Home Blog Page 77

मदन पुरस्कार २०७९ का लागि ५ पुस्तक श्रेष्ठ सूचीमा ।

मदन पुरस्कार- २०७९ को श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले आज पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो। यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछ।

उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर छन्।

इजोरिया उपन्यास फाइनप्रिन्ट बूक्सले प्रकाशन गरेको हो। यो उपन्यासले तराईको सामान्य परिवारको सामान्य मान्छेको कथा पस्केको छ। मधेशको भाषा, वेशभूषा, जीवनशैली लगायत चित्रण गर्दै उपन्यासमा स्थानीय बोलीचालीको भाषाको प्रयोग गरिएको छ।

ऐंठन उपन्यास दुई दशकअघि माओवादी विद्रोहको वेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ। साङ्ग्रिला बूक्सद्वारा प्रकाशन गरिएको उपन्यासमा द्वन्द्वकालका भयावह र बर्बर घटना समेटिएका छन्।

चक्रव्यूहमा नेपालको जलस्रोत गैरआख्यान हो। सिमल बूक्स पब्लिकेशनद्वारा प्रकाशन गरिएको यो पुस्तक नेपाल सरकारका पूर्व सचिव ढुंगेलको पेशागत अनुभवको उपज हो। यसले जलस्रोत विषयमा प्रशासकका आँखाबाट देखिएका तथ्य उजागर गरेको छ। यसमा मुख्यतः महाकाली सन्धि र मन्त्रालयमा सोबारे गरिएको गृहकार्यको विवरण छ।

थाङ्ग्रा उपन्यास फिनिक्स बूक्सले प्रकाशन गरेको हो। यसमा उत्पीडित वर्ग, वंश, अधिकार र अन्तरजातीय विवाहको विषय समेटिएको छ। यसमा महिलालाई गरिने विभेदको विषय र समाजका विभिन्न पाटोलाई उजागर गरिएको छ।

माटाको घर उपन्यास साङ्ग्रिला बूक्सले प्रकाशन गरेको हो। भारतको गोर्खाल्यान्ड आन्दोलनको सेरोफेरोमा बुनिएको उपन्यासमा आन्दोलन र त्यसको सामाजिक प्रभाव ऐतिहासिक तथ्यका रूपमा अगाडि नबढाई आख्यानात्मक रूपमा पस्किइएको छ।

गजल : रमेश प्रभात

हिजो बगर चाहार्दै थ्यो पाँगो बोकेर,
आज बस्ती छिरेको छ आगो बोकेर ।

पानी छैन, घना बस्ती तिर्खाएको देख्छु,
उता पहाड एक्लै रुन्छ छाँगो बोकेर ।

डढेलोले खायो कठै कलिलो त्यो मुना,
चौतारीको पिपल हाँस्यो हाँगो बोकेर ।

फेरि पनि भोट माग्न आयौ भने गाउँ,
गाउँले सब जागेका छन् टाँगो बोकेर ।

‘प्रभात’मै छुट्टिएका मुटुहरू जोड्न,
राजधानी पस्यो कोही धागो बोकेर ।

रमेश प्रभात, चितवन

सृष्टि सावित्राको गजल

भोजपुर जिल्ला दोभाने जन्मस्थान भई हाल मोरङ जिल्ला सुन्दर हरैँचा न. पा. ४ निवासी गजलकार सृष्टि सावित्रा कविता, गजल, मुक्तकलगायतका विधामा सक्रिय हुनुहुन्छ । उहाँ संयुक्त आवाज परिवर्तन समाज, धनकुटा बहुमुखी क्याम्पसलगायतका सङ्घसंस्थाहरूबाट पुरस्कृत सम्मानित भइसक्नुभएको छ । उहाँका ‘अन्तर्बोध’ संयुक्त गजल सङ्ग्रह– २०८०, ‘सहयात्री’ संयुक्त गजल सङ्ग्रह– २०७५ लगायत सङ्ग्रह प्रकाशित भएका छन् ।

कति होलान् कति यहाँ आरोप लगाउने मान्छे
एउटा बा, अर्की आमा छिन् सधैँ सम्झाउने मान्छे ।

म जस्तै पीडामा छ त्यो बगैँचाको फूल पनि
आफैँ  चुडाउन आउँछन् आफैँ हुर्काउने मान्छे ।

कम से कम म त खुसी छु भगवान्को मूर्तिसँग
जीवनभर पीडामा देखिन्छ मूर्ति बनाउने मान्छे ।

उसलाई बचाउने एक ज्वलन्त उदाहरण म छु
उही दिन मरेछ मलाई रगत दिएर बचाउने मान्छे ।

बटुवालाई बाटो देखाउँछन् अझै मेरो गाउँमा
यो सहरमा आफैँ हरायो भेट्न बोलाउने मान्छे ।

सृष्टि सावित्रा

गजलकार कविता केशरीको गजल

सङ्खुवासभामा जन्मनुभएका गजलकार कविता केशरी हाल विराटनगरमा शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । उहाँका ‘मैले पढेका पुरुष’ उपन्यास– २०७३, ‘हिउँको लाली’ गजल सङ्ग्रह– २०७६, लगायत सहलेखनमा दर्जनौँ पुस्तक प्रकाशित छन् ।

म प्रेमी हुँ तिम्रो जली जान सक्छु ।
बनी रङ्ग रातो गडी जान सक्छु ।

सफारी छ मेरो कता छौ मृगिणी
सिकारी तवरले चुमी जान सक्छु ।

घटामा लुकेको छ रश्मी उषाको
अजर पार्नलाई छिपी जान सक्छु ।

नसाले भरेको म प्याला उठाऊँ
तिमीले घुलेमा डुबी जान सक्छु ।

उडाईरहेको छ सीता छलैले
लडी राघवैले जिती जान सक्छु ।

बगेको छ पानी छ तिर्खा त्यसैको
ढलाएर घैला पिई जान सक्छु ।

कविता केशरी, विराटनगर

कविता : हजुरको स्वागतमा मुस्कान पस्केको छु / जनक कार्की

पाल्पामा जन्मेका जनक कार्की हाल तानसेनमा बसोबास गर्छन् । प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनी पेसाले रेडियोकर्मी हुन् । साहित्यिक आबद्धताका दृष्टिले उनी पाल्पा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानका आजीवन सदस्य तथा विश्व साहित्य सञ्जालका उपाध्यक्ष हुन् । पुस्तक प्रकाशनतर्फ उनको संयुक्त कविता सङ्ग्रह `अनुहारको भिड प्रकाशित छ । बाह्रखरी उत्कृष्ट कथा २०७९ र बौद्ध विश्वविद्यालय उत्कृष्ट बौद्ध कथा उनले पाएका केही पुरस्कार / सम्मान हुन् ।

हजुर आउने भनेको सुनेपछि
मेरो झ्यालबाट देखिने चन्द्रमालाई छेकेको
बाँसघारीलाई फाँडेको छु
बादललाई खेत रोप्न पठाएको छु
लामखुट्टेलाई मामाघर पुर्‍याएर आएको छु ।

हजुर आउने भनेको सुनेपछि
आकाशको प्लेटमा काजुजस्ता तारा पस्केको छु
जुनको किरण प्यालामा खनाएर राखेको छु
फूलभित्रको परागमा बसेको अत्तर चोरेर
घरभरि छर्केको छु ।

हजुर आउने भनेको सुनेपछि
धेरै दिनपछि बेरोजगार कुचोले काम पाएको छ
रेस्टुरेन्टमा खाना खाने एउटा ग्राहक घटेको छ
अल्छी ग्यास चुलो भरभराउन थालेको छ ।

हजुर आउने भनेको सुनेपछि
ओथारो पारेर बसेका फोहोर कपडाले पानीको मुख देखे
न्युड सिरानी र सिरकले कपडा लगाउन पाए
पक्षाघात भइसकेको तन्ना फिजियोथेरापीले तनक्क तन्किन पायो ।

हजुर आउने प्रतीक्षामा
कति बेला डोर बेल बज्ला भनेर
व्यग्र प्रतीक्षामा थिएँ
अचानक फोन रिङ आयो
भन्नुभयो,`ठेगाना नजिक आइपुगेको थिएँ
साउने झरीले पहिरोमा फसियो ।´

हजुरको स्वागतमा मुस्कान पस्केको थिएँ
खेर गयो !

जनक कार्की
तानसेन, पाल्पा

कविता : शीत / रोशन परियार

पाख्रीबास नगरपालिका ४, रमनेमा जन्मनुभएका कवि रोशन परियार ‘रोपनि’ हाल पाख्रीबास नगरपालिका– ४, बिच बजारमा बसेर कविता, गीत, गजललगायतका विधामा सक्रिय हुनुहुन्छ । उहाँ विभिन्न दुई दर्जनभन्दा धेरै सङ्घसंस्थाहरूबाट पुरस्कृत तथा सम्मानित भएसक्नुभएको छ । उहाँको ‘सियोको दुरबिन’ कविता सङ्ग्रह– २०७३ प्रकाशित छ ।

म शीतको थोपा हुँ
जूनको पैतलाले थिच्न सक्छ
दबिएँ भन्नुहुँदैन
हावाको हतकडीले बाँध्न सक्छ
निसास्सिएँ भन्नुहुँदैन
घामको ओठले चुम्न सक्छ
बिलाएँ भन्नुहुँदैन

धुलोको आँखाले छोप्न सक्छ
पुरिएँ भन्नुहुँदैन
कसैको पछ्यौरीले थप्पड लगाउन सक्छ
लडेँ भन्नुहुँदैन
कसैको जुत्ताले लत्याउन सक्छ
च्यातिएँ भन्नुहुँदैन

म शीतको थोपा हुँ
मैले आफ्नो अस्तित्व बिर्सनुहुँदैन

हुन त
कमजोरी कसको हुँदैन र
जस्तो कि
उज्यालो दिने जून
औँसीमा आउन सक्दैन
पानी सुकाउने घामले
पसिना सुकाउन सक्दैन ।

रोशन परियार,पाख्रीबास

कविता मेरी माइली / देवकी तिमल्सिना “समीक्षा”

बलेफी गाउँपालिका ६, सिन्धुपाल्चोकमा जन्मनुभएकी कवि देवकी तिमल्सिना समीक्षा राजनीतिक शास्त्रमा स्नातकोत्तर गरी राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहनुभएको छ । हाल सर्केगार्ड ८, हुम्लाको स्थायी बासिन्दा उहाँका ‘योद्धाको सपना’ कविता सङ्ग्रह– २०७६, ‘छुटेका सपना’ मुक्तक सङ्ग्रह– २०७७ का अलावा राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा लेख रचना प्रकाशित छन् । उहाँ कविता, मुक्तक, संस्मरण, विषयगत लेख र गजललगायतका विधामा कलम चलाउनुहुन्छ । उहाँ अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय सदस्य, लेखक सङ्घको केन्द्रीय सदस्य, कर्नाली साहित्य समाजको उपाध्यक्ष हुनुहुन्छ । उहाँ रेडियो गणतन्त्र नेपालद्वारा युद्ध पत्रकार सम्मान– २०७३, प्रेस सेन्टर महिला विभाग द्वारा महिला युद्ध पत्रकार सम्मान– २०७३, मनोरम सिर्जना यात्रा– २ द्वारा–साहित्य सिर्जना सम्मान– २०७४, सांस्कृतिक संस्थान र आरङ्ग नेपाल, सुर्खेतद्वारा रारा नाटक महोत्सव सफलता सम्मान– २०७५, तिमल्सिना समाज नेपालद्वारा– साहित्य सम्मान– २०७६, प्रगतिशील लेखक सङ्घ नेपाल कर्नाली प्रदेशबाट सम्मान– २०७९, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रतिभा पुरस्कार (भाषा साहित्य)– २०७९ लगायतबाट सम्मानित/पुरस्कृत हुनुभएको छ ।

जब समाजलाई छपक्कै घेर्छ
कुरीति र अन्धविश्वासले
पुण्य आर्जन गर्ने नाउँमा
एक अबोध बालिकालाई
घुम्टो ओडाइन्छ
सिउँदोमा सिन्दुर हालिन्छ जबर्जस्ती
अनि घाँटीमा लगाइन्छ तिलहरी नामको दाम्लो
त्यतिबेला बाबा, आमाले भन्नुहुन्छ,
मेरी छोरी ज्ञानी छे !
हामीले भनेको मानेकी छे ।

तर समय कति निष्ठुर छ
विवाह बन्धनमा बाँधिएको
पाँच महिना नपुग्दै
प्रेमको लाभा अङ्कुराउन नपाउँदै
सुनकोसी नदीमा चुर्लुम्म डुबेको जीवन
जसरी निल्छ सर्पले भ्यागुता
त्यसैगरी निल्यो सुनकोसीले
मेरी माइलीको भाग्य ।

त्यो खबरले मेरी माइली
कति छट्पटाई- अहँ म भन्न सक्दिनँ
बाह्र वर्षको कलिलो उमेरमा
सेतो लपेटो शरीरभरि लप्काउँदा
आफ्नो अस्तित्व खोजिरहँदा
त्यही अस्तित्व नै सकिएपछि
तिम्रो नाममा लगाइएका
चुराहरू एकैपटक फुटाउँदा
उसको सपना पनि सँगै फुट्यो
पखालिएको सिन्दुरको रेखीले
उसको बाटोमा काँडा पलायो
तिमीले लगाइदिएको दुई जोडा पोते चुडाउँदा
चुँड्यो उसको मायाको डोरी
हड्डीहरू पनि गले पीडाले
आँखाहरू निस्तेज र धूमिल भए
छाती चिरा चिरा भयो
मुटु एक्कासि टुक्रा टुक्रा भयो
अन्ततः
शून्यमा विलिन भयो तिम्रो चोखो माया ।

आज मेरी माइली
त्यो परम्परागत यातनालयबाट
आफु मुक्त हुने आँट गरी
मन दरिलो बनाएर
समाजलाई चुनौती दिँदै
गर्विलो छाती लिएर काठमाडौं सहर पुगी
जीवन जिउने र बाँच्ने अभियानमा
आफूलाई पूर्ण नारी बनाउन
सिउँदो भरेकी छे
मनभरि वनभरि फुलाउन गुलाफ
जीवनको अनवरत दौड जितेकी छे ।

तिम्रा बैँसालु आकाङ्क्षाहरू
जिन्दगीका पानाभरि लेखेर
जसरी तिमी पूर्ण भएकी छौ अहिले
साँच्चै तिमी हाम्रो घरकी
योगमाया हौ माइली !

देवकी तिमल्सिना समीक्षा

https://www.youtube.com/watch?v=naaB0hjOjuohttps://www.youtube.com/watch?v=T8cjB8cKg3Uhttps://www.youtube.com/watch?v=7K6UyneTur0https://www.youtube.com/watch?v=qBYIiPqlU9Mhttps://www.youtube.com/watch?v=BK-blK59LGs&t=895shttps://www.youtube.com/watch?v=vbNzoitPIckhttps://www.youtube.com/watch?v=782rFkRebqYhttps://www.youtube.com/watch?v=Gzvd_hXciOUhttps://www.youtube.com/watch?v=zwrXxjnqU5Ehttps://www.youtube.com/watch?v=9WAXUZw3xwY&t=385shttps://www.youtube.com/watch?v=7pCYCVuAAUYhttps://www.youtube.com/watch?v=C2GR6Eiva8chttps://www.youtube.com/watch?v=CLEzQ8CMwoE

आर के विरुद्ध पक्राउ पूर्जी जारी, लेखकहरू जुर्मुराए ।

“पत्रकारिताको आडमा धन्दा गरिरहेकाहरूको तारो भएको छु ।” भन्ने आरके अदिप्त गिरी कालीगण्डकी बचाउ अभियानका अभियन्ता हुनुहुन्छ ।

उहाँ कला, संस्कृति, भाषा, साहित्यको संरक्षण गर्न कुश्मा, पर्वतमा रहेको ३ सय १५ वर्ष पूरानो ‘शताब्दी घर’ को संरक्षण र पर्यटन प्रवर्द्धनमा आबद्ध कुश्मा परियोजनाका अध्यक्ष हुन् । उनीविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरिएको छ । सोअघि उनले फेसबुकमा यस्तो स्टाटस लेख्नु भएको थियो- “हात मल्छ, नाक दल्छ, प्रशस्ति लेख्छ । दलाल, तस्कर, माफिया र नेताको स्तुति र भाषा बोल्छ । गोमन साँपले झैं समाजलाई डस्छ । थुक्क पर्वते पत्रकारको नियति । अब भण्डाफोरमा उत्रौं ।”
यसै स्टाटसलाई आधार मानी केही व्यक्तीहरूले उहाँ विरुद्ध उजुरी दर्ता गराएका थिए । कालीगण्डकी नदीमाथि भएको दोहनमाथि आवाज उठाउने उहाँ स्वतन्त्र फोटो पत्रकार र लेखक समेत हुनुहुन्छ ।
सर्वोच्च अदालतले अवैध रूपमा हुने नदी दोहनमा रोक लगाउँदा पनि दोहन नरोकिएपछि उहाँले समय समयमा यस विरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ । सभ्यता बोकेको कालीगण्डकीलाई ब्राण्डिङ गर्नुपर्नेमा दोहन गर्दै जानु राम्रो नभएको साथै दलाल र तस्करसँगको सेटिङमा काम गर्नेहरूका कारण राम्रा पत्रकार विस्थापित हुँदै गएको चिन्ता गर्ने आरकेविरुद्ध जारी भएको पक्राउपूर्जीको खबरपश्चात् लेखकहरूले सामाजिक सञ्जालमा विभिन्न धारणा राख्नु भएको छ । जस्ताको तस्तैः

चौबीस रिल, सुप्लाको हवाइजहाज, मैदारो कृतिका लेखक चितवन निवासी सर्जक भुपिन लेख्नुहुन्छः
आरके अद्वीप्त गिरी कुस्मामा बसेर कालीगण्डकी बचाऔँ अभियान लगायत साहित्य, कला, सस्कृतिको विकाश र प्रबर्धनमा लागिरहेका समाज सुधारको चिन्ता गर्ने अभियन्ता हुन् । उनलाई भेट्दा लाग्छ, देशका हरेक सहरमा एकएक जना आरकेहरू भए कति गजब हुने थियो । विसंगतिको विरुद्ध लेख्नु र विद्रुपताविरुद्ध व्यङ्ग्य गर्नु उनीजस्ता सबै लेखक/अभियन्ताको धर्म हो ।
पत्रकारीता पनि यस्तै अभियान नै त हो ।

अरू ठाउँका विसंगति र विद्रुपता लेख्ने पत्रकार साथीहरूले बुझ्नु पर्छ- आफू संलग्न पत्रकारिता क्षेत्रमा पनि विसंगति र विद्रुपता हुन सक्छन् । आफू लागेको पेशा वा क्षेत्र आफू संलग्न भएकैले पवित्र छ भनि मान्नु ठूलो भ्रम हो । यतिकै आधारमा पत्रकार साथीहरू आत्तिनु पर्ने र अभियन्ता आरकेलाई जेल हाल्नु पर्ने त म केही देख्दिन । उनी अपराधी होइनन्, समाज सुधारको लागि लड्ने एक चेतना हुन् ।

उमेरको नदी कृतिका लेखक हेटौंडा निवासी कवि/लेखक/सम्पादक निमेष निखिल लेख्नुहुन्छः

लेखक/पत्रकार आरके अद्वीप्त गिरीको अभिव्यक्ति स्वतन्त्रताको म सम्मान गर्दछु र उनको सुधार अभियानको समर्थन गर्दछु । र म उनको अभियानप्रति ऐक्यबद्धता पनि व्यक्त गर्दछु ।

कान्त भीड र यादको कोलाज कृतिका लेखक पोखरा निवासी अमृत लेख्नुहुन्छः
लोकतान्त्रिक व्यवस्थामा सामाजिक संजालमा प्रतिक्रिया लेखेकै भरमा यस्तो प्रपन्च रच्नुपर्ने के थियो ? यिनीहरुले शान्त तलाउमा ढुंगा हाने । यिनीहरु सबै चोर बाटो हिँडेर पत्रकारिता गरिरहेका थिए । चोर बाटोबाट हिँडेर पनि पत्रकारिता हुन्छ ? कस्तो मानक खडा गर्‍यौं हामीले ? यसको भोलि समाज, आमनागरिकले मूल्याङ्कन गर्ला । आवाज उठाउँदै पनि जाला । र मविरुद्ध यस्तो प्रोपोगाण्डा रचिएपछि मैले लड्नुको विकल्प छैन ।

“प्रकृतिले मौन भाषा बोलिरहेको हुन्छ । काली एउटा सामान्य खहरे होइन । हामीले चौडा दिमागले सोचेर जनसरोकारलाई सम्बोधन गर्न सक्यौं भने हामीले यसबाट धेरै नै फाइदा लिन सक्छौं । अन्यथा भयाभय नतिजा भोग्नुपर्ने हुन्छ । यसर्थ कालीगण्डकीमाथि भएका दोहन जनअधिकारमाथि अक्षम्य आक्रमण हो ।विश्व सम्पदा सूचीमा पुर्‍याउन लागि परेका छौं ।” भन्ने आरकेको पक्षमा देशभरका सर्जकहरू जुर्मुराएका छन् ।

चितवनका गजलकार/पुस्तक व्यवसायी लेखाराम सापकोटा लेख्नुहुन्छः
असल पत्रकारलाई आरके अदीप्त गिरीले आक्षेप लगाएका छैनन् ।जो साँच्चिकै असल छन्, ती पत्रकार आरके विरुद्ध आउन पनि चाहन्नन् ।(आरकेको साथमा हामी छौँ ।)

कविता संग्रह छुटेका अनुहार तथा अन्तर उपन्यासका लेखक रमेश सायन लेख्नुहुन्छः
आरके अदिप्त गिरीले कालीगण्डकी बचाउ भनेको हो। कालीगण्डकी सभ्यता र जीवनको नसा हो। यसलाई दोहन गर्न हुन्न भनेको हो। सामाजिक व्यतिथि रोकौं भनेको हो। अत्याचार विरूद्ध औंला उठाएको हो। यसो गर्दा थुनिनु पर्ने ? सरकार डरछेरुवा हो। आर.के. सँग डरायो सरकार। बोल्न नछाड साथी, तिमीसँग हामी छौं।

जल विधालाई एक अभियानकै क्रममा लिएर हिँड्नुहुने सर्जक बाबु त्रिपाठी लेख्नुहुन्छः
म मेरा कवि मित्र आर.के. को पक्षमा छु । बोलौँ ।


आरके पक्राउका विषयमा पर्यासाहित्यका अभियन्ता, लाहुरेको रेलिमाईका लेखक विजय हितानको विचार यस्तो रहेको छः
उनी वातावरण संरक्षण अभियन्ता हुन् । कालीगण्डकी जस्तो पर्यावरणीय र धार्मिक/साँस्कृतिक हिसाबले महत्व राख्ने नदीलाई डाइभर्सन गरिन हुन्न, यसबाट गैरकानुनी तरिकाले गिट्टी बालुवा झिकेर यसको दोहन गरिन हुन्न भनेर एक्लै लागेका वातावरण संरक्षणका पहरेदार आरके अदिप्तलाई प्रहरीले पक्राउ गर्न गैरहेको छ भन्ने समाचारले मलाई दुखित तुल्याएको छ र यस्तो कार्यको म निन्दा गर्छु । देशैभरिका संरक्षणकर्मी साथीहरु आरकेको समर्थनमा एक हुन हार्दिक आह्वान गर्दछु ।

यस्तै कालीगण्डकी बचाउ अभियानद्वारा प्रेस विज्ञप्ति जारी गर्दै लेखिएको छ- सक्रिय राजनीतिमा लाग्ने तथा अन्य संस्थामा रोजगारी गर्ने व्यक्तिहरू जो पत्रकार महासंघको शुद्धिकरण अभियानका क्रममा कारबाहीमा परेका गैर पत्रकारद्वारा आधारहीन उजुरीका आधारमा पक्राउपूर्जी जारी गरिनु अनुपयुक्त मात्रै नभई आपत्तिजनक पनि छ ।

सर्जक, फोटोपत्रकार, तथा साँस्कृतिक अभियन्ता गिरीले यसअघि लोक कल्याणकारी विज्ञापनको पैसा असुल्ने तथा बजारमा पत्रिका नबेच्ने भनी आलोचना गर्नु भएको थियो ।उनीविरुद्धको पक्राउपूर्जीको खबरलाई लेखक, अभियन्ता, राष्ट्रियस्तरका पत्रपत्रिकाहरूले महत्वका साथ स्थान दिएका छन् ।

अनुवाद शृङ्खला- २ : चन्द्रकान्त देवतालेका तीन कविता

कवि चन्द्रकान्त देवतालेको जन्म- ७ नोभेम्बर, १९३६, मा जौलखेड़ा, बैतूल, मध्य प्रदेशमा भएको हो । उनको निधन १४ अगस्त, २०१७ मा भयो । देवताले सुप्रसिद्ध भारतीय कवि एवं साहित्यकार थिए । उनी देशका २४ भाषाहरूमा विशेष साहित्यिक योगदानका लागि प्रख्यात साहित्यकारहरू मानिन्थे । उनी आफ्ना कविताको सघन बुनोट तथा तिनमा निहित राजनीतिक संवेदनाका लागि विशिष्ट मानिन्छन् । उनी संसारको सबैभन्दा गिरब मान्छेदेखि लिएर बुद्धको देशमा बुससम्म कविताहरू लेख्थे ।
उनले आफ्ना कविताको कच्चा पदार्थ मनुष्यका सुखदुःख, खासगरी महिला र केटाकेटीको संसारबाट जम्मा गरे । बैतूलमा हिन्दी र मराठी बोलिन्छ त्यसैले उनको काव्य संसारमा यी दुव भाषा जीवित थिए । देवताले इन्दौरमा बसे र इन्दौरलाई आफ्नो सार्वदेशिकता (कस्मोपोलिटिनिज्म) का कारण मध्य भारतको मुम्बई भनिन्छ । यो सार्वदेशिकता उनका कविताहरूले पनि बयान गर्छन् । देवताले निकै पढेलेखेका मानिस थिए । उनले कवि गजानन माधव मुक्तिबोधमाथि पीएचडी गरेका थिए र इन्दौरको एक कलेजमा पढाउँथे । उनले अनेक पुरस्कार पाएका थिए जसमा अन्तिम महत्पूभार्ण पुरस्कार २०१२ को साहित्य अकादेमी पुरस्कार थियो । यो उनको कविता सङ्ग्रह ‘पत्थर फेंक रहा हूं’ का लागि दिइएको थियो । देवतालेका कवितामा समय र सन्दर्भसित सम्बन्ध राख्ने सबै सामाजिक, सांस्कृतिक, राजनैतिक प्रवृत्तिहरू समाहित छन् । उनका कवितामा समयका सरोकार छन्, समाजका सरोकार छन्, आधुनिकताका आगामी वर्षहरूका सबै सिर्जनात्मक प्रवृत्तिहरू छन् ।


मुख्य कृतिहरू
कविता सङ्ग्रह : हड्डियों में छिपा ज्वर, दीवारों पर खून से, लकड़बग्घा हँस रहा है, रोशनी के मैदान की तरफ, भूखंड तप रहा है, आग हर चीज में बताई गई थी, पत्थर की बैंच, इतनी पत्थर रोशनी, उसके सपने, बदला बेहद महँगा सौदा, पत्थर फेंक रहा हूँ
आलोचना : मुक्तिबोध : कविता और जीवन विवेक
संपादन : दूसरे-दूसरे आकाश, डबरे पर सूरज का बिम्ब
अनुवाद : पिसाटी का बुर्ज (दिलीप चित्रे की कविताएँ, मराठी से अनुवाद)


सम्मान
मुक्तिबोध फेलोसिप, माखनलाल चतुर्वेदी कविता पुरस्कार, मध्य प्रदेश शासन का शिखर सम्मान, सृजन भारती सम्मान, कविता समय पुरस्कार आदि ।

आमा जब खाना पस्कनुहुन्थ्यो

धेरै पुराना भएका छन् ती दिन
जब आमाले नपस्केसम्म खाना
भरिन्नथ्यो पेट
ती दिन गहिरो इनारमा छुटेर झरेको
चम्किलो पित्तलको बाल्टिनजस्तै
अद्यापि विलुप्त छन् कतै सुदूरमा

फेरि आए ती दिन
जब आमाको उपस्थितिमा
गाँस निल्नसमेत धौधौ हुन थालेको थियो
र पनि उहाँ बेइलमी आफ्नो कान्छो छोराका लागि
घिउको बटुको ल्याउन कहिल्यै बिर्सनुहुन्नथ्यो

कहिल्यै सोध्नुभएन उहाँले
कता भौँतारिइरहन्थेँ म दिनदिनभरि
र कताबाट जुटाउँथेँ
आफ्नो पानसुर्तीको खर्च

सधैँजसो पस्कँदै गर्दा खाना
अझ मायालु बनेर उहाँ
पटकपटक सोधिरहरनुहुन्थ्यो
र थालमा निहुर्याहएर गर्धन
आफैँले रोटीको टुक्रा चपाएको आवाज
आफैँ सुनिरहन्थेँ म

उहाँ चिन्नुहुन्थ्यो
मेरो भोक र प्यासलाई राम्रोसँग
आधापेट मात्र खाएर म उठेको दिन
बटुल्दै जुठा भाँडाकुँडा
भान्सामा एक्लै बर्बराइरहनुहुन्थ्यो आमा

दलानमा लुकेर
मेरा कान टिपिरहन्थे उहाँका हरेक शब्द
र अन्त्यमा भगवान्‌सँग उहाँको गुनासो
सबैभन्दा डरलाग्दो सिद्ध हुन्थ्यो
ढोका खोलेर त्यसपछि म
राति अबेरसम्मका लागि
सडकको एकान्त र अन्धकारमा समर्पित हुने गर्थेँ
यी दिन पनि अब त्यसै इनारमा
फलामको गह्रौँ बाल्टिनजसरी डुबेका होलान्

आफ्ना बालबच्चासँग खाँदै गर्दा
अब खाना खाने त्यो सुविधा र छट्पटी
दुवै विलुप्त भएका छन्

सबै आफ्नोआफ्नो जिम्मेवारीमा खान्छन् आज
र निश्चिन्त रहन्छन् अरुको खानाका बारेमा
खानामा कहिलेकाहीँ मेथीको साग वा बेसनको पकौडा हुँदा
मेरो भोक र प्यासलाई नियाल्दै
उहाँका दृष्टि र आवाज तरङ्गित हुन थाल्छन्
अनि म फेरि पानीका सहायताले
निलेर खाना केहीबेरका लागि
त्यही इनारमा डुबेका
तिनै बाल्टिनहरू खोजिरहन्छु ।

आमाका बारेमा सक्तिनँ लेख्न कविता

आमाका लागि सम्भव छैन मबाट कविता लेखिन
कमिलाहरूको एउटा अमर जत्था
हरपल मेरो मस्तिष्कभरि सल्बलाइरहन्छन्
हरेक दिन आमा त्यहाँ एकदुई चिम्टी पिठो हालिदिनुहुन्छ

जहिल्यै सोच्न सुरु गर्छु म-
कसरी हुन्छ होला यस्तो ?
जाँतो पिनेको आवाजले
घेर्न थाल्छ मलाई
र, बस्दाबस्दै म अर्कै संसारमा उँघ्न थाल्छु

जब कुनै आमाले बोक्रा निकालेर
चना, मम्फली वा केराउका दाना
राखिदिन्छन् कलिला हत्केलाहरूमा
मेरा हातहरू आफ्नै ठाउँमा
थर्थराउन थाल्छन्

आमाले ताछ्नुभयो हरेक वस्तुका बोक्रा मेरा लागि
शरीर, मन, आगो र पानीसम्मकै बोक्रा छोडाउनुभयो
र, मलाई कहिल्यै दिनुभएन भोकै सुत्न

मैले धरतीमाथि लेखेको छु कविता
जूनलाई बनाएको छु गिटार
समुद्रलाई सिंहजसरी उभ्याइदिएको छु आकाशको पिँजडामा
सूर्यका विषयमा कुनै पनि बेला लेख्न सक्छु कविता
म आमाका बारेमा सक्तिनँ लेख्न कविता !

जहाँ थोरै सूर्योदय हुने छ

पानीको रूखमा जब
बास बस्ने छन् आगोका चराहरू
तिनको चिरबिरको अनन्तमा
थोरै स्थान हुने छ जहाँ म मर्छु

म मरेकै ठाउँमा उम्रिने छ आगोको वृक्ष
त्यसलाई घर बनाउने छन् आगोकै पन्छीहरूले
चराहरूको तिर्खाको आकाशमा
जहाँ थोरै सूर्योदय हुने छ
त्यहाँ छायाबिनाको एउटा श्वेत शरीर
मेरो ठेगाना सोधिरहेको भेटिने छ ।

kavitakosh.org तथा ‘प्रतिनिधि कविताएं’ बाट
परिचय साभारः विभिन्न हिन्दी वेबसाइटहरूबाट 
अनुवादः निमेष निखिल

गजलकार अजर फुयाँलको गजल

पाउने आशभन्दा पनि गुमाउने डर चल्छ
भगवान्‌को पनि खुसीमा बढी नजर चल्छ ।

हिरा पाई कोइला बिर्सियो भने पाप लाग्ला
जवानी हुँदा त सुन्दरता पनि भयङ्कर चल्छ ।

मेरो गाउँमा दौरा सुरुवाल चोलीको सान बेग्लै
तिम्रो सहरमा अर्ध देह अनि नाङ्गो फिगर चल्छ ।

विश्वासले धोका खान्छ तर पेट भरिन त देऊ
बरु निस्वार्थ नामको त्यो प्रेमलाई जहर चल्छ ।

जीवन दाउमा राखी पैसा कमाएर पढाउँदा
बल्ल श्रीमती चल्छ अनि मात्र घरबार चल्छ ।

अजर फुयाँल, मकवानपुर