियो मेरा पैतालामा
पखालियो अब युगौँदेखको हिलो
अब व्यवस्थित थिएँ म
पूरै सृष्टि मेरो घर थियो अब
आफ्ना दश हातहरूले
एक घरेलु दुर्गा झैँ
गर्न थालेँ म घरका काम बाहिरका काम
भालामा बेरेँ कपडा मैले
र झार्न थालेँ धुलो
नियमका, वचनका, रीतिथितिका, मिथकहरूका
इतिहासको टेबुल पनि पुछेँ !
काटिदिएँ मैले महिषासुरका नङ
नुहाइदिएँ उसलाई र पठाइदिएँ अफिस
एउटा नयाँ सृष्टि अब
जुर्मुराइरहेथ्यो मभित्र !

२. जन्म लिइरहेछ एउटा नयाँ पुरुष- २
(जनम ले रहा है एक नया पुरुष-२)

महाकाल सृष्टिको नवौँ महिना हो, छत्तिसौँ महिनाके
केही हलचल छ मभित्र
षड्यन्त्र हैन, हैन तन्त्रमन्त्र
तर निरन्तर छ हलचल !
बढिरहेछ भित्रभित्रै
जसरी बढ्छ नदी मुहानहरू पार गर्दै
घर होइन, न पर्खाल, छानो होइन
तर भत्किरहेछ केही मभित्र-
जसरी नयाँ इटाको आगमनसँगै
मानौँ खुसीले
गदगद हुन्छ भग्नावशेष
हेर यहाँ… ठिक यहाँ
नाभिको मध्य भागमा
उठिरहेको र बज्रिरहेको हतौडामुनि
निरन्तर केही भत्किरहे झैँ लाग्छ
फलामको एउटा पिण्ड जस्तो
केही ठोस र केही तरल
केही अर्वाचीन र केही नितान्त प्राचीन
हुर्किरहेछ मभित्र
केही सलबलाइरहेछ मभित्र
दुई दुई ओटा मुटु धड्किरहेछन् मभित्र
चार चार आँखाले
म जुधाइरहेछु आँखा
महाकालसित !
थर्किरहेछन् मेरा आवेगले सबै पर्वतहरू
धकेलिदिएकी छु तिनलाई आफ्ना गोडाले-
एकातिर मैले !
मेरो उछ्‌वासहरूले थर्थर कापेका छन् जङ्गल !
इन्द्रधनुषका सात रङहरूले
सजिएको छ यो ओछ्‌यान
जन्म लिइरहेछ एउटा नयाँ पुरुष
मेरा पातालहरूबाट…
नयाँ पुरुष- जो हुने छैन अतिपुरुष
क्रोध र कामनाका डरलाग्दो रोगबाट पीडित
स्वस्थ हुन् छन् उसका धमनिहरू
दृष्टि सम्यक हुने छ
अनावश्यक पुरुषभाषा बोल्ने छैन ऊ-
स्नेह-सम्मानले अनुरक्त चुम्बन गर्ने भाषा
बन्दुक-बम-थप्पड-धम्की-लट्ठीको भाषा
मेरा यी उन्नत पहाडहरूबाट
उदाउने छ जब दुधिलो प्रकाश
पिउने छ ऊ !
यो संसारको अँध्यारो
गाजल बनेर सजिने छ उसका आँखामा
हल्लिने छ सारा सृष्टि अब कोक्रो जसरी
र बिस्तारै बिस्तारै उभिने छ नयाँ पुरुष…
प्रज्ञाले शासित सम्बुद्ध अनुकूल,
प्रज्ञाप्रिय स्वामी,
तर यस पटक ऊ आउने छैन-
निदाइरहेकी प्रज्ञालाई वनमा छाडेर ।

३. जन्म लिइरहेछ एउटा नयाँ पुरुष- ३
(जनम ले रहा है एक नया पुरुष- ३)

मृत्युलाई के !
त्यो त गाउँकी केटी हो !
न अगाडि गोठालो न पछाडि पासो
काली माता जसरी खोलेर कपाल
घुम्छे ऊ यताउता
निस्फिक्री ।
एउटा ठुलो कुचो लिएर
हिँड्छे ऊ
र बढार्छे निहुरेर
कुशलतापूर्वक पूरै सडक
आकाश एउटा ठुलो बोरा हो
जसलाई बोकेकी छ उसले पिठ्युँमा
बढार्दाबढार्दै
थुचुक्क बस्छे ऊ-
कुनै पनि बेला कहीँ पनि
र हेर्दाहेर्दै
घेर्छन् उसलाई
यताउति खेलिरहेका
कुकुरका छाउरा र चल्लाहरूले
बुढीआमाहरू निकै माया गर्छन् उसलाई
भाँचिएका खाटमा
कुप्रिएको शरीर
र क्षतविक्षत मन लिएर
ओछ्‌यान परेका बुढीआमाहरू
बाँकी रहेको सासको पोको
र टुटेफुटेको एउटा मोबाइल
राखेर सिरानेमुनि
गर्छन् उसको प्रतीक्षा
ऊ आओस् खित्खिताउँदै
कतैबाट
लगाइदिओस् तेल जिउमा
लैजाओस् कतै !
उसका लागि छाडिदिन्छन् तिनीहरू
पिठोको एउटा डल्लो
निकै खरिने गरी सेक्छे ऊ
जीवनको रोटी !
बिस्तारै बिस्तारै चुँड्छे ऊ-
श्वासप्रश्वासको भुङ्ग्रोअगाडि
छरिएका
रोटीका टुक्राका गाँस
निधारमा उसका
पसिनाका थोपा त छन् अवश्य
गोलाकार
तर ऊ झर्न दिन्नँ तिनलाई तल
पुछिदिन्छे कुर्ताको छेउले
झन्डै पच्चिस पटक
हामीलाई बचाउने प्रयास गर्छे ऊ
हामी खस्नुभन्दा अगाडि नै !
निकै फुर्तीका साथ घुम्छे
यो सम्पूर्ण सृष्टिभरि
तपाईँकै छाया हो नि ऊ
बाँध्न सक्नुहुन्न तपाईँ उसलाई
हो, तर्न सक्नुहुन्छ तपाईँ सात समुद्र
तर नाघ्न सक्नुहुन्न आफ्नै छायालाई !
किन डराउनु !
त्यही त हो,
उ… त्यो-
मृत्यु नै त हो नि,
मृत्यु अर्थात् गाउँकी केटी !

४. ढोका
(दरवाजा)

म ढोका थिएँ एउटा
जति ढक्ढक्याइयो मलाई
उति खुल्दै गएँ म ।

भित्र आए आउनेहरू र देखे-
चलिरहेछ एउटा बृहत् चक्र-
चक्र रोकिनासाथ चल्छ चर्खा
चर्खा रोकिनासाथ चल्छन् कैँची-सियो
भनौँ न- चली नै रहन्छ
अनवरत केही न केही !

… र अन्त्यमा सबैमा चल्छ कुचो
बढार्दै ताराहरू
बढार्दै पहाड, रुख, ढुङ्गा-
सृष्टिका सबै टुटेफुटेका-छरिएका कसिङ्गर
एउटा डालोमा जम्मा गर्छे ऊ
मनको छानामुनि बनेको कोठामा ।

५. नाता
(रिश्ता)

केही थाहा थिएन उसलाई !
ऊसँग मेरो नाता मात्र यत्ति थियो-
हामी ग्राहक थियौ एउटै पसलेका
नयाँ छिमेकमा !
मभन्दा पहिल्यै बसेकी थिई ऊ त्यहाँ
चकलेटको भाँडासँग टाँसिएर
स्टुलको राजसिंहासनमा !
मभन्दा पनि धेरै
थाकेकी देखिन्थी ऊ
र पनि हाँसी ऊ !
न कुनै तर्क थियो त्यो हाँसोको
न कुनै व्याकरण
न सूत्र
न त अभिप्राय नै !
त्यो हाँसो थियो- ब्रह्मको ।
फेरि हात अघि सारेर उसले
मरो ओढ्नको फेर हातमा लिई
र तानेर मिलाई त्यसको धागो
जुन अड्किएर बसको कुनै काँटीमा
खुम्चिएको थियो आँखीभौँ जसरी ।
क्षणभरका लागि यस्तो लाग्यो-
उसका निहुरिएका काँधहरूसित
मेरो फुट्ला झैँ भएको टाउकोको
निकै पुरानो नाता छ- दिदीबहिनीको ।

अनुवाद: निमेष निखिल

  कथा : कोल्यूशा / म्याक्सिम गोर्की  

उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन बसिरहिन्। आफूमाथिको यो बेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिबाय उनमा कुनै हलचल पैदा भएन । मेरो सान्निध्यताले उनमा जुन उत्सुकता अनि भावावेगको अपेक्षा गर्दथ्यो, त्यसलाई अलिक पनि नदेखाई उनी भुँइतिर आँखा तेर्स्याई निहुरिइरहिन्।

मैले उनलाई अभिवादन गरें र सोधें, “वहिनी, यो समाधि कसको हो ?”

“मेरो छोरो को ।” उनले अलिक रुखो शैलीमा जवाफ दिइन् ।

“के ऊ उमेरदार जवान थियो  ?”

“होइन, वाह्र वर्षको थियो ।”

लामो निश्वास छाड्दै उनले आफ्नो कपाललाई निधारवाट हटाइन् । प्रचण्ड धूप वर्षिरहेकोले दिन अत्यन्त गर्मी थियो । मूर्दाहरुको त्यस नगरीका लासघरहरुमा पलाएका धेरथोर घाँसहरु पनि चर्को घाम र धूलोका कारण ओइलाएका देखिन्थे । समाधि स्थानको वरिपरि उभिएका धुलाम्य रुखहरु हलचलविहीन चुपचाप उभिएका थिए, मानौं उनीहरुलाई पनि मृत्युले आफ्नो शिकार बनाइसकेको होस् ।

केटाको समाधितर्फ टाउकोले इशारा गर्दै मैले सोधें, “उसको देहान्त भयो कसरी ?”

“घोडाका टापहरुले कुचल्नाले ।” शव्दहरु गन्दै र छान्दै उनले जवाफ फर्काइन् र लगत्तै समाधिलाई स्पर्श गर्न आफ्ना खस्रा हत्केलाहरु बढाइन् ।

“कसरी त्यस्तो हुनपुग्यो?” मलाई थाहा थियो मैले अभद्रता देखाइरहेंको थिएँ । तर उनको मौनता, एकाग्रता र बेवास्ताले मलाई उत्तेजित पारिरहेका थिए । मभित्र उनको आँखामा आँशु देख्न मिलोस् भन्ने सनक चढेको थियो । निश्चय पनि उनको उदासिनता अस्वभाविक थियो तर मलाई लागिरह्यो, उनी त्यसप्रति बिल्कुल अनभिज्ञ छिन् ।

मेरो सोधाइको कारण उनले आफ्ना आँखाहरु उठाइ एकसरो मलाई माथिदेखि तलसम्म हेरिन्, एकपटक लामो श्वास फेरिन र सानो स्वरमा आफ्नो कथा बताउन थालिन् ।

“घट्ना यसरी घट्यो । यसको बाबु आर्थिक हिनामिनाको कारण डेढ वर्षका लागि जेल चलान भएको थियो । यसविचमा हाम्रो सम्पूर्ण वचत पुँजी खर्च भैसकेकाले दैनिक गुजारा चलाउन सास्ती भइरहेको थियो । त्यो मान्छे जेल बसुञ्जेल हामी घाँस बालेर खाना पकाउँथ्यौं किनकि त्यहाँ पठाइनु अगाडि उसले एक गाडी घाँस ल्याएर छोडेको थियो, जसलाई मैले सुकाएकी थिएँ । घाँस बाल्दा एकदमै नमीठो धूँवा त निस्कन्थ्यो नै, त्यसले खानाको स्वाद समेत बिगारिदिन्थ्यो । यो मेरो छोरो, जसको नाम कोल्यूशा हो, ती दिनहरुमा पाठशाला जाने गर्थ्यो । पढाइमा ऊ निकै तेज थियो अनि मितव्ययी पनि । पाठशालावाट फर्कंदा उसले वरपर भेटिएका हाँगाविगा र दाउराहरु वटुली ल्याउँथ्यो । ठण्डीयाम पछि वसन्तमास हिउँ पग्लन सुरु गरिसक्दा समेत उसँग एकजोर पुरानो कमसल जुत्ता मात्रै थियो जसलाई उतार्दा चिसोका कारण उसको खुट्टा कठ्याङ्ग्रिएको र रातो भएको देख्न सकिन्थ्यो ।”

“हामी यति साह्रो विपन्न भएका थियौं कि उसको लागि एकजोर जुत्ता किन्न समेत नसक्ने हालतमा थियौं तर यस्तैमा एकदिन ती मानिसहरुले यसको बाबुलाई जेलबाट छोड्दै घरमा ल्याएर राखिदिए । जेलमा उसलाई मुटुको रोगले समाएको थियो । ऊ ओछ्यानमा पल्टियो र मलाई हेरिरह्यो । उसको अनुहारमा कुटील मुस्कुराहट थियो । मैले पनि उसलाई हेरें र मनमनै सोचें – तैंले नै मेरो यो हालत बनाइस् । अब मैले तेरो पेट कसरी भर्ने ? तलाईं फोहोर मिल्काइने ठाउँमा लगि मिल्क्याइदिउँ ! हो, म यही गर्न चाहन्छु ।”

“तर कोल्यूशाले उसलाई देख्दा भने प्रताडीत भावमा आँखाभरी आँशु पार्दै मलाई सोध्यो–आमा, उहाँको हालत किन यस्तो भएको ?”

“मैले भने–उहाँले आफ्नो जीवन बाँचिसक्नु भएको छ ।”

“त्यस दिनपश्चात हाम्रो हालत झनै बिग्रदै गयो । म दिनरात मिहिनेत गर्थें तर आफ्ना रगत सुकाउँदा पनि वीस कोपेकभन्दा ज्यादा जुट्दैनथ्यो । अभ, भनौँ, त्यत्ति पनि भाग्यमानी दिनहरुमा कमाउन सक्थें । यो हालत मृत्युभन्दा पनि खराब थियो र म प्रायः आफ्नो जीवन खत्तम गरिदिन चाहिरहन्थें ।”

“यो सवै देख्दा कोल्यूशा चिन्तित भई यतउता हिँड्दथ्यो । एकदिन जब मलाई लाग्यो कि यी सबै कुरा मेरो सहन शक्ति भन्दा बाहिरका हुन्, मैले भनें, ‘आगो लागोस् यो मेरो जिन्दगीमा । म किन मर्दिनँ ?  या फेरि तिमीहरु मध्ये कसैको ज्यान किन जाँदैन ? ‘ निशन्देह मेरो इशारा कोल्यूशा र उसको रोगी बाबुप्रति लक्षित थियो ।”

“उसको बाबुले टाउको हल्लाउँदै केवल यत्ति भन्यो कि ऊ छिट्टै मर्नेछ । मात्रै केही दिनको धैर्यता आवश्यक हुनसक्छ । तर कोल्यूशाले भने लामो समयसम्म मेरो मुहारमा हेरिरह्यो र केहि क्षण पश्चात ऊ घरवाट बाहिर निस्कियो । ऊ बाहिर जानासाथ मलाई आफ्ना शव्दहरुप्रति ग्लानि हुन थालिसकेको थियो तर अब केहि सुध्रनेवाला भने थिएन, किनकि धनुवाट काँड छुटिसकेको थियो ।”

“त्यसको एक घण्टा पनि नबित्दै एक घोडसवार सिपाही आएर सोध्यो, ‘के तपाईं गौसपोजा शिशीनिना हो ? ‘  यो सुन्दा मेरो हृदय काम्यो । उसले अगाडि भन्यो – तिमीलाई अस्पतालमा बोलाइएको छ । व्यापारी एखोनिनको घोडाले तिम्रो छोरोलाई कुल्चेर घाइते वनायो ।”

“तुरुन्तै म गाडीमा चढी अस्पतालतर्फ हानिएँ । मलाई लागिरह्यो गाडीको सिटमा कसैले बलिरहेका राताराता कोइलाहरु बिछ्याएको छ । म आफैँलाई सराप्दै थिएँ–हे पापिनी, तैँले यो के गरिस् यस्तो !”

“अस्पतालमा कोल्यूशालाई बिछ्यौनामा राखिएको थियो र उसका शरीरभरी पट्टी बाँधिएका थिए । ऊ मलाई हेर्दै मुस्कुरायो तर उसका आँखाबाट आँशु वग्न थाले ।’ अति सानो आवाज निकाल्दै उसले भन्यो–आमा, मलाई माफ गर्नुस् । प्रहरीका मानिसहरुले मेरो पैसा लिएका छन् ।”

“तिमी कुन पैसाको कुरा गरिरहेछौ, कोल्यूशा ? – मैले सोधें ।”

“त्यो .., त्यो पैसा…, अरे जुन एखोनिन् र अरु मानिसहरुले मलाई दिएका थिए ।”

“उनीहरुले तिमीलाई पैसा किन दिए ? – मेरो प्रश्न । ”

“उसले भन्यो – यसकारण कि…”

“उसले विस्तारै कोल्टे फे¥यो । उसका आँखा ठूला हुँदै गईरहेको मैले देखें ।”

“कोल्यूशा”, मैले भनें, “यस्तो कसरी भयो कि घोडाहरू आईरहेको तिमीले देखेनौँ ?”

“उसले प्रष्टसँग भन्यो, – आमा, मैले घोडाहरू आइरहेको प्रष्टसँग देखेको थिएँ । तर मलाई लाग्यो, यदि घोडाहरूले मलाई कुल्चँदै दौडिए भने मैले अझै धेरै पैसा पाउनेछु । आखिर उनीहरुले दिए पनि ।”

“यी उसका शव्दहरू थिए । अब भने मैले सवै कुरा बुझीसकेकी थिएँ, सबै कुरा, त्यस भावुक दयालु केटोले यी सबै किन ग¥यो । उफ्, अब केहि पनि बद्लिनेवाला थिएन् ।”

“भोलिपल्ट विहानै ऊ मर्यो । अन्तिम श्वास लिँदासम्म पनि ऊ चेतनामै थियो र उसले पटक पटक भनिरह्यो, बुबाको लागि यो किनिदिनु, अनि आफ्नो लागि त्यो…, मानौं उसँग धेरै पैसा होउन् । र उसँग थिए पनि । यथार्थमा उसले आफ्नो जिवनसँग खेलेर सड्चालिस रुबल कमाएको थियो ।”

“म एखोनिनकोमा गएँ तर उसले केवल पाँच रुबल दिंदै चर्को स्वरमा गाली गर्दै भन्यो, ‘केटोले आफैलाई घोडाहरु बीच हुर्यायो जुन धेरै मानिसहरुले देखेका छन् । त्यसको बदलामा के तँ मसँग भीख माग्न आएकी  ? ‘ म त्यहींबाट फर्कें तर कहिल्यै घर गइनँ । भाइ, यही हो मेरो कथा ।”

समाधिस्थलभर नमीठो सन्नाटा अनि मौनता छाएको थियो । कोल्यूशाको समाधि परिपरिका रोगी घाँस र रुखहरु, माटोका ढिस्का अनि समाधि छेउ बसिरहेकी चरम दुःखी नारी–यो परिवेशमा म मृत्यु र मानवीय दुःखबारे सोच्न थालें ।

तर आकाश सफा थियो र धर्तीउपर निरन्तर ताप र गर्मीको वर्षा गरिरहेको थियो ।

मैले आफ्नो खल्तीवाट केहि सिक्काहरु निकाल्दै उनीतर्फ बढाएँ, जो जिन्दगीले ठग्दा पनि जिवनसँग सिंघौरी गरिरहेकी थिइन् ।

उनले टाउको हल्लाउँदै रोकिइ रोकिइकन भनिन्, “भाइ, किन बेकार आफूलाई हैरानी दिलाउनुहुन्छ ? आजको लागि मेरो लागि जिउन मसँग पर्याप्त छ अनि मलाई अधिक पैसाको कुनै जरुरी हुँदैन । म यो संसारमा एक्ली छु, नितान्त एक्ली ।”

उनले एकपटक फेरि लामो श्वास लिइन अनि मुहारभर फिँजिएको बेदनाका रेखाहरू   बीच आफ्ना पातला ओठहरु बन्द गरिन् ।

अनुवादक : देव ‘अञ्जान’ शाह

बालकथा : ल्यापटपले ल्याएको खुसी

“बाबा । लीनालाई उसको बुवाले ल्यापटप किनेर ल्याइदिनुभएको छ । मलाई पनि किनिदिनुस् न प्लिज’ मीराले अनुरोध गर्दै भनी ।

किन चाहियो ल्यापटप ? त्यसले पढाइ मात्र बिगार्छ ।” “किनी दिनुस् न बाबा सरले इन्टरनेट हेरेर प्रोजेक्ट वर्क गर्न भन्नुभएको छ । अनि

मैले होमवर्क कसरी गर्ने त ?”

“त्यसो भए एक दिन म आफै स्कुल गएर बुझौला भनेर बाबा तरकारी किन्न बजारतिर लागे । मीरा रुन्चे अनुहार लिएर भान्छातिर गई र भनी- “हेर्नुस् न मामु । बाबालाई मैले ल्यापटप किनिदिनुस् भनेको त्यसले त बिगार्छ पो भन्नुभयो । मैले होमवर्क नै इन्टरनेट हेरेर गर्नुपर्छ भनेपछि स्कुल गएर बुझौला भनेर फेरि कतातिर लाग्नुभयो कुन्नी ? तपाईंले भनीदिनुस् न छोरीलाई ल्यापटप किनिदिनुस् भनेर म पढाइ बिगार्दिन क्या, भन् मिहिनेत गरेर पढ्छु ।” मीराले भनी ।

ल ल बाबा आएपछि भनिदिउँला तिमी अरु विषयको होमवर्क गर्दै गर । आमाबाट आश्वासन पाएपछि मीरा खुसी हुँदै कापीका पाना पल्टाउन थाली । एकछिन पछि बाबा पनि आइपुगे । उनी सरासर भान्छातिर गएर कुर्चीमा थ्याच्च बसी खुइय लामो सास तान्दै भने- “अहो । तरकारीको भाउ पनि के विघ्न बढेको ? एक मुठा सागको चालिस रुपैयाँ पन्यो लौ यसैमा भेलसोल हालेर पकाऊ । उनले श्रीमतीको हातमा सागको मुठो थमाइदिए ।

मीराकी आमाले छोरीले ल्यापटप किनिदिनु भनेको कुरा दोहयाएर सुनाइन् । पत्नीका कुरा सुनेर रमेशले ‘हुँदैन अचेल केटाकेटीहरू पढनै छोडेर साइवरमा झुम्मिएको देखिन्छ । घरमै ल्यापटप, कम्प्युटर भयो भने त झन् खाने बिर्सन्छन् होला । हाम्री छोरी एक क्लासदेखि पहिला हुँदै छ क्लासमा आएकी छ। त्यसकारण स्कुलमा फी पनि तिर्न परेको छैन। ल्यापटप किनिदिएपछि पढाइ कमजोर भएर फेल भई भने उता स्कुल फी खर्च यता ल्यापटप किन्दाको खर्च दोहोरो नोक्सान मात्रै हुन्छ।” यति भनेर उनी फतफताउँदै घरबाट बाहिर निस्के । त्यसको भोलिपल्टै उनी अफिसको कामले छ महिनाका लागि बाहिर जिल्लातिर गए ।

मौरालाई पर्नु पीर पन्यो। उसले मनमनै भनी ‘अब होमवर्क त जसरी नि गर्ने पन्यो कसको मद्दत लिने होला ?

त्यही बेला मौरालाई भट्ट लिनाको याद आयो । ऊ ढौदेर उसको घरमा पुगी । तर, ल्यापटपमा लिना आफै व्यस्त थिई । मीरा धेरै बेर बसेर पनि त्यसै फर्केर आई । अर्को दिन विक्रमको परमा गएर भनी- ‘हेर न ल्यापटप नभएर मैले होमवर्क गर्न पाएकी छैन । तिम्रो ल्यापटपमा… ।’

मीराले वाक्य पूरा गर्न नपाउँदै विक्रमले भन्यो- ‘इन्टरनेटको समस्याले गर्दा मैले पनि होमवर्क गर्न पाएको छैन । बुवा पनि पर हुनुहुन्न। उहाँ नआएसम्म समस्या समाधान होलाजस्तो छैन ।”

मीरा खिन्न भएर पर फर्की । भोलिपल्ट फेरि ऊ सरुको घरमा गई । सरुले मीराको भावना बुझेकी थिई तर भाइबहिनीहरू ल्यापटपमा झुम्मिरहेका हुनाले मीरालाई सरुले एकछिन बस है भनेर पर्खाई । परिदापखँदा त्यही रात पर्न आँट्यो तर मीराले पालो पाइन । त्यसपछि ऊ साह्रै दिक्क भएर खालीहात पर फर्की अनि आमालाई गुनासो गरी सबैले इन्टरनेट हेरेर होमवर्क गर्छन् । मैले होमवर्क बुझाउन नपाएर सधैं सरमिसको गाली खानुपर्छ । जाँच पनि कसरी दिनु ? यसपालि नम्बर पनि पढ्ने भयो।”

“यसो साथीहरूको मा गएर होमवर्क गरे हुन्न ?” आमाले भनिन् ।

“जान त गएँ नि उनीहरू नै व्यस्त हुन्छन् । कुरेर बस्यो पालै पाइँदैन। समय मात्र बरबाद हुन्छ ।” मीराले भनी । दिन बित्दै जाँदा स्कुलमा वार्षिक परीक्षा सुरु भयो। दुई हप्तापछि रिजल्ट पनि आयो। मीराले स्कुलबाट रिजल्ट कार्ड बोकेर घर आउँदा उसका बाबा पनि आइपुगेका रहेछन् । उसले केही नबोली झोलाबाट रिजल्ट कार्ड झिकेर बाबालाई दिई । बबाले सरर नम्बर हेर्दै गए त्यसपछि जगिंदै भने कसको रिजल्ट कार्ड हो यो ?” ।

” मेरै हो।” मीराले भनी ।

छोरीको जबाफ सुनेर बाबाले यो हुनै सक्तैन म भोलि नै गएर प्रिन्सिपललाई भेट्छु भनेर फ्यात्त भुइँमा कार्ड फ्याँके ।

भोलिपल्ट स्कुलको अफिसमा सरासर गएर प्रिन्सिपललाई भने ‘क्या हो सर । मेरी छोरीभन्दा कमजोर थिई लिना ऊ चाहिँ पहिला हुने ? मेरी छोरी पासमात्र यो त भएन नि।”

प्रिन्सीपलले उनलाई सम्झाउँदै भने- “हेर्नुस् रमेशजी तपाईं आफै पढेलेखेको हाम्रो मातृभूमि

सरकारी जागिरे व्यक्ति हुनुहुन्छ। टेलिफोन, मोबाइल, कप्युटरको महत्व बारेमा बुझाई रहनु नपर्ला । अहिले त झन् बोकेर जता लान पनि मिल्ने हलुका भएकोले कम्प्युटर भन्दा ल्यापटपको लोकप्रियता बढ्दो छ। हाम्रो स्कुलमा छ क्लासदेखि नै प्रोजेक्ट वर्क गराइन्छ । तपाईंलाई मीराले भनिनन् र ?” कम्प्युटरमा

“भन्न त भनेकी थिई, मैले उसको कुरामा विश्वासै गरिनँ। ” रमेशले जबाफ दिए। प्रिन्सिपलले फेरि भने- “अहिलेको जमानामा केटाकेटीहरूलाई किताबी ज्ञानले मात्र पुग्दैन । समयअनुसार उनीहरुलाई नयाँनयाँ प्रविधि पनि सिकाउनु पर्दछ । हामी यो स्कुललाई आगामी सेसनदेखि स्मार्ट स्कुल बनाउन लागिरहेका छौं । त्यसपछि हरेक शिक्षकका हातमा एक एक वटा ल्यापटप हुनेछ। विद्यार्थीहरू कितापको सट्टा ई-बोर्ड, ई-लाईब्रेरीमा पढ्नेछन् ।”

“त्यसो गर्दा विद्यार्थीहरूले गेम खेलेर पढाइ बिगार्दैनन् सर ?” रमेशले प्रश्न गरे । “बिगार्दैनन्, खेल्दै, मनोरञ्जन गर्दै, रमाउँदै सिक्ने प्रविधि हो यो। यसले दिमागलाई सिर्जनशील बनाउँछ। अचेल छोराछोरीहरुलाई यस्ता प्रविधिबाट टाढा राख्ने हो भने उनीहरू पछि पर्ने निश्चित छ। मीरालाई पनि त्यही भएको हो। “

लिनाले बेलैमा ल्यापटप पाई त्यसकारण अहिले ऊ इन्टरनेट चलाउन सिपालु भइसकी । पढाइमा पनि क्रमशः सुधार गर्दै लगेर यसपालि क्लासमा सबैलाई उछिनेर पहिला भई । यो उसको लागि ल्यापटपले दिएको खुसी हो । प्रिन्सिपलको कुरा सुनेर रमेशलाई पछुतो लाग्यो । उनी त्यहाँबाट सरासर बजारमा गएर एउटा ल्यापटप किनेर घर लगे अनि छोरीको हातमा थमाइदिए । ल्यापटप पाएर मीराको मन खुसीले बुर्लुक्कै उफ्रियो ।

पौराणिक कथा : कर्मफल / कमल रिजाल

नेपालीमा एउटा उखान छ– ‘जसले अङ्गार खान्छ उसैले कालो दिसा गर्छ ।’ यसलाई भाइ, बहिनीहरूले पनि सुनेको हुनुपर्छ । नसुनेका भए पनि मम्मी, बाबा, दाजु, दिदी तथा काका, काकीलाई सोधेर जान्न सक्छौ । यसको अर्थ हो जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँछ । यहाँ यस्तै एउटा कथा प्रस्तुत गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ प्रष्ट हुन सक्छौ ।

परापूर्वकालमा भारत वर्षमा यमदग्नि नामका ऋषि थिए । उनको प्रशंसा वेददेखि पुराणसम्मका सबै ग्रन्थले गरेका छन् । यस अर्थमा उनी वैदिक ऋषि पनि हुन् र पौराणिक ऋषि पनि हुन् । उनी सप्त ऋषिमा पनि पर्छन् । हालको कल्पलाई श्वेतवाराह कल्प भनिन्छ । यस कल्पको सप्त ऋषिमा उनको नाम पनि आएको छ ।

त्यस जमानामा उनले ठूलो गुरुकुल आश्रम चलाएका थिए । उनको आश्रममा १० हजारभन्दा बढी विद्यार्थीहरूलाई एकैसाथ खाने र बस्नेसहित अध्ययनको सुविधा प्राप्त थियो रे । यसको कारण थियो उनका साथमा एउटी निकै दुधालु गाई हुनु । यिनै गाईका दूधबाट उनको आश्रम चलेको थियो, चलाएका थिए ।

त्यतिबेला त्यस देशमा सहस्रार्जुन नामका राजा थिए । एक दिन उनी शिकार खेल्दै उनै यमदग्नि ऋषिको आश्रममा पुगे । आश्रममा पुग्नासाथ ऋषिले चतुरङ्गिणी सेना सहित राजाको भव्य स्वागत गरे । उनको आतिथ्य देखेर राजालाई आश्चर्य लाग्यो र विनम्रतापूर्व सोधे–

‘ऋषिवर १ हामी आएको धेरै भएको छैन । यति चाँडै त्यो पनि यति ठूलो आतिथ्य कसरी सम्भव भयो । वनवासी ऋषि हुनुहुन्छ, आश्रममा त्यति धेरै सम्पत्ति पनि देख्दिन । तैपनि यति ठूलो आतिथ्य देखेर छक्क परेँ । भन्नुस् यस्तो चमत्कार कसरी सम्भव भयो रु भिक्षाटनबाट मात्रै त पक्कै यस्तो भएको होइन होला ।’

राजाको कुरा सुनेर ऋषिले मुस्कुराउँदै भने–

‘ठीकै भन्नुभो महाराज ! आश्रम भिक्षाटनबाट चलेको छैन, चन्न पनि सक्दैन तर यहाँहरूका सद्भाव र भगवान्का कृपाले मलाई एउटी दुधालु गाई प्राप्त भएकी छन् । उनकै दूधबाट आश्रम चल्दै आएको छ । अहिलेको आतिथ्य पनि यसैबाट सम्भव भएको हो ।’

ऋषिको कुरा सुनेर राजा लोभिए । उनलाई लाग्यो यस्ती गाई त राजाको दरवारमा पो हुनुपर्छ । यी वनवासी जोगीलाई के काम रु यस्तैयस्तै सोच्दै उनले भने–

‘ऋषिवर ! यी गाई राजाको दरवारमा हुनुपर्छ जस्तो लाग्यो । आश्रम त जसरी तसरी चल्द नै तर दरवार चल्दैन । त्यसैले यी गाई मलाई दिनुस् । बरू सट्टामा हजारौँ अन्य गाई दिनेछु ।’

राजाको कुरा ऋषिलाई मन परेन । उनको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै भने–

‘राजन् ! के कुरा गर्नुभएको यस्तो रु यी गाई त आश्रमका सम्पत्ति हुन् । यिनलाई दिएर कसरी आश्रम चलाउँला । माफी चाहन्छु मबाट यस्तो काम हुन सक्दैन ।’

ऋषिको कुरा सुनेर राजा रिसाए । उनी सेनालाई गाईलाई नियन्त्रणमा लिएर आउने आदेश दिँदै दरबारतिर लागे । विचरा सेनाहरूले के गरुन् राजाज्ञाको कुरा थियो । त्यसैले राज्य शक्ति लगाई गाई अपहरण गरेर लगे ।

यो कुरा तत्कालै उनका कान्छा छोरा प्रशुरामले थाहा पाए, जो भगवान्को छैटौँ अवतार भनेर चिनिन्थे । उनले त्यस कुकृत्यलाई सहजरूपमा लिन सकेनन् र तत्कालै सहस्रार्जुनको राजधानी माहिस्मति पुरमा पुगेर सिंहनाद गरे । यद्यपि सहस्रार्जुनले उनलाई रोक्ने प्रयास नगरेका होइनन् तर जति नै प्रयास गर्दा पनि केही लागेन । उनले क्षणभरमै सेनासहित सहस्रार्जुनलाई त्यहीँ सिध्याएर गाई फिर्ता गराए । राजाका छोराहरू र बचेका सेनाहरूले भने भागेर प्राण बचाए ।

पछि तिनै भागेका सहस्रारर्जुनका छोराहरूले प्रतिशोध लिने उद्देश्यले प्रशुराम नभएको मौका पारी आश्रममा आक्रमण गरेर ऋषि यमदग्निको हत्या गराए । बाबुको हत्या भएको खबर पाउनासाथ उनी आश्रममा आए । त्यतिबेला आमा रेणुका छाती पिटेर रोइरहेकी थिइन् । आमाको बेदना उनले सहन सकेनन् र तत्कालै दुष्ट राजाहरूलाई निर्मूल पार्छु भन्ने कसम खाई बञ्चरो लिएर निस्के ।

त्यसपछि उनले २१ पटकसम्म पृथिवी घुमेर दुष्ट राजाहरूको दमन गर्ने काम गरे । फलतः पृथिवीका प्रायः सबै दुष्ट शासकहरू समाप्त भए । बचेखुचेकाले पनि भागेर प्राण बचाए  । यसरी दुष्ट राजालाई दमन गरी आश्रममा आएर योगशक्तिले बाबुको प्राण बचाए । दुष्ट राजाहरूबाट छिनिएको राज्य गुरु कश्यपको नाममा दान दिएर पृथिवी भ्रमण गर्न थाले र रामावतार नहुञ्जेल यसै गरी पृथिवी भ्रमण गरिरहे । रामावतार भएपछि भने आफ्नो शक्ति राममा समर्पित गरी महेन्द्र पर्वतको गुफामा बसेर तपस्या गर्न लागे ।

भनिन्छ, अहिलेसम्म पनि उनी सोही गुफामा बसेर तपस्या गरिरहेका छन् । किनकि उनी चिरञ्जीवी थिए । असल काम गरेवापत उनलाई बाबु यमदग्निबाट चिरञ्जीवी हुने आशीर्वाद प्राप्त थियो ।

भागवतमा व्यासजीले भनेका यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँछ भन्ने कुरा भने सत्य हो ।

सहस्रार्जुन आफैँ राजा थिए । राज्यकोषबाट सुविधा भोग गर्थे । राजा भएर दुनियाँको रक्षा गर्नुपर्नेमा उल्टै रक्षक नै भक्षक बनेर उनले जुन कुकृ्त्य गरे चाँडै नै त्यसैको फल पाए । उनका छोराहरूलाई पनि त्यस्तै भयो । प्रतिशोध लिने उदेश्यले उनीहरूले निर्दोष ऋषिको जीवन लिने जुन कुकृत्य गरे फलतः आफ्नै जीवनलाई सुरक्षित राख्न सकेनन् । उता प्रशुरामले भने अन्याय र अत्याचारको सामना गरेकाले अहिलेसम्म पनि चिरञ्जीवी बनेर दुनियाँको मन र मस्तिष्कमा जीवित रहने अवसर पाए ।

विरुपाक्ष कथालाई पाठकको आँखाबाट हेर्दा

बाह्रखरी उत्कृष्ट कथा २०७९ भित्र एउटा कथा छ- ‘विरुपाक्ष’ । जुन कथा जनक कार्कीले लेख्नु भएको हो । यस कथामा विशेषगरी बलात्कार र त्यसबाट सिर्जित आत्महत्यालाई मुख्य विषय बनाइएको छ । बलात्कार भन्नेबित्तिकै कुनै नारीको इच्छा विपरित जबर्जस्ति गर्नु हो । जहाँ इच्छा विपरित र जबर्जस्ति हुन्छ, त्यहाँ एउटा पक्ष आफ्नो स्वार्थ सिद्ध हुँदा खुशी त होला । तर अर्को पक्ष भने पीडाले जलिरहेको हुन्छ । दु:खले दुखिरहेको हुन्छ। आर्तनादले छट्पटिरहेको हुन्छ ।

यस कथामा श्रीमानद्वारा बलात्कृत नारीको कथा छ । आठ वर्षकी अबोध बालिकालाई पापीहरुले पिएको पीडा छ। हजुरबुबाद्वारा बलात्कार हुन पुगेकी चेलीको चीत्कार छ । मोडल, वृद्ध रोगी महिला र बोल्न नसक्ने नारीको रोदन छ। परिवेश फरक-फरक छ । जात फरक-फरक छ। धर्म फरक-फरक छ। दुखाउँने पात्रहरु फरक-फरक छ्न् । तर दुख्नेहरुको दुखाई एउटै छ । जसलाई एउटै छट्पटाई छ । जलाई, छट्पटाई र दुखाई एउटै हुनेहरुको भावना मिल्छ । मन मिल्छ । बिचार मिल्छ । उनीहरुको नि भावना, मन र बिचार मिलेको छ र एउटै समुहमा छ्न् । वैतरणी नदी किनारमा उभिएका छन् । (बलात्कारका कारण उनीहरुको मृत्यु भैसकेको हुन्छ ।) प्रेतआत्मा उनीहरुलाई वैतरणी नदी पार गर्नुपर्ने बताउँछ ।

जहाँ पानी होइन, आगो बगेको हुन्छ । (असल कर्म गर्नेहरुले सिधै स्वर्गमा जान पाउँछन् भने पापीहरुले त्यो नदीमा पौडिनुपर्ने हुन्छ ।) तर उनीहरु मान्दैनन् । अरुको पापको सजाय हामीले किन भोग्ने ? उनीहरुको अडान छ र चित्रगुप्तलाई भेटेर आफ्ना कुराहरु सुनाउँन पाउँनुपर्ने माग छ । प्रेतआत्मा बारबार जिद्दी गर्छ । गरुड आउँछ कर गर्छ । तर उनीहरु आफ्नो अडानबाट टसमस हुँदैनन् । अन्तत: प्रेतआत्माले हार खान्छ र डुङ्गामा राखेर नौका बिहार गराउँछ ।

त्यहि यात्राको क्रममा उनीहरुले देख्छ्न्, धर्मगुरु छट्पटाइरहेको । शिक्षकलाई अखाद्य पदार्थ खुवाएइरहेको । नेता,अभिनेता र व्यापारीलाई तेलमा हालेर डिप फ्राई गरिरहेको । भन्नुको मतलब समाजका गन्यमान्य व्यक्ती र धर्मगुरुले पनि अदृश्य रुपमा पाप गरिरहेका छ्न् । अनैतिक कर्म गरिरहेका छ्न् । नकाम गरिरहेका छन् । मनमा पाप बोकेर बाहिर राम्रो बनेर समाजका आँखामा छारो हाल्न सफल भएपनी त्यहाँ त्यो छुट हुन्न भन्ने हो । अन्तत महिलाहरुको समुहलाई चित्रगुप्तको सचिवालयमा पुर्‍याइन्छ । त्यहाँ सभाको चाँजोपाँजो मिलाइन्छ। स्वर्गका अप्सराहरुलाई पनि बोलाइन्छ। मर्त्यलोकबाट अकालमै मरेर त्यहाँ पुगेका नारीहरुको कुरा पालैपालो सुनिन्छ । कारण फरक भएपनी पीडा एउटै हुन्छ। त्यसपछी महिलाहरुको सभा भएकाले स्वर्गका अप्सराहरुको प्रतिनिधित्व गर्दै रम्भालाई बोल्न भनिन्छ। रम्भाको बोलीपश्चात् यो थाहा हुन्छ कि नारी स्वर्गका हुन् या मर्त्यलोककी जहाँकी भएपनी एक जोर स्त्री अङ्ग भएकै कारण यौन हिंसामा पर्दा रहेछ्न् । सभा निष्कर्षमा पुग्छ, स्वर्गको संविधान फेर्ने । नारीमैत्री संविधान बनाउँने । विनाअपराध अकालमा ज्यान गुमाउँन बाध्य भएकालाई मर्त्यलोकमै फिर्ता पठाएर पापिष्ट बलात्कारीहरुको विरुद्ध न्यायको लडाइँ लड्न आग्रह गर्ने ।

यतिमै कथा सकिएको छैन । त्यसपछी शिव, विष्णु र कामदेवको वार्तालाप भएको छ । मर्त्यलोकमा अत्यधिक अत्याचार, शोषण, दमन र कामवासना बढ्दै गएकोमा शिव चिन्तित भएका छ्न् । कामदेव मान्छेहरु आफ्नो नियन्त्रणभन्दा बाहिर गएकोमा लाचारी प्रकट गर्छन् । यी सबै नियन्त्रणको लागि विष्णुले कल्की अवतारको सुरुवात गर्छन् । जुनजुन अवतार आए ती सबैमा पुरुष नै प्रमुख भएर आए । तर कल्की अवतारमा भने महिलालाई ल्याइएको छ। भन्नुको मतलब महिलाको समस्या, पीडा र दुखाईलाई जति नजिकवाट महिलाले बुझ्न सक्छ्न्, पुरुषले त्यति बुझ्न सक्दैनन् भन्ने हो ।

कथाको अन्त्यमा बलात्कार भएर झुन्डिएर मर्न लागेकी एउटी युवतीको प्रसँग छ । जो झुन्डिनै लागेकी हुन्छे । ठिक त्यही बेला अगाडि एउटा सुन्दर फूल फुलिरहेको देख्छे । त्यो फूलबाट एउटा अनौठो किसिमको सुगन्ध आउँछ । जसको सुगन्धले ऊभित्र सकारात्मक उर्जा सिर्जना गर्छ । र ऊ विर्य लत्पतिएको पछ्यौरीमाथि फूल राखेर मनमा एउटा प्रतिज्ञा बोकेर फर्किन्छे । त्यो प्रतिज्ञा हुन्छ, मरेर बलात्कारी पापीहरुलाई उन्मुक्ति दिने होइन । बाँचेर सजायको कठघरामा उभ्याउँने हो ।

कथाकारले युवतीलाई फूलसँग तुलना गर्नुभएको छ । फूल र नारी उस्तै उस्तै हुन् । फूलको सुन्दरता हेर्ने हो । फूल टिप्ने होइन । च्यात्ने होइन । नास्ने होइन । मास्ने होइन । त्यसैगरी नारीलाई गिद्दे नजर लगाउँने होइन । लुछ्न खोज्ने होइन । चुस्न खोज्ने होइन । नारीलाई त माया गर्ने हो । प्रेम गर्ने हो। आदर गर्ने हो । सम्मान गर्ने हो ।

कथाको एक प्रसँगमा कालीकामाताले भनेकी छ्न्- “सामाजिक मर्यादाका लागि मौन बस्नु नै अपराधलाई मलजल गर्नु हो।” यस कथा र कथाकारले भन्न खोजेको मुख्य कुरा पनि विनागल्ती, विनाअपराध बलात्कारका कारण अकालमै ज्यान फाल्ने होइन। त्यस्ता कुरुप र विकृत मानसिकता बोकेका मान्छेहरुका विरुद्ध आवाज बुलन्द पार्दै दोषीलाई कानुनी कठघरामा उभ्याएर सभ्य र सु-संस्कृत समाजको निर्माण गर्ने हो ।

यो कथा यथार्थको धरातलमा टेकेर स्वैर कल्पनाको उडान भरेको जस्तो पनि लाग्न सक्छ कताकती । तर कथाकारको उच्च कल्पनाशीलता, समसामयिक विषयको उठान, सरल भाषाशैली, छोटा वाक्य गठन र सलल बगेको कथा गज्जब लाग्छ ।
– रविन्द्र बुढाथोकी, रामेछाप । (budhathokirabindra0@gmail.com)