Home Blog Page 76

देशको शान्ति बनिदिनेछु

मेरा आमाबुबाले देखेको सपना म पूरा गरिदिनेछु
बाबाको हातमा उठिकन फुटेको ठेलालाई मासुले भरिदिने छु
चिन्ता लिनु पर्दैन आमामाबुबा एकदिन म देशको शान्ति बनिदिनेछु ।

मेरा दाजुभाइको लागि म यमराजसँग पनि लडिदिनेछु
यदि परिआएछ भने परिवार बचाउन म आफैँ मरिदिनेछु
चिन्ता लिनुपर्दैन आमाबुबा एकदिन म देशको शान्ति बनिदिनेछु ।

मेरी आमाले दुःख गरी खनजोत गरेको खेतमा म बीउ बनि छरिदिनेछु
पसिना बगाई उमारेको खेतिमा खडेरी लागे म पानी बनी परिदिनेछु
चिन्ता लिनुपर्दै आमाबुबा एकदिन म देशको शान्ति बनिदिनेछु ।

कसैको चिन्ता, पीर, बोझ नबनी म उड्ने चरी बनिदिनेछु
तीतो मुखलाई मीठो बनाइदिने फल केराको घरि बनिदिनेछु
चिन्ता लिनुपर्दै आमाबुबा एकदिन म देशको शान्ति बनिदिनेछु ।

मेरा आमाबुबालाई घामले पोल्दा शितल दिने झरि बनिदिनेछु
राम्रो काम गर्दा छिटोछिटो फैलन धुवाँसरी बनिदिनेछु
चिन्ता लिनुपर्दै आमाबुबा एकदिन म देशको शान्ति बनिदिनेछु ।

कुसुम लुइँटेल
कक्षा १०, महेन्द्र मा.वि., बकैया ४

मोपासाँका दर्दभरि कहानी

गी द मोपासाँ अर्थात् लघु कथाका मास्टर । १९औं शताब्दीका (१८५० अगस्ट ५- १८९३ जुलाई ६)  फ्रान्सेली लेखक । उनको पहिलो प्रकाशित कृति “बूल द सुइफ” सबैभन्दा प्रसिद्ध कृति मानिन्छ । अति देशभक्तिलाई युद्ध जन्माउने भ्रुण मान्ने उनले आम मान्छेका दैनिकीलाई नै आफ्ना लेखनीमा समावेश गरेका छन् । आज उनै मोपासाँका व्यक्तिगत र कृतिगत जानकारी बारे साहित्य सर्जक वत्सराज कोइराला प्रस्तुति उल्लेखित छ ।

फ्रान्समा मात्रै होइन संसारभर मोपासाँलाई एक उत्कृष्ट कथाकार मानिन्छ। सन् १८५० मा जन्मेका गी दे मोपासाँ आजीवन अविवाहित रहे। लेखनबाट कमाएको अथाह सम्पत्ति उनले हावामा उडाए। तृतीय श्रेणीका नगरवधुहरुदेखि उच्च कुलीन स्त्रीहरुसँग उनको निरन्तर सम्पर्क रहिरह्यो। बीस वर्षकै उमेरमा उनलाई भिरिङ्गी भन्ने यौनरोग लाग्यो। उनको दाजु भिरिङ्गी लागेर अनि भाइ पागल भएर बिते। टाउको दुख्ने र आँखा दुख्ने असह्य समस्याले मोपासाँ हैरान थिए। डिप्रेसनको सिकार भएर सन् १९९२ मा आमाकै सामु सेरिएर मर्न खोजे। पेरिसमा उपचारपछि ज्यान बच्यो। तर घाउ गहिरो थियो। त्यसको एकवर्षपछि असीम पीडा भोग्दै उनले संसार छाडे। यसरी ४३ वर्षमै बितेका मोपासाँका ३०० भन्दा बढी लामा कथाहरु, ६ उपन्यास, ३ नियात्रा संग्रह र १ कविता संग्रह प्रकाशित छन्। कथाहरुको माध्यमबाट मोपासाँले मानवीय सम्बन्ध, त्रासदी, मनवीय गरिमा र दु:खका थुप्रै आयामहरुलाई कुशलतापूर्वक चित्रण गरेका छन्। तत्कालीन समयका कथाशील्पीहरु लीयो टाल्सटाय र तुर्गनेभले उनको प्रशंसा मुक्तकण्ठले गरेका छन् भने उनीपछिका कथाकारहरु चेखोब, ओ हेनरी, समरसेट ममले मोपासाँलाई गुरु मानेका छन्। मोपासाँका कथाहरूमा मानव जीवनको दारुण त्रासदी, मान्छेको आन्तरिक सौन्दर्य, मानवीय मनोविज्ञानको जीवंत चित्रण पाइन्छ। उनका कथाहरुमा सन् १८७० देखि १८९० सम्मको फ्रान्सिसी जीवनको बिराट चित्र देख्न पाइन्छ। यिनै महान कथाकारको एउटा प्रतिनिधि कथासङ्ग्रह सर्च गरेर त्यसमध्येको एउटा कथा पढें, “द बल अफ फ्याट” आज। दिल्लीको रजकमलबाट प्रकशित थुप्रै हिन्दी तथा हिन्दीमा अनुदित विश्वकथा पढ्ने गर्छु फुर्सद कटाउन म। यो कथासंग्रहलाई भारतका नरेन्द्र सैनीले अनुवाद गरेका हुन्। पहिलो कथा “द बल अफ फ्याट” अर्थात् “चर्बी की गुडिया” पढेपछि बहुत सन्तुष्टि मिल्यो। यस कथामा कथाकारले एउटी युवती एलिजाबेथ रोजेटको वर्णनातीत दु:ख अनि ठालुहरुको चरम पाखण्ड र कृतघ्नताको जीवंत चित्रण गरेका छन्। एलिजाबेथ रोजेट फ्रान्स र पर्सियाको युद्धकालमा रुवाँबाट एउटा बग्गीमा अरु दसजनासँगै भागेर लुभ्र जान लागेकी हुन्छे। ठुलाठालुहरु उसलाई मान्छे गन्दैनन् किनभने उ नगरबधु हो। तर भोकले सताएपछि उसैले दिएको खाना लाज पचाएर हसुर्छन्। होटेलमा बास बस्दा पर्सियन सेनाले उसलाई समात्छ। सेनाको प्रमुखसँग यौन संपर्क राखेमा छोडिदिने लोभ देखाउँछन्। दुश्मनको सेनालाई शरीर सुम्पन उ तयार हुन्न। प्रत्येक दिन हाकिम फकाउन आउँछ। उसका अरु नौजना ठुलाठालुहरुले पनि उसलाई बन्दी जीवनबाट उम्कने हो भने शरीर सुम्पिदेऊ भन्छन्। बन्दी जीवनबाट वाक्क भएपछि उसले बाध्यतापूर्वक सेनाको हाकिमलाई आफ्नो शरीर अर्पण गर्छे। उ सहित सबै साथी थुनामुक्त हुन्छन्। तर उल्टै ती साथीहरुले उसको तिरस्कार गर्न थाल्छन्। जसको मुक्तिको लागि आफ्नो शरीर सुम्पिएको थियो उनीहरुले गुन बिर्सेको देखेर उसको आँखाबाट आँसु बग्छ। यो कथाले मोपासाँलाई अन्तरराष्ट्रीय रूपमा लोकप्रिय बनाइदियो। तत्कालीन ठुला कथाकार एमिल जोलाले समेत यो कथालाई विश्वको सर्वश्रेष्ठ कथा भनेका थिए। यो कथामा नारी चेतना, दु:ख र बिडम्बना तथा महिला संवेदनाको गहिरो चित्रण पाइन्छ। मोपासाँका कथाहरुको यो संग्रहमा चर्बी की गुडिया, हीरों का हार, रस्सी का टुकडा, एक नौकरानी की कहानी, चाँदनी रात में, मादाम तेलिए का अड्डा, प्रेम, मदफोजाल फीफी, मोस्युँ पारेँ र निरर्थक सुन्दरता नामका कथाहरु छन्।  – वत्सराज कोइराला, नवलपुर 

खनाल र अधिकारीका मुक्तक वाचन

हेटौँडा, श्रावण २७ ।

मुक्तक मञ्च मकवानपुरले मुक्तककारद्वय सानु खनाल र मिथिला अधिकारीको संयुक्त मुक्तक वाचन कार्यक्रम आयोजना गरेको छ ।
शनिबार साहित्य सर्जक तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सभाध्यक्ष मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले गर्नुभएको हो भने मञ्चको ११औँ विशेष शृङ्खलामा उहाँहरूले १०/१० वटा मुक्तकहरू वाचन गर्नुभयो ।

मुक्तक सर्जकहरू देवराज तिवारी, केशव समर्पण, हेमन्त ढुङ्गेल, समीर पाख्रिन, सुवास सजल, चिरञ्जीवी लामिछाने, ओमभक्त भण्डारी, रजनी पौडेल, सागर तिमल्सिना, बैकुण्ठ लामिछाने, अनु रोक्का, विश्वनाथ सञ्जेल, लगायतका स्रष्टाहरूले आफ्ना दुई/दुई मुक्तकहरू वाचन गर्नुभयो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मुक्तकले बिन्दुमा सिन्धु अटाउने अनुभूति ल्याउनुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा साहित्य सर्जकहरू महाकाव्यकार मुना अर्याल, झरना साहित्य परिवारका अध्यक्ष विश्वनाथ सञ्जेल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्य संगमकी अध्यक्ष अनिता न्यौपाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सुदर्शन अधिकारी, सुवास खनाल, किशन पौडेल, भवानी तिमल्सिना, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, नवसर्जक नेपालका संरक्षक दीपक गौतम, नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य) विभाग सदस्य शान्ति प्रियबन्दनालगायतको उपस्थिति रहेको थियो ।

साहित्य संगम/सिस्नुपानी नेपालको संयुक्त भवनमा सञ्चालित कार्यक्रमलाई मुक्तक मञ्च मकवानपुरकी सहसचिव अमृता लामिछानेले सहजीकरण गर्नु भएको थियो ।

जनप्रियमा विद्यार्थीकेन्द्रित एक हप्ते कला साहित्य कार्यशाला

हेटौंडा, श्रावण २६

जनप्रिय मा.वि., हेटौंडा १६ मा विद्यार्थीहरूका लागि एक हप्ते विद्यार्थीकेन्द्रित सहक्रियाकलापहरू सञ्चालन गरिएको छ ।

शुक्रबारको कार्यशालामा नवसर्जक नेपालका संरक्षक दीपक गौतमले कविताको प्रशिक्षण गराउनुभयो । करीब ५० जना विद्यार्थीहरूलाई गराइएको यस प्रशिक्षणमार्फत् विद्यार्थीहरूले कविता रचना गर्ने प्रारम्भिक ज्ञान प्राप्त गरेका छन् । जसमा कविता लेखनका शिल्पहरूबारे चर्चा गरिएको थियो ।

कार्यक्रमपश्चात् उहाँले भन्नुभयो- जनप्रिय माविले विदाको समयको सदुपयोग गर्दै विद्यार्थीको सिर्जनात्मक सीप विकासका लागि आयोजना गरेको कार्यशाला अत्यन्तै प्रभावकारी छ । कविता लेखन कार्यशालाबाट विद्यार्थीले लोक लयअन्तर्गत ६ प्रकारका छन्द र मुक्त लय (गद्य) कविता लेखनको अभ्यास गरेका छन् । यस किसिमको अभ्यासले बालबालिकालाई कविताको सैद्धान्तिक ज्ञान हासिल हुनुका साथै कविता लेख्न सक्षम बन्ने आशा गर्न सकिन्छ । अन्य सामुदायिक तथा संस्थागत विद्यालयले समेत यस किसिमको रचनात्मक गतिविधि सञ्चालन गर्नु आवश्यक छ ।

भाइबहिनीहरूले सक्रियापूर्वक कथा, कविता, मुक्तक, गजल लेखन तथा गायनका साथै सञ्चालित हरेक विधामा सक्रिय सहभागिता जनाएको अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताउनुभयो ।

गत २१ गतेदेखि सुरु भएको सो कार्यशालामा योग अभ्यास, खेलकूद तथा साहित्यिक कार्यशालाबाट सुरु भएको, २२ गतेदेखि २५ गतेसम्म ३ दिने उद्‍घोषण तालिम सञ्चालन भई २६ र २७ मा साहित्यिक लगायतका कार्यशाला गरिएको कार्यक्रम संयोजक संप्रस पौडेलले बताउनुभयो ।

आइतबार नवोदय शिशु सदनका प्रशिक्षकहरूबाट जनप्रिय माविको क्यालेण्डरमा उल्लेखित Book Creation camp का लागि सहजीकरणस्वरूप हस्तलिखत किताब निर्माण कार्यशाला गराइने र त्यसबीचमा विद्यार्थीहरूले आफ्ना साहित्य सिर्जना संकलन गरी पुस्तकाकार दिइने र शुक्रबार समापन कार्यक्रम आयोजना गरिने जनप्रिय मिडिया विभाग संयोजक सुनिल गौतमले बताउनुभयो ।

प्रशिक्षकहरू सुनिल गौतमबाट नेपाली भाषामा कथा लेखन, विश्वनाथ सञ्जेलबाट मुक्तक तथा गजल कार्यशाला सञ्चालन गरियो भने अंग्रेजी भाषाको कथा लेखन प्रशिक्षकहरू रविन श्रेष्ठ र नीरबहादुर खड्काले सञ्चालन गराउनुभयो । यस प्रशिक्षणमा कथा लेखनका सिद्धान्त, कौशल, उद्देश्य तथा विषयवस्तुबारे चर्चा गरिएको थियो । कथा लेखनमा रूचीका साथ सहभागिता रह्यो ।

साथै प्रशिक्षक सुजन राईबाट विद्यार्थीहरूलाई चित्रकलाको प्रशिक्षण गरियो । सहभागी करीब ५० जना विद्यार्थीमध्ये रूची भएका केही विद्यार्थीहरू हरेक शनिबार आयोजना हुने Plein Art कार्यक्रममा सहभागी हुनेछन् । विद्यार्थीहरू भोलीबाट नै यस कार्यक्रममा निरन्तर सहभागी हुनेछन् ।

पत्रकार तथा उद्‍घोषण प्रशिक्षक रुपक कालिराजद्वारा ४५ जना विद्यार्थीहरू ३ दिनको उद्‍घोषणकलाद्वारा प्रशिक्षित गरिएको थियो । सहभागीमध्ये कक्षा ८ की सारा गिरीले विगतमा माइक्रोफोन समाउनासाथ लाज र डर लाग्ने गरेकोमा अब ठूलो समूहका अगाडी निर्धक्कसँग बोल्न सक्ने भएको बताउनुभयो ।

यस्तै पत्रकार तथा पठन संस्कृति अभियानमा लागि पर्नु भएका प्रशिक्षक छवि अनित्यले वादविवाद तथा वक्तृत्वकलासम्बन्धि कार्यशालाको सहजीकरण गर्नुभयो ।

जनप्रिय माविका खेलकूद प्रशिक्षक शिवहरि राईले सटपुट, ज्याभलिन थ्रो, भलिबल, फूटबललगायतका खेलकूदका क्रियाकलापहरू सहजीकरण गर्नुभयो । करीब ३५ जनाको समूहमा सञ्चालित नृत्य प्रशिक्षण अम्बर गुरूङले सञ्चालन गर्नुभयो ।

जनप्रिय माविका शिक्षक युक्तलाल विश्वकर्मा र घनश्याम ढकालले विद्यार्थीको एक समूहलाई योगका महत्व दर्शाउँदै विभिन्न आसनहरूबारे अभ्यस्त बनाउनु भयो । सहभागीमध्ये कक्षा ५ की स्वस्तिका लामिछानेले योगका विभिन्न आसन तथा चरणहरूबारे सिकाइ भएको र योगबाट शरीरका साथै दिमागलाई पनि फाइदा पुग्ने बताउनु भयो । उहाँले ध्यान मुद्रा, गायत्री मन्त्र, महामृत्युन्जय मन्त्रका साथै कपालभाँती, अनुलोम विलोम, सूर्य नमस्कारका बाह्र चरणहरू प्रयोग गरिएको बताउनु भयो ।

करीब १५० विद्यार्थीहरू दैनिक रूपमा विभिन्न कार्यशालामा सहभागी सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्यहरू कृष्णप्रसाद पनेरू र रमेश ढकाललगायतले अनुगमन‌ गरी यस कार्यक्रमको प्रतिफल सकारात्मक आउनेमा विश्वस्त रहेको र विद्यार्थीको आन्तरिक क्षमता अभिवृद्धिका साथसाथै नियमित पढाइलाई समेत यसले सघाउ पुग्ने बताउनु भयो ।

आफ्नै सुविधासम्पन्न मिडिया कक्ष रहेको जनप्रिय माविले विद्यार्थीहरूलाई रेडियो कार्यक्रमसम्बन्धी विभिन्न अवसरहरू प्रदान गर्दै आइरहेको र हाल सञ्चालित उद्‍घोषण कार्यले त्यसलाई सहज बनाउनुका साथै सञ्चालित सम्पूर्ण सहक्रियाकलाप कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालय र शिक्षकसँगको सिकाइलाई सहयोग पुग्ने जनप्रिय अतिरिक्त तथा साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्माले जानकारी दिनुभयो ।

यस विद्यालयमा साहित्य तथा बौद्धिक, सञ्चार, कला तथा साँस्कृतिक, खेलकूद, अनुशासन, भ्रमण, बागबानी, अनुसन्धान लगायतका १२ विधाको समूह बनाई सोअनुसार समितिमार्फत् विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले वर्षे विदाको समयमा पनि अत्यन्त सक्रियतापूर्वक विद्यार्थीहरूको सहभागिता रहेको र यसबाट उत्कृष्ट प्रतिफल प्राप्त हुने विश्वास लिएको बताउँदै कार्यक्रमलाई सफल तुल्याउन हर तरहले सक्रिय रहेका सहभागी विद्यार्थीहरू, प्रशिक्षकहरू र व्यवस्थापन तथा संयोजनमा प्रत्यक्ष खटिएर सहयोग पुर्‍याइरहनुभ‌एका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूका कारण कार्यक्रम सफल भएको बताउनु भयो । सहभागीहरू सबैलाई प्रमाणपत्र उपलब्ध गराइने समेत उहाँले जानकारी दिनुभयो ।

प्रकाशन भएको पुस्तकले परिपक्व भएपछि नगिज्याओस्ः समीक्षक घनश्याम घिमिरे

हामी हरेक शुक्रबारीय अङ्कमा नयाँ नयाँ अतिथिसँग विशेष कुराकानी गर्छौँ । आज मकवानपुर बहुमुखी क्याम्पसमा लामो समयदेखि नेपाली विषयमा प्राध्यापन गरिरहनु भएका प्राध्यापक घनश्याम घिमिरेसँग हेडम्बा पब्लिकेसनद्वारा सञ्चालित नव साहित्य डट कम तथा एन‍‍ एस टेलिभिजनका कार्यकारी सम्पादक मसान उपासकले गर्नुभएको अन्तर्वार्ता ।

मकवानपुरको पछिल्लो लेखनको गतिविधिलाई यहाँले कसरी नियालिरहनुभएको छ ?

  • मकवानपुरमा विशेष साहित्यिक लेखन सन्दर्भमा एक किसिमको चहलपहल, केही लेख्नुपर्छ भन्ने छटपटी क्रमशः वृद्धिको क्रममा रहेको छ भन्ने मेरो बुझाइ रहेको छ । अघिल्लो पुस्ताले मकवानपुर क्षेत्रमा रहेर गरेको साहित्यलेखनको साधनालाई नव पुस्ताले पनि निरन्तरता दिने र त्यो बाटोमा आफूलाई पनि उन्मुख गराउने प्रयास गरिरहेको महसुस मैले गरिरहेको छु ।

मकवानपुर सम्झिनेबित्तिकै भीम विरागदेखि आजसम्म धेरै जना व्यक्तित्वहरूको नाम जोडिँदै आउँछ । अब पुरानो अवस्था जतिखेर भीम विरागहरूले नेपाली साहित्यमा मकवानपुरबाट एकखालको हस्तक्षेप गरे, त्यो खालको हस्तक्षेप गर्नसक्ने नयाँ पुस्ताहरू आइराखेको देख्नुहुन्छ या छैन ? कस्तो अवस्था रहेको छ ?

  • यो मकवानपुरे साहित्य भन्छौँ नि हामी, साहित्यको सन्दर्भलाई २ किसिमले नियाल्नुपर्छ । एउटा मकवानपुरमा रहेर यहीँको सेरोफेरोमा आधारित भएर साहित्य लेखिरहेको स्रष्टालाई एक किसिमले बुझ्नुपर्छ । अनि मकवानपुरमा जन्मिएर हुर्किएर तर साहित्यिक क्षेत्रमा आफूलाई वृद्धि विकास गर्दै बाहिर निस्केको साहित्यकारलाई अर्को किसिमले बुझ्नुपर्छ । जस्तो हामीले मकवानपुरे माटोसँग जोडिएका साहित्यकार अन्तर्गतचाहिँ श्यामप्रसाद शर्मा, बालकृष्ण पोखरेल, केशवप्रसाद उपाध्याय र तपाईंले भने जस्तो भीम विरागलाई लिन सक्छौँ । अहिले पछिल्लो चरणमा आएपछि गोविन्द गिरी प्रेरणा, अनमोलमणि, युग पाठक यी व्यक्तित्वहरू जोचाहिँ मकवानपुर क्षेत्रमा जन्मनुभयो । यहीँ रहनु भयो पछि आफ्नो साहित्यिक वृद्धिसँगसँगै आफूलाई अलि फराकिलो बनाएर बाहिर पनि निस्कनु भएको छ । यसरी दुई किसिममले मकवानपुरको साहित्यलाई तुलना गर्नुपर्छ भन्ने लाग्छ । यसरी हेर्दा मकवानपुरको साहित्यमा लागिरहनु भएको र लाग्न खोज्नु भएका नवपुस्ताहरूलाई हेर्ने हो भने अहिलेको नयाँ पुस्ताचाहिँ यहीँको साहित्य यहीँका साहित्यकारहरूलाई आदर्श ठानेर लेखिरहेका छन् तर भोलि उहाँहरूकाे साहित्यिक लेखनमा विकास हुँदै गएपछि साहित्यिक सीमाहरू कहाँ पुग्ने होला, त्यो भोलि देखिने कुरा हो तर अहिले मैले हेर्दाखेरि चाहिँ के मकवानपुर क्षेत्रमै रहेर जो लेखिरहनुभएको छ र यही बसिरहनुभएको छ, उहाँहरूलाई नै आदर्श ठानेर लेख्ने प्रवृत्ति बढ्दो छ ।

मकवानपुरभन्दा बाहिरका युवा पुस्तालाई पनि तपाईँले हेरिराख्नुभएको छ । अन्य जिल्लाका युवा पुस्ता र मकवानपुरका पुस्तालाई कसरी तुलना गर्ने ?

  • मकवानपुर क्षेत्रको नवपुस्ताले लेखिरहेको साहित्यिक लेखनको प्रवृत्ति र बाहिरको पुस्ताले लेखिरहेको साहित्य लेखनको प्रवृत्तिलाई तुलना गर्दा लगभग त्यसमा चाहिँ धेरै फरकपन देखिँदैन । किनभने अहिले हामीले भूगोलले एउटा ठाउँ अर्को ठाउँ भने पनि प्रविधिले हामीलाई संसारसँग एकअर्कामा जोडिरहेको छ । यो प्रविधिले जोडेको कारणले पनि र प्रविधिका धेरै सम्भावनाको कारणले पनि अहिले हाम्रो पुस्ता नेपाली साहित्यको विश्वको नयाँ पुस्तासँग जोडिइरहेको छ । त्यस अर्थमा चाहिँ त्यति धेरै फरक देखिँदैन तर समस्या कहाँनिर छ भने यो नवपुस्ताले यहीँको साहित्य लेखनलाई हेरिरहेको छ, देखिरहेको छ नि त्यसलाई मात्र आदर्श ठान्दियो, यहाँ भएका अग्रज कविहरू अग्रज लेखकहरू नै आदर्श लेखक हुन् र यति भए पुग्यो भन्ने पुस्ताले ठान्दियो भने त्यहाँनिरचाहिँ सङ्कुचन हुने समस्या रहन्छ छ ।

मोफसल र काठमाडौँ भन्नेखालको विभेद लगभग सकिएको छ । मकवानपुरको साहित्य र यहाँका लेखकहरूलाई बाहिर वा बाहिरी लेखकसँग कसरी जोड्ने ?

  • अब यो विषयमा हामी स्रष्टाहरूले आफ्नो अलि फराकिलो ढङ्गले सोच्ने बेला आएको छ । कहिलेकाहीँ हामीले समीक्षा समालोचनालाई निर्मम प्रहारको रूपमा मात्र नलिई गर्न यो सिर्जनात्मक उपचारको रूपमा पनि बुझ्नुपर्दछ । मैले लेखिरहेको साहित्य यही नै ठिक छ, यही नै गतिलो छ भन्ने दायरामा हामी सीमित भयौँ भने हाम्रो लेखन सङ्कुचित हुन्छ । त्यसले फराकिलो आकाश भेट्न सक्दैन । यो परिपेक्ष्यमा मैले लेखेको साहित्य कस्तो छ भनेर जुन किसिमले तटस्थ र सही समालोचना समीक्षा भएको हुन्छ, त्यसको गहिराइलाई बुझ्ने, त्यसको मर्मलाई बुझ्ने र आज लेखेको सिर्जनाबाट भोलि उत्कृष्ट बन्ने प्रयत्नतिर लाग्नुपर्छ । तर धेरैजसो साहित्यिक रचना कस्तो देखिन्छ भने मैले लेखेको कुरा प्रशंसा गर्दियोस्, प्रशंसामा गजधम्म फुलूँ र त्यसैलाई सँधै मेरो उत्कृष्ट सिर्जनाका रूपमा बनाइरहन पाऊँ भन्ने किसिमको अपेक्षा छ, त्यसले हामीलाई त सङ्कुचित गराउँछ नै, हाम्रो सिर्जनालाई पनि कमसल बनाइदिन्छ र हाम्रो साहित्यिक दायरालाई पनि फराकिलो हुनबाट रोक्छ । यो समस्याबाट मकवानपुरे साहित्य बच्नु आवश्यक छ । यदि हामी अझै फैलिन चाहन्छौँ भने यहाँ अग्रजले जे लेख्नुभएको छ, त्यो केही हदसम्म ठिक छ तर सम्पूर्णरूपमा त्यही नै ठीक हो भन्ने बुझाइबाट हामी मुक्त हुनुपर्छ ।

तपाईंले समालोचनाका आधारमा लेखकहरू सुध्रिने त भन्नुभो तर नेपालमा त समालोचना लेखन मै समस्या छ भन्ने गुनासो पनि छ नि ?

  • समालोचनाका आधारमा लेखकहरू सुध्रिनेभन्दा पनि समालोचना पनि आफैँमा सुध्रिनु आवश्यक हुन्छ । समालोचना स्वस्थ छ कि छैन भन्ने कुरामा लेखकले पनि मेरो सृजनाको बारेमा जुन किसिमले समीक्षा समालोचना व्याख्या बहस भइरहेको छ, यो सही किसिमले भयो कि भएन भन्ने कुराको जजमेन्ट पनि लेखकले गर्नुपर्छ । स्वस्थ समालोचनालाई आदर्श बाटोको रूपमा पहिचान गर्न सक्नुपर्छ । कहिलेकाहीँ समालोचना नै अस्वस्थ, अलि सही किसिमले नभएको अवस्था र सिर्जनालाई दिग्भ्रमित बनाएको अवस्था पनि छ । त्यसबाट पनि लेखक बच्नुपर्ने चुनौती छँदै छ । मैले समालोचनालाई किन महत्त्व दिएको हुँ भने यदि सही किसिमले वस्तुपरक समालोचना गरिएको छ, भने त्यो वस्तुपरक समालोचनाले लेखकलाई अझ सिर्जनात्मक दायरा फराकिलो बनाउन आज लेखिरहेको सिर्जनाभन्दा पनि अझै उत्कृष्ट सिर्जना बनाउनको लागि एउटा आधार तयार गर्दछ । जुन लेखकको एउटा राम्रो पृष्ठभूमि पनि हो । यसकारण स्वस्थ समालोचना सबालमा बजारमा आएका सबै समालोचनाहरू समालोचना हुन् कि होइनन् भन्ने कुरामा पनि बहस गर्ने ठाउँ छ ।

मकवानपुरमा पुस्तक प्रकाशनको क्रम बढेको छ । स्तरीय लेखनचाहिँ भएन, राष्ट्रिय रूपमा हस्तक्षेप गर्ने खालको पुस्तकहरू आएनन् भन्नेखालको गुनासो पनि सुनिन्छ । यसलाई मान्नुहुन्छ ?

  • सृजनात्मक प्रकाशनको सवालमा पनि दुई खालको प्रवृत्तिहरू देखिरहेछु । एउटा अध्ययन गरेर नयाँ पुस्ता वा भर्खरको पुस्ताले पुस्तक प्रकाशन गरिरहेका छन् भने जीवन जगत्‌को लामो अनुभव बोक्नुभएका अग्रज पुस्ताहरूले पनि पुस्तक प्रकाशन गरिरहनुभएको छ । तर नयाँ पुस्ताले पुस्तक प्रकाशनमा हतार नगरिदिए हुन्थ्यो । हतारोले पछि आफूलाई पिरोल्छ कि भन्ने मलाई लागिरहन्छ । किनभने सिर्जनात्मक पुस्तक भनेको दस्तावेज हो, जुन छोपेर वा मेटेर मेट्न सक्दैनौं । कालान्तरसम्म रहिरहन्छ । यसैले आफूले प्रकाशन गरेको पुस्तकले आफू परिपक्व भैसकेपछि नगिज्याओस् भन्ने कुरा सर्जक आफैँले बुझ्नुपर्छ । यस्तै पुस्तक प्रकाशनमा राय दिनेहरूले पनि तिम्रो पुस्तक राम्रो छ भनिरहँदा वास्तवमा प्रकाशन गर्न योग्य भएर वा मन राख्नका लागि भनिएको हो भन्ने कुरा पनि बुझ्न आवश्यक छ । मन राख्नका लागि प्रकाशन भएका तर पछि कमसल पुस्तकका रूपमा दर्ज भएको पनि देखिएको छ । यसकारण नयाँ पुस्ता, लेख्दै गरेको पुस्ता, केही गर्छु भन्ने पुस्ताले आफूलाई परिपक्व र सिर्जनात्मक उपलब्धीलाई पनि उत्कृष्ट भएको ठहर्‍याएपछि मात्रै पुस्तक प्रकाशन गर्दा उपयुक्त हुन्छ ।

तपाईँ समालोचनामा लामो समयदेखि लागिराख्नुभएको छ । नेपाली विषय अध्यापन गराइरहनुभएको छ । तपाईँको आगामी योजनाचाहिँ के छ ? तपाईँको पुस्तक कसरी पाठकले पाउँछन् वा योजना के रहेको छ ?

  • लेखनका दृष्टिकोणले सामान्यतया म पनि साहित्यमा रुचि राख्ने व्यक्तिहरू जस्तै म पनि उसैगरी अघि बढेको हुँ । कुनै समय कविता, गजल मुक्तक, कथाहरू लेख्दै बढेको हुँ । पछि मेरो सिर्जनात्मक क्षमतालाई आलोचनात्मक चेतनाले छोप्दै गएकोले डराएर पुस्तक प्रकाशनमा नआएको हो जस्तो लाग्छ तर पनि मेरा केही आख्यानका खुराकहरू रहेका छन् तथा गैरआख्यानका रचनाहरूमा रुचि रहेको छ । संरक्षित अवस्थाका ती रचनाहरूलाई प्रशोधन गरी वा यतिको चाहिँ परिपक्व भयो वा प्रकाशन गर्न योग्य छन् भन्ने मलाई लागेपछि त्यसलाई प्रकाशन गर्ने नै छु । समालोचनात्मक लेखाइको दृष्टिकोणको कुरा गर्ने म अहिले औपचारिक पढाइको क्रममा अनुसन्धानात्मक पढाइमा रहेको छु । जब यो पढाइ टुङ्गिन्छ, त्यस बेला मेरा सुरक्षित डकुमेन्टहरूलाई पुस्तकाकार गर्न सक्छु । अहिले मेरो अध्ययन र अनुसन्धानका कारण पनि मैले पुस्तकका रूपमा प्रकाशन गर्न मिल्दैन । सोपश्चात् पुस्तक प्रकाशनको योजनामा भने रहेको छु ।

हामीले मकवानपुरे साहित्यका विषयमा कुराकानी गर्‍यौँ । नयाँ पुस्ता नसुध्रिकन मकवानपुरको आगामी पुस्ताले नेपाली साहित्यमा हस्तक्षेप गर्न सक्दैन । अन्त्यमा नयाँ पुस्तालाई के सन्देश दिनुहुन्छ ?

  • यो ‘नयाँ पुस्ता नसुध्रेसम्म’ भन्दा पनि ‘नयाँ पुस्ताको अझ हस्तक्षेप नभएसम्म’ भन्ने शब्द उपयुक्त हुन्छ जस्तो लाग्छ । जहिले पनि पुरानो कुरालाई नयाँ कुराले विस्थापन गर्ने नै हो । यो विज्ञानको नियम हो । त्यसरी नै मकवानपुर साहित्यको सन्दर्भमा पनि नयाँ पुस्ताले अघिल्लो अग्रज पुस्ताको भन्दा अझ उत्कृष्ट सिर्जनाको क्षमता राख्छु र त्यसरी म सिर्जनात्मक हस्तक्षेप गर्छु भन्ने आँटचाहिँ आउनुपर्छ भन्ने मेरो आग्रह हो । अघिल्लो पुस्ताले यस्तै लेखेको थियो, म पनि त्यस्तै लेख्छु भन्ने अनुकरणात्मक लेखाइमा हामी लाग्यौँ भने आफ्नो स्वत्व बढ्न सक्दैन, आफ्नो पहिचान बढ्न सक्दैन र आफ्नो बेग्लै अस्तित्व पनि बन्न सक्दैन । त्यसैले म नव सर्जकहरू जो सिर्जनात्मक क्षेत्रमा लाग्न चाहिरहनुभएको छ, अभ्यास र अध्ययन गरिरहनुभएको छ, प्रकाशन पनि गरिरहनुभएको छ भने उहाँलाई सुरुवातमा अग्रज स्रष्टालाई अनुकरणका रूपमा लिने, पछि त्योभन्दा उत्कृष्ट सिर्जना म प्रकाशन गर्न सक्छु, लेख्न सक्छु भन्ने आत्मविश्वाससहित लेखनमा आउनुहोला भन्न चाहन्छु । दोस्रो कुरा अहिले नेपाली साहित्यको क्षितिज विश्वव्यापी बन्न पुगेको छ, सूचना प्रविधिको कारणले हामी विश्व साहित्य कसरी अगाडि बढिरहेको छ भन्ने कुरा सजिलै त्यसको अध्ययन गर्ने सामर्थ्यमा रहेका छौँ । साहित्यमा लागिरहँदा मकवानपुरे साहित्यमा होइनः नेपाल, नेपाली साहित्यमा मात्र होइन, विश्व साहित्यलाई नै पहिचान गरेर त्योअनुसार आफ्नो लेखाइको उत्कृष्टतालाई फराकिलो बनाउने प्रयास गर्नुहोला । जसले सृजनाको क्षमताले र सृजनात्मक लेखाइले तपाईँको भविष्य उज्ज्वल होस् र त्यो क्षेत्रमा लाग्नको लागि म लेख्न खोज्दै गर्नुभएका लेख्दै गर्नुभएको नवसर्जकहरूलाई अनुरोध गर्न चाहन्छु । तपाईँ र तपाईँको नवसाहित्य टिमलाई मेरा विचारहरू राख्ने मौका दिनु भएकोमा धन्यवाद ।

गजल : सुबास सजल

जानि-जानी,साट्यो या,नजानी साट्यो ।
बाले, हलोसंग,आफ्नो कहानी साट्यो ।

भोकले,आमालाई, सुत्न नदिएको हो, थाहा छ ।
आमाले, सिरानीलाई दोष दियो, सिरानी साट्यो ।

हो, यहि अवस्था,देख्न नसकेर, बा आमाको ।
छोराले, खाडीसंग, आफ्नो जवानी साट्यो ।

छुट्ने बेला,दुई प्रेमीले,आँखा ‘सजल’बनाई ।
प्रेम स्वरुप, मुटु झिक्यो, र निशानी साट्यो ।

सुबास सजल

निबन्ध : घोडा, ईश्वर र मेरा बा / खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौलाको जन्म वि सं २००३ मङ्सिर १० गते पाँचथरको सुभाङ गाउँमा भएको थियो । प्रगतिवादी लेखक संग्रौला हाल काठमाडौँमा बसोबास गर्नुहुन्छ । उहाँले मैनाली कथा पुरस्कार, २०४६ , कृष्णमणि साहित्य पुरस्कार, पद्मश्री साहित्य पुरस्कार, (आफ्नै आँखाको लयमा निबन्ध सङ्ग्रहका लागि, वि. सं. २०६८) प्राप्त गर्नुभएकाे छ । कथा र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गर्नुहुन्छ ।

कृतिहरू

फूलमाया (उपन्यास)
नलेखिएको इतिहास (उपन्यास, २०३४)
आमाको छटपटी (उपन्यास, २०३४)
सेतेको संसार (उपन्यास, २०४०)
हाँडीघोप्टेको जीतबाजी (उपन्यास, २०४०)
चेतनाको पहिलो डाक (उपन्यास, २०४०)
फाटेको लँगौटीले टालेको दिमाग (नाटक)
भविष्यको खोजी (नाटक)
हस्तक्षेप (कथा सङ्ग्रह, २०५२)
जनआन्दोलतका छर्राहरू (२०४७)
जूनकिरीको सङ्गीत (उपन्यास)

अनुवाद
संग्रौलाले विभिन्न भाषाका साहित्यिक कृतिहरू नेपालीमा अनुवादसमेत गरेका छन्। उनले अनुवाद गरेका केही कृतिहरू

युवाहरूको गीत (चिनियाँ उपन्यास)
शत्रु (म्याक्सिम गोर्कीको नाटक)
सरकारी निरीक्षक (गोगेलको उपन्यास)
अजम्बरी गाउँ (भियतनामी उपन्यास)
तारस बुलवा (गोगेलको नाटक)
फूल बेच्ने केटी (कोरियाली नाटक)
गुनिला चिनियाँ कथामाला (भाग १ देखि भाग ७ सम्म)
लु सुनका कथाहरू
होन्डुरसकी महिलाको हृदयको आवाज

मेरा बाको ईश्वर घोडाबाट लडेर थलापर्‍यो र त्यस भयानक दुर्घटनाबाट जगत्‌लाई हेर्ने मेरो दृष्टिकोणको बीजारोपण भयो । फुर्सदका क्षणहरुमा जब म आफ्नो अतीतलाई चियाउन खोज्छु, त्यस दुर्घटनाको सम्झनाले मेरो चित्तमा अतीतको विषादपूर्ण याद सोहोरेर ल्याउँछ ।
घोडा बेचियो, ईश्वर मर्‍यो र उसले बालाई साथै लिएर गयो । मेरो जीवनमा पलपलमा सुल्झाउनु पर्ने झ्याउलाहरू अनेक छन्, त्यसैले बाको घोडा र ईश्वरलाई सम्झेर अडिने फुर्सद मलाई छैन । त्यसो त घोडाको बिक्री र ईश्वरको मरणमा मलाई कुनै दुःख छैन र श्रद्धाले तिनलाई सम्झनु पर्ने कारण पनि छैन । तर समयको एक शृङ्खलामा जगत्‌को एक अँध्यारोे कुनामा बाको अस्तित्व थियो र त्यसै समयको अर्काे शृङ्खलामा जगत्‌को एक अँध्यारो कुनामा म छु । बा हुनुहुन्थ्यो र नै म छु । त्यसैले बालाई मैले श्रद्धाले सम्झना गर्नुपर्ने हो । तर बाको सम्झनासँगै गाँसिएर उहाँको घोडा र मृत ईश्वर त्रिशूलका तीन उपर्खुट्टी झैँ मेरो स्मृतिपटमा झम्टा मार्न आइलाग्छन् । घोडा र ईश्वरप्रति मेरो मनमा प्रगाढ वितृष्णाभाव छ । त्यसैले घोडा र ईश्वरलाई पन्छाएर एक्लै आउन नसक्ने मेरा बाको सम्झनाप्रति मेरो मनमा विशेष कोमलभाव रहेन । मृत ईश्वर निराकार र अगोचर भयो, त्यसको सम्झना दिलाउने गोचर वस्तु कतै केही छैन । बाको देह चितामा खरानी भयो, उहाँको सम्झना दिलाउने गोचर वस्तु पनि कतै केही रहेन । तर जगत्‌मा घोडाहरू रोबदार थर्कन पैदा गर्दै हिँडेका जब देख्छु, मृत ईश्वरको याद आउँछ । जब मृत ईश्वरको याद आउँछ, त्रिशूल समानका तीन भाइ मेरो मनोलोकमा झम्टा मार्न एकसाथ आइलाग्छन्— घोडा, मृत ईश्वर र बा ।
अस्तिताका धेरै कालपछि मेरा एक जना दाइसँग मेरो भेट भयो । भेटमा अतीतका सुख र दुःखका घटनाहरूको स्मरण गरियो । अतीतको पत्रमा धेरै पर ओझेल परिसकेका घटनाहरू कोट्याउँदै जाँदा दाइ बालाई सम्झन पुग्नुभएछ, र भन्न थाल्नुभो, “हेर भाइ, हाम्रा बा हाम्रा लागि सर्वस्व दिएर अकालमै जानुभो । त्यसैले बाको सम्झनामा यसो केही किन नलेख्ने ?” दाइका वचन मेरो मनको भित्तोमा थुरिएका मात्र के थिए त्रिशूलरुपी तीन भाइ मेरो स्मृतिपटमा झम्दा मार्न आइहाले— अघि अघि घोडा, माझमा मृत ईश्वर, पछिपछि बा । दाइ बडो भावुक मुद्रामा हुनुहुन्थ्यो । मनका कटु भावना भाषामा प्वाक्क भनेर उहाँको चित्तको कोमल कुनोमा चोट लगाउन मलाई उचित लागेन । अनि गम्दै म भन्न थाले“, “कुरा ठिकै हो, दुनियाँमा सबैका बा आफ्न सन्तानलाई सर्वस्व दिएरै जान्छन् र बाँचेका सन्तानहरूले मरेर गएका बालाई श्रद्धाले सम्झन्छन् । स्मृतिको यो लिखत नै सबैभन्दा सच्चा र दिगो हुन्छ । अरु खै के लेख्ने ?”
एकाध दिनपछि दाइ तराईतिर ओर्लनुभो । हाम्रा संवादहरूले मेरो मनका पुराना चोटका खाटाहरू कोट्याइदिएछन्, उदास अनुभूतिले मलाई डस्न छाडेनन् । पुराना दिनहरू बिर्सन खोज्यो, कटु सम्झना झन् झन् ताजा भएर आउने । बाका घोडाले मेरो अन्तरमा कताकता कुल्चिरह्यो । मृत ईश्वरको लासले मलाई एकनासले गाँजिरह्यो । र, बाको सम्झनाले मनमा उदास भाव जगाइरह्यो । म अब गम्न थालेँ “दाइको मन पनि रहने, आफ्नो मन पनि तैबिसेक हलुङ्गो हुने, अतीतको त्रासद स्मृतिलाई शब्दका सिक्रीले उनेर जगत्‌सामु कागतमा म किन नपछारूँ ?“ तर आफ्नै कल्पना मलाई बडो भयानक लाग्यो । बाको नाउँमा घोडाको जीवनी लेख्दा दुनियाँले मलाई भन्ला— देख्यौ, त्यो फेलानो घोडाको जीवनी लेखक हो, परम् पशुपूजक ।
जीवन कठोर छ । जीवनका तथ्यहरूको सामना गर्न सजिलो छैन । भन्नेहरू जेसुकै भनुन्, म मेरो अतीतको अन्धकारलाई च्यातेर दुनियाँछेउ राख्न चाहन्छु । त्यो विराट् अन्धकार, जसको गर्भबाट म जन्मेथेँ ।
मेरा बाको एउटा घोडा थियो— कथा यसरी सुरु हुन्छ । त्यो घोडा सम्पन्नता र सोखको प्रतीक हैन, विपन्नतालाई छोप्ने रामनामी खोल थियो । म तेह्र–चौध वर्षको छँदा घोडा ल्याइयो, म पन्ध्र–सोह्र वर्षको पुग्दा घोडा बेचेर खाइयो । त्यस कालका सुखद र सुन्दर स्मृतिहरू मसँग छँदै छैनन् भने पनि हुन्छ । जे छ त्यै घोडा छ, त्यसका कठोर टापले कुल्चेका चोटहरू मनमा छन्, तिनै चोटका वेदनामय सम्झनाहरू मनमा छन्, र ती सम्झनाहरू घोडाको कडा गन्धमा हुँडलिएर आउँछन् । दुनियाँलाई यो कुरा सुनाउँदा मलाई कुनै स्वप्न–ऐँठनको भयावह वर्णन गरे झैँ लाग्छ— बाको जीवनमा घोडा नायक थियो, र बा आफ्नो जीवनको आफैँ खलनायक । घोडा मानौँ प्रकाशपुञ्ज झैँ थियो, र बाचाहिँ“ घोडामुनिको तुच्छ छाया । बाको जीवनमा घोडा सबै थोक थियो— उहाँको अस्तित्व, उहाँको अस्मिता, उहाँको रोब, उहाँको मै हुँ भन्ने भावनाको सिङ्गो चिनारी । घोडा गयो र घोडाको बिदाइसँगै बाको स्वत्व हरायो । घोडा गयो, र घोडाको बिदाइसँगै बाको ईश्वरको सत्ता हल्लियो ।
म सम्झन्छु— घोडा, ईश्वर र बामाझको तीनकुने सम्बन्ध हेर्नलायकको थियो । जब घोडा आयो, बाको ईश्वरभक्ति हलक्कै बढेर गयो । बिहान–बेलुकी नित्य पञ्चाङ्ग पूजा हुन थाल्यो । पूजापाठ त अघि अघि पनि हुन्थ्यो नै, तर अब भने बाको आस्थामा उल्लास थपियो । शङ्ख–घण्टको बजाइमा नयाँ रौनक आयो, गीता पाठको समय लम्बियो, पाठ गराइको स्वरलहरीमा लयात्मकता र माधुर्यको पाइन भरियो । मानौँ ईश्वरभक्तिको बलले घोडा आयो, अथवा घोडाको भेषमा आँगनमै ईश्वर प्रत्यक्ष भयो । भन्न गाह्रो छ, त्यो पूजापाठ घोडा मार्फत ईश्वरको भक्ति थियो वा ईश्वर मार्फत घोडाप्रति समर्पित थियो ।
मलाई थाहा छ, बाको घोडाभक्तिको आफ्नै दुःखद परम्परा थियो । बाका बाउबाजे गाउँठाउँका हुनेखाने रहेछन्— बडा बडा घोडाका मालिक । तर सामन्ती तामसको खेलमा फाँडिँदै जाँदा र सन्तानको लावालस्करमा बाँडिदै जाँदा बासम्म पुर्ख्यौली हिङका के कुरा हिङ बाँधेको टालो पनि आइपुगेनछ । तर संस्कारको माखेसाङ्लोमा झुन्डिएर दुःखका गाँडहरूको माला भने रहिरहेछ— मै हुँ भन्ने भावनाको तामस, जगत् थर्काएर खाने फुइँ, घोडा चढेर माथिबाट दुनियाँलाई तल देख्ने मनोकाङ्क्षा, आदि । र यिनै दुर्दमनीय भावनाहरुको केन्द्रीय अभिव्यक्ति थियो त्यो टट्टु घोडा ।
अहिले घोडा र बाको दिनचर्या सम्झँदा विषाद र हाँसोको विचित्र भावना मेरो मनमा उब्जिन्छ । बा घोडा चढेर खोरिया खन्न जानुहुन्छ, घोडा चढेर खेत जोत्न जानुहुन्छ, घोडा चढेर बेसाहा खोज्न जानुहुन्छ । मरी मरी खोरिया खनेको कसैले देख्दैन, तर बाले घोडा चढेको दुनियाँले देख्छ । आँत सुकाई सुकाई खेत जोतेको कसैले देख्दैन, तर बाले घोडा चढेको दुनियाँले देख्छ । मनमा सन्ताप र ग्लानि बोकेर बेसाहा खोज्न हिँडेको कसैले देख्दैन तर बाले घोडा चढेको दुनियाँले देख्छ । जीवनको त्यो नाटक कति अनौठो थियो— भित्र भित्र खोक्रो, बाहिर बाहिर मखमली खोलले छोपेको मुलायम बोक्रो । तैपनि, म कल्पना गर्छु, घोडा पाल्नाका आफ्नै फाइदा पनि त हुँदा हुन् । घोडाको गौरवमय व्यक्तित्वको बलले यसो सरसापटी वा बेसाहा हात लगाउन सजिलो हुँदो हो, गोठाला–खेतालाको चाँजोपाँजो मिलाउन अनुकूल पर्दाे हो, दुनियाँको हुलमाझ आफ्नो अलग्ग चिनारीको मौलो गाड्न होलो पर्दाे हो र छोराछोरीको बिहाबारीको भारी बिसाउन कर पर्दाे हो ।
अघि नै भनिसकेँ— घोडा त्रिखुट्टीको निर्विवाद नायक थियो । तैपनि बाका जस्तै घोडाका पनि आफ्नै कथा र व्यथा थिए । त्यो यति पुड्को थियो, त्यसमाथि सानले सवार हुँदा बाका खुट्टाले रौँ प्रमाणले मात्र भुइँ छुन्नथे । गाउँमा हुनेखानेहरूका गजप–गजपका घोडा थिए— कसैका दरा दरा अन्वाडाल, कसैका बडाबडा खासु । अरुका घोडा चौबिसै प्रहर आङमा चञ्चल तरङ्गहरू खेलाउँदै उभिन्थे, बाको घोडा बुढी भैँसी झैँ जथाभावी घ्याच्च बस्थ्यो । अरुका घोडा खँदिलो, फर्फराउँदो हग्थे, बाको घोडा बाह्रैमास छेर्थ्यो । दुःखद भए पनि यस प्रसङ्गमा एउटा रोचक कुरा छ । त्यो के भने, अरु घोडचढीसँग कुम जोडेर बाले घोडा कुदाएको मैले कहिल्यै देखिनँ । गाउँको थाप्लोमा पट्टेर जङ्गलमाझ फराकिलो फाँटमा दुदी हप्तामा हाट लाग्थ्यो । जगत्–सम्राट झैँ अरु घोडावालहरू गर्जन–थर्कनसाथ जगत्‌लाई आफ्नो विराट् रूपको जनाउ दिन घोडा कुदाउँदै हाट भर्न जान्थे । अवश्य रेस हार्नाको त्रासले होला भन्ठान्छु, बा छुट्टै, एक्लै, हाट भर्न जानेहरूको हुलसँगै सवार हुनुहुन्थ्यो— ल्याख्य्राक ठ्याक, ल्याख्य्राक ठ्याक । लघु घोडाले बाको तामसी चित्तमा पैदा गरेको लघुताभास, त्यसको गहिरो चोट, त्यस चोटको असह्य पीडा— म उदास मुद्रामा अहिले त्यसको कल्पना गर्न सक्छु ।
जब घोडा थियो, घोडा हुनाको एउटा ठुलो भावनात्मक फाइदा थियो । सामन्ती संस्कार र संस्कृतिको कठोर छायामुनि हाम्रो विशाल परिवार मसानघाट जस्तो थियो— हर्दम मौन, साम्सुम्म र चकमन्न । मानौँ त्यहाँ मानवीय भाषाको अस्तित्व नै छैन, मानौँ त्यहाँ आपसमा भाव–सञ्चारको खाँचो नै छैन । त्यो मौन तब भङ्ग हुन्थ्यो जब अह्रन–खटन वा गाली–गलौजको खाँचो पर्थ्यो । तर घोडाको घन्टीलाई अँठ्याउन दमनकारी सामन्ती संस्कृतिको के तागत ? घोडाको गर्धनको एक एक चालसँगै घन्टीले मधुर ताल दिइरहन्थ्यो । र त्यो उच्चाटलाग्दो सन्नाटामा जीवन–तरङ्गहरू सञ्चार हुन्थे ।
जब बाको ईश्वर जीवित थियो, ईश्वर हुनाको पनि एउटा ठुलो फाइदा थियो । ईश्वरभक्तिका निमित्त पञ्चाङ्ग–पत्थरको पूजा हुन्थ्यो । शङ्ख, घण्ट र डमरुको एकीकृत आवाजले परिवारको प्राणघाती सन्नाटालाई चिरा चिरा पार्थ्यो र ती चिराका माझमा जीवनका ज्युँदा लहरहरू सल्बलाउँथे । सबैभन्दा मोहक र आल्हादक त बाको गीता पाठ नै हुन्थ्यो । बाका स्तोत्रहरूमा जीवनको प्रकाश थियो वा मृत्युको छाया त्यो त म बुझ्दिनथेँ । तर बाको लयात्मक स्वरमा टनाटन भरिएको सुमधुर सङ्गीत, त्यसको मनमुग्धकारी सौन्दर्य, त्यसको उल्लासमय ताल र स्पन्दन— मेरो शुष्क प्राणको त्राण थियो त्यो, बिछट्टै रमाइलो ।
अनिकालको राहुले जब जीवनलाई ग्रास गर्‍यो, बेसाहाका निमित्त घोडा बेचियो । घोडा जब बेचियो, बाको नित्य पूजापाठमा अचानक सुस्ती देखापर्‍यो । मानौँ घोडाको बिक्रीबाट ईश्वर यति शोकाकूल भयो, त्यो ढल्यो र मर्‍यो । अब आक्कलझुक्कल, औँसी–पूर्णिमामा मात्र शङ्ख, घण्ट र गीता पाठको क्षणिक आवाज सुनिने भयो । मानौँ बाको ईश्वर मरेकै हो र अब कहिलेकहीँ त्यसको सम्झनामा श्राद्ध मात्र हुन्छ ।
घोडा गयो र बाको जीवनमा उल्लास अस्तायो । ईश्वर ढल्यो र बाको जीवनमा आस्था ओझेल पर्‍यो ।
सत्कर्मको बाटोमा होस् वा दुष्कर्मको बाटोमा, जीवनलाई क्रियाशील र जिउँदो राख्न एउटा आस्था चाहिन्छ । आस्थाको दियो निभेपछि जीवन नीरव, निस्सार र उजाड हुन्छ । आस्थाप्राप्तिको साधनाक्रममा मृत्यु नै हात लागेछ भने पनि आस्थाको प्रकाशले त्यस मृत्युलाई सुन्दर तुल्याउँछ । लोककल्याणको महान् आदर्शका निमित्त आफूलाई समाजका काला शक्तिहरूका हातमा बलि चढाउने महात्माहरू बधस्थलमा जीवनको अन्तिम घडीमा पनि मुस्कुराउँछन् भन्ने कुरा मैले धेरैतिर पढेको छु । मलाई लाग्छ, त्यो मुस्कान आस्थाको प्रकाशको मूर्त रूप हो । घोडाप्रतिकै आस्था किन नहोस्, जतिन्जेलसम्म आस्था थियो, बाको जीवन रसिलो थियो । आस्थाको संसार जब ढल्यो, बाको बाँकी जीवन आफ्नै पिठ्युँको गह्रुङ्गो बोझसमान भयो ।
घोडासँगको बिछोड र ईश्वरप्रतिको मोहभङ्गले होला सायद, बा थला पर्नुभो । घोडा बेचियो, र घोडाबाट लडेर ईश्वर मर्‍यो । उत्तराधिकारमा मलाई न घोडा आयो, न ईश्वर । बा बित्नुभो, र म टुहुरो भएँ । जीवनको कठोर वास्तविकताले मलाई ठाडो आदेश दियो— भाइ, जगत्‌मा जिउनु छ भने तँ आफ्नो दृष्टिकोण आफैँ खोज् । अनि दृष्टिकोणको खोजीमा म सङ्घर्षमय जीवन–यात्रामा बाटो लागेँ— घोडाबेगर, ईश्वरबेगर र बाबेगर ।

संस्मरण : जाजरकोटमा मालिका देवीको दर्शनयात्रा / गोविन्दराज भट्टराई

मङ्सिर १८ गते २०७३ साल । जाजरकोटको साहित्यिक कार्यक्रम सम्पन्न भएको भोलिपल्ट बिहान मालिकादेवीको दर्शनमा जान हिँड्यौँ ।
बिस्तारै नजानिँदो उकालो चढ्दै गयौँ । वरिपरि सालको जङ्गल छ । अरु मिश्रित वनस्पति छन् । उनीहरु गौरव गर्छन्— यहाँ त साल, सल्लो, काफल, ऐँसेलु र गुराँस एकै ठाउँमा हुन्छ । पहाडका वनस्पति चिन्नेहरू आश्चर्य प्रकट गर्छाैँ, ए हो रहेछ कस्तो अल्टिच्युटको जलवायु । जाजरकोटेहरू बेला बेला यस्तो वैचित्र्य हामीले सिर्जना गरेका हौँ अथवा हामीले नै यो ठाउँ रोजेर बसेका हौँ जस्तो भाव प्रकट गर्छन् । म पनि आश्चर्य प्रकट गर्दछु ।
बिस्तारो बिस्तारो उकालो चढ्दै छौँ । ढुङ्गाको माटाको गेग्रेनी भरिएको उकालो चढ्दै छौँ । बिहानको सूर्य पनि माथि माथि चढ्दै छ । यता दाहिनेतिर समानान्तर उभिए जस्तो कालो जङ्गल छ । मानिसले कहिल्यै नटेके जस्तो गरी उभिएका हरिया पाखा चढ्दै गएर पर्वत बनेका छन् । एक पछिल्तिर अर्काे देखिन्छ । फेरि अर्काे देखिन्छ ।
चढ्दै निकै माथि पुग्यौँ । मालिका मन्दिर छेलिएको छ । हिँड्दाहिँड्दै शरीर गर्माएर आयो । पसिनाले भिज्न थाल्यो अनि ज्याकेट खोलेर झुन्डाएँ । हिँड्दै गयौँ । यसो मनमनै विचार गर्छु, म गलेँ कि छैन अझै आफैँलाई प्रश्न गर्छु । अरुको सामु यहाँसम्म पुगेर असमर्थता देखाउनु अथवा फर्किनु पनि नराम्रो लाग्छ होला । गोविन्दसर चढ्न सक्नु भएन भन्ने हल्ला प्रेमसाथ चल्न थाल्छ होला । जाजरकोटेलीले पनि त्यो कुरा नबिर्सेलान् । यस्तो ठानी अघि बढ्दै गएँ, कठिनसँग चढ्दै गएँ ।
बाटो झन् ठाडो झन् ढुङ्गेनी आउन थाल्यो । अब ता मेरा गोडा थर्थराएको थाहा पाउन थालेँ । अरुलाई त्यस्तो भएको छैन र ? एकदुई जनालाई भइदिए हुन्थ्यो । थचकथचक बाटैमा बस्ने निर्णय देख्न पाए हुन्थ्यो । मुटु पनि ढुकढुक ढुकढुक हुन थाल्यो । पानी बोकेको छैन, यस्तोमा पानी पिउनु हुँदैन, मुटु फुटेर मरिन्छ भन्छन् । तर पनि त्यो भय नदेखाई पाइला उठाउँछु । उनीहरू भन्छन्— सर त भयङ्कर दरो हुनुहुँदो रहेछ । ताप्लेजुङको पानी खाएको पान्थरको पानी खाएको । म व्यर्थै मनमनै फुर्किए जस्तो हुन्छु र उक्लिँदै गर्छु । उनीहरूले सोधे— सर एउटा लौरो भए सजिलो हुन्थ्यो; म भन्छु— होइन पर्दैन, म ठिक छु तर खुट्टा लुलिएर आए र अब मालिका माताको दर्शन गर्न नसकिने जस्तो हुन थाल्यो । यो जाजरकोटमा एक पराजित साहित्यकारको इतिहास लेखियो भने— आजैको पत्रिकाले छाप्ने छ । तीन तीनवटा एफएम छन्— एउटाले फुक्ने छ । यसरी गोविन्द सर असमर्थ हुनुभो । लड्नुभो, बेहोस् हुनुभो त्यसपछि … आदि ।
अनेक बल गर्दा पनि नसकेपछि म उसै थचक्क भुइँमा बसेँ । निकै बेरपछि चालक तीर्थले एउटा सखुवाको लाथ्रो मर्काएर ल्याए र त्यसको सहाराले चल्न थालेँ । मलाई लाग्छ— सबै गलेका थिए । म धेरै गलेको थिएँ । अनगिन्ती वर्षहरू मैदानमा, गाडीमा, सुविधामा, काठमाडौँमा बसेको यी जीवन ६३ वर्ष पुग्ने समयमा यस्तो अक्कर चढ्ने मूर्खता कसरी आयो होला भन्ठानी आफैँलाई धिक्कारेँ । उँभो हेर्न मन छैन । फेरि दिलिप शाहले भने— अब ता जम्मा तीन मिनेट सर; ऊ तिहीँ हो पुगियो । तर उँभो हेर्दा केही देखिँदैन ।
मुटुको धड्कन बढेको छ, घुँडा लगलग छन् । म मूर्ख भएर व्यर्थै हौसेको छु, चढ्न बल गरेको छु, अरु १०–१५ को टुकडी छ साथमा; यसले मेरो गति निरीक्षण गर्दाे होला । त्यस बेला मैले सम्झेँ— अघि २०६६ सालमा यस्तो भएको थियो । चैत्रको गर्मीमा बैरागी काइँलाको पहाड घर पौवा–सारताप पुग्यौँ । रातभर साहित्य गोष्ठी गरेर भोलि दिउँसो उकालो चढ्दै थियौँ । एकदम ठाडो उकालो । स्वेटर माथि कोट छ, एउटा ब्याकप्याक छ । एक हुल स्रष्टा थिए चढ्दै चढ्दै डेढ घन्टा उकालो चढेपछि मलाई रिँगटा चल्न थाल्यो । म कतै अप्ठ्यारो ठाउँमा लड्छु कि भनेर सचेत हुनासाथ भित्ताको ढुङ्गा समातेँ । त्यसपछि आँखा अघिल्तिर रातो हरियो पहेँलो जस्तो देखेँ, होसियार हुने चेतना हरायो । बिस्तारै सननन हरियो नीलो रातो बत्ती बल्दा बल्दै कालो बलेपछि म झ्याप्पै भएँछु, त्यहीँ चौतारामा ढलेँछु । थाहा छैन भित्र एउटा धनु चले जस्तो लाग्छ । म होसमा छु कि बेहोसमा भन्ने ठहर गर्न नसकी पल्टिरहेछु, सुनिरहेछु, पानी छम्किने, पातले हम्किनेहरू बोले जस्तो सुन्छु— तर ठम्याउन केही सक्तिनँ ।
एक घन्टापछि झल्याँस्स जस्तो भएको सम्झिन्छु— आँखा अघिल्तिर राता पर्दा घुम्न थालेका देखेँ; हरिया पर्दा घुम्न थाले त्यो देखेँ, काला पर्दा घुम्न थाले अनि हेरेँ, अन्त्यमा आँखा अघिल्तिर सेतो उज्यालो जस्तो देखेँ । शरीर थर्थर भो । घुँडा दोब्रेलान् जस्तो भो । पेट बटारियो । अनि पर्तिरको तितेपाती घारीमा बसेर बमी गरेँ, दिसापिसाब उत्सर्जन गरेँ, कुल्ला गरेँ, सूची गरेँ, मुख धोएँ, दुई बोतल मिनरल सिध्याएँ । अनि त्यो शिखरकी देउराली माईलाई शिर निहुराएर ढोगेँ— धन्य माता मैले सारा दुःखहरू तिमीलाई चढाइसकेको थिएँ आज फेरि मलाई फिर्ता नै गर्‍यौ । म यसलाई लिएर कुदिरहौँला ।
बेलुका गाढी चढेर राँके पुग्यौँ । काँल्दाजु खुसी हुनुभो । पहाड नचढेका हामी, सुखदुखको जीवन रोजीरोटी भोग्दै सम्ममा साधनमा हिँड्नेहरूलाई यो एउटा शिक्षा होला । तर आज खलङ्गापारिको मालिकाको मन्दिर तल पनि त्यस्तै हुन्छ कि हुन्छ कि, म झ्याप्प हुन्छु कि क्या हो ! ठिक छ नि त यो मालिकाको भक्त घरदेखि ७०० किलोमिटर टाढा आएर उनैको चरणमा निधाउँछु भने के छ; जाजरकोटको नाममा म सहिद हुँला तर यो प्राण माया जस्तो होइन; आधी उनलाई दिएर आधी कसैलाई दिन पुग्ने । एक ठाउँ सुम्पेपछि फिर्ता नहुने । अझै नेपालका कति जिल्ला पुग्नु छ, अझै भारतका र परदेशका कति डाँडा काट्नु छ । क्षमा गर हे मालिका माते ! यो प्राण यो डाँडाबाट उम्केर त्यो खलङ्गा बजार फिर्ता हुन सकोस् ।
यस्तो प्रार्थना गर्दै ढुङ्गामा निकैबेर बिसाएँ; अनि जुरुक्क उठेँ, सखुवाको लाथ्रो टेकेर फेरि कस्सिएँ; एडमन्ड हिलारीले सरगमाथा टेक्ने बेलाका अन्तिम पाइला उचाले झैँ गरी माथि हेरेँ— दशै पाइला मात्र बाँकी थिए । ढुङ्गाका ठुला सिँढी टेक्तै माथि उक्लिएँ, फेरि उक्लिएँ, फेरि उक्लिएर अन्तिम पाइला हरियो चौरीमा राखेँ । सबै मलाई हेरिरहेका थिए । ठुलो विजय प्राप्त गरे झैँ भयो ।
धेरै बेर बिसाएर श्वासप्रश्वास टुङ्गामा आएपछि हेर्छु यस्तो उचाइमा पनि कसरी यस्तो सम्म चौरी । आर्मीको भैरवीदल गणका कटेज छन् वरिपरि; विश्रामालय छ, ठुला ठुला कामक्षा मन्दिरका भन्दा ठुला भिउसिने बोका घुमेका छन् । डाँडाको शिर नाङ्गो छ, त्यहीँ क्याम्प छ । त्यही एक छेउमा छिन् भगवती मालिका । गयौँ परिक्रमा गर्‍यौँ । हातमुख धोएर घण्ट बजायौँ । म भित्र पसेका बेला प्रोफेसर ग्रेगोरीले बिस रुपैयाँ दक्षिणा मन्दिरमा चढाइदिनू भन्दै मेरो हातमा बुझाए, मैले मन्दिरमा चढाइदिएँ । जाजरकोटकै संस्कृतिमा विद्यावारिधि गरेका यी अमेरिकी प्रोफेसरलाई थाहा छ— म्लेच्छहरू मालिकाको मन्दिरभित्र प्रवेश गर्न निषेधित छन् ।
एक घन्टा बिसायौँ । आर्मीले कुर्सी ओछ्याए र चिया विस्कुट तयार पारेर हाम्रो स्वागत गरे । तुलसी दाइ पुग्न सक्नुहुन्न जस्तो लागेको थियो तर निकैबेर पछि हैरान भएर पुग्नुभो । सुन्दरले साथ दिएका रहेछन् । तर तुलसी दाइको पनि बलियो अहम् छ, अझै तगडै छु, गर्न सक्छु केटा हो भन्ने छ । त्यसलाई बचाउन उहाँ मुस्किलले पुग्नु भो । तर त्यस्तो देखाउनु हुन्न ।
चियापान गर्दै त्यहीँबाट हेर्‍यौँ— चारैतिर स्वच्छ आकाशमुन्तिर यो टाकुरीमा घाम पनि धेरै तल झरे जस्तो लाग्छ । निकै तल खलङ्गा बजार ब्युँझेको एउटा नाके डाँडामा वारपार झलमल देखिन्छ । सेता राता घरहरू मन्दिर झुप्रा विद्यालयहरू । वरिपरि तीनैतिर ताछिएका जस्ता गाला; उँधोबाट उठेका जङ्गलले सुरक्षित छन् । एउटा भन्ङज्याङमाथि बसेको ससानो भूभागमा अडिएको खलङ्गा अलिक मुन्तिर नागबेली परेर बगिरहेकी भेरी बिहानको घाम टल्केर ऐना भएको छ, कति ठाउँमा कुहिरो जमेर पाल्पाको ह्वाइटलेक जस्तो लाग्छ । कस्तो विस्तृति छ परपर कहिल्यै नपुगिने ठाउँसम्म वर्तमानले वेष्ठित यो खलङ्गा यो जाजरकोटको मुख्य भाग । खलङ्गासँगै जोडिएको छ पुन्मा त्यससँग जोडिएको छ जगतीपुर । जहाँ राजा जगती मल्लले स्थापना गरेको राजपाट सुरु भएको थियो । हिजो विमोचित दुईवटा महत्त्वपूर्ण ग्रन्थले जाजरकोटलाई चिनाएका छन्— राजुराजा सिंहकृत जाररकोट परिचय (पृ. २६०) र मोमिलाद्वारा सम्पादित योगेश्वर कार्की सिर्जना र स्मृति (पृ. १८५) यी कृतिको अध्ययनले जाजरकोटलाई राम्ररी चिनाउने छ । यी दुई कृति यसपालि अमूल्य उपहार हुन् ।
मालिकाको समीपमा एकघन्टा व्यतीत गर्‍यौँ । सामरिक दृष्टिले महत्त्वपूर्ण यस डाँडामा एक सैन्य टुकडी थियो । क्याप्टन सापले हाम्रो स्वागत गरेका थिए । त्यसभन्दा तलको आर्मी ब्यारेक माओवादी लडाइँमा पनि सुरक्षित थियो । यद्यपि त्यहाँभन्दा धेरै माथि भन्ज्याङनिरको पाँचकटियामा धेरै हताहत भएको भयप्रद कथा अझै व्याप्त छ । कति कुरा वर्तमानका छन् कति कति इतिहासका र कति मिथहरू किंवदन्ती बनेर बसेका हुन्छन् । उनीहरूले सुनाए— त्यो तल देखिएको नागबेली परेर भेरी बगे ठाउँमा उठेको त्यो डाँडा हेर्नाेस्, त्यसको शिर नागको टाउको जस्तो छ । त्यहाँबाट पसेर भित्रभित्रै काठमाडौँको नागार्जुनसम्म पुग्ने मार्ग छ । यस्ता कुरामाथि विश्वास गर्ने आधार हुँदैन । तर सबैले भन्दा भन्दा हो जस्तै लाग्छ । यस्तै हो लोक विश्वास हुन्छ; मिथक बन्छ भन्ने कुराको आधार छैन तथापि जनविश्वासमा रूढि र परम्परा भै स्थापित छ । एकमनले मान्नुपर्छ ।
त्यसपछि ओरालो लाग्ने बेला आयो । साथीहरूको आग्रहमा आर्मीजनले तुलसी दिवस दाइलाई र मलाई एक एक लाठा उपहार गरे । तिनै टेक्तै हामी ओर्लियौँ । बिस्तारै होसियारले पाइला ठहर गर्दै जुत्ताका गोटी फिलिली चिप्लेर जाने हुन् कि, घुँडाले नथेगेर भ्वाक्कै पछारिने हौँ कि ! एकछिनदेखि अब गोडा काम्न थाले । थर्थर थर्थर । सेवा छोरीले जुम्ला जाँदाको अनुभव सुनाएकी थिइन्— बुबा चढ्नभन्दा ओर्लिन ज्यादा मुस्किल हुन्छ । मैले पूरै पत्याएको थिइनँ आज मात्रै नानीका वचन सम्झेँ— एक मन लाग्यो यसपालि ओर्लिँदा चाहिँ बाँकी रहिँदैन होला । थचक्कै बसेर स्ट्रेचर मगाउनुपर्छ होला । तर हार्न नमान्ने अहङ्कारले मलाई थला पर्न दिएन; सबैलाई जित्ने अहङ्कारले तुलसी दाइ हजार मिटर आगे पुग्नुभो । एउटा अनुभव, एउटा एडभेन्चर अनि एक अवसर ।

संस्मरण : काका र काकीहरूकोमा एकपटक पुग्दा / प्रदीप वालाचन

हामी क्रान्तिको बाँकी अभिभारा पूरा गर्न बिल्कुलै फरक प्रक्रियाबाट अघि बढिरहेका छौँ । यो प्रक्रियामा हाम्रा बारे वास्तविक जनतामा विभिन्नखाले भ्रम र आशङ्काहरू छन् जुन हामी तत्काल निवारण गर्न सक्दैनौँ । हाम्रो जीवनको वास्तविकता यही नै हो, जुन कुरा हामी दमका साथ भन्न सकिरहेका छैनौँ या कन्जुस्याइँ गरिरहेका छौैं । त्यो शोधकर्तालाई नै जिम्मा दिएर पन्छौँ जुन अहिलेको लागि उत्तम होला । यो पनि जिम्मा दिऊँ कि भोलि हामी यो कुरालाई यो प्रक्रियाद्वारा पार लगाउन सक्छौँ या सक्दैनौँ ?

पार्टी केन्द्रले स्थान किटान नभए पनि माघ २० गतेबाट महाधिवेशन गर्ने निश्चित भएको र क्षेत्रीय भेलासम्मका लागि कार्यविधि तय गरिसकेको अवस्थामा हामी तत्काल गाउँ कमिटी गठन प्रक्रियामा दौडिरहेका थियौँ । त्यो सिलसिलाले हामीलाई आग्रा पुर्‍याएको थियो गर्मी याममा पनि चिसो हुने त्यो ठाउँमा ।

हामी निकै असहजतापूर्वक पुगेका थियौँ त्यहाँ । जति हामीलाई जान बाटोहरू खुला थिए । हामी पीडा र बाध्यतामा पुगेका थियौँ । यी सबै आफ्नै भित्रको नकारात्मक खेल र झेलले हुँदा हुन पुगे । जति त्यहाँ आनन्द र आकर्षक प्राकृतिक सौन्दर्यको छटाले हामीलाई स्वागत गरिरहेको थियो सायद हामी त्यति खुसी साट्न सकिरहेका थिएनौँ हामी ।

भोलिको कार्यक्रम आज ३ बजे थाहा भयो जब हामीलाई पुग्न गाडीको यात्रामा पनि ८ / १० घन्टा लाग्छ । तैपनि हामी कस्सियौँ जानका लागि । त्यो कति वैज्ञानिक र वस्तुवादी योजना थियो हामीलाई थाहा थियो । त्यो पौषको कठ्याङ्ग्रिदो जाडोको बेला तीन हजारमाथिको उचाइमा मोटरसाइकलमा हुइँकिने यात्रा । केवल साहसले त्यसलाई अनुकूलतामा बदल्न सकिन्थ्यो । कमरेड मधु र क. जीवनको सहयोगमा म, रामहरि दाइ, जीवन र सौगात हानियौँ बल्लतल्ल ६ बजेतिर पौषको त्यो चिसो सिरेटोलाई बेवास्ता गर्दै हेटौँडाबाट । हेटौँडाको सडकमा समेत चिसिएको हावा दामन र सिमभन्ज्याङमा कति उत्ताउलिएको थियो होला सहजै अनुमान गर्न सकिन्छ तर बाध्यताका अगाडि समस्याहरू स्वाभाविकतामा बदलिँदा रहेछन् । नियमहरू पनि आफैँ बदलिँदा रहेछन् बेनियममा या अपवाद बनेर कहिलेकहीँ । किनकि नियमहरू आआफ्नै आवश्यकता र अनुकूलताहरूले अभिप्रेरित हुन्छन् । सायद त्यो क्षण त्यो प्रतिकूलता केवल प्रकृतिको नियम थियो तर त्यसलाई हामी सहर्ष स्विकारेर अगाडि बढ्न तयार भएका थियौँ न कि आत्मसमर्पण गर्न ।

हेटौँडा हुदै अँधेरीका धब्बाहरूले छेकेका हाम्रा बाटाहरू मोटर साइकलका प्रकाशले चिर्दै हामी आधुनिक स्पार्टाकस बनेर निस्केका थियौँ संसार उज्यालो बनाउन अर्थात् आफ्नो कार्यक्षेत्रभित्र गलत रबैया अपनाएर हामीलाई पङ्गु पार्न खोज्ने अनि हमेसा आफूलाई नै सर्वेसर्वा देखाउने र गुटगत मानसिकतामा लबिङ गर्ने उद्देश्यले गरेको झेलको विरुद्ध थियौँ हामी । यो कुनै अशङ्काको भुँमरीभित्र उकुसमुसिएर भनिरहेको कपोकल्पित कुरा होइन ।

सिमभन्ज्याङगमा पुग्दा हाम्रा खुट्टाहरू करिब नचल्ने अवस्थामा पुगिसकेको थियो । तर मलाई थाहा भएन कि मेरो बाइक ड्राङभिङ गर्दै गरेका कमरेड सौगातले कसरी गरे । हामी बतीतिको उज्यालोमा चिया खान बस्दै गर्दा आँखाहरू राता भएका थिए । रामहरि दाइको त झन् हरिबिजोग । हातहरू सुन्निएको देखाउँदै थिए जीवन र सौगात । हामी युवा भनिएकाको जति हालत खराब भएको थियो त्यो भन्दा बढी ५० नाघेका बुढा दाइको हुने कुरा स्वभाविक थियो । तैपनि भलाकुसारी गर्दै खायौँ चिया र नास्ता ।

समयले नेटो काटिसकेको थियो । रातको नौ बजिसकेको थियो त्यहाँ बस्दा बस्दै । यताउता गरेर बस्ने बासको व्यवस्था मिलायौँ क. आदर्शसँग विशेष सल्लाह गरेर । आकस्मिक यात्रामा तयार गरेको व्यवस्थापन सहजै हुने कुरा नभए पनि गयौँ घर्तीखोला आदर्शजीको घरमा । मिठो खाना खायौँ र आराम गर्‍यौँ ।

हामीलाई इमानले हो वा बेइमानले यकिन गर्न समय पर्खनै पर्ला तर हाम्रो यात्रा खराब नियत र प्रवृत्तिको विरुद्धमा हो भन्ने कुरामा भ्रम राखेका थिएनौँ ।

अहो कति चिसो पानी पालुङको, न मुख धुन सकिन्छ न त ट्वाइलेट पखाल्न सकिन्छ । हुन त मरिहाल्ने पनि थिएन । त्यसो त नित्य कर्म गर्न हारेनौँ पनि ।

नजिकैको पसलमा चिया खाएर हामी डाँडाबासतिर लाग्यौँ । त्यहाँ भीमराजजीको व्यवहारले त के खोज्छस् फलानो आँखा भने जस्तै गरायो झन् । त्यो कुनै स्वभावको कुरामा सीमित राख्न मिल्नेगरी थिएन । लु खा त भने जस्तै गरिरहनुभयो । अन्जानवश हो भन्ने त हुँदै होइन । यसरी ठोकुवा गरिहँदा सङ्कीर्णता देखाए भन्ने जस्तो पर्नु अस्वाभाविक नहोला तर वास्तविकता त्योभन्दा विल्कुल फरक थिएन ।

हामी कार्यक्रमस्थल तिर झर्‍यौँ मौसमी बाटोको सहारामा । कचीचि बाटो भएकाले मिटर मिटरमा जोखिमहरू थिए । हामीलाई यात्रामा गफ गरेर हिँड्न सम्भव थिएन बरु पछाडि बस्नेले चढ्ने र ओर्लिने गर्नु पर्थ्यो ।

माथिबाट लामीचौर रमाइलो देखिँदै थियो । हामी त यता कति बसेको नि दाइ भन्दै थिए जीवन ।

राम्रै जानकारी रहेको भावमा उनले मलाई बाइक रोकेर औँलाले ठाउँहरू देखाउँदै भौगोलिक परिचय गराए ।

ऊ त्यो काभ्रे खोला, त्यो उतपट्टि महादेवबेसी पर्छ । त्यो नौ डाँडा । त्यहाँ हाम्रो पोस्ट थियो । ऊ जानकारी गराउँदै गयो मानौँ उसको दिमागमा त्यो अतीतको रिल फिलिमको पर्दा झैँ चल्न थालेको छ एकपछि अर्को गर्दै । एक दिन हामी त्यो डाँडामा बसेका थियौँ काकाकोमा, सेनाको घेरामा पर्‍यौँ । धेरैले घेरा तोडे पनि दुई जनाको सहादत भयो । प्रकाश र दीक्षा बहिनीलगायत चार जनाको । बालबालले बाँचेका थिए धेरै जना । हामी पनि कसरी बाँच्यौँ थाहा छैन हामीलाई । अहिले सम्झिँदा पनि आङ सिरिङ्ग भएर आउँछ ।

म उनले भनेको सुन्दै बाइकको यात्रामा रहँदा भोलि त्यहाँ जाने निधो गरेँ र भनेँ जीवनलाई पनि । म त्यो घटनालाई मेरो डायरीमा सजाउन चाहन्थेँ । त्यो बेलाको चालु पोस्ट रहेछ त्यो । धादिङ-मकवानपुर, मकवानपुर-काठमाडौँ गर्दाको सम्पर्क कार्यालय । सुनाउँदै थिए कति विष्फोटक पदार्थ लुकाइराखेको रे त्यतिखेर । कति बसेका रे त्यहाँ ।

कार्यक्रममा उपस्थिति जनाइयो । कार्यक्रममा सोनमसिं मुक्तान अध्यक्ष, सचिवमा दीपक थिङ चयन भए सर्वसम्मतिले नौ सदस्यीय कार्यसमिति बन्यो ।

हामी कार्यक्रम सकेर त्यतै हानियौँ बाइकमा । दुईवटा बाइक थिए हामीसँग । मान्छे त उही चार जना म, रामहरि दाइ, जीवन र सौगात । त्यो आग्रा वडा नम्बर नौ नौडाँडामा पुग्यौँ, काकी प्रेमकुमारी सिलवाल, काका रामशरण सिलवालको घरमा । छोरीहरू त्यस्तै बोलक्कड । हामी सँगै गएका सबै भाइहरूलाई चिन्दा रहेछन् । कति रमाए उनीहरू । एउटै घरको सन्तान जस्तो कस्तो मजाले गफिए । मानौँ उनीहरु सानैमा बालुवा खेल्दा, भाँडाकुटी खेल्दादेखिकै साथी हुन् लामो समयपछि भेट भएका । कति एउटै थालमा खाएको, मुखमा लाँदै गरेको गाँस पनि खोसी खाँदा ठुस्केकी रे अझ । त्यो अन्तरङ्ग कुराकानी चलिरहेको थियो ।

घटना, २०६९ चैत्र ०६ गतेको । जुन सम्झिँदै आङ जिरिङ्ग हुन्छ सबैको । हामी तिनै ठाउँहरू हेर्न थाल्यौँ । तल डिलमुनि आग्रा खोला, उत्तर डाँडागाउँ, दक्षिण चल्ती, पूर्व बसेरी, पश्चिम बाहुन डाँडा । सेनाले तीनतिरबाट घेरा हालेको भिरपट्टिको भाग छोडेर । शाही सेनाद्वारा रमेश कार्की (थाक्रे— १, रानीबारी, धादिङ), बाटुमाया पाख्रिन कमरेड अन्जु (राईगाउँ— ८, मकवानपुर) लाई त्यही मारिएको रहेछ । भाग्न त सफल भए तर आग्रा खोलाको पारि आमने सामने पर्दा निसाना गरी गरी मारेका रहेछन् प्रकाश रानामगर कमरेड किरण (आग्रा— ३, बसेरी, मकवानपुर) लाई र कमरेड दीक्षा (भैँसेखानी, नामटार, मकवानपुर) लाई । घाइते अवस्थामा पनि भाग्ने कोसिस गरेका रहेछन् दिउँसोको त्यो घेराबन्दी शाही सेनाका अत्याधुनिक हतियारको अगाडि ती निहत्था योद्धाहरूले । घेरा तोडेर भाग्नुको विकल्प थिएन तर उनीहरू गोलीको सिकार भए । उनीहरूकै स्मृतिमा त्यहाँ चौतारी बनाइएको रहेछ । हँसिया हथौडा अङ्कित रातो झन्डा फहराइरहेको थियो, बसेरीको बारी पुच्छारमा ।

म कल्पनामा डुब्न थालेँ आफ्नो गाउँको पारि बसेको मान्छे दुस्मनको घेरा तोडेर अघि बढदै गर्दा आँगनछेउको करेसाबारीमुनि क्षतविक्षत भएर ढलेको लास देख्दा परिवारका बुबाआमा, दाजुभाइ र दिदीबहिनी अनि साना लालाबालाहरूलाई कस्तो भयो होला । कयौँ पटक बन्दुक र बम पड्केको सुन्दा मेरो बाबुलाई केही नहोस् भनेर कामना गर्ने मन कस्तो छिया छिया भयो होला ? आफ्नो घरछेउमा दुस्मनले आफूतिरै फर्काएर पड्काएको बन्दुकले आफ्नै सन्तानको प्राण लिनुपर्ने ,जहाँ आफू प्रत्यक्षदर्शी छन् । कति कामना गरेका थिए सबैले तर ? नाबालक सन्तानको आँखाअगाडि क्षतविक्षत भएर ढलेको । खाउँला र लाउँलाको भर्भराउँदो त्यो उमेरमा सिउँदोको सिन्दुर पुछिएको छ सँगिनीको । नाबालकमै टुहुरो सन्तान पनि । देशको नाममा, जनयुद्धको नाममा मृत ढलिरहेको छ कहिल्यै नउठ्ने गरी । पाइला चाल्दै नचाल्ने गरी । त्यो बेलाका दर्दानक पीडाहरू र कारुणिक चित्कारहरू … … … … उफ् ! सम्झदै मनभित्र असन्तुलित ज्वारभाटा चल्छ वर्ग दुस्मनका विरुद्धमा । तर अहिले हामी घाँटी जोडर बस्नु परिरहेको छ । कल्पनाभित्रको अकल्पनीय यथार्थ हाम्रो जिन्दगी भएर दौडिरहेको छ ।

हामीलाई राम्रै सम्मान गरे । सत्कार गरे । पठ्याङ्ग्री काटेर मासुभात ख्वाए । हामीलाई उनीहरूको छोरा जस्तै माया दिइरहेका थिए । विगतका ती तितामिठा कुराहरू सम्झी सम्झी कुरा गर्थे । कहिले हाँस्थे । कहिले भावुक हुन्थे । अनि गुनासाहरू थिए उहाँहरूका पनि । आफूहरूलाई भएपछि हामीलाई त कहाँ वास्ता गर्दारहेछन् र ? हामी त उही तिमीहरूलाई सम्झिने मात्र । तिमीहरू आआफ्नो बाटो लागि हाल्यौ । एउटी आमाले छोरासँग गुनासो गरिरहे जस्तो । सिङ्गो पार्टीसँग गुनासो पोखिरहेका थिए उनीहरू । अब पार्टीले गरिब जनताका निम्ति केही गर्न नसक्ने भो । अब गाउँ छोडेर सहर पसिहाले । दुख गर्ने बेलामा हामीले गर्‍यौँ । अहिले सहरका धनीमानीहरू नभएसम्म नचल्ने भो पार्टी पनि । उनीहरूकै जिउहजुरी र चिल्लामिठा कुरामा भुलेर हामीलाई नै अन्याय गर्ने हुन् । ठिकै छ अब जे हुनु भइसक्यो । तर आज यहाँ आएकोमा हामी खुसी छौँ हामी ।

आम जनताको गुनासो जस्तै उहाँहरूको गुनासो जायज थियो । हामी साँच्चै बिग्रेका थियौँ नै, हामी प्रस्ट थियौँ सायद हामीसँग बाइक नभएको भए हाम्रो यात्राले त्यो आदरणीय काकाकाकीसँग भेट हुँदैनथ्यो । हामी हिँडेर पक्कै जाँदैनथ्यौँ होला । हामी लोभीपापी र सुविधाभोगी भएकै थियौँ ।

हिजो आफ्नै सन्तानलाई झैँ गरेर गाँस र कपास काटेर दिने आमाबाहरूको यत्ति धेरै गुनासो हामीसँग । म आफैँमा अधीर मान्छे, त्यसमाथि अब पार्टीले त हाम्रो कुरा पनि त कहाँ सुन्ने गर्थ्यो र ? हामीले बोलेको कुकुरले पादेको जति पनि हुन छाडिसकेको थियो अनि त जनताको के कुरा ? ती आदरणीय काकाकाकीको के कुरा ? तर पनि हामी नेता कार्याकर्ताको हिसाबले पार्टीले भनेबमोजिम ढाँट्न जाने मात्रै इमान्दार र बफादार कमरेडको रूपमा मूल्याङ्कन पाउने बानी परिसकेकोले हामीले पनि सक्दो ढाडस दियौँ ।

पार्टी निरन्तर क्रान्तिमै छ । पार्टीले एजेन्डाहरू छाडेको छैन । पेरिसडाँडा कम्पनीबाट उत्पादित ती रेडिमेड कुरा मिलाई मिलाई बोल्यौँ । भलै त्यसमा कतिको सत्यतथ्य थियो मलाई पूर्ण ज्ञान थिएन । आधारभूत रूपमा र मनोवैज्ञानिक रूपमा हामी भत्किसकेका त थिएनौँ तर हामी बिग्रेकै थियौँ । जोखिमपूर्ण यात्रामा अघि बढ्दै गर्दा जता निकास त्यही विकास जस्तो घुमिघुमाउ बाटाहरूमा रुमल्लिरहेका थियौँ ।

हामी फर्क्यौँ । नयाँ बाटो भएर आउनु पर्दा केही सास्ती पनि बेहोर्‍यौँ । कहिले बाइकले बोक्यो । कहिले बाइकलाई बोक्यौँ । वरिपरिका दृष्यहरू जति रमणीय थिए, त्यो महसुस गर्न सकिरहको थिइन म । पार्टी फुटको राप, लाइन सङ्घर्षको राप, त्यसमाथि ती काकाकाकीका रापिला यक्ष प्रश्नहरूले निरन्तर झस्काइरहेका थिए ।

व्यवहारमा खारिएको मान्छेको अनुभव पढेलेखेको मान्छेको ज्ञानभन्दा सयौँ गुना शक्तिशाली हुन्छ । ती क्रान्तिलाई हतियारविहीन भएर पनि आफ्नो थलो नछोडेर आमनेसामने वचनयुद्ध गरेकाहरू भीषण मोर्चाको अग्रभागमा लड्ने हतियारधारी लडाकुभन्दा कति सहासिक लाग्छ मलाई । अन्तिम क्षणसम्म उनीहरू दुस्मन आए भनेर भाग्दैनन् आफ्नो घर छाडेर । तीन दिनकी सुत्केरी, सत्तरी बर्से आमाहरू, सात बर्सेषे नानीहरू सामूहिक बलात्कारको सिकार बन्दा र जिउँदै गुप्ताङ्गमा लट्ठी कोचेर दुई चिरा पारेर मारिँदा पनि निर्भीकतापूर्वक सामना गरिहन्छन् दुस्मनका कुकृत्यको । हो, तिनै सहासिक मान्छेहरू जो हामीभन्दा पाका छन् । उनीहरूले भित्री हृदयदेखि सबै कुरा गरे । ता कि ती कुराहरू पेरिसडाँडाले सुनोस् । बुद्धनगरले सुनोस् । लाजिम्पाटले सुनोस् भनेर । पार्टीको लागि यस्तो कुरा लिएर गए घामट मान्छे र अराजक कार्यकर्ताको उपमा दिन थाल्छन् । त्यसैले मनमनै भनेँ काकी तिमीले भनेको कुरा नै सही हो । मैले फत्तुर कुरा गरेर तिम्रो समय बर्बाद गरेँ सरी ल । नरिसाउनू है । तर तिम्रोको कुरा हामी हजारपटकसम्म भनिरहने छौँ जबसम्म उनीहरूले सुन्दैनन् ।

हामी पनि क्यान्टोनमेन्टबाट भर्खरै सरकारी भाडा लिएर सबै खरखजना बुझाएर आएका हौँ । बुझायौँ माथिकै आदेशमा । हिजो खोसेको थियौँ माथिकै आदेशमा । यो माथिको चिजमा रहस्य र भ्रम नै धेरै हुँदोरहेछ । हाम्रो त केही गल्ती छैन । हामी नि तिमी जस्तै हो काकाकाकी । जाऊँ सँगै बरु हाम्रा प्रश्नहरू, जिज्ञासाहरू , चिन्ताहरू, पीडाहरू, वेदनाहरू र सल्लाहसुझावहरू माथिकालाई दिऊँ र खबरदारी गरौँ । नत्र हामी कहिले बाइकले बोक्ने कहिले बाइकलाई बोक्ने जस्तै यात्राले हामी लक्ष्यमा सुरक्षित पुग्न धेरै चुनौतीहरू देखिएका छन् । हाम्रो चुनौती हामीले नै सामाना गर्ने हो । हाम्रो लागि हामीले नै गर्ने हो । हाम्रो लागि र हाम्रो उपलब्धि बचाउन हामी नै जाग्नुपर्छ । तब मात्र पुस्तान्तर गर्न सकिन्छ केवल उत्तर नपाएका प्रश्नहरू नै किन नहुन् !

गायक यश कुमारको म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी’ सार्वजनिक । (भिडिओ)

मंगलबार यश कुमार अफिसियल युट्युब च्यानलमार्फत ‘सुस्तरी सुस्तरी’ बोलको गीत सार्वजनिक गरिएको छ । यश कुमारको शब्द र संगीत रहेको गीतमा एसके बच्चाले संगीत संयोजन छ भने गायनमा उनलाई अनु चौधरीले साथ दिएकी छन् । गीतको भिडिओमा सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगरप्रहरीबीचको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्ममा यश कुमार, अनु थापा, राजेश घतानी, पन्छी तामाङ, अनिता लामालगायत कलाकारको अभिनय छ। उत्तम हुमागाईंले छायांकन गरेको गीतको भिडिओलाई विकास धमलाले सम्पादन गरेका छन् । यसको कथा यश कुमारले तयार पारेका हुन् ।

https://youtu.be/b2_x7F494Ls