Home Blog Page 22

निमेष निखिल लोककवि साहित्य सम्मानद्वारा सम्मानित हुनुहुने

श्रावण ३, बिहीबार
नवसाहित्य अनलाइन । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ‘लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान २०८१’ द्वारा सम्मानित हुनुहुने भएको छ । नेपाल भाषा खलः मकवानपुरद्वारा वर्ष २०८१ का लागि निखिललाई सम्मान गरिन लागिएको हो ।

यसअघि सो पुरस्कार दाना कविताका पहिलो सर्जक तुल्सी थापा (हाल स्वर्गीय) लाई प्रदान गरिएको थियो । साथै संस्थाले हरेक वर्ष कविता प्रतियोगिता समेत गर्दै आइरहेकोले यो वर्ष पनि लोककविको ११३औँ जन्मजयन्तिको अवसरमा सो पुरस्कार प्रदान गर्न लागिएको हो । प्रतियोगितामा भने प्रथम १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार र सान्त्वना ३ हजार राशि रहेको आयोजकले जानकारी दिएको छ । श्रावण ५ गते प्रतियोगिताका क्रममा प्रदान गरिने सम्मानका सम्बन्धमा

निखिल लेख्नुहुन्छ-

“मकवानपुरको माटोमा जन्मिएर लोककविको उपाधि प्राप्त गणेशलाल श्रेष्ठको स्मृतिमा स्थापित ‘लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान २०८१’ का लागि मलाई योग्य सम्झने नेपाल भाषा खलः मकवानपुर तथा छनोट समितिप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । मकवानपुरे माटोमा साहित्यको बिउ रोप्ने व्यक्ति तथा यस जिल्लाबाट पहिलो किताब प्रकाशन गर्ने अगुवा व्यक्तित्वको सुनाममा स्थापित तथा यसपूर्व आदरणीय तुल्सी थापा जस्ता विराट् व्यक्तित्वलाई समर्पण गरिएको यो सम्मान पाउनु मेरा लागि गौरवको विषय हो । यस अवसरमा मप्रति शुभभाव व्यक्त गर्नुहुने सबै श्रद्धेय अग्रज, समकालीन साथीहरू एवम् प्रियजनहरूमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु । जिम्मेवारी बढेको अनुभव भएको छ । यहाँहरूको आत्मीयता, प्रेम र विश्वास नै मेरो जीवनको अक्षय कमाइ हो । यसलाई सदैव जोगाइरहन सकुँ ।”

निखिलका ‘मनहरूको परिसर’, ‘उमेरको नदी’ र ‘शोकगीतको पोस्टमार्टम’ गरी कूल ३ कृतिहरू प्रकाशित छन् ।

गणेशलाल श्रेष्ठबारे केही जानकारीः
मकवानपुरको भीमफेदीमा वि.सं. १९६८ मा जन्मिनु भएका श्रेष्ठ कवि, सङ्गीतकार तथा समाजिक अभियानकर्मीको रुपमा परिचित हुनुहुन्थ्यो । नेपाली भाषाका साथसाथै नेपाल (नेवारी) र तामाङ भाषामा समेत साहित्य सिर्जना गर्ने श्रेष्ठका ‘मेरा दुई पुष्पाञ्जली’, निफ्वः स्वाँ, लोकह्वागु म्ये मुना लगायतका गीति सङ्ग्रह प्रकाशनमा रहेका छन् ।

साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा सम्पन्न

हेमजा, २ साउन
नेपालश्री पुरस्कार कोष पोखरा २५ हेमजाको आयोजनामा बुधबार हेमजामा साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्जीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाेल्दै बिखर्चीले त्रिपाठी राष्ट्रवादी कवि,माटाे र प्रकृतिका उपासक एवम् वातावरणीय सवालहरुमा गम्भीर हुने चिन्तकका रुपमा रहेकाे बताए। उनले महाकाव्यकार त्रिपाठी लाई अन्तिम अवस्थामा भएपनि प्रज्ञाप्रतिष्ठानकाे तर्फबाट सम्मान अभिनन्दन गर्न पाएकाे स्मरण गरे।

पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य कृष्णबहादुर कुँवरले महाकाव्यकार तथा साहित्यकार जनार्दनशरण त्रिपाठी जन्मिएको वडाकाे बासिन्दा हुनपाएकाे र साेही वडाकाे वडा सदस्य हुन पाएकाेमा हर्ष प्रकट गरे।अधिवक्ता रामचन्द्र त्रिपाठीले शास्त्रीजीकाे नेपाली साहित्य प्रतिकाे याेगदान बारेदेश विदेशमा समेत चर्चा परिचर्चा हुनुपर्ने बताए । पोखरा महानगरपालिका वडा न. २५ का निवर्तमान अध्यक्ष शोभाकर तिमिल्सिनाले महाकाव्यकार त्रिपाठी शैक्षिक ,साहित्यिक र आध्यात्मिक क्षेत्रका त्रिवेणी भएको बताए ।
यसैगरी उक्त कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठान नेपालका उपाध्यक्ष सुनिल गाक, तिब्रेकोट मणि बिकास समितिका उपाध्यक्ष कृष्णबहादुर कुँवर क्षेत्री, नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी र समाजसेवी माधवशरण बाँस्तोला लगायतले स्व जनार्दनशरण त्रिपाठीको याेगदान कृतित्व र व्यक्तित्व बारे परिचर्चा गरे ।

कार्यक्रममा सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष माधव खतिवडा, कवि शिव त्रिपाठी, बसन्त चालिसे र गौमती त्रिपाठी लगायतले रचना वाचन गरेका थिए ।
सो अवसरमा नेपालश्री पुरस्कार काेषका अध्यक्ष अरुणाेस्तम त्रिपाठीले साहित्यकार जनार्दनशरण त्रिपाठीको जन्मजयन्तीका सन्दर्भमा तिब्रेकोट मणि बिकास समितिलाई १ लाख ५ सय रकम हस्तान्तरण गरेका थिए ।

महाकाव्यकार तथा साहित्यकार जनार्दनशरण त्रिपाठीकाे स्मृतिमा आयाेजित उक्त कार्यक्रम उहाँ लगायत सम्पूर्ण कीर्तिशेष साहित्यकारहरुकाे सम्झनामा एक मिनेट माैन धारण गरिएको उक्त कार्यक्रम नेपालश्री पुरस्कार कोषका अध्यक्ष अरुणस्तोम त्रिपाठीको अध्यक्षतामा सम्पन्न भयाे। कार्यक्रममा स्वागत उपाध्यक्ष डा बाबुराम अधिकारीले र सञ्चालन महासचिव छन्दमणि त्रिपाठीले गरेका थिए ।साथै वडा कार्यालयकाे सभाहलमा भएको व्यापक उपस्थितिले कार्यक्रम भव्य भएको जनाउ दिएकाे थियाे।

पुस्तक चर्चाः केही प्रसिद्ध व्यक्तित्व / -आध्या कोइराला

१ साउन, मकवानपुर
नवसाहित्य अनलाइन ।
मैले पढेको पुस्तकको नाम ‘केही प्रसिद्ध व्यक्तित्व’ हो। यो पुस्तक जयप्रसाद लम्सालले लेख्नुभएको हो। जीवनी विधाको पुस्तक विक्रम सम्वत २०७७ मा कथालय, काठमाडौँबाट प्रकाशित भएको हो। यो पुस्तकको आईएसबीएन नम्बर ९७८ ९९३७ ०८१ रहेको छ। ५२ वटा पृष्ठ सङ्ख्या भएको यस पुस्तकको मूल्य १४५ रहेको छ ।

यस पुस्तकमा लेखकले केही चर्चित व्यक्तित्वहरूको बारेमा लेख्नुभएको छ लेखकले अहिलेसम्म विभिन्न कृतिहरू लेखिसक्नुभएको छ। यस पुस्तकमा विभिन्न देशहरूका नाम चम्काउने त्यस्ता प्रसिद्ध व्यक्तित्वहरूको जीवनीबारे जानकारी दिन खोजिएको छ। यस पुस्तकभित्र अब्राहम लिङ्कन, महात्मा गान्धी, म्याडम क्युरी, लियो टल्सटोय, लक्ष्मीप्रसाद देवकोटा, लियोनार्दो दा भिन्ची, फ्लोरेन्स नाइटिङेल लगायतका अन्य विश्वप्रसिद्ध व्यक्तित्वहरूको जीवनी लेखिएको छ । यस पुस्तकको गातामा यस्ता प्रसिद्ध व्यक्तिहरूको चित्र कोरिएको छ ।

मलाई यो पुस्तक पढ्न एक दिनभरिको समय लाग्यो र यस्ता विश्वप्रसिद्ध व्यक्तिहरूको बारेमा जान्न पाउँदा मलाई असाध्यै खुसी पनि लाग्यो। हामीले सुन्दै आएका तर उहाँहरूको बारेमा सबै जानकारीहरू थाहा नपाएको हुँदा यो पुस्तक पढेर ती प्रसिद्ध व्यक्तित्वहरूको बाल्यकालदेखि मृत्यु अवस्थासम्मका र जीवन बाँचुन्जेल आफ्नो देश र कला भाषा, संस्कृति, साहित्य र समाजसेवाको क्षेत्रमा उहाँहरुले पुर्‍याउनु भएको योगदानको बारेमा थाहा पाउँदा मलाई असाध्यै रमाइलो लाग्यो। खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखानलाई अब्राहम लिङ्कनको जीवनमा सही प्रयोग हुन गएको यो विषयले मलाई प्रेरणा मिलेको छ।

महात्मा गान्धीको सानै उमेरमा बिहे भएको भन्ने प्रसङ्गले पनि अर्को नौलो जानकारी प्राप्त भएको छ। विश्वमै पहिलोपटक रेडियम धातु पत्ता लागेको र सोही बापत विश्वका उत्कृष्ट पुरस्कारहरू हात पारेको भन्ने जानकारी पढिरहँदा म्याडम क्युरीलाई पनि प्रेरणाको स्रोत मैले ठानेको छु। गरिब परिवारमा जन्मेर पनि विद्यार्थीहरूलाई पढाउनका लागि विद्यालय खोल्ने लियो टल्सस्टयको सामाजिक कार्यले मलाई निकै प्रभावित पारेको छ। नेपाली भाषा र साहित्यमा आफ्नो बेग्लै स्थान बनाउन सफल लक्ष्मीप्रसाद देवकोटालाई अंग्रेजी साहित्यका महान साहित्यकार सेक्सपियरसँग तुलना गरेको विषयले पनि मलाई नौलो जानकारी प्राप्त भएको छ। विश्वमै कलाको क्षेत्रमा चमत्कार गर्न सफल लियोनार्दो दाभिन्चीले पहिलोपटक हवाईजहाजको नक्सा कोरेको भन्ने जानकारी पनि मैले प्राप्त गरे।

त्यसैले मलाई विभिन्न विषय र क्षेत्रको बारेमा जानकारी गराउने यो पुस्तक अति नै महत्वपूर्ण लाग्यो।
अन्तमा ज्ञानको खोजीमा हिँडिरहेका सम्पूर्ण साथीहरुलाई यस पुस्तक पढ्न अनुरोध गर्दछु र यति राम्रो ज्ञानवर्धक पुस्तक लेखिदिनुहुने लेखकलाई धन्यवाद दिन चाहन्छु।

आध्या कोइराला
कक्षा ६
बालजागृति अङ्ग्रेजी माध्यमिक विद्यालय

पुस्तक समीक्षा: चट्याङका उटपट्याङ / -दिप्सन गौतम

१ साउन, मकवानपुर 
नवसाहित्य अनलाइन । मणिक रत्न शाक्यद्वारा लिखित चट्याङका उटपट्याङ्ग कथा विधाको पुस्तक हो। यस पुस्तकलाई २०७० सालमा भूँडीपुराण प्रकाशन, बागबजारले प्रकाशनमा ल्याएको हो। पुस्तकमा ७२ पाना सङ्ख्या छन् आईएसबीएन नम्बर ९७८ ९९३७ ६२५ १७ ३ रहेको यस पुस्तकको मूल्य व्यक्तिगत १०० र संस्थागत २०० तोकिएको छ।

मलाई लेखकले लेख्ने तरिका धेरै राम्रो लाग्यो। लेखकले अहिलेसम्म धेरै कृतिहरू लेख्नुभएको छ । जस्तै: झ्याइँकुटी, अर्को झ्याइँकुटी, फुच्चे सिस्नुपानी, सिस्नुपानी उखान आदि । त्यसो त कामना, फित्कौली, सिस्नुपानी हिमालखबर पत्रिका, मधुपर्क लगायतका अन्य धेरै पत्रपत्रिका तथा अनलाइनहरूमा उहाँका विविध रचनाहरू प्रकाशित भएका छन् । उहाँको यो प्रकाशनको हिसाबले पाँचौं कृति हो । यस पुस्तक हास्यव्यङ्ग्य विषयलाई लिएर लेखिएको हो।

हामीले यस पुस्तकमा पढ्नुपर्ने उपशीर्षकहरू २२ वटा रहेका छन्। ती शीर्षकहरूमध्ये रिजालको विशाल बगैँचा, चट्याङ चौतारी, प्रकाशकीय, भन्न मिल्दैन भन्दा, शुभकामना, सञ्चै, विकृतिको थुप्रोमाथि कुप्रो पर्दा लगायत अन्य थुप्रै हास्यव्यङ्ग्यात्मक उपशीर्षकहरूले यस पुस्तकलाई पुस्तकको आकार प्रदान गरेको छ। पुस्तकको आकार सानो र आयताकारको भएपनि यसभित्रका विषयवस्तुले भने पाठकलाई निकै नै मनोरञ्जन प्रदान गर्ने खालको रहेको छ। मलाई यो पुस्तक पढ्न एक दिनभरि लाग्यो पुस्तकमा लेखिएका भाषा वा शब्दहरू उत्तिकै रमाइला र पढ्दै गर्दा निकै नै हँसाउने खालका रहेका छन्।

यस पुस्तकले हामीलाई मानिस कहिल्यै निराश भएर बस्नुहुन्न, मानिसले जीवन जिउन जान्नुपर्दछ अनि जीवन बाँच्न जानियो भने यो रङ्गीन र रमाइलो छ भन्ने कुरालाई दर्शाएको छ। जसरी यस पुस्तकमा चट्याङले विभिन्न उटपट्याङहरु गरेर आफूलाई जीवनभर हँसाएर बाँच्न सफल भएको देखाएको छ, त्यसैले हामी मानिसहरू पनि आफूले गरिरहेको काम प्रति सन्तुष्टि भएर हाँसेर बाँच्न सिक्नुपर्छ भन्ने कुरा यस पुस्तकले सिकाउन खोजेको छ। मलाई यही नै विषयवस्तु पढ्दै गर्दा नै पुस्तक असाध्यै मन परेको हो। यो पुस्तक जुनसुकै तह र जुनसुकै उमेरका मानिसहरूले पनि पढ्न सकिने पुस्तक हो।

दिप्सन गौतम
कक्षा ६
बालजागृति अङ्ग्रेजी माध्यमिक विद्यालय

पुस्तक चर्चाः सारस र पानी / -रसु उप्रेती

१ साउन, मकवानपुर 
नवसाहित्य अनलाइन । मैले पढेको पुस्तकको नाम ‘सारस र पानी’ हो । यो पुस्तकको लेखक कृष्ण शाह यात्री हुन् । यो पुस्तकको विधा कथा हो । यस पुस्तकको प्रकाशन जगदम्बा प्रेसले गरेको हो । पुस्तकको प्रकाशन मिति वि.सं. २०६९ साल रहेको छ । पुस्तक २००० प्रति छापिएका छन् । यस पुस्तक पहिलो संस्करणको रूपमा छापिएको पुस्तक हो । पृष्ठ सङ्ख्या १२ रहेको पुस्तकको आइएसबीएन नं. ९७८९९३७५७४४८८ हो जसको मूल्य जम्मा रु. १२० रहेको छ ।

कृष्ण शाह यात्रीले लेख्नुभएको यस आयाताकारको पुस्तकको मूल विषयवस्तु सारस र पानी रहेको छ । पुस्तकभित्र नौवटा पढ्नुपर्ने विषयवस्तुहरू छन् । शीर्षकहरू कुवा, इनार, खोला, पोखरी, धारा, झरना, सागर, बादल  र पहाड हुन् । पुस्तकभित्र विभिन्न चित्रहरू छन् ।  गातामा बादलसँगै पहाडको बिचमा उभिएको सारसको ठूलो चित्र छ । मलाई यस पुस्तक पढ्न जम्मा १० मिनेटको समय लाग्यो । पुस्तकमा सजिलै पढ्न सकिने नेपाली शब्दकोशका सजिलै बुझ्ने खालका शब्दहरू प्रयोग भएका छन् । कसैले पनि पानी माग्दा दिनुपर्छ भन्ने कुरा यस पुस्तकमा भन्न खोजिएको छ । पुस्तकको अन्तिममा सारसले पानी भेट्टाएको कुरा मलाई सबैभन्दा रमाइलो र महत्वपूर्ण लागेको कुरा हो । पुस्तकका सुन्दर चित्रहरू र यस कथाले दिने सन्देश- अप्ठ्यारो पर्दा अरुलाई सहयोग गर्नुपर्छ भन्ने महत्त्वपूर्ण शिक्षाका कारण मलाई यस पुस्तक मनपरेको हो । पुस्तकमा कतै पनि कमी कमजोरी देखिँदैनन् । त्यसैले सच्याउनुपर्ने कुरा पनि छैनन् । यो पुस्तक मेरै उमेर बराबरका ६ देखि १० वर्षका साथीभाइ तथा भाइबहिनीलाई पढ्ने सुझाव दिन्छु । यो पुस्तक पढेर नयाँ शब्दहरू जान्ने यस्तै अरु पुस्तक पढ्न सजिलो हुने र महत्त्वपूर्ण शिक्षा पाइने जस्ता फाइदाहरू मिल्छन् । यो पुस्तक रमाइलो र महत्वपूर्ण छ त्यसैले सबै विद्यार्थी साथी र भाइबहिनीलाई पढ्न आग्रह गर्छु ।

कक्षा: चार (सन)
बालजागृति इङ्लिस सेकेण्डरी स्कुल, हेटौँडा-२, वासुदेव मार्ग

बालजागृतीका १० सहित ३६ विद्यार्थी र शिक्षकहरू सम्मानित

१ साउन, मकवानपुर 
नवसाहित्य अनलाइन । नेपाली भाषाशिक्षक समिति, मकवानपुरले ३६ विद्यार्थी र १६ शिक्षकहरूलाई सम्मान गरेको छ ।

सोमबार २०८० को एस‌इइमा नेपाली विषयमा सैद्धान्तिकतर्फ ए प्लस (४ जिपी) प्राप्त गर्ने विद्यार्थीहरू सम्मानित भ‌एका हुन् । सम्मानित विद्यार्थीहरूलाई अध्यापन गराउनुहुने शिक्षकहरू राम-सावित्री सम्मान २०८० द्वारा सम्मानित हुनुभ‌एको हो ।

सम्मान कार्यक्रमका क्रममा बालजागृती इङ्लिस सेकेण्डरी स्कुलका सबैभन्दा बढी १० विद्यार्थी सम्मानित भ‌एका छन् । कार्यक्रममा सोलिड्यारिटी इन्टरनेशनल स्कुलका ४, ब्रह्मदिक एकेडेमीका ४, आधुनिक मावि, प्रगति मावि, जिएस निकेतन मावि, नवोदय शिशु सदन र सत्यम जेभियर्सका २/२ विद्यार्थीहरू सम्मानित भ‌एका हुन् । यस्तै भुटनदेवी मावि, सिद्धार्थ मावि, वंशगोपाल मावि, भानु मावि, हेटौँडा एकेडेमी, फेमकोल एकेडेमी, ज्ञानोदय बालबाटिका आवासीय माविका १/१ विद्यार्थी सम्मानित भ‌एका हुन् ।

कार्यक्रममा विद्यार्थीका साथसाथै अध्यापन गराउने शिक्षकहरू समेत सम्मानित भ‌एका छन् । भाषाशिक्षक समितिका अध्यक्ष केशवप्रसाद सञ्जेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति, मकवानपुर प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्य रहेको थियो । शिक्षक तथा व्याकरणकार ध्रुव भुजेलद्वारा सम्मान व्यवस्थापन गरिएको थियो भने समितिका सचिव ज्योति न्यौपानेले कार्यक्रमलाई सहजीकरण गर्नुभ‌एको हो ।

कविता: स्राव /स्वस्तिका दाहाल

१ साउन, मकवानपुर 
नवसाहित्य अनलाइन ।

आज पहिलो दिन
न मनमा उमङ्ग छ
न त कुनै तागत नै
झुन्ड्याइदिएको ढुङ्गा जस्तै कम्मरमा
थकित छ शरीर
गुलेलीको तन्किएको रबर झैँ
तन्किएका छन् आन्द्राहरू
दुखाईमा द्रबित छन् मांसपेशीहरू
तैपनि सुनाउन सक्दिनँ
आफ्नो आर्तरोदन ।।

दुखाइमिटार भएको छ शरीर
र देखाइएको छ अन्तिम बिन्दु
हर महिनाका यी पाँच दिन
उठ्छु , छट्पटिन्छु अनि लतारिन्छु ,

हेर्नेहरू परबाट मुस्कुराउँछन्
म मा खोट देखाउँछन्
म अदक्ष हुँदै होइन काममा
दुखाइले अशक्त हुँ ,

हिजोका अधुरा कामहरू
बोसका गालीहरू
माग्न सक्दिनँ पच्चीस दिनको ओभरटाइम
र आज विवश छु थकानका फाइल पल्टाउन ,

नछुने हुनुभएको हो ?
म सँग छैन उत्तर
मनमा असहजताको बादल मडारेर
फैलाएका सहयोगका हातहरू
के भनेर स्वीकार गरुँ र भनूँ
ह्याब अ ह्याप्पी पिरियड

स्वस्तिका दाहाल
बकैया, मकवानपुर

झरनाको ३०५ औँ साहित्य शृङ्खला अन्तर्गत झरीमा कविता सम्पन्न 

३१ असार, मकवानपुर
नवसाहित्य आनलाइन ।

सोमबार हेटौँडा–५ मा रहेको ठिकठिक खाजा घरमा मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले आफ्नो ३०५ औँ नियमित शृङ्खला अन्तर्गत झरीमा कविता शृङ्खला गरेको छ ।

संस्थाको संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्नुहुदै उहाँले यस संस्थाले हरेक परिस्थितिमा पनि नियमित कार्यक्रम गर्न नछोडेको सम्झनुहुदै यसरी कार्यक्रमहरू हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौला, (झसाप) मकवापुरका निवर्तमान अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, सचिव सुवास सजल, लघुकथा साहित्य चौतारी मकवानपुरका संयोजक किशन पौडेल, कथाकार समिर पाख्रिन, कवि सुबास खनाल,  साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतले रचना वाचन गर्नुभएको थियो ।

(झसाप) मकवापुरले साहित्यिक महोत्सव, काव्य प्रशिक्षण, विभिन्न पुस्तकहरुको परिचर्चादेखि नियमित रुपमा साहित्यिक अर्धबार्षिक पत्रिका झरना प्रकाशनको कामसमेत गर्दै आइरहेको छ ।

(झसाप) मकवापुरका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण (झसाप) मकवापुरका उपाध्यक्ष चिरञ्जीवि लामिछानेले गर्नुभएको थियो ।

नवसर्जक चौतारीको २५ ओैँ मासिक शृङ्खला सम्पन्न

२९ असार, मकवानपुर
नवसाहित्य अनलाइन ।
नवसर्जक साहित्य चौतारी नेपाल,केन्द्रीय समितिको आयोजनामा भर्चुअल माध्यमबाट भानु जयन्तीविशेष कार्यक्रम सम्पन्न भएको छ ।
नवसर्जक मासिक शृङ्खला २५ अन्तर्गत २११ औँ भानु जयन्तीविशेष कविता प्रतियोगिता, रचना वाचन एवम् विमर्श कार्यक्रम गरिएको हो । कार्यक्रम संस्थाकी केन्द्रीय अध्यक्ष प्रसन्ना चौलागाईँको सभाध्यक्षता तथा समालोचक महेश पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पौड्यालले भानुभक्तबाट नयाँ पुस्ताले परोपकारी बन्ने, सङ्घर्षशील तथा सिर्जनशील बन्ने तथा अग्रज स्रष्टाका कृतिको गहन अध्ययन गरी वास्तविक मूल्याङ्कन गर्नुपर्ने विचार राख्दै नवसर्जक साहित्य चौतारी नेपालको स्थापनासँगै बालबालिकाहरूले साहित्यका विविध विधा सिक्ने तथा खारिने अवसर प्राप्त गरेकामा खुसी व्यक्त गर्दै अभियानप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमलाई केन्द्रीय सदस्य रौनक साहले सहजीकरण गर्नु भएको हो । उक्त कार्यक्रममा नवसर्जकहरू परिधि सापकोटा, विद्यादेवी आचार्य, अमिश्का मैनाली, रिया गुप्ता, कुशल अधिकारी, आश्रीया आचार्य, आयुश्री सापकोटा, आरोही खतिवडा, प्रेरक गौतम, रुबस पराजुली, सुरभी सापकोटा, मानश्वी चापागाईँ, रुप्लेसा देवकोटा, अनुसुया खनाल, कृन्शा मैनाली, कृतिका ढकाल गरी १६ जनाको प्रतियोगी रचना वाचन भएको हो ।

जी. एस. निकेतन मावि कक्षा-८ का छात्र प्रेरक गौतम, एसओएस हर्मन स्कुल, काभ्रेकी कक्षा-७ की छात्रा आयुश्री दाहाल र तुलसीमेहर मेमेरियल मावि, हेटौँडा कक्षा-६ की छात्रा अनुसुया खनालका कविताहरू उत्कृष्ट घोषित भएका थिए ।

उत्कृष्ट ३ नवसर्जकलाई बालमैत्री छात्रावास, हेटौँडा-४ ले पुरस्कार प्रायोजन गरेको र उक्त पुरस्कार असार ३० गते किताबघर, हेटौँडाबाट पुरस्कृत गरिने संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा संस्थाका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारी एवम् उपाध्यक्ष कृतिका लौडारी निर्णायकको भूमिकामा रहनु भएको थियो ।

लेखन संस्कृति सँगसँगै पठन संस्कृतिको पनि प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा चौतारीकी वाग्मती प्रदेश सदस्य आकाङ्क्षा (निमिशा) निरौलाले आदिकवि भानुभक्तको ‘प्रश्नोत्तर’ को कृतिसमीक्षा प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय सदस्य रोश्नी चौलागाईँले भानुभक्तको विषयमा रचित कविता वाचन गर्नुभयो भने संस्थाका परिकल्पनाकार/संरक्षक दीपक गौतमले बालकवितासहित संस्थाको परिचय प्रस्तुत गर्नुभयो । सल्लाहकार रमेशमोहन अधिकारीले भानुभक्त तथा चौतारीले कार्यक्रममा विविधतासहित निरन्तरता दिएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । कार्यक्रममा तीन दर्जनबढी नवसर्जकहरूको उपस्थिति रहेको थियो । चौतारीले हरेक महिनाको चौथो शनिबार नियमित मासिक शृङ्खला सञ्चालन गर्दै आएको छ भने हप्ताको दुई दिन शुक्रबार र शनिबार भर्चुअल माध्यमबाट विधाविशेष नवसर्जक कार्यशाला सञ्चालन गर्दै आएको छ ।

भानु प्रतिष्ठान गण्डकीले मनायाे भानु जयन्ती

२९  असार, शनिबार
नवसाहित्य अनलाइन । भानु प्रतिष्ठान ,गण्डकी प्रदेश समितिकाे आयाेजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सहकार्यमा २११ आै भानु जयन्ती समारोह तथा बिशेष कवि गाेष्ठी कार्यक्रम सुसम्पन्न गरिएको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानकाे भानु कक्षमा गरिएकाे उक्त कार्यक्रममा कविहरु शिव त्रिपाठी ,शरण आँसु,लक्ष्मी थापा,संयाेग बस्याल,जिज्ञासु सापकाेटा, प्रेमनारायण ढकाल, रमा खतिवडा, तारानाथ पराजुली,सावित्री गिरी,राेशन तिम्सिना , निकेश गिरी र आर्या त्रिपाठीले हृदयस्पर्शी कविता वाचन गरेका थिए।साथै कवि बसन्त चालिसेले रामायणका केही श्लाेक वाचन गरेका थिए।

उक्त कार्यक्रममा भानुकाे नेपाली साहित्य सम्बन्धि याेगदानकाे परिचर्चा गर्दै डा.तुलसी प्रवासले भानुभक्तले शिक्षाको महत्त्व बुझेर आफ्नो छाेरालाई लेखेकाे पत्रका बारेमा परिचर्चा गरे।

 

यसैगरी कार्यक्रममा मन्तब्य राख्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले भनेँ भानु सम्पूर्ण भाषा,साहित्य र वाङ्मय प्रेमीका लागि प्रेरणापुञ्ज भएको बताए ।

कार्यक्रममा बाेल्दै छन्दनायक माधव वियाेगीले भानुकाे सच्चा सम्मान भनेकाे काव्यसंस्कृतिकाे परिपालना हाे भनेँ।उनले भानु प्रतिष्ठानले भानु जयन्ती मात्र नभै माेती जयन्ती ,लेखनाथ जयन्ती लगायत अन्य कवि साहित्यकारका जयन्ती मनाउन उपयुक्त हुने बताए।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले भानुले तत्कालीन समाजकाे चित्रण गरेर ब्यङ्ग्यात्मक कविता लेखेकाे बारेमा चर्चा गरे।

भानु प्रतिष्ठान ,गण्डकी प्रदेश समितिका संयाेजक छन्दमणि त्रिपाठीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सह संयाेजक डिल कुमारी पाैडेलले सञ्चालन गरेकी थिइन्।