Home Blog Page 44

युद्ध साहित्य कृति ‘लाहुरेको रेलिमाई’ लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

पौष ८, आइतबार

मकवानपुर


अरनिको अन्तर्राष्ट्रिय पुरस्कार- २०७९ विजय हितानको उपन्यास लाहुरेको रेलिमाईलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
गैरआवासीय नेपाली संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले एक विज्ञप्ति जारी गर्दै २०७९ सालभरिमा गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका विविध विधाका नेपाली वाङ्मयका कृतिमध्ये विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद राशि र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै आएको छ।

पहिलो पटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी २०७८ सालको पुरस्कार चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’ लाई प्रदान गरिएको थियो ।

लाहुरेका रूपमा प्रथम विश्वयुद्धमा होमिएका मास्टर मित्रसेन विशेषतः गीतसंगीत मार्फत् नेपालीहरूप्रति चेतनाका कारूणिक गीतहरूका लागि चिनिनुहुन्छ । उहाँकै जीवनकथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ ले प्रथम विश्वयुद्धमा होमिएका सैनिकहरू, मृत्युसँग पौँठेजोरी गर्दाताकाको उनीहरूको दगुरादगुर, घरपरिवारका सम्झना र त्यसबेलाको समाजका अनेक पाटालाई विदारक एवम् कारुणिक चित्रण प्रस्तुत गरेको छ । बेलायतमा बसोबास गर्दै आउनु भएका लेखक हितानलाई गैरआवासीय नेपाली संघले एक विशेष समारोहबीच सो पुरस्कार प्रदान गर्नेछ।

लाहुरे दाइको रेलिमाई फेसनै राम्रो
रातो रुमाल रेलिमाई खुकुरी भिरेको
यस गीतका साथै ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान’, ‘अब त जाउँ कान्छी घर’ लगायतका गीतहरू उनै मास्टरसेन थापाका सिर्जना हुन् । हितानद्वारा लिखित यस पुस्तकमा विदेशी भूमिमा बलीको बोको भएर सेनामा जानुपर्दाका पीडाहरू लेख्दै सेनाको जागिर छोडेर समाजसेवा, साहित्य र सङ्गीतमा प्रशस्त योगदान गरिएका तथ्यहरूलाई शिलशिलेवार प्रस्तुति पाइन्छ ।

साथै पुरस्कारका सम्बन्धमा साहित्यकार हितान भन्नुहुन्छ-
“हर्षको समाचार । यो पुरस्कार तथा सम्मान मैले होइन मास्टर मित्रसेनले, मित्रसेन सम्बद्ध संघसंस्था र व्यक्तिहरुका लागि- प्रथम विश्वयुद्धमा गएर लड्ने गोर्खाली योद्धा जसले २०८ बर्षभन्दा लामो समयबाट अलग अलग देशबीच सहकार्यको संस्कार स्थापना गरे, जसले लाहुरे परम्परा र लाहुरे ब्रान्डको निर्माण गरे ।
बेलायत/भारत/सिङ्गापुर/ब्रुनाईमा सेवारत गोर्खा लाहुरे, निवृत गोर्खा सैनिक, नेपाल प्रहरी र नेपाली सेनामा सेवारत तथा निवृत सैनिक, लाहुरे परिवारसँग आवद्ध आमा/श्रीमती/दिदीबैनी/छोरी, प्रकाशनगृह साङ्ग्रिला बुक्स, यसको सम्पूर्ण परिवार र समग्रमा नेपाली साहित्यमा युद्ध साहित्यलाई प्रवर्धन गर्ने साहित्यीक संस्था र लेखकहरुले प्राप्त गरेको महसुस गरेको छु । जसले भोगेर आउनु भएको जीवन आफैँमा एक वृहत अन्तर्राष्ट्रिय इतिहास हो । लाहुरेको रेलिमाईलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने पुरस्कार व्यवस्थापन टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

पर्यासाहित्य लेखनका सिद्धान्तबारे चर्चा गर्दै प्रा.डा. गोविन्दराज भट्टराईको सम्पादनमा पुस्तक समेत लेख्नु भएका उहाँको पछिल्लो पर्या साहित्य अङ्गालेका कृतिहरू बागमती ब्लुज (कविता सङ्ग्रह), थकिन पृथ्वी (कथासङ्ग्रह), स्वच्छन्द सुसेलीहरू भाग १ र २ (सामूहिक कविता सङ्ग्रह) तथा ब्लु प्लानेट (कथासङ्ग्रह) समेत प्रकाशन भइसकेको छ ।

‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार २०८०’ घोषणा

‘पौष ७, शनिबार
मकवानपुर ।
नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा गरेको छ ।
समाजले वरिष्ठ सङ्‍गीतकर्मी नातिकाजीको ९९औं जन्म जयन्तीको अवसरमा मङ्‍गलबार काठमाडौंमा आयोजित एक समारोहमा सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।
उक्त सम्मान नेपाली मौलिक सङ्‍गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई राष्ट्रपतिको हातबाट प्रदान गरिनेछ । यस समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा र उपाध्यक्ष दीपक श्रेष्ठ रहनु भएको छ ।
मित्रपार्कस्थित नातिकाजीकै निवासमा आयोजित विशेष समारोहमा स्रष्टाहरू सम्मानित हुने जानकारी दिइएको हो ।
पुरस्कार घोषणा कार्यक्रममा समाजका अध्यक्ष बाँस्कोटाले नेपाली गीत/सङ्गीतका शिखर व्यक्तित्व नातिकाजीका योगदानलाई नेपाली पुस्ताले सम्झिरहने बताउनुभयो ।
सम्मानित हुनुहुने स्रष्टाहरूमध्ये ‘नातिकाजी राष्ट्रिय विशेष सङ्‍गीत सम्मान २०८०’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वसन्त वित्यासी थापा, राम भट्टराई, भूषण खरेल, सुनिल थापा हुनुहुन्छ ।
यस्तै वाद्यवादनतर्फ केशव सुनाम, परम्परागत सङ्‍गीततर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, सुवर्ण लिम्बू सम्मानित हुँदै हुनुहुन्छ ।
साथै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ बाट पुरस्कृत हुनेहरूमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान र संगीतकार राजनराज शिवाकोटी रहनुभएको छ ।
‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८०’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्‍गीतकार शशिविक्रम थापा र गीत रेकर्डिष्ट प्रकाश मिश्र हुनुहुन्छ ।
‘नातिकाजी राष्ट्रिय लोक सङ्‍गीत पुरस्कार २०८०’ लोक गायक अमृत खातीलाई प्रदान गरिने भएको छ ।
‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ कृष्ण भट्टराई र शान्तिप्रियलाई प्रदान गरिने भएको छ ।
वि.सं. १९८२ पुस ३ गते जन्मिनुभएका नातिकाजीले “नेपाली हामी रहौंला कहाँ”, “यस्तो पनि हुँदो रैछ”, “मर्न बरू गाह्रो हुन्न (फत्तेमानको आवाजमा नातिकाजीको कम्पोज)”, “हे निराकार” लगायत नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, नाटक, गीतिनाटक, चलचित्र आदिमार्फत् आफ्ना २ सय बढीमा स्वर तथा २ हजार बढीमा सङ्‍गीत दिनुभएको उहाँको २०६० कार्तिक १६ मा निधन भएको हो । राष्ट्रपतिमार्फत् पुरस्कार हस्तान्तरण गर्ने परम्परा रहेको र उहाँका नाममा स्थापित सम्मान तथा पुरस्कारबाट कालीप्रसाद बासकोटा, राज सिग्देल, मान्डवी त्रिपाठी, अस्मिता अधिकारी, देवी घर्ति, राज सिंह, महेश खड्का, सुगम पोखरेल, चेतन सापकोटा, मेलिना राई, वद्री पङ्गेनी, नवराज केसी, प्राश्ना शाक्य, कोमल वली, राजेशपायल राई, शिव परियार, कृष्ण कँडेल लगायत धेरै स्रष्टाहरू सम्मानित भइसक्नु भएको छ ।

गजल मञ्च मकवानपुरको २०९औं गजल यात्रा सम्पन्न ।

गजल मञ्च मकवानपुरको २०९औं गजल यात्रा सम्पन्न भएको छ । नियमित श्रृङ्खलाअन्तर्गतको सो कार्यक्रममा १ दर्जन सर्जकहरूद्वारा गजल वाचन गरिएका छन् । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता, साहित्य सर्जक तुल्सी घिमिरेको प्रमुख आतिथ्यता र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा सर्जकहरू ऋषि केबी, सानु खनाल, पुरूषोत्तम आचार्य, बैकुण्ठ लामिछाने, देवराज तिवारी, माधव पोख्रेल, अनिल कोइराला, डीबी बर्तौला, सुबास सजल, मिथिला अधिकारीले गजल वाचन गर्नुभयो ।

कार्यक्रममा साहित्यसेवी, साहित्य सर्जक मुक्तिगोविन्द वैद्य, सुदर्शन अधिकारी, छवि अनित्य आदिको उपस्थित रह्यो । शनिबार साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई गजल मञ्च मकवानपुरका सचिव हरि पौड्यालले सहजीकरण गर्नु भएको हो ।

कथा : देउताको छायानेर || खगेन्द्र संग्रौला

देउताको चोला उठ्यो । मध्ये बर्खामास । पवित्र पीपलको विशाल बोटनेर । फोहोरको अजङ्गको डङ्गुरछेवैमा । बरा देउताको चोला उठ्यो ! आस्थावान् नगरपालिकाले देउताको पवित्र लासलाई फुटपाथमा लम्पसार पर्न दियो । त्यो पनि एक दिन होइन, तीन–तीन दिनसम्म ! भक्तजनले रहर पुगुन्जेल प्रिय देउताको अन्तिम दर्शन गर्न पाउन् भनेर होला सायद ।

पुच्छर लिँडो हुनाले देउताको नाउँ थियो– लिँडे । लिँडे देउताका बाउको नाउँ थियो– साँढे । साँढे बाउका सिङको निर्मम हनाइमा परेर लिँडे देउताको अकाल मरण भयो । जिउँदो छउन्जेल लिँडेले अचाक्ली अनिकालको जुनी बितायो । उसका ढाडमा कतै ताता छड डामिए । कतै बडा बडा ढुङ्गा हानिए । कतै उसका शिरमा झ्यालमाथिबाट मलमूत्रको वर्षा भयो । कतै उसका करङमा बडा बडा घोचाको निर्मम स्पर्श भयो ।

लिँडे देउता लम्पसार परी मरेको पेटीमा पवित्र पिपलका जराको सिरानी हालेर एउटी नारी लम्पसार परेकी थिई । ऊ थिई एक असहाय भिखारी नारी । भोक, तिरस्कार र ताडनाको पर्वतले किचिएर  मृत लिँडे झैँ लम्पसार परेकी थिई ऊ । ओठतालु सुकेको उसको ख्याउटे नानी आमाको पेटमाथि घोप्टो परेर दुध चुस्न खोजिरहेथ्यो । जीवनरस निख्रिएको सुकुटी ज्यानबाट केको दुध रसाओस् र ? बालक आमाको सिद्रा समानको स्तन लुछ्दै थियो तर एक थोपो दुध आओस् त मार्दिनु ! भोकले प्याकप्याक भएको बालक जिउने उत्कट इच्छाले प्राणवायुको त्राण खोज्दै शुष्क स्वरमा रोइरहेको थियो ।

गुडिया जस्ती एउटी नारी उताबाट आई । सुकोमल मुहार । मोटो ज्यान । रङरोगनका बुट्टाले चिरिच्याँट्ट सिँगारिएको अनुहार । हाई हिल जुत्ताको टकटक आवाजले हुलमाझ उसको बेग्लो चिनारी झल्क्यो । उसको सुकुमार चर्मबाट उठेको अत्तरको बास्ना फोहोरको डङ्गुरबाट वायुमण्डलमा उठेको कुहिगन्धमा एकाकार भयो । फुटपाथमा लिँडे देउताको सड्न लागेको देह देखेर झस्किँदै ऊ अडिई । उसले ओठ टोकेर एक टकले देउतालाई हेरी । उसले ब्यागबाट एक रुपियाँको नोट झिकेर परम भक्तिभावले देउताको देहमा अर्पण गरी । अनि अलिकता निहुरिएर उसले देउतालाई विनयसाथ ढोग चढाई । ठिक त्यसैबखत मानौँ, उसका दयालु दृष्टि आफूतिर खिच्न खोज्दै छेवैको बालक रोयो । भक्तिनी नारीले बालकको जीवनको पुकार सुनेर पनि सुनिन ।

अलिबेरमा एक जना बलवान् तन्नेरी उताबाट आयो । घुँडासम्म आउने होर्ल्याङे जाँगे । नाडीमा चाँदी रङको चुरो । खुला छातीमा काला रौँको बिचमा सुनको रोबदार सिक्री । हुलको बिचमा बेग्लो र भड्किलो चिनारीले सजिएको थियो त्यो बलवान् तन्नेरी । बैँस चढेको बहर झैँ फुङ्कार गर्दै, बाटामा जो आइलाग्यो, उसलाई तुजुकको तेजले दायाँबायाँ ठेल्दै आउँदै के थियो, देउताको लम्पसार र निश्चेष्ट देह देखेर ऊ त्यसै त्यसै स्तब्ध भयो ।

देउताको मृतदेहमा अर्पण गरिएको अबिर सुकुमार औँलाले उठाएर उसले आफ्नो चौडा निधारमा लगायो । उसको दाहिने हत्केलो आफ्नै छाती छोएर भक्तिभावले छताछुल्ल हुँदै आफ्नै शिरमाथि उठ्यो । उसले होर्ल्याङे जाँगेको खल्तीबाट एउटा नोट झिक्यो । देउताको देहमा नोट चढाउँदै उसले निकै निहुरिएर दश औँलीको ढोग चढायो । ठिक त्यसैबखत मानौँ उसको चित्त आफूतिर खिच्न खोज्दै छेवैको बेसहारा बालक रोयो । चौपाया देउताको परमभक्त तन्नेरीले बालकको जीवनको पुकार सुनेर पनि सुनेन ।

त्यसपछि एक जना महात्मा भनीकन कहलिएको जोगी कमण्डलु बोकर आयो । रातोपिरो देहमा उसले खुकुलो गेरु वस्त्र धारण गरेको थियो । लोककथनमा उसले आत्मा र परमात्मा चिनेको थियो । जगत्‌को आडम्बर र क्रूरता बुझेको थियो उसले । अनाथहरूका नाथ श्री परमेश्वरको पत्यारिलो वारिसे भनीकन यश कमाएको विख्यात जोगी थियो ऊ । लिँडे देउताका पसारिएका खुट्टानेर खुट्टा जोडेर जोगी उभियो । नाकमाथिसम्म हात उठाएर निलो आकाशलाई उसले नमस्कार गर्‍यो । यो ठुलो भक्तका वरिपरि मझौला र साना भक्तभक्तिनीहरूको घुइँचो लाग्यो । अस्पष्ट ध्वनित हुने सङ्गीतमय स्वरमा उसले एउटा तोत्र उच्चारण गर्‍यो । आखिरमा उसले कमण्डलुबाट एउटा नोट झिकेर परम भक्तिसाथ लिँडे देउतालाई चढायो । ठिक त्यसैबखत मानौँ, उसको दिव्यज्ञानको दर्शन पाइसकेको महान् आत्मालाई आफ्नो दीनहीन अवस्थातिर खिच्न खोज्दै छेवैको बालक मुटु चिरिएर फुटेको स्वरमा रोयो । परम ज्ञानी जोगीले बालकको जीवनको पुकार सुनेर पनि सुनेन ।

लिँडे देउताको महिमागानले सेरोफेरोको वातावरण गुञ्जायमान भयो । ‘बरा !,’ कसैले भन्यो, ‘बालखैमा गएछन् ।

‘अँ त नि,’ कसैले सही थाप्यो, ‘कति लामो जिब्रो निकालेर मर्त्यलोक छाडेछन् ।’

‘बरा, कुन पापीका किरा परेका हातले होला !’

‘कठैबरा ! यस्तो झरीमा कति गाह्रो परो होला !’

लिँडे देउताका देहको छेवैनेर भिखारी आमाको प्राण गइसकेको थियो । उसको बेसहारा बालक आमाको दुधको मुन्टोमा मुख गाडेको गाड्यै ओइलाउँदै, सुक्दै र गल्दै गएको थियो । लिँडे देउताप्रति भक्तजनको असीम भक्तिको छायामा परी बालकको जीवन, उसका अबोध आशा, उसका अस्पष्ट सम्भावना र उसका आकारहीन सपना सबै एकसाथ लोप हुन लागेका थिए ।

उताबाट एउटी दोजिया नारी आई । उसको पेटमा सात महिनाको शिशु थियो र पिठ्युँका डोकामा थियो इँटाको यामानको भारी । नाकमा पोतोका गाढा कत्ला । भित्र गाडिएका गाला । फुत्त बाहिर उठेका चल्ली । पटपटी फुटेका ओठ । दबिएका आँखा । कङ्कालसमानको जिउ उसको विशाल पेटतिर लच्केर ढल्न लागे जस्तो देखियो । भारी बोकेर ठसठस कन्दै, एक हातले पेट थामेर सकिनसकी घिस्रिँदै आउँदा देउताका खुट्टामा उसको खुट्टो ठेसिन पुग्यो । बिजुलीको झट्का लागे झैँ ऊ झस्किई । आँखा फारेर हेर्दा उसले देखी– लिँडे देउताको ढाड फूलले छपक्कै ढाकिएको छ । फूलमाथि यत्रतत्र नोट छन् । भुइँ छुने गरी लत्रेको देउताको जिब्रोमा हरिया झिँगाको बिगबिगी छ । दोजिया नारीले पोल्टाबाट एक रुपैयाँको डबल निकाली । ऊसँग भएको सिरीखुरी त्यत्ति थियो, त्यही एक रुपैयाँको डबल । आफ्नो सर्वस्व देउतालाई चढाउन हात लम्काउन लागेकी मात्र के थिई, उसका आँखा छेवैमा भिखारी आमाको चिसिएको लास र लासमाथि जीवनको अन्तिम घडी गन्दै प्याकप्याक मुख बाइरहेको बालकमाथि परे ।

बालकको चोयो जस्तो घाँटी चलुँ कि नचलुँ गर्दै सुस्त चालमा चलिरहेको थियो । दोजिया नारीका नसा नसाका कण कणमा एकाएक जहरतुल्य हजार शूलहरू सलबलाए । कालको विकराल मुखभित्र बिलाउन लागेको त्यो बालकलाई उसले आफ्नै पेटभित्रको बालक ठानी । उसको रगतमासुको सिर्जना । उसका तिर्सना र सपनाको साकार रूप । उसका व्यथा र वेदनाको फल । उसको परम प्रिय बालक ! बालकले प्राण त्याग्नुअघि प्याकप्याक बाएको मौन मुखबाट मानौँ, समस्त ब्रह्माण्डमा व्याप्त चीत्कार उसका कानमा ठोक्किन पुगे– आमा !

डबल बोकेर देउताको देहतिर लम्किएको उसका हात थरथरी कामे । उसको काम्दा हात सुस्तरी बालकतिर खिचिए र उसका हातको डबल बालकका छातीमा फुत्रुक्क खस्यो

कवि सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ आउँदै

मकवानपुर । युवा पुस्ताका सशक्त कवि सुमिनाको कविता संग्रह बजारमा आउने भएको छ । विगत लामो समयदेखि फुटकर कविता लेख्दै आउनुभएका कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ पुस १३ गते शुक्रबारदेखि बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ १३ गते दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक हुनेछ । कविता संग्रह सार्वजनिक समारोहमा साहित्यकार तथा चिन्तक आहुतिसँगै कुमारी लामा र अभय श्रेष्ठले कवि र कविताबारे विमर्श गर्नुहुनेछ । सुमिनाले कवितासँगै वैचारिक आलेखहरुमा पनि कलम चलाउँदै आउनुभएको छ । उहाँ विद्रोही कविका रुपमा परिचित हुनुहुन्छ ।

मकवानपुर क्याम्पस प्रदेश विश्वविद्यालय, हेटौंडा क्याम्पसलाई क्यू ए ए मान्यता

पौष ४,
मकवानपुर ।
हेटौंडा २ मकवानपुरस्थित मकवानपुर बहुमुखि क्याम्पसलाई बागमती प्रदेश सरकारले बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय भएको छ ।
स्नातक तथा स्नातकोत्तरका विभिन्न सङ्काय सञ्चालित यो क्याम्पस QAA प्रमाणप्राप्त क्याम्पस हो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनप्राप्त यस क्याम्पसमा मकवानपुरलगायतका आसपासका जिल्लाका विद्यार्थीहरू अध्ययन गर्दै आइरहेका छन् । २०३७ सालमा स्थापित यस क्याम्पसमा विभिन्न तहका विद्यार्थीहरूले देशैभरीको उत्कृष्ट नतिजा प्राप्त गरिरहेका छन् ।
हेटौंडा ४, मकवानपुर स्थित हेटौंडा क्याम्पस गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा सहभागी भई संस्थागत गुणस्तर परीक्षणका सबै चरणहरु पार गरी विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरबाट प्रत्यायनकृत (QAA-Quality Assurance and Accreditation Certified) भएको छ ।
२०४७ सालमा स्थापित यस क्याम्पस त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस हो । यस क्याम्पसमा स्नातक तथा स्नातकोत्तरका विविध कक्षाहरू सञ्चालनमा रही यस क्षेत्रको उत्कृष्ट क्याम्पसको रूपमा रही आएको छ ।
०००
(तस्बिर स्रोतः डा. रामप्रसाद अधिकारी, सहायक क्याम्पस प्रमुख, मकवानपुर क्याम्पस तथा देवरत्न मानन्धर, हेटौंडा क्याम्पस प्रमुख)

हाजिरीजवाफमा जिएस, जनप्रिय र जेम्स विजयी

पौष ४, मंगलबार
मकवानपुर ।
तासिर ईङ्लिश सेकेण्डरी (बोर्डिङ) स्कुलद्वारा आयोजित रणबहादुर मेमोरियल अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
पौष ४ गते भएको सो प्रतियोगितामा ज्ञानदीप शिक्षा (जिएस) निकेतन मावि प्रथम, जनप्रिय मावि द्वितीय र जेम्स इङ्लिस बोर्डिङ स्कुल तृतीय भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १० हजार १ सय ५५, द्वितीय पुरस्कार ७ हजार १ सय ५५ र तृतीय पुरस्कार ५ हजार १ सय ५५ रूपैयाँ रहेको थियो । विजेताहरूले प्रमाणपत्रका साथमा ट्रफी समेत प्राप्त गरेका छन् ।

तासिर स्कुलका संस्थापक राजन थापाका स्वर्गीय पिता रणबहादुर थापाको स्मृतिमा बगमती प्रदेशका प्रथम मूख्यमन्त्री डोरमणी पौडेलको प्रमूख आतिथ्यमा आयोजित ५ औं रण बहादुर थापा मेमोरियल अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा २६ वटा विद्यालयहरु सहभागी थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिठे बहादुर कार्कीको अध्यक्षता रहेको थियो भने कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ७ नं. वडा अध्यक्ष दामोदर गौतम, विद्यालय सञ्चालक राजन थापा, प्रमूख सल्लाहकार दिल बहादुर श्रेष्ठ, प्रिन्सिपल विनोद थपलिया लगायतको सहभागिता रहेको थियो ।

जगदीश्‍वर पोखरेलका १५ कृति एकैसाथ लोकार्पण

मङ्सिर ३०, शनिबार
काठमाडौं, २०८०

नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित लोकार्पण समारोहमा स्रष्टा जगदीश्वर पोखरेलका १५ वटा काव्यकृति एकैसाथ लोकार्पण गरियो ।

भाषाविद् डा.माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्य र प्रकाशक संस्था पेज टर्नरका अध्यक्ष कवि भूवनहरि सिग्देलको सभाध्यक्षतामा आयोजित समारोहमा उक्त कृति लोकार्पण गरिएको हो ।

स्रष्टा बलराम दाहालले कृतिकारको परिचय प्रस्तुत गरेपछि प्रमुख अतिथि डा. पोखरेलद्वारा एकैपटक लोकार्पण गरिएका काव्यकृति क्रमश १) पद्यमञ्जरी, २)पद्यहार, ३) शार्दूललालित्य, ४) अक्षराङ्कुर, ४) पद्यकुञ्ज, ५) पद्यमालती, ६) पद्यपल्लव, ७) पद्यमाला, ८) शब्दस्पर्श, ९) शब्दांश, १०) शब्दतरङ्ग, ११) भावमञ्जरी, १२) सुन्दर देश नेपाल, १३) सारङ्गीको धुन र १५) पाउँदीका गीत रहेका छन् ।

लोकार्पित कृतिहरु मध्ये ७ वटा वटा कृतिको समीक्षात्मक टिप्पणी डा. जीवन अधिकारीले गर्नुभएको थियो भने ३ वटा कृतिको समीक्षात्मक टिप्पणी पुरुषोत्तम सिग्देलले, ३ वटा कृतिको समीक्षत्मक टिप्पणी नरनाथ लुइँटेलले र एउटा कृतिको समीक्षा हरि खनालले गर्नु भएको थियो । समीक्षकहरूले जगदीश्वर पोखरेलका कृतिका विलक्षण विशेषताहरू केलाउँदै उहाँलाई बधाइ ज्ञापन गर्द अब महाकाव्य सिर्जनातर्फ लाग्न आग्रह गरेका थिए ।

प्रमुख अतिथि डा. माधवप्रसाद पोखरेलले यी कविताकृतिमा अभिव्यञ्जित जगदीश्वरको सिप साधनाको प्रशंसा गर्दै अब कविताको आख्यानात्मक बृहत संरचनातर्फ केन्द्रित हुन जाँगर लगाउनु पर्दछ भन्नु भयो ।

कार्यक्रमका अध्यक्ष भूवनहरि सिग्देलले जगदीश्वर लोभलाग्दो साधनाले अझै उचाई प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनु भएको थियो ।

पछिल्लो समय छन्द साधनामा तल्लीन कवि पोखरेलले १ अक्षरदेखि ३० अक्षरसम्मका लामा छन्दसम्म अभ्यास गर्दै मौलिक कविता सिर्जना गरेका छन् । उनका यिनै साधना र सिर्जनाको उपज भएर १५ कृति एकैसाथ लोकार्पण भएका हुन् । ६० को दशकदेखि निरन्तर छन्द साधना र लेखनमा तल्लीन पोखरेलका यसअघि शार्दूलका पाइला, सुसाउँदो मर्स्याङ्दी फूलसरिको जीवन छन्द संरचनाका ३ वटा कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

आज लोकार्पित कृति पेज टर्नर प्रा. लि, अनुपम सिर्जना प्रतिष्ठान र कर्मदा सिर्जना मञ्च नेपालले प्रकाशित गरेका हुन् । सबै कृतिको विक्रीवितरणको जिम्मा पेज टर्नरले लिएको छ । यी कृतिको डिजाइन तथा लेआउट सम्पादन हाउसले गरेको हो ।

कथाकार पौडेलको `धन्य मेरा बा !´ सार्वजनिक

मङ्सिर ३०, शनिबार
मकवानपुर ।
कथाकार विष्णुप्रसाद पौडेल अपरिचितको `धन्य मेरा बा !´ लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । टाँडीस्थित न्यू क्यापिटल कलेजमा शनिबार आयोजित कार्यक्रममा पौडेलको तेस्रो पुस्तक `धन्य मेरा बा !´ सार्वजनिक गरिएको हो । प्रमुख अतिथि कथाकारकी आमा शारदा पौडेलसहित साहित्यकार केशवराज आमोदी, लकाश पौडेल, धनराज गिरी, कृष्णप्रसाद सापकोटा, ईश्वरी ओझा र प्रकाश चापागाईंले पुस्तक सार्वजनिक गर्नु भएको हो ।

पुस्तक सार्वजनिकपछि समालोचक केशवराज आमोदीले कृतिको समीक्षात्मक टिप्पणी राख्नु भयो । पौडेलका कथाहरूले विविध सन्दर्भका संयोग, वियोग, प्राप्ति, अप्राप्तिजन्य घटना, परिघटना र दुर्घटनाहरूलाई चित्रण गरेको आमोदीले बताउनु भयो । कतिपय कथाले यौन मनोविज्ञानसँगै राजनीतिक स्खलन, सामाजिक रीतिरिवाजका विचलन, लुटपाट, गरिबी, शोषण, विदेश पलायन, अन्धविश्वास र तस्करीलाई पनि समेटेकोले कथाहरूमा विविधता भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात, डा. केशवराज चालिसे, डाक्टर एकनारायण पौड्याल, डाक्टर धनेश्वर भट्टराई, राजेन्द्र हमाल, प्रकाश चापागाईं, गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटालगायतले शुभकामना मन्तव्य राख्नु भयो ।

पौडेलका यसअघि `तरङ्ग जिन्दगीका´ हाइकूसङ्ग्रह (२०७६) र `पाँच रत्न एघार फूल´ समीक्षासङ्ग्रह (२०७८) प्रकाशित छन् । त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीले प्रकाशन गरेको यस कृतिमा ५४ वटा कथा छन् । पुस्तकको मूल्य ३२५ छ । कृतिलाई सम्पूर्ण किताब नारायणगढले वितरणको जिम्मेवारी लिएको सञ्चालक लेखराम सापकोटाले जानकारी गराउनु भयो ।

‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण

मङ्सिर ३०, शनिबार
मकवानपुर ।
गायक यज्ञराज उपाध्यायद्वारा लिखित ‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ पुस्तक लोकार्पण भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमदालीमा संस्कृतिविद् डा. जगमान गुरूङलगायतका व्यक्तिहरूको उपस्थितिमा लोकार्पण भएको उक्त पुस्तक बुकहिल पब्लिकेसनद्वारा प्रकाशन गरिएको हो ।
कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरूङ, प्रा.डा. वीणा पौड्याल, डा. नवराज लम्साल र सुभाषचन्द्र भण्डारीले मन्तव्य व्यक्त गर्नुभयो ।
नेपालीहरूको जनजिब्रोमा रहेको चर्चित देउडा गीत ‘राइझुमा’ का गायक उपाध्यायको उक्त पुस्तक २ दशकदेखि अथक मेहनतपश्चात् पुस्तकाकार कृति ९८४ पृष्ठ र मूल्य ३ हजार रूपैयाँ रहेको र उक्त पुस्तकमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा-उपविधाहरू उल्लेख गरिएका छन् ।
पुस्तकका सम्बन्धमा प्रकाशक बुकहिलका प्रमुख भुपेन्द्र खड्काले भन्नुभयो- ‘जीवन त सबैको एउटै होला तर अर्को जुनीकाले पनि पढ्न सक्ने एउटा किताब प्रकाशन गर्न पाएकोमा निकै गर्व लागेको छ ।’
यस्तै वर्ष २०७८ को मदन पुरस्कार विजेता अग्नि महाकाव्यका सर्जक डा. नवराज लम्सालले पुस्तकमा वर्णित कतिपय संस्कृति र झाँकी साक्षी राखेर विमोचन गरिनुले विशेष अर्थ रहेको बताउनुभयो । साथै पृथ्वीनारायण शाहको दिव्योपदेशमा रहेको भाषा सुदूरपश्चिमबाट आएको भाषा भएकोले नेपालको इतिहासमा यो क्षेत्रबाट ठूलो योगदान रहेको र मूल प्रवाहमा नआएका जातजाति, भाषाभाषी, चालचलन अनेकानेक विषयवस्तु यसै पुस्तकमा उल्लेखित रहेको जानकारी दिनुभयो ।
लामो अनुसन्धान र खोजपश्चात् प्रकाशित पुस्तक इतिहास तथा संस्कृतिकर्मीका साथै आम पाठकका लागि एक महत्वपूर्ण दस्तावेज हुनसक्ने साहित्य सर्जकहरूले बताएका छन् ।
कार्यक्रममा प्रशंसा संरक्षण समूह, काठमाडौंबाट समारोहमा उपस्थित हुनेहरूलाई स्वागतार्थ मौलिक पोषाकसहित गौरा, हुड्केली, न्याउल्यालगायतका झाँकी प्रस्तुत गरियो ।
लेखक उपाध्यायले राइझुमा गीत समेत गायन गर्नु भएको सो कार्यक्रममा साहित्य सर्जक तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।