Home Blog Page 85

अमृता लामिछानेकाे दुई मुक्तकहरू

बकैया –५ मकवानपुर निवासी अमृता लामिछाने गजल, कविता र मुक्तक लगायतका बिधामा सक्रिय रहनुभएको छ । उहाँ मुक्तक मञ्च, मकवानपुरको सहसचिव, झरना साहित्यिक परिवार, मकवानपुरको कार्यसमिती सदस्य, तथा सिस्नुपानी, मकवानपुरको कार्यसमिति सदस्यसमेत रहनुभएको छ । – सम्पादक

मुक्तक १

बगाउँछ आँखा माझ आँसु अबिरल बगाउछ
विषय सामान्य होइन र त छलफल बनाउछ
मन बहलाउन अनेक बहना खोजेर बसेकै बेला
दु:खले मेरो सामुन्ने आएर आफ्नै दल बनाउछ ।

मुक्तक २

सपनाका रहरहरु मिलाउदै जानू
बाध्यता र कहरहरु मिलाउदै जानू
दु:ख दिन आउछन अनेक बैरीहरु
दृढ़ हुनु कष्ट प्रहर मिलाउदै जानू ।


अमृता लामिछाने,मकवानपुर

कविता: एक थोपा आकाश

सन्धिखर्क–४, अर्घाखाँचीका स्थायी बासिन्दा असीम सागर हाल लगनखेल, ललितपुरमा बसेर व्यवसायका साथै कविता, गजललगायतका बिधामा सक्रियता जनाइरहनु भएको छ । उहाँका जून पोखिएको रात (गजल संग्रह), अस्तित्वका आवाजहरु(गजल संग्रह), क (कविता संग्रह) प्रकाशित भएका छन् । उहाँ भावतरङ्ग सम्मान, सिक्किम, भारतीय नेपाली गजल सम्मान, डुवर्स, जोगमाया चापागाईं गजल पुरस्कार, खडानन्द मनमाया प्रतिभा सम्मान, हेटौंडा, मानशोभा प्रतिभा पुरस्कार, काठमाडौ, स्रष्टा–साहित्य चौतारी पुरस्कार आदिबाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ ।– सम्पादक

एकाबिहानै छोराले
एक अञ्जुली पानीमा आकाश देखायो
र भन्यो-
बा ! ई हेर्नुस् त
मेरो अञ्जुलीमा पनि अटाउँदो रहेछ

मैले प्रसङ्ग थपें

बाबू !
अञ्जुलीमा मात्र होइन आकाश
ऊ त्यो शीतको थोपालाई हेर त
शान्त बस्न पायो भने शीतको थोपा
त्यही थोपामा ओर्लेर
हरेक बिहान सेल्फी खिच्छ आकाश

नचलाऊ
शान्त बस्न देऊ आकाशलाई

चर्किदै गएको घामको रापले
बाफ बनेर सकिनुअघि
केही गरि खस्यो भने भुँइमा
बीच बाटोमै छाडेर आकाशलाई
माटोमा अलप हुन्छ शीतको थोपा आकाश

सिंगो आकाश समातेको भ्रम
मात्र अञ्जुलीमा पानी रहुञ्जेल हो ।

असीम सागर, अर्घाखाँची

गोली ठोक पोस्टर / आलोक धन्वा

हिन्दीबाट अनुवाद : निमेष निखिल

आलोक धन्वा हिन्दीका क्रान्तिकारी विचारधाराका कवि हुन् । २ जुलाई सन् १९४८ मा बिहार को मुङ्गेरमा उनको जन्म भएक हो । उनका गोली दागो पोस्टर, जनता का आदमी, कपड़े के जूते तथा ब्रूनों की बेटिया जस्ता कविताहरू बहुचर्चित छन् । ‘दुनिया रोज बनती है’ उनको प्रसिद्ध कविता सङ्ग्रह हो । पहल सम्मान, नार्गाजुन सम्मान, फिराक गोरखपुरी सम्मान, गिरिजा कुमार माथुर सम्मान र भवानी प्रसाद मिश्र सम्मान सहित अनेक सम्मानद्वारा सम्मानित आलोक धन्वा आम मान्छेका कविता लेख्ने कवि हुन् ।

यो उन्नाईस सय बहत्तरको बिस अप्रिल हो कि
अथवा कुनै गुप्तचरको छालाको पन्जा
कुनै व्यावसायिक हत्याराको दाहिने हात
वा कुनै आक्रमणकारीको दुरबिनमा लागेको दाग हो
जेसुकै होस्- म यसलाई मात्र एउटा दिन मान्न सक्दिनँ !

जहाँ लेख्दै छु म
यो निकै पुरानो ठाउँ हो
जहाँ आज पनि शब्दभन्दा धेरै
सुर्तीको प्रयोग गरिन्छ

यहाँ आकाश एउटा सुँगुरको उचाइ बराबर छ
यहाँ जिब्रोको प्रयोग सबैभन्दा थोरै भइरहेछ
यहाँ आँखाको प्रयोग सबैभन्दा थोरै भइरहेछ
यहाँ कानको प्रयोग सबैभन्दा थोरै भइरहेछ
यहाँ नाकको प्रयोग सबैभन्दा थोरै भइरहेछ

यहाँ मात्र दाँत र पेटहरू छन्
माटोमा गाडिएका हात छन्
मान्छे कतै छैनन्
केवल एउटा निलो खोल छ
जसले मात्र अन्न मागिरहन्छ

एउटा मुसलधारे वर्षादेखि
अर्को मुसलधारे वर्षासम्म

यी महिला मेरी आमा हुन् या
पाँच फिटकी फलामे छड
जसमा झुन्डिरहेका छन् दुइटा सुख्खा रोटी-
मरेका चराजसरी
मेरी छोरी र मेरो हडतालमा अब
रौँबराबर भिन्नता बाँकी छैन
संविधान तर अफ्ना सर्तहरूमा
छोरी र मेरो हडताललाई
सिध्याउन लागिरहेको छ

के यो अकस्मिक चुनावभन्दा पछाडि
मैले बन्द गरिदिनुपर्छ
बारुदका बारेमा सोच्न ?
के उन्नाईस सय बहत्तरको यो बिस अप्रिलमा
अफ्ना छोराछोरीसित म
एउटा बाबुजसरी रहन सक्छु ?
मसी भरिएको भाँडोजसरी
एउटा भकुन्डोजसरी
के म आफ्ना छोराछोरीसँग
एउटा घाँस उम्रेको चौरजसरी रहन सक्छु ?

उनीहरूले यदि आफ्ना कवितामा मलाई
कुनै दिन लगेछन् भने पनि
पट्टी बाँधेर मेरा आँखामा
मलाई प्रयोग गर्छन् र फेरि मलाई
सिमानाबाहिर ल्याएर छाडिदिन्छन्
उनीहरू कहिल्यै पुग्न दिँदैनन् मलाई राजधानीसम्म
जिल्ला-सहरसम्म जाँदाजाँदै समातिने गर्छु म !

सरकारले हैन- यो देशको सबैभन्दा
सस्तो चुरोटले मलाई साथ दियो

दिदीका गोडाको आसपास
पहेँलो अँडिरको बुटोजस्तै
उम्रिएको थियो मेरो बाल्यकाल-
त्यसमा चर्‍यो प्रहरीको भैँसी
मनुष्यता जीवित राख्नका लागि यदि
एउटा प्रहरीलाई गोली हान्ने अधिकार छ भने
मलाई किन छैन ?

जुन माटोमा
यतिबेला म बसेर लेख्दै छु
जुन माटोमा म हिँड्छु
जुन माटोलाई म जोत्छु
जुन माटोमा बिउ रोप्छु
जुन माटोबाट निकालेर अन्न म
भण्डारसम्म लैजान्छु
त्यो माटोका लागि गोली हान्ने अधिकार
मलाई छ कि ती ठिमाहा भूमिपतिहरूलाई
जो सिङ्गो देशलाई
ब्याज खाने साहुको कुकुर बनाइदिन चाहन्छन्

यो कविता होइन
यो चेतना हो गोली हान्ने
जुन सबै कलम चलाउनेहरूलाई
सम्पूर्ण हलो जोत्नेहरूबाट प्राप्त भइरहको छ ।

आलोक धन्वा
स्रोतः कविताकोश डट कम

गजलकार संगीता थापा मगरकाे गजल

भिमफेदी मकवानपुर निवासी गजलकार संगीता थापा मगर पेशाले कलाकार भए पनि हाल ललितपुरमा बसेर कविता, गीत र गजल बिधामा क्रियाशिल हुनुहुन्छ । उहाँले नेपाली विषयमा एम.ए सम्मको अध्ययनपछि बिम्ब आर्ट्स प्रा.लिको संस्थापकको रुपमा क्रियाशिल हुनुहुन्छ । उहाँ मधुबन साहित्यिक प्रतिस्ठान नेपाल (कोषाध्यक्ष), थिएटर भिलेज, मगर चलचित्रकर्मिसंघ नेपाल (उपाध्यक्ष ) को रुपमा क्रियाशिल हुनुहुन्छ । उहाँ प्रथम रास्ट्रब्यापी खुला गजल प्रतियोगिता (२०७०) दोस्रो, क्याम्पस स्तरिय गजल प्रतियोगिता(२०७१) प्रथम, बेस्ट पप गीत अवार्ड (२०७३), मकवानपुर गजलमन्च (२०७३)द्वारा सम्मानित, सरस्वती टोल सुधार सम्मान (२०७३), छाँयाछवी काव्य सम्मान (२०७४), रारा साहित्यिक तथा साँस्कृतिक सम्मान (२०७५), ट्यालेन्ट अफ भिलेज सम्मान (२०७६) र टाँडी कुन्ज परिवार सम्मान ( २०७६)बाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ । – सम्पादक

गजल

नपर्ख भनेर मनलाइ सम्झाएको छैन ।
कोहि, यो बाटो फर्केर आएको छैन ।

बुख्याच्या बनेर चोकमा उभिरहेकोछु
यो समय किन ? मसंग डराएको छैन ।

उ मलाइ सम्झेर नरुनु भनेर गएपछि
सिउदो पुछिदा पनि रुन पाएको छैन ।

जलाउछु भन्थ्यो ! के भनी सम्झायो ?
आगोले नि उस्को याद जलाएको छैन ।


संगिता थापा, भिमफेदीमकवानपुर

श्यामकुमार बानियाँको गीत

मनहरी–३ बिजौना, मकवानपुर निवासी श्यामकुमार बाँनिया ज्ञानोदय बालवाटिका आवासीय मा.वि. हेटौँडा – ५ पिप्ले मकवानपुरका सञ्चालक रहेर पनि नेपाली साहित्यमा कविता, कथा, समालोचना , गीत लगायतका बिधामा सक्रिय रहनुभएको छ । उहाँका ‘प्रतीक्षा’ (खण्डकाव्य– २०५६ ), ‘अतृप्त खण्डहर’ (संयुक्त कवितासङ्ग्रह– २०६३), ‘अतीतको आँगनीमा’ (खण्डकाव्य– २०६३) लगायतका साहित्यिक पुस्तकहरू प्रकाशित रहेका छन् । उहाँले ‘बारुद’ (साहित्यिक त्रैमासिक), ‘पलाँस’ (साहित्यिक, त्रैमासिक), ‘अक्षय अक्षर’ (साहित्यिक, त्रैमासिक), ‘सौरभ’ (समसामयिक साहित्यिक सँगालो), ‘हेटौँडा टुडे’ राष्ट्रिय दैनिक, ‘बलिदान’ साप्ताहिक, ‘भूमध्यरेखा’ साप्ताहिक आदि साहित्यिक पत्रपत्रिका सम्पादन गर्नुभएको छ । उहाँ साहित्य सङ्गम मकवानपुर, सिस्नुपानी नेपाल, मृगतृष्णा साहित्य डबली, मकवानपुर, जनमत साहित्यिक पत्रिका काभ्रे आदि संस्थामा आबद्ध हुनुहुन्छ । उहाँ उत्कृष्ट पत्र लेखन सम्मान, रेडियो नेपाल (२०५३), रेडियो नेपाल, रश्मि नवप्रतिभा प्रोत्साहन सम्मान, (२०५७), रौतहट, गजलश्री सम्मान (२०६३), गजल मञ्च मकवानपुर, नारायणी वाङ्गमय पुरस्कार (२०६३), नारायणी वाङ्गमय प्रतिष्ठान, भेषनाथ अधिकारी स्मृति सम्मान, साहित्य सङ्गम मकवानपुर आदिबाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।

आङमा घाम लाग्छ कहिले, भोको पेट भर्ने कहिले ?
कस्तो बन्छ नयाँ नेपाल सन्ततिले हेर्ने कहिले ?

कहिले खुल्छ इमान र स्वाभिमानको निलो आकाश
कहिले चल्छ फुर्फुरिँदै समृद्धिको मिठो बतास
स्वाभिमान र इमानको नौलो आकाश खुल्नुपर्छ
समृद्धिको मिठो बतास यै धर्तीमा डुल्नुपर्छ ।

मरुभूमि जस्तो ओठमा कहिले हाँसो फुल्छ होला
अभावको टारीखेतमा कहिले बाली झुल्छ होला
आशा तथा उत्साहको नौलो पाइला चाल्नुपर्‍यो
भोलि हैन आजै मिली काम गर्न थाल्नुपर्‍यो ।

श्यामकुमार बानियाँ,

मकवानपुर

कविता: छुटेको प्रचण्ड

राजु स्याङ्तान

कवि

एउटा प्रचण्ड
ओत लाग्ने झुपडी बनाउन
आराले बुढो रुख काट्दाकाट्दै
उतै जंगलको खोँचहरुमा छुट्यो
अर्को प्रचण्ड
रगत र आँसुको वर्षा भइरहेको झरीमा
रुझ्दै–रुझ्दै सहर पसेपछि
त्यही सहरको भिडमा कतै छुट्यो
मेरी प्रिय छापामार संगी
गिट्टी फोरेको हातको निसानी र
पाठेघर छेउमा बल्झिँदै गरेको
बमको घाउ बोकेर
खुमलटार वरपर
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
चे ग्वेभारा, हो चि मिन्ह र लेनिनको जीवनी
झोलाभरि बोकेर
बिहारी रेलका डिब्बाहरुमा
यात्रा गर्दागर्दै उतै छुट्यो
अर्को प्रचण्ड
दस्तावेजका पानामाथि
काँसको थालमा मार्सी चामल राखेर
खाँदाखाँदै उतै छुट्यो
मेरो प्रिय दलित साथी
कम्युनिस्ट घोषणापत्र बोकेर
पेरिस डाँडा वरपर
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
काखीमा भरुवा बन्दुक च्यापेर
नारायणी तिरैतिर हिँड्दा–हिँड्दै
चेपाङ बस्तीहरुमा कतै छुट्यो
अर्को प्रचण्ड
पाँचतारे होटलको एउटा तारामा
बोकिरहेको हँसिया सिउरिएर
त्यही होटलमा नाच्दानाच्दै उतै छुट्यो
मेरो प्रिय चेपाङ दाइ
एउटा हातमा
गिठ्ठा भ्याकुर कोसेली बोकेर
अर्को हातमा
घरको निसानी एक मुठी खरानी बोकेर
सहरका चोक र गल्लीहरुमा
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
मधेसका मुसहर बस्तीहरुमा
मधेसी भेष धारण गरी
माई बाप भन्दै हात जोड्दै
झोला बोकेर घुम्दाघुम्दै उतै छुट्यो
अर्को प्रचण्ड
अघाएका मान्छेहरुको भिडमा
पुष्पगुच्छाले पुरिएर
त्यही भीडहरुमा कतै छुट्यो
मेरो प्रिय मधेसी काका
ज्ञापनपत्र च्यापेर नाइटबस चढी
रत्नपार्क, खुल्लामञ्च वरपर
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
झोलामा माओका रेडबुक बोकेर
रुकुमका मगरबस्तीहरुमा
बास माग्दामाग्दै उतै छुट्यो
अर्को प्रचण्ड
आफूले खनेको गोरेटो भुलेर
अरुले बनाएको राजमार्गमा
विजय जुलुस निकाल्दानिकाल्दै
अघाएकाहरुको हुलमा कतै छुट्यो
मेरो प्रिय मगर दाजै
रुकुमका जंगली पातहरुमा
प्रचण्डको नाममा चिठी लेखेर
अब कुनै ठेगानामा नपठाऊ
गोधुलीसँगै जीवन डुब्नुअघि
राप्तीको घोंगी टिपेर
प्रचण्डको भाग राखिदिने
ए थरुनी आमा
अब नपर्ख कुनै प्रचण्ड
राज्यले आधा लुछेको
तिम्रो झुपडिमा बास माग्न
अब आउँदैन कहिल्यै कुनै प्रचण्ड
अब नखोज कुनै नायक
अब नपर्ख कुनै महानायक
हाम्रो त इतिहास
उसै पनि अलिखित छ
हाम्रो त वर्तमान
उसै पनि कष्टकर छ
हाम्रो दुःखको महाख्यानमा
थपिएको न हो अर्को पाना
भोकाहरुको अलिखित इतिहासमा
एउटा अध्याय थपियो
छुटेको प्रचण्ड
अघाएकाहरुको लिखित इतिहासमा
अर्को अध्याय थपियो
पुष्पकमल दाहाल ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

महालक्ष्मी साहित्य पुरस्कारबाट प्रा. डा.  भट्टराई पुरस्कृत हुने

मकवानपुर । महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार यसवर्ष वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कार प्रदान गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् । मातृभूमि र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्दै आएको यो २१ औं पुरस्कार हो । 

वित्तीय क्षेत्रमा काम गरिरहेको संस्थाले साहित्यको श्रीवृद्धिका लागि साहित्य पुरस्कारमा सहकार्य गरेको भन्दै मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलले कृतज्ञता प्रकट गरेका थिए । त्यस्तै, समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कारबाट हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कार ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ । उक्त पुरस्कार ६ गते हेटौंडामा विशेष कार्यक्रमकाबीच प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैबीच मातृभूमि साहित्य समाजले यसवर्षको आधा दर्जन वर्षाकालीन पुरस्कारसमेत घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै समाजले मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार प्रदान गरिने भएको छ भने ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाललाई पुरस्कृत गरिँदैछ । सो पुरस्कारको राशी पनि १५ हजार रुपैयाँ नै रहेको छ ।

यस्तै १५ हजार राशीकै होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिँदैछ । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौंडाका रामचन्द्र आचार्य फुर्सती र महिलातर्फ मालती उप्रेतीलाई प्रदान गर्न लागिएको समाजका अध्यक्ष पोख्रेलले बताए ।

यस्तै, झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७९बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८ का एकजना विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको छ । पुरस्कारको राशी सात हजार पाँच सय रहेको छ । समाजले यी पुरस्कारहरु आगामी श्रावण ५ गते विशेष कार्यक्रमको आयोजना गरि प्रदान गरिने समाजका अध्यक्ष पोख्रेलले बताए ।

पत्रकार सम्मेलनमा मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हयग्रीव आचार्य, महालक्ष्मी विकास बैंकका हेटौंडा शाखा प्रबन्धक अनन्तराज धिताल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हेमन्त ढुंगेल, किशन पौडेललगायतको उपस्थिति रहेको थियो ।

पराजुलीको मोम्चो कथा सङ्ग्रहमाथि अन्तरक्रिया

मकवानपुर । पत्रकार तथा साहित्यकार बसन्त पराजुलीको कथा सङ्ग्रह मोम्चोमाथि अन्तरक्रिया गरिएको छ ।

किताबघर हेटौंंडाको आयोजनामा शनिबार साहित्यकार हरि पौडेल र नीरा शर्माले पराजुलीको कथा सङग्रहमाथि समालोचनात्मक टिप्पणी गरेका थिए ।

साहित्यकार पौडेलले सङ्ग्रहका अधिकांश कथामा महिला केन्द्रित समस्यालाई उठान गरिएको बताए । ‘समाजका हरेक क्षेत्रमा महिला विभिन्न कारणले उत्पीडित भइरहेका छन् । त्यही क्षेत्रमा रहेका पुरुषको पीडा पनि कम छैन । तर, कथाकारले महिलाका मात्रै समस्यालाई कथामा उतार्नु भएको छ ।’ पौडेलले भने ।

त्यस्तै साहित्यकार पौडेलले सङ्ग्रहका अधिकांश कथा नारीवादी भएको बताइन् । कथाका अधिकांश मुख्य पात्र नारी भएको र कथामा नारीले विद्रोह गरेको कुरालाई मार्मिक ढंगले उतारिएको उनले बताइन् । कथाकारले प्रकृति र मानिसको जीवनलाई बिम्बमा उतारेका छन् । शर्माले अगाडि भनिन्, कथामा समसामयिक प्रसङ्गको व्याख्या भए पनि कौतुहलता भने आउन सकेको छैन ।

कार्यक्रममा मन्तव्य राख्दै कवि सामना पहाडले एकजना पुरुष लेखकले महिलाको संवेदनालाई मिहिनेत गरेर कथामा उतारेको भन्दै प्रसंसा गरिन् ।

कथाकार पराजुलीले सङ्ग्रहमा भुइँमान्छेका कथालाई समावेश गरेको बताए । ‘मकवानपुर, चितवन र धादिङ जिल्लामा बसोबास गर्ने सिमान्तकृत चेपाङ समुदायको जनजीवनलाई कथामा उतारेको छु’ पराजुलीले भने । आफू पत्रकारिताको विद्यार्थी भएको र खोजमुलक सामग्री संकलन गर्ने क्रममा देखेका भोगेका कुरालाई कथामा उतारेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्यले मोम्चो शब्दले चेपाङ समुदायका महिलालाई सम्बोधन गर्ने भएकोले यो पुस्तकले चेपाङ समुदायलाई सम्मान गरेको बताए । गाउँमा कथालाई किताबमा उतार्नु सानो काम नभएको भन्दै आचार्यले लेखक पराजुलीको साहसलाई धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि निमेष निखिलले कथामा आधुनिक आमाहरूका चरित्रलाई उजागर गरिएको बताए । सामान्य भाषागत त्रुटि र वर्णविन्यासले पाठकलाई कहिँकतै बिझाउने निखिलले बताए । कार्यक्रमलाई किताबघरका सञ्चालक साहित्यकार छवि अनित्यले सहजिकरण गरेका थिए ।

जनार्दन खनालको ‘घुम्दै फिर्दै’ विमोचन

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक जनार्दन खनालको यात्राकाव्य ‘घुम्दै फिर्दै’ विमोचन भएको छ ।


झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षता, साहित्य सर्जक रामचन्द्र आचार्य ‘फुर्सदी’को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, बकैया गापा पूर्व अध्यक्ष दामोदर खनाल, लक्ष्मी खनाल रहनु भएको थियो ।

कार्यक्रममा वक्ता तथा झरनाका पूर्व अध्यक्ष दीपक गौतमले झरनाकोे प्रकाशन कोषबाट प्रकाशन गरेका कृतिमध्ये सातौँ कृति विमोचन भएको तथा लोकलयमा आधारित यस कृतिले स्थान विशेषको चर्चा गरेको बताउनुभयो ।


साहित्य सर्जकहरू भावना सापकोटा, राजकुमार लामिछाने, छवि अनित्य, माधव पोखरेल, सानु खनाल, डिबी बर्तौला, रमेशमोहन अधिकारी, देवराज खरेल, देवराज तिवारी, सुवास खनाल, पुरस्कार संस्थापक भूमिनन्द गौतम, समीक्षक घनश्याम घिमिरे, समर्पण न्यौपाने, हरि पौडेल, मनोज पोखरेल, पुरूषोत्तम आचार्य, भवानी तिमल्सिना, अमृता लामिछाने, रजनी पौडेल, श्यामकुमार बानियाँ आदिको उपस्थिति रहेको थियो ।


हेटौँडा क्याम्पस सभा हलमा सञ्चालित कार्यक्रम झसाप सचिव मसान उपासकले सञ्चालन गर्नुभएको हो ।

#झरना साहित्यिक परिवार # #यात्राकाव्य ‘घुम्दै फिर्दै’ विमोचन #

आँचल साहित्य कला पुञ्जको आयोजनामा २ दिने बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

हेटौँडा, जेठ २०

आँचल साहित्य कला पुञ्जले २ दिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । पहिलो दिन आधारभूत तहस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । साथै सोही साँझ गायनका लागि सुरसंगम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा किसु थापा, कृतिका लौडारी, घनश्याम ढकाल, चिराग डंगोल, तुलुक लामा, धावा लामा, पुरणविक्रम अधिकारी, पुरुषोत्तम आचार्य, प्रलय चौलागाईँ, मनोज शाही, रमेश गहतराज, राजकुमार रसाइली, विष्णुदेव, सङ्गीता आले मगर, सुज्यैना गहतराज, सुनिता शर्मा लुइँटेलले गायन तथा वाद्यवादन प्रस्तुती गर्नुभएको थियो । प्रमेन्द्र महर्जनको अभिभावकत्व रहेको यस सेसन निरा शर्माले सहजीकरण भएको थियो ।

दोस्रो दिन लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको रचनात्मक प्रस्तुति आयोजना गरियो । रुबेन सुनारले गीत गायन गर्नुभयो भने उपमा लामाले नाच प्रस्तुत गर्नुभयो । प्रिन्स तामाङ, प्रिन्स परियार, भरत थापा, रुपा थापा, भगवती माझी सहभागी कार्यक्रममा जुली चेपाङले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका रूपमा आफ्नो अनुभव बताउनुभयो । किरण थापाको अभिभावकत्व रहेको यस सेसनलाई निर्मला ब्लोनले सहजीकरण गर्नु भएको थियो ।

दोस्रो सेसनमा साहित्यमा लैङ्गिक सवाल विषयक बहस नेपाली लेखक संघका केन्द्रिय सदस्य हयग्रीव आचार्यको अभिभाकत्वमा साहित्य समीक्षक घनश्याम घिमिरे, प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दना र प्राध्यापक तथा हेउमनपा सामाजिक विभाग प्रमुख भीमप्रसाद तिमल्सिनाले बहस गर्नुभयो भने बहसलाई सुवास खनालले सहजीकरण गर्नुभयो ।

कार्यक्रममा सिस्नुपानी नेपालको अगुवाईमा विशेष हास्यव्यङ्ग्य प्रस्तुति निकै आकर्षक रह्यो । जसमा विशप आचार्य, प्रभास घिमिरे र चिरन्जीवि लामिछानेका हास्यव्यङ्ग्य कविता, मीनप्रसाद लामिछानेको ‘बजेट प्रहसन’, सानुभाइ बिश्वकर्मा र स्वस्तिका दाहालको प्यारोडी गायन, राजकुमार लामिछाने र संप्रस पौडेलको ‘अन्तर्वार्ता प्रहसन’ रहेका थिए । अग्रज हास्यव्यङ्ग्य सर्जक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी. रिजालको अभिभावकत्वमा सञ्चालित यस सेसनलाई सिर्जना पौडेलले सहजीकरण गर्नुभयो ।

कविता, गजल, मुक्तक तथ सूत्रकथा वाचन सेसनमा अनिल कोइराला, उत्सव चौलागाईँ, यश लामा, किशन पौडेल, छवि अनित्य, प्रशन्ना चौलागाईँ, प्रशिद्धिका लम्साल, बैकुण्ठ लामिछाने, मञ्जु खराल, विनिता महत, समर्पण न्यौपाने, सानु खनाल, स्वस्तिका बानियाँले कविता वाचन गर्नुभयो । दीपक गौतम, बबी थापा, सुवास सजल, हरि पौड्यालले गजल वाचन गर्नुभयो । यस्तै डिबी बर्तौला, देवराज खरेल र देवराज तिवारीले मुक्तक वाचन गर्नुभयो । एस.के. निधनले सूत्रकथा वाचन गर्नुभयो । तुल्सी घिमिरेको अभिभावकत्व रहेको यस सेसनलाई भवानी तिमल्सिनाले सहजीकरण गर्नुभयो ।

नाच प्रतियोगितामा बालज्योति मा.वि., ब्रह्मदिक एकेडेमी, जिएस निकेतन र सिद्धार्थ शिशु सदन क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो घोषित भएका थिए ।

समापन समारोहमा साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, आँचलका सल्लाहकार पूर्णकला घिमिरेले आफ्ना विचार प्रस्तुत गर्नु भएको थियो ।

आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा प्रतियोगिताका पुरस्कार र प्रमाणपत्र तथा सहयोगी संस्थाहरूलाई सम्मान तथा मायाको चिनो वितरण समेत गरियो ।

बालबालिकाहरूको नाच, बहस, गीत/गजल गायन, कविता, मुक्तक, प्रहसन, प्यारोडी, सूत्र कथा वाचन आदि प्रस्तुति रहेको यस कार्यक्रम हेटौँडा नगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा पार्टी प्यालेसमा सम्पन्न भ‌एको हो ।

समाचारः संप्रस पौडेल
फोटोः महेन्द्र ओझा