Home Blog Page 46

झरनाले सूर्य माविमा दियो काव्य प्रशिक्षण

२६  मंसिर । मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले २९७ औँ साहित्य शृङ्खला अन्तर्गत मंगलबार सूर्य मावि बागमती-१ मा काव्य प्रशिक्षण गरेको छ । प्रशिक्षणमा कक्षा ८,९ र १० का गरि करिब ६५ जना छात्र/छात्रा सहभागी रहेका कार्यसमिति सदस्य प्रेम बाेम्जनले जानकारी दिनुभयो । कार्यक्रममा काव्य प्रशिक्षण अन्तर्गत कविता कसरी लेखिन्छ भन्ने बिषयमा झसाप, मकवानपुरका सचिव मसान उपासकले प्रशिक्षण दिनुभएको थियाे भने प्रेम बाेम्जनले सहजीकरण गर्नुभएको थियोे । कार्यक्रममा सूर्य माविका प्रधानाध्यापक दिलबहादुर भाेलन, सूर्य माविकै नेपाली शिक्षक राजकुमार राई, पूर्वप्रअ वीरबहादुर राई तथा अविरल साहित्य समाज राईगाउँका अध्यक्ष उत्तमप्रसाद पाैडेललगायतको आतिथ्यता रहेको थियाे ।

साकार, कोइराला र लुईंटेललाई कृष्णभूषण बल सिर्जना पुरस्कार दिने

नेपाली साहित्यका आधुनिक कवि कृष्णभूषण बलको स्मृतिमा विराटनगरमा स्थापित कृष्णभूषण बल स्मृति प्रतिष्ठाले विसं २०७९ सालको तीन पुरस्कार सम्मान दिने घोषणा गरेको छ । प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार रु पचीस हजार राशीको कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार पाँच दशकदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि शैलेन्द्र साकारलाई प्रदान गरिने भएको छ । यसअघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ, विष्णुविभु घिमिरे र दिनेश अधिकारी सम्मानित भइसकेका छन् । विसं २०७९ सालको पन्ध्र हजार राशीको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको गजल विधामा दिएको योगदानका लागि गजलकार विवश बलिभद्र कोइराला (इलाम) तथा एघार हजार राशीको कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार उमेश लुइँटेललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका महासचिव विवश पोखरेलले दिएको जानकारी अनुसार प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको उपस्थिति र प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यी पुरस्कार तथा सम्मान आगामी २०८० फागुन ५ गते शनिबार विराटनगरमा समर्पण गरिने छ ।

ओशोका चर्चित २० विचारहरू, जसले जीवनलाई जहिल्यै सकारात्मक रूपमा लिन सिकाउँछ

आज रजनिश ओशोको जन्मजयन्ती । चन्द्रमोहन जैनका रूपमा उहाँ ११ डिसेम्बर १९३१ मा भारतको मध्य प्रदेश, रायसेन जिल्लाको कुचवाडा गाउँमा जन्मनु भएको हो । धार्मिक रुढिवादीताप्रति कठोर, आध्यात्मलाई नयाँ बाटोमा लैजाने एक गुरू र जीवनकालभरि विवादित र रहस्यमयी व्यक्तित्वका रूपमा उहाँलाई चिन्ने गरिन्छ ।
भारतमा विवादास्पद विचारहरू चर्चामा आएपछि अमेरिकामा आश्रम स्थापना गरी गतिविधि सञ्चालनका क्रममा विविध आरोपसहित ‘मन्द विष (Slow poison)’ प्रयोग गराई उहाँलाई भारतमा पठाइएको र त्यसको केही वर्षमा निधन भएका चर्चाहरू पढ्न सुन्न पाइन्छ ।
५८ वर्षको उमेरमा भारतको सोही आश्रममा उहाँले महापरिनिर्वाण लिनुभयो । उहाँ बाँचिरहनु भएको भए आज हामी उहाँको ९२औं जन्मदिवस मनाइरहेका हुन्थ्यौँ ।
आज नवसाहित्य अनलाइनमा हामीले उहाँका ख्यातिप्राप्त २० विचारहरू लिएर आएका छौं । उहाँ भन्नुहुन्थ्यो “कुनै पनि कुराले अहङ्‍कारलाई हाँसोले जसरी अन्त्य गर्दैन । जब तपाईँ जीवनलाई रमाइलोको रूपमा लिन थाल्नुहुन्छ, अहङ्‍कारले मर्नु पर्छ, जुन अब अस्तित्वमा पनि रहँदैन ।” आउनुहोस् उहाँका यस्तै भनाइहरू पढौं ।
०००
१ सत्य धेरै खतरनाक छ, तिनीहरूबाट सावधान हुनुहोस् । किनभने जसले जीवनबाट भ्रमहरू तोड्छ, उसलाई बाँच्न गाह्रो हुन्छ ।
२ बनिबनाउ बन्ने कोशिस नगर ।
३ हामी दुःखी छौं, किनभने हामी के गरिरहेका छौं भन्ने बारे हामीलाई नै थाहा छैन । हाम्रो काम एक दिशामा छ । सोच अर्कै दिशामा छ । भावना भनेको अन्तैतिर गइरहेको छ ।
४ जो आफूसँग भेट्न सक्दैन र भगवानको बारेमा कुरा गर्दछ, उसले जीवनभर आफैँलाई बेवास्ता गरेको हुन्छ ।
५ बाँच्ने एक मात्र तरिका भनेको तिमी पहिल्यै मरिसकेका छौ भनेर स्वीकार्नु हो ।”
६ मनः एक सुन्दर नोकर र एक खतरनाक मालिक ।
७ यदि तपाईँलाई फूल मन पर्छ भने, यसलाई नटिप्नुहोस् । किनभने यदि तपाईँले टिप्नुभयो भने यो मर्छ अनि यो तपाईँलाई ‘मनपर्ने कुरा’ हुन सक्दैन । त्यसैले यदि तपाईँ फूललाई प्रेम गर्नुहुन्छ भने, यसलाई फूलै हुन दिनुहोस् ।
८ यदि तपाईं हाँस्नुहुन्छ भने, संसार तपाईँसँग हाँस्छ; यदि तपाईँ रुनुहुन्छ भने, तपाईं एक्लै रुनुहुन्छ। त्यसो भए, हाँसो छनौट गर्नु राम्रो !”
९ उत्साहविना, जीवन के हो ? मृत्युको पर्खाइ मात्रै हो ?”
१० जीवन कुनै त्रासदी होइन, कमेडी हो। जीवित हुनुको अर्थ हास्यको भावना (Sense of humor) हुनु हो।
११ बढीभन्दा बढी ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नुहोस् र जीवनको मज्जा लिनुहोस्, किनकि, वास्तविकतामा यहि नै जीवन हो ।
१२ प्रेमको सर्वश्रेष्ठ सिमा पूर्ण स्वतन्त्रता हो, कुनै पनि सम्बन्धहरु टुक्रिनुको मुख्य कारण स्वतन्त्रतामाथि बन्देज हुनु नै हो ।
१३ आज नभए भोलि सबै भ्रमहरू भंग हुन्छन् ।
१४ यदि तपाईँ साहसिलो हुनुहुन्छ भने आफ्नो मनको कुरा सुन्नुहोस् । यदि आफूलाई कायर सम्झनुहुन्छ भने दिमागको कुरा सुन्नुहोस् ।
१५ कसैसँग प्रतिष्पर्धा गर्न आवश्यक छैन, तपाई आफूमा जे हुनुहुन्छ, एकदम सहि हुनुहुन्छ,पहिला आफूलाई स्विकार्नुस् ।
१६ आफैंलाई खोज्नुहोस् । अन्यथा तपाईँ आफैंले नचिनेका व्यक्तिको विचारमा भर पर्नुपर्छ, जसलाई आफ्नो बारेमा थाहा नै हुँदैन ।
१७ यदि तपाई कुनै काम बिना प्रेम गर्नुहुन्छ भने गुलाम बन्नुहुन्छ, यदि त्यहि कामलाई प्रेमका साथ गर्नुभयो भने राजा बन्नुहुन्छ । तपाईको काम नै तपाईको खुसी हो ।
१८ मानिसहरूलाई भयको माध्यमबाट जहिल्यै पनि शोषित गरिन्छ ।
१९ अज्ञानी बनिरहनु राम्रो हो । कम्तीमा अज्ञान त आफ्नो हुन्छ ।
२० जीवन कुनै दुखद घटना होइन, यो एक हास्य हो । जीवित रहनुको मतलब हास्यको बोध हुनु हो ।
(गाइने)

सुमी पोखरेलका दुई कविताहरू

१. यात्रा !

आफैँबाट आफूसम्म पुग्न
छिचोल्नु छ आफैँभित्र अग्लिएको
तिम्रो यादका पहाडहरू ।

फुटाल्नुछ हिम्मतको गैँतीले
हिमताल झैँ जमेका आँशुका ढिक्काहरू
पिउँदा पिउँदै अत्यासलाग्दो एकलासपन
छरपस्टमा आदत पारिसकेको रहेछु आफूलाई
बटुल्नु छ अब –
आफैँसँग जीउनुका मजाहरू ।

खासमा
निचोर्नु छ
तिम्रो प्रहारबाट
दिलमा गाडिएको एमानको खील
सिनित्त पिप सहित निथ्रिने गरी
बगाउनु छ आफ्नै दिलभित्र
छताछुल्ल आफ्नोपन
भेट्नु छ आफैँलाई ।

बन्द गरेर आँखा र कान
सुरु गर्नु छ –
आफैँसँगको यात्रा
र खन्नु छ एउटा –
आफ्नैनिम्ति प्रेम उम्रने
बाह्रमासे जरुवा ।

२. एक्लो मान्छे

आफ्नै हृदयको ऐनामा
आफ्नो अनुहार हेरेर
मुसुक्क मुस्कुराउँन सक्नेहरूसँग
भो नगर्नू, आफ्नोपनको ढोंग ।

पाई पाई चुकाइरहे पनि
कहिल्यै चुक्ता नहुने
आश्रति खुसीहरू केवल
चर्को ब्याजका ऋण हुन्
बदलामा सुदूर सपनाहरू समेत
जफत गर्नेगरी
भो नदेखाउनू,
क्षणिक खुसीको उधारो अपेक्षा ।

साथको बहानामा
जमातले गर्ने निन्दाभन्दा
अति प्रिय हुन्छ-
एकान्तको एकलाप ।

एक्लो बरु त्यतिबेला महसुुस गर्छ,
जब भिडको कर्कस ध्वनिले छेड्छ,
जब ऊबाट एकान्त हराउँछ
यसैले नबिथोल्नू-
भिडबाट एक्लिएको मान्छेलाई
किनकि- ऊ आफैँमा पर्याप्त छ ।

-उदयपुर

१ लाख २५ हजार राशिको कविडाँडा आख्यान पुरस्कार ‘मनु’ उपन्यासलाई

२३ मंसिर, सोमबार
चितवन ।
१ लाख २५ हजार राशिको कविडाँडा आख्यान पुरस्कार- २०७९ `मनु´ उपन्यासले पाएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार कार्यक्रम गरी कविडाँडा आख्यान पुरस्कार – २०७९ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरिएको हो । सौराहास्थित जंगल सफारी लजमा शनिबार आयोजित कार्यक्रममा लाल – मीना फाउन्डेसनकी अध्यक्ष मीना लामिछाने र कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले सम्मानपत्रसहित सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्नु भएको हो ।
समाजले उक्त पुरस्कारका लागि गत भदौ २३ गते १० वटा उत्कृष्ट आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो । त्यसपछि दोस्रो चरणमा उत्कृष्ट ५ वटा कृतिको सूची सार्वजनिक गरेको थियो । सूचीमा सुवेदीको मनु उपन्याससहित जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, रामलाल जोशीको बाआमा, अशोक थापाको सन्तापको धून, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा र रेणुका जिसीको सनेस सूचिकृत रहेका थिए ।
बुकहिल पब्लिकेसन्सबाट प्रकाशित मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई मनुकै नेतृत्वमा मानव जातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ । नेपाली साहित्यमा ऋग्वैदिक सामाजिक उपन्यास लेखनमा मदनमणि दीक्षितको उपन्यास `माधवी´ लेखनको ४ दशकपछि ‘मनु’ प्रकाशन भएको हो ।
२०७५ सालबाट दिन थालिएको कविडाँडा पुरस्कार पहिलोपटक महेश थापाको `मरिचिका´ कथासङ्ग्रह, २०७६ सालमा श्याम शाहको `पथेर´ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको `परित्यक्ता´ उपन्यास, २०७८ सालमा लोकराज भट्टको `छाइल´ उपन्यासले प्राप्त गरेको थियो ।
मनु उपन्यासले खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार- २०७९ पनि प्राप्त गरेको छ । वि.सं. २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले नियमितरूपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आइरहेको छ ।
लेखकहरू भूपिन, उदय अधिकारी, गोविन्दराज विनोदी, धनराज गिरी, श्यामकुमार बानियाँ, रेणुका जिसीलगायत साहित्य सर्जक, साहित्य सेवी उपस्थित कार्यक्रममा डा. केशवराज चालिसे र महेश पौड्यालले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमलाई गणेश श्रमनले सहजीकरण गर्नु भएको हो ।

आँचलको वक्तृत्व प्रतियोगितामा ब्रह्मदिक, जिएस, जनप्रिय र अमरका विद्यार्थी विजयी

मङ्सिर २३, शनिबार
मकवानपुर ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्‍गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला आयोजना गरेको छ ।
प्रतियोगितामा सिद्धार्थ शिशु सदन सेकेण्डरी स्कुल, जिएस निकेतन सेकेण्डरी स्कुल, बालजागृति इङ्लिस सेकेण्डरी स्कुल, जनप्रिय मावि, भानु मावि, हेटौंडा एकेडेमी, श्रमिक मावि, ज्योति मावि, अमर मावि, ब्रम्हदिक एकेडेमी, अमर मावि, नवोदय शिशु सदन, लक्ष्मी आवि, वंशगोपाल मावि, लिटल फ्लावर स्कुल लगायत विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । सो प्रतियोगितामा ब्रह्मदिक एकेडेमीकी प्रियन्सु पोखरेल प्रथम, जिएस निकेतनकी पूर्वजा न्यौपाने द्वितीय, जनप्रिय माविकी एरिना चौलागाईँ तृतीय र अमर माविका पारस अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुभयो । प्रतियोगीहरूलाई ३ हजार, २ हजार, १ हजार र ५ सय क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
साहित्य सङ्गम तथा सिस्नुपानी नेपालको संयुक्त भवनमा आयोजित कार्यक्रममा कूल २३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । आँचल मकवानपुरका अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता र हेटौंडा उपमहानगपालिका ४ नं. वडा सदस्य गीता त्रिपाठीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुशिला पाण्डे र चन्दा व्यञ्जनकार विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा आँचलका संस्थापक अध्यक्ष मुना अर्यालका साथै साहित्य सेवी, साहित्यसर्जकहरू मुक्तिगोविन्द वैद्य, देवराज खरेल, राजकुमार लामिछाने, डीबी बर्तौला, संगीतकार पूर्णविक्रम अधिकारी लगायत कानून व्यवसायी, शिक्षक, विद्यार्थी आदिको उपस्थिति रह्यो ।

आँचलका उपाध्यक्ष निरा शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा औचित्य प्रकाश पार्दै कार्यक्रम संयोजक निर्मला ब्लोनले लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार, विद्यालय, कार्यालयदेखि नै जोड दिनुपर्ने बताउनुभयो ।
तीन सदस्यीय निर्णायक मण्डलमा अनु रोक्का, सुवास खनाल र देवराज तिवारी रहनु भएको कार्यक्रमलाई आँचल मकवानपुरका सचिव सविता तिमल्सिनाले सहजीकरण गर्नु भएको हो ।

जेसिजको वक्तृत्वकला प्रतियोगितामा आदर्श, एरिना र आदित्य विजयी

मङ्सिर २२, शुक्रबार
मकवानपुर ।
बसामाडी जेसिजको सप्ताहव्यापी कार्यक्रम ‘जेसिज सप्ताह २०२३’ का क्रममा आयोजित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा हेटौंडा ५ स्थित ज्ञानदीप शिक्षा निकेतन माविका छात्र आदर्श पौडेल प्रथम, सिद्धार्थ शिशु सदनका छात्र आदित्य पराजुली द्वितीय र हेटौंडा १६ स्थित जनप्रिय माध्यमिक विद्यालयकी छात्रा एरिना चौलागाईँ तृतीय हुनु भएको छ । निर्णयका लागि द्विसदस्यीय निर्णायक मण्डलमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल र जेसी गौतम केसी रहनु भएको थियो ।
विजेताहरूलाई सप्ताहव्यापि कार्यक्रमको समापन कार्यक्रमका क्रममा शनिबार होटल लिडो इनमा एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

हेटौंडा ५ स्थित सिद्धार्थ शिशु सदनमा आयोजित कार्यक्रम २०२३ का अध्यक्ष जेसी जनक भण्डारीको सभाध्यक्षता तथा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष अनिल अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो । जेसी दीपेन्द्र यादवको संयोजकत्वमा आयोजित कार्यक्रममा झरना साहित्य कला पुञ्ज मकवानपुरका निवर्तमान अध्यक्ष दीपक गौतम र सिद्धार्थ शिशु सदनका प्रिन्सिपल निर्मल पराजुलीले शुभकामना मन्तव्य राख्नु भएको थियो । मूल कार्यक्रम संयोजक जेसी उद्ववराज कठायत, सह-मूल कार्यक्रम संयोजक जेसी परमेश्वर पौडेल, प्रतियोगी विद्यालयका शिक्षक, विद्यार्थी आदि उपस्थित कार्यक्रमलाई २०२३ का महासचिव सुरज डङ्गोलले सञ्चालन गर्नु भएको हो ।

आधुनिक चिनियाँ साहित्यको विकासक्रम || योगेन्द्र तिमिल्सिना

चिनियाँ साहित्यको इतिहास बृहत छ । यस लेखको उद्देश्य हजारौँ वर्ष पुरानो चीनको साहित्यिक इतिहास खोतलखातल गर्ने नभई क्विङ् साम्राज्य (१६४४–१९११) पतनपछिको उन्नाइसौँ शताब्दीको अन्त्यपछि बिसौँ शताब्दीको आधुनिक चिनियाँ  साहित्यको चर्चा गर्नु रहेको छ ।

चीनमा समाजवाद आउनुअघि गणतन्त्र र त्यसअघि राजतन्त्रात्मक शासन व्यवस्था थियो । राजतन्त्रमा पनि केही साहित्यिक गतिविधिहरु हुने गर्थेे, उपन्यास र कविताहरु लेखिएका थिए र केही धार्मिक, दार्शनिक तथा वैज्ञानिक कृतिहरु समेत प्रकाशनमा आएका थिए । लेखकहरुले पश्चिमी साहित्यकारका केही कृतिहरु चिनियाँ  भाषामा अनुवाद गरेका थिए ।

सन् १९११ मा डा. सन यात्–सेन युरोपबाट शाङ्घाई फर्केपछि उनको नेतृत्वमा क्रमसः भएको राज्यक्रान्तिबाट चीनमा राजतन्त्र पतन हुँदै गई सन् १९१२ मा गणतन्त्र स्थापित भयो । उता रुसमा सन् १९१७ को अक्टोबर क्रान्ति सफल भएपछि साम्यवादी सरकार गठन भयो । त्यसले जारकालीन रुसले साम्राज्यवादी चीन सरकारसँग गरेका असमान सन्धिसम्झौताहरु रद्द गरी चीनबाट लिएका सबै सुबिधाहरु चीनलाई फकाई समानताका आधारमा नयाँ मैत्रीपूर्ण सम्झौता ग¥यो । रुसको यस सदाशयताबाट चिनियाँ क्रान्तिकारी बुद्धिजीवीहरुलाई ठुलो हौसला प्राप्त भयो । रुसको समर्थन पाएर चीनमा क्रान्तिकारी गतिविधि अगाडि बढ्न थाल्यो ।

मुलुकमा राजनीतिक चेतना, क्रान्ति र आधुनिक साहित्य सम्बन्धी रचनाहरु प्रकाशन गरी जनतालाई जागरुक बनाउने दृष्टिकोणले सन् १९१५ मा चिनियाँ  बुद्धिजीवीहरुले बेइजिङमा ‘नयाँ युवा’ नामको मासिक पत्रिकाको प्रकाशन प्रारम्भ गरे । त्यस पत्रिकाको सन् १९१७ को जनवरी अङ्कमा कोलम्बिया विश्वविद्यालयमा अध्ययनरत दर्शनशास्त्रका विद्यार्थी हु शिह्को ‘साहित्यिक सुधारको निम्ति प्रारम्भिक प्रस्ताव’ शीर्षक लेख प्रकाशित भयो । यस लेखमा चीनमा परम्परागत शास्त्रीय भाषाको सट्टा नयाँ राष्ट्रिय जनभाषामा साहित्य लेखिनु पर्छ भनी आह्वान गरिएको थियो । ‘नयाँ युवा’ का सम्पादक चेन डुक्सियुले हु शिह्को विचारलाई समर्थन गर्दै ‘साहित्यिक क्रान्ति बारे (१९१८)’ शीर्षक लेख लेखे । यसबाट हु झन् उत्साहित भए र ‘रचनात्मक साहित्यिक क्रान्ति’ नाउँको अर्को लेख छपाए । त्यस लेखमा चीनमा साहित्यिक नवजागरणको सूत्रबद्ध व्याख्या गरिएको थियो ।

चीनमा गणतन्त्र स्थापना भएपछि सन् १९१२ देखि १९२३ सम्म नयाँ साँस्कृतिक आन्दोलन प्रारम्भ भएको थियो । यी  आन्दोलनहरुको परिणामस्वरुप चीनमा लु सुनको ‘बहुलाहाको डायरी’ जस्तो ब्यङ्यात्मक कथा प्रकाशित भयो । यस कथाको मुख्य पात्र आफू बाहेक अरु सबैलाई बहुलाहा सम्झन्छ । त्यस्तै उनको अर्को कथा ‘औखती’ पनि झिङ्क्विङ्नियान पत्रिकामा प्रकाशित भयो । लु सुन र उनका भाइ झाउ जुओरेन जापानमा अध्ययन गरी फर्केका थिए । दुबैले चीनको साहित्यिक तथा साँस्कृतिक आन्दोलनमा सक्रिय नेतृत्व लिएका थिए । लु सुनले चीनको सामन्तवादी परम्परा माथि ब्यङ्ग्यात्मक प्रहार गर्दै ‘आह क्युको साँचो कथा (१९२१)’ लेखेका थिए । उनका सिर्जनाहरु विश्व साहित्यका मानक बनेका छन् ।

नयाँ साँस्कृतिक आन्दोलनले पुरानो शास्त्रीय भाषालाई मृत भाषा घोषित गरी नयाँ चिनियाँ  जनभाषा स्थापित ग¥यो । समाजलाई हेर्ने लेखकहरुको दृष्टिकोण पनि केही फराकिलो हुँदै गयो । चिनियाँ  साहित्यकारहरु विदेशी साहित्यको पनि अध्ययन गर्न थाले । चिनियाँ विद्यार्थी अध्ययन गर्न विदेश जान थाले । लेखकहरु चिनियाँ  अर्थतन्त्रलाई विकसित औद्योगिक राष्ट्रमा परिवर्तन भएको देख्न चाहन्थे । समाजमा आएको परिवर्तनसँगै चिनियाँहरुले पुरानो कन्फ्युसियस परम्परा र जीवनशैलीलाई आधुनिक खुला जीवन शैलीमा रुपान्तरण गर्न थाले ।

चीनमा गणतन्त्र स्थापना हुनुअघि सन् १८८१ मा जन्मेका लु सुनले आर्थिक र राजनीतिक रुपले पिल्सिएका बहुसङ्ख्यक जनताको भोक, शोक, अभाव, विभत्सता र घृणालाई राम्रोसँग बुझे र तिनलाई आफ्ना रचनाहरुमा औधी मार्मिक र यथार्थवादी ढङ्गले चित्रण गरे । लेखक लु सुन र व्यक्ति लु सुनको व्यक्तित्वमा केही फरक छैन । उनी साहित्यमा मात्र प्रतिक्रियावादी सामाजिक परम्परा र पुँजीपति वर्गको विरोध गर्दैनथे, आफ्नो वास्तविक जीवनमा पनि उनी जनताका साँचा प्रतिनिधि थिए र क्रान्तिमा सक्रिय भाग लिन्थे । आह क्यूको साँचो कथा, बौलाहाको डायरी, लु सुनका केही निबन्धहरु र लु सुनले साहित्य बारे विभिन्न ठाउँहरुमा दिएका भाषणहरुको सँगालो साहित्यमा लु सुनको विचार नेपाली भाषामा प्रकाशित भैसकेका छन् । लु सुनका सङ्ग्रहित रचनाहरु (Selected Works of Lu Hsun) नामले चार ठेलीमा उनका रचनाहरु सङ्ग्रहित छन् । गणतन्त्र कालमा लेखिएको उनको विश्वप्रसिद्ध कथा बहुलाहाको डायरी शान्तदास मानन्धरले नेपाली भाषामा अनुवाद गर्नु भएको छ ।

शास्त्रीय शैली र परम्परामा कविता लेखिने गरेको चीनमा सन् १९३० को दशकमा झु जियाङ्, लि जिन्फा, आए छिङ, दाइ वाङ्सु, वेन यिदुओ, जे जिआओ जस्ता कविहरुले नयाँ जनवादी भाषामा कविता लेख्न थाले । आए छिङको पहिलो कविता ‘जमघट’ छापिएपछि सन् १९३२ मा उनी गिरफ्तार गरिए । तीन वर्ष तीन महिनापछि उनी रिहा भए । उपन्यास र नाटकहरु पनि जनभाषामा लेखिन थाले । शिक्षाको विकासले गर्दा महिला साहित्यकारहरु पनि आ–आफ्ना नौला अनुभवहरु लिएर अगाडि बढे । महिला लेखक डिङ् लिङ को कथा ‘मिस सोफियाको डायरी’ले महिलाका जटिल भावनाहरु प्रस्तुत गरेको छ । कवि मञ्जुलले आए छिङका कविताहरुको सङ्कलन नेपालीमा अनुवाद गरी ‘उज्यालोको प्रशंसामा’ नामले प्रकाशन गराउनु भएको छ ।

जापानमा चिकित्साशास्त्र अध्ययन गरी स्वदेश फर्केका चिनियाँ साहित्यकार को–मोजो इतिहासकार र पुरातत्वविद समेत थिए । सन् १९१७ देखि शुरु भएको नौलो जनवादी साहित्यिक आन्दोलनमा उनको सक्रिय सहभागिता थियो । चिनियाँ  जनवादी साहित्यको सिर्जनामा उनको महत्वपूर्ण योगदान रहेको छ । उनको प्रसिद्ध नाटक चू याँ देवेन्द्रराज अर्यालले नेपालीमा अनुवाद गर्नु भएको छ । चू याँ समेत उनले पाँचओटा ऐतिहासिक नाटक लेखेका छन् ।

सन् १९२० र तिसको दशकमा ओयुयाङ् युकिआन, होङ् शेन्, काओ यु र तियाङ् हान जस्ता नाटककारका पश्चिमी शैलीका आधुनिक नाटकहरु प्रदर्शन गरिए । सन् १९३० मा स्थापित बामपन्थी लेखक सङ्घको नेतृत्वमा लु सुन पनि समावेश थिए । बामपन्थी लेखक सङ्घका साहित्यकारहरुले समाजवादी यथार्थवादलाई आफ्नो लेखनको आधार बनाए । आधुनिक कालका महत्वपूर्ण लेखकहरुमा कवि, निबन्धकार र इतिहासविद गुओ मोरुओ (१८९२–१९७८), जनताको क्रान्तिकारी सङ्घर्षलाई यथार्थवादी ढङ्गले प्रस्तुत गर्ने बामपन्थी लेखक सङ्घका पहिला उपन्यासकार तथा ब्यङ्ग्यकार माओ दुन (१८९६–१९८१), उपन्यासकार तथा ब्यङ्ग्यकार लाओ चे (१८९९–१९६६) र उपन्यासकार बा जिन (१९०४–२००५) प्रमुख हुन् । बामपन्थी लेखक सङ्घमा आबद्ध लेखकहरु चिनियाँ कम्युनिष्ट पार्टीको सामाजिक परिवर्तनको राजनीतिक दिशा अनुसार साम्यवादी समाज निर्माणमा सैद्धान्तिक रुपले समर्पित थिए । यी मध्ये धेरै लेखकहरुले सन् १९४९ पछि आधुनिक चिनियाँ  साहित्य तथा कला सम्बन्धी नीति निर्धारणमा महत्वपूृर्ण भूमिका खेलेका थिए । चीनबाट पलायन भई विदेशमा अध्ययनरत कतिपय चिनियाँ  साहित्यकारहरुले जापानी र पश्चिमा शैलीको आधुनिक साहित्यको अध्ययन गरी साहित्यमा प्रतीक र बिम्बहरुको प्रयोग गर्दै मनोवैज्ञानिक र ब्यङ्गात्मक शैलीमा रचनाहरु सिर्जना गर्न लागे ।

सन् १९४२ को मे २ देखि २३ सम्म येनानमा सम्पन्न “साहित्य तथा कला गोष्ठी”मा अध्यक्ष माओत्सेतुङ्ले साहित्य र कलाबारे आफ्नो धारणा स्पष्ट पारेपछि क्रान्तिकालमा लेखकहरुले साहित्यलाई तत्कालीन अवस्थामा चिनियाँ  जनताको मुक्तिको निम्ति साँस्कृतिक मोर्चाको रुपमा उपयोग गर्नुपर्ने धारणा अवलम्वन गरियो । माओत्सेतुङ्गले साहित्य र कलाबारे येनान गोष्ठीमा दिएको प्रवचनलाई जनवादी लेखकहरुले चिनियाँ राजनीतिको प्रमुख सांस्कृतिक आधारस्तम्भ र साहित्य सिर्जनाको मार्गदर्शक सिद्धान्त मानी क्रान्तिकारी रचनाहरु सिर्जना गर्न थाले ।

सन् १९४९ मा च्याङ् काइ–शेकको सरकार पल्टाई विधिवत रुपमा जनवादी गणतन्त्र घोषित भएपछि पनि चीनमा विभिन्न समय अन्तरालमा वैचारिक सङ्घर्ष र साम्यवादी सुधारको अभियान चलिरह्यो । लामो आन्तरिक द्वन्द्व तथा अमेरिका, बेलायत र जापानजस्ता शक्तिशाली राष्ट्रहरुको अतिक्रमणको प्रतिरोध गर्दै चीनको सैनिक शक्तिले विजय प्राप्त गरेको थियो । सन् १९४९ अघिका साहित्यकारहरुले सर्वहारा वर्गको पक्षमा सामन्तवाद विरोधी रचनाहरु सिर्जना गर्थे भने क्रान्तिकालमा जनतालाई क्रान्तिको पक्षमा लाग्न उत्साहित पार्ने चिनियाँ साहित्य “क्रान्तिकारी साहित्य”को रुपमा विकास भएको थियो । क्रान्तिपूर्वको साहित्यमा तल्लो वर्गका शोषित, पीडित जनतालाई शोषक र सामन्ती वर्गको विरुद्ध संघर्षको निम्ति उभिन आह्वान गरिन्थ्यो भने पछिल्लोमा क्रान्तिको सफलताले जनता उत्साहित र आशावादी भएका विचारहरु चित्रण गर्न थालियो । साहित्यमा क्रान्तिकालमा जनवादी क्रान्तिको सफलताका विजय गीतहरु र कलात्मक पक्ष कमजोर भएका सैन्य अनुभवका यथार्थवादी रचनाहरु बढी प्रकाशित हुन थाले ।

सन् १९४९ को जुलाईमा बेइजिङमा साहित्यकार र कलाकारहरुको राष्ट्रिय सभाको आयोजना गरिएको थियो । यस सभाले मुक्त क्षेत्र र कोमिङ्ताङका लेखक र कलाकारको “क्रान्तिकारी लेखक तथा कलाकारहरुको चिनियाँ  महासंघ” नामको संस्था पनि गठन भयो ।

कविता

सन् १९४९ पछिको नयाँ चरणमा चीनमा नयाँ उत्साहका साथ क्रान्तिकारी कविताहरु लेखिन थाले । तिनमा किसान र सर्वहारा वर्गको नयाँ उत्साह, नयाँ जीवन र उपलब्धिका चित्रणहरु प्रस्तुत हुन थाले । त्यस्ता उल्लेखनीय कविताहरुमा को–मोजोको ‘नौलो चीनप्रति’, खे चोङ् पिङको‘ हाम्रो पाँचतारे झण्डा माथि उठाउ’ र वाङ् जिनको ‘हाम्रो देशको गीत’ आदि प्रमुख हुन् । त्यस्तै समाजवादी सामाजिक संरचना निर्माणको निम्ति भएका सङ्घर्ष र वलिदानका कविताहरुमा शाओ यानजियाङको ‘सुदूर स्थानहरुको गमन’, वेन कीको ‘तिआनशान चरण’, लि जीको ‘युमेन तेलखानीका गीतहरु’, गोङ् लिउको उत्तर दिशामा र तिआन जिआनको ‘घोडटाउके सारङगीको लागि गीतहरु’ आदि उल्लेखनीय छन् ।

सन् १९५८ मा लोकगीत सङ्कलन र प्रकाशनको अभियान चल्यो । सन् १९५९ मा को–मोजोले ३०० ओटा लोकगीतको सङ्कलन गरी ’रातो झण्डाका गीतहरु’ नाउँबाट प्रकाशित गराए । सन् १९६० को दशकमा उत्कृष्ट शिल्पका गीति कविताहरु लेखिए । यस अवधिमा चीनका विभिन्न अल्पसंख्यक जनजातिका जीवन र सङ्घर्षका बर्णनात्मक कविताहरु पनि लेखिए ।

सन् १९६६ देखि १९७६ सम्म चीनमा भएको साँस्कृतिक क्रान्तिको अवधिमा साहित्यिक गतिविधि प्रायः ठप्प रह्यो । यसले साहित्यमा पनि अनेक उथलपुथल र परिवर्तन ल्याएकोले सन् १९८० को दसकमा युवा कविहरुद्वारा विविध दृष्टिकोण र शिल्पमा कविताहरु लेखिए । साँस्कृतिक क्रान्ति अवधिभर मौन बसेता पनि त्यसपछि क्रमशः राजनीतिक खुलापनसँगै कविहरु पुन जुर्मुराएर उठ्न थाले ।

कथा

सन् १९६५ अघि एकातिर चिनियाँ जनक्रान्तिको सफलताको उत्साहलाई लिएर वर्गीय चेतनाका कथाहरु लेखिए भने अर्कातिर जनक्रान्तिपछि लगत्तै आशातीत उपलब्धि हासिल नहुँदा युवाहरुमा आएको एक प्रकारको कुण्ठा र निराशाका कारणले चिनियाँ जनजीवनका नकारात्मक पक्षहरु चित्रण गरिएका कथाहरु पनि लेखिए । जनक्रान्तिका आधारमा लेखिएका कथाहरुमा जुन किङको ‘खोलामुनि’, जिआओ पिङ्को ‘मार्च महिनाको हिमपुष्प’, वाङ् युआनजिआनको ‘सदस्यता दस्तुर’, रु झिजुआनको ‘लिली फूलहरु’ र हान जिको ‘आमाको कथा’ लाई प्रतिनिधि कथाको रुपमा लिन सकिन्छ । जनक्रान्ति कालका अँध्यारा पक्षहरुलाई चित्रण गर्दै लेखिएका कथाहरुमा लि चुनको ‘अँध्यारा जहाजी पाल’, वाङ मेङ्को ‘संगठन विभागमा नव आगन्तुक युवा’, छिन झाओयाङको ‘मौनता’, लिउ शाओताङको ‘सूर्यास्त’, लिउ बिनयानको ‘हाम्रो पत्रको भित्री कथा’ आदि हुन् ।

सन् १९६६ मा चीनमा शुरु भएको दस बर्षे साँस्कृतिक क्रान्ति र बेइजिङ्को तियानमेन चौकमा घटेको घटनापछि चीनमा कथा विधा झन् फराकिलो हुँदै गयो । एकातिर क्रान्तिकालमा जनताले भोगेका अशान्ति, पीडा र अभावप्रति युवाहरुको आक्रोस, कुन्ठा र प्रतिरोधका कथाहरु लेखिए भने अर्कातिर बाम राजनीतिमा सक्रिय युवा लेखकहरुले उनीहरुलाई दक्षिणपन्थी प्रतिक्रियावादी भन्दै तिनका प्रतिक्रान्तिकारी विचारको खण्डन गरे । यस अवधिमा मानिसका वैयक्तिक मनोभावनाका सूक्ष्म मनोवैज्ञानिक कथाहरु पनि लेखिए ।

चिनियाँ  लेखकहरुले विदेशी साहित्यकारका कृतिहरुको पनि अध्ययन गरी आफ्ना रचनाहरुमा अनेक शिल्पको प्रयोग गर्न थाले । १९८० को दशकका केही स्थापित कथाकारहरु यी हुन्ः जिन शुइ, देङ युमेइ, हान शाओगोङ्, वाङ जेङ्की, देङ युमेई, हे झियाचु, कु हुआ, वाङ जेङ्गकी, हान शाओगोङ, लियाङ जिआओशेङ आदि । त्यस्तै महिला कथाकारहरुमा झाङ काङकान, हुआङ जोङ्गयिङ, लियु सिहोङ, शेन रोङ, झाङ जी, वाङ आनीई, चि ली र लिउ झिहोङ आदि केही प्रतिनिधि कथाकारहरु हुन् ।

उपन्यास

सन् १९४९ मा चीनमा जनगणतन्त्र स्थापित भैसकेपछि साहित्यका अन्य विधामा झैँ उपन्यास साहित्यको विकासमा पनि दुई धार देखा परे । एउटा धार जनसङ्घर्षका अनुभव, उत्साह र उपलब्धिको रक्षा गर्दै जनवादी साहित्यको सिर्जना गथ्र्यो भने अर्को धार मुलुकमा आर्थिक–सामाजिक रुपान्तरण भैनसकेको अवस्थामा क्रान्तिमा भएका विग्रह र क्षतिबाट निराश हुँदै कुण्ठा र असन्तुष्टिका अभिव्यक्ति प्रस्तुत गथ्र्यो । जनवादी साहित्यकारहरुलाई मूलधारका साहित्यकार मानिन्थ्यो । विरता र साहसको वर्णन तथा युद्ध अनुभवको आधारमा निकै उपन्यासहरु लेखिए । उदाहरणको निम्ति दु पेङ्चेङ्को ‘युनानलाई बचाउ’ निकै चर्चित रह्यो । यस उपन्यासमा सन् १९४७ मा उत्तरपूर्वी अभियानको सिलसिलामा युनानमा भएको प्रतिरक्षा लडाइँमा सैनिक अधिकारी र सिपाहीहरुले प्रदर्शन गरेको विरताको वर्णन छ । सन् १९५० को दशकका अन्य प्रसिद्ध उपन्यासहरुमा सुन लीको ‘आँधीका वर्षहरु’ झि सियाको ‘रेलपथका छापामारहरु’, ल्यु छिङ्को ‘ढलौटको पर्खाल’ आदि हुन् ।

सन् १९६० पछि साँस्कृतिक क्रान्ति नहुन्जेल जनवादलाई आधार बनाएर लेखिएका चिनियाँ उपन्यासहरु विचार र कलापक्ष दुबैमा परिपक्क हुँदै गएको देखिन्छ । साँस्कृतिक क्रान्तिअघि लेखिएका उपन्यासहरुमा लुओ गुवाङ्बिन र याङ् यियानको संयुक्त लेखनको उपन्यास ‘रातो छ्याके चट्टान’ ले मुक्तिपूर्वको भूमिगत सङ्घर्षको र याओ जेयिनको ऐतिहासिक उपन्यास ‘लि जिचेङ्’ ले मिङ् साम्राज्यकालको किसान विद्रोहको चित्रण गरेको छ । ‘रातो छ्याके चट्टान’ चाहिँ उत्तेजक कथानक, सुन्दर संरचना र कलात्मकता भएको उत्कृष्ट उपन्यास हो । यस अवधिमा लेखिएका उत्कृष्ट उपन्यासहरु मध्ये अग्रपक्तिको अर्को उपन्यास चीन चिङ्–माइको ‘ओयाङ हाइको गीत, १९६६’ हो ।

चीन चिङ्–माइ सन् १९३० मा चीनको नानकिङ्मा एउटा  निम्नवर्गीय परिवारमा जन्मेका थिए । क्रूर ग्रामीण सामन्ती समाजबाट वाक्क भई सानै उमेरमा उनी शहरतिर लागे । जीवन धान्न उनले धेरै दिनसम्म अनेकौँ सानातिना दु:खका कामहरु गर्नुप¥यो । अनेकौँ हण्डर खाएर १९ वर्षकोे उमेरमा उनी चिनियाँ जनमुक्ति सेनामा भर्ती भए । उनी लेखपढ गर्न जान्दैनथे । क्रान्तिकारी दलको मद्दतबाट उनले लेख्न पढ्न सिके । जनमुक्ति सेनामा उनी नाटक समूहका कलाकार थिए । उनले सन् १९६० देखि लेख्न थालेका थिए । ओयाङ हाइको गीत उपन्यासमा हुनान प्रान्तको पहाडी इलाकामा बसोबास गर्ने एउटा किसान हेङ बेनको परिवारमा जन्मेको ओयाङ हाइको बाल्यकालको अवस्था र क्रान्तिकारी चरित्र प्रस्तुत गरिएको छ । यो उपन्यास एकजना चिनियाँ जनमुक्ति सेनाका टोली प्रमुखको वास्तविक जीवनमा आधारित छ । एउटा गुडिरहेको रेललाई दुर्घटनाबाट बचाउने प्रयास गर्दा सन् १९६३ मा २३ वर्षको उमेरमा उसले आफ्नो जीवन बलिदान दिएको थियो । चीन चिङ्–माइ १९ वर्षको उमेरमा चिनियाँ  जनमुक्ति सेनामा भर्ती भएका थिए । उनको प्रसिद्ध उपन्यास ‘ओयाङ हाइको गीत’ (१९६६) पूर्णतः वर्गीय दृष्टिकोणमा लेखिएको यथार्थवादी कृति हो । यो नेपाली, अङ्रेजी र बङ्गाली भाषामा पनि अनूदित छ ।

सन् १९६६ देखि चीनमा शुरु भएको दश वर्षे साँस्कृतिक क्रान्तिको अवधि लेखक कविहरुको निम्ति सन्त्रस्त वातावरणमा बित्यो । साँस्कृतिक क्रान्तिको उद्देश्य चिनियाँ  समाजबाट पूँजीवादको अवशेषलाई निमिट्यान्न पार्नु र परम्परागत रुढिग्रस्त समाजलाई नयाँ साम्यवादी समाजमा रुपान्तरण गर्नु थियो । यस अभियानलाई महान् सर्वहारा साँस्कृतिक क्रान्तिको नाउँ दिइएको थियो । साँस्कृतिक क्रान्ति प्रारम्भ भएपछि चीनको वातावरण सन्त्रस्त र अस्तव्यस्त बन्यो । यस अवधिमा साहित्यिक गतिविधिमा एकप्रकारको शून्यता नै आयो ।

साँस्कृतिक क्रान्ति शुरु भएपछि करिव एक दशक अन्योलको अवस्था रहेता पनि यस अवधिमा केही राम्रा उपन्यासहरु लेखिए । उदाहरणको निम्ति लि सिनतिआनको ‘चम्किलो रातो तारा’, लि रुकिङ्को ‘राता पहाडहरु’, मेङ् वेइजाइको ‘हिजोको सङ्ग्राम’, के फेनको ‘द्रुत अधिकतम ज्वार’ र गुओ चेङ्किङ्को ‘ठुलो चक्कुको कथा’ आदि । साँस्कृतिक क्रान्तिको अन्त्यपछि १९८० सम्ममा फेरि कला र विचार दुबै दृष्टिले राम्रा उपन्यासहरु लेखिन थाले । उदाहरणको निम्ति लि चुनको ‘पूर्वतर्फ बग्ने पहेँलो नदी’, छेन तेङ्खेको ‘गाढा रातो ड्रागन र सिम्रिक फिनेक्स चरो’, ल्याङ् पिनको ‘मुक्तिको कथा’, काउ यिङ्को ‘ताता भिराले चट्टानहरु’, याङ् मोको ‘पूर्वमा विहान’ आदि । सन् १९८१ मा प्रकाशित कु ह्वाको उपन्यास ‘हिबिस्कस नाउँको एउटा सानो शहर’ पनि एक उत्कृष्ट उपन्यास हो ।

निबन्ध

ब्यङ्ग्यात्मक निबन्ध लेख्ने लु स्युनको शैली पछ्याउँदै विभिन्न कालखण्डमा चीनमा निबन्ध साहित्यको विकास पनि हुँदै गयो । त्यस्ता निबन्ध लेखकहरुमा लि क्वाङ् प्रमुख थिए । आफ्नो निबन्धमा ब्यङ्ग्यात्मक शैली प्रयोग गरेकै कारण उनी जेल परे ।

१९६० को दशकमा निबन्ध लेखन परिपक्व हुँदै गयो । ह्वाङ् काङ्, खे यान, सु चि, लि लिङ्सिउ, ह्वाङ् चेङ्यी, छेङ् सुचेन आदि १९७६ पछिका केही सफल निबन्धकारहरु हुन् । आधुनिक चीनमा जीवनी, संस्मरण, यात्रा वर्णन, घटना विवरण आदि विविध विषयमा प्रभावकारी शैलीमा नियात्रा/निबन्धहरु लेखिँदै आएका छन् ।

नाटक

जनवादी गणतन्त्र चीनको स्थापनापछि गीति नाटक (ओपेरा)को तीव्र विकास भयो । ओपेराहरुको सम्बद्र्धन गर्ने सिलसिलामा सरकारी सहयोगबाट नाट्यकर्मीहरुको जीवनस्तरमा सुधार ल्याइयो । गीति नाटकहरुमा जनताले क्रान्तिकारी सङ्घर्षमा देखाएको विरतापूर्ण साहसको अभिनय प्रभावकारी रुपमा प्रस्तुत गरिन्थ्यो । १९६० पछि नयाँ जनवादी शैलीमा लेखिएका रातो लालटिन, नर्कट माझका झिल्काहरु, रणनीतिद्वारा बाघे पर्वतमा कब्जा, सेतो बाघ रेजिमेण्टमाथि हमला, शाचियापाङ्, नागराज नदीको गीत, महिलाहरुको रातो सैन्य दल,  एजालिया पर्वत, समलत मैदानमा लडाइँ, डाइनो जस्ता क्रान्तिकारी गीति नाटक बढी जनप्रिय भए ।

साहित्यका अरु विधाहरु झैँ सम्बाद नाटक पनि क्रमसः फस्टाउँदै गयो । साँस्कृतिक क्रान्ति अवधिभर नाटक लेखन र मञ्चन दुबै गतिहीन अवस्थामा पुग्यो, तर साँस्कृतिक क्रान्ति लगत्तै नाट्य साहित्यमा फेरि प्रगति हुन थाल्यो, तर ती नाटकहरु प्रायः राजनीतिबाट प्रेरित थिए । मूलधारको राजनीति विरुद्ध विद्रोह गर्ने गुट उपगुटका अपराधहरु उद्घाटन गर्दै प्रदर्शित केही नाटकहरु यी हुन्ः ‘दुर्दिनहरु’, ‘अखबार बेच्ने केटाहरु’, ‘प्रभात’, ‘मोडको बिन्दु’, ‘पूर्वतिर कुँच गर’ आदि । १९८० पछि लेखिएका केही सफल नाटकहरु यी हुन्ः ‘याङ्हे नदीको बाढ’, ‘अधिकार र कानुन’, ‘भविष्यको आह्वान’, ‘अध्यात्मक क्षति’, ‘चाइना टाउनको पुराण’, ‘आँधिबेहरीको गीत’, ‘वाङ् झाओजुन’ आदि ।

अन्त्यमा

साँस्कृतिक क्रान्तिपछिको चीनको राजनीतिक वातावरण केही उदार हुँदै गएपछि साहित्यमा पनि विविध शिल्प र विचारधाराहरु आए । साहित्य जीवनका लागि अथवा कलाको लागि भन्ने वहस पनि हुन थाल्यो । साहित्यमा जीवन र जगतका आरोह, अवरोह, प्रेम र सङ्घर्षका कथाहरु प्रस्तुत गरिने भएता पनि त्यस्तो प्रस्तुति सुन्दर कलात्मक शैलीमा हुनु पर्दछ भन्ने धेरैको मान्यता रहेको छ । आधुनिक चिनियाँ  साहित्यमा क्रान्तिकालीन साहित्यभन्दा भिन्न मानवीय भावनाको सूक्ष्म मनोवैज्ञानिक अध्ययन र कलात्मक प्रस्तुति हुने गरेको छ । चीनमा उत्कृट विदेशी साहित्यको अनुवाद हुने गरेको छ । तिनको अध्ययनबाट चीनियाँ साहित्य झन् फराकिलो हुँदै गएता पनि चिनियाँ साहित्य लेखनको मूल आधार समाजवादी यथार्थवाद नै हो ।

सन् १९७६ पछि १९८० सम्मका चिनियाँ आख्यान, कविता र नाटकहरु विगतमा भएका कठोर राजनीतिक कदमहरुबाट सिर्जित भौतिक र मनोवैज्ञानिक पीडातर्फ केन्द्रित भए । अध्यक्ष माओको मृत्यृपछि चीनको राजनीतिमा केही खुलापन आई सन् १९८० को दसकमा सुधारको नीति लागु गरियो । फलस्वरुप साहित्यमा पनि खुलापन आएपछि चीनमा विदेशी संस्कृति भित्रिन थाल्यो । पश्चिमा साहित्यले चीनमा प्रवेश पाएपछि चिनियाँ साहित्यकारहरुले समकालीन विदेशी लेखकहरुको लेखन सीप र शैली सिक्ने मौका पाए । त्यसपछि उनीहरुको लेखन समाजवादी यथार्थवादमा मात्र सीमित नभएर साहित्यका अनेक शैली, सिद्धान्त र दर्शनमा फराकिलो हुँदै गयो । चिनियाँ  भाषाका कृतिहरु विदेशी भाषामा र विदेशी सिर्जनाहरु चिनियाँ  भाषामा अनुवाद हुन थाले । यसरी चिनियाँ साहित्य विश्व बजारमा पुग्यो । चिनियाँ  सिर्जनाहरुको तुलना पाश्चात्य भाषाका कृतिहरुसँग गर्न थालियो ।

१९९० पछि चिनियाँ सेन्सरसिप पनि खुकुलो हुँदै गयो । चिनियाँ  साहित्य अन्तर्राष्ट्रियकरण हुँदै गएपछि यसले विश्वबजारमा लब्धप्रतिष्ठित प्रकाशकहरु पाउन थाल्यो । सन् २००० मा चिनियाँ  मूलका फ्रान्सेली नाटककार तथा उपन्यासकार गाओ सिनजिलानले नोबेल पुरस्कार प्राप्त गरे । उनले जनवादी गणतन्त्र चीनका स्कुलबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए भने सन् १९६२ मा बेइजिङको विदेशी भाषा विभागबाट फ्रेन्च भाषामा डिग्री प्राप्त गरेका थिए । १९८०—८७ कोे अवधिमा चीनका साहित्यिक पत्र पत्रिकामा उनले आफ्ना कथा, निबन्ध र नाटकहरु प्रकाशित गरेका थिए । उनले सन् १९८१ मा ‘आधुनिक आख्यानको कला पक्ष’ विषयक पुस्तक प्रकाशन गरेका थिए । उनी फ्रेन्च नाटककार स्यामुयल बेकेटबाट प्रभावित थिए । उनले धेरै प्रयोगवादी नाटकहरु लेखी बेइजिङको थिएटर अफ पपुलर आर्टमा प्रदर्शन गराएका थिए । उनका नाटकहरु बेढङ्गी र बौद्धिक प्रदूषण भएको भनी चीनमा निन्दा गरियो ।

सन् १९८६ मा उनको एउटा नाटक प्रतिबन्धित भयो । त्यसपछि उनका कुनै पनि नाटक चीनमा प्रदर्शन भएनन् । सन् १९८७ मा उनले चीन छाडे र राजनीतिक शरणार्थीको रुपमा प्यारिसमा बस्न थाले । सन् १९८९ मा उनले कम्युनिष्ट पार्टी परित्याग गरे । उनका धेरै कृतिहरु विश्वका विविन्न भाषामा अनुदित छन् । उनका कैयौ नाटकहरु विश्वका विभिन्न भागमा प्रदर्शन भैसकेका छन् ।

त्यस्तै सन् २०१२ मा उपन्यासकार मो यानले नोबेल पुरस्कार प्राप्त गरे । समकालीन लेखकहरुका कृतिहरुबाट सिनेमा बनी अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेका छन् । उनको पहिलो. उपन्यास सन् १९८१ मा प्रकाशित भएको थियो । उनको उपन्यास होङ् गाओलियाङ्जियाजु -Red Sorghum_ माथि फिल्म बनेपछि अन्तर्राष्ट्रियस्तरमा उनको नाउँ चम्केर गयो । उनका पुस्तकमा चीनको सामाजिक आलोचना समावेश भएता पनि उनी चीनका अग्रपङ्तीका लेखक भनी चिनिन्छन् ।

मो यान कथा, उपन्यास र निबन्ध बिधाहरुमा लेख्छन् । उनका पहिलेका कृतिहरु त्यस बखतका शासकहरुको चाहना अनुसारका हुने गर्थे भने आज उनी आफ्नो स्वतन्त्र बाटो अवलम्बन गर्दछन् । तिआनताङ् सुआन्ताइ झी जे (The Garlic Ballads) र शेङसी पिलाओ (Life and Death are Wearing Me Out) उनका अन्य महत्वपूर्ण कृति हुन् । उनी मार्खेजको जादुमयी यथार्थवादको वर्णनात्मक शैलीमा लेख्छन् । उनी प्राय आफ्ना कृतिहरु पुराना चिनियाँ  साहित्य र जनप्रिय लोकोक्तिहरुबाट प्रारम्भ गर्दछन् र तिनलाई समसामयिक सामाजिक प्रकरणसँग जोड्छन् ।

चीनमा व्यापार व्यवसाय गर्न विभिन्न प्रकारका छुट र सुविधाहरु दिइएता पनि अभिव्यक्ति स्वतन्त्रताको नाममा समाज विरोधी गतिविधि सञ्चालन गर्न र साम्यवाद विरोधी प्रतिक्रियावादी रचना प्रकाशन गर्न भने रोक लगाइएको छ । चीनले व्यापारमा उदारवादी नीति अवलम्बन गरेता पनि खुलापनको नाममा सामाजिक–राजनीतिक संरचनामा खलल पु¥याउने खालका प्रतिगामी प्रकाशनहरु र चीनको सामाजिक व्यवस्थामा क्षति पु¥याउने सामाजिक सञ्जालहरुमा समेत रोक लगाउने गरेको छ ।   

            काठमाडौं

मिरा बरालको गजल

लाग्दैछ विश्वासघात गर्ने कै बढी विश्वास लाग्दैछ
मायाको परिभाषा दिन्छौ मलाई बकवास लाग्दैछ ।

जुन मान्छेले मलाई मरोस् भनेर खाडलमा धकेलेथ्यो
किन किन ? त्यहि मान्छे आज मलाई खास लाग्दैछ ।

मलाई लाचार बनाएर न घरको न घाटको बनायौ
छन त छ रङ्गिन दुनियाँ यो जिन्दगी उदास लाग्दैछ।

खै गयो रे ऊ मायाको खोजीमा भौतारिदै भन्छन्
वर्षौं भयो यी ओठसँग नबोलेको आभास लाग्दैछ ।

सायद कोहिनुर पाएछौ यो अभागी मिरालाई छोड्यौ
यहाँ म रित्तो रित्तो छु तिम्रो जीवन मधुमास लाग्दैछ ।
–चितवन

आँचल मकवानपुरले वक्तृत्वकला प्रतियोगिता गर्ने

मङ्सिर २०, मंगलबार मकवानपुर ।
हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको सहकार्यमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको छ ।

सो प्रतियोगितामा एक विद्यालयबाट बढीमा २ जना विद्यार्थी सहभागी हुनेछन् भने सहभागिताका लागि मङ्सिर २२ गते दिउसोको ४ बजेसम्मका लागि नाम दर्ता गराउनु पर्नेछ ।

यही मङ्सिर २३ गते शनिबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विद्यालयस्तरीय (६-१०) “लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता हुने संस्थाका अध्यक्ष भावना सापकोटाले बताउनु भयो ।

प्रतियोगिता साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त सभाहलमा दिनको ११:०० बजे हुने सूचनामार्फत् जानकारी गराइएको छ ।

विजयी प्रतियोगीहरूलाई प्रथम पुरस्कार ३ हजार, द्वितीय २ हजार, तृतीय १ हजार र सान्त्वना ५ सय रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक निर्मला ब्लोनले जानकारी दिनुभयो ।