दुराडाँडा, लमजुङमा जन्मिनुभएका कवि प्रज्ज्वल अधिकारी हालः कीर्तिपुर, काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । अङ्ग्रेजी विषयमा एमए गर्नुभएका उहाँ कविता, गीत र गजलमा कलम चलाउँदै आउनुभएको छ । उहाँ विमर्श युवा प्रतिष्ठान नेपाल र स्रष्टालयमा आबद्ध रहँदै आउनुभएको छ । उहाँ शताब्दी साहित्य प्रतिष्ठान सम्मान, गोदावरी साहित्य सम्मान, अर्थ आवर विश्व कविता महोत्सव द्वितीय, राष्ट्रिय कविता महोत्सव प्रथम, ओलम्पिया पोयट्री स्ल्याम विजेता, राष्ट्रिय कविता महोत्सव प्रज्ञा तृतीय, द्वितीय, अन्नपूर्ण एफएम राष्ट्रिय कविता प्रतियोगिता प्रथम, अनेसास कविता प्रतियोगिता तृतीयबाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ । उहाँका छकालै संयुक्त कथा सङ्ग्रह, अक्षरहरूको सगरमाथा संयुक्त कविता सङ्ग्रह, स्वच्छन्द सुसेली भाग १ र २ संयुक्त कविता सङ्ग्रह प्रकाशित भएका छन् । यसका साथै उहाँका हालसम्म ५ वटा गीतहरू पनि रेकर्ड भएका छन् । – सम्पादक
लेखिएका कविताहरू पढिएनन् या
पढेर पनि बुझिएन
वा बुझेर पनि नबुझे झैँ गरियो ?
कि मेरो देश–जन्मजातै स्वाधीन देश हो !
अब तिमी फेरि
यति ठुलो व्यङ्ग्य लेख्न उक्साइरहेछौ
उहिल्यै लेखिसकिएका
वैरीका सामु कहिल्लै घुँडा टेकेनौँ कविता
घुँडा टेक्दै अब फेरि लेख्नु ?
आफ्नैले आफ्नैलाई अरुका सामु
घुँडा टेकाइरहेको समयमा यो वाक्यले अर्थ राख्छ ?
विश्वको जुनसुकै कुनामा जन्मिएको कविले
महिला मुक्तिको कविता लेखिसकेको छ भने
त्यो कविताको भाव विश्वव्यापी हो
तिमीलाई तिम्रै भाषामा लेखेर बुझाउन खोज्नु मूर्खता हो
बालश्रम, बलात्कार, सीमा मिचेका कविता
बच्चा कुनै रेस्टुरेन्टमा भाँडा माझ्दै गरेको भेटिएपछि
कुनै चेली जङ्गलमा लुटिएको भेटिएपछि
शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रको सीमा मिचेपछि
तिमी फेरि यिनै विषयमा कविता लेख्न उक्साउँछौ
नयाँ कविता, नयाँ शिल्प, नयाँ बिम्ब, प्रतीक भनेर
दर्शकतिरबाट, समालोचकबाट आउने आवाज
म छक्क पर्छु
जब लेख्न बस्छु कविता
आँखै अगाडि आउँछ–
उस्तै व्वयस्था, उस्तै कार्यप्रणाली,
उही नेता, उस्तै जनता
उही आन्दोलन, उही नारा
वाक्क हुन्छु म
र, तिनै पुराना बिम्बलाई
कहिले अगाडि कहिले पछाडि राखेर
उही रक्सीलाई नयाँ बोतलमा हालिदिन्छु
माथिको वाक्य पनि त क्लिसे हो
दाइजोको निहुँमा लेखिएको– एउटै कविता
छाउपडी विरुद्ध लेखिएको– एउटै वाक्य
श्रमिकको बारेमा लेखिएको– एउटै हरफ
यदि तिमी मान्छे हौ भने पर्याप्त हुन्छ
तर तिमी मलाई यिनै भावमा कविता लेख्न
बुहारी जलाउँछौ, छोरी मार्छौ, श्रमिक पिट्छौ
बमले उडेको बच्चाको दिमाग
–सिरियाको होस् या युक्रेनको
घरबारविहीन भएर लखेटिएका
–भुटानी हुन् या रोहिङ्ग्या
बमले खरानी बनाएको
–हिरोसिमा होस् या नागासाकी
अब अरु यस्ता घटना नघट्न यिनै घटना काफी छैनन् ?
रगतको आहलले तिर्खा मेट्दैन
युद्धको धुवाँमा पानीका कण हुँदैनन्
यी र यस्ता सयौँ वाक्य कयौँ पटक लेखिसकिए
मलाई केही नयाँ लेख्न देऊ
तिमी मलाई केही फरक परिवेश देऊ
म तिमीलाई नयाँ कविता दिन्छु ।
प्रज्वल अधिकारी, लमजुङ