Home Blog Page 35

झरना साहित्यिक परिवारले ग¥यो लमजुङमा काव्य गोष्ठी

मकवानपुर । लमजुङको लिस्नु साहित्यिक परिवार र मकवानपुरको झरना साहित्यिक परिवार (झसाप)ले लमजुङको बेसीशहरमा संयुक्त काव्य गोष्ठी गरेका छन् । झरना साहित्यिक परिवार मकवानपुरको ३०१ औँ साहित्य शृङ्खला अन्र्तगत सो काव्य गोष्ठी गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए ।

कार्यक्रममा मकवानपुरबाट झसापका संरक्षकद्धय रमेशमोहन अधिकारी र जर्नादन खनाल, सल्लाहकार लक्ष्मी जिम्बा, कविहरू सीता खनाल, सुवास खनाल,  लोकगायिका मञ्जु दाहाल, पत्रकार महेन्द्र ओझा, इन्दिरा पाण्डेलगायतको उपस्थीति रहेको थियो भने लमजुङबाट साहित्यकारहरू वासुदेव सेढाई, बेन बहादुर सुयाल, बसन्त अधिकारी, राजु थापा, देवीदास बराल, कमला केसी, बालचन्द्र सुवेदी, तीर्थ गुरुङ, सूर्यकला थापा र कमला दनाईको उपस्थीति रहेको थियो ।

यस्तै कार्यसमितिका अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवि लामिछाने र गायत्री रुपाखेती, सचिव मसान उपासक, कोषाध्यक्ष कृष्ण घतानीको उपस्थीति रहेको थियो ।

झसाप मकवानपुरको आयोजनामा फागुन २६, २७ र २८ गते भएको तीन दिने साहित्यिक भ्रमणका क्रममा लमजुङको घलेगाउँ, भुजुङ र तनहुँका बन्दीपुर लगायतका क्षेत्रमा साहित्यिक संघसंस्थाहरूले गरीरहेका गतिविधी, त्यहाँका लेखन परम्परा र सांस्कृतिक क्षेत्रका बारेमा अध्ययन अवलोकन गरिएको संथाका अध्यक्ष विश्वनाथ सञ्जेलले जानकारी दिए ।

संस्थाले हरेक बर्ष फरक–फरक क्षेत्रमा साहित्यिक भ्रमण गर्दै आएको छ । साथै संसथाले हरेक बर्ष बकैया कला–साहित्य महोत्सव, प्रत्येक महिना साहित्यिक प्रशिक्षण तथा काव्य गोष्ठीहरू, अर्धबार्षिक रुपमा पत्रिका प्रकाशनलगायतका विविध कार्य गर्दै आइरहेको छ ।

साहित्य सङ्‍गम मकवानपुरले ७ स्रष्टाहरूलाई सम्मान गर्ने, २५ हजार राशिको निबन्ध पुरस्कार घोषणा

फागुन २८, सोमबार मकवानपुर । साहित्य सङ्‍गम मकवानपुरले ७ जना साहित्य सर्जकहरूलाई सम्मान गर्ने भएको छ । सङ्गममा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू मध्येबाट वि.सं. २०८० मा प्रदान गरिने सम्मानहरूका लागि सम्मान छनौट समितिले गरेको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेको हो । रु. १५ हजार ५५५ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईँ सम्मानित हुनु हुनेछ । शर्मा हास्य तथा अन्य टेलिश्रृङ्खलामा अभिनयमा सक्रिय हुनुहुन्छ । साथै उहाँलाई समर्पण गरिने पुरस्कार तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापना गरिएको हो । रु. १५ हजार ५५५ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित हुनु हुनेछ । सो सम्मान साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गर्नु भएको हो । रु. १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुनु हुनेछ । सो सम्मान साहित्यसेवी तथा बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदी दम्पत्तिले स्थापना गर्नु भएको हो । रु. १० हजार राशिको ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा विश्वनाथ सञ्जेल सम्मानित हुनु हुनेछ । सो सम्मान हेटौँडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गर्नु भएको हो । रु. १० हजार राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी स्रष्टा भावना सापकोटा सम्मानित हुनु हुनेछ । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुनुहुन्छ । सो सम्मान हेटौँडाका देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको हो । रु. १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित हुनु हुनेछ । सो सम्मान हेटौँडाका साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नु भएको हो । रु. १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा किशन पौडेल सम्मानित हुनु हुनेछ । उहाँ लघुकथा चौतारी मकवानपुरका अध्यक्ष हुनुहुन्छ । सो सम्मान हेटौँडाका साहित्यिक स्रष्टा, अधिवक्ता ऋषि केबी र शिक्षक पूण्यशिला श्रेष्ठ दम्पत्तिले स्थापना गर्नु भएको हो । सोमबार बसेको कार्यसमितिको बैठकले आगामी चैत्र १० गते साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा एक कार्यक्रमबीच ती सम्मान समर्पण गरिने सङ्‍गमका सचिव मनोज पोखरेलले जानकारी दिनुभयो । २५ हजार राशिको निबन्ध पुरस्कार घोषणाः साहित्य सङ्गम मकवानपुरका संस्थापकहरूमध्येका एक केशव श्रेष्ठ ‘ज्योति’ द्वारा स्थापित साहित्य सङ्गम मकवानपुर कृति २०७९ संस्थाको कार्यविधिअनुरुप प्रदान गरिने भएकोले सर्वोत्कृष्ट कृति छनौटका लागि दर्ता आह्वान गरिएको छ । सोका लागि वर्ष २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म प्रकाशन भएको निबन्ध विधाका मौलिक सङ्ग्रह पुरस्कार छनौट समितिलाई उपलब्ध गराउनुपर्नेछ भने कृति अन्य कुनै पनि राष्ट्रिय पुरस्कारका लागि छनोट नभएको हुनुपर्नेछ । यसका साथै २५ हजार १ रुपैयाँ राशिको सो सम्मान कृति यही चैत्र २० गतेभित्र छनोट समितिसमक्ष पुस्तक, श्रष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर, प्रकाशित मिति समेत उल्लेख हुनुपर्ने संस्थाका अध्यक्ष डीबी बर्तौलाले जानकारी गराउनुभयो ।

क्यारिकेचर प्रदर्शनीमा अनुप गुरूङ प्रथम, अनिशा भण्डारी द्वितीय र विश्व थापा तृतीय

फागुन २८, सोमबार
काठमाडौँ ।
नेपाली क्यारिकेचर–२०८० प्रदर्शनीमा थाहाखबर डटकमका कार्टुनिष्ट अनुप गुरुङ प्रथम हुनु भ‌एको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा), वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग तथा कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा काठमाडौंमा आइतबार शुरु भएको प्रतियोगितामा गुरुङको कला पहिलो भएको हो।

गुरूङ समसामयिक, राजनीतिक, सामाजिक व्यङ्ग्यचित्र सिर्जनामार्फत् चर्चामा हुनुहुन्छ ।

३३ प्रतियोगीहरूमध्ये प्रथम भ‌ई गुरूङले १५ हजार रुपैयाँ राशिको पुरस्कार हात पार्नुभयो भने दोस्रो भ‌इ अनिशा भण्डारीले १२ हजार र तेस्रो भ‌इ विश्व थापामगरले ८ हजार रूपैयाँ राशि पुरस्कार प्राप्त गर्नुभयो । 

प्रदर्शनीमा अविन श्रेष्ठ, अकृन अधिकारी, अनिसा भण्डारी, अनुप गुरुङ, अर्पिता शाक्य, अशोकमान सिंह, वामन चालिसे, वासु क्षितिज, भानु भट्टराई, विनय भण्डारी, विश्व थापा, चेतन गौतम, देवेन्द्र थुम्केली, हरिशरण ढुङ्गाना, केशवराज खनाल, महेश बस्ताकोटी, मनरा प्रजापति, एनबी गुरुङ, पल्पासा मानन्धर, पानसिंह तोमरका क्यारिकेचरहरू छन् ।

यस्तै कार्टुनिस्ट रवि मिश्र, रवीन सायमी, रवीन्द्र मानन्धर, रामहरि रिमाल, राजेश मानन्धर, रामकृष्ण थापा, सविना रिजाल, सानुराज डङ्गोल, सागर शाह, सुजिता महर्जन, सुदर्शन सिग्देल, सौरभ कोइराला, उमेशचन्द्र अधिकारीलगायत क्यारिकेचर पनि रहेका छन् ।

प्रदर्शनीको उद्घाटन अग्रज कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ ले उद्घाटन गर्नुभ‌एको हो ।

प्रदर्शनी चैत १ गतेसम्म सञ्चालन हुनेछ। नेपालमा २०७४ सालदेखि नेपाली क्यारिकेचर प्रदर्शनी हुँदै आएको छ।

बालबालिकालाई साहित्यमार्फत् रचनात्मक बनाउने जोडमा नवसर्जक साहित्य चौतारी

फागुन २६, शनिबार
मकवानपुर ।

नवसर्जक साहित्य चौतारी नेपालको २१ ओैँ नियमित मासिक शृङ्खला आज भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
चौतारीकी उपाध्यक्ष कृतिका लौडारीको अध्यक्षता एवम् मामाघर नेपालका संरक्षक अर्पण पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चौतारीका परिकल्पनाकार/संरक्षक दीपक गौतम, सल्लाहकारहरू डीबी बर्तौला र अर्चना दहालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समीक्षाका क्रममा मकवानपुर बालविद्या सदन, हर्नामाडीका कक्षा-१० मा अध्ययनरत सौरब बिडारीले रवीन्द्र मिश्रद्वारा लिखित ‘खान पुगोस् दिन पुगोस्’ तथा धनगढी, कैलालीकी रबिना धानुकले ‘एक मिनेटमै जीवन परिवर्तन’ नामक पुस्तकको समीक्षा प्रस्तुत गर्नु भयो । नवसर्जकहरू अनुसुया खनाल, विप्लव आचार्य, अजय बर्तौला, कृतिका लामिछाने, सुमिसा श्रेष्ठ, यादृक्षा न्यौपाने, मानश्वी पौडेल, कृष्टिना शाह, सदिक्षा नेपाल, किरण धामी, आयुश्री दाहाललगायतले कविता, गीत तथा गजल वाचन गर्नु भएको थियो ।

कार्यक्रममा देशभरका विभिन्न प्रदेशका गरी तीन दर्जन बढी नवसर्जकको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण चौतारीकी उपाध्यक्ष एवम् काठमाडौँ उपत्यका संयोजक आँचल कुसुम अधिकारीले गर्नु भएको हो ।

बालबालिकालाई साहित्यमार्फत् रचनात्मक बनाउने जोडमा नवसर्जक साहित्य चौतारी लागिरहेको संरक्षण दीपक गौतमले बताउनु भएको छ । चौतारीले हरेक महिनाको चौथो शनिबार भर्चुअल माध्यमबाट नवसर्जक मासिक शृङ्खलाका साथै हरेक शनिबार विभिन्न साहित्यिक विधाका प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्दै आएको छ ।

‘तुल्सी थापा स्मृति सम्मान’ बाट प्रा. डा. मुकेशकुमार चालिसे र ‘तोयनाथ स्मृति सम्मान’ बाट माधव भण्डारी सम्मानित

फागुन २५, शुक्रबार
मकवानपुर ।
पहिलो पटक ‘तुल्सी थापा स्मृति सम्मान २०८०’ बाट प्रा. डा. मुकेशकुमार चालिसे सम्मानित हुनु भएको छ ।
बुढ्यौली साहित्यका सङ्ग्रह ‘मानिला मान्छेका धामा’, ‘पाका मान्छेका कुरा’, ‘डाँडामाथिका जून’ जस्ता कृतिका कृतिकार चालिसे बुढ्यौली साहित्य उन्नयनमा सक्रिय व्यक्तित्व चालिसे रु. २५ हजार नगद राशि र सम्मानपत्रसहित सम्मानित हुनु भएको हो ।

 

कार्यक्रममा बुढ्यौली साहित्य समाजका अगुवा कृष्णमुरारी गौतम ‘चट्याङ्‍मास्टर’ को प्रमुख आतिथ्यता र बु्ढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी. रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा हेटौँडा नगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल र जनककुमारी चालिसेको विशिष्ट आतिथ्यता रहेको थियो ।

सम्मान ग्रहण गर्दै सम्मानित व्यक्तित्व डा. चालिसे ६० वर्ष नाघेका मान्छेहरू पाका मान्छेहरू ज्ञान र सीप भएका मान्छेहरू हुन् भन्नुभयो । पाका मान्छेहरूलाई पहिले र अहिले हेरिने दृष्टीकोणमा परिवर्तन आएको र आजकाल उनीहरूको हेलत्व भएको बताउनुभयो । साथै उहाँले पाका मान्छेहरूलाई हुन सक्ने रोग अनि समाजमा भइरहेको विभेदलगायतका विषयलाई उजागर गरेर बुढ्यौली साहित्यका किताबहरू लेखिएको जानकारी गराउनुभयो ।

यस्तै आर.सी. रिजालद्वारा स्थापित तोयनाथ स्मृति सम्मान २०८० बाट अगुवा साहित्य सर्जक माधव भण्डारी रश्मी सम्मानित हुनु भएको छ । रु. १० हजार नगद राशि र सम्मानपत्रसहित उहाँ सम्मानित हुनु भएको हो ।

स्वर्गीय साहित्यकार तुल्सी थापाकी बहिनी बेली थापाले ‘तुल्सी सर’ को व्यक्तित्वबारे बोल्दै उहाँको सम्झनामा रचना वाचन गर्नुभयो । उहाँले थापा परिवारबाट १ लाख ७० हजार नगद रुपैयाँ बुढ्यौली साहित्य समाजका लागि सहयोग प्रदान गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष रिजालले भन्नुभयो- बुढ्यौली साहित्य समाजले तुल्सी सरलाई जीवित हुँदा नै सम्मान गरेको र बिरामी अवस्थामा उपचारका लागि सहयोग गरेको सम्झँदै बुढ्यौली उमेरका मानिसहरूलाई माया, प्रेम, सहयोग जीवन हुँदा नै गर्नका लागि लागि अनुरोध गर्नुभयो । उहाँले यस संस्थाका लागि मधु ढुङ्गाना, चन्द्रकिरण श्रेष्ठलगायत विभिन्न दाताहरूको सहयोग रहेको बताउनुभयो ।

मन्तव्यका क्रममा चट्याङ्‍मास्टरले उमेर, ज्ञान, विवेकले श्रेष्ठ व्यक्तित्व नै ज्येष्ठ नागरिक वा बुढ्यौली नागरिक भएको बताउनुभयो । साथै उहाँले देशमा युवाहरूको सङ्ख्या कम हुँदै गएको र तुलनात्मक रुपमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गएकोले १२ जिल्लामा बुढ्यौली साहित्य समाज गठन गरेर बुढाबुढीका लागि बुढाबुढी मात्रै नभई युवा र बालबालिकाले समेत यस साहित्यिक समूहमा जोडिनु आवश्यक भएको बताउनुभयो ।

प्रमुख अतिथि चट्याङ्‍मास्टरलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा वडा अध्यक्ष सिग्देल, सम्मानित व्यक्तित्वहरूले आ-आफ्नो मन्तव्य राख्नु भएको कार्यक्रममा सर्जकहरू सुदर्शन अधिकारी, पुरूषोत्तम आचार्य, स्वस्तिका दहालले रचना वाचन गर्नुभयो ।

यस्तै दोस्रो अधिवेशनमा पुनः आरसी रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । नव गठित कार्यसमितिमा राजकुमार लामिछाने उपाध्यक्ष, सुवास खनाल सचिव, अनिता न्यौपाने कोषाध्यक्ष, जनार्दन खनाल सहसचिव रहनु भएको छ भने सदस्यद्वयमा सुदर्शन अधिकारी र रमेशमोहन अधिकारी रहनु भएको छ ।

रोयल प्यालेसमा आयोजित कार्यक्रमलाई अनिता न्यौपानेले सहजीकरण गर्नु भएको हो ।

‘भैरव अर्याल स्मृति सम्मान’ बाट हास्यव्यङ्ग्यकार लामिछाने सम्मानित

फागुन २५, शुक्रबार
मकवानपुर ।
‘भैरव अर्याल स्मृति सम्मान २०८०’ बाट हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित हुनु भएको छ ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेपालको पहिलो बाँदर विशेषज्ञ तथा बुढ्यौली साहित्य अभियानकर्मी डा. मुकेशकुमार चालिसेको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा भैरव अर्यालका सुपुत्र दीपक अर्याल, सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, आरसी रिजाल, तुलसी घिमिरेको आथित्यतामा ‘मैले जिउँन जानिन’ व्यङ्ग्य कृतिका कृतिकार लामिछाने रु. २१ हजार १ सय ११ नगद र सम्मानपत्रसहित सम्मानित हुनु भएको हो ।

भैरव अर्यालका सुपुत्र दीपक अर्यालद्वारा स्थापित पुरस्कार साहित्य सङ्गम र सिस्नुपानी मकवानपुरले संयुक्त रुपमा हरेक वर्ष प्रदान गर्ने गरेको छ । यसअघि सञ्जय साह मित्र, हरिकला उप्रेती, राजकुमार लामिछाने, धुर्मस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङ मास्टरलगायत सो सम्मानबाट सम्मानित हुनुभएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि निमेष निखिलले भैरव अर्यालको जीवनीबारे जति बोले पनि पूरा गर्न नसकिने बताउनुभयो । साथै उहाँले अर्याल लेखनमार्फत् नेपाली हास्यव्यङ्ग्यमा चीरकालसम्म रहीरहने व्यक्तित्वका रूपमा रहेका र उहाँको बारेमा विस्तृतमा जान्नका लागि प्रोल्लास सिन्धुलीयकृत भग्नभैरव पढ्नका लागि अनुरोध गर्नुभयो ।

सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक कार्यक्रमका विशिष्ट अतिथि कृष्णमुरारी गौतमले हेटौँडा हास्यव्यङ्ग्य सिर्जनाको राजधानी भएको भन्दै सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्गम मकवानपुरसहित विविध साहित्यिक संस्थाहरूमार्फत् प्रदेश राजधानीलाई चिनाउन सफल रहेको बताउनुभयो ।

कार्यक्रममा पुरस्कार संस्थापक विशिष्टअतिथि दीपक अर्यालले सिस्नुपानी बिस्तारदेखि भैरव अर्यालको स्मृतिमा हेटौँडामा प्रतिमा स्थापना, पुरस्कार स्थापना र हास्यव्यङ्ग्य सिर्जनामा आरसी रिजालको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो भने सम्मानित श्रष्टा लामिछाने लेखकका लागि हौसला मिलेको भन्दै धन्यवाद मन्तव्य राख्नुभयो ।

संप्रस पौडेल र स्वस्तिका दाहालले रचना वाचन गर्नुभएको कार्यक्रममा साहित्य सङ्गम अध्यक्ष डीबी बर्तौला, उपाध्यक्ष सानु खनाल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान अध्यक्ष ईन्द्र नेपाल, कलाकार ईन्द्रजीत शर्मा, देवराज तिवारी, भवानी तिमल्सिना, रजनी पौडेल, मधु ढुङ्गाना, रोश्नी चौलागाईँ, पुरूषोत्तम आचार्य, लगायत साहित्यसेवी, साहित्य सर्जक, पत्रकार आदिको उपस्थिति रहेको थियो ।

पुस्पलाल स्मृति पुस्तकालयमा आयोजित कार्यक्रमलाई साहित्य सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

लघुकथा : भ्रम/घनेन्द्र ओझा

साँच्चै मज्जा भयो । आजको दिन- दिनभर साथी, सङ्गी, दिदी, बहिनीसँग नाची ऊ । भोकै तिर्खै चर्को घाममा नाच्दा पनि बडो आनन्द भयो ।

तीजमा माइतीघरमा रमाउनुको छुट्टै मज्जा छ नारीहरूका लागि । उसो त पुरुषहरू पनि खुबै लोभिन्छन् तीजका बेला, नारीप्रति होइन, नारीहरूको प्रसन्नता, उमङ्ग, खुसी र मस्ती देखेर ।

थाहा पाउने भएदेखि निरन्तर तीजको व्रत बस्दै आएकी छ ऊ । बच्चैमा सुनेकी हो- तीजमा व्रत बस्दा असल र गुणी पति पाइन्छ । पतिको दीर्घायू हुन्छ । सुख, शान्ति र समृद्धि मिल्छ ।

यो धारणा यसरी गढेछ उसमा कि आजसम्म ऊ निरन्तर तीजको व्रत बस्दै आएकी छ, भलै, उसको जीवनरेखा जति नै बाङ्गियोस्, उसको विश्वास जति नै भाँचियोस् ।

नभन्दै भयो त्यस्तै । भर्खर एस. एल. सी. पास गरेर कलेज पढ्न जान सुरु गरेकी मात्र थिई, राम्रो जागिरे केटो माग्न आइहाल्यो । बी.ए. पढेको, सरकारी संस्थानको अधिकृत-नराम्रो कसरी भन्नू ? त्यसमाथि विराटनगरमा बजारमै ठूलै घर भएको । छोरो पनि एउटै, दुईवटी दिदी भए पनि विवाह गरिसकेका ।

केटोबारे बुझ्दा असल, इमान्दार र भद्र पनि पायो परिवारले । छोरी बालखै छ भन्ने त परिवारलाई लागेकै हो तर असल र राम्रो जागिरे ज्वाइँ उम्काउने जोखिम मोल्न चाहेन परिवारले ।

धुमधामसँग भयो विवाह । कुनै कमी भएन छोरी अन्माउने कर्ममा । १७ मात्र टेकेकी छोरीलाई घर खान सकस होला कि ! भन्ने चिन्ता भने पर्ने नै भयो परिवारमा ।

***

छोरीको घर संसार राम्रै चल्यो । परिवार असल र संस्कारी ! सासू-ससुराको माया आमा-बुबाकै जस्तो पाएको बताउँथी छोरी । माइतका बा-आमा र अन्य खुसी ।

केही वर्षमै छोरी जन्माई उसले । छोरी जन्मिएको केही महिनामै श्रीमानको सरुवा भयो विराटनगरबाट धनकुटा । सँगै जान्छु भन्न सकिन उसले-सानी छोरी जो काखमा थिई । बूढाबूढी सासू-ससुरा पनि त थिए सँगै ।

***

भर्खरकी सुत्केरी ऊ श्रीमानको यादमा सानी छोरीको अनुहार हेर्दै समय कटाउन थाली । उसो त, हरेक साताजसो बिदामा श्रीमान् घर आउँथ्यो-छोरीका लागि भए पनि ।

श्रीमान सरुवा भएर गएको केही समयपछि फोन सम्पर्कसमेत पातलियो । ठानी-व्यस्त भए होला ।

हरेक साताजसो घर आउने श्रीमान् क्रमशः १५ दिन, महिना दिन…पछि आउन थाल्यो ।

आफूले उस्तो कुनै काम गरेको याद छैन उसलाई, जसका कारण श्रीमानको चित्तमा चोट परेको होस् । तर, किन बेवास्ता गरिरहेको छ श्रीमानले आफूलाई ? झस्का पस्यो उसमा ।

श्रीमानसँगका विगतमा भएका केही ठाकठुक र असहमतिहरू सम्झिई-अहँ, त्यस्तो बेवास्तै गर्ने गरी कहिल्यै ठाकठुक परेको याद भएन ।

***

एक महिनापछि घर आयो श्रीमान् । खास्सै मनले बोलेन । छोरी बोक्यो, रमायो । बाबु-आमासँग बोक्रे गफ गरेर खाना खानेबित्तिकै सुत्यो । उसले ठानी, कुनै चिन्तामा वा अफिसको तनावमा होला ।

निधारमा हलुका स्पर्श गरी र मायालु भाकामा भनी, ‘के भयो हजुरलाई ? निराश, चिन्तित जस्तो देखिनुहुन्छ । बोल्नु पनि हुन्न । फोन सम्पर्क पनि पातलो छ- हामीलाई भुल्नुभएको ?’

श्रीमान् अर्कोपट्टि फर्कियो र निदायो । ऊ मनमा अनेक तर्कना गर्दै रातभर जागा बसी । अनेक शङ्का र भयले गाँजिई ।

***

बिहानै चियासमेत नपिई कसैसँग नबोली श्रीमान् हिँड्यो । बाबु-आमालाई समेत केही नभनी गयो ।

‘के भएको छ यसलाई अचेल ? घर आउन पनि मन गर्दैन । परिवारसँग फोनमा पनि बोल्दैन’, बाबु-आमाको चिन्ता थियो ।

***

समय बगिरह्यो, छोरी हुर्कंदै गई, बाबु-आमा बुढिँदै गए, श्रीमती अधवैँसे रहरमा डुब्न थाली ।

श्रीमान् आफ्नै दुनियाँमा हरायो । घर, परिवार, बाबु-आमा टाढिँदै गए ।

झण्डै ६ महिना हुन लाग्यो- बेलाबेला बाबु-आमासँग फोनमा कुरा गर्नेबाहेक न छोरीको, न त श्रीमतीको चासो र सोधीखोजी गरेको छ ।

***

एक दिन सँगै काम गर्नेले सुनायो-भवीन्द्रले अर्को विवाह गरेको छ । आफ्नै सहकर्मीसँग विवाह गरेर रमाएको छ ।

बूढाबूढी बाबु-आमा चिन्तित बन्नु स्वाभाविक हो । यौवना श्रीमती विन्दुको सपना, कल्पना, जपना सबै भताभुङ्ग बन्यो ।  नाबालिका छोरीको भविष्य डामाडोल बन्ने भयो । जीवनको लामो कहर सानी छोरी र उसले दु:खले बिताउने अवस्था आयो ।

***

कि जीवनसँग सङ्घर्ष वा हार अर्थात् आत्महत्या-यी दुईवटा विकल्प थिए उसका लागि । तर, नाबालिका छोरीका लागि पनि उसले बाँच्नुपर्ने बाध्यता थियो ।

सोची-‘अबको मेरो संसार यही छोरी हो । यसकै लागि पनि मैले जीवनसँग भिड्नुपर्छ ।’

सानी छोरी च्यापेर हिँडी ऊ पनि घर छाडेर । लोग्नेको सम्पत्तिसँग चासो राखिन-आफ्नो र छोरीको भविष्यका लागि मात्र सोची ।

काठमाडौँमा एउटा कलेजमा क्यान्टिन चलाउन थाली । सुन्दर रूपकी, राम्रो, चटक्क मिलेको जीउडालकी उसको क्यान्टिन राम्रै चल्यो । छोरीलाई राम्रै स्कुलमा पढाइरहेकी छे । आफू आत्मनिर्भर छे । स्वाभिमानपूर्वक बाँचेकी छे ।

बेलाबेला सोच आउँछ- ‘उसले (श्रीमानले) अर्को बिहे गर्दा हुन्छ । मैले किन नहुने ?’

केही पुरुषहरूलाई गम्भीर रूपले हेरिरहेकी पनि छे तर बेवास्ता गरेझैँ गरेर अथवा ती पुरुषलाई आफ्नो आशय सङ्केत नगरी ।

छोरी सम्झिएपछि फेरि यस्तो सोच गर्लम्म ढल्छ- ‘मैले अर्को बिहे गरेँ भनेँ यो बिचरीको हालत के हुन्छ ?’

यसरी अनेक पटक यस्तो सोच आउँछ र छोरीको अनुहारले ढालिदिन्छ ।

***

१० वर्ष भएछ श्रीमानसँग सम्पर्क नभएको । कसैकसैले सुनाउँछन्, ‘भवीन्द्र संस्थानको ठूलो मान्छे भएको छ । काठमाडौँमै सरुवा भएको छ ।’

उसलाई भेट्नु छैन अब । यौवन र रहर हुँदा सँगै नभएको लोग्ने किन चाहियो अब ?

***

दिनभर तीजको व्रतसँगै नाचगानमा रमाएकी ऊ थकित भएर आई कोठामा । सामुन्नेको ऐनामा उसको फुस्रो अनुहार, निधारको रातो टीका, सिउँदोको लामो धर्को सिन्दूर, रातै चुरा, गलाको तिलहरी अनि श्रीमानले जोगवनी गएर किनिदिएका रातो सारी र चोली देखाइदियो ।

निकैबेर एकनास हेरिरही ऐनामा । क्रमशः फाली टीका, पखाली सिन्दूर, चुँडाई तिलहरी, फुटाई चुरा र ड्रेसिङ टेबलमा टाउको घोप्ट्याएर रोइरही रातभर ।

काठमाडौँ

कविता : सेतो पाना/स्वस्तिका दाहाल

एकछिन् टोलाउँछ र लेख्न थाल्छ
सहपाठी साथी
सेतो पानामा काला अक्षरहरू ।

घोकी रहन्छ हरेक लाईनहरू
प्रत्येक कथाहरू, व्यथाहरू
र सैद्धान्तिक फर्मुलाहरू
तर लेख्न सकेन
जिउँदो हुनुको अस्तित्व
जिवन्त बनाउन सकेन पुस्तकका
हरफहरूजस्तो ।
छुटिन थाल्यो जिवनका केही अंशहरू
पुस्तकका पानाजसरी
धमिल्लिन थाल्यो कलमका डोबहरूजस्तो
मानिस हुनुको अर्थ
मेटिँदै गए अक्षरहरूजस्तै मानवता
लेख्न त लेख्छ अझै पनि मेरो साथी
के बन्ने प्रश्नमा–डाक्टर
तर पढेन–जिन्दगी
पढेन–मित्रता
पढेन–समय
पढेन–आमाको मुहार
पढेन–देश
पढिरह्यो–पुस्तक मात्रै ।
पुस्तकभित्रका रङ्गीचङ्गी अक्षरहरू

अह, सकेन बुझ्न जीवन ।
बोकी रह्यो झोलामा ज्ञानका चाङहरू
र छर्न सकेन,
बर्षौसम्म थन्किएर रहेको पुरानो पुस्तकजस्तो
कहिल्यै प्रयोगमा आएन
उसले बुझ्यो आफ्नै जिवनको भोगाई
यतिखेर ऊ
यस्तै यस्तै पुस्तकको चिहानभित्र छ
एकपटक सोच्नुस् त महाशय !
यस्तो सोचको चिहानमा
मानव कसरी सभ्य हुन सक्ला ?
नलेखियोस् त्यस्तो पुस्तक
सेतो पानामा दाग लाग्ने गरी ।

बकैया–३, मकवानपुर

ज्ञानु विद्रोहीका चार मुक्तकहरू

मुक्तक–१

नराम्ररी आफ्नै आङमा थुक्नुभयो हजुरले
आफ्नै घरमा कसलाई फेरि ढुक्नुभयो हजुरले
पोल्नुभयो आफ्नै हठमा करोडौंका इच्छालाई
जनइच्छा भन्दै ढ्वाङ फुक्नुभयो हजुरले ।

मुक्तक–२

स्वतन्त्र भै बोल्न पाइयोस् कोही कसैको अधीन नहोस्
सरकार तिमीसँग हाम्रो नाता अझै सङ्गीन नहोस्
खबरदार ! दवाब आउला, आश्वासनले झुक्याउला
हाम्रो हातमा नक्शा अनि उसको हातमा जमीन नहोस् ।

मुक्तक–३

सँधै बढाउँछ मात्र घटाउँदैन कैल्यै
कसले गर्यो किन गर्यो बताउँदैन कैल्यै
जे जे भेट्यो सबै खान्छ, कैल्यै पुग्यो भन्दैन
तर दुब्लो हाम्रो सरकार मोटाउँदैन कैल्यै ।

मुक्तक–४

आफैँ बनाउँछ अनि आफैँ भत्काउँछ
सानै विषयमा पनि चर्को कराउँछ
प्राय सँधै हुन्छ आफैँ धामी, आफैँ झाक्री
यस्तो लाग्छ मेरो देश बुख्याँचाले चलाउँछ ।

                 –भक्तपुर

साहित्यिक संस्थाका नाममा पहिलो पटक सिक्का टकमरी र हुलाक टिकट लोकार्पण

फागुन १९, शनिबार
मकवानपुर ।
नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैङ‍्‍कका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरेका हुन् ।

नेपाल राष्ट्र बैङ्‍कबाट १ सय रुपियाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट १० रुपियाँको हुलाक टिकट प्रकाशनमा आएको हो । नेपाल राष्ट्र बैङ्‍कबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर भएको सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनु भएको छ ।

२०५२ माघ १५ गते स्थापना भएको नई प्रकाशन नेपाली भाषासाहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायत अन्य विविध क्षेत्रका प्रतिभाको खोजी र तिनीहरूको सम्मानमा सक्रिय रहँदै आइरहेको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको सभाध्यक्षतामा सञ्चालित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति वैरागी काइँला, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले मन्तव्य राख्नु भएको थियो ।