Home Blog Page 49

कविता : रङ्गीन सपनाहरू, समय र देश || भावना सापकोटा 

देश-
समयको आँगनमा पल्टेर
रङ्गीन सपनाहरू उड्दै गर्दा
भुन्टेका बाबाहरू
तावामा रोटी पोल्दै थिए-पेट भर्न
कालेकी आमाहरू
आगो ताप्दै सेकाइरहेथे
हातका पञ्जाहरू-
खुट्टाका पाइतालाहरू-
र कहिले ओभाउन नसकेको मन
पहिरो खस्दै गरेको भित्ताझैँ
अनुहारमा
जूनको उज्यालो टल्किँदा
लाग्थ्यो-
उसकै अनुहारमा मूल फुट्दै छ-खुसी
पिठ्युँमा जिन्दगीको ठूलै भारी बोकेर
उकाली ओराली गरिराखेका
मनमायाहरू-
बिसाउन चाहन्थे
पीडाको पहाड चौतारीमा
थोत्रिएको समय लेख्दै
बूढो भएको कवि
नयाँ युग कोर्न चाहन्थ्यो,
उसका प्रत्येक कवितामा
हजुरबा/हजुरआमाले
आफ्नो
नाति/नातिनी
==========
हेरेर मर्न चाहेझैँ
चित्रकार-क्यानभासमा
जीवनका रङैरङहरू
भर्न चाहन्थ्यो
मूर्तिकार-
सबैभन्दा साहसीको
मूर्ति कुँद्न लालयित थियो
सबै सुरहरू मिलाएर
बिछट्टै राम्रो धुन
निकाल्न चाहन्थ्यो सङ्गीतकार
इन्द्रेणीझैँ राम्रा सपनाहरू
देशको कोण प्रतिकोणबाट
खिचिएका तस्बिरहरू-
जीवनका फूलझैँ सुन्दर पाटाहरू
उत्खनन् गर्न चाहिरहेथ्यो
सङ्गीन घडीहरूमा उभिएर समय
सानो बालक-
कागजमा एउटा सुन्दर चित्र कोर्दै थियो
मानौँ त्यो उसकै स-चित्र भविष्य हो
हामी पनि कामना गरिरहेथ्यौँ
देशका हर सपनाहरू विपना होऊन् ।

भावना सापकोटा, मकवानपुर ।

अनुवाद शृङ्खला ६ : मणि मोहनका दश कविता || -निमेष निखिल

मणि मोहन (१९६७) भारको मध्यप्रदेश निवासी हुन् । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तथा शोध उपाधि हासिल गरेका यिनका रचना तथा अनुवाद देशमा महत्त्वपूर्ण साहित्यिक पत्रपत्रिकाहरूमा प्रकाशित छन् । यिनका वर्ष २००३ मा ‘कस्बे का कवि एवं अन्य कविताएँ’ तथा वर्ष २०१३ मा `शायद´ कविता-सङ्ग्रह प्रकाशित छन् । यिनी पेसाले प्राध्यापक हुन् । यिनी छाेटा संरचनाका सूत्रात्मक कविता लेख्न रूचाउने कवि हुन् । यिनकाे एउटा अनूदित कविता सङ्ग्रह पनि प्रकाशित छ ।

* धार
घुमाइदेऊ अरु एकचोटि
दुखको पाङ्ग्रो
अहिले जीवनमा
अझै अरु
धार लाग्न
बाँकी छ ।

* गुलाब
बडो अधुरोजस्तो लाग्दै छ
यो गुलाब
रङ
बासना
ताजापन
सबैथोक त छ
छैन भने
मात्र कुनै काँडा
बिझाइरहे झैँ छ
यो गुलाब ।

* यो जून
कथा सकियो
तर चाहन्थ्यो एउटा हठी बालक-
यो नसकियोस् अहिले
कथाको अन्त्यबाट उसले
टिप्यो पूर्णविराम
र फ्याँकीदियो
अन्धकार आकाशतिर ।

* त्यान्द्रो र भाषा
निकै गह्रौँ हुन्छ
एउटा त्यान्द्रो पनि
सोधिहेर कहिले
कुनै चरासँग !

* सपना
जसरी निद्रामा फुलेको
कुनै फूलमा
चुपचाप आएर बसोस्
कुनै निश्चिन्त पुतली ।

* साँझ
साँझ पर्नासाथ
आआफ्नै घरतिर
फर्किए चराहरू
फेरि आज
झारेर गए
आफ्ना छायाहरू
मेरो छतमाथि ।

* गुँड
मात्रै त्यान्द्राहरूबाट
बन्दैनन् गुँडहरू
हेर ! गहिरिएर हेर
यो सृष्टिलाई
देखिने छन्
यताउति
झरेका केही प्वाँखहरू पनि ।

* पराजित
छोडिआएँ
आफ्ना कविताहरूलाई
सम्मान तथा पुरस्कारहरूको
घना र अन्धकार दुर्गमको
मुहानसम्म.
फर्कीआएँ एक्लै
र पराजित ।

* हरेकचोटि दङ्गाम
घरभित्रै
मारियो विश्वास
गल्लीको मोडमा
मारियो मित्रता
गाउँ, बस्ती, सहर, महानगर
मारिए सबैसबै
र, यी सबसँगै
मारियो देश पनि ।

* आकाश
कहिलेकाहीँ
कति स्वाभाविक लाग्छ
यो आकाश पनि
जस्तो कि बेरेकी हौ तिमीले-
हलुका आकासे रङको साडी ।

-मणि मोहन
अनुवाद : निमेष निखिल
स्रोत : kavitakosh.org तथा कवि स्वयम्

निमेष निखिलका केहि कविताहरु

मकवानपुरे साहित्य सर्जकहरू मेरठ साहित्य उत्सवमा सहभागी हुँदै

मंसिर ८, बुधबार मकवानपुर ।
मकवानपुरका साहित्य सर्जकहरूको टोली दिल्लीको मेरठमा आयोजित ‘क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ’ मा सहभागी हुनका लागि प्रस्थान गरेको छ ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, उपाध्यक्ष सानु खनाल, लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेल, कवि बैकुण्ठ लामिछाने र देवेन्द्र कलवार सहभागिताका बुधबार रक्सौल-गोरखपुर हुँदै दिल्लीका लागि जानु भएको हो ।
मेरठमा नोभेम्बर २४-२६ अर्थात् मङ्सिर ८, ९ र १० गते ३ दिने महोत्सवमा काठमाडौं, चितवन र नेपालगन्जबाट सर्जकहरू सहभागी हुने गोरखपुरबाट किशन पौडेलले बताउनु भयो । साथै यसअघिका वर्षहरूमा समेत मकवानपुरबाट सर्जकहरू सहभागी हुने गरेको उहाँले जानकारी दिनुभयो ।
नेपालबाट पुग्नुहुने सर्जकहरूले वृहस्पति भवन, चौधरी चरण सिंह विश्वविद्यालय मेरठमा कविता, गजल, मुक्तक वाचन गर्ने सर्जक डीबी बर्तौलाले जानकारी दिनुभयो ।

मकवानपुरको मुक्तक लेखन, बिगत र बर्तमान / बिर्खे अञ्जान

आमुख:
शनै: मान्छेलाई व्यस्तताले निकै गाँजेको छ । आफूले गर्नुपर्ने काम र योजनाको लामो लिष्ट बोकेर थोरै समयमा धेरै काम सिध्याउनु पर्ने व्यस्तता बीच हतारो, वेचैनी र व्यग्रताका साथ मान्छे-मान्छे जस्तो नभएर मेसिन हुनुपर्ने अवस्था हाल बिद्यमान छ । यसो हुनुको मुल कारण आधुनिक समयले थपिदिएको अभाव र आबश्यक्ता पनि हो । प्राचीन युगमा जस्तो मान्छेका थोरै आवश्यकता र चाहाना अहिले छैन । पहिले जीवनयापनको लागि आवश्यकीय वस्तु न्यून थियो । स्रोत र साधन पनि थिएन । जीवनलाई चाहिने आधारभूत वस्तु र सीमित चाहाना पूरा गर्न थोरै संघर्ष, खोज र मेहनतले पुग्थ्यो । हिजोको जस्तो स्रोत र साधनले आजको अपरिहार्य आवश्यकता पूर्ति पनि हुदैन । नयाँ युगले नयाँ खोजको विकास मात्रै गर्दैन त्यसले नयाँ माग र नयाँ मुद्दाको पनि स्थापना गर्छ । र त दिनानुदिन मान्छेको आवश्यकता बढ्दै गएको छ र त्यसलाई परिपूर्ति गर्न मान्छे मेसिन जस्तै हुनुपर्ने भएको छ ।

जतिजति मानिसका आवश्यक्ता वढ्दै गयो त्यति नै गतिमा स्रोत र साधनको विकासले भौतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण पनि सँगसँगै भयो । जीवनका अपरिहार्य चिजको संख्यात्मकता द्रुतगतिमा वृद्धि हुदै गएको कारण आजको परिवेश, परिस्थितिसम्म आइपुग्दा थोरै समयमा धेरै काम सम्पादन र सम्पन्न गर्नुपर्ने अनिवार्यता देखा परेको हो । मानिसमा जब यी कुरा देखा पर्यो तब देखि नै दिनको २४ घण्टा पनि थोरै हुन थाल्यो । अतः मानिसमा समयसँगै संघर्ष गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाको भूगोलमा आफूलाई अग्रभागमा उभियाउनुपर्ने होजवाजीले समय व्यवस्थापन जटिल मुद्दाको रूपमा खडा हुनु अनौठो होइन । समय सँगसँगै चल्नुपर्ने मानिसको नियति र विधिको विधानमा आफूलाई एकाकार गर्नुपर्ने भएको छ।जो समयसँग चल्न सक्दैन र परिस्थितिसँग अनुवाद हुन चाहादैन ऊ आजको प्रतिस्पर्धात्मक युगमा टिक्न र अस्तित्व निर्माणमा पछि पर्छ । अन्ततः समयसँगै विलिन हुनुपर्ने विडम्बना स्वीकार्नु पर्ने हुन्छ।

आज त्यस्तो कुनै क्षेत्र छैन जहाँ समयको प्रवाह गर्न नपरोस् । हरेक क्षेत्र,  हरेक विधा र हरेक ठाउँमा समय सँगसँगै द्रुतगतिमा आफूलाई रूपान्तरण गर्दै युगसँग चल्नका लागि प्रतिस्पर्धात्मक गुणात्मकता कायम गर्नुपर्ने देखिन्छ । अतः मानिसका निमित्त यो युग चुनौती र अवसर बोकेको स्वर्णिम पल हो । भौतिक निर्माण, सांस्कृतिक व्यवस्थापन र आर्थिक सुदृढीकरण, प्रविधिको प्रयोग, सूचना र संञ्चारको द्रुतता लगायत मनोरञ्जनका अन्य सामाग्रीहरूले मान्छेको खोज र अनुसन्धानको दायरा फराकिलो बनाएको छ । मानवीय संवेदना, मानवीय आबश्यक्ता तथा मान्छेका आवश्यकीय स्रोत र साधनका विषयहरूमा वढो सजक, सतर्क हुदै गुणस्तरीयता कायम गरीकन जीवन र जगतको बिषयलाई बढो गम्भीर ढंगले सोच्दै, समयको पलपल घडीलाई सन्तुलित बनाउँदै अघि बढ्न सकिएन भने सफलताको कल्पना गर्नुको अर्थ र अैचित्य रहदैन । यही सवालमा भाषा, साहित्यले पनि युग सापेक्ष परिवर्तन र रूपान्तरणको खाँचो महशुस गरेको छ । र त ताङ्का, हाइकू लगायत मुक्तकजस्तो छोटो विधाको सिर्जनशील पाटोमा आजको पाठक, आजको स्रोता र आजको बौद्धिक वर्गको चासो रहदै आएको छ । मान्छेलाई आवश्यक मनोरञ्जन र बौद्धिक खुराक प्राप्त गर्ने सामाग्रीमा शुश्मता र लघुतम आकारको विधाले खास स्थान प्राप्त गर्नुको मुख्य कारण मध्य एक समय व्यवस्थापन पनि हो ।

प्रारम्भ

अनेकौं लघुतम आकारका साहित्य विधा मध्ये एक चर्चित विधा हो -मुक्तक । नेपाली साहित्यमा धेरैले कलम चलाउँने तर थोरैले मात्रै सफलता प्राप्त गर्ने विधा पनि मुक्तकै हो । सानो आकारको भइकन पनि लेखनमा कठिनाइ, शसक्त भाव प्रवाह गर्न शब्द सन्तुलनमा सजकता अपनाउनु पर्ने र शक्तिशाली विचार सम्प्रेषणमा कलात्मकता प्रदर्शन गर्नुपर्ने मुक्तक लेखन देख्दा सामान्य लागे पनि सफलता प्राप्त गर्न दिर्घ साधनाको अपरिहार्यता पर्छ । सटिक रूपमा बौद्धिक र बौद्धिक हुँदाहुँदै पनि सामान्य देखिने सामर्थ्य मुक्तक लेखनको अनिवार्य सर्त हो । मनमा लागेको कुरा या दृष्टिकोणलाई तुकबन्दीले घेरिदैमा कुनै पनि सिर्जना मुक्तक हुन्छ भन्नू एउटा भ्रम मात्रै हो । मुक्तकमा विचार, दर्शन, कला र युग सापेक्ष अभिव्यक्ति मुखरित हुनुपर्ने यथार्थता कोही कसैले भुल्नु हुदैन ।

मुक्तक संस्कृत तत्सम शब्द हो । धातुमा “क्तिन्” प्रत्यय लागेर मुक्त शब्द बनेको हो भने मुक्त शब्दमा ” क” (कन्) प्रत्यय लागेपछि मात्र मुक्तक शब्द निर्माण भएको हो । आफैमा स्वतन्त्र वा निरपेक्ष अर्थ वहन गर्ने मुक्तक विधा संस्कृत साहित्यमा पनि लेखिएको प्रमाण यथेष्ट भेटिन्छ । एक श्लोकी चमत्कारपूर्ण अभिव्यक्तिको रूपमा अग्नी पुराणले परिभाषित गरेको छ (मुक्तक श्लोक एवैकश्चमत्कारक्षम : सताम्) । मुक्तक लेखन संरचनागत रूपमा छोटो भएकै आधारमा यसलाई परिभाषित गर्नु गलत हो । भन्न खोजिएको कुरालाई सहजरूपमा अभिव्यक्त गर्दै तर्क संगत शैलीले बिषय बस्तुलाई कडा प्रहार गर्न सकियो भने मात्र वास्तविक अर्थमा त्यो मुक्तक हुन्छ । मुक्तक आफैमा स्वतन्त्र र मुक्त बिधा हो भन्ने कुरा आचार्य विश्वनाथले आफ्नो पुस्तक “साहित्य दर्पण” मा उल्लेख गरेका छन् । त्यहाँ उल्लेख गरिएको यो छ कि- छन्दोबद्ध पदं तेन मुक्तेन मुक्तकम् । छन्दको बन्धनबाट मुक्त भएर लेखिएको रचना नै मुक्तक हो भन्ने कुरा उक्त परिभाषाबाट स्पष्ट हुन्छ । र पनि मुक्तकको आफ्नै सीमा, आधार र पृष्ठभूमि हुन्छ भन्ने कुरा हामीले किमार्थ भुल्न हुदैन । हरेक बिधालाई चिनाउँने निश्चित संरचनागत सिद्धान्त हुन्छ र,  मुक्तक लेखनलाई पनि सहजताका साथ चिन्न उसको आफ्नै वैशिष्ठयता छ । हिजोआज हामीले जसलाई मुक्तक भनिरहेका छौं त्यसको संरचनागत शैली हेर्दा चारपद युक्त “रूवाइ” शैलीका रचनालाई मुक्तक भन्ने गरिएको पाइन्छ ।

मुक्तकको प्रथम र द्वितीय पाउ (पङ्क्ति) मा अन्त्यानुप्रासको सन्तुलन मिलाउँदै तृतीय पाउमा अन्त्यानुप्रासको नियम भङ्ग हुन्छ र चतुर्थ पाउमा भने प्रथम र द्वितीय पाउलाई पछ्याउँने खालको अन्त्यानुप्रास अनिवार्य हुन्छ । अर्थात् पहिलो ,दोस्रो र चौथो पाउमा उस्तैउस्तै अन्त्यानुप्रास मिलाएर कुनै पद्यसँग छुट्टै रही अर्थ दिने तेस्रो पाउ छुट्टै जस्तो देखिँदा देखिदै पनि हतारका साथ चौथो पाउमा कथ्यसँग एकाकार हुन जानुमै यसको विशेष चमत्कार छ।पुतलीले फूललाई छूँ-छूँ गरेर नछूँ झैं गरि उडेर फेरि फूललाई छोए जस्तो मुक्तक लेखनको विशेषता हो ।  यथा: 

नक्कली नै विज्ञापित छ त्यसकै ठूलो मोल हुन्छ 
भित्र जस्तो सुकै जे होस् हेर्दा राम्रो खोल हुन्छ । 
आदर्शको तर्क अनि जो देखिन्छ निष्ठावान 
व्यबहार कालोमैलो गन्हाउँने झोल हुन्छ । (-बिर्खे अञ्जान)

मुक्तकले व्याख्या गर्दैन संकेत मात्र गर्ने हो । विषयको केन्द्रीययतालाई प्रमुखता दिएर प्रसङ्गताका साथ भन्न खोजिएको सन्दर्भमा बडो चमत्कारिताका साथ शब्द संयोजन गर्नु आवश्यक छ।मुक्तक आफैमा पुर्ण हुन्छ । चार लाइनमा विषयवस्तुको आरम्भ, विकास र अन्त्य गर्नुपर्ने यसको आफ्नै सैद्धान्तिक मान्यता हुन्छ । एउटा मुक्तकको भाव अपूर्ण भएर अर्को मुक्तकले पूरा गर्न मिल्दैन । थोरै शब्दले भावको गहनता बेजोडका साथ अभिव्यक्त गर्नुपर्ने मूल्यमान्यतालाई आत्मासात गर्दै स्रष्टाले मुक्तक सिर्जना गर्नुपर्ने दायित्व सधैव हेक्का राख्न जरुरी छ । छोटो संरचनामा लेखिएको सबै सामाग्री मुक्तक हुदैन भन्ने कुरा पनि मुक्तक लेखिरहँदा सोच्न सकियो भने सुनमा सुगन्ध हुन्छ।

मुक्तक काव्य सिर्जनाको एउटा भेद हो । र यसको लेखकीय इतिहास पनि पुरानो छ । उर्दू, फारसी, हिन्दी भाषा हुदै नेपालीमा पनि मुक्तक लेखनको परम्परा लामो भैसकेको छ । वि. सं. १८३९ तिरबाटै नेपाली भाषामा मुक्तक लेखनको आरम्भ भएको तथ्य इतिहासमा भेटिन्छ । शक्तिवल्लभ अर्ज्याल नै नेपाली मुक्तकका प्रथम स्रष्टा हुन भन्ने प्रमाण उनका “तनहुँ भकुण्डो” शीर्षकका दुई श्लोकबाट स्पष्ट हुन्छ । नेपाली कविता लेखनको प्रवृत्तिगत अध्ययन र अनुसन्धानको जग खोतल्दै जाने र तिनको प्रारम्भिक लेखनको मूल्यांकन गर्ने हो भने मुक्तक लेखनको श्री गणेशबाटै स्रष्टाले कविता सिर्जनाको यात्रातय गरेको भेटिन्छ । समस्यापूर्ति लेखन परम्पराबाट यसको थालनी भएको हो भन्ने कतिपय विद्वानहरूको तर्क पनि छ । मुक्तक नै लेख्छु भनेर नलेखिएता पनि आजको खोज अनुसन्धानबाट शम्भुप्रसाद ढुङ्गेल, लेखनाथ पौडेल र मोतीराम भट्टले लेखिएका कतिपय सिर्जना मुक्तक कोटीमा परेको प्रमाणित छ । र पनि आज हामीले जुन शैलीमा लेखिएको सिर्जनालाई मुक्तक भन्छौं त्यो शैलीमा हिजोको मुक्तकहरूको संरचना पाइदैन ।

समय, परिवेश अनुरूप क्रमिक रूपमा परिमार्जन, विकास हुदै लोकप्रिय भएको आजको चतुष्पदीय शैली नै मुक्तक लेखनको विधागत मापन भएको छ । कतिपय मुक्तककारहरू अनुप्रासको बलमा चार लाइन लेखे पश्चात् मुक्तक भयो भन्ने भ्रममा पर्छन् । तुकवन्दी मिलाएर लेख्दैमा पनि वास्तविक मुक्तक सिर्जना हुदैन । भन्न खोजिएको विषयवस्तुलाई सजीवताकासाथ कलात्मक व्यङ्ग्यको प्रयोग गर्दै स्वादिष्टताका साथ सन्दर्भको अन्त्य गर्नुपर्ने सामर्थ्य मुक्तकले बोकेको हुन्छ । अतः मुक्तकलाई तुकबन्दीको खेलौना नबनाई तीरको रूपमा प्रयोग गर्न सकियो भने त्यसले सहजै पाठक वा श्रोतालाई मनोरञ्जनका साथसाथै बौद्धिक चेतनाको प्रवाह गर्न सकिन्छ ।

व्यङ्ग्यात्मकता ,बौद्धिक चेतना,समसामयिकता र शब्दको कलात्मकताबाटै स्तरिय मुक्तकको परिचान हुने भएकाले सपाट,दुर्वोध्य तथा क्लिष्टताबाट मुक्तकलाई टाढै राख्न आवश्यक पर्छ।

उमर खैयामको रूवाई तथा हरिवंश रायवच्चनको “मधुशाला” मुक्तकको लोकप्रियताको प्रसङ्ग नियाल्दा आँउने नाम हुन् । जीवन र जगतको वास्तविकता, दार्शनिकता र समसामयिक विषय माथि कटाक्ष प्रहार गर्ने सामर्थ्यता बोक्ने जुन गुण मुक्तकमा छ त्यसकै कारण पनि यो विधा लोकप्रिय छ । नेपाली भाषा, साहित्यको उठान र त्यसको चर्चा गरिरहदा मुक्तक सिर्जना नगर्ने र यसलाई मन नपराउँने कोही भेटिदैन । जसले साहित्य सिर्जनालाई आफ्नो रूचिको विषय ठान्छ त्यसले जीवनमा मुक्तक नलेखि बस्न सक्दैन । नेपाली मुक्तकको प्रारम्भतिर फर्केर हेर्ने हो भने भीम दर्शन रोक्कालाई चतुष्पदीय शैलीमा मुक्तक लेख्ने प्रथम स्रष्टा मान्न सकिन्छ । परन्तु उनले जेजति सिर्जना यो शैलीमा लेखे त्यसलाई मुक्तक भनेर कहिले छापेनन् । वि. सं.२०१० मा प्रकाशित “प्रगति” पत्रिकाको बर्ष-१ अंक-३ मा उनको ५ वटा मुक्तक प्रकाशित छ । त्यसलाई नै मुक्तकको आधुनिक काल मान्नुपर्छ भन्ने विद्वानहरूको तर्क पनि छ । फुटकर रूपमा मुक्तक लेख्दै गरेपनि कृतिगत रूपमा भीम दर्शन रोक्काको “घाम डुवी तारा नउदाएको आकाश” कृति प्रकाशनको कार्य चालिसको पूर्वाद्धमा भएको देखिन्छ । तर यो तिथि भन्दा धेरै अगाडि विं सं.२०२४ माघमा “सय थुङ्गा फूल” नामक मुक्तक सङ्ग्रह प्रकाशन गरेर कृष्णप्रसाद पराजुलीले ऐतिहासिकता कायम गरेको तथ्य प्रमाणित हुन्छ । उनले “मुक्तक” शब्दको उल्लेख गरी विं सं. २०२० फागुनमा भारतको वनारसबाट प्रकाशित हुने “उजेली” पत्रिकामा आफ्नो मुक्तक प्रकाशन गर्नुको साथै विं सं.२०१० साउनमा काठमाडौंबाट प्रकाशित हुने “रूपरेखा” पत्रिकाको पूर्णाङ्क-३९ मा आफ्नो ७ वटा मुक्तक प्रकाशित गरि यो विधाको लेखन र प्रकाशनको शिलान्यास गरेको प्रमाणित तथ्य भेटिन्छ । विं सं.१५/१६ सालतिर भीम दर्शन रोक्काको शैली अवलम्बन गरेर धेरै स्रष्टाहरूले मुक्तक लेख्न थालेको पाइन्छ । कसैले चोइटा, कसैले टुक्रा र कसैले मुक्तक नाम दिएर लेख्न थालिएको यो विधामा टेकबहादुर नवीन, भीमनिधि तिवारी, भूपि शेरचन, हरिभक्त कटुवाल, कृष्णप्रसाद पराजुली, यादव खरेल, वासुशशी, मोहन हिमांशु थापा लगायतको श्रम, पसिना प्रारम्भिक समयमा मिसिएको देखिन्छ । समयको गति र मुक्तकले पार्ने प्रभावबाट लोभिएर जैनेन्द्र जीवन, विजय बजिमय, सरूभक्त, ज्ञानुवाकर पौडेल, उषा शेरचन, विश्व शाक्यहरूले पनि निष्ठाका साथ मुक्तक लेखनलाई निरन्तरता दिएको भेटिन्छ ।

मकवानपुर र मुक्तक

नेपाली भूगोलमा जब मुक्तकले प्रवेश पायो त्यो बेला देखि नै क्रमशः यसले आफ्नो अस्तित्व निर्माण सँगै वर्चस्व कायम गर्न थालेको तथ्य हामी सामु जीवित छ । सामाजिक चेतना, काल चेतना, राजनीतिक चेतना र प्रणय चेतना समेतलाई मुखरित गरि पाठक र श्रोतालाई आफूतिर ध्यानाकर्षण गर्न सक्ने जुन सामर्थ्य र हैसियत मुक्तकमा विद्यमान छ त्यसको कारणले पूर्व मेची देखि पश्चिम महाकालीसम्मका कलमकर्मीहरूको प्रिय विधा बन्न सफल मुक्तक लेखन मकवानपुर जिल्ला पनि अछुतो रहन सकेको छैन । संवेगात्मक चेतना र वैचारिक आवेग हुने भएकाले मुक्तक लेखन पछिल्लो समयमा बहुचर्चित भएको प्रतीत हुन्छ । कवितामा जस्तै मिथिकीय बिम्ब र प्रतीकहरूको व्यापकता मुक्तकमा पनि हुने भएकाले विभिन्न विषय र परिवेशमा केन्द्रीकृत हुँदै मुक्तक लेख्न सक्ने जुन मार्ग तय भएको छ त्यसले पाठक र लेखक दुवैलाई आक्रशित गरेको छ।

मकवानपुर जिल्लामा मुक्तक लेखनको त्यति लामो इतिहास भेटिदैन । नेपालको केन्द्र भागमा अवस्थित मकवानपुर जिल्ला शैक्षिक रूपमा, बौद्धिक रूपमा र भाषिक रूपमा सम्पन्न ठाउँ हो । त्यसो त प्राकृतिक रूपमा रमणीय र भौतिक रूपमा विकाशोन्मुख जिल्ला पनि हो । र, पनि साहित्य गतिविधि, विधागत लेखनको निरन्तरता, संस्थागत प्रयासका कामहरू आशातित हुन सकिरहेको छैन । व्यक्तिगत पहुँच, लगानी र योगदानबाट जेनतेन चलेको मकवानपुरे संस्थागत साहित्यको गतिविधिले विधागत विविधतामा स्थापित हुनसक्ने नगन्य स्रष्टाहरूको उदय हुनु आफैमा दु:खलाग्दो कुरा हो । विधागत लेखनको नेतृत्व गर्ने संस्था भएपनि प्रभावकारी ढंगले गतिविधि संञ्चालन गर्न नसक्दा मकवानपुर जिल्ला मा मुक्तक लेखनको प्रचुरता कायम गर्न सकिएको छैन । रहर, लहड र शौखमा मात्र केन्द्रीकृत मकवानपुर जिल्लाको मुक्तक विधा भर्खर मात्र वामे सर्ने तरखरमा छ । वसिवियालोको रूपमा आक्कल झुक्कल मुक्तक लेख्ने स्रष्टाहरू धेरै भएपनि मुक्तक लेखनलाई नै पहिचान वनाएर प्रतिबद्ध रूपमा लेख्ने स्रष्टा कम हुनु दु:खद सन्दर्भ पनि हो ।

पचासको दशकको पूर्वार्द्धबाट कृतिगत रूपमा मुक्तकले प्रवेश प्राप्त गरेतापनि त्यस भन्दा उताको कालखण्डमा किन मुक्तक लेखन हुन सकेन भन्ने तर्फ लाग्नु एउटा सन्दर्भ र जिज्ञासा त रहला, तैपनि भौगोलिक रूपमा विषमता भएको यो जिल्ला र यहाँ बसोबास गर्ने आम नागरिकको आर्थिक हैसियत, सामाजिक परिवेश, राजनैतिक परिवर्तनको प्रभाव र बौद्धिक वर्गको उदय र उपस्थिति जस्ता धेरै कारणले साहित्यमा प्रभाव पार्ने भएकोले आजको धरातलमा बसेर हिजोको मूल्यांकन गर्नु उचित हुदैन । इतिहास धुलोले पुरिदैमा मेटिदैन । परन्तु केही दिन यथार्थता छोपिन मात्र सक्छ । हो त्यो यथार्थ आज हामीले अनुमान र महसुस मात्रै गर्न सक्छौं । इतिहासको त्यो खण्डमा मुक्तक सिर्जनामा किन कमी देखियो भनेर खोतल्ने हो भने केही बूँदागत तथ्य सार्वजनिक हुन्छ । जस्तो : 

# दैनिक जीविकोपार्जनको लागि संघर्ष
# शैक्षिक चेतना र विकासको अभाव
# बौद्धिक वर्गको उदय र तिनको वैचारिक तथ्य स्थापित नहुनु
# साहित्यलाई आम नागरिकले हेर्ने दृष्टिकोणमा नकारात्मकता
# लेखनले तत्कालीन समस्याको सावधान र सन्तुष्टि नभेटिनु
# संस्थागत साहित्यको अभाव र विधागत पहिचानको खोजी
# साहित्य सामाग्रीको अभाव र विधागत पहिचानको खोजी
# साहित्यको महत्त्व, प्रचारप्रसार र सूचना सम्प्रेषणको कमी ।

उल्लेखित तथ्य र कारणहरूको बीचबाट पनि धेरथोर मकवानपुरे माटोमा मुक्तक लेखनकार्यमा स्रष्टा समर्पित हुनु गौरवबोधको कुरा हो । आगामी दिनमा यो विधाबाट नै आफूलाई स्थापित गरी मुक्तकलाई व्यापक बनाउने स्रष्टाहरूको आगमन नहोला भन्न सकिदैन । शैक्षिक केन्द्रको विकास सँगसँगै पठन संस्कृतिको प्रबर्द्धन हुन्छ र त्यसबाट सामाजिक पहिचान सहित आफूलाई जीवितै बनाउन गरिदिने यावत् क्रियाकलापले नैतिक मूल्य र मान्यताकासाथ निजत्वको खोजी गरि बौद्धिकताको प्रदर्शन गर्ने बजार जब विकास हुन्छ त्यसले नै क्रमशः हरेक सम्भावनाको ढोका खोलिदिन्छ । ज्ञान, विज्ञान र क्षमताको प्रतिस्पर्धा भित्रबाट साहित्य विकासको मुहानको पहिचान, खोज र अनुसन्धानले ब्रान्ड सहितको सिर्जना पाठकले माग गर्छ । र, त्यसकै धरातलबाट क्रमशः शुद्धता सहितको वैचारिकता, सार्थकता र परिवेशको पहिचान बोकेको साहित्यको सिर्जना बिक्ने स्थिति कायम हुन्छ । त्यतिखेर नै बजारले गुणात्मकता सहितको सिर्जना प्राप्त गर्दछ । त्यो सम्भावनाको खोजमा मकवानपुरे माटो प्रतिक्षारथ छ । र, पनि प्राप्त भएको उपलब्धिलाई कम आँक्न नमिल्ने यथार्थको बीचबाट समसामयिक मुक्तक लेखनमा यस जिल्लाको योगदान र प्रकाशित कृतिहरूको सूश्म अध्ययन गर्नु सान्दर्भिक ठहर्छ।

नेपाली साहित्यमा लेखिने अनेकौं विधा छन् । ती सबै विधाको प्रतिबद्ध लेखन मकवानपुरबाट पनि भएको देखिन्छ । एउटै विधालाई आफ्नो प्रमुख विधाको रूपमा लेखन, समर्पण र आस्थावान स्रष्टाहरूको कमी भएता पनि सबै विधामा कलम चलाएर आफ्नो निजत्व कायम गर्न चाहाने स्रष्टाको कमी मकवानपुरमा छैन । मूलतः काव्य (कविता) विधामा केन्द्रीकृत भएर लेख्ने स्रष्टाहरूको बाहुल्यता रहेको मकवानपुर जिल्ला भित्र सिङ्गै नेपालले टाढैबाट चिन्न सक्ने हैसियत निर्माण भएका साहित्यकार कम छन् । समृद्धतातर्फ अभिमुख यो जिल्ला भाषिक, सांस्कृतिक र साहित्यिक दृष्टिले उर्वर भूमि हो । यस आधारमा मकवानपुर जिल्लाबाट प्रकाशित साहित्यका कृतिहरू मध्ये मुक्तकले पनि आफ्नो स्थान स्पष्ट गरेको छ । तीनै कृतिहरूको प्रवृत्तिगत परिचय सहित संक्षिप्त विवरण यहाँ प्रस्तुत गर्न खोजिएको छ ।

( क) चास्सचुस्स (२०५२ बैशाख १)

चास्सचुस्स मकवानपुर जिल्लाबाट प्रकाशित संयुक्त कृति हो । जसको सर्जक हुन् आरआर चौलागाईं र केशव श्रेष्ठ “ज्योति” । हाइकु, छोक र मुक्तक गरि तीनवटा विधाहरूको समिश्रण गरि उक्त कृति तयार भएको छ । मकवानपुरे माटोमा प्रथम पटक मुक्तकलाई स्थान दिएर प्रकाशित यो नै प्रथम कृति हो । जसभित्र चौलागाईंको १२ वटा र श्रेष्ठको ४ वटागरि जम्मा १६ थान मुक्तकहरू सङ्ग्रहित छन् ।

हाल प्रचलनमा आएको चतुष्पदीय शैली उक्त कृतिमा देखिदैन । झट्ट हेर्दा छोटो कविता झैं लाग्ने उक्त मुक्तकहरूको विषय, विचारको प्रवाह र कटाक्ष पूर्ण अभिव्यक्तिका कारण मुक्तकले बोकेको गुण र स्वाद भने यथेष्ट पाइन्छ । आजका नयाँ पुस्ताले त्यसलाई मुक्तकको रूपमा स्वीकार गर्न आनाकानी र गाह्रो माने पनि त्यतिबेलाको अवस्था, अन्य स्रष्टाहरूले पनि लेख्दै आएको सोही परम्परालाई टेकेर आरआर चौलागाईं र केशव श्रेष्ठ “ज्योति” ले मुक्तक लेखनमा हात हालेको देखिन्छ।

नेपाली मुक्तक लेखनमा क्रियाशील व्यक्तिहरूले हिजोआज ए ए बी ए को चतुष्पदी ढाँचामा मुक्तक लेखी सोही शैलीलाई मानक मान्नु पर्छ र त्यसका अतिरिक्त जेजस्तो शैलीमा मुक्तक भनेर लेखियो त्यो मुक्तक होइन भन्ने तर्क अघि सारेता पनि विरासतबाट प्राप्त स्वरूप र शैलीलाई अवमूल्यन गर्नु हुदैन र समय, काल र परिस्थिति अनुसार संरचित त्यस्ता सामाग्रीहरूलाई उच्च सम्मान गर्दै पछिल्लो समयमा लेखिदै आएको चतुष्पदी शैलीलाई विकास गर्दै संरचनागत एक रूपता कायम गर्नुपर्छ भन्ने तर्क पनि आफैमा सोचनिय र मननीय छ । वर्गीय विभेद, राजनीतिक विसंगति र समसामयिक चेतनाको स्वरहरू नै “चास्सचुस्स” कृतिमा समेटिएका मुक्तकहरूको मूल स्वर हुन् । परिष्कार र परिमार्जनको आवश्यकता बोध हुने उक्त कृतिका सिर्जनामा सांस्कृतिक अराजकता ,बौद्धिक विक्रयता, अस्मिताको अपहरण जस्ता तत्कालीन परिवेशका घटनाहरूलाई खरो र दरो रूपमा चित्रण गरिएको छ।

 (ख) भोको मझेरी, (२०६८)

त्यसो त मान्छे आफैमा चेतनशील प्राणी हो । र पनि आम मान्छेले भन्दा पृथक दृष्टिकोणबाट कुनै पनि घटना, परिवेश र परिस्थितिलाई मूल्यांकन गर्ने प्रवृत्ति स्रष्टामा हुन्छ । संवेदनाको गहिराइमा पुगेर विषय माथि मनोविमर्ष गर्दै कलात्मक ढंगबाट वैचारिक अभिव्यक्ति प्रस्तुत गर्ने कौशलताकै कारण स्रष्टाको महत्त्व र गरिमा विशिष्ट छ । लेखन यात्रा सहज छैन । लेखेरै पनि आफूलाई पृथक कोणबाट स्थापित गर्न झनै सजिलो छैन । यही असहज यात्रामा हिड्ने उच्च मनोबल बोकेका युवा पुस्ताको लोभलाग्दो कवि हस्ताक्षर हुन्- पुरूषोत्तम आचार्य । यिनको “भोको मझेरी” मुक्तक सङ्ग्रह २०६८ मा प्रकाशित भएको हो । कुल १०२ थान मुक्तक रहेको उक्त पुस्तकमा जीवनको विविध पाटो र पक्ष अनुदित छ । मूलतः प्रगतिवादी कित्ताको विचार प्रवाह गर्ने आचार्यको सिर्जनामा भूँइ मान्छेको पीडा, वेदना र अभावका आँसु सङ्ग्रहित छ । त्यसो त सबै स्रषहरूले बोल्ने, लेख्ने र सोच्ने विषयवस्तु तिनै हुन् र पनि पुरूषोत्तमका कलमहरूले मानवताको खोजी गर्दै अस्तित्वको औजारमा जीवनको गीत लेखेका छन्।

भोको मझेरी मकवानपुर जिल्लाबाट प्रकाशित मुक्तक मात्रै समेटिएको यो पहिलो कृति हो । यसअघि “चास्सचुस्स”मा मुक्तक विधा पनि समाविष्ट गरिएता पनि उक्त कृतिमा अन्य विधाहरूको पनि उपस्थिति थियो । पुरूषोतम आचार्यद्वारा लिखित भोको मझेरीमा प्रगतिवादी विचार सँगसँगै दमित, उत्पीडित र उपेक्षामा परेका निमुखा वर्गहरूको पीडाहरूको कारूणिक स्वरको उठान गरिएको छ । पृथक चिन्तन र पृथक दृष्टिकोणको साथ आफ्नो साहित्य यात्रामा निरन्तर साधनारथ आचार्य मूलतः मानवीय आवश्यकता, पहिचान र खरो विद्रोह ओकल्ने स्रष्टा हुन्।

 (ग) मनको आँखा (२०७३, असोज)

अनिश न्यौपाने “भावना” मकवानपुर जिल्लाको आशा लाग्दो र साहित्य प्रति निष्ठावान युवा प्रतिभा हुन् । यिनले “मनको आँखा” मुक्तक सङ्ग्रह मार्फत आफ्नो क्षमता र प्रतिभाको परिचय दिएका छन् । २०७३ साल असोज महिनामा प्रकाशित उक्त कृतिमा १२५ थान मुक्तकहरू सङ्ग्रहित छन् । संरचनागत लय विधानलाई समातेर रूवाई शैलीमा लेखिएका यिनका मुक्तकहरूले विभिन्न विषय र परिवेशलाई साङ्केतिक चित्रणकासाथ पीडा, वेदना, मानवीय स्वार्थीपनको सन्दर्भलाई भावुकताकासाथ कतै संवेगात्मक त कतै आवेगात्मक ढंगले आफ्नो विचार प्रस्तुत गरेका छन् । कलिलो उमेरमा पनि प्रौढ विचार राख्न सक्ने हैसियत निर्माण गर्नतर्फ उन्मुख न्यौपानेको सिर्जना सरल मार्गबाट बोधगम्यताको शिखर तर्फ आरोहण गर्दैछन् । अस्तित्वको सङ्कट, स्वत्वको विघटन र स्वमान्यताको विचलन बीचबाट हुर्किएको हाम्रो समाज, परिवेश र परिस्थितिले जन्माएको कठिनाइहरू नै यिनको मुक्तकहरूका प्रमुख विषय हुन् । लेखन कार्य आफैमा जटिल काम हो त्यो भन्दा पनि कठिन कार्य लेखकीय निजत्व स्थापित गर्नु हो । शिल्प, सौर्न्दर्य र सशक्त प्रस्तुति विना आजको प्रतिस्पर्धात्मक युगमा स्थापित हुन् सजिलो छैन । फरक सोच, पृथक अभिव्यक्तिको प्रस्तुतीकरणको अभियानमा क्रियाशील अनिश न्यौपाने मुक्तक लेखन मार्फत आफूलाई वैचारिक गम्भीरता र शैलीगत नवीनताको खोजी गर्न प्रयत्नशील स्रष्टा हुन्।

 (घ) प्रेमको पाइला (२०७०)

वियोगजन्य पीडा बोधबाट प्रस्फुटन भएका कारूणीक भाव अभिव्यक्त गर्ने देवराज खरेलका मुक्तकहरूले नेपाली ले भोग्नु परेको दयनीय अवस्थाको चित्रण गरेको छ । अर्थमुखी मानवीय सभ्यता र त्यसको विकाससँगै संस्कृतिमा हुर्किएको विकृति, विसंगति, विडम्बनाका कटु यथार्थहरू नै उनको मुक्तकहरूको विषयवस्तु हुन् ।

स्वच्छन्दता वादी प्रभावबाट लेखिएका उनका मुक्तकीय सिर्जनामा शिष्ट प्रणय स्वर, निम्न वर्गप्रतिको सहानुभूति प्रचुर मात्रामा पाइन्छ । कलात्मक र युग चिन्तनले माझिएका यिनका अधिकांश मुक्तकहरू अर्थपूर्ण अभिव्यञ्जना र हृदय संवद्य छन् । यान्त्रिक र प्राविधिक संरचनामा थोरैमा धेरै भन्नुपर्ने जुन जटिलता मुक्तक लेखनमा छ त्यसको मर्मलाई पालन गर्दै खरेलले आफ्नो कृतिमा आफ्नो लेखकीय क्षमता भरपूर प्रयोग गरेका छन् । विं सं. २०७० मा प्रेमका पाइलाहरू नामक मुक्तक सङ्ग्रह प्रकाशन गरेर आफ्नो लेखकीय क्षमता प्रदर्शन गरेका खरेलको मुक्तकहरूमा जीवनका घात-प्रतिघात, अभाव, महङ्गी तथा राजनैतिक विसंगतिका स्वरहरू भेटिन्छन् । सुकुमार भाषा शैली र सौन्दर्यपूर्ण अभिव्यक्तिको कारण यिनका मुक्तकहरू पाठकग्राय छन् ।

( ङ) आगतको आँगनी (२०७५)

मकवानपुरे साहित्यमा सक्रिय, जुझारु युवा पुस्ताका सशक्त कवि हस्ताक्षर हुन् डी. बी. बर्तौला । पेशाले शिक्षक भएता पनि तृष्ण राजनैतिक चेत भएका र सामाजिक क्षेत्रमा पनि केही भूमिका निर्वाह गर्नुपर्छ भन्ने दायित्व बोध गर्ने बर्तौला कुशल साहित्य संगठक पनि हुन्।

पछिल्लो समय लघुतम काव्य सिर्जनातर्फ स्रष्टाहरू अग्रसर देखिन्छन् । निश्चित समय र सन्दर्भलाई सहजता पूर्वक अभिव्यक्ति गर्न सकिने भएकोले पनि मुक्तक लेखन तर्फ युवा पुस्ताको चासो, सरोकार र समर्थनको विषय बनेको हो । विचार सम्प्रेषणका आधारले प्रभावकारी र पाठकलाई सहजै आकर्षण गर्नसक्ने सामर्थ्य मुक्तकमा विद्यमान हुनुकै कारण साहित्य यात्राको प्रवेश विन्दुको रूपमा यसलाई लिएको पाइन्छ । यस आधारलाई टेकेर आफ्नो कला, बौद्धिकता र सामर्थ्यको खोजी गर्दै नेपाली साहित्य आकाशमा उदाएका आशा लाग्दा प्रतिभा हुन्-डी. बी. बर्तौला । मिलनसार र भद्र स्वभावका धनी बर्तौला उत्तर प्रयोगकालीन मुक्तककारका रूपमा स्थापित छन् । आफ्नो पहिलो कृतिको रूपमा सार्वजनिक भएको “आगतको आँगनी” २०७५ साल जेष्ठ महिनामा बजारमा आएको हो । कुल १०१ वटा मुक्तक सङ्ग्रहित उक्त कृतिका सिर्जनाहरूले मानवीय संवेदनायुक्त जीवन चेत र समसामयिक परिवेश, परिस्थितिले सिर्जना गरेको चुनौती र त्यो चुनौतीले निम्त्याएको समस्याको जटिलताका सन्दर्भहरू उठान गरेका छन् । व्यक्तिगत जीवनका गुनासा ,पीडा र आक्रोश सँगसँगै एकाकार भएर देश रोएको, राष्ट्रियता खतरामा परेको र सामाजिक संरचनामा विचलन तथा विकृति खडा भएको सन्दर्भ नै यिनका मुक्तकहरूको मूल विषयवस्तु हुन् । सिधा र स्पष्ट रूपमा आफ्नो विचार अभिव्यक्त गर्दै विषयवस्तुमा प्रवेश गर्ने प्रवृत्ति बोकेका बर्तौलाका मुक्तकहरूले गम्भीरता भन्दा सरलता र बौद्धिकता भन्दा संवेदनशीलताको मार्ग अवलम्बन गरेको पाइन्छ।

( च) क्षितिज-यात्रा (२०७५, फागुन)

नेपाली साहित्यमा मुक्तक लेखनको यात्रा तयगर्ने अनेकौं यात्रीहरू छन् । ती मध्ये एक हुन्- विश्वनाथ सञ्जेल । सरल स्वभाव र शालीन व्यवहारका धनी सञ्जेल जीवनको पाठशालामा संघर्षको यात्रा गर्ने क्रियाशील व्यक्ति हुन् । कौतुहलता र जिज्ञासाका प्रश्नहरू बोकेर समयका आयामहरूमा यथार्थको खोज गर्ने प्रवृत्ति साथमा बोक्दै आफ्नो जिम्मेवारीलाई नैतिक निष्ठाका साथ सम्पादन गर्ने आदत यिनमा विद्यमान छ । स्पष्ट वक्ता र उत्कृष्ट उद्घोषण कला भएका विश्वनाथ सञ्चेलको दोस्रो सन्तानको रूपमा “क्षितिज-यात्रा” नामक मुक्तक सङ्ग्रह पाठक समक्ष देखा परेको छ।

जीवनलाई आफ्नै ढंगले परिभाषित गर्ने र समसामयिक घटनालाई फरक दृष्टिकोणले हेर्ने यिनको अन्तर चेतना जो छ त्यसले लेखकीय पृथकता कायम गरेको छ । आक्रोश, आवेग र उत्तेजना भन्दा पनि शालीन आग्रह र अनुरोधको छायांकन सञ्जेलको मुक्तकमा पाइन्छ । क्रोध र कुण्ठा मात्र पनि सिर्जनाको स्रोत होइन भन्ने मान्यताको पक्षधर झैं लाग्ने विश्वनाथको मुक्तक पढ्दा कतै आशा, कतै भरोसा र कतै निष्ठाका सुवास भेट्न सकिन्छ । मौलिकतामा कला भर्दै समयलाई सम्बोधन गरि गन्तव्यमा पुग्न, गर्नुपर्ने संघर्षको दुखान्त घटनाको अभिलेखिकरण “क्षितिज-यात्रा” मा गरिएको छ । वर्गीय उत्पीडन, क्रान्ति चेतना र विद्रोहको ससाना झिल्काहरूको सांकेतिक हमलाद्वारा सिघारिएका यिनको मुक्तकहरूले वर्तमान समयमा घटेका यावत् घटनाहरूको चित्र सहज र स्पष्टताका साथ अनुवाद गरेको छ।

(छ) विसङ्गत वर्तमान (२०७७ चैत २८)

कवि तथा गजलकारको रूपमा आफ्नो अलग पहिचान बनाइ सकेका दीपक गौतम, मकवानपुरको ग्रामीण क्षेत्र छतिवनमा जन्मी हुर्केका र हेटौंडालाई आफ्नो कर्मथलो बनाउँदै आँउनु भएका युवा पुस्ताका जुझारु स्रष्टा हुन् । नयाँ पुस्तालाई लेखनको उर्जा र उत्साह जागृत गर्दै साहित्यको संस्थागत विकासमा सक्रिय गौतमको “विसङ्गत वर्तमान” मुक्तक सङ्ग्रह प्रकाशित छ । आफ्नो समाज, संस्कृति र सभ्यतामा देखेका,  भोगेका र अनुभूत गरेका समयको रङ्गलाई कुशलता पूर्वक,  तथा निर्भीक रूपमा मुक्तकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । यिनको मुक्तकहरूमा विषयको विविधता त छदैछ, यद्यपि ती विषयवस्तुको चापभित्र सिर्जनामा हृदय संवेद्यता कायम गरि वैचारिकतामा बहुआयामिक सघनता प्रदान गरेका छन्।

सामान्य जीवन बिताइहेका व्यक्ति, समुदायहरूक‍ो कथा, व्यथा र आर्दनादलाई लेखकीय एजेन्डा बनाएका गौतमको मुक्तक सिर्जनाले बौद्धिक पाठक भन्दा पनि आम पाठकको माग गर्दछ । ससाना विषयवस्तु पनि गम्भीरता पूर्वक उठान गरेर दमित, पीडितहरूको स्वरलाई मुक्तकको कथ्य बनाउनु उनको लेखकीय बिशेषता हो । गौतमका मुक्तकहरूले वर्तमानलाई बढी सम्बोधन गरेका छन् र देशका तमाम वेथितिहरूप्रति व्यङ्ग्य पनि गरेका छन् । देखिएका सङ्गतिहिनता, बिब्ल्याँटा परिस्थितिहरू, विद्रुपताहरू, राजनीतिक संरक्षणमा हुने गरेको भ्रष्टाचार र अन्य वेथितिहरूका पक्षलाई दीपकले “विसङ्गत वर्तमान” भित्रका मुक्तकहरूले उदाङ्ग पारेर देखाएका छन् र तीप्रति तीव्र व्यङ्ग्य गरेका छन् । यिनका मुक्तकहरूको अन्तर्वस्तु, भाव, विचार र कथ्यका दृष्टिले विविधतामय हुँदै संवेदना र जीवन बोधको अनुभूति मुक्तकमा एकाकार भएर प्रस्तुत भएको छ।

(ज) सुस्केरा, २०७५ जेठ, काठमाडौं

सुस्केरा संयुक्त मुक्तक सङ्ग्रह सम्पादकद्वय गोम बिक्रम र सागर चन्द्र “सस्मीत” द्धारा सम्पादित कृति हो । ५ जना अतिथि मुक्तककार ,१३ जना आयोजक मुक्तककार र ४० जना सर्जक मुक्तकहरू नामक खण्ड विभाजन गरि अग्रजदेखि नवोदित पुस्तासम्मका स्रष्टाहरूलाई समेटेर प्रकाशनमा आएको छ । जसभित्र मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्ने दुई जना स्रष्टा क्रमशः अभिराज खाती “अञ्जान” र रामकुमार प्रधान रहेका छन् ।

अभिराज खाती अञ्जान मूलतः कवि तथा गजलकार हुन् र, पनि यिनले फुटकर रूपमा अनेकौं मुक्तकहरू सिर्जना गरेको पाइन्छ । जे देखिन्छ, त्यही विषयलाई कतै नघुमाइ, कतै नसिघारिकनै सिधा र स्पष्ट लेख्नुपर्ने आदत परेका खातीका मुक्तकहरूले पितृसत्तात्मक मनोविज्ञान बिरूद्ध निरन्तर सांस्कृतिक संघर्ष र रूपान्तरणको माग मात्रै राख्दैनन्, नारी र पुरूषबीचको समान अस्तित्वको स्थापनाका निम्ति वैचारिक तर्क पेश गर्दछन् । अन्ध सामाजिक कुसंस्कार, कुसंस्कृतिको आलोचक झैं लाग्ने अभिराजका मुक्तकहरूले विद्रोहीको हुँकार बोकेको देखिन्छ।

“सुस्केरा” भित्र आवद्ध मकवानपुरका अर्का स्रष्टा हुन् रामकुमार प्रधान । साहित्यिक गतिविधिमा कतै देखा नपर्ने, अन्तर्मुखी स्वभावको धनी प्रधानको छिटफुट रूपमा अन्य विधाका रचनाहरू पनि पढ्न र सुन्न पाइन्छ । मान्छेको विकृत चरित्र, प्रणय चेत, जीवनका जटिलता र वियोगका कुण्ठा जस्ता विषयलाई प्रमुख मुद्दा बनाएर कलम यात्रामा निस्किएका रामकुमारका कतिपय सिर्जनाहरूले परिमार्जनको माग राख्छन् भने कतिपय सिर्जनाले पाठकहरूको मष्तिक तरङ्गित गरेको छ ।

पाठकको आँखाले लेखक को हो ? कस्तो हो ? के गर्छ ? भन्नेतर्फ नियाल्दैन । यद्यपि उसले प्रकाशन गरेको कृतिको विषयवस्तु, लेखन संरचना, शैली र स्तरियता कस्तो छ भन्ने कुरालाई मूल मुद्दा बनाउँछन् । यसर्थ कृतिको गुणात्मकतालाई विशेष ध्यान दिनुपर्छ र, आफूले लेखेका सामाग्रीलाई परिष्कार, परिमार्जन गर्नेतर्फ सधैं सचेत र सजक हुनु अनिवार्य छ । वाद, आन्दोलनको प्रभाव पनि स्रष्टामा पर्नु अस्वभाविक होइन तर दार्शनिक अभ्यास र प्रयोगमा लेखक अग्रसर भैरहदा वैचारिक प्रस्तुति र संरचनामै नयाँपन दिँदा पाठकलाई तान्न सक्ने हैसियत कति निर्माण भयो भन्ने कुरामा मनोगत विश्लेषण अपरिहार्य छ । विधागत शैलीलाई अक्षरस पालना गर्नु आवश्यक भएता पनि स्रष्टाले पूरातन मान्यताको विरासतमा आफ्नोपनको खोजी गरि शैलीगत विकासतर्फ उन्मुख हुन विवेक पुर्याउँनै पर्छ।

साहित्य सिर्जना नितान्त नवीन चिजको खोजी मात्रै होइन । आफैले बुझेको, महसुस गरेको र अनुभव गरेको घटनाहरूको तथ्यगत अभिलेखिकरण पनि हो । र त साहित्यमा समय चित्र, विगतको बिम्ब र भविष्यको कल्पना हुन्छ र, त्यसै कुराले पाठकलाई तानिदिन्छ । समयको यिनै स्वरहरूलाई सम्बोधन गरेर मकवानपुरका धेरै स्रष्टाहरू मुक्तक लेखनमा आवद्ध छन् । जसलाई हामीले किमार्थ भुल्नु र कम आँक्नु हुदैन । मुक्तक लेखनको अभियानमा आफ्नो श्रम, पसिना र बौद्धिकता प्रदर्शन गर्ने स्रष्टाहरू निमेष निखिल, सुवास खनाल, भद्रध्वज गौतम, देवराज तिवारी, श्रीराम अधिकारी, सानू खनाल, हयग्रीव आचार्य, भवानी तिमल्सिना, शान्तिप्रिय बन्दना, विष्णु गौतम, सुमित्रा आचार्य, राजन ढकाल, मनोज ढुङ्गाना, विनोद केसी, यमनदेव उत्प्रेरक, माधव पोखरेल, चिरञ्जीवी लामिछाने, विश्व राई, अमृता लामिछाने, वगेकी गङ्गा, किसन पौडेल, धर्मराज स्याङ्तान, विष्णु गौतम आदि छन् । यी सबै कवि हस्ताक्षरहरूले मुक्तक लेखनलाई फुटकर रूपमै भएपनि पल्ववित र पुस्वित गर्ने काम गरिरहेका छन् । यिनीहरूको मुक्तकहरू सत्यपरक, सूक्तिपरक, व्यङ्ग्यात्मक, विरोधभासी र वैचित्र्यमूलक त छदैछ यसको अतिरिक्त मानवीय जीवन यात्रामा हृदय प्रेम, समर्पण, श्रद्धा, स्वाभिमान र विश्वासको राष्ट्रिय र मानवीय गन्तव्यप्रतिको आस्थाशील स्वरलाई प्रभावकारी रूपमा वहन गरेको छ । समयुगीन राष्ट्रियता, सामाजिक र मानवीय पीडा-उल्लास र आक्रोशको स्वरले मुक्तकको गरिमालाई स्थापित गरेको छ । मानवीय अस्तित्व र चेतनाको खोजी गर्दागर्दै अन्तर्व्यङ्ग्ययुक्त शैली मार्फत समय चेतना, काल चेतना र युग चेतनाको परिदृष्यलाई बिम्बात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ । मुक्तक आकारमा सानो भएतापनि प्रस्तुतिगत आयामलाई दृष्टिगत गर्दा ठूलो हुन्छ । आकारमा सानो देखिने जुनसुकै विधाले विषयको संकेत गर्ने हो, व्याख्या होइन । र, पनि मुक्तक त्यस्तो विधा हो जसमा कथ्यको आरम्भ, विकास, उत्कर्ष र अवतरणको अवस्थासम्म आइपुग्दा एउटा भव्य कथानकता स्थापित गरिसकेको हुन्छ । छोटो र च्वास्स छुने हृदय संवेद्यता मुक्तकमा हुने गर्दछ । छोटो वा सानो भएरपनि पूर्ण अर्थको अभिव्यञ्जना यसको सशक्त पक्ष हो । अनुप्रासीय वाह्य आयोजनाले मुक्तकलाई सफल मात्रै बनाउँदैन विषयको क्रमिक उत्थान र मर्मान्त प्रहारद्वारा ध्यानस्थ स्रोता (या पाठक) ले “वाह” भन्ने अवस्थाको पनि सिर्जना गर्छ । उत्तेजक अभिव्यक्ति प्रवाह गर्ने सामर्थ्य मुक्तकमा भएकाले सुन्ने बित्तिकै चरम तृप्तिको अनुभूति प्रकट हुन्छ । यस दृष्टिकोणबाट मुक्तकलाई कम आँक्न मिल्दैन र, स्रष्टाले पनि आफ्नो लेखनमा जवाफदेहिताका साथ गम्भीर ढंगले सिर्जना गर्नुपर्ने आवश्यकता छ । मकवानपुरे मुक्तककारहरूको सिर्जनालाई अवलोकन गर्दा निकै आशावादी हुने ठाउँ भेटिन्छ । परन्तु कतिपय स्रष्टाहरूले हतारमा लेख्ने, परिष्कारतर्फ ध्यान नदिने र सैद्धान्तिक मान्यतालाई अवहेलना गरेको पनि देखिन्छ । समग्र मुक्तकहरूको अध्ययन अनुसन्धान गर्दा मकवानपुरे मुक्तककारहरूको लेखनमा तपसिल अनुसारको कमजोर पक्ष देखिन्छ ।

# विषयवस्तुको पुनरावृत्ति

# सबै मुक्तकहरूमा विषयलाई गहिराइ र उचाइमा पुर्याउन मुक्तककार त्यति सफल देखिदैनन् ।
# कतिपय मुक्तकहरू, मुक्तकका मानक अभिलक्षणका कसीमा घोट्दा खरो उत्रिदैन ।
# अन्तिम पङ्क्तिको भावोत्कर्षका दृष्टिले कतिपय मुक्तकहरू दुर्वल छन् ।
# लेखन शैलीमा हुनुपर्ने वैचारिक तत्वको समानान्तर क्राफ्ट भने कतिपय ठाउँमा कमजोर भएको देख्न सकिन्छ ।
# पुनरावृत विषयलाई पनि भिन्नै तर्क र भिन्न अभिव्यक्ति द्वारा सिघार्नुपर्ने कुरा तर्फ मुक्तककारको ध्यान गएको देखिदैन ।
# विषयको क्रमिक उठान गर्दै व्यग्रताका साथ मर्मान्त प्रहार गर्नुपर्ने मुक्तक लेखनको मान्यता तर्फ स्रष्टाको ध्यान गएको देखिदैन र, अनुप्रासीय वाह्य आयोजनाले मुक्तक सफल हुन्छ भन्ने भ्रम यद्यपि कायमै देखिन्छ ।
# सकेसम्म कम भन्दा कम शब्दको प्रयोग तथा मात्रात्मक एकरूपता तर्फ मकवानपुरे स्रष्टाहरूको ध्यान पुग्न सकेको छैन।
# वैचारिक वहावसँगै मन र मष्तिकलाई तरङ्गित बनाउने मुक्तकहरूको अभाव छ ।
# भाव र गहिराइको माग मुक्तकले राख्दाराख्दै पनि प्रत्येक हरफमा एक आपसमा अन्तर सम्बन्ध भएको सिर्जना मकवानपुरे स्रष्टाबाट त्यति धेरै लेख्न सकेको देखिदैन ।
# कलात्मक शब्द संयोजन भन्दा विषयवस्तु माथि आक्रामक हमला गरि मुक्तकलाई गाली या कुण्ठा व्यक्त गर्ने विधा जस्तो ठान्नु ।
# चोटिलो र मर्मस्पर्शी अभिव्यक्ति नै मुक्तकको मुटु हो भन्ने मान्यता तर्फ गम्भीर ध्यान नदिनु र ठिटौली पाराको सिर्जनामा रमाउनु ।
# मुक्तकको माध्यमबाट पनि आफ्ना वैचारिक मान्यताहरू कुशलता पूर्वक प्रक्षेपण गर्न सकिन्छ भन्ने ज्ञानको कमीले सिर्जना भएका निराशा र केही अपरिपक्व प्रेमका अभिव्यक्ति ।
# तुकवन्दी मिलाउँनका लागि गरिएको व्याकरणीय वेवास्ता र शब्द चयनमा गरिएको असावधानी ।

साहित्यका मर्मज्ञहरूले साहित्य नारा बन्नु हुदैन भन्ने गरे पनि मकवानपुरे स्रष्टाहरूले सिर्जना गर्नुभएको कतिपय रचनाहरू नारा भन्न मिल्ने खालको हुनु । यसरी तुलनात्मक रूपमा अध्ययन गर्दा मकवानपुर जिल्लाको लेखकीय गुणात्मकता आशा गरिए भन्दा कमजोर लाग्नु स्वभाविक हो । परन्तु पछिल्लो समयमा स्रष्टाहरूले विषय, सन्दर्भ र नयाँपनको खोजी गर्दै पाठकको चासो र रूचिलाई समातेर लेख्ने परम्पराको विकास गर्दै जानुले वर्तमान अवस्था सुधारोन्मुख छ । र, दिनानुदिन पाठकीय चासो पनि वढ्दै गएको देखिन्छ ।

उपसंहार

आक्रोश, आवेग, उत्तेजना र असन्तुष्टिको स्वरहरूको दस्तावेज मात्र साहित्य बन्यो भने त्यसले कालजयी मार्ग तय गर्दैन । हिजोआज धेरै साहित्यकारहरूको मूल मुद्दा कुण्ठा र हिन्नताबोधमा मात्रै केन्द्रीकृत भएको देखिन्छ । साहित्य केवल अँध्यारो सुरूङको यात्रा मात्र होइन । ती कुराहरूमा केन्द्रीकृत भइयो भने पाठकमा आतंक, भय र त्रास पैदा हुन्छ । उत्साह, चेतना र सत्यको खोजी गर्नुपनि स्रष्टाको अर्को प्रमुख पाटो हो ।

विकल्प र सम्भावनाहरूको खोजबाटै उर्जाशिल जीवनको स्पष्ट बिम्ब निर्माण हुन्छ र, त्यसले नै मान्छेमा उच्च चेतनाको प्रवाह हुने भएकाले कहीं न कतै हाम्रो सिर्जनाहरूमा न्याय र सत्यताको दियो बाल्ने सामर्थ्य स्थापित गर्न जरुरी छ । सत्यको खोजी गर्ने कार्य आफैमा दुस्साध्य र दुष्कर जस्तो लागेपनि पाठकले हाम्रो सिर्जनाबाट केवल मनोरञ्जनको मात्र कामना गर्दैनन् बौद्धिकताको प्रचुरता र विचारको सन्तुलित प्रयोग पनि उनीहरूको चाहाना रहेको हुन्छ।

अरू कुनै वर्ग, समुदायले आफ्नो सरोकारको विषय नबनाएता पनि स्रष्टाले भने आफू बाँचेको समय र सन्दर्भको सत्य उत्खनन गर्नु अपरिहार्य छ । भ्रमको पर्दाबाट उज्यालोको खोजी गरि सत्यलाई सार्वजनिक गर्नु स्रष्टाको मूल धर्म पनि हो । यथार्थलाई पर्दा टाँगेर भ्रमहरूको दोकानबाट विश्वासको बिक्री गर्ने आजको परिवेशलाई स्रष्टाले चिन्न सक्नुपर्छ र, समाजलाई सद्मार्गमा हिँडाउन उसको सिर्जना कामयावी बन्न सक्नुपर्छ ।

आत्मा सन्तुष्टि र मनमौजी रहरको लौरो मात्रै साहित्यलाई बनाउँनु हुदैन भन्ने कुरा तर्फ आजको स्रष्टा होशियार हुनु आवश्यक छ । यस दृष्टिकोणबाट मकवानपुरका सिर्जनाहरूको स्वर आफैमा सन्तोषजनक देखिन्छ । अस्तित्वहीन जीवन पीडा बोध, बेरोजगारी मान्छेमा देखिने खिन्नता र छट्पटी, अमानवीय सामाजिक चित्रण र त्यसप्रतिको चिन्ताका स्वरहरू अनुवाद भएका यहाँका मुक्तकहरूले जालझेल, षड्यन्त्र र कपटपूर्ण व्यवहारको पर्दाफास मात्रै गरेको छैन, देशको अखण्डता र स्वाभिमानको लागि लड्ने दृढ संकल्पको कामना गरी सामाजिक र राजनीतिक विषयलाई पनि सजीवताको साथ उठान गरेको छ । मानवताको खोजी, मान्छेले गुमाउँदै गएको विश्वासको अन्वेषण र, नेताहरूले राजनीतिलाई घृणित बनाउँदै गएको परिवेशको सजिव चित्रलाई चमत्कारी ढंगले अनुवाद गरेको छ । आशा, विश्वास र भरोसाको केन्द्रलाई सधैंव सजीव बनाउने चेतनायुक्त संवेदनाको स्वरहरू मार्फत मकवानपुरका मुक्तकहरूले आफ्नो गरिमा र पाठकको विश्वास जीवितै बनाएको छ ।

बिर्खे अञ्जान, थाहा मकवानपुर

कविता : आमा / कुन्ता शर्मा

कवि ! सजिलो हुन्छ
आमाको प्रशंसामा कविता लेख्न
उत्कृष्ट शब्द संयोजन गर्न
भावविह्वलताको प्रदर्शन गर्न
हो साँच्चै नै सजिलो हुन्छ
आमाको महानताको कविता लेख्न ।

आमाका चाउरी परेका गालाहरू
आमाका धूमिल हुँदै गएका आँखाहरू
आमाका श्रवणशक्ति हराउँदै गएका कानहरू
आमाको सन्तुलन गुमाउँदै गएको शरीर
अनि स्मरणशक्ति हराउँदै गएको मस्तिष्क
त्यतिबेला साँच्चै नै गाह्रो हुन्छ
अति नै असहज हुन्छ
कवि ! स्नेहपूर्वक छेउमा राख्न आमालाई ।

आमाको गर्भावस्थाको सकस
आमाको कठिन प्रसववेदना
आमाले आँखा चिम्म गर्न नपाएको रात
आमाले थकाइ मार्न नपाएको दिन
अहिले कल्पनामा पनि नआउन सक्छ तिमीलाई
अनि टाढै राख्न खोज्छौ तिमी
जर्जर भएकी असक्त आमालाई ।

चाउरीले पुरिएका आमाका गालाहरू
अस्थिपञ्जर भएको शरीर
यौवनका मधुर आकाङ्क्षाहरू
सबैसबै नै पोखिए तिमीमाथि
नियास्रो, फुस्रो अनि एक्लो जीवनका
कष्टकर क्षणहरू बिर्सँदै
छोराको कोमल र मृदु मुस्कानमा
कसरी जीवन उत्सर्ग गरिन् आमाले
आफ्नो लावण्ययुक्त यौवन
कसैको न्यानो अँगालोमा रमाउने चाहना
हजारौँ इन्द्रधनुषी सपनाहरू
कसरी तिलाञ्जली दिइन् आमाले ।

फर्केर आउँदैन बितेको समय
नदीमा बग्दै गएको छालजस्तो
आमाले आफ्नै बारेमा सोचेको भए
आफ्नै सुखमा मात्र रमाएको भए
के हुने थियौ होला आज तिमी ?
लुटाहा, फटाहा या हत्यारा
हली, गोठालो या चाकर
आफ्नो जीवन उजाडेर
सारीको सप्कोभित्र
तिमीलाई नअटाएको भए
छोराछेउ बग्दै आउने आँधीबेहरीहरूबाट
पहाडजस्तो उभिएर नजोगाएको भए
के हुने थियौ आज तिमी ?

त्यसैले कवि !
सुन्दर शब्दहरूको संयोजन गर
वाक्यवाक्यमा भावुकता भर
रसाऊन् पाठक र श्रोताका आँखाहरू
बढून् मुटुका स्पन्दनहरू
सजिलो बाटो चुन
कवि ! साँच्चै नै गाह्रो हुन्छ
वृद्धा आमालाई स्नेहको छहारी दिन
बरु एकदमै सजिलो हुन्छ
आमाको महानतामा लच्छेदार कविता लेख्न ।

कवि ! मृत्यु भएपछि आमाको
सजिलो हुन्छ मूर्ति बनाउन
बिहानैपिच्छे फूल चढाउन, धूप बाल्न
आमाको नाममा सानो–सानो पुरस्कार स्थापना गर्न
श्राद्ध गर्न अनि गतिला–गतिला पिण्ड बटार्न
काजक्रियामा खर्च गर्न
दान गर्न, भागवत पढाउन
सजिलो हुन्छ सबै कुरा गर्न
तर निकै गाह्रो हुन्छ
असक्त आमालाई आफ्नो सामीप्य दिन
आमाका सुखदुखका दुईचार कुरा सुन्न
आमाको जर्जर शरीरलाई सुम्सुम्याउन
आमाका गालाहरूमा स्नेहको चुम्बन गर्न
आमाका थोते गिजाहरूमा हाँसो छर्न
कवि ! बरु साँच्चै सजिलो हुन्छ
आमाको महानता बखानेर कविता लेख्न ।

विद्यानिर्दोष पहाडीका २ गजलहरु भिडियो

बरु बदनामहरुको सुचिमा मेरो नाम होस
तिमीले भने सम्झी रहनुपर्ने काम होस

म पनि आँखा नचिम्ली रात कटाईदिन्छु
त्यो जुन पनि त्यतिकै जागराम होस

जति दौडिन खोछ दौडिन देउ जिन्दगीको घोडा
यति ख्याल गर आफ्नो हातमा लगाम होस

तिमीले भने सम्झी रहनुपर्ने काम होस

चोट न सहि फलाम धारिलो हुन्न निर्दोष
तेरो आलोचना पनि धुनाधाम होस

###

पर्दा नलागुन्जेल सम्म मुस्कुरईदिन्छ
दुनियाँ रंगमंच हो आँशु लुकाईदिन्छ

खाली पाना थिएँ केरमेट गरेर फाल्यौ
ठिकै छ कसैले त बटुलेर आगो लगाईदिन्छ

उसैलाई सिकईरहेछौ भोकको परिभाषा
जसले पेट भर्नालाई ढुङ्गा चापईदिन्छ

सयर गर्न हो हरियाली खोज्न भनेको
मन पराउने ले त डढेलो नै मन परईदिन्छ

विद्यानिर्दोष पहाडी, सुर्खेत

थप केही भिडियोहरु !​

भरत प्रमोद दाहालका २ गजलहरु भिडियो

कुनैदिन आगो सक्लाएर आफ्नै घरको छाना भित्र
तिमिलाई उज्यालो दिएको ईतिहास छ पाना भित्र

चोरेको अभियोगमा मलाई जेल चलान गरियोस्
कमसेकम खाना त पाइन्छ झ्यालखाना भित्र ।

फर्किदा यो मुटुलाई कास्मिर बनाएर जानेछन्
जो गुलाब बोकेर आएको थिए यो सिमाना भित्र ।

तिम्रो बिदाईको चिठी नपुग्दै आईपुगेको छ
स्वागत लिएर मृत्यु मेरो पुरानो ठेगाना भित्र ।

आगो सक्लाएर आफ्नै घरको छाना भित्र
तिमिलाई उज्यालो दिएको ईतिहास छ पाना भित्र

#nstelevisionhd #gazal #nepaligazal

आखाहरु हजुरको पाउ मुनि चढाउनु पर्छ ।
र आफू अध्यारो दलिनमुनि बसेर मुस्कुराउनु पर्छ

जिउदोमा जति बलवान् होस फरक पर्दैन,
मृत्युपछि बोकेरै घाटसम्म पुर्याउनु पर्छ ।

विउझिदा आफ्नै आँगन नरहने त्रास बोकेर,
यसरी हरेक साँझ सिमानामा निदाउनु पर्छ ।

यसकारण यो दिल दुखेको सहदै बसेको हुँ
मलम लगाउन पनि त घाउ दुखाउनु पर्छ ।

आखाहरु हजुरको पाउ मुनि चढाउनु पर्छ ।
र आफू अध्यारो दलिनमुनि बसेर मुस्कुराउनु पर्छ 

 

थप केही भिडियोहरु !​

गजलकार प्रकाश समीरका २ गजलहरु भिडियो

तपाईं भन्नुहुन्छ जीवन चलाउ बिचार गरेर ।
मैले चलाइ रहेछु जीन्दगी हार गुहार गरेर ।

फूल जस्तै बैनी, आजकल चरी जस्तै लाग्छ
थाहा छैन कस्ले, कतिखेर लैजान्छ शिकार गरेर ।

जसले छुरा राखेर निस्कियो यो मुटु भित्र
उसैलाई राखेको थिए बहुत सम्भार गरेर ।

आमाको भान्छामा गुन्द्रुकलाई नुन मिलेको छैन
छोरो करोड पति निस्कियो मासुकै व्यापार गरेर

गल्ली गल्लीमा छन, चोक चोकमा छन ब्वासाहरू
छोरी तिमि बाहिर निस्किनु हुदैन श्रीङ्गार गरेर ॥

###

त्यो मन अरू कसैको राजधानि हुन्छ
र, त आफ्नो सोच्ने दिलमा हानि हुन्छ ।

भन्नेहरू पागल भन्छन तर खुशी छु
मेरो हावासंग पनि कुराकानी हुन्छ ।

जिन्दगिप्रति गुनासो कस्लाई गरौ
जिन्दगी बुझ्न जिन्दगि लगानि हुन्छ ।

हेर्नुस यो दुनियाँ मलाई केही सोच्दैन
यो दुनिया पनि त एक दिन खरानी हुन्छ

खुशी छु भन्नका लागि सबैसंग खुशी छ
यहाँ जो कसैको झोलामा राहदानी हुन्छ

प्रकाश समीर
तित्याङ–४, बागलुङ

थप केही भिडियो कविताहरु !​

अनेसासद्वारा सर्जकहरू सम्मानित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको अनेसास बिओटी पुरस्कार वितरण समारोह अमेरिकाको भर्जिनियामा सो सम्मान प्रदान गरिएको हो ।

साहित्य सर्जक तथा समालोचक महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’ ले पदम विश्वकर्मा सर्वोत्कृष्ट पुस्तक सम्मान प्रदान गरिएको छ ।
नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याएका कारण पौड्याल १ हजार डलर राशिसहित सम्मानित हुनु भएको हो ।
यस्तै ‘बौलाहाको डायरी’ का लागि महेश्वर पन्त (बोस्टन अमेरिका), ‘निबन्ध शन्दिग्ध शताब्दी’ का लागि श्री बाबु कार्की (नेपाल), ‘रानी तलाउ’ का लागि कल्पना खरेल (नेपाल), ‘अरनिको’ का लागि गणेश कुमार जि सी (नेपाल), ‘मृतसागरको उचाइबाट कविता संग्रह’ का लागि सिन्धु पौडेल (इजरायल), ‘दड्गी उर्वशी’ का लागि डा. गोविन्द आचार्य (नेपाल), ‘आवारा बादल नियात्रा’ का लागि निर्मोही व्यास (नेपाल) सम्मानित हुनु भएको छ । उहाँहरू प्रतिव्यक्ति १ हजार डलरले सम्मानित हुनु भएको हो ।
रण काफ्ले (भारत) ‘रैथाने उपन्यास अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ बाट २ हजार १ सय डलरसहित सम्मानित हुनु भएको छ । खेम रिजाल (अमेरीका) (ऊर्जा गीत) ५ सय डलर र मोहन सिटौला (अमेरिका) ‘सुनिल पाठक बिशिष्ठ पुरस्कार’ २ हजार डलरबाट सम्मानित हुनु भएको छ ।
ती पुरस्कारहरूको प्रायोजन प्रा.डा गोपी उप्रेती, रोहिणी शर्मा, डा. श्याम कार्की, सुमन तिम्सिना, गीता खत्री, डा. चुडामणी खनाल, तीर्थराज पाण्डे, पदम विश्वकर्मा, पुरू कल्पना सुवेदी र सुनिल पाठक हुनुहुन्छ ।

ओम रिजालका दुई कविताहरु भिडियो

#टाढिनेहरूको नाउँमा

टाढिनेहरू टाढिन्छन्
जसरी टाढिन्छन् हिउँदका माल्चरीहरू

सयाैँ गुनहरू बिर्सेर
एउटै बैगुनमा टाढिने आफन्तजस्तै
सयाैँ धुनहरू बिर्सेर
नयाँ धुन खोज्ने प्रेमिकाजस्तै
बाटो छोड्नु हुँदैन भनेर सम्झाउदा
कुबाटो रोज्ने सन्तानजस्तै
टाढिनेहरू टाढिन्छन्

मुहान बिर्सिएर बगेको नदी
कहाँ पुग्छ पुग्छ
स्वार्थ पूरा गरेपछि मन मिल्ने दाैँतरी
कहाँ लुक्छ लुक्छ
हिउँदको खहरेजस्तै रहेछ आफ्नाको माया
दु:ख परेको बेला कहाँ सुक्छ सुक्छ

जसरी टाढिन्छन् अनेक तिकडम गरेर धन कमाएकाहरू कमाउन नसक्नेसँग
जसरी टाढिन्छन् उच्च पदधारीहरू भुँइमान्छेहरूसँग
जसरी टाढिन्छन् चुनाव जितेपछि नेताहरू मतदातासँग
जसरी टाढिन्छन् गरिबका अनुहार बेचेर
डलर कुम्ल्याउदै एनजिओका मालिकहरू गरिबसँग
जसरी टाढिन्छन् धर्म बेचेर पेट पाल्ने अधर्मीहरू धर्मसँग
त्यसरी नै टाढिएका छन् टाढिनेहरू मसँग

यतिखेर म
मदेखि टाढिएकाहरू सम्झेर टोलाएको छु
जसरी टोलाउछ
बहेको हावा र बगेको नदी सम्झेर
डाँडाको एक्लेसल्लो मध्यरातमा

कहाँ पुगे होलान् मसँग टाढिएर
स्वार्थको जङ्गलैजङ्गल हिँडेका मेरा आफ्नाहरू
कृपया कसैले भेटेपछि भन्दिनू
तिमीहरू टाढिएपछि
आनन्दको निद निदाएको छ ओम रिजाल ।।

#यात्रामा जानुअघि
जानु छ आफ्नै क्रोधको मलामी
छोड्नु छ स्वार्थको जंगली बाटो
बोक्नु छ एक टुक्रो सत्यपन
हिँड्नु छ एक्लै एक्लै यात्रामा

गाउँनु छ जीवनको गीत
”लाखाैँ ताराबीच एक्लै मुस्कुराउँछ जून”

सकुशल उडेका चराहरू
गुँड नफर्कन सक्छन्
म पनि नफर्किन सक्छु भीरमा ठोक्किएर

बाचुञ्जेलसम्म न हो जिन्दगीको उज्यालो
बाँड्नु छ सद्भाव
पोख्नु छ प्रेमको पोखरी
कोर्नु छ नमेटिने डोब यात्रीका लागि
खेल्नु छ भैलो
”ए ! पुनियाँका चन्द्र – साब्बाइ”

सम्झनाको जूनघाम त रहेछ जिन्दगी भन्नु
सम्झनु छ मन दु:खाएका मान्छेहरू
माग्नु छ माफी
सुम्सुम्याउनु छ मायाले दु:खेको मन

हिँड्नु छ फेरि देउडा गाउँदै
”आउँदा जाँदा पानी खाउँला नसुकेइ कर्नाली”

यात्रा न हो जिन्दगी
यात्रामा जानु अगि
भेट्नु छ प्रिया

भन्नु छ मेरो तस्बिर खिचेर राख
काम लाग्न सक्छ कुनै दिन
समवेदनाका आँसु झारेर
श्रद्धाञ्जली दिन ।।

थप केही भिडियो कविताहरु !​