Home Blog Page 56

सज्जनराज वैद्यः युवा पुस्ताका होनहार गायक

सज्जनराज वैद्य नेपाली गीतसङ्गीतको क्षेत्रमा स्थापित नाम बनिसकेको छ । २०५० सालमा काठमाडौँमा जन्मिनु भएका वैद्य अमेरिका बसाइका क्रममा हुनुहुन्छ र उहाँलाई पहिचान नै गायनले दिएको छ ।
पप गायनबाट आफ्नो पहिचान बनाउनु भएका उहाँ गायनसँगै गिटार, पियानो आदि बजाउनुहुन्छ । सन् २०१४ मा पहिलो गीत “आज मात्र”, २०१६ मा “हवाईजहाज” र सन् २०१८ मा “चिठीभित्र” सार्वजनिक गरेपछि उहाँको चर्चा झनै चुलिएको हो । फेब्रुअरी २०२० मा “बराली लग्यो यो हावाले (BLYHL)” र मे १६, २०२० मा निकालेको “फुत्की जाने जोवन” मा २०१९-२० कोरोना भाइरस प्रकोपका समयमा सार्वजनिक गरिएको हो । उहाँको मुस्कान, अनौठो मुटु, हतारिँदा हतारिँदै जस्ता कर्णप्रिय गीतहरू रहेका छन् ।
सन् २०२३ मा पहार, उजेली, नोथिङ इन माइ हेड बिसाइड्स तिमी, आइनँ, ह्यात्तेरी गीतहरू ल्याउनु भएको छ । यसैबीचमा उहाँले अनुभव जैनको बारिशेन (हिन्दी) कभर गर्नु भएको छ ।
उहाँले कथा नामक श्रृङ्खला चलाउनु भयो । सन् २०१८ मा युट्युब च्यानलमार्फत् सार्वजनिक यस भिडियो शृङ्खलामा कलाकारहरूले आफ्नो वा अन्य कलाकारको गीतको प्रत्यक्ष प्रदर्शन गरी उक्त गीत मूल भाव र रचना प्रक्रियाबारे छलफल चलाउने गरेका छन् ।
उहाँले “नथिङ इन माइ हेड बिसाइड्स तिमी”, “मेलो” को जन्म कसरी भएको बारे चर्चा गर्दै ती गीतहरू गाउनु भएको छ । न्युयोर्कमा बसोबास गरेका कलाकार बिक्की गुरुङका साथमा उनको गीत “मरिजाउँ” को प्रस्तुतिदेखि श्रृङ्खलामध्येकै छैठौं भागमा द अग्लिजका सरून ताम्राकारसँग उनकै सर्वाधिक चर्चाको गीत “आउँदै जाँदै” ताम्राकार र वैद्यद्वयले गाउनु भएको छ । कथाकै अर्को श्रृङ्खलामा अम्बर गुरूङका नाति जोयस गुरुङले हजुरबाको गीत “पूर्व जाने पन्छी हो” गाउनु भएको थियो ।
यसरी सर्जकहरूलाई बहसमा भित्र्याउने युवा गायक वैद्यको गायनको सूचीमा “पहार” (सन् २०१९), “कुराकानी” (सन् २०१९), “सम्बडी एल्स” (सन् २०२०), “सुकुम्बासी” (सन् २०२०) रहेका छन् । गीतका लहरमा सर्वाधिक चर्चामा “फुत्की जाने जोवन” (सन् २०२०) रह्यो । यस गीतलाई धेरै गायकहरूले कभर गरेका छन् ।
“लुकामारी”, “उल्टा पाइला”, “सस्तो मुटु” जस्ता गीतका गायक वैद्यले २०१७ देखि लगातार ३ वर्ष सर्वोत्कृष्ट नव कलाकार सम्मान प्राप्त गर्नु भएको छ ।
उहाँको के खाले माया यो, दिनदिनै कमाउनु पर्नेले बोलको “सस्तो मुटु” नाम दियौको गीत युटुबमा ५७ लाखले हेरेका छन् भने “चिठीभित्र राखेर पठाउँदैछु मेरो माया” बोलको गीत ६३ लाखले हेरेका छन् ।
सुरूवातीमा अग्लिज, १९७४, सविन राई, कव वेबका कभर गीतबाट उदाएका वैद्य सन् २०२२ मा स्पटीफाइमा सर्वाधिक सुनिएका नेपाली गायक वैद्य केही वर्षदेखि किशोर पुस्तामा सर्वाधिक लोकप्रिय गायक बनिरहेका छन् ।
सङ्गीतसँगको लगावको श्रेय आफ्नो बुवाआमा, दाइलाई दिने उहाँ आफ्ना परिवारले सुन्ने गरेका कर्णदास, दी इगल्स, लिङ्किन पार्क आदि जस्ता गीतबाट प्रभावित हुनुहुन्छ । स्कुल पढ्दा फेसबुकमा गीत सार्वजनिक गर्ने उहाँ आजको स्थापित स्रष्टा हुनुहुन्छ । नवसाहित्य परिवार उहाँको सक्रिय साङ्गितीक जीवनको कामना गर्दछौं । ✍️गाइने

इतिहासकार चित्तरञ्जन नेपालीको निधन

मकवानपुर । साहित्यकार चित्तरञ्जन नेपालीको निधन भएको छ । नेपालीको आइतबार हृदयाघातको कारण निधन भएको उनका भतिज मञ्जुल प्रसाद राजभण्डारीले जानकारी दिए ।

९३ वर्षीय स्व. नेपालीको आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । नेपालीले सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि. सं. २०१३ सालमा मदन पुरस्कार समेत प्राप्त गरेका थिए ।

स्व. नेपाली उनको साहित्यिक नाम हो । उनको वास्तविक नाम भने नारायण प्रसाद राजभण्डारी हो । उनी नेपाली इतिहासकार, निबन्धकार र रङ्गकर्मी पनि हुन् ।

जनप्रियले मनायो दसैं विशेष कार्यक्रम

असोज २९, मकवानपुर ।
विद्यार्थीहरूलाई दसैंको महत्व दर्शाउनेगरी जनप्रिय मावि, हेटौँडा-१६ ले दसैं विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा शिक्षक शिक्षिकाहरूबाट विद्यार्थीहरूलाई टिका, जमरा लगाउँदै आशिष दिँदै शुभकामना आदानप्रदान गरिएको छ ।
विद्यार्थीहरूलाई चाडबाडको समयको विदा गर्नुअघि चाडपर्वको खुशियाली साटासाट गर्नेगरी नमुना कार्यक्रमस्वरूप यस कार्यक्रम गरिएको तथा प्रधानाध्यापकको कार्यसम्पादनमार्फत् प्राप्त रकमबाट विद्यार्थीहरूलाई दक्षिणाको व्यवस्था समेत गरिएको प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडा, विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरू, विद्यालयका शिक्षक, कर्मचारी संलग्न कार्यक्रममा शिक्षकहरूले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई टिकाजमरासहित विदाइ गरेको हो । यस्तै शिक्षकहरूलाई समेत प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापकले टिका लगाइदिनु भएको थियो ।
यस्ता कार्यक्रममा मिश्रित प्रतिक्रिया मिल्ने भएता पनि कार्यक्रमले खुशी साटासाट गर्ने, चाडबाड मिलेर मनाउनुपर्छ भन्ने सन्देश दिनुका साथै सामाजिक विषयका पाठहरू अध्ययन अध्यापनका क्रममा विद्यालयले गर्ने अतिरिक्त क्रियाकलापकै रूपमा यसलाई बुझ्नुपर्ने सामाजिक विषयका शिक्षक रविन श्रेष्ठले बताउनुभयो ।
विद्यार्थीकेन्द्रित कार्यक्रमहरूमा ध्यान दिँदै उनीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकासका विविध कार्यक्रमहरू गर्दै आइरहेकोले यस्ता कार्यक्रमबाट बालबालिकाले शिक्षकहरूसँग निर्धक्क रूपमा सिकाइ क्रियाकलापमा सहभागी हुन हौसला मिल्ने विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डलले जानकारी दिनुभयो ।

नेपाली भाषा साहित्यमा साझा प्रकाशनको भूमिका र भविष्यमा यसको आवश्यकता

साझा प्रकाशनको धड्कन बिस्तारै बिस्तारै गुम्दैछ, यसलाई बचाइरहनु आवश्यक छ ।

स्थापनाको उद्देश्यः भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने, नेपाली भाषा र साहित्यको विकासमा सक्रिय योगदान दिने, उपयुक्त पाठ्यपुस्तकहरू र पाठ्यसामग्री तयार पारी तिनको सुव्यवस्थित र व्यापक बिक्रीवितरणका साथै राष्ट्रिय थोकवितरकको रूपमा विकास गर्दै जाने जस्ता उद्देश्यसहित साझा प्रकाशन स्थापना भएको हो ।

इतिहासः भाषा, साहित्य, संकृति र शिक्षाको विकासका लागि वि सं १९७० सालमा सरकारी स्तरबाट ‘गोरखा भाषा प्रकाशिनी समिति’ को स्थापना भएको थियो । पछि वि. सं. १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित भएपछि त्यसैको उत्तराधिकारीको रूपमा सहकारी ऐन २०१६ अन्तर्गत वि. सं. २०२१ मंसिर १७ गते साझा प्रकाशनको नाममा स्थापना भएको हो ।

यसरी गोरखा भाषा प्रकाशिनी समिति तथा नेपाली भाषा प्रकाशिनी समिति साझा प्रकाशनको पूर्वरूप अथवा इतिहास हो । पाठ्यपुस्तक तथा पाठ्यसामग्री र सिर्जनात्मक कृतिहरू प्रकाशनकार्यमा संलग्न नेपाली भाषा प्रकाशिनी समितिले गर्दै आएका कार्यहरू सरकारी स्तरबाटै साझा प्रकाशनलाई प्राप्त भएको हो । नेपाली भाषा प्रकाशिनी समितिबाट प्राप्त केही भौतिक सामान र २ लाख मूल्यबराबरका पुस्तकहरू प्राप्त गरी साझा प्रकाशनले आफ्नो कार्यसञ्चालनको सुरुआत गरेको हो ।

आर्थिक व्यवस्थापनः नेपाल सरकारको ६०% र साहित्यकार, पत्रकार, शिक्षासेवीहरूको ४०% शेयरका साथ खुलेको यस संस्थामा १ हजार ७ सयभन्दा बढी लेखक साहित्यकारको आबद्धता रही आएको छ । सरकारको करोडौं ऋण तिर्न नसकेको साझामा आर्थिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौतिका रूपमा रही आएको छ । सरकारी स्वामित्वका अधिकांश संस्थाहरू धराशायी बन्दै गइरहेकोमा चरम आर्थिक सङ्कटलाई टार्दै अघि बढ्नका लागि सरकारले क्याम्पस तहका पुस्तक छाप्ने व्यवस्थापन गराउनु आवश्यक रही आएको छ । साहित्यिक पुस्तक प्रकाशनलाई निरन्तरता दिनका लागि अहिल्यै यसलाई सरकारको अनुदानको खाँचो छ । त्यति मात्रै नभई लामो समयदेखि कर्मचारीको तलब व्यवस्थापन उचित तवरले भैरहेको छैन । कामका आधारमा कर्मचारीको आवश्यकताबारे पुनर्विचार गर्दै साझालाई स्वायत्त र बलियो संस्थाका रूपमा अघि बढाउन उपयुक्त आर्थिक नीति खाँचो भैसकेको छ ।

सम्पादन हुने कार्यः हालसम्म यसले विभिन्न विधाका साहित्यिक ग्रन्थहरूका साथै विद्यालयस्तरका सन्दर्भ पाठ्यपुस्तक तथा उच्चशिक्षाका विभिन्न पाठ्यसामग्रीसहित एक हजारभन्दा बढी शीर्षकमा पुस्तकहरू प्रकाशित गरिसकेको छ । यसरी साझा प्रकाशनले भाषा-साहित्यको संवर्धनका लागि पुस्तकहरूको उत्पादन मुद्रण र बिक्रीवितरणको कार्य अनवरत रूपमा गर्दै आएको छ ।

साझा प्रकाशनको स्थापना भएदेखि नै यसले साहित्यिक कृतिहरूको प्रकाशनका साथै विद्यालयस्तरका पाठ्यपुस्तकहरूको प्रकाशन, उत्पादन र वितरण गर्दै आएको थियो, तर २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि पाठ्यपुस्तक प्रकाशन-उत्पादनकार्य साझा प्रकाशनले गर्न पाएन । यसपश्चात् विद्यालयस्तरका पाठ्यपुस्तकको निर्माण पाठ्यक्रम विकास केन्द्रले गर्दै आएका छन् भने साझा प्रकाशनले नेपाल अधिराज्यभरि पाठ्यपुस्तकको बिक्रीवितरण गर्दै आएको छ । जनक शिक्षा सामग्री केन्द्रद्वारा उत्पादित प्राथमिक स्तरका पाठ्यपुस्तक साझा प्रकाशनले २०२४ सालदेखि अधिराज्यभरि बिक्रीवितरण गर्दै आएको हो ।

साझा प्रकाशनमा कवि, लेखक, साहित्यकार, कलाकारको बाहुल्य रहेको छ । साझा प्रकाशनले साझा पुरस्कार, लोकसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार र गरिमा सम्मान पुरस्कारको व्यवस्था गरेको छ ।

समस्या र चुनौतिः नेपाली साहित्यिक पत्रकारितामा गरिमा साहित्यिक मासिक पत्रिकाको उच्च स्थान रही आएको छ । यस पत्रिका २०३९ सालदेखि प्रकाशन गर्दै आइरहेकोमा आर्थिक सङ्कटका कारण २०७४ मा बन्द भएको थियो । यसले २०७९ देखि पुनः निरन्तरता पाएको छ ।

समय समयमा साझा प्रकाशनले गर्ने पुस्तक प्रदर्शनीमा यसले छापेका पूराना पुस्तकहरू पाठकमाझ पुग्ने गरेको छ । पूरानै मूल्यमा बिक्री गरिने हुनाले त्यसबाट आर्थिक रूपले ठूलो फाइदा नपुगेता पनि कबाडीमा बेच्नुभन्दा पाठकको हातसम्म पुग्नु अति आवश्यक हुन्छ भन्ने साझाको बुझाईप्रति जहिल्यै सकारात्मक हुन सकिन्छ । अर्कोतिर साझाका अधिकांश बिक्री केन्द्रहरू बन्द भैसकेका छन् । आर्थिक रूपले धङ्धङी बाँचिरहेको संस्थालाई बलियो बनाउनु आजको चुनौति रही आएको छ ।

यसको आवश्यकताः पुस्तक प्रकाशन र बिक्री वितरणमा प्रशस्त ख्याति कमाएको यस संस्था पछिल्लो पटक राजनीतिक हस्तक्षेपका कारण धराशायी बन्दै गइरहेको छ । आर्थिक संकटकै कारण साझा प्रकाशनको देशभरिका शाखाहरु बन्द अवस्थामा पुगेका छन् । धेरै विक्री केन्द्रहरू बन्द भैसकेका छन् । यस्तै केन्द्रीय भवनहरू जीर्णावस्थामा पुगेका छन् । संकटापन्न अवस्थाले गर्दा आफैं बाँच्न धौ धौ परेको साझाले आफ्नो बिँडो थाम्न सकिरहेको छैन ।

निजी क्षेत्रका प्रकाशन गृहहरू नाफामुखि हुनु स्वभाविक नै रहेको छ । यस अवस्थामा साझा प्रकाशन सस्तो मूल्यमा पुस्तक प्रकाशन गर्ने संस्थाका रूपमा परिचित रहिरहनु पर्दछ । यसको टिकाउ अहिलेको सबैभन्दा ठूलो चुनौति रहिआएको पाइन्छ ।

आजकाल बजारमा कडा कभर राखिएका, पुस्तकका मूल विषयवस्तु छापिएका पानाको कूल मूल्यभन्दा आकर्षक ‘कलेवर’ को मूल्य बढी भएका पुस्तकहरू पाइन्छन् । ती पुस्तकहरू खरीद गर्ने रकमले सरकारी लगानी भएको, गुठी संस्थान, गैरनाफामुखि संस्थाहरूले प्रकाशन गर्ने पुस्तकको राम्रै संख्यामा खरीद गर्ने सकिने पाठकहरूको बुझाइ रही आएको पाइन्छ । यसैले यस्ता संस्थाका साथसाथै विश्व साहित्यलाई नेपाली जनमानसमा चिनाइरहने निजी, संस्थागत प्रकाशन गृहहरूसमेत सबैले टिक्ने वातावरण बनिरहनु पर्छ । यसका लागि सरकारले कागज, पुस्तक, प्रकाशन सामग्री आदिबारे लचिलो हुन आवश्यक देखिन्छ । यस्ता कार्य हुन सकेमा नेपाली भाषा, साहित्यको उत्थानमा अझ टेवा पुग्ने विश्वास गर्न सकिन्छ । यस्ता सरकार नियन्त्रित संस्थाहरूप्रति स्रष्टाहरूले आफ्ना पुस्तक प्रकाशनका लागि प्रयोग गरेर पाठकप्रति भरोसा र विश्वास कायम रहिरहन आवश्यक देखिन्छ । उचित व्यवस्थापन हुन सकेमा यस्ता संस्थाहरूले सयौं वर्षपछिसम्म सेवा प्रदान गरिरहने अनुमान गर्न सकिन्छ । गाइने

कवितामा कुरुप देश – ‘साला पहाडमें क्या है’

मीनबहादुर विष्टबारे थाहा पाउनुअघि पढेको कविता हो – साला पहाडमें क्या है । उनी प्यूठानबाट राजधानी पसेका कवि हुन् भन्ने थाहा पाएपछि झन उनीप्रतिको चासो बढेको थियो । उनका अन्य केहि कविताहरु पढ्ने, सुन्ने मौका मिल्यो । कवि विष्टको कवित्वप्रति बजारमा सुनिने प्रतिक्रिया र टिप्पणीले उत्साह दिन्थ्यो – भनिन्थ्यो विष्ट, भूपी पछिका शक्तिशाली हस्ताक्षर हुन् ।

अहिले बजारमा ‘साला पहाडमें क्या है’ छ । मेरो हातमा छ र केहि दिनदेखि पढिरहेको छु । ६५ थान कविताले सिंगो नेपाली समाजलाई व्यक्त गर्दछ । देशको शिक्षा प्रणाली, राजनीतिक चरित्र, पहाडी जीवनशैलीका निरिह अभ्यास, खोक्रो राष्ट्रबादका विद्रुप चित्रहरु कविताले पारदर्शीरुपमा भन्छन् ।
मैले कविता लेखनलाई एक मुलायम आन्दोलन भन्ने गरेको छु । त्यसको पुष्टिका लागि म यो किताब अघि सार्नेछु । मलाई थाहा छैन, र भन्न सक्दैन के देश यति कुरुप छ ?

अब त एकैछिन भारी विसाउने हे की भरिया दाई
मरे नी नहुने
जति गरे नी नहुने
यो जिन्दगीलाई बिर्सेर एकैछिन
सुस्ताउने पो हो की भरिया दाई
भारी बिसाउने पो हो कि भरिया दाई

पहाडी जनजीवनको अन्तर्यभित्र कुरुप कथाहरु चलमल चलमल गर्छन् – साला पहाडमें क्या है । पहाडमा न पानी अडिन्छ, न जवानी । पहाडबाट झरेको पानी गाउँ फर्किन्छ कि फर्किदैन थाहा छैन, तर उर्जा लिएर पहाड छोडेको जवान फर्किन्छ सक्छ । तर ‘साला पहाडमें क्या है’ भन्ने दृष्टिकोण लिएर फर्किन्छ ।
लासहरुको सगरमाथा – मलाई सबै भन्दा हल्लाउने कविता बन्यो । यो एउटा क्ररता व्यक्त गर्ने कविता रहेछ । यो एउटा कठोरतालाई स्वीकार गर्न बाध्य पार्ने कविता रहेछ ।

र चुलिँदै चुलिँदै गइरहेछ लासहरुको हिमालय
मसानघाट जस्तो देश
लास रुँगेर बसिरहेछु तल उपत्यकामा
अब केहि क्षण हामी हिँड्नेछौ नरकको यात्रामा

सुतेका रौँ उठाउने कविताहरुले मान्छे उठाउछ कि उल्टो मार्छ त्यो पनि थाहा छैन । तर कतै हिम्मत दिने कविताहरु पनि छन् । स्वाबलम्बी जीवनको उद्घोष गर्छन् । बाँच्नका लागि आफै स्वास फेर्न सिकाउछन् ।

मलाई कसैको निगाह चाहिँदैन
निगाहस्वरुप कसैले ओरालिदिएको प्रभात चाहिँदैन
रात ढलेपछि आफै ओर्लिन्छ प्रभात
त्यो आफै ओर्लिने प्रभात भए मलाई पर्याप्त पुग्छ ।

(कवि: नवीन अभिलाषी ‘मौलामा बाँधिएको राँगो’, ‘एकात्म’ र ‘ईश्वरको अस्थिपञ्जर’ कृतिका कृतिकार हुनुहुन्छ ।)

बालजागृतिका विद्यार्थीको शैक्षिक प्रदर्शनी

असोज २७
मकवानपुर । बालजागृति इङ्ग्लिस सेकेण्डरी स्कूल, हेटौँडा २ का विद्यार्थीले शनिबार विविध प्रदर्शनी गरेका छन् । पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान, वातावरण विषयका विषयगत प्रस्तुती गरेका हुन् ।
विद्यालय परिसरमा भएको प्रदर्शनीमा विद्यार्थीहरूले कूल १ सय ६२ स्टलमा विभिन्न विषयका विषयवस्तुका साथै परम्परागत खाद्य परिकार र पोषाक, नवीनतम प्रविधिको हाइड्रोपनिक्स, परम्परागत हातहतियार, बाजागाजा, दुना, टपरी, बत्ति कात्ने कला जस्ता जीवनोपयोगी सीप तथा कला सबैको नजरमा परेको थियो । प्रदर्शनीमा विद्यार्थीले सौर्य उर्जा र सिचाई जस्ता प्रविधिको प्रदर्शनी गरेका थिए । यस्तै अमेरिकी दूतावासको सहयोगमा अंग्रेजी भाषा अध्ययनसम्बन्धी स्टल पनि राखिएको थियो ।

विद्यालयका प्रिन्सीपल विनोद सुवेदीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको २ नम्बर वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाको पनि आतिथ्य रहेको थियो ।
वडाध्यक्ष महर्जनले ड्रोन उडाएर र रिमोटबाट रोबोट चलाउँदै प्रदर्शनी उद्घाटन गर्नुभएको थियो । प्रदर्शनी अवलोकनका लागि विद्यार्थीहरूका अभिभावक, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत विभिन्न सामाजिक तथा राजनैतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बालजागृति स्कूलले विद्यार्थीमा अतिरिक्त सीप विकासका लागि विभिन्न कार्यहरू गर्दै आइरहेको छ । केही दिनअघि किताब प्रदर्शनी गरेको यस विद्यालयले बडा दसैंअघि एक सातादेखि विद्यार्थीमा अन्तर्निहित विभिन्न सिप र कला प्रस्तुतीको कार्यक्रम समेत गर्दै आएको छ । सोमबार एकल नृत्य कार्यक्रम आयोजना गरी विद्यार्थीलाई पर्व विदा दिने तयारी भइरहेको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभएको छ ।

गजलकार कमल अर्याल २५ हजार राशिसहित पुरस्कृत

असोज २७
चितवन । यस वर्षको द्वारिका नेपाल गजल स्मृति पुरस्कारबाट चितवन रत्ननगरका गजलकार कमल अर्याल पुरस्कृत भएका छन् ।
शनिबार भरतपुरमा आयोजित कार्यक्रममा अर्याललाई २५ हजार रूपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । गजल मञ्च चितवनले मञ्चका अध्यक्षमा बहाल रहेका बेलामा नै २ वर्षअघि निधन भएका द्वारिका नेपालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको हो र मञ्चले गत वर्षदेखि उक्त पुरस्कार दिन सुरू गरेको गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले बताउनुभयो ।
गत वर्ष गजलकार मुक्त उदासले उक्त पुरस्कार पाउनु भएको थियो । रामकृष्ण अनयासले स्वागत गर्नु भएको कार्यक्रममा पुरस्कृत गजलकार अर्यालका गजलसम्बन्धी चारवटा संयुक्त कृतिका साथै तीनवटा एकल गजलसंग्रह र एउटा नियात्रासंग्रह प्रकाशन भएको जानकारी दिइएको थियो ।
कार्यक्रममा गजलकार कमल अर्यालको व्यक्तित्व र कृतित्वको बारेमा साहित्यकार लक्ष्मण अर्यालले बोल्नुभयो भने गजल तथा पुस्तक सिर्जनामार्फत् मार्फत् साहित्यको विकासमा योगदान पुर्‍याएका अर्याललाई गजल मञ्च चितवनले द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०८० दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । स्व. द्वारिका नेपालकी पत्नी तथा विशिष्ट अतिथि पार्वती अर्याल नेपाल एवम् कविडाँडा साहित्य समाजका अध्यक्ष एल बि क्षेत्रीले संयुक्त रुपमा पच्चीस हजार नगदसहित प्रसंशापत्र एवम् दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित युवा गजलकार कमल अर्यालका आधा दर्जन गजल वाचन गरिएको थियो ।
गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले स्वर्गीय गजलकार द्वारिका नेपाल एक मृदुभाषी, मिलनसार गजलकार एवम् पत्रकार भएको बताउदैं नेपाली साहित्यिक आकाशमा अमर रहने धारणा राख्नुभएको भयो भने कार्यक्रममा चितवनका उल्लेख्य साहित्यिक सर्जकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई सिम्रन क्षेत्रीले सहजीकरण गर्नु भएको हो ।

कविता : अर्ती / दीपिन सिजापति

खोल्यो तिम्रो नजर पहिलो देखियो स्वर्णभूमि
आमा जस्तै प्रिय छ धरणी हेर यो जन्मभूमि
तोते बोल्दै युग बिउँझिने सत्य आवाज बोल
बामे सर्दै हिँड प्रगतिमा दोडिंदे मार्ग खोल ।

पोख्दै तिम्रो श्रम र पसिना सीप रोप्नू धरामा
फल्छन् मोती लहलह त्यहाँ खेत, पाखा, गरामा
डोको, नाम्लो शिरफुल भनी टाउकोमा सजाऊ
गैँती, बेल्चे छमछम गरी पाखुराले बजाऊ ।

छाला घोटे पनि तन नयाँ काँचुली फेर्छ भोलि
कोदालाको वजन खिइँदा त्यो कुटो बन्छ भोलि
आगो खाऊ र बन गहना खारिनू स्वर्ण जस्तै
लाखौँ बाधा सहज सहनु चोटमा हाँस्न सिक्दै ।

बाँचोस काया पवन पिउँदै घामापानी निलेर
लोहा जस्तै तन भइरहोस् धारिलो होस् पिटेर
छाती चौडा सडकसरि होस् यात्रु हिँडदा नथाकोस्
कुर्कुच्चोमा बरु खिल परोस् लक्ष्य छोडी नभागोस् ।

पीडा मार्ने मलम बन है देशमा घाउ लाग्दा
हाँसी हाँसी दिन सिक बली राष्ट्रले रक्त माग्दा
माटोलाई मुटु दिन सिके हाडछाला चिरेर
छर्नू सेतो रवि मुलुकमा किन्तु आफैँ बलेर ।


ठाँटीकाँध–४, दैलेख

कविता : बुढ्यौली / सुमी पोखरेल

समयको अर्धानो पछ्यौरामा
पोक्याएर फूलजुनेलो जस्ता यादहरु
सलबलाइरहन्छ मन अझै पनि ।

समयले जोतेको यो कायामा
कहीँ रोटो बाँकी छैन,
टाँसे झैँ हिउँका अक्षता
शिर फुलिसक्दा पनि
किन अल्झिरहन्छ मन !
काँसघारीका हरिया कथाहरुमा ।

घर छाडेर गएका बचेराहरु सम्झेर,
गाँउ छाडेका दमालीहरु देखेर,
कतिपटक खसे हुँला–
आफ्नै आँखाको आलीबाट !
कतिपटक भत्कियो–यो छातिको पर्खाल

आजकाल मन्दिरको घण्टी बज्दा
मस्जिद तर्सन्छु भन्छ,
भन्छु भन्छ गुम्बाको माने
र सेलो वा च्याब्रुङ नाँचिरहेको पुरानो गाँउ,
देख्छु यस्तै तर्साइमा
मेरा हत्केलाझैँ कापिरहेको
यो देशको जीर्ण झन्डा ।
डाँडापारिको सुन्तले घामझैँ
मान्छेभित्रको कुपोषित मानवता
खडेरीले सुक्दै गएको अनाजजस्तै
गाँउबस्तीको अनुहार
ऐनाअघि उभिएर हेर्छु
बूढो तस्वीरको तन्नेरी यादमा
बहकिँदो रहेछु,
अहो ! गोठालो गर्नुपर्ने यसबेला
आफ्नै मन हुँदोरहेछ ।

सम्झिँदै गर्दा–
बुर्कुसी मारेका दिन
बिर्सि जाँदो रहेछु !
आफ्नै घरको बाटो,
कतै बिर्सिहालेँ भने बताइदिनु
रङमगाइरहेका भुराहरुलाई
मेरो अनुहारको रङ्गझैँ
उड्नुहुँदैन झन्डाको रङ्ग
रातो रहेसम्म तिम्रो रगत
फहराउनुपर्छ चन्द्र–सूर्य,
किनकि–झन्डा बुढो हुँदैन,
र म झैँ बुढो हुनुहुँदैन यो देशको आयु ।
                  उदयपुर

कविता: मेरो देश / विशप आचार्य (युगेश)

अग्ला सेता हिम शिखर विश्वको टोपी
बग्दै बन्छन् श्रम सहिदका गण्डकी सप्तकोसी ।
गाएकै छन् वन पवनले देशका ती कहानी
मेरो प्यारो अमरपुर यो स्वर्गको राजधानी ।।

गोर्खाली हुन् मति र बलमा छैन कोही अशक्त
नेपालीका शिशुहरु सबै हुन् सधैं राष्ट्र भक्त ।
रारा, फेवा, रमण झरना, पुष्प उद्यान धेरै
राम्रो प्यारो भुवन भरमा देश नेपाल मेरै ।।

मान्छे मान्छे बिच दिन दिनै द्धन्द हड्ताल बढ्दा
आँफैलाई सरम अति भो बुद्धको देश भन्दा ।
आफ्नै बैनी अनपढ हुँदा देह बेच्दै छ दाई
हाँस्दै बस्लान् कति दिन अझै राष्ट्र आमा रुवाई ।।

भान्सा रित्तो हरदिन हुँदा भोकले बाल रुन्छ
आमाको यो दुखित मनले आइजा काल भन्छ ।
डोको चढ्दै सहर नपसौँ ? छैन स्वास्थ्योपचार
हे नेता हो अब त सुन है गर्भिणीको पुकार ।।
माग्दै हिड्ने सडक नरले गाँस औ वास पाऊन्
द्यौता पुज्ने सब हृदयमा हर्षले वास लाऊन् ।
होला हाम्रो हृदय नजुटे देशको भागबण्डा
हाँसे मात्रै सकल जनता हाँंस्छ नेपाल झण्डा ।।

हेटौँडा, मकवानपुर ।