Home Blog Page 25

कविता: वातावरण प्रदूषण / प्रिन्सा ढकाल

३१ जेष्ठ २०८१, बिहिबार
नवसाहित्य अनलाइन ।

वातावरण प्रदूषण
के भो यस्तो गगन धरती बन्न थाल्यो अँध्यारो
सेरोफेरी सबतिर बढ्यो ढप्प पर्दै तुवाँलो
त्यस्तो राम्रो प्रकृति जस्को छैन सौन्दर्य आज
हामी मान्छे सजक नबने हुन्छ सारा विनाश

हाम्रो वस्ती नजिक तिनके, भीर पाखो पखेरो
डाडा पाखा वन चा चौरमा लाग्छ अस उस्तै डढेलो
त्यस्तो देख्दा दिन दिन यहाँ लाग्न थाल्यो उराठ
हामी मान्छे सजक नबने हुन्छ सारा विनाश

नाङ्गा डाडा चौर सबमा वृक्ष रोप्दा जुटेर
धर्ती ज्यादै मजबुत बनी जान्न भएकी खेर
गर्दै जाऔँ मन बचनले कर्म गर्ने प्रयास
हामी मान्छे सडक नबने हुन्छ सारा विनाश

गाडी गुड्दा कासिङ्रसगैं उद्द्ध मुस्लो धुवाँलो
खोक्दा, खोक्दै अति दम बढी स्वास फेर्नै छ गाहो
पोल्छन आँखा भतभत गरी भित्र भित्रै छु ताप
हामी मान्छे सजक नबनेहुन्छ सारा विनाश

हामीलाई असहज हुने बिध्न बाधा हटाई
हाँसी बाँच्ने सहज तरिका मिलेर खोज्नलाई
पोखौं मान्छे आफ्नो श्रम र पसिना मिल्छ पक्कै निकास
हामी मान्छे सजक नबने हुन्छ सारा विनाश

प्रिन्सा ढकाल
कक्षा – ८
जेम्स इङ्गलिस मिडियम स्कुल

बालबालिका केन्द्रित केहि गतिविधिहरु...

‘यशस्वी पुस्तक पुरस्कार २०८१’ का लागि पुस्तक आव्हान

 

३१ जेष्ठ २०८१, बिहिबार
नवसाहित्य अनलाइन । यशस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कार २०८१ का लागि पुस्तक पठाउन लेखक तथा प्रकाशकहरूसँग अनुरोध गरेको छ ।

२०८० चैत्रको अन्त्यसम्ममा नेपाल र नेपाल बाहिर प्रकाशित नेपाली लेखकहरूले लेखेका नेपाली र अङ्ग्रेजी भाषाका पुस्तकहरू ३ प्रति यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालयमा २०८१ असार २१ गते शुक्रबारसम्म उपलब्ध गराउन अनुरोध गरिएको छ ।

यसरी सहभागी पुस्तकहरूमध्ये कथा, गैरकथा, कविता, इतिहास, संस्कृति, अनुसन्धान र अनुवाद विभिन्न विधाका पाँच उत्कृष्ट पुस्तकलाई ‘यशस्वी पुस्तक पुरस्कार २०८१’ बाट पुरस्कृत गरिनेछ ।

पुरस्कृत पुस्तकलाई २०८१ भदौ २२ गते शनिबार हुने तेस्रो काठमाडौँ कलिङ साहित्य महोत्सवमा २० हजार नगदसहित सम्मानपत्र प्रदान प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

कविता: हाम्रो प्यारो वातावरण / रिजम हुमागाईं

३१ जेष्ठ २०८१, बिहिबार
नवसाहित्य अनलाइन ।

हाम्रो प्यारो वातावरण
आऊ साथी घुम्न जाऔँ’ अग्लो डाँडामाथी
चिसो हावा शुद्ध जीवन जीवनको साथी ।
सिकुन्जेल सिक्ने हो पढ़ने लेख्न गएर
वातावरण हराभरा हुन्छ बोट बिरुवा लगाएर ।

आगो पनि चाहिन्छ पानी पनि चाहिन्छ
बोट बिरुवा लगाएमा अवसिजन पाइन्छ ।
भार जति उखे फलफूल उर्माछौँ
वातावरण जोगाउ दुःख सारा भगाउँछौँ ।

कालो बादल मडारियो आँधी आउने हो कि
हावा दूरी दूरी आयो भने दुःख पाइने हो कि ?
शुद्ध बनोस माटो हाम्रो शुद्र हावापानी
वातावरण राम्रो भए बन्छ जिन्दगानी ।।

रिजम हुमागाईं
कक्षा – ८
जेम्स इङ्गलिस मिडियम स्कुल

बालबालिका केन्द्रित केहि गतिविधिहरु...

प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ लाई श्यामप्रसाद शर्मा स्मृति सम्मान

जेठ ३०, बुधबार
नवसाहित्य अनलाइन । पूर्वमन्त्री प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट सम्मानित हुनुहुने भएको छ । साहित्य सङ्गम मकवानपुरद्वारा प्रत्येक वर्ष हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको सहयोगमा प्रदान गर्ने गरिएको छ ।

नेपाली राजनीति, पत्रकारिता र साहित्यमा सक्रिय स्वर्गीय श्यामप्रसाद शर्मा ललितपुर जिल्लाको सोलिथुम (हाल मकवानपुर) मा १९८६ असार ६ मा जन्मिनु भएको थियो। प्रगतिशील साहित्य लेखनमा स्थापित उहाँको नाममा सम्मान समर्पण यसअघि रु. १५ हजार राशिको रहेकोमा यसै वर्षदेखि २५ हजार राशि पुर्‍याइएको छ ।

२०२४ सालदेखि २०४६ सम्म भूमिगत जीवन बिताउनु भएको शर्माले ‘सेवा’ मासिक, ‘स्वास्नी मान्छे’, ‘साहित्य सेवा सदन’ पत्रिकाको सम्पादन तथा प्रकाशन गर्नु भएको थियो । मुक्ति पुरस्कार (२०५०) र महेन्द्र प्रज्ञा पुरस्कार (२०५०) लगायत सम्मानद्वारा द्वारा सम्मानित उहाँका निबन्धात्मक कृतिहरू “बहिनीलाई चिठ्ठी १-२ (२००८/२०१२)”, “तँ, तिमी, तपाईँ, हजुर (२०१४)”, “मेरीआमा (२०२३)”, “थुनुवाको डायरी (२०३८)”, “केही साहित्यकार र साहित्य (२०४२)” प्रकाशन भएका छन् । आत्मपरक, प्रयोगवादी तथा राष्ट्रवादी भावनाका सिर्जनामार्फत चिनिनु भएका शर्माको निधन २०७४ साल बैशाख २४ मा काठमाडौँमा भएको उहाँका म “साम्यवादी होइन (२०४०)”, “आएका केही चिठी (२०५५)”, “मेरो पत्रकार जीवन (२०६३)” लगायत कृतिहरू समेत प्रकाशन भएका थिए ।

२००४ सालमा प्रजा आन्दोलनमा सहभागी भएकामा विद्यालयमा पुनः अध्ययन गर्न नपाउँदा औपचारिक रूपमा कक्षा १० सम्मको स्कुले शिक्षा प्राप्त गर्नु भएका शर्माले वीरगञ्जमा प्रगतिशील लेखक संघको स्थापना गरेर अध्यक्ष हुनु भएको हो ।

शर्माका नाममा सम्मानित हुनुहुने स्रष्टा ज्ञवालीका एकल कविता वाचनका साथै रचित गीत कलाकार आशाकाजी श्रेष्ठ र गायक/मुक्तककार अजर फुयाँलद्वारा गायन हुनेछ । यस्तै साहित्य सङ्गम मकवानपुरका सल्लाहकारद्वय निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविताहरू वाचन गर्नुहुनेछ भने सल्लाहकार श्यामकुमार बानियाँ, कवि/गायकद्वय पुरूषोत्तम आचार्य र हरि पौड्यालको विविध साङ्गीतिक प्रस्तुति रहने कार्यक्रमबिच सो सम्मान समर्पण गरिने सङ्गमका सचिव मनोज पोखरेलले जानकारी दिनु भएको छ ।

साहित्य सङ्गमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्धनमा यही असार ७ गते ओम्याक्स सिनेमा, हेटौँडामा आयोजना हुने सो कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि समीक्षक घनश्याम घिमिरेद्वारा समीक्षा समेत हुनेछ सङ्गमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनु भएको छ ।

कविता: वातावरण / दिप्ति बलामी

जेठ २९ मङ्गलबार
नवसाहित्य अनलाइन । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण यो संसार
प्रकृतिको यो अमूल्य उपहार
स्वच्छ हावा, हरियो संसार
वातावरण नै हो हाम्रो जीउने आधार

तर बदलिदै गयो समय, आयो सङ्कटको घडी
वनहरू नासिंदै गए, खल्बलियो झरी,
प्रदूषित भयो हावा र पानी
तर पृथ्वी जोगाउने हट्यो सबैको बानी

प्लास्टिकका छालहरू र जलेको जङ्गलहरू
आकाश भरियो मिलेर धुलो र धुँवाहरू
ती सानो आमोको झिल्काले वन जलाइदिए
ती दृश्य देखेर वातावरण र प्रकृति स्वयम शिर निहुराए

तर बदलन सक्छ ती अवस्थाहरू
फिर्ती ल्याउन सकिन्छ आकाशमा उड्ने चराहरू
साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउँछन्
हरेक कार्यले पर्यावरण जोगाउँछन्

वृक्षरोपान गरौं “हरियाली फैलाऊँ
पृथ्वीको संरक्षण गर्ने भावना हरेकको मनमा बसाऔँ
आऊ एक जुट भई वातावरण जोगाऊँ
वातावरण दिवस नारा र प्यालीमा मात्र सिमित नराखौँ ।

दिप्ति बलामी
कक्षा-८
जेम्स अंग्रेजी माध्यमिक विद्यालय
हेटौडा-११, मकवानपुर

बालबालिका केन्द्रित केहि गतिविधिहरु...

ओप्सना म्युजिक अवार्ड २०८१ मा श्यामकुमार बानियाँको तीन गीत सर्वोत्कृष्ट ।

जेठ २९ मङ्गलबार
नवसाहित्य अनलाइन । ओप्सना फिल्मस् प्रा.लि.द्वारा २०८१ जेष्ठ २६ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा विभिन्न बिधामा राष्ट्रिय ओप्सना म्युजिक अवार्ड -२०२४ बाट सम्मान गरियो ।

पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यता , नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बरिष्ठ गायक एवं संगीतकार शम्भु राई , नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय डाक्टर किराँत र देव चौधरी तथा संगीतकारद्वय चेतन सापकोटा र राजेश सिंहको विशेष आतिथ्यता, गीतकार सीताराम पोखरेल , संगीतकार धनेन्द्र याम्फू, कलाकार अर्चन राई , गायक सुशन साम्सुहाङ्ग र पत्रकार ज्ञानु श्रेष्ठको आतिथ्यता एवं ओप्सना फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक ओमप्रकाश राईको अध्यक्षतामा सम्पन्न सो समारोहमा गीतकार सुरेन्द्र महर्जनलाई नगद पुरस्कार सहित लाइभटाइम अचिभमेण्ट अवार्डबाट सम्मानित गरियो । कार्यक्रम व्यवस्थापक पेमा शेर्पा राई तथा सुमनजंग के.सी., भीष्मराज फुलारा, दिवाकर भण्डारी, आनन्द कार्की र मानबहादुर थापा निर्णायक रहनुभएको उक्त समारोहमा ३९ वटा विधामा र अन्य गरी ६३ अवार्ड प्रदान गरियो ।

समारोहमा सर्वोत्कृष्ट आधुनिक शब्दतर्फ झलनाथ खनालको ‘आमा भन्नु’, सर्वोत्कृष्ट संगीततर्फ डी.आर. अटुको ‘सताएर जाउँ’, सर्वोत्कृष्ट आधुनिक गायकमा केशव भावुकको छातीभित्र, सर्वोत्कृष्ट पूर्वेली लोक तथा दोहोरीमा दीपक तामाङको ‘सोल्टिनी सेवारो’, सर्वोत्कृष्ट महिला मोडलमा आयुष्मा कार्की, सर्वोत्कृष्ट राष्ट्रिय गीत शब्दतर्फ श्यामकुमार बानियाँको ‘आकाश खुल्यो’, सर्वोत्कृष्ट राष्ट्रिय गीततर्फ गायिका राधा ज्ञवालीको ‘हिमालमा घाम’ र सर्वोत्कृष्ट महिला आधुनिक मोडलमा सञ्जु मोक्तानलाई सम्मानित गरियो ।यसैगरी सर्वोत्कृष्ट पूर्वेली लोकगायक तर्फ नन्दु राईको ‘धनकुटा हिले’, सर्वोत्कृष्ट लिम्बू भाषा गीतको गायकतर्फ– कुशल थलङको ‘लुङमारक हिम्लो’, सर्वोत्कृष्ट राई भाषा गीत गायकतर्फ सन्तोष दुमी राई र सर्वोत्कृष्ट काँठे गायिका सबनम आचार्य (फुयाल) सम्मानित हुनुभयो । त्यसैगरी सर्वोत्कृष्ट आधुनिक गायकमा (पब्लिक च्वाइस) प्रदिप सापकोटा, सर्वोत्कृष्ट फिल्म निर्देशक दिलमाया टु बाट (पब्लिक च्वाइस) राजु गिरी, सर्वोत्कृष्ट फिल्म निर्देशकमा दिनेश लिङ्देन, सर्वोत्कृष्ट आधुनिक मोडल (पब्लिक च्वाईस) पदम बस्नेत र सर्वोत्कृष्ट फिल्म अभिनेता (पब्लिक च्वाइस) मा दामोदर सापकोटालाई अवार्डबाट सम्मान गरियो ।

यस्तै सर्वोत्कृष्ट आधुनिक युगल गायक प्रचण्ड बाबु राई, सर्वोत्कृष्ट पूर्वेली तथा लोकदोहोरी शब्दतर्फ अर्जुन घिमिरे र चुलीदेवी माइ (पब्लिक च्वाइस), सर्वोत्कृष्ट नृत्य निर्देशक मनिषा राई, सर्वोत्कृष्ट आधुनिक गीतकार गोविन्दप्रसाद नागीला ‘प्रोत्साहन’ सर्वोत्कृष्ट प्रवासी गीतकार सुशिल चालिसे, सर्वोत्कृष्ट पपगायक (पब्लिक च्वाइस) नवल राई, सर्वोत्कृष्ट आदिवासी चलचित्र लोजिमाका सागर सुब्बा, सर्वोत्कृष्ट आधुनिक गायिका आश्मा विश्वकर्मा, सर्वोत्कृष्ट लोकदोहोरी गायक नवप्रतिभा संगम लिम्बूलाई पनिअवार्डबाट सम्मान गरियो । त्यस्तै उत्कृष्ट लोकदोहोरी गायक नवराज रुम्बा, उत्कृष्ट लोकदोहोरी गायिका विष्णु सुवेदी, सर्वोत्कृष्ट आधुनिक युगल गायकतर्फ सौगात जंग (जुरीतर्फ), सवोत्कृष्ट पपगायक नवतर्फ रुपेश लामा, सर्वोत्कृष्ट पपगायकतर्फ सपन श्रेष्ठ, सर्वोत्कृष्ट फिल्मको नायकतर्फ ईअन लिम्बू, सर्वोत्कृष्ट चलचित्र संगीत विकास चौधरी, सर्वोत्कृष्ट काँठे लोकदोहोरी गायिका संगीता पहरी, सर्वोत्कृष्ट देउडा गायक सुर्यविरही साउद, सर्वोत्कृष्ट लोक देउडा गायक दीपेन्द्रप्रसाद दाहाल, सर्वोत्कृष्ट आधुनिक गीतको मोडलतर्फ पदम बस्नेत (पब्लिक च्वाइस), सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशकमा नविन पन्त (पब्लिक च्वाइस), सर्वोत्कृष्ट ध्वनि मिश्रण गोविन्द सोनीको गीत “काली गोरी’, सर्वोत्कृष्ट फिल्मको शब्दतर्फ डी.पी. खनाल– ‘फनफनी’, सर्वोत्कृष्ट गायक आधुनिक नवप्रतिभा नवराज पराजुली, सर्वोत्कृष्ट राई भाषाको गीत गायकतर्फ चित्र आठपहरिया राई, सर्वोत्कृष्ट कुलुङ भाषाको गीतकार तर्फ मनुहाङ किराँती राई, सर्वोत्कृष्ट आधुनिक शब्द नवतर्फ उद्धब गौतम, सर्वोत्कृष्ट आधुनिक गीतकार प्रवासी राजेश के.सी., सर्वोत्कृष्ट पपगायकतर्फ (जुरी) नविन दाहाल, सर्वोत्कृष्ट कष्टुम डिजाइनर महेश शिवभक्त र सर्वोत्कृष्ट सिनेमाटोग्राफर सुजन श्रेष्ठलाई अवार्डबाट सम्मान गरियो ।

अमिशा रिसाल र दीपेन्द्र शाहीले सञ्चालन गरेको त्यस समारोहमा सर्वोत्कृष्ट शिक्षाविद् यादव गिरी, सर्वोत्कृष्ट आधुनिक गायक (जुरी) राजेन्द्र राई, सर्वोत्कृष्ट टेलिभिजन प्रस्तोता राजेन्द्र बानियाँ, सर्वोत्कृष्ट फिल्म कलाकार चन्द्र लामा, सर्वोत्कृष्ट गीतकार सन्दीप खनाल, सर्वोत्कृष्ट पप शब्दतर्फ उत्कल चालिसे, सर्वोत्कृष्ट पपशब्द (जुरी तर्फ) प्रेमा संगम, सर्वोत्कृष्ट आधुनिक गीतको मोडल एल.पी. शर्मा, सर्वोत्कृष्ट देउडा मोडल महिला जुना कार्की, सर्वोत्कृष्ट आधुनिक मोडल महिला (नव) अनु राई, सर्वोत्कृष्ट आधुनिक गीतको मोडल सुशिला श्रेष्ठ, सर्वोत्कृष्ट कलाकार सत्यदेवी थापा, सर्वोत्कृष्ट गीतकार आधुनिक नवतर्फ लिना राई, सर्वोत्कृष्ट भिडियो निर्देशन गौरव गिरी र सर्वोत्कृष्ट आधुनिक गायकतर्फ मिलन तिमल्सिनालाई अवार्डबाट सम्मान गरियो । सो समार‍ोहमा विशेष पत्रकारिता सम्मानबाट पत्रकार सानुकुमार श्रेष्ठ लगायतलाई सम्मान गरियो ।

सम्पदाको जन्मदिनमा साथीहरूलाई पुस्तक उपहार

जेठ २६ शनिबार
नवसाहित्य अनलाइन । कक्षा ८ मा अध्ययतरत सम्पदा तिमल्सिनाले आफ्नो जन्मदिनमा कक्षाका साथीहरूले पढ्न सक्नेगरी पुस्तक उपहार दिएकी छिन् । जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत उनले १५ वटा पुस्तकहरू विद्यालयलाई प्रदान गरेकी हुन् ।
शुक्रबार आफ्नो जन्मदिनको अवसरमा पुस्तकहरू कक्षामैँ रहने र त्यसलाई पुस्तक व्यवस्थापक विद्यार्थी पुस्कर चौधरीद्वारा अभिलेख तथा व्यवस्थापन हुने कक्षा शिक्षक मालती फयलले बताउनु भएको छ । सम्पदाकी आमा तथा विद्यालयकी कर्मचारी सबिता तिमल्सिनाले उनकै साथीहरुले पढ्नेगरी पुस्तक प्रदान गरेर छोरीको जन्मदिन मनाउन पाउँदा खुसी मिलेको बताउनुभयो । विद्यालयमा शिक्षक-विद्यार्थीहरूका जन्मदिनका अभिभावक, सरोकारवालाहरूको विशेष खुसियाली, स्मृति आदिको अवसरमा पुस्तक हस्तान्तरण अभियाननले तीव्रता पाएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिनु भएको छ । 

कक्षामैँ पुस्तक राखिँदा विद्यार्थीहरूले खाली घण्टीमा अध्ययन गर्ने र त्यसलाई विद्यार्थीले नै अभिलेख राखेर कक्षा शिक्षकलाई रिपोर्टिङ गर्नुपर्ने भएकोले पुस्तक घरमैँ लगेर समेत अध्ययन गर्न पाउनेछन् ।

विद्यार्थीहरूले आफूले पढेका नयाँ-पूराना जुनसुकै पु्स्तकहरू समेत कक्षामा ल्याउन सकिने हुँदा यसले पठन संस्कृतिमा विद्यालय तहदेखि नै टेवा पुग्ने बताइएको छ ।

त्यहीक्रममा कक्षा ९ की समीक्षा थापाले आफूले पढेका ह्यारी पोर्टर र अन्य केही पुस्तक विद्यालयलाई हस्तान्तरण गरेकी छिन् । कक्षामा सामान्यज्ञान, बाल साहित्यअन्तर्गतका कथा, कविता, आत्मकथा, व्यक्तित्व परिचय आदिका पुस्तकहरू भएता पनि चित्रकला, गणित, बौद्धिक परीक्षण, विविध सिप सिकाइका पुस्तकहरू उपलब्ध गराइदिन विद्यार्थीहरूले अनुरोध गरेका छन् । 

३ प्रसङ्गः बालकृष्ण सम, विलियम बर्क र पारिजात-शङ्कर सम्बन्ध

बालकृष्ण समलाई लागेको आरोप जसको बेला बेला चर्चा हुने गर्छ ।
***
आगो र पानी, चिसो चुल्हो, मुटुको व्यथा, मुकुन्द-ईन्दिरा, अमरसिंह, प्रेमपिण्ड आदि पुस्तकका कारण नै सायद बालकृष्ण समलाई नेपालका शेक्सपियरका रूपमा तुलना गर्ने गरिएको हो ।
शमशेरबाट सम बनेका बालकृष्ण सम राणा परिवारको भएकै कारण कतिपय आरोप लागेका थिए । उहाँका विद्यार्थी लक्ष्मीनन्दनले परीक्षामा ‘नपुंशक राणा’ लेखेको र सोको सूचना पद्म शमशेरमार्फत् तत्कालीन श्री ३ जुद्ध शमशेरसम्म पुगेको भन्ने गरिन्छ । सूचना पुग्नु त केही थिएन नै तर त्यसकै कारण लक्ष्मीनन्दनले १२ वर्षको जेल सजाय (पछि घटाएर ६ वर्ष) पाउनु र क्षयरोगका कारण जेलमा नै उनको निधन हुनुले बालकृष्ण समलाई निधनको ४ दशकपछिसम्म पनि छोडेका छैनन् । कतिपयले राणा परिवारका भएका कारण सो बेला अफबाह फैलाउने समूह सक्रिय रहेको र त्यसकै मारमा सम पनि परेको बताउने गरेका छन् ।
०००
मदन पुरस्कार पाउने पहिलो विदेशी को हुन् ? के योगदान छ ?
***
विलियम बर्क मदन पुरस्कार पाउने पहिलो विदेशी हुन् । उनलाई फादर विलियम बर्क भनेर पनि चिनिन्छ। हेलिङ्ग्याक्स, क्यानडामा जन्मेका विलियमले आफ्नो औपचारिक पढाइ सकिएपछि हिन्दी माध्यमको विद्यालयमा अध्यापन सुरू गर्नु भएको हो । सन् १९८१ तिर नेपाली माध्यमको विद्यालय सेन्ट रोबर्टस उच्च विद्यालय, दार्जिलिङमा प्रधानाध्यापक हुनु भएका बर्कले १ वर्ष नेपाली भाषाको अध्ययपछि केही वर्षको मेहनतस्वरूप तयार भएको सही शब्द नामक नेपाली ग्रन्थका लागि २०५१ सालमा मदन पुरस्कार प्राप्त गर्नु भएको हो । त्यसो त एउटा भनाइ के छ भने- बर्कले शिक्षकदेखि प्रधानाध्यापक हुँदै कहिले प्रदेश संयोजक त कहिले भाषा पाठशालाको निर्देशक अनि रिभाइजर पदसम्म प्राप्त गर्दा दार्जिलिङमा प्राप्त गर्न बाँकी कुनै महत्वपूर्ण पद मात्रै बाँकी थिए । इसाइ धर्मग्रन्थलाई नेपालीमा रुपान्तर गर्ने तथा इसाइ सम्प्रदायका युवाहरूको आवाज मुखरित गर्ने एक अभियन्ता बर्कको निधन सन् २०१९ मा ९४ वर्षको उमेरमा दार्जिलिङमा भएको हो ।
०००
शिरीषको फूलमा शङ्कर लामिछाने भूमिकाः भूमिका राम्रो कि पुस्तक ?
***
यो विवाद जहिल्यै भइरह्यो । पारिजातको लेखन राम्रो वा शङ्कर लामिछानेको भूमिका ? महत्ताहीन, बैंसको मान्छे, सडक र प्रतिभा, अन्तरमुखिलगायतका दर्जनौँ कृतिका कृतिकार पारिजातले वि.सं. २०२२ मा शिरीषको फूलका लागि मदन पुरस्कार पाउनु भयो भने २०२४ मा लामिछानेले ।

लामिछाने नेपालमा हाइकु प्रवेश गराउने पहिलो सर्जक अनि रेडियो नेपालका पहिलो गीतकार हुनुहुन्छ । उहाँले नै लेख्नुभएको भूमिका रहेको शिरीषको फूलले मदन पुरस्कार त पिटर जे कार्थकको ‘प्रत्येक ठाउँः प्रत्येक मान्छे’ ले साझा पुरस्कार प्राप्त गर्‍यो । एब्सट्र्याक्टः चिन्तप्याज, बिम्ब प्रतिबिम्ब, गौँथलीको गुँड, गोधुली संसार लामिछानेका कृति हुन् ।

लेखनको चरमतामा प्रवेश गर्दै गर्दा लामिछानेले माइकल कर्वीको लेखकबाट प्रेरित भएको तथा लेख चोरेको आरोपसमेत सहनुपर्‍यो । तर उहाँले जागिर नभएको र बाँच्नका लागि अनेकन सङ्घर्ष गरेको कुराहरू पनि प्रकाशमा आए । लामिछानेको परिचय तथा पहिचान भने भविष्यका लागि लेख्ने लेखकका रूपमा रहिरहेको छ । गुठी अड्डादेखि काव्य प्रतिष्ठान मात्र होइन शङ्कर होटल ट्राभल टुर्सका प्रशासक बनेका लामिछाने २०३२ मा त प्यारालाइसिसले थलिँदै गरेकी पारिजात २०५० सालमा संसारबाट बिलिन हुनुभयो । (गाइने)

नवसाहित्य अनलाइनलाई प्राप्त डा. केशव श्रेष्ठद्वारा लिखित दुइ पुस्तकहरू

जेठ २१, सोमबार
नवसाहित्य अनलाइन । डा. केशव श्रेष्ठद्वारा लिखित शून्यबाट करोडपति र समृद्धिको बाटोमा बिसे नगर्ची पुस्तकहरू नवसाहित्य अनलाइनलाई प्राप्त भएका छन् ।

२०३७ सालदेखि फुटकर कविता, कथा र साहित्यिक लेखनबाट देखापर्नु भएका श्रेष्ठले २०४१ सालमा उहाँको पहिलो कृतिका रूपमा “मालती” उपन्यास प्रकाशन गर्नु भएको हो । यस्तै उहाँले साहित्यिक, पेशागत, आर्थिकलगायतका कूल १५ वटा पुस्तकहरू लेख्नु भएको छ ।

२०४० सालमा सरकारी सेवाबाट जागिरे जीवन थाल्नु भएका उहाँले हेटौँडा कपडा उद्योग, हेटौँडा सिमेन्ट उद्योग लगायतका कर्पोरेट तथा प्लान इन्टरनेशनल, डि.एफ.आई, केयर नेपाल, सेभ द चिल्ड्रेनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा निर्देशक तथा वरिष्ठ निर्देशकजस्ता पदहरूमा रहेर काम गर्नुभएको छ ।

वित्त, व्यवस्थापन, लेखापरीक्षण, प्रशासन, सूचनाप्रविधि आदि विषयहरूको सेवाकालीन जिम्मेवारीमा रहनु भएका श्रेष्ठ मूलतः व्यक्तिगत आर्थिक सक्षमताको लागि लगानीको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा दख्खल हुनुहुन्छ ।

शून्यबाट करोडपतिः
व्यक्तिगत आर्थिक स्वतन्त्रता र सम्पन्नताको सपना देख्नेहरूप्रति समर्पित यस पुस्तकमा कूल १४ वटा विषयवस्तुहरूमाथि चर्चा गरिएको छ । जानेका कुरा, लौ तयार हुनुहोस्, यस्तो चमत्कार कसरी हुन्छ, सबैको लागि सम्पत्ति, करोडपति बन्ने पूर्वतयारी, तपाईँको १५ वर्षे लगानी डायरी आदि यस पुस्तकमा समावेश विषयवस्तुहरू हुन् ।

क्रिएटिभ बुक्स प्रकाशक रहेको २ सय रुपैयाँ मूल्य रहेको यस पुस्तकमा कूल ७२ पाना रहेका छन् ।

समृद्धिको बाटोमा बिसे नगर्चीः
समृद्धिको सपना देख्ने, स्वदेशमै बसेर ती सपना पूरा गर्न प्रयत्न गर्ने अनि सफलता हासिल गर्ने युवाहरूमा समर्पित यस पुस्तकभित्र केटौले सपना, पहिलो उद्यम, सरकारी गोरखधन्दा, आए बाउको गए साहुको, नेपाली काइदा, सबैलाई फाइदा, जनैको साँचो, अब हिँड्ने बाटोलगायतका लेखहरू समाहित गरिएका छन् ।

लक्ष्य होल्डिङ्ग्स लिमिटेड प्रकाशक रहेको यस पुस्तकमा २२ वटा लेखहरूका २२४ पानामा अटाएका छन् । पुस्तकको मूल्य ४२५ रुपैयाँ (६$) अङ्कित रहेको छ ।

विभिन्न कम्पनीका संस्थापक श्रेष्ठसहितको समूहले ‘जनउन्नतिका लागि लगानीकर्ताहरू’ नामक अभियान सुरू गरि साना लगानीकर्ताहरूको सहभागितामा लक्ष्य होल्डिङ्ग्स लिमिटेड कम्पनीमार्फत् ७ कम्पनीहरूका समूह निर्माण गरिएको श्रेष्ठ बताउनुहुन्छ ।

लेखक श्रेष्ठलाई व्यवसायिक सफलताका साथै साहित्यिक सिर्जनामा सक्रियता मिलोस् । नवसाहित्य परिवार हार्दिक शुभकामना प्रकट गर्दछ ।

विद्यार्थीको जन्मदिनमा आफ्नै कक्षाका लागि पुस्तक उपहार

जेठ २१, सोमबार
नवसाहित्य अनलाइन । जनप्रिय माध्यमिक विद्यालयमा विद्यार्थीको जन्मदिनमा विद्यालयलाई पुस्तक उपहार दिएका छन् ।

कक्षा ७ मा अध्ययनरत नमुना श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा सोमबार पुस्तक उपहार प्रदान गरेकी हुन् । नमुनाकी आमा तथा सोही विद्यालयकी शिक्षक लक्ष्मी श्रेष्ठले उपहार तथा विगतमा चकलेटलगायतका जङ्कफूडको प्रयोग हुने गरेकोमा हाल निषेध गरिएको र छोरीको ईच्छाअनुसार नै पुस्तक प्रदान गरी विद्यालयको अभियानमा हातेमालो गरेको बताउनुभयो ।

२ हजार मूल्य बराबरका सामान्यज्ञान, कथाकविता, गाउँखाने कथा, वैज्ञानिकका जीवनी, लेखनशिल्पलगायतका विभिन्न पुस्तकहरू कक्षामैँ रहनेगरी हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ र सोही कक्षाको पुस्तक व्यवस्थापक विद्यार्थीलाई पुस्तक हस्तान्तरण गरिएको कक्षा शिक्षक श्रीजु ढकालले जानकारी दिनुभयो ।

केही दिनअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीले १० हजार मूल्यका पुस्तक कक्षामैँ रहनेगरी उपलब्ध गराउनु भएको थियो । शिक्षकहरूले समेत गतसालदेखि नै यस अभियानमा जोडिएको अङ्ग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताउनुभयो ।

जनप्रिय माविले गतसालदेखि जन्मदिन, वैवाहिक वार्षिकोत्सवलगायत खुसियाली  तथा स्मृति तिथीको अवसरमा प्राप्त पुस्तक कक्षामैँ रहनेगरी व्यवस्थापन गर्ने कार्य सुरू गरेको छ ।

गतसाल प्रअका साथै नम्रता शर्मा, मालती फयल, श्रीजु ढकाल, संप्रस पौडेललगायतका शिक्षकहरूले पुस्तक हस्तान्तरणपश्चात् कक्षामैँ पुस्तक राख्ने कार्यको थालनी गरिएको हो । सो अभियानमा सोमबार नै करिस्ता दाहालले आफूले पढेको पुस्तक प्रदान गर्दै भन्नुभयो- “आफूले पढिसकेपछि साथीहरूले पनि पढुन् भनेर कक्षामैँ रहनेगरी पुस्तक दिएको हुँ ।”

दाताहरूबाट प्राप्त पुस्तकहरू कक्षाहरूमैँ रहेका बुक र्‍याकमा क्रमशः पुस्तक उपलब्ध गराउँदै जाने र विद्यार्थीहरूलाई नै तिनको अभिलेख राख्न लगाइएको तथा ती पुस्तकहरू अभिलेखपश्चात् घर लैजान पाइनेगरी समेत व्यवस्थापन गरिएको प्रधानाध्यापकले जानकारी दिनु भएको छ । साथै उहाँले ८ वटा कक्षाहरूमा पुस्तक वितरण भई खाली घण्टीमा समेत नियमित अध्ययन भइरहेको र पुस्तकका दाताहरूसँग पुस्तक प्रदान गरिदिनुहुनका लागि आह्वान गर्नु भएको छ ।
०००
यस अभियानमा जोडिएर आफूले पढेका वा नयाँ कुनै पनि पुस्तक हस्तान्तरण गरी पठन सँस्कृतिको विकासमा योगदानका लागि नवसाहित्य अनलाइनमार्फत् अनुरोध गर्दछौँ ।