Home Blog Page 17

कवि निमेष र उनको ‘शोकगीतको पोस्टमार्टम’

रमेश मोहन अधिकारी

नियात्राकार

२२ साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन

१. विषय कवि निमेष निखिलको तेस्रो कविता सङ्ग्रह हो ‘शोकगीतको पोस्टमार्टम’ ।
उनको यस अघि प्रकाशित ‘मनहरूको परिसर’ छोटा कविताहरूको सङ्ग्रह हो भने ‘उमेरको नदी’ लामा कविताहरूको । माघ २०७१ मा प्रकाशित ‘शोकगीतको पोस्टमार्टम’ भने अगिल्ला दुई कृतिहरूभन्दा अलि पृथक् छ ।
उनी यस कविता सङ्ग्रहमा पनि अन्य सङ्ग्रहमा झैँ राष्ट्रियताप्रति चिन्तित छन् । मानिसका कुण्ठाहरू प्रकट गर्न नपाइएको तिक्तताको अभिव्यक्ति गर्ने कवि हाम्रो देशका बासिन्दाहरूमा दलीय, जातीय, साम्प्रदायिक तथा विविध प्रकारका द्वन्द्वले सिर्जना गरेको आतङ्क तथा सन्त्रास आफ्ना कवितामा व्यक्त गर्दछन् । आम नागरिकका असन्तुष्टि कवितामा व्यक्त गर्दै भोका, नाङ्गा, चेलीहरू तथा सम्पन्नहरूका विविध प्रकारका सपनाहरू पुरा हुन नसकेकामा चिन्ता प्रकट गर्दछन् ।

सर्वत्र अँध्यारो भविष्य रहेको अभिव्यक्ति गर्ने उनी देशमा उज्यालो ल्याउन नसकेकामा आफैँप्रति समेत असन्तुष्ट छन् र निराश नागरिकहरूमा आशावाद स्थापना गर्ने कल्पना गर्दछन् :
देश, जहाँ बिसाएर सबै सबै वेदनाहरू
मान्छे निद्र्वन्द्व ‘मान्छे’ बाँच्न सकून्
फुकालेर आदिम पीडाको कालो आवरण
एउटा सिङ्गो हिमाल हाँस्न सकून् बिम्ब: एउटा देशको, पृ. ३१

मिहिनेतले देश उठाउनु पर्छ भन्ने सोचाइ राख्ने कवि निमेष कवितामा सामान्य नागरिकका समस्याप्रति चिन्तित पाइन्छन् ।

२. विचार

पहाडी ग्राम्य जीवन तथा सुन्दरताको स्मरण र व्याख्यान गर्न रुचाउने कवि निमेषका कविताहरू निराशावादी पनि छन् । उनी नेपालीहरू पीडामा परेको तथा चिन्तित रहनु परेको देख्न चाहँदैनन् । त्यसैले उनले शोकगीतको पोस्टमार्टममा लेखेका छन् :
अब गर्नु छ -यी सबै शोकगीतको पोस्टमार्टम
र निकाल्नु छ पीडाका कीटाणु जिन्दगीका चेपहरूबाट
खोज्नु छ नयाँ समयका लागि नयाँ नयाँ भाकाहरू
गीत त फेरि पनि हामीले गाउनै छ शोकगीतको पोस्टमार्टम, पृ. ५३

प्रेमको अस्तित्व स्विकार्ने यी कवि सम्पूर्ण बेथितिहरूको अन्त्यको चाहना गर्दछन्, सुखको संसारमा रमाउने अभीप्सा राख्तछन्, सम्पूर्ण नेपाली बिच सद्भाव र आत्मीयता कायम रहोस् भन्ने चाहना राख्तछन् । कविको सचेतता कवितामा यसरी व्यक्त भएको छ :
आँखामा आगो नभएको भए
म पनि निदाउँथेँ होला-सपनाहरू सिरानी हालेर
निदाउँथेँ होला-ओढेर लामो समय चुपचाप चुपचाप अनिद्रा, पृ.१०

राष्ट्रियताप्रति सचेत यी कवि आफ्नो देश सही बाटामा हिँड्न नसकेकामा, देशको सुरक्षा स्थितिप्रति तथा नेपालीहरूका बिदेसिने प्रवृत्तिप्रति चिन्तित पाइन्छन् र पनि भोक, रोग र शोकहरूमा विजय प्राप्त गर्ने कल्पना गर्दछन् । जीवनवादी यी कवि मूलतः आशावादी छन् :
समृद्धिको जून फुलेको आकाशमा
आशाका तारा टिल्पिलाएको परिदृश्य हेर्न
अझै आतुर छन् मान्छे आँखा एउटा आकाशको खोजी, पृ.४३

मानिसको आदिमकालदेखिको सुखको अभीप्सा पुरा हुन सकेको छैन । आजको मानिसले यसो गरे पनि सुख पाएको छैन, उसो गरे पनि सुख पाएको छैन । यस्ता कुराहरूले कविलाई निराशातर्फ डोर्याउँछ । राष्ट्रिय विसङ्गति र विडम्बनाहरूबाट मुक्तिको चाह राख्ने यी कवि मान्छेका हर प्रयास असफल भएपछि बाध्य भएर विद्रोही बन्छ भन्ने धारणा राख्तछन् र संयमित हुन खोज्दाखोज्दै कवि आक्रोसमा समेत आउँछन् :
ए राज्य !
भन् कहिलेसम्म उभिरहन्छस् ?
हाम्रा सपनाको विपक्षमा
कवि त्यागको बदलामा सुन्दर जीवन प्राप्त हुन नसकेको अभिव्यक्ति गर्दछन्, सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्न नदिनेतर्फ सजग छन् । कविको आफ्नो देशका सारा विसङ्गतिहरू तोड्ने सङ्कल्प ज्यूँका त्यूँ छ । यसप्रति उनी दृढ छन् र लक्ष्योन्मुख पनि –
जितेरै छोड्छु दुखहरूलाई एक दिन
पराजित गरेरै छोड्छु आँसुहरूलाई एक दिन
म त यसै भनेर हिँडेको छु आजसम्म
एउटा प्रश्न, पृ. ६७
कवि मुर्दा शान्तिप्रति असहमत छन् ।

रूढिवाद विरोधी मानसिकताका यी कवि नास्तिक लाग्दछन् ।

चाकडीवादप्रति असन्तुष्ट यी कवि अत्याचारप्रति विमति राख्तछन् ।

कविता आफैँभित्र हुने धारणा राख्ने यी कवि हार्दिक मानवीय सम्बन्धको अपेक्षा राखे पनि प्राकृतिक सौन्दर्यका मात्र कविता नलेख्ने धारणा व्यक्त गर्दछन् । भावनात्मक कविता मात्र लेख्न नसकिने धारणा राख्ने यी कवि कवितामा सामाजिक यथार्थ ब्यक्तिनुपर्छ भन्ने धारणा राख्तछन् । पीडामा कविता लेख्न कठिन हुने धारणा राखे पनि पीडाका कविता मात्र यथार्थ कविता हुन् भन्ने धारणा व्यक्त गर्दछन् ।
सम्पूर्ण विसङ्गति तथा विडम्बनाहरूको पूर्ण समाप्तिको कामना गर्ने यी कवि प्रतिकूलतामा बिब्ल्याँटाहरू नै बढ्न सक्ने धारणा व्यक्त गर्दछन् । विचारहरूलाई निषेध गरेमा विद्रोह हुने धारणा राख्ने यी कवि आमूल परिवर्तनकारी हुन् । त्यही भएर समाजलाई बदल्न खोज्ने यी कविमा प्रमिथसीय चिन्तन पनि देखिन्छ ः
खोसेर हावाबाट जीवनको सुवास
पानीबाट जीवनको लय र ताल
लुटेर हिमालबाट मान्छेका मुस्कान
म मान्छेसम्मै फर्काउने अभियानमा लागेको छु यात्रामा, पृ. ७७

३. व्यङ्ग्य

कविता लेख्नु भनेको भावनाहरूको सुललित प्रकटन हो भने विसङ्गत पक्षहरूप्रति प्रहार गर्नु पनि हो । वर्तमानका सशक्त कवि निमेषले पनि आपूmलाई यसबाट अलग्ग राखेका छैनन् । यसै क्रममा उनले मानिसका आडम्बरी प्रवृत्ति, आजका मान्छेको नकच्चरोपन तथा विसङ्गतिहरू बोकिरहनु पर्ने आजका मानिसको विवशताप्रति व्यङ्ग्य गरेका छन् । यसै गरी संवेदनहीनताको पराकाष्ठा, मानवताको उपहास, अत्याचार सहेर बस्ने नेपाली प्रवृत्ति, मानिसको लक्ष्यहीनता, आजका मानिसमा आएकोे वैचारिक विचलन, विचारहीनता, चिन्तनहीनता तथा गैरजिम्मेवारीपन तथा घाती वर्तमानप्रति व्यङ्ग्य गरेका छन् ।
चुनावहरूले देशको मुहार फेर्न नसकेको यथार्थप्रति तीक्ष्ण व्यङ्ग्य गर्ने उनले चुनाव जितेर जाने नेताको गैरजिम्मेवारीपन, राजनीतिज्ञहरूले कविताको मर्मबोध गर्न नसकेका कुरा, बन्द गर्ने प्रवृत्तिप्रति, द्वन्द्वकालीन विसङ्गतिहरूप्रति तथा शब्दहरूको दुरुपयोग गरिएकामा तीक्ष्ण व्यङ्ग्य गरेका छन् ।

४. कोमलता

कवि निमेषका कतिपय कविताहरू सरल छन् र ती कोमल पनि :
१. समय यस्तो होस्
बाटोभरि हाँसून् सद्भावका फूलहरू
र चलिरहोस् सुगन्धको शान्त बतास
मनहरूको वायुमण्डलभरि समय यस्तो होस्, पृ. १५

२. आज लाग्दै छ
सायद पानीको रङ
तिम्रो र मेरो सम्बन्धको रङ जस्तै हुन्छ

सम्बन्ध जसको कुनै नाम छैन
पानी जसको कुनै रङ छैन पानीको रङ, पृ. ६९

५. शैली

कवि निमेष गद्य कविता लेख्छन् र पनि उनका कवितामा पद्यताको आभाष पाइन्छ । शैली विज्ञानको शब्दमा समानान्तरता भनी चिनिइने यो शैली निमेषका कविताको वैशिष्ट्य हो :
दुखका जुलुसहरू आइरहेछन् मौनता ओढेर
दुखका जुलुसहरू गइरहेछन् मौनता ओढेर । अँध्यारोका विरुद्ध, पृ. ३३

निमेष कविताका कुशल शिल्पी हुन् । तसर्थ उनका कविताहरूमा बिम्बहरूको सुन्दर प्रयोग पाइन्छ र विचलन पनि । उनका कवितामा पाइने विचलनहरू अज्ञानतावश आएका छैनन् । ती त कवितामा सुन्दर बान्की थप्न प्रस्तुत भएका छन् :
अभाव निदाएका उदास मझेरीहरूमा
उमार्नृ छ बिम्बहरू सम्पन्नताका
अनि थमाउनु छ-
भर्भराउँदो निख्खर सूर्य उज्यालोका नाममा
विजय यात्रामा निस्केका हत्केलाहरूमा बिम्ब एउटा देशको, पृ. ३१

कवि निमेष प्रयोगमा रुचि राख्छन् र त उनले फुटकर कविताका साथै लामा कविताहरू लेखेका छन् । उनी कवितामा झर्रा र तत्सम शब्दहरू नै प्रयोग गर्दछन् र पनि आगन्तुक शब्दहरूको प्रयोग पनि मज्जैले गरेका छन् ः टिक मार्क, मर्निङ वाक, मोबाइल, अलार्म, फोन कल, मर्निङ वाक, टिन एज, बेकरी, आइटम, साइकल, म्याजिक भ्यान, सेलिब्रेटी, प्mयान, लाइन, फ्रेस, मुड, मस्जिद, मौलबी, चर्च, पादरी, साबिक, अफिस, क्वार्टर, ह्याक, जिनिस, अरेबियन, प्लास्टिक, मोनोटोनस, ट्वाइलेट पेपर, क्यानभास आदि ।
उनका कविताहरूमा प्रतीकात्मकता, समस्तीकरण तथा निबन्धमा काव्यात्मकता पाइन्छ । उनका सबै कविताहरू न ‘पानीको रङ’ जस्ता सुन्दर छन् न ‘माछा बेच्ने दाइ’ जस्तै ठिकठिकै खालका ।
आलस्त, सिकन्जा, उकेर्दै, नियोन, बुर्की जस्ता अप्रसिद्ध शब्दहरू प्रयोग गर्ने निमेषका कविताहरूमा ‘म हराएको सूचना’, ‘आगो टेकेर’ जस्ता असम्प्रेष्य कविताहरू पनि छन् । यस्तै वितग, बनेरे, ओच्छन, धरालत जस्ता मुद्रा राक्षसीय त्रुटिहरू पनि पाइन्छन् ।

६. निष्कर्ष
कवि निमेष निखिल वर्तमानका सशक्त कवि हुन् । उनले जुन विधामा कलम चलाए पनि सशक्त रूपमै प्रस्तुत भएका छन् । निमेषले कथा वा लघुकथा लेखे पनि, छोटा वा लामा कविता लेखे पनि समीक्षा वा समालेचना लेखे पनि स्तरीय नै लेखेका छन् । उनी धेरथोर अन्य विधामा समेत छरिन खोजे पनि परिमाण तथा स्तर दुवै दृष्टिले कविता विधामै अब्बल ठहरिने छन् ।

पुस्तक समीक्षा
कवि निमेष र उनको ‘शोकगीतको पोस्टमार्टम’
-रमेशमोहन अधिकारी
हेटौडा, मकवानपुर

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

भवानी तिमल्सिना न्यौपानेका तीन मुक्तकहरु

२१ साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन

जिन्दगीमा दु:खमात्र न हुन्छ न स्वीकार्य हुन्छ
हराभरा बाग हुन प्रेमिल सिञ्चन अपरिहार्य हुन्छ
कुमालेको चक्र जस्तै घुम्छ यो संसार धैर्य गर्नुस्
आज अँधेरी रात भए भोली प्रभात अनिवार्य हुन्छ

फाँड्यो, काट्यो ,जलायो ,झाङ्गिएर आउँछन्
आशा राख्यो सिधा हुने बाङ्गिएर आउँछन्
जस्ले जति लाजको भाँडो ढाकिदिए पनि
जति ढाक्यो उति बढि नाङ्गिएर आउँछन्

मुटु भित्र गड्यो माया खास बनेर
जति दूर गयो उति पास बनेर
हुन थाल्छ चाह जब तिम्रो स्पर्षको
उसैबेला आइ चुम्छौ बतास बनेर

तीन मुक्तकहरु
भवानी तिमल्सिना न्यौपाने
हेटौडा, मकवानपुर

कविता: स्वतन्त्र उडान / -रोशनी चौलागाईँ

रोशनी चौलागाई

कवि

तय गर्दै पृथक् गन्तव्य
समेटेर आँसु सार्दै समयका कदम
बढ्दै छन् अघि
आफ्नै जिन्दगीको धराले

धरतीका निर्वस्त्र ताराहरू
पहिरँदै वस्त्रको एक झलक
छोपिरहेछन् लाज
दुखका अनुहारले
भर्न नसकेर
उडानको चोटिलो प्रहार : आकाशमा
मौनताको भुमरीमा बेरिएका ताराहरु
धुलिंदै छन्
सङ्कुचित आशाका सुरुङहरुमा!

पहराबाट पिपल निस्किएझैँ
म्याग्मा निस्किएझैँ ज्वालामुखी विस्फोटनले
तिमी निस्किनू उडान भर्न
निर्धक्क पखेटा फिँजाई,
निरन्तर उचाइतर्फ!
तारा झर्दैमा आकाश रित्तिने भए,
याचनामा मागेको पुग्ने भए
आकाश यसरी खाली हुन्थ्यो होला
अनि
बगर यसरी ढुङ्गाहरूले भरीन्नथ्यो होला
मेरी आमाका सारा इच्छामा
पूर्णताको नयाँ कदममा
कति ठेस लाग्थ्यो होला!
तिमी त झर्‍यौ,
बलेर केही क्षणमै सक्कियौ,

बिलायौ यसरी
जसरी बिलाउँछ पानीमा चिनी
तर तिमीसँगसँगै मेरा साहस झरेनन्,
आत्मविश्वास झरेनन्
मेरो हृदयमा
गडिएका अडिगताका खम्बा ढलेनन्
तिमीसँगै प्रकाशघर सक्किने भए
समुद्री लहरमा जीवनको गति चल्ने थिएन
सूर्य डुब्ने बित्तिकै
आकाशमा अस्तित्वको निशानी चम्किने थिएन
थियो त केवल दागिलो चन्द्रमाझैँ
पूर्णिामाको रात अपूर्व आभा छर्दै
किस्ता किस्तामा जिन्दगी पलाउने थियो

कोइलाखानीमा पुरिएर
कहाँ हराएको छ हिराको अस्तित्व
हिलोमा भिजेर
कहाँ घटेको छ र कमलको सुन्दरता
तिम्रा अवषेशहरु
आकाशमै उल्का बनेर चम्कनु
तर ओइलिएर झरेको पटक्कै सुहाउँदैन!
धर्तीको दुखमा अनुहार नलुकाउनू तिमी
अँध्यारोमै बिलाई जान सक्छौ
चिसो तुसारोमा जमेर प्रकाश गुमाउन सक्छौ
छानो चुहिदो छ ओजोनको,
बरु लाभा जस्तै पग्लिएर जान सक्छौ !

स्वतन्त्र उडान
रोशनी चौलागाईँ
हेटौँडा, मकवानपुर

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार- २०८० का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक

२१ साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन

कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० का लागि १० वटा किताबको उत्कृष्ट सूची सार्वजनिक गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिनुभएको छ ।

उत्कृष्ट १० मा विष्णु सापकोटाको `अडिएका पाइला´ उपन्यास, कृष्ण गौतमको `अद्वैत´ उपन्यास, रमेश सायनको `अन्तर´ उपन्यास, सानु शर्माको `अर्को देशमा´ कथासङ्ग्रह, विश्व कुइँकेलको `गोपिचा´ उपन्यास, जीवन जीवन्तको `चरैवेति´ उपन्यास, भक्त स्याङ्तानको `डम्फुको आत्मालाप´ कथासङ्ग्रह, खेम बतासको `बुढीपोल्ली´ कथासङ्ग्रह, गोविन्दप्रसाद कुसुमको `भृकुटी´ उपन्यास र रोशन थापा निरबको `सन्त्रासका साठी दिन´ उपन्यास रहेका छन् ।

आइतबार सार्वजनिक गरेको बिज्ञप्तिमा भनिएको छ – `कविडाँडा साहित्य समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरू मध्ये एउटा कृतिलाई प्रदान गर्दै आएको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार- २०८० का लागि निर्णायक मण्डलको सिफारिसका आधारमा १० वटा उत्कृष्ट आख्यान कृतिको सूची वर्णानुक्रमका आधारमा प्रकाशित गरिएको छ । यी कृतिहरूमध्ये दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको सूची प्रकाशित गरिनेछ । ती मध्येबाट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार अर्पण गरिनेछ ।´

पुरस्कृत आख्यानलाई आगामी कात्तिकमा चितवनमा कार्यक्रम आयोजना गरी सम्मान गरिने अध्यक्ष एलबी क्षेत्रीले बताउनुभएको छ । पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ रहेको छ । २०७५ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक महेश थापाको `मरिचिका´ कथासङ्ग्रहलाई दिइएको थियो । त्यसपछि २०७६ सालमा श्याम शाहको `पथेर´ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको `परित्यक्ता´ उपन्यास, २०७८ सालमा लोकराज भट्टको `छाइल´ उपन्यास र २०७९ सालमा देवीप्रसाद सुवेदीको `मनु´ उपन्यासले प्राप्त गरेका थिए ।

३ कविताहरु / -बिष्णु पादुका

२१ साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन

तर्क / घमण्ड

तपाईंको
तर्क घमण्ड जस्तो
यति बलियो पनि नहोस्
मानौं म यस ब्रह्माण्डको सर्वश्रेष्ठ हुँ
मानौं यो धर्ती बाहेक
संसारमा बुद्धिमान प्राणी भएको अर्को ग्रह नहोस् ।

व्रत
मान्छे मारेर
आएको अपराधीले
मृतकको स्मृतिमा मौन धारण गरेको
यी आँखाले हेर्न कहिल्यै मानेनन् ।

थोक !
सबथोक छ मसँग
शव थोक भएको छ
अब खुद्रामा के भेटाउनु र
जो कसैले ।

-बिष्णु पादुका

चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता – २०८१

नवसाहित्य डटकम

संवाददाता

२१ साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन
साहित्यकार एवम् पहिलो राष्ट्रगानका रचयिता स्व. चक्रपाणि चालिसेको नाममा स्थापित चक्रपाणि स्मारक प्रतिष्ठानले राष्ट्रव्यापी खुल्ला आधुनिक कथा प्रतियोगिता-२०८१ गर्ने भएको छ । यस प्रतियोगिताको प्रथम विजेताले रु. ३० हजार पुरस्कार प्राप्त गर्नेछन् भने क्रमशः द्वितीयले २० हजार र तृतीयले १० हजार रकम पुरस्कार स्वरूप प्राप्त गर्नेछन् भने चुनिएका २० वटा कथाको पुस्तक प्रकाशन गरिनेछ । प्रतियोगितमा यसभन्दा अघि छापा, डिजिटल वा कुनै पनि माध्यमबाट अप्राकाशित कम्तिमा १५०० देखि बढिमा ५००० सम्म शब्दसिमाभित्र लेखिएका कथालाई देशैभरिबाट ईच्छुक कथाकारले सहभागिताको लागि पठाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव राम गोपाल ‘आशुतोष’ले नवसाहित्यलाई जानकारी दिनुभयो । नेपाली कथा र लेखनशिल्पलाई पछिल्ला पुस्ता एवम् जनमानसमा पुर्याई राम्रा कथाकार जन्माउन यस प्रतियोगिताले थोरैभए पनि भुमिका खेल्ने प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले बताउनुभयो ।

प्रतियोगिताका लागि सर्त तथा नियम

  • कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।अन्य भाषामा लेखिएका अप्रकाशित मौलिक कथालाई नेपालीमा अनुवाद गरी पठाउन सकिनेछ । अनुवाद लेखक आफैँले गर्नुपर्नेछ ।
  • निर्णय प्रक्रियामा कथाको भाषिक शुद्धतालाई पनि महत्व दिइनेछ ।प्रतियोगिताका लागि पठाइएको कतै वा कुनै माध्यमबाट अप्रकाशित वा अप्रसारित हुनुपर्ने छ ।
  • प्रतियोगिताको नतिजा सार्वजनिक नहुञ्जेल पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
  • छनोटमा परेका कथा कुनैपनि छापा वा विद्युतीय माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
  • ‘चक्रपाणि कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न ‘चक्रपाणि’ स्मारक प्रतिष्ठानको पूर्वस्वीकृति अनिवार्य छ ।
  • कथा कम्तीमा १५०० शब्द र बढीमा ५००० शब्दसम्मको हुनुपर्नेछ ।
  • प्रतियोगीले कथासँगै आफ्नो पूरा परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
  • प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘चक्रपाणि’ स्मारक प्रतिष्ठानले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।
  • यस प्रतियोगितामा आयोजक समिति र कार्यसमिति सदस्यका कुनै पनि परिवारजन सामेल हुन पाइने छैन ।
  • समयसीमाभित्र प्राप्त कथा मात्र प्रतियोगितामा सामेल गराइने छ ।
  • अन्य ठेगानाबाट प्राप्त कथा मान्य हुनेछैन ।

प्रथम, द्वितीय र तृतीय हुने कथाकारले क्रमशः रु. ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुहुनेछ ।

कथा पठाउनका लागि इमेल–
chakrapanichalise1940@gmail.com
सम्पर्क : ९८४१३५८१३४ अध्यक्ष, ९८५१११४५७५ सदस्य सचिव
कथा आइपुग्नुपर्ने अन्तिम मितिः २०८१ भाद्र २० गते विहीबार 
आयोजक : चक्रपाणि स्मारक प्रतिष्ठान, बानेश्वर, काठमाडौँ

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता : शङ्का / -पुरूषोत्तम आचार्य

२१ साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन

आँखा छ हेर्ने तर देख्नु छैन
कानै छ सुन्ने तर सुन्नु छैन
जिभ्रो छ बोल्ने तर मौन बस्छ
मान्छे कसोरी अब ऊ रहन्छ ?

शङ्का
पुरूषोत्तम आचार्य
हेटौंडा, मकवानपुर

कविता: दृष्टि / -नारायण खनाल

आँखा
उनैका हुन्
हिजो -निहारिरहन्थे
समानताको उज्यालो
भुइँमा
बसेर जनतासँगै !

निमग्न
बनेपछि कुर्सीमा
विकृत बनेको छ उनको दृष्टि!

अहिले -उनका आँखाहरु
व्यस्त छन्
दिउँसै बलात्कार गर्न
जनताको आत्मविश्वास !

दृष्टि
नारायण खनाल नीलम् 
अर्घाखाँची

लघुकथा समाजद्वारा पुरस्कार तथा सम्मान घोषणा

२० साउन, मकवानपुर  नवसाहित्य अनलाइन

लघुकथा समाज, नेपालद्वारा प्रदान गरिँदै आएका विविध पुरस्कार सम्मानमध्येपूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान२०८१धनमान लघुकथा पुरस्कार२०८१प्रदान गर्नका लागि दुई जना लघुकथा स्रष्टाको नाम चयन गरिएको छ । 

लघुकथा समाजले विज्ञप्ति सार्वजनिक गर्दै  ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानका लागि हेटौँडाका लघुकथाकार आर.आर. चौलागाईं धनमान लघुकथा पुरस्कारका लागि भक्तपुरका लघुकथाकार श्याम आशा छनोट भएको जानकारी गराएको हो । 

लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको वि.सं. २०६५ माविघटनको तयारीमालघुकथासङ्ग्रह प्रकाशित छ । यसैगरी, श्याम आशा लामो समयदेखि नेपाल भाषामा लघुकथा लेख्दै आउनुभएको छ । उहाँका नेपाल भाषामा वटालघुकथासङ्ग्रह प्रकाशित छन् भने दुई वटा सङ्ग्रह नेपालीमा अनुदित छन् ।

लघुकथा समाजले दुई स्रष्टाको नाम चयन गर्नका लागि समाजका सल्लाहकार वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमकोसंयोजकत्वमा श्रीओम श्रेष्ठरोदन तुलसीहरि कोइराला रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

समितिको सिफारिस अनुसार दुबै स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ । दुबै पुरस्कार तथासम्मानमध्येपूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानभदौ गते १७ औँ लघुकथा दिवसका अवसरमा सर्वनाम नाटक घरमा विशेषसमारोहको आयोजना गरेर प्रदान गरिने भनेधनमान लघुकथा पुरस्कारभदौ गते भक्तपुरमा आयोजना गरिने समारोहमा प्रदानगरिने समाजको विज्ञप्तिमा उल्लेख छ । लघुकथा समाजले भदौ , गते विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउनेजनाएको छ।  

समिर पाख्रिनका तीन मुक्तकहरु

२० साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन

तीन मुक्तक
हे ईश्वर ! तिम्रो शक्तिमाथि, शङ्का लागेको छ
तिम्रो सुरक्षार्थ फलामे गेट हाल्न, चन्दा मागेको छ
देश र जनता ऋणमा, चुर्लुम्म डुबेको बेला तिमीले
सय किलोको जलहरी भिरेदेखि, आस्था फाटेको छ ।
०००
आच्चेई ! व्यस्त चोकैमा पनि, सटर खाली रहेछ
कहाँ हुनु योगा, प्रणायाम, नेतालाई खुसी पार्न ताली रहेछ
बगैँचामा सँधै देख्ने उनलाई, पुष्पप्रेमी भन्ठानेको थिएँ
पछि बुझ्दा उनी, त्यस बगैँचाको माली रहेछ ।
०००
डिग्री त लिएँ जसोतसो, उँभो लाग्न सकिएन
ईश्वरको फोट‍ोफ्रेम बाढीले बगायो, बचाउन सकिएन
नाघ्न सकिनँ अन्धविश्वासको पर्खाल, धेरै अग्लो रहेछ
अनेक कोसिस गर्दा पनि, भ्रमजालबाट बाहिर आउन सकिएन ।

तीन मुक्तक
समिर पाख्रिन
हेटौँडा, मकवानपुर