समर्पण न्यौपाने

कवि

ओइलाएको समयसँग
कहिल्यै गरिनन् सम्झौता
कहिल्यै भिरिनन्‌
खुइलिएको ‘सामाजिक आदर्श’
बरु लडेर धर्मशास्त्रका आडम्बरहरूसँग
गिजोलिरहिन् ‘महत्ताहीन’ जीवनशास्त्रलाई
फुलिरहिन् निस्फिक्री
र त पारिजात, ‘शिरीषको फूल’ भइन् ।

कुँजिएर बसेको भए
सहरका साँगुरा गल्लीहरूमा
सायदै उन्मुक्त हुन्थ्यो कलम
लडेर ‘परिभाषित आँखाहरू’ विरुद्ध
उन्मुक्तिको लामो युद्ध
छिचोलिरहिन् हजारौँ ‘तोरीबारी, बाटा र सपनाहरू’
सुसेलिरहिन् कविता
अनगिन्ती ‘धुपी, सल्ला र लालिगुराँसको फेदमा’
अनि
कहिल्यै झुकिनन् सत्ता र शासकसामु
र त
पारिजात, ‘अपराजिता’ भइन् ।

सिटिहल भिडसँगै रमिरह्यो
भिड सिटीहलसँगै रमिरह्यो
थाती राखेर स्वाभिमान
हुनलाई त हुन सक्थिन् उनी पनि
त्यही भिडको गुमनाम सदस्य
तैपनि
बोकेर परिवर्तनको गहिरो अठोट
साटिरहिन् सङ्घर्षको गाथा
‘सिटिहलको बुढो ज्यामीसँग’
मागिरहिन्
पसिनाको मूल्य/श्रमको कदर
लेखिरहिन् कथा
नयाँ ‘सडक र प्रतिभा’ हरूको
दाँजेर जीवन
‘पर्खालभित्र र बाहिर’
तोडिरहिन् दासताका जन्जिर
भत्काइरहिन् असमानताका पर्खाल
छेडिरहिन् अनवरत मसी विद्रोह
र त बाँधेर निधारमा रातो पट्टी
पारिजात ‘राल्फा’ भइन् ।

जुन दिन
‘अध्ययन र सङ्घर्ष’ ले खारिएर
कस्सिन थाले उनका मुठ्ठीहरू
तिखारिएर जीवन र दर्शनले
दौडिन थाले उनका कलमहरू
शब्दहरूमा मौलाउन थाले
भुइँमान्छेका कथा
तब उनी ‘विष्णुकुमारी’ रहिनन्‌
उनको कलम ‘आकाङ्क्षा’ रहेन
र त
दिएर साहित्यलाई एउटा नयाँ आयाम
पारिजात, ‘पारिजात’ भइन् ।

हो, साक्षी राखेर
सयौँ अनिदा रातहरू
गरिरहिन् वर्गमुक्तिको शङ्खनाद ‘अनिदो पहाडसँगै’
र त
पारिजात, ‘पारिजात’ भइन् ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन