Home Blog Page 38

स्वर्ण शृङ्खलामा हेटौंडाकी कवि शान्ति प्रियवन्दना

भरतपुर, २७ माघ ।
चितवनका कविहरूको कवितावाचन शृङ्खला चियासँग कविताको ५० औँ शृङ्खला गरिएको छ । शनिबार गरिएको यस स्वर्ण शृङ्खलामा हेटौंडाकी कवि शान्ति प्रियवन्दनाले कविता सुनाएकी छन् ।

चियासँग कविताको पहिलो शृङ्खलामा वरिष्ठ कवि गोविन्दराज विनोदीले कविता सुनाएका थिए । त्यो दिन २०७३ साउन १५ गते थियो । त्यसपछि नियमितरूपमा भैरहेको यो कार्यक्रम कोरोनाकालमा रोकिएको थियो । `अहिले अवस्था सहज भएकोले यो शृङ्खलालाई नियमित लैजाने भएका छौँ´, शृङ्खलाका सदस्य भूपिनले भने ।

कवि शान्तिले समय शीर्षकको कविता सुनाएर कार्यक्रमको शुरुआत गरिन् । समयले आफूलाई धेरै कुरा सिकाएको र समय अनुसार आफू चल्ने कोसिस गरेको भाव उनले कवितामा उतारेकी थिइन् । कार्यक्रमको नियम अनुसार शान्तिले १२ वटा कविता सुनाइन् । वोनस कविताको रूपमा उनले आफ्नो कवितासङ्ग्रह जिल खाइरहेको एक्काइसौं शताब्दीबाट एउटा कविता थप सुनाइन् । शान्तिका कवितामाथि ईश्वर कँडेल, उदय अधिकारी, डाक्टर एकनारायण पौड्याल र नमूना शर्माले टिप्पणी राखेका थिए ।

भरतपुरस्थित होटल गुलमोहरमा गरिएको कार्यक्रममा कविता सुन्न शान्तिका परिवार र चितवनका स्रस्टाहरूको बाक्लो उपस्थिति थियो । साभार : कायाकैरन

जेम्स स्कुलको अभिभावक दिवस सम्पन्न

हेटौंडा, २६ माघ । व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५० सालमा स्थापना भएको जेम्स स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ।

हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा रहेको विद्यालयले विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकको उपस्थितिमा शुक्रबार विद्यालय प्रांगणमै आफ्नो ३० औं अभिभावक दिवस सम्पन्न गरेको छ।

प्ले ग्रुप-नर्सरीदेखि कक्षा–१० सम्म अध्ययन हुने विद्यालयमा बालबालिकाले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि रहेकी हेटौंडा उपमहानगरपालिकाकि वडाअध्यक्ष जुना दाहालले विद्यालयका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेकाले अझ उत्तरोतर प्रगतिको कामना गरेकी थिइन् । उनले वडामा हुन लागेको बाल मैत्री वडा घोषणामा जेम्स स्कुलले ठुलो भुमिका खेलेको बताइन् ।

विशेष अतिथिमा तुलसी मेहर मेमोरियल हायर सेकेन्डरी बोर्डिङ स्कुलका प्रीन्सिपल रघुनाथ खुलाल त्यस्तै दिब्यजोति इङलिस स्कुलकी प्रीन्सिपल क्यारमेला राईको उपस्थिति रहेको थियो । बिद्यालयका प्रिन्सिपल विजय तामाङको सभाअध्यक्षतामा कार्यक्रम सप्पन्न भएको हो ।

युवाकवि मसान उपासकको एकल कविता वाचन कार्यक्रम सम्पन्न

मकवानपुर । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको आयोजनामा वालिङमा युवाकवि मसान उपासकको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट कविताहरू वाचन गरे । उनले विकास, छाेरीकाे नाममा, तिमिसँग, साेच, देशप्रति र काजाेल खातुन् शीर्षकका कविताहरू र एउटा गजलसमेत वाचन गरे ।

त्यसपछिको क्रममा लक्ष्मी अधिकारी, वसन्ती अधिकारी, वसन्त खनाल, कमलप्रसाद बगाले, सीताराम अधिकारी, शम्भु अर्याल र ध्रुवप्रसाद शर्मा पङ्गेनीले कविता वाचन गरेका थिए ।

दोस्रो चरणमा कवि उपासकले पुनः ४ वटा कविता वाचन गरे । उनले जेब्राक्रसमा एकछिन, जानुअघि शहरतिर, आभास र बिरुद्धमा बिरुद्ध शीर्षकका कविताहरूका साथै २ गजलहरू वाचन गरेका थिए । उनलेे परिवर्तनका लागि फर्कनु पर्ने आवश्यकतालाई मध्य नजर गर्दै आफुहरूले फर्क अभियान सञ्चालन गरिएकाे बताए ।

कार्यक्रमको सहजीकरण अभियानका संस्थापक अभियन्ता मिलन समीरले गरेका थिए  ।

झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मान गर्ने

मकवानपुर । मकवानपुरमा क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० को अवसरमा सष्ट्राहरूलाई सम्मान गर्न लागेको हो ।

झरना साहित्य परिवारले हेटौँडामा सोमबार पत्रकार सम्मेलन गर्दै यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानको जानकारी गराएको हो । यस बर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०८० बाट काठमाडौँका डा. गीता त्रिपाठी सम्मानित हुने भएका छन् । त्रिपाठीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

यसैगरी, साहित्यको मुक्तक विधातर्फ खोटाङका बाबुराम पोखरेललाई सम्मान गरिने भएको छ । उनलाई साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट सम्मानित गरिने भएको हो । उक्त सम्मान नगद १५ हजार ५ सय ५५ रहेको झरना साहित्य परिवारले जनाएको हो ।

जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने मकवानपुरका साम्ब ढकाललाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । नगद १५ हजार ५ सय ५५ राशीको रहेको उक्त पुरस्कार साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् ।

पत्रकारिताको माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएको भन्दै पत्रकार रामकुमार एलनलाई स्व.गाेकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको हो । उक्त सम्मानको राशी नगद ११ हजार १ सय ११ रहेको छ । उक्त पुरस्कार स्व. गौतमका माता नन्दादेवी गौतमले स्थापना गरेकी हुन् ।

त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट स्याङ्जाका मिलन समिर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट बिमला कार्की “सुसं”, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटा र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेको खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट बासुरीवादक बिष्णु घतानीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।

त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई प्रदान गरिने भएको छ । यो पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् ।

झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० फागुन ११ र १२ गते हुने कालीदेवी मावि बकैया–९, शिखरपुरमा हुने सचिव उपासकले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन रचना वाचन र चित्रकला प्रतियोगिता हुनेछ । यसैगरी बकैया बिशेष रचना वाचन पनि पहिलो दिन नै हुनेछ । यसैगरी कला साहित्य महोत्सवको दोस्रो दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुने झरनाले जनाएको छ ।

सुर्खेतमा ‘कर्णालीको मर्म’ माथी परिचर्चा

मकवानपुर । युद्ध पत्रकार डाक्टर दिपेन्द्र रोकायाद्वारा लिखित ‘कर्णालीको मर्म’ पुस्तक माथि परिचर्चा गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रोकायाद्धारा लिखित ‘कर्णालीको मर्म’ पुस्तकमाथि विचार विमर्शसहित परिचर्चा गरिएको हो ।

कार्यक्रममा बक्ताको रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दवहादुर सिंह, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रवहादुर शाही र लेखक तथा सामाजिक अभियान्ता डा. नवराज केसीले समिक्षा गरेका थिए ।

‘कर्णालीको मर्म’ नामक पुस्तक माथि परिचर्चा गर्दै वालरोग विशेषज्ञ तथा सुन्यको मुल्य पुस्तकका लेखक डा. नवराज केसीले कर्णाली वुझने इच्छा भएका र कर्णालीको वारेमा अध्ययन गर्नेहरूको लागि आधारभुत स्रोत भएको बताए । कर्णाली कस्तो छ भन्नेहरूका लागि आधारभुत ज्ञानको स्रोत ‘कर्णालीको मर्म’ भन्ने पुस्तक भएको चर्चा गरे । उनले युद्ध पत्रकारिता, राजनीतिक खोज अनुसन्धान गर्दै आएको ब्यक्तिले लेखेको पुस्तक अनुसन्धानमुलक भएको धारण ब्यक्त गरे । उनले केन्द्रदेखि मोफसलसम्मको पत्रकारिता क्षेत्रमा देखिएको कमी कमजोरी हेर्ने ऐना भएको उल्लेख गरेका थिए । पत्रकारिता जगतबाट भनिएका हरेक कुरालाई आम मानिसले आधिकारिक धारणा बनाउँछन्, लेखक रोकायाले कर्णाली प्रदेशमै केन्द्रित भई कर्णालीको भुगोल, जाति, भाषा र साँस्कृतिक अबस्थालाई केलाएर आउनैपर्ने विषयवस्तु समेटेर पुस्तक तयार पारेको उनको भनाइ छ ।

कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले नेपाल एकीकरणमा कर्णालीले देखाएको विरताको स्मरण गर्दै पुस्तकमा कर्णाली समग्र चित्र आउनुपर्नेमा जोड दिए । कर्णालीको विकासमा महत्वपुर्ण योगदान पुग्ने भन्दै शाहीले धेरै विषयहरु साझा रुपमा आएको वताए । युद्धदेखि शान्ती हुदै लेखकले लेखेका विषयवस्तु कर्णालीबारे अनुसन्धान गर्नेहरूको लागि निकै सहयोगी हुने विश्वास ब्यक्त गरे । पुस्तकमा लेखकले कर्णालीको इतिहास, वीरता, भुगोल, संस्कृती लगाएको गतिलो परिचय दिएको उल्लेख गरे ।

यस्तै, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले कर्णालीको माटोमा जन्मिएको युवाले गरेको खोज अनुसन्धान कर्णाली परिवर्तनको महत्वपुर्ण दस्तावेज भएको उल्लेख गरे । पुस्तकमा कर्णालीको राजनिति, योजना, विकास र सभ्यताको प्रतीकलाई लेखकले देखाउन खोजेको बताए । युवा पुस्ताको लागि अत्यन्त काम लाग्ने यस्तो दृष्टि लेखकले अगाडी सारेको सिंहले बताए । ‘कर्णालीको मर्म’ पुस्तकले कर्णाली विकासको रुपरेखा प्रस्तुत गर्न मेहनत गरेको उनको भनाइ छ ।

लेखक डा. दिपेन्द्र रोकायाले समिक्षाको रुपमा आएका रचनात्मक सुझावहरूलाई आत्मासाथ गरेको बताए । कर्णालीबारे गहन अध्ययन गरेर पुस्तक लेखन शुरु गरेकोले भुई मान्छेदेखि युद्ध हुदै कर्णालीको विकासका योजना निमार्णको तहमा पुग्दा समेतको यथार्थ अनुभुती, भोगाई अब कसरी अगाडी बढ्न सकिन्छ भनेर ‘कर्णालीको मर्म’ पाठकका बीचमा ल्याएको उनले जानकारी दिए ।

कर्णाली साहित्य समाज सुर्खेतको आयोजना तथा मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको सहकार्यमा पुस्तकमाथी परिचर्चा गरिएको समाजका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले बताए ।

कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरु, विद्याथीहरु, सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक अगुवा तथा पत्रकारहरू लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

मकवानपुर र सिन्धुलीका साहित्यकारहरुबिच बनभोजसहित रचना वाचन

मकवानपुर । मकवानपुर–सिन्धुली साहित्यिक सङ्गमको आयोजनामा माघ २० गते शनिबार बागमति नदिको किनारमा बनभोज तथा रचना वाचन कार्यक्रम भएको छ ।

मकवानपुर र सिन्धुली दुबै जिल्लाका साहित्यकारहरूलाई पायक पर्ने गरी मदन भण्डारी लोकमार्ग नजिकै बागमति नदि किनारमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि निमेष निखिलले यो राम्रो संस्कारको विकास भएको बताउँदै अर्को बर्ष दुई दिवसीय कार्यक्रम गर्नुपर्नेमा जोड दिए । उनले मकवानपुर, सिन्धुली, रामेछाप, चितवन, सर्लाही, रौतहटलगायतका साहित्यकारहरू समेतलाई समेट्न सके अझै कार्यक्रम फलदायी हुने अपेक्षा राखे ।

बिगत तीन बर्ष यता सिन्धुली तथा मकवानपुरका साहित्यकारहरू यसैगरी भेला हुदै आपसमा भेटघाटसहित रचना वाचन गर्ने गरेकोमा यो बर्ष पनि त्यसैलाई निरन्तरता दिएको मकवानपुरतर्फ संयोजन गरेका साहित्यकार विश्वनाथ सञ्जेलले बताए । उनले आगामी बर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा मकवानपुरका रमेशमोहन अधिकारी, जर्नादन खनाल, पुरुषोत्तम आचार्य, छवि अनित्य, मसान उपासक, देवराज तिवारी, केशव समर्पण, हरी पौडेल, गायत्री रुपाखेती, मिथिला अधिकारी, बैकुण्ठ लामिछानेलगायत तीन दर्जन साहित्यकारको उपस्थीति रहेको थियो । यस्तै, सिन्धुलीबाट लोकेन्द्र डहरे, खडानन्द तिमल्सिना, धनमाया राई, अस्मिता दाहाललगायत दुई दर्जन साहित्यकारको उपस्थीति रहेको थियो ।

बुढ्यौली साहित्य समाज सिन्धुलीका अध्यक्ष शम्भु गजुरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलले गरेका थिए ।

२९९ औँ साहित्य शृङ्खलाका अवसरमा बकैयामा चित्रकला कार्यशाला

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको २९९ औँ साहित्य शृङ्खलाका अवसरमा चित्रकला प्रशिक्षण तथा कार्यशाला शुक्रबार बकैया–३, मकवानपुरस्थित बुद्ध माविमा सम्पन्न भएको छ ।

हरेक महिना नियमित शृङ्खलाको आयोजना गर्दै आइरहेको झरना साहित्यिक परिवारले आउँदो फागुनमा हुने पाँचौँ बकैया कला–साहित्य महोत्सवको पूर्वसन्ध्यामा यस कार्यशाला आयोजना गरेको हो।

मकवानपुरको बकैया गाउँपालिका भित्रका विभिन्न छ वटा माध्यमिक तथा आधारभूत विद्यालयका गरी १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिताका माझमा यस कार्यशाला सम्पन्न भएको थियो । कार्यशालामा महेन्द्र माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय, कर्मप्राप्ती माध्यमिक विद्यालय, जनक माध्यमिक विद्यालय, कालीदेवी माध्यमिक विद्यालय र बाघभैरव आधारभूत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रशिक्षकका रूपमा रहनुभएका चित्रकला शिल्पी सूर्य सन्यासीले विद्यार्थीहरूमा चित्रकला सम्बन्धी आधारभूत ज्ञान दिनुका साथै हरेक विद्यार्थीले आफूभित्र लुकेको कलाको पहिचान गरेर त्यसलाई बाहिर निकाल्न सकेमा आफ्नो जीवनमा केही गरेर देखाउन सक्ने धारणा राख्नुभएको थियो।

कार्यक्रममा बुद्ध माध्यमिक विद्यालयका शिक्षक द्वय हरिप्रसाद घिमिरे तथा छवि बिक, कर्म प्राप्ति माध्यमिक विद्यालयका शिक्षक तथा झरनाका कोषाध्यक्ष कृष्ण घतानी, बाघभैरव आधारभूत विद्यालयका शिक्षक कृष्णप्रसाद घिमिरे, झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्षद्वय चिरञ्जीवी लामिछाने र गायत्री रुपाखेतीको उपस्थिति रहेको थियो।

सरुभक्तलाई भीमदर्शन मुक्तक पुरस्कार

मकवानपुर । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर २०८० माघ १८ गते प्रसिद्ध साहित्यकार सरुभक्तलाई रु. ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गरेको छ ।

यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तक कृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको ‘आरब्ध’ लाई रु. ३१ हजार रुपैयाँसहित’कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ प्रदान गरियो ।

दुबै पुरस्कारहरू कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गर्नु भएको हो ।

यी दुवै पुरस्कारहरू नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित पुरस्कारहरू हुन् ।
सोही अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’ को समेत लोकार्पण गरियो ।

प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काईँला, अध्यक्ष कोने, समालोचक श्रीओम श्रेष्ठ रोदन, विमल भौकाजी, ज्ञानु पाण्डे, पुरस्कृत स्रष्टा अनुराधा ढकाल, रमेन्द्र शमशेर थापा, वियोगी बुढाथोकी, दिव्य गिरी लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा मुक्तककारहरू दिनेश शर्मा (हेटौंडा), सुनिल अधिकारी, राजेन्द्र घिमिरे ‘सागर’, मदन नेपाल, निर्मलरमण पराजुली लगायतले आ-आफ्नो शुभकामना मन्तव्य तथा मुक्तक वाचनु गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गर्नु भएको थियो ।

ऐतिहासक गैर-आख्यान ‘चक्रव्यूहमा गोर्खा’ फरवरीमा लोकार्पित हुने ।

माघ २० शनिबार, मकवानपुर । गोर्खाल्याण्ड आन्दोलनको ऐतिहासक तथ्याङ्कनसहित दार्जीलिङ निवासी भोटू सिंह छेत्रीद्वारा लेखिएको ६०० पृष्ठको बृहत् ग्रन्थ “चक्रव्यूहमा गोर्खा” फरवरी २०२४-देखि बजारमा आउने जानकारी बुकएण्ट, सालबारीले दिएको छ ।

विगतमा गरिएको गोर्खाल्याण्ड आन्दोलनमा १२ सयभन्दा बढ़ी शहीद र सयौँ पहाड़वासी बेपत्ता भएर पनि र पनि अद्यावधि टुङ्गो नलागेको गोर्खाहरूको राजनैतिक चिह्नारी गोर्खाल्याण्ड आन्दोलनको मुद्दालाई किताबले सम्बोधन गरेको छ। लेखकले ब्रिटिशकालमै हिलमेन्स एसोसिएशनले चालेको चिह्नारीको पाइला प्रान्त परिषद् हुँदै गोरामुमो, गोजमुमोको पहलमा आएर अड़किएको वृत्तान्त दिँदै भारत-नेपाल शान्ति एवं मैत्री सन्धि, १९५०-को वितर्कित धारा ७, ‘रेसिप्रोकल’-को तर्क उठाउँदै भारतीय गणराज्यभित्र गोर्खा परिचयको शङ्खनाद गर्ने सुवास घिसिङको राजनैतिक उत्थान-पतनको विस्तृत लेखाजोखा गरेका छन्। २२ अगस्त १९८८-मा घिसिङले ‘ड्रप’ गरेको आन्दोलनले विमल गुरूडहरूको नेतृत्वको टेको पाएपछि गुरूङ पनि घिसिङले थापेको दागोपापको ‘प्रो-भर्सन’ जीटीए थापेर आन्दोलनदेखि विमुख भएको उल्लेख गर्न भ्याएका छन्।

चार खण्डमा लेखिएको यस महत् ग्रन्थमा एकातिर, कङ्ग्रेसी इन्द्रजीत खुल्लरहरूको झुक्याईको क्रमबद्ध चर्चा छ भने अर्कोतिर, भाजपाले निरन्तर लोकसभा सासंद आसन सुनिश्चित गर्न कसरी केन्द्रीय राजनीतिको क्याल्कुलेटिभ म्यानुपुलेशनको अङ्कुशे गोर्खा समुदायमाथि हालेको छ, त्यसको समेत विमर्श गरेका छन्। लेखकले यस कृतिमा डा. विधानचन्द्र रायको पालोदेखि चलेको ‘पपुलेसन-गेम’ अन्तर्गत गोर्खे समुदायलाई अल्पसङ्ख्यक पार्ने राज्य-प्रायोजित कुचक्र रहेको दस्तावेजसहित प्रमाण गरेको छन्। किताबको निष्कर्षमा पहाड़का गाउँबस्तीमा होम-स्टेको निहुँमा हतारिएर थोपिएको होटल-रेसर्ट अभियान, चियाकमानमा हुलिएको टी-टुरिजम-ले कसरी गोर्खा समाज अल्पसङ्ख्यक बन्दै जाने र गोर्खा पहिचानको मुद्दा कसरी सङ्कटतिर धकेलिने सम्भावना चुलिएको छ भन्ने अड़ान राखेका छन्।

बुकएण्टको पक्षमा निर्देशक सुरज गुरुङले बताएका छन्, “विरलकोटिको दस्तावेजीकरणले कृति तार्किक रूपले बलियो भएको छ। आन्दोलकालमा लेखकको आफ्नै साक्षात् अनुभवहरूको विवरणले कृतिको सत्यापन भएको छ”। गोर्खाल्याण्ड आन्दोलनको विश्वस्त राजनैतिक दस्तावेजीकरण मान्न सकिने ‘चक्रव्यूहमा गोर्खा’ ब्रिटिशकालदेखि समकालीन विन्दुसम्मको फेहेरिस्त हो। पहाड़को राजनीतिको रानीमासुमै पसेर काम गरेका भोटू सिंह छेत्रीको यस बृहत् ग्रन्थमा लेखकले केन्द्रीय सत्ता र राज्य सत्ताको साझा ‘चक्रव्यूह’ -मा परिसकेको गोर्खा समुदायको राजनैतिक इतिहासको अथेण्टिक न्यारेटिभलाई पाठकका लागि अघि ल्याएका छन्।

‘चक्रव्यूहमा गोर्खा’ कृतिका सम्पादक राजा पुनियानीले बताए, “चक्रव्यूहमा गोर्खा गोर्खाल्याण्ड आन्दोलनलाई नजिकबाट बुझ्न चाहने पाठक, शोधकर्ताहरूका लागि अति महत्त्वपूर्ण दस्तावेजी ग्रन्थ हुनेछ”। १२ जून १९५२-मा दार्जीलिङमा जन्मिएका भोटू सिंह छेत्री दार्जीलिङको राजनैतिक परिवेशमा बौद्धिक रूपले सक्रिय व्यक्तित्व हुन्। १९८६-को गोर्खाल्याण्ड आन्दोलनको आरम्भिक कालदेखि जोड़िएका बुद्धिजीवी भएको नातामा दार्जीलिङको राजनीतिमा बुनियादी सक्रियता राख्ने महत्त्वपूर्ण गोर्खाल्याण्ड ‘बौद्धिक-एक्टिभिस्ट’ कहलाइने हैसियत राख्छन्। 

गोर्खाहरूको चिह्नारीको मुद्दामा गहिरो अभिज्ञता राख्दै सुनचरी समाचार, सुनाखरी समाचारलगायत विभिन्न पत्र-पत्रिकामा राजनैतिक रचनाहरू प्रकाशित गराएका छन्। गोर्खा नेशनल लिबरेशन फ्रण्ट, गोर्खा लिबरेशन फ्रण्ट र दार्जीलिङ सिभिल सोसाइटीका संस्थापक सदस्य रहेका हुन्। १९७६-देखि २०१२-सम्म दार्जीलिङ नगरपालिकामा सेवा पुऱ्याएका हुन्। ‘चक्रव्यूहमा गोर्खा’ यिनको पहिलो पुस्तक हो।

ऐतिहासिक गैर-आख्यान “चक्रव्यूहमा गोर्खा”-को आवरण पेमा शेर्पाले डिजाइन गरेका छन्, जसको मूल्य रु. ६९९ राखिएको छ। प्रकाशनगृह बुकएण्टको पक्षमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार “चक्रव्यूहमा गोर्खा” फरवरीको महीनाको मध्यावधिमा लोकार्पित गरिने छ। कृतिको अङ्ग्रेजी संस्करणको पनि तयारी चलिरहेको समेत जनाइएको छ ।

कविता : कलम/मनसुन श्रेष्ठ

राम्रा राम्रा लेख हामी कलमले लेख्नेछौँ
कलमले धेरै लेखी असल मान्छे बन्नेछौँ ।

तिखा तिखा कलम हो नै हाम्रा हतियार,
विशाल बलियो तरबार मानी हाल्छ हार ।

कलमले हामीलाई दिन्छ धेरै ज्ञान
कलम नै हो साथी हाम्रो ठुलो शान ।

कथा, कविता, गृहकार्य कलमले गर्छौं
कलमलाई माया गरी आफैसँग राख्छौँ ।

बुद्धि विवेकले नभ्याउँदा कलम हुन्छ हाम्रो साथी
त्यही भएर सबैभन्दा कलमको स्थान छ माथी ।

असल कुरा सिकेर, परिश्रम गरेर
सबै मिली अघि बढ्छौँ कलमले लेखेर ।

कक्षा–५, हेटौँडा मोडर्न इङ्लिस सेकेन्डरी स्कुल